९२. कर्मचारीतन्त्र र यसको विकासक्रम

कर्मचारीतन्त्र र यसको विकासक्रम

                      

✍️ बसन्तराज अधिकारी 
                           उपसचिव, नेपाल सरकार 

१.परिचय :


अख्तियार प्राप्त बैधानिक र औपचारिक पद्धति तथा संगठनात्मक सिद्धान्तमा आधारित स्वरूप जुन राजनीतिक पद्धतिको उपपद्धति र शासकीय स्वरूपमा संरचित मूर्त र क्रियाशिल एकीकृत संगठन कर्मचारीतन्त्र हो, जहाँ जनशक्ति, कार्यप्रक्रियामा , कार्यालय र अधिकारको संयुक्तरूपमा प्रयोग गरिन्छ । कर्मचारीतन्त्र जनसाधारणवाट पृथक अव्यक्तिगतरूपमा कार्यसम्पादन गर्ने ठूलो र स्थायी संगठन हो । यस भित्र विस्तृत नियम, सूक्ष्म नियन्त्रण, पदसोपान पद्धति र उच्चरूपले विशिष्टिकरण गरिएका कार्यहरू योग्य र निपुण कर्मचारीहरू द्वारा सम्पादन गरिन्छन् । कर्मचारीतन्त्रलाई अंग्रेजी शब्द Bureaucracy शब्दको प्रयोग सर्वप्रथम सन् १७४५ मा फ्रेञ्च अर्थशास्त्री Vincent D.Gaurane ले गरेका हुन् । तत्कालिन समयमा यसलाई नकारात्मक अर्थात फ्रान्सको Bureaaumenia नामक रोगको रूपमा अर्थाईएको थियो । मूलरूपमा अठारौं शताद्वि र उन्नाईसौं शताद्विमा कर्मचारीतन्त्रको विकासले तिव्रता लियो भने विसौं शताद्विमा यसको प्रयोग सर्वत्र फैलियो । विसों शताद्वि पश्चात् व्यूरोक्रेसीको पहिचान सभ्य, शिक्षित, प्रतिस्पर्धी, लोक सेवाको योग्यता परीक्षणमा अब्बल भई उत्तिर्ण White Color Job विशेषतः अधिकृतस्तर देखि माथिल्ला सफेदपोशी अधिकृत कर्मचारी वर्गलाई व्युरोक्र्याटको पहिचान दिन थालियो ।

Encyclopedia of Britanica का अनुसार कर्मचारीतन्त्र भनेको प्रशासनिक शक्तिहरू अड्डा वा विभागहरूमा केन्द्रित हुने र सीमा नराखी कर्मचारीहरू द्वारा सवै कुरामा हस्तक्षेप गर्ने प्रणाली हो । यसको अर्थ प्रशासकहरू नागरिक अधिकारमा समेत नियन्त्रण राख्न सक्ने अधिकार राख्दछन् ।

कर्मचारीतन्त्रको आधुनिक व्याख्या जर्मन समाजशास्त्री Max weber ले गरेका हुन् । उनले बैधानिक संगठन जसले अख्तियारकोे सवभन्दा आदर्श ढङ्गले अभ्यास गर्ने प्रशासनिक संयन्त्रको स्वरूपमा कर्मचारीतन्त्रलाई परिभाषित गरेका छन् । आधुनिक अवधारणा अनुरूप कर्मचारीतन्त्र निश्चित उद्देश्य परिपूर्तिकोलागि निर्माण भएको संगठनलाई जनाउँछ । कुनै पनि मुलुकको सार्वजनिक प्रशासन  को संगठनलाई कर्मचारीतन्त्र भनिन्छ । हिजोआज नीजि क्षेत्रको संगठनलाई जनाउन समेत कर्मचारीतन्त्र शब्दको व्यापक प्रयोग भईरहेको सन्दर्भमा सरकारी र सार्वजनिक संस्थाको एकीकृतरूपमा सार्वजनिक प्रशासन Public Bureaucray को अर्थमा लिएको पाईन्छ । कर्मचारीतन्त्रको मूलस्वरूप विकसीत निजामती सेवा हो । लोक सेवा वाट योग्यता, क्षमता र प्रतिस्पर्धाको आधारमा नियुक्त राष्ट्र सेवीहरूको समूह नै आधुनिक कर्मचारीतन्त्रको पहिचान हो । विभाग, व्यूरो, डिभिजन, शाखामा विभक्त कर्मचारीहरू वास्तविक अर्थमा प्रशासनका मालिक हुन् जुन विभागीय प्रमुखहरू स्थायी सरकारकारूपमा मन्त्रीपरिषदका कामकाजमा समेत सहायक हुने र सहभागितात्मक, सल्लाहकारी, समन्वयात्मक, निष्पक्षता, परामर्शदात्री र व्यवस्थापकीय भूमिका समेत निर्वाह गर्दछन् । कर्मचारीतन्त्र, संगठनात्मक स्वरूपमा आधारित, अख्तियार प्राप्त कानूनी र औपचारिक पद्धतिमा निर्माण गरिएको हुन्छ । विद्वान प्रशासक L.D.White को विचारमा सरकारी संगठन त्यो व्यापक स्वरूप जसमा स्थायी, योग्य, दक्ष, कर्मचारीहरू लोक प्रशासनको सञ्चालन गर्दछन् ।

कर्मचारीतन्त्रको विशेषताहरूमा विशेषज्ञ, प्राविधिक, विशिष्टिकरण, पदसोपान, कानूनी ढाँचा, राजनीतिक तटस्थता र एकाधिकार रहेको हुन्छ ।
Max Weber को सन् १९११ मा जर्मन भाषामा लेखिएको लेख सन् १९४७ मा अंग्रेजी भाषामा प्रकाशित The Ligitimacy Authority & Bureaucracy मा कर्मचारीतन्त्रलाई १२ वटा विशेषताका आधारमा चिनाएका छन् । ती विशेषताहरू हुन् : निरन्तरता, सक्षमता, योग्यता परिक्षण, पदसोपान, नियम र प्रक्रुयामा आधारित, अवैयक्तिकता, लिखित अभिलेख, वृत्ति प्रणाली, अनुशासन र आचारसंहिता, तटस्थता र निष्पक्षता । म्याक्स बेवरले आदेशको श्रृङ्खलामा अधिकारको सिर्जना हुन्छ जसमा परम्परागत अधिकार, ओजस्वी अधिकार र बैधानिक अधिकार गरी तीन वर्गमा अधिकारलाई वर्गिकरण गरेका छन् । विभिन्न राजनीतिज्ञ प्रशासक, विद्वानहरूको सार अर्थमा वर्तमान कर्मचारीतन्त्रका विशेषताहरूलाई देहाए बमोजिम उल्लेख गर्न सकिन्छ

(क) परिवर्तनको संवाहक, (२) विकेन्द्रित, (३) समुदायको स्वामित्व, (४) प्रतिस्पर्धी, (५) बजारमुखी, (ट) नागरिक उन्मुख (७) नतिजा उन्मुख (८) Institutional Memory (९) समावेशीयता (१०) लैङ्गिक–मैत्री । 

१.१ कर्मचारीतन्त्रका सबल पक्षहरू

“कर्मचारीतन्त्र मरिसक्यो, कर्मचारीतन्त्र जिन्दावाद” भनेर ए.भि.डायसी भन्ने विद्वानले भन्नुको पछाडि यसका सबल पक्षहरू रहेका छन् भन्ने तथ्यको उद्गार नै हो । मेक्स बेवरले कर्मचारीतन्त्रलाई परिचय गराउँदा अघि सारेका विशेषताहरू लाई नै यसका सबल पक्षका रूपमा लिन सकिन्छ । बुँदागतरूपमा औंल्याउँदा देहाएबमोजिम उल्लेख गर्न सकिन्छ :-

* पदसोपानको नियम अनुसार औपचारिकरूपमा संरचनाको परिभाषा गरिने भएकाले कार्यक्षेत्र र सीमा प्रष्ट हुन्छ ।

* सञ्चारको रेखा प्रष्ट हुने र सञ्चार बुझ्न सकिने व्यवस्थापन सूचना प्रणालीको प्रयोग हुने हुनाले प्रशासन प्रभावकारी हुन्छ ।

* सवै विभाग, महाशाखा, शाखा, प्रशाखाहरू संगठनको आधारमा नियम कानूनवाट नै एक आपसमा सम्वन्धित हुन्छन् ।

* संविधान, नीति, कानूनी कार्यविधि एवं मापदण्ड सम्मत निर्णय प्रकृयामा हुन्छ ।

* कुनै पनि कर्मचारीलाई कार्यसम्पादन गर्न बैधानिकरूपले प्राधिकार प्राप्ती हुन्छ ।

* कर्मचारीको नियुक्ति, योग्यता, क्षमता प्रतिस्पर्धाको आधारमा गरिन्छ ।

* निजामती सेवामा संबैधानिकरूपमा व्यवस्था गरिएको लोक सेवा आयोगवाट छनौंट गरि कर्मचारीको सिफारिश गरिन्छ

* राजनीति परिवर्तन भईरहने र कर्मचारीतनत्र वृत्ति विकासकोरूपमा निश्चित उमेर अवधि तोकि लामो समयसम्म कृयाशिल रहने हुँदा यो स्थायी सरकारकोरूपमा मान्यता प्राप्त गरिसकेको छ ।

* सवै कर्मचारीहरूको काम, कर्तव्य र अधिकार कानूनद्वारा प्रष्ट गरिएको हुन्छ ।

* उत्तरदायित्व र पारदर्शिता कानून नियम र कार्यविधिवाट व्यवस्थित गरिएको हुन्छ ।

* विशेषज्ञतामा आधारित र श्रम विभाजनको व्यवस्था गरिएको हुन्छ ।

* अनुशासन र नियन्त्रणको प्रभावकारी व्यवस्था गरिएको हुन्छ ।

* नीति निर्माण र कार्यान्वयन प्रकृयामा निरन्तरता र स्थिरता हुन्छ ।

* विवेकशिलता र एकरूपताको सुनिश्चितता हुन्छ

* स्थायी कर्मचारीहरूलाई अवकाश पश्चात् पनि निवृत्तिभरण (पेन्सन) र सरकारले आवश्यकतानुसार थप जिम्मेवारीहरू प्रदान गर्न सक्छ ।

* civil service is moral agent & civil servents are moral actors भनेर भन्ने गरेको पाईन्छ । यसले गर्दा कर्मचारीतन्त्रको सबलता स्पष्ट हुन्छ ।

* राष्ट्रको समग्र र दीर्घकालिन हितको रक्षा र अभिवृद्धि हुन्छ । राष्ट्रको जस्तो सुकै कठिन परिस्थितिमा पनि कर्मचारीतन्त्र काम गर्न तम्तयार हुन्छ ।

१.२ कर्मचारीतन्त्रका दुर्बल पक्षहरू

विषयगत कानून प्रकृयामुखी कार्यविधि र कार्यसम्पादन प्रकृया हुने हुँदा कार्यसम्पादनमा घुमाउरोपना हुन्छ । लालफिताशाही “रेडटेपिज्म” को दोष लाग्ने गरेको छ, अर्थात् धेरै ऐन, नियम, परिपत्र आदिलाई हेरेर तिनको कार्यान्वयन गर्दा काम कारवाहीमा केही समय लाग्न गई ढिला हुन जान्छ ।

कर्मचारीहरूले आफ्नो जिम्माको काम अरूलाई पन्छाउने, माथिको आदेशलाई पर्खिने, हाकिमको मनसाय बुझ्ने आदि गर्दछन् । यस प्रव्रिmयामा फईल कागजपत्र एक टबुलवाट अर्को टेवुलमा सर्छ तर खास काम भने हुन सकेको हुँदैन, यसै विकृतिलाई आलोचकहरूले लालफिताशाही भन्दछन् ।
बढी औपचारिकतावाद र अनुत्तरदायिपन रहने हुँदा सेवाग्राही नागरिकहरू कर्मचारीतन्त्र लाई अत्यावश्यक खरावीकारूपमा लिने गर्दछन् । उच्चप्रशासकहरूमा शक्तिको भोक अर्थात उच्च पद प्रतिष्ठा अधिकार धाक, रवाफ, शक्ति प्राप्त गर्ने इच्छा प्रवल हुने हुँदा सेवाग्राही नागरिकहरू लाई काम गराउन असजिलो हुन्छ । ठूलो बन्ने श्रेष्ठताको भावना हुन्छ । जनसाधारणका माग र आकांक्षाप्रति उपेक्षा हुन्छ । विभागवाद भन्नाले हरेक काम कारवाहीमा विभागीय स्वीकृति लिनु पर्ने जिल्ला, विभाग र विषयगत मन्त्रालय, सहयोगी मन्त्रालयसम्म घुमिरहँनु पर्ने हुँदा विभागवादको प्रभुत्व रहन्छ । कर्मचारीतन्त्र आफूलाई सम्पूर्ण सम्झने प्रवृत्ति र आफ्ना संगठन ठूलो बनाउन खोज्ने साम्राज्य निर्माणको भावना हुन्छ । परम्पराप्रतिको गहिरो लगाव र गल्तीवाट सिकेर सुधारिने प्रवृत्ति न्यून हुने दृष्टिकोणमा लचिलोपनको अभाव, शक्ति सम्पन्न उच्च वर्ग वा समुदायको पक्ष पोषण गर्दा केहि विद्वानले कर्मचारीतन्त्रलाई एक नयाँ अत्याचार भनेका छन् । उपर्युक्त विकृति/विसगंतीहरूलाई  Bureay pathlogy को स्वरूप जुन विश्वव्यापीरूपमा अध्ययन र अनुसन्धानको विषयकारूपमा लिन सकिन्छ ।

२.कर्मचारीतन्त्रको विकासक्रम

कर्मचारीतन्त्रको विकास देश, काल, परिस्थिती, समय सन्दर्भ र समाजका आधारमा विकास भएको पाईन्छ । मूलतः Max weber ले कर्मचारीतन्त्रको मोडेललाई अघि सारेपछि यसका आलोचना गर्ने तथा समर्थन गर्ने विद्वानहरूको ओईरो लाग्यो । राजा, महाराजा, सामन्त, जमिन्दार जस्ता समाजका सभ्रान्त वर्गका रकमी (नगद तथा जिन्सीको हिसाव किताव राख्ने) र कलमी (लेखापढी गर्ने वकिल, लेखनदास, कारिन्दा) वाट कर्मचारीतन्त्रको विकास भए पनि १९ औं शताद्विवाट यसले आफ्नै बाहुबलले प्राज्ञिक सम्मान आर्जन ग¥यो । कर्मचारीतन्त्रका निम्नलिखित वर्गीकरण अनुसार यसको विकासक्रमलाई बुझ्न सकिन्छ

२.१ F.M.Marx ले कर्मचारीतन्त्रलाई चार प्रकारमा वर्गीकरण गरेका छन्
अभिभावक कर्मचारीतन्त्र (Gardian Bureaucracy)

सन् ९६० भन्दा अगाडिको चीनको सुङवंशको यूग र प्रसियाको सन् १६४० सम्मको कर्मचारीतन्त्रलाई माक्सले अभिभावक कर्मचारीतन्त्र भनि उल्लेख गरेका छन् । यस कर्मचारीतन्त्रका विशेषताहरूमा उत्कृष्ट प्राचिन साहित्यहरूको अध्ययन गरि शास्त्रास्त्र गर्ने क्षमता भएको प्रशिक्षित र बुद्धिमान कर्मचारीहरू थिए । जसले ईमान्दारीता र नैतिकताका आधारमा भ्रष्टाचारमुक्त प्रशासनयन्त्र सञ्चालन गर्दथे । आफूलाई जनहितको संरक्षक सम्झने तर जनताको भावनाको वास्ता नगर्ने प्रवृत्ति विद्यमान थियो । जनताप्रति सहानुभूति राख्ने भएतापनि जनमतलाई आत्मसात नगर्ने प्रवृत्ति रहेको पाईन्छ ।

जातीय कर्मचारीतन्त्र (Cast Bureaucracy)

Bureaucrats are born not made भन्ने आदर्श प्राचिन भारत बेलायत जस्ता मुलुकमा विद्यमान थियो । नेपालमा पनि वि.सं.२००७ साल पूर्व यस्तै प्रकारको कर्मचारीतन्त्र थियो ।हाल सम्म पनि यस व्यवस्थाको अवशेषहरूलाई नियाल्न सकिन्छ । माथिल्ला सैनिक अधिकारीहरू र अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा यसको छाप रहेको अनुभव हुन्छ । राजपत्राकिंत र राजपत्रअनंकित गरी कर्मचारीको वर्गिकरण यहि व्यवस्थाको अप्रत्यक्ष उपज हो । यस कर्मचारीतन्त्रका विशेषताहरूमा वर्गीय आधारमा नियुक्ति गरिने नियन्त्रण गर्ने स्थानमा रहेकाहरूको वर्गिय सम्पर्कवाट सञ्चालन हुने निश्चित जात वा वर्गका मानिसलाई मात्र उपल्लो दर्जामा पु-याउने योग्यतालाई जातियतामा आधारित गराउने, पद र जाति विच अन्र्तसम्वन्ध कायम रहने, यसलाई दोषपूर्ण सामाजिक व्यवस्थाको प्रतिककोरूपमा लिन सकिन्छ ।

संरक्षक कर्मचारीतन्त्र (Patronage Bureaucracy)

अमेरिकामा नयाँ राष्ट्रपति चुनिने वित्तिकै आफूलाई चुनावमा सहयोग गर्ने आफ्ना कार्यक्रमलाई आत्मसात गर्ने कार्यकर्ता र समर्थकहरू लाई प्रशासनिक पदमा नियुक्ति गर्ने प्रथा यसको उदाहरण हो । नेपालमा पनि राजनीतिक अस्थिरता हुँदा सत्ता पक्षले यसको प्रयोग गर्ने जमर्को गर्ने तर सफल नहुने गरेको अनुभव रहेको छ । यद्यपी, सार्वजनिक संस्थानका महाप्रवन्धकहरू फेर्ने प्रशासनमा आफू अनुकूलको कर्मचारीलाई रोज्ने, महत्वपूर्ण पद र जिम्मेवारी सुम्पनलाई निकटकाहरूको खोजी गर्ने प्रवृत्ति भने अझै कायम रहेको छ । यस कर्मचारीतन्त्रका विशेषताहरूमा नियुक्ति दिने र नियुक्त हुन चाहनेका बीचमा कुनै किसिमका राजनीतिक वा व्यक्तिगत सम्वन्ध कायम हुने, व्यक्तिगत अनुग्रह वा पुरस्कारकारूपमा सरकारी पद प्राप्त हुने, शैक्षिक योग्यता आवश्यक पर्ने तर महत्व भने नदिईने, सत्ता प्रति प्रतिवद्ध हुने (Committed Bureaucracy) हुने र सत्तारूढ दललाई खुशी पार्नु प्रमुख उद्देश्य रहने गरेको पाईन्छ ।
योग्यतामा आधारित कर्मचारीतन्त्र (Merit Based or Meritocracy)
योग्यताको आधारमा सक्षम कर्मचारीहरू नियुक्त गरी योग्यता कै आधारमा वृत्ति विकास गर्ने कर्मचारीतन्त्र लाई Merit Bureaucracy भनिन्छ । बेलायतमा सन १९५३ को नर्थकोट र ट्रेभलियनको रिपोर्टको कार्यान्वयन, अमेरिकाका राष्ट्रपति गारफिल्डको बेरोजगार अधिकृत कर्मचारी विलियम जे.गुटेवाट हत्या भएपछि पेन्डल्टन ऐक्ट, १८८३ यस्तै फ्रान्स र भारतमा पनि योग्यतामा आधारित विशिष्ट मोडेलको कर्मचारीतन्त्र पश्चात् नेपालमा वि.सं.२०१३ सालमा निजामती सेवा ऐन, २०१३ तथा नियमावली, २०१३ पश्चात् यस किसिमको कर्मचारीतन्त्रको सुरूवात र विकास भएको पाईन्छ । यसका विशेषताहरूमा योग्यताको आधारमा परिक्षण प्रणालीद्वारा कर्मचारीको नियुक्ति गरिने नियमानुसार निश्चित तलव प्रदान गरिने निष्पक्ष, वस्तुनिष्ट र निष्पक्ष भएर कार्यसम्पादन गर्ने वातावरण, राज्यको संविधान तथा देश र जनताको सेवा प्रति प्रतिवद्ध राजनीति प्रति तटस्थ कर्मचारीतन्त्रले कालान्तरमा मध्यमवर्गको हितको संरक्षण गर्दछ ।

२.२ मेरिल फेनसोडले कर्मचारीतन्त्रलाई निम्नवमोजिम पाँच प्रकारमा वर्गीकरण गरेका छन् :

(क) प्रतिनिधिमूलक कर्मचारीतन्त्र, (ख) पार्टी (राज्य) कर्मचारीतन्त्र, (ग) सैनिक प्राधान्य कर्मचारीतन्त्र, (घ) शासक नियन्त्रित कर्मचारीतन्त्र, (ङ) शासक कर्मचारीतन्त्र ।

२.३ Willoughby ले कर्मचारीतन्त्रलाई देहाए अनुसार तीन वर्गमा वर्गीकरण गरेका छन् :

(क) कर्मचारीतन्त्रात्मक (Bureaucratic)

(ख) कुलिनतन्त्रात्मक (Aristocratic)

(ग) प्रजातन्त्रात्मक (Democratic)

तत्कालिन प्रसियाको पुरानो निजामती सेवालाई कर्मचारीतन्त्रात्मक पद्धतिको स्वरूपको दृष्टान्तको रूपमा औंल्याउने गरिन्छ । सन् १९१४ भन्दा पहिले बेलायतको शासन व्यवस्था अहिले भन्दा निकै भिन्न रहेको र त्यसवेला शासनतन्त्रमा कुलिनतन्त्रका धेरै विशेषताहरू रहेको पाईन्छ । Max Weber ले उल्लेख गरेको कर्मचारीतन्त्रलाई आदर्श प्रकारको कर्मचारीतन्त्रको विशेषता भएको कर्मचारीतन्त्र मानिन्छ ।

२.४ कतिपय प्रशासनविद विद्वानहरूले प्रतिनिधिमूलक, सन्तुलित र सहभागितामुलक कर्मचारीतन्त्र लाई प्रजातन्त्रको संरक्षण गर्नको निम्ती उपयुक्त संरचनाकोरूपमा लिएका छन् ।

३. नेपालको कर्मचारीतन्त्र

नेपालमा निजामती सेवामा करिव ९० हजार निजामती कर्मचारी रहेका छन् । सैनिक सेवा, प्रहरी सेवा  (जनपद, सशस्त्र) सार्वजनिक संस्थान, विश्वद्यिालय र शिक्षण संस्थान गरी कूल जम्मा करिव ६ लाख सरकारी कर्मचारी रहेका छन् । यस वर्ष २०६८ को १०० औं राष्ट्रिय जनगणनाको अनुमानित तथ्याङ्क ३ कारोड नेपाली जनताकालागि ६ लाख कर्मचारीतन्त्र २ प्रतिशत मात्र हुन आउँछ । यो संख्या न्यून कर्मचारीतन्त्रकै सूचक हो । नेपालको कर्मचारीतन्त्र बोझिलो छैन । नयाँ नेपाल संघीय लोकतन्त्रात्मक गणतन्त्रको परिकल्पना नेपालको अन्तरिम संविधान, २०६३ ले गरेको छ । आगामी बन्ने नयाँ नेपालको संविधानमा राज्यको पुर्नसंरचना गर्नु पर्ने र कर्मचारीतन्त्रलाई संघीय संरचनाकारूपान्तरण गर्नु पर्ने समयको माग उवं आवश्यकता रहेको छ । यसको सवभन्दा बढी प्रभाव निजामती सेवामा पर्दछ । निजामती सेवा सम्पूर्ण कर्मचारीतन्त्रको अभिभावकको स्वरूपमा संविधान, कानून र प्रयोगले समेत देखाएको छ । लोक सेवा आयोगको पद्धतिमा ओंला उठाउने ठाउँ छैन । विश्वविद्यालय र कलेजका उत्कृष्ट प्रतिभाहरू निजामती सेवामा आवद्ध छन् । निजामती सेवा अप्राविधिक र प्राविधिक गरी दुई प्रकारको छ । अप्राविधिक सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल लेखापरिक्षण सेवा, नेपाल संसद सेवा र नेपाल विविध सेवामा समेत कर्मचारीहरू आवद्ध छन् भने प्राविधिक सेवा अन्तर्गत नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल इञ्जिनियरिङ्ग सेवा, नेपाल कृषि सेवा, नेपाल वन सेवा, नेपाल शिक्षा सेवा र नेपाल विविध सेवाको समेत करिव ९० वटा समूहहरू र उपसमूहहरू समेत रहेका छन् ।

नेपालको कर्मचारीतन्त्र समग्रमा राष्ट्रप्रति बफादार, अनुशासित र कर्तव्यपरायण छ । यसमा लचकताको गुण छ । परिवर्तनलाई आत्मसात गर्न सक्ने र जस्तो सुकै विषम परिस्थितिमा पनि काम गर्न सक्ने गुण विद्यमान छ । निजामती सेवामा लाग्ने गरेको ब्राम्हण, क्षेत्री र नेवारको बाहुल्यता र त्यसमा पनि पुरूषहरूको एकाधिकारको आरोप अव लगाउनु पर्दैन । २०६३/०६३ को दोस्रो जनआन्दोलन पश्चात बनेको अन्तरिम स्रविधानले महिला, आदिवासी, जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई प्रतिनिधित्व गराएको छ । सेवाको निश्चित अवधि, न्यूनत्तम योग्यता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा विशेष बढुवा गरी सेवा भित्रका बन्द वृत्तिका कर्मचारीहरू लाई पनि निकाससम्म दिएको छ तर यो अविलम्व व्यवस्थापन गर्नु पर्छ । सरकारको प्रतिवद्धता र आँटको खाँचो छ । यही कर्मचारीतन्त्र  नै देश विकासको मस्तिष्क, सबल, बाहु, मेरूदण्ड र स्वस्थ्य शरिर हो । सार्वजनिक नेतृत्वले यो विषयलाई गम्भीररूपमा लिई कर्मचारीतन्त्र लाई उपयोग गरि राष्ट्रको शान्ति सुरक्षा, अमनचयन, सैनिक प्रशासन, सभ्यता, विकास, निर्माण र राष्ट्रवासीको गौरव र गरिमा बढाउने र उत्तरोत्तर प्रगतिको कार्यमा प्रयोग गर्नुपर्दछ ।

✍️ बसन्तराज अधिकारी, भूमिसुधार अधिकारी, दाङ

नयाँ  यूगबोध राष्ट्रिय दैनिक, दाङ, २०६८ श्रावण २० गते सोमबार                              

Comments