१०५. कर्मचारीतन्त्रीय व्यवस्थापनको अवधारणा (Basic Concept of Bureaucratic management) : परिचय, बिशेषता, तत्वहरु, दुर्बल तथा सबल पक्षहरू र नेपालको कर्मचारीतन्त्र

कर्मचारीतन्त्रीय व्यवस्थापनको अवधारणा (Basic Concept of Bureaucratic management) :  परिचय, बिशेषता, तत्वहरु, दुर्बल तथा सबल पक्षहरू र नेपालको कर्मचारीतन्त्र

✍️ बसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार

१. परिचय (Introduction) : 

व्यूरोक्रेसी अर्थात् नोकरशाही शब्द फ्रेञ्च शब्द जस्को अर्थ लेख्ने मेच र क्रेटिन जसको अर्थ गर्नु हुन्छ वाट मिलेर बनेको मानिन्छ । अर्थात् व्यूरोक्रेसी जस्लाई नोकरशाही पनि भनिन्छ, को सिधा अर्थ “मेचको प्रशासन” भन्ने हुन्छ ।

व्यूरोक्रेसी शब्दलाई पहिलोपटक फ्रेञ्च अर्थशास्त्री एम.डि.गोर्नी  (M.D.Gourney) ले १८ औं शताद्विको मध्यावधिमा प्रयोग गरेका थिए । आधुनिक युगमा संकुचितरूपमा विश्लेषण गर्दा कर्मचारीतन्त्रलाई बढी घृणा गरेर हेरिने गरिन्छ । किनभने कर्मचारीतन्त्रमा कर्मचारी जनताप्रति नभएर आफ्नो उच्च अधिकारीहरू प्रति जवाफदेही हुन्छन् भनिन्छ । 

तर, यो संकुचित अर्थमा कर्मचारीतन्त्रलाई लिनु हुँदैन । किनभने कर्मचारीतन्त्र राज्य सञ्चालनकोलागि नै भएको र लोककल्याणकारी राज्यमा उनीहरू पूर्णरूपमा स्वतंन्त्र हुँदैनन् । जनताको हक, हित र सेवा प्रति नै पुरा ख्याल गर्नुपर्दछ । कर्मचारीतन्त्रमा जनताको ठूलो प्रभाव परेको हुन्छ ।

 कर्मचारीतन्त्रमा कर्मचारीहरू पदीय श्रृङ्खला अनुरूप विभाग, शाखा तथा उपशाखामा कार्यरत र संगठित हुन्छन् । तसर्थ, कर्मचारीतन्त्रलाई बृहत्  अर्थमा हेर्दा यो एउटा व्यापक प्रकारको प्रशासकीय संगठन हो । वास्तवमा यो एउटा इञ्जिन नै हो जसले राजनीतिक सफ्टवेयरलाई सुशासनमा परिणत गरी नीतिहरू बनाई दैनिक हुने निर्णयलाई कार्यान्वयन गर्दछ ।

व्यवस्थापनमा व्यूरोक्रेसीको सन्दर्भमा जर्मन समाजशास्त्री मेक्स वेबरको नामलाई पर्यायवाचीकोरूपमा लिईन्छ । तर, उनले यसको परिभाषा नदिई केवल विशेषताहरूको बर्णन गरेका छन् । उनको व्यूरोक्रेसी सिद्धान्त आधुनिक यूगको सार्वजनिक प्रशासनमा पनि उत्तिकै महत्वपूर्ण रहेको मानिन्छ । उनका अनुसार व्यूरोक्रेसी भन्नाले योग्यता, क्षमता, प्रतिस्पर्धा द्वारा स्वतन्त्र तथा संवैधानिक निकाय लोक सेवा आयोग जस्तो संस्थावाट निष्पक्ष रुपमा छनौट गरि, राजनीति वाट तटस्थ, पदसोपानमा आधारित निर्वैयक्तिक तरिकाले नियुक्त गरिएका कर्मचारी, अधिकृत र पदाधिकारीहरूको प्रशासकीय संगठन हो ।

२. विशेषताहरु (Characterstics) : 

Max weber ले व्यूरोक्रेसीलाई Patrimonial र Legal Rational गरी दुई भागमा विभक्त गरिएको पाईन्छ । व्यस्तै पछिल्लो चाहि कानूनवाट अधिकार प्राप्त अधिकारीकोरूपमा रहन्छ । वेबरले पछिल्लो व्यूरोक्रेसीलाई मान्यता दिएका छन् : 

२.१ यसमा कार्यालयको व्यवसाय निरन्तरताको आधारमा गरिन्छ । र 

२.२ प्रशासकीय संयन्त्रले निर्धारण गरिएको नियमानुसार कार्य गर्दछ । प्रत्येक पदाधिकारीको अधिकार र कर्तव्यको सीमा अवैयक्तिक सिद्धान्तकोरूपमा रहेको हुन्छ ।

२.३ अधिकारीलाई उत्तरदायित्व बहन गर्ने गरी अधिकार दिईन्छ । 

२.४ कार्यसम्पादनमा दबावलाई सीमित गरिएको हुन्छ । उनीहरूको रोजगारलाई स्पष्टरूपमा परिभाषित र बैधता प्रदान गरिएको हुन्छ । 

 २.५  हरेक कर्मचारी र कार्यालय तहगतरूपमा पदसोपान शृङ्खलाबद्ध रूपमा रहेको हुन्छ । 

२.५ उच्च पदाधिकारी तथा कार्यालयहरूले मातहतका कार्यालयको अनुगमन गर्दछन् । 

२.६ कर्मचारीको तह वृद्धि व्यवसायिक दक्षता र खुबीको आधारमा हुन्छ ।

२.७ अधिकारीहरूले कर्तव्यपालनाको सिलसिलामा आफ्नो स्रोत र साधनको प्रयोग गर्दैनन् । तर कार्यालयको स्रोत र साधनको प्रयोगमा उनिहरू उत्तरदायी तथा जवाफदेही भने हुन्छन् । 

२.८ कार्यालयको व्यवसाय र निजी व्यवसाय तथा कार्यालयको राजस्व र निजी आय स्रोतलाई स्पष्टरूपमा छुट्याईन्छ । 

२.९ कार्यालयलाई पदाधिकारीको हैसियतमा निजी सम्पतिको जस्तो अपुताली वा खरिद विक्री गरी आफ्नो बनाउन सकिदैन । 

२.१० प्रशासन लिखित दस्तावेजको आधारमा सञ्चालन गरिन्छ । 

२.११ वेबरका अनुसार कार्यालयमा काम गर्ने पदाधिकारी पनि व्यक्तिगतरूपमा स्वतंन्त्र र सम्झौताको आधारमा कार्यालयको पदमा नियुक्त हुन्छन् । 

२.१२ अवैयक्तिक नियमको आधारमा प्रत्यायोजन गरिएको अधिकारको प्रयोग गर्दछन् । 

२.१३ यसको पदस्थापना र नियुक्ति निजको प्रशासकीय  बिज्ञता र प्राविधिक योग्यताको आधारमा हुन्छ । 

२.१४ उनीहरूको प्रशासकीय कार्य पूरा समय पेशाको  रूपमा रहन्छ । 

२.१५ उनीहरूको कार्यलाई नियमित र निश्चित तलवको आधारमा पुरस्कृत गरिएको हुन्छ । 

२.१६ उनीहरू स्थायी र अभिन्न अंगको रूपमा रहेका हुन्छन् । 

३. कर्मचारीतन्त्रका तत्वहरु (Elements of Bureaucracy) : 

वेबरका अनुसार कर्मचारीतन्त्रमा निम्न तत्वहरू रहेका हुन्छन् ।

३.१ अवैयक्तिक आदेश (Impersonal Order):

 माथिल्लो पदाधिकारीले सहायक कर्मचारीलाई दिने आदेश व्यक्तिगत हुँदैन र ती आदेशको पालना गर्नुु सहायकहरूको कर्तव्य हुन्छ । यसलाई नियन्त्रणको अधिकारकोरूपमा पनि हेर्न सकिन्छ । 

३.२ नियमहरू (Rules) : 

कार्यालयको नियमित कामलाई नियमवद्ध गरिएको हुन्छ  । ति नियमहरूले प्राविधिक वा मूल्यमान्यताकोरूपमा कार्यालयको कामलाई नियमित र नियन्त्रण गरिरहेका हुन्छन् । 

३.३ दक्षताको क्षेत्र (Sphere of Competence) :

तोकिएको क्षेत्रमा प्राविधिक योग्यताको आधारमा नियम सम्मतरूपले कार्यविभाजन, कार्यसम्पादन, गर्ने अधिकार अनुरूप पदभार निश्चित अवस्थामा अनिवार्य योगदानको स्पष्टरूपले उल्लेख हुनुपर्दछ ।

३.४ श्रेणीवद्धता (Hirarchy) : 

कार्यालयको संगठन तहगत सिद्धान्तको आधारमा व्यवस्थित गरिएको हुन्छ र प्रत्येक मातहतको कार्यालयलाई माथिल्लो कार्यालयले अनुगमन र नियन्त्रण गर्दछ । सम्पूर्ण प्रशासकीय कर्मचारीहरू उच्च अधिकारीको मातहतमा रहन्छन् र उनिहरूलाई तहगतरूपमा कार्यालयमा सुव्यवस्थित गरिएको हुन्छ । वेबरको कार्यालयको संरचनामा तहगत व्यवस्था महत्वपूर्णरूपमा रहेको मानिन्छ । 

३.५ निजी र सार्वजनिक उद्देश्य (Personal and Public Ends) : 

प्रशासकीय कर्मचारीको कार्य सार्वजनिक प्रकृतिको हुने भएकोले निजी उद्देश्यकोलागि पदको दुरूपयोग जाँच गर्न आवश्यक हुन्छ । वेबरले प्रशासन र उत्पादनका साधनको निजी स्वामित्ववाट प्रशासकीय कर्मचारीलाई अलग गर्नु पर्ने धारणा राखेका छन् । 

३.६ लिखित दस्तावेज (Written Documents) : 

वेबरको व्युरोक्रेसी सिद्धान्तमा लिखित दस्तावेजको सिद्धान्त अन्तिम सिद्धान्त हो । उनका अनुसार प्रशासकीय कार्य, निर्णयहरू र नियमहरू र यदि मौखिकरूपमा छलफल गरिएको र वाध्यात्मक छ भने पनि लिखितरूपमा राखिन्छ । लिखतले पछि गरिने कार्यमा जिम्मेवारीको बोध गराउँदछ ।

वेबरको सिद्धान्तको छाप हरेक व्यवस्थापन शाखाहरूमा कुनै न कुनै रहेको पाउन सकिन्छ । ठूलो र जटिल संगठनहरूलाई व्यवस्थित गर्न उनको सिद्धान्त उपयोगी मान्न सकिन्छ । जस्तो : सरकार सेना, अन्तर्राष्ट्रिय संगठन आदि । प्राविधिक योग्यता भएका कामदार भएमा विशेषिकृत गर्न सहजीकरण हुने र उचित कामकोलागि उचित व्यक्तिको छनौंट उपयुक्त हुन्छ तर सामाजिक क्षेत्रमा वेबरको दिमाक गएको देखिदैन । उनको सिद्धान्तले परिवर्तनलाई आत्मसात गर्न सक्ने पनि देखिदैन । सार्थक नियम र प्रक्रियाले स्वेच्छाचारी कठोरता र लालफिताशाहीलाई बढावा दिन्छ । यसमा परिवर्तन सहज हुँदैन । साथै यसले अनुसन्धानलाई पनि छेकवार लगाउन सक्ने देखिन्छ । 


 कर्मचारीतन्त्रको आधुनिक व्याख्या जर्मन समाजशास्त्री : Max weber ले गरेका हुन् । उनले बैधानिक संगठन जसले अख्तियारकोे सवभन्दा आदर्श ढङ्गले अभ्यास गर्ने प्रशासनिक संयन्त्रको स्वरूपमा कर्मचारीतन्त्रलाई परिभाषित गरेका छन् । आधुनिक अवधारणा अनुरूप कर्मचारीतन्त्र निश्चित उद्देश्य परिपूर्तिकोलागि निर्माण भएको संगठनलाई जनाउँछ । कुनै पनि मुलुकको सार्वजनिक प्रशासन  को संगठनलाई कर्मचारीतन्त्र भनिन्छ । 

हिजोआज नीजि क्षेत्रको संगठनलाई जनाउन समेत कर्मचारीतन्त्र शब्दको व्यापक प्रयोग भईरहेको सन्दर्भमा सरकारी र सार्वजनिक संस्थाको एकीकृतरूपमा सार्वजनिक प्रशासन Public Bureaucray को अर्थमा लिएको पाईन्छ । कर्मचारीतन्त्रको मूलस्वरूप विकसीत निजामती सेवा हो । लोक सेवा वाट योग्यता, क्षमता र प्रतिस्पर्धाको आधारमा नियुक्त राष्ट्र सेवीहरूको समूह नै आधुनिक कर्मचारीतन्त्रको पहिचान हो । विभाग, व्यूरो, डिभिजन, शाखामा विभक्त कर्मचारीहरू वास्तविक अर्थमा प्रशासनका मालिक हुन् जुन विभागीय प्रमुखहरू स्थायी सरकारकारूपमा मन्त्रीपरिषदका कामकाजमा समेत सहायक हुने र सहभागितात्मक, सल्लाहकारी, समन्वयात्मक, निष्पक्षता, परामर्शदात्री र व्यवस्थापकीय भूमिका समेत निर्वाह गर्दछन् । 

कर्मचारीतन्त्र, संगठनात्मक स्वरूपमा आधारित, अख्तियार प्राप्त कानूनी र औपचारिक पद्धतिमा निर्माण गरिएको हुन्छ । विद्वान प्रशासक वेभर को विचारमा सरकारी संगठन त्यो व्यापक स्वरूप जसमा स्थायी, योग्य, दक्ष, कर्मचारीहरू लोक प्रशासनको सञ्चालन गर्दछन् । कर्मचारीतन्त्रको विशेषताहरूमा विशेषज्ञ, प्राविधिक, विशिष्टिकरण, पदसोपान, कानूनी ढाँचा, राजनीतिक तटस्थता र एकाधिकार रहेको हुन्छ । 

Max Weber को सन् १९११ मा जर्मन भाषामा लेखिएको लेख सन् १९४७ मा अंग्रेजी भाषामा प्रकाशित The Ligitimacy Authority & Bureaucracy मा कर्मचारीतन्त्रलाई १२ वटा विशेषताका आधारमा चिनाएका छन् । ती विशेषताहरू हुन् ःनिरन्तरता, सक्षमता, योग्यता परिक्षण, पदसोपान, नियम र प्रव्रिmयामा आधारित, अवैयक्तिकता, लिखित अभिलेख, वृत्ति प्रणाली, अनुशासन र आचारसंहिता, तटस्थता र निष्पक्षता । म्याक्स बेवरले आदेशको श्रृङ्खलामा अधिकारको सिर्जना हुन्छ जसमा परम्परागत अधिकार, ओजस्वी अधिकार र बैधानिक अधिकार गरी तीन वर्गमा अधिकारलाई वर्गिकरण गरेका छन् । 

४. आधुनिक  कर्मचारीतन्त्र बिशेषता (Characterstics of  Modern Bureaucracy) : 

४.१ परिवर्तनको संवाहक (catalystic or change oriented)

४.२ विकेन्द्रित (Decentrlized)

४.३ समुदायको स्वामित्व (community owned)

४.४ प्रतिस्पर्धी (competitiveness)

४.५ बजारमुखी (market oriented)

४.६ नागरिक उन्मुख (customar driven)

४.७ नतिजा उन्मुख (Outcome oriented)

४.८ संस्थागत संयन्त्र (Institutional Memory) 

४.९  समावेशीयता (Inclusiveness) 

४.१० लैङ्गिक–मैत्री (Gender Friendly) ।

५. कर्मचारीतन्त्रका दुर्बल पक्षहरू (Weakness of Bureaucracy) :

 विषयगत कानून प्रक्रियामुखी कार्यविधि र कार्यसम्पादन प्रक्रिया हुने हुँदा कार्यसम्पादनमा घुमाउरोपना हुन्छ । लालफिताशाही “रेडटेपिज्म” को दोष लाग्ने गरेको छ, अर्थात् धेरै ऐन, नियम, परिपत्र आदिलाई हेरेर तिनको कार्यान्वयन गर्दा काम कारवाहीमा केही समय लाग्न गई ढिला हुन जान्छ । कर्मचारीहरूले आफ्नो जिम्माको काम अरूलाई पन्छाउने, माथिको आदेशलाई पर्खिने, हाकिमको मनसाय बुझ्ने आदि गर्दछन् । यस प्रक्रियामा फाईल कागजपत्र एक टबुलवाट अर्को टेवुलमा सर्छ तर खास काम भने हुन सकेको हुँदैन, यसै विकृतिलाई आलोचकहरूले लालफिताशाही भन्दछन् ।  

 बढी औपचारिकतावाद र अनुत्तरदायिपन रहने हुँदा सेवाग्राही नागरिकहरू कर्मचारीतन्त्र लाई अत्यावश्यक खरावीकारूपमा लिने गर्दछन् । उच्चप्रशासकहरूमा शक्तिको भोक अर्थात उच्च पद प्रतिष्ठा अधिकार धाक, रवाफ, शक्ति प्राप्त गर्ने इच्छा प्रवल हुने हुँदा सेवाग्राही नागरिकहरू लाई काम गराउन असजिलो हुन्छ । ठूलो बन्ने श्रेष्ठताको भावना हुन्छ । जनसाधारणका माग र आकांक्षाप्रति उपेक्षा हुन्छ । विभागवाद भन्नाले हरेक काम कारवाहीमा विभागीय स्वीकृति लिनु पर्ने जिल्ला, विभाग र विषयगत मन्त्रालय, सहयोगी मन्त्रालयसम्म घुमिरहँनु पर्ने हुँदा विभागवादको प्रभुत्व रहन्छ । कर्मचारीतन्त्र आफूलाई सम्पूर्ण सम्झने प्रवृत्ति र आफ्ना संगठन ठूलो बनाउन खोज्ने साम्राज्य निर्माणको भावना हुन्छ । परम्पराप्रतिको गहिरो लगाव र गल्तीवाट सिकेर सुधारिने प्रवृत्ति न्यून हुने दृष्टिकोणमा लचिलोपनको अभाव, शक्ति सम्पन्न उच्च वर्ग वा समुदायको पक्ष पोषण गर्दा लर्ड ग्लेडन जस्ता विद्वानले कर्मचारीतन्त्रलाई "एक नयाँ अत्याचार (dispotism) भनेका छन् । उपर्युक्त विकृति/विसगंतीहरू लाई Bureau pathology को स्वरूप जुन विश्वव्यापीरूपमा अध्ययन र अनुसन्धानको विषयकारूपमा लिन सकिन्छ । 


६. कर्मचारीतन्त्रका सबल पक्षहरू (Strengthen of Bureaucracy) :

“कर्मचारीतन्त्र मरिसक्यो, कर्मचारीतन्त्र जिन्दावाद” भनेर ए.भि.डायसी भन्ने विद्वानले भन्नुको पछाडि यसका सबल पक्षहरू रहेका छन् भन्ने तथ्यको उद्गार नै हो । मेक्स बेवरले कर्मचारीतन्त्रलाई परिचय गराउँदा अघि सारेका विशेषताहरू लाई नै यसका सबल पक्षका रूपमा लिन सकिन्छ । बुँदागतरूपमा औंल्याउँदा देहाएबमोजिम उल्लेख गर्न सकिन्छ :-

६.१ पदसोपानको नियम अनुसार औपचारिकरूपमा संरचनाको परिभाषा गरिने भएकाले कार्यक्षेत्र र सीमा प्रष्ट हुन्छ । 

६.२ सञ्चारको रेखा प्रष्ट हुने र सञ्चार बुझ्न सकिने व्यवस्थापन सूचना प्रणालीको प्रयोग हुने हुनाले प्रशासन प्रभावकारी हुन्छ । 

६.३ सवै विभाग, महाशाखा, शाखा, प्रशाखाहरू संगठनको आधारमा नियम कानूनवाट नै एक आपसमा सम्वन्धित हुन्छन् । 

६.४ संविधान, नीति, कानूनी कार्यविधि एवं मापदण्ड सम्मत निर्णय प्रक्रिया हुन्छ । 

६.५  कुनै पनि कर्मचारीलाई कार्यसम्पादन गर्न बैधानिकरूपले प्राधिकार प्राप्ति हुन्छ । 

६.६ कर्मचारीको नियुक्ति, योग्यता, क्षमता प्रतिस्पर्धाको आधारमा गरिन्छ । 

६.७ निजामती सेवामा संबैधानिकरूपमा व्यवस्था गरिएको लोक सेवा आयोगवाट छनौंट गरि कर्मचारीको सिफारिश गरिन्छ । 

६.८ राजनीति परिवर्तन भईरहने र कर्मचारीतन्त्र वृत्ति विकासकोरूपमा निश्चित उमेर अवधि तोकि लामो समयसम्म क्रियाशिल रहने हुँदा यो स्थायी सरकारकोरूपमा मान्यता प्राप्त गरिसकेको छ । 

६.९ सवै कर्मचारीहरूको काम, कर्तव्य र अधिकार कानूनद्वारा प्रष्ट गरिएको हुन्छ । 

६.१० उत्तरदायित्व र पारदर्शिता कानून नियम र कार्यविधिवाट व्यवस्थित गरिएको हुन्छ । 

६.११ विशेषज्ञतामा आधारित र श्रम विभाजनको व्यवस्था गरिएको हुन्छ । 

६.१२ अनुशासन र नियन्त्रणको प्रभावकारी व्यवस्था गरिएको हुन्छ । 

६.१३ नीति निर्माण र कार्यान्वयन प्रव्रिmयामा निरन्तरता र स्थिरता हुन्छ । 

६.१४ विवेकशिलता र एकरूपताको सुनिश्चितता हुन्छ ।
 
६.१५ स्थायी कर्मचारीहरूलाई अवकाश पश्चात् पनि निवृत्तिभरण (पेन्सन) र सरकारले आवश्यकतानुसार थप जिम्मेवारीहरू प्रदान गर्न सक्छ ।

६.१६ योग्यलाई योग्य स्थान, सहि समयमा, सहि तरिकाले उचित निर्णयद्वारा (Right man in Right place in time in right way in Right Decision) भनेर भन्ने गरेको पाईन्छ । यसले गर्दा कर्मचारीतन्त्रको सबलता स्पष्ट हुन्छ । 

६.१७ राष्ट्रको समग्र र दीर्घकालिन हितको रक्षा र अभिवृद्धि हुन्छ । राष्ट्रको जस्तो सुकै कठिन परिस्थितिमा पनि कर्मचारीतन्त्र काम गर्न तम्तयार हुन्छ । 

६.१८ स्थानीय तह संविधानत: स्थानीय सरकार भएकाले जनताको नजिक घर दैलो पहुँच हुँदा विकास निर्माण र सेवा प्रवाह, सुविधा बितरणमा छिटोछरितो, चुस्त दुरुस्त, गुणस्तरीय, प्रभावकारी र मितव्ययी र स्थानीय जनताको आफ्नो अपनत्व हुन्छ । 

७. नेपालको कर्मचारीतन्त्र :

नेपालमा निजामती सेवामा करिव ९० हजार निजामती कर्मचारीहरु मध्ये अहिले प्रदेश र स्थानीय तहमा समायोजन भएका र केही स्थानीय तह सानो संख्यामा नियुक्त भै अझै पनि कानुनी अभावमा धेरै दरबन्दी रिक्त रहेका छन् । सैनिक सेवा, प्रहरी सेवा  (जनपद, सशस्त्र) सार्वजनिक संस्थान, विद्यालय र शिक्षण संस्थान गरी कूल जम्मा करिव छ साढे छ लाखको हाराहारीमा सरकारी कर्मचारी रहेका छन् । 

कर्मचारीतन्त्रलाई संघीय, प्रदेश र स्थानीय तहको दरबन्दी स्वीकृत भै संघमा दर्जामुलक र प्रदेश र स्थानीय तहमा तहमुलक रहेको छ ।  समयको माग एवम् आवश्यकता अविलम्ब संघीयय प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्नुपर्ने रहेको छ । यसको सवभन्दा बढी प्रभाव निजामती सेवामा पर्दछ । निजामती सेवा सम्पूर्ण कर्मचारीतन्त्रको अभिभावकको स्वरूपमा संविधान, कानून र प्रयोगले समेत देखाएको छ । लोक सेवा आयोगको पद्धतिमा औंला  उठाउने ठाउँ छैन ।

विश्वविद्यालय र कलेजका उत्कृष्ट प्रतिभाहरू निजामती सेवामा आवद्ध छन् । निजामती सेवा अप्राविधिक र प्राविधिक गरी दुई प्रकारको छ । अप्राविधिक सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल लेखापरिक्षण सेवा, नेपाल संसद सेवा र नेपाल विविध सेवामा समेत कर्मचारीहरू आवद्ध छन् भने प्राविधिक सेवा अन्तर्गत नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल इञ्जिनियरिङ्ग सेवा, नेपाल कृषि सेवा, नेपाल वन सेवा, नेपाल शिक्षा सेवा र नेपाल विविध सेवाको समेत करिव ९० वटा समूहहरू र उपसमूहहरू समेत रहेका छन् । 

अन्त्यमा सारभुतरुपमा वर्तमान सन्दर्भमा संविधानत: संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको सरकार र कर्मचारी समायोजन पश्चात् तत् निकायका कानुन बिशेषत: कर्मचारीतन्त्रात्मक संघीय, प्रदेश र स्थानीय तहको कानुन बन्न नसक्नु विडम्बनाको अवस्था रहेकोले सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी रहेको छ । 

लेखक परिचय : 
~~~~~~~~~~

बसन्तराज अधिकारी 
अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा)
हाल : उपसचिव, नेपाल सरकार 
कामकाज : प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरकार्यपालिका कार्यालय
राजापुर,  बर्दिया ।

✍️ रचनाकार : बसन्तराज अधिकारी
घोराही, दाङ 
हाल: राजापुर, बर्दिया ।


सन्दर्भ सामग्री (References)
~~~~~~~~~~~~~~~~~~~

१. नेपालको संविधान, २०७२

२. निजामती सेवा ऎन, २०४९ र नियमावली, २०५० संशोधन सहित 

३. सुरेश चन्द्र पन्त र आर.एम.भण्डारी, लोक प्रशासन, प्रकाशन केन्द्र, लखनउ, १९८८ पृ.१८०

४. व्यवस्थापनको अवधारणा र सिद्धान्तहरू, दीपककुमार दाहाल, सार्वजनिक वयवस्थापन, अग्रसारथी अध्ययन तथा अनुसन्धान केन्द्र, सोपान मासिक द्वारा प्रकाशित

५. "जागीरे-यात्रा" सिर्जनाहरुको सङ्गालो, २०७० ।

Comments

Post a Comment