३०. कार्यालय व्यवस्थापनमा : मानवस्रोतको भुमिका

कार्यालय व्यवस्थापनमा : मानवस्रोतको भुमिका 
                
✍️ वसन्तराज अधिकारी
उपसचिव, नेेपाल सरकार
१. सारांश (Abstract) : कार्यालय कर्मचारीको "कर्म घर" हो । सम्पुर्ण कर्मचारीहरू घरका हैसियत अनुरुपको पारिवारिक सदस्यहरु हुन् । पुरानो र बूढो अवस्थामा रहेको घर नयाँ संरचनाको रुपमा रुपान्तरणको क्रममा रहेको छ । परन्तु, "जस्को शक्ति उसैको भक्ति" भने जस्तो याहाँ अनुशासनको अभाव रहेको तितो यथार्थ छ । बिश्वका विकसित मुलुकहरू त्यत्तिकै समुन्नति गरि अग्रपंक्तिमा अगाडि बढेका होईनन् । हाम्रा छिमेकी मुलुक चीन र भारतलाई औंल्याउँदा पनि हाम्रो अवस्था अझै दिनहिनरूपमा  गुज्रनु विडम्बना रहेको छ । हामीसँग बिद्यमान स्रोत साधनको उपलब्धता भन्दा पनि एउटा कुरोको टट्कारो अभाव रहेको छ त्यो हो कर्मठता अर्थात् स्वउत्प्रेरितरुपमा कठोरता पुर्वक काम गर्ने अनुशासनको पुर्णतः पालन गर्ने अभ्यास हामीमा छैन । हाम्रा उच्च पदस्थ शाशक प्रशासकहरु अध्ययन भ्रमणमा बिदेश गइरहेको यथार्थता एकातिर छ भने अर्को तिर सिकाई उपलब्धि अपेक्षित रुपमा माथी उठन सकेको छैन । यथार्थमा हामी कार्यमुखि संस्कृति तर्फ अभिमुख छैनौं । काम गरेर भन्दा पनि कामै नगरी ठुलो मान्छे बनी पैंसा कमाउन र हैसियत बढाउन पाएकोमा परिवार र समाजमा धाक रवाफ जमाई गौरव गर्दछौं । यथार्थमा त्यस्तै लाई समाज तथा राष्ट्रले सम्मान  गरेको पनि छ । कार्य वातावरण परम्परागत ढररावाट माथी उठन सकेको छैन । बिदेशमा वैदेशिक रोजगारीमा गएर थ्री डी (Dirty, Difficulty & Danger) काम गर्न इच्छुक हाम्रा दाजुभाइहरु स्वदेशमा काम गर्ने उत्प्रेरणा नआउने किन ? एकातिर बिश्वका विकसित राष्ट्रहरु एक्काइसौं शताब्दीका चुनौतीहरुलाई सहजताका साथ जित्न सक्ने Vision, Mission, Strategy, Action Plan, Goals मा अगाडि बढिरहेका छन् भने अर्कोतिर हामी गरिबी र अशिक्षा विरुद्ध लडन नै असमर्थ भैरहेका छौं । राजनीतिक नेतृत्वको प्रतिबद्धता एवं सक्षमता महत्वपूर्ण कुरा हो । अहिले त सक्षम नागरिकस्तरको राजनीतिक नेतृत्वको आधारशिला बनाउने क्रममा राष्ट्र अभिमुख रहेको छ । अब प्रत्येक राजनीतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारीहरुले नयाँ सोंच तथा दृष्टिकोण अनुसार इमानदार, कर्तव्यबोध र सक्षमता पुर्वक अगाडि बढनुपर्ने समयको माग एवं चुनौतीपूर्ण रहेकोे छ । संघीय गणतन्त्रात्मक नेपाललाई परिणाममुखी व्यवहारमा कार्यान्वयन गर्न अब सबै राजनीतिक नेतृत्व र राष्ट्रसेवकहरु एक ढिक्का भै पुर्ण प्रतिबद्धताका साथ अघि बढनु पर्ने अनिवार्य भैसकेको छ । वर्तमान सन्दर्भमा नागरिक सेवा प्रवाहका लागि कार्यालय सञ्चालन अपरिहार्य महत्व रहेकोे छ । कार्यालय भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि संगठित संस्था तथा कानुनी व्यक्ति हो । कार्यालयका महत्त्वपूर्ण कार्यहरू दिनानुदिन चुनौतीपूर्ण रूपमा अगाडि आइरहेको अवस्था छ । आम नागरिकहरुलाई सरल, सहज, प्रभावकारी, पारदर्शी, गुणस्तरीय, चुस्तदुरुस्त, छिटोछरितो र मितव्ययीरुपमा सेवा प्रवाह गर्ने बैधानिक संस्था कार्यालय हो । परन्तु, एक्काइसौं शताब्दी सम्म आईपुग्दा पनि कार्यालयहरूले आफ्ना करदाता (Tax Payer) सेवाग्राही नागरिकहरु लाई सहज एवं सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सकिरहेका छैनन् । सैद्धान्तिक रूपमा कार्यालय स्थापनाका केहि महत्त्वपूर्ण सवालहरु यहाँ प्रस्तुत गरिएको छ । कार्यालय सञ्चालनका लागि आर्थिक स्रोत, भौतिक स्रोत, सूचना स्रोत, आदि सबै गैह्र मानविय स्रोत सबैलाई सक्रिय परिचालन गर्ने अर्थात् व्यवस्थापन गर्ने मानवस्रोतको अपरिहार्य महत्व एवं शिर्षस्थान रहेको हुन्छ । मानवस्रोत दक्ष जनशक्तिको अत्युत्तम परिचालनवाट कार्यालयले गति लिन्छ साथै कार्यालयको स्थापनाको उद्देश्य पूरा हुन्छ । तसर्थ, मानवस्रोत जनशक्ति योग्य, सक्षम, कुशल, स्वउत्प्रेरित, प्रतिस्पर्धी, उच्च मनोबलयुक्त मिहिनेती साथै संगठन प्रति आवद्ध (Organizational Man) को रूपमा हुनुपर्दछ । वर्तमान सन्दर्भमा संवैधानिक रूपमा व्यवस्थित निजामती सेवा विभिन्न जटिलता र चुनौतिहरुको माझ जकडिईरहेको अवस्था छ । यश लेखमा वर्तमान सरकारी कार्यालय व्यवस्थापन र निजामती सेवाका बिषयमा केही प्रमुख चुनौतिहरु औल्याईएको छ । मुलतः राजनीति र प्रशासनको सीमा रेखा स्पष्टताको अभाव, राष्ट्रसेवक कर्मचारीहरुलाई वृत्ति विकास योजना (Succession Plan) लागू गरि व्यवस्थित नगरिनु, परम्परागत रुपमा बिद्यमान सामन्ती संरचना, दर्जामुलक प्रणालीलाई व्यवस्थित गरि पदमुलक व्यवस्था पुर्णतः लागू नहुनु, संघीय निजामती सेवा ऎन, प्रदेश सेवा ऎन र स्थानीय सेवा ऎन जारी हुन नसकी अनिर्णयको बन्दी हुनु प्रमुख छन् । वर्तमान अवस्थामा सरकारले ध्यान दिनैपर्ने अति महत्वपूर्ण बिषय कानुनी रिक्तताको अभाव परिपुर्ति गर्नु पर्ने देखिन्छ । २. कार्यालय व्यवस्थापन (Office Management) २.१ सामान्य अर्थमा कार्य=काम, आलय= घर अर्थात् कार्यालय भन्नाले कार्यसम्पादन गर्ने घर र व्यवस्थापन भन्नाले कुनै प्रमुख उद्देश्य प्राप्तिका लागि स्रोत साधनको अत्युत्तम परिचालन (Optimal Utilization or Mobilization of Resources) मानव स्रोत व्यवस्थापन (HRM), आर्थिक स्रोत, भौतिक स्रोत र सूचना स्रोतको माध्यमले उद्देश्य वा लक्ष्य प्राप्ती गर्न योजना, संगठन, कर्मचारी व्यवस्था, निर्देशन, नियन्त्रण, समन्वय, बजेट व्यवस्था, नेतृत्व, निर्णय, व्यवस्थापन, विवाद व्यवस्थापन र मुल्यांकन आदि बिधिहरुको प्रयोगसँग सम्बन्धित छ । २.२ भनिन्छ, सूचना सम्प्रेषणका लागि कार्यालय आँखा, कान मात्र नभई मुख अझ मस्तिष्क पनि हुन् । अङ्ग (Organ) पुर्ण भौतिक शरिरको अर्थमा Organization को व्युत्पन्न भएको पाईन्छ । संगठन/कार्यालय प्राकृतिक व्यक्ति नभएपनि कानुनी व्यक्तिको हैसियत मान्यता प्राप्त पुर्ण शरिरकोरुपमा रहन्छ । २.३ मानव स्रोत (कर्मचारी) जुन संगठनको अत्यन्त महत्वपूर्ण अंग हो । पुरानो सिद्धान्तमा शक्तिको भोक (Power Hunger) हुन्छ नयाँ व्यवस्थापनको मुल्य मान्यतामा सूचनाको शक्ति (Information power) को अधिकार र प्रयोग गर्दछ । मानिस पश्चात् व्यवस्थापनका प्रमुख तत्वहरुमा पैंसा (आर्थिक साधन, विधि, प्रविधि, यन्त्र/ उपकरण र बजार समेत पर्दछन् । २.४ यदि मानव स्रोतलाई समुचित तरिकाले व्यवस्थापन गरियो भने अन्य सबै मानिसवाट नै सञ्चालन हुन्छन् । त्यसैले मानिस प्रमुख र अरु गौण वा सहायक तत्वहरु मानिन्छन् । प्रभावकारी र मितव्ययी ढंगले स्रोत र साधनको अत्युत्तम उपयोग गर्ने कला र त्यसको प्रयोगात्मक सीप पक्षको संयोगवाट व्यवस्थापनको जन्म हुन्छ । २.५ व्यवस्थापनले प्रमुखत: निम्न २ वटा कार्यसम्पादन गर्दछ : २.५.१ प्रबंधकीय कार्य र २.५.२ कार्यसञ्चालन तह । २.५.१ प्रबंधकीय कार्य : यश कार्य अन्तर्गत कार्यतालिका अनुरुपको कार्य (Routine work), नियमित कार्य (Regular work), आकस्मिक कार्य (Special work) र सिर्जनात्मक कार्य (Creative work) पर्दछन् । जसमध्ये कार्यालयको महत्वपुर्ण आधिकारिक कार्य सम्पादन गर्नु पर्दा ८० प्रतिशत भन्दा बढी सिर्जनात्मक कार्य क्षेत्रले ओगटेको हुन्छ भन्दा द्विमत नहोला । कार्यालय व्यवस्थापनका प्रमुख कार्य योजना, संगठन, कर्मचारी व्यवस्था, नियन्त्रण, निर्देशन, समन्वय, प्रतिवेदन, बजेटिङ्ग, विवाद समाधान, अनुगमन, मुल्यांकन पर्दछन् । यथार्थ र समष्टिगत रुपमा प्रबंधकीय कार्य Vision or Idea सँग सम्बन्धित छ भने कार्यसञ्चालनस्तर कार्य (Operative Level Function) कार्यान्वयन वा कार्यसञ्चालन जुन दैनिक कार्यव्यवहार सँग सम्बन्धित छन्, सम्पादन गर्नुपर्दछ । २.५.२ कार्यसञ्चालनस्तर कार्य: यश कार्य अन्तर्गत क्रियाकलापको समन्वय, सञ्चार, मानव सम्बन्ध र कार्य वातावरण पर्दछन् । कार्यालय व्यवस्थापनका प्रक्रिया (Process), कार्यालय स्थान र बनावट (Location of Layout of office/organization) कार्यालय पद्धति र कार्यविधि (Manual and Procedure), कार्यालय सञ्चार, अभिलेख व्यवस्थापन (Record Management), कार्यालय कर्मचारी (Personnel), कार्यालय प्रतिवेदन (Reports) र तथ्यांक प्रशोधन (Data Analysis) हुन् । २.६ कार्यालय व्यवस्थापनका नुतन अवधारणाहरुमा कार्य संस्कृतिको निर्माण (Formation of working Culture), कार्य वातावरणको निर्माण (Building working Environment) र विकास भैरहेको छ । अबको चुनौतीपूर्ण समयको अवस्थामा कार्यालय केवल कार्यसम्पादन संग मात्र सम्बन्धित नरहि अध्ययन केन्द्र, अनुसन्धान केन्द्र (Study and Research Centre), रोजगार सेवा केन्द्र (Employment Service Centre) को रुपमा समेत बिकास भैरहेका छन् । २.७ बिद्युतिय सञ्चार सेवा (Electronics communication service) Online Digitial System) को प्रयोगवाय कार्यालयको कार्यसम्पादनमा छिटोछरितो, उचित, मितव्ययी, चुस्त दुरुस्त र प्रभावकारी सेवा प्रवाहमा बिकास भएको छ । विश्वव्यापी सञ्चार (Global Communication) को प्रभाव कार्यालय व्यवस्थापनमा समेत प्रभावकारीरूपमा देखिरहेको तथ्य हामी सामु छिपेको छैन । सेवाग्राही/ग्राहकको सेवामा प्रतिस्पर्धा बढिरहेको नतिजामुखी कार्यको अपेक्षा, परिणाममुखी प्रतिफल, आर्थिक बिकास र स्वरोजगारी सिर्जना गर्नुपर्ने समयको मांगले गर्दा सरकारी निकाय वा कार्यालय संग जनता वा सेवाग्राही त्यति सन्तुष्ट हुन सकिरहेका छैनन् । सरकारी क्षेत्रले सम्पादन गर्दै आईरहेका कार्य गैरसरकारी संस्था (NGO), निजी क्षेत्र र नागरिक समाजले होस्टेमा हैंसे गर्दै आईरहेका छन् । हिजोआज संगठनमा समुहगतिशिलता, समूह व्यवहार, समुहगत कार्य लाई जोड दिंदै अनलाइन जुम, भर्चुअल मिटिङ तर्फ रुपान्तरण भैरहेको अवस्था रहेको छ । व्यवस्थापनको सार निर्णय निर्माण (Decision-making Process) मा सामुहिक निर्णयको लोकप्रियता बढदै गइरहेको छ । २.८ कार्यालय संगठन P4 को सिद्धान्तमा गठन हुने व्यवस्थापनबिद् लुथर गुलिकको तर्क रहेकोे छ । P1= Purpose, P2=Process, P3= Person & P4=Place उद्देश्य, प्रक्रिया, व्यक्ति र स्थान कार्यालय संगठन गठनका महत्वपूर्ण आधार हुन् । कार्यालय संगठन एउटा संरचना, कार्यविधि र सामुहिक प्रयाशको केन्द्र हो । कार्यालय संगठन न त यन्त्र वा मोटरकार निर्माण गरे जस्तैः व्यवस्थापनविद् Wrwick को धारणासँग ठ्याम्मै मिल्दछ यो त मानवीय पक्षको समुचित संयोजन सहित कुशल नेतृत्व रहेको कार्य गृह (working-home) को विकसित एवम् उन्नत स्वरुप हो । ३. मानवस्रोत व्यवस्थापन (Human Resource Management) ३.१ परम्परागत रूपमा कर्मचारी प्रशासन (Personnel Administration) वाट विकसित हुँदै हाल मानवस्रोत व्यवस्थापन सँग अग्रगामी रूपमा आईपुग्दा कर्मचारी व्यवस्थापनको सार संक्षेपमा जनशक्तिलाई संगठनमा आकर्षित गर्ने (Attraction), संगठनमा टिकाई राख्ने (Retention) र उत्प्रेरणा बढाउने (Motivation) तत्व प्रमुख रहेका छन् । ३.२ परम्परागत रुपमा कर्मचारी प्रशासन भर्णा (Recruitment) देखि अवकाश (Retirement) सम्मका नियुक्ति, पदस्थापन, सरुवा, तालिम, अध्ययन, स्वदेशी र वैदेशिक अध्ययन, बढुवा, पुरस्कार, उपदान, औषधि उपचार, सुरक्षा, निवृत्तभरण आदि सम्मका प्रक्रियाहरु पर्दछन् । हिजोआज Pre-R अर्थात् भर्णा पुर्वदेखि Post - R सम्मको कार्यक्षेत्र रहेको छ । अर्थात् भर्णा पुर्व संगठन संरचना, दरवन्दी सिर्जना, कार्यविवरण आदि देखि अवकाश पश्चात् का कल्याणकारी योजनाहरु पर्दछन् । बेलायती कर्मचारी व्यवस्थापन संस्थाले संगठनको उद्देश्य हाँसिल गर्ने क्रममा जनशक्तिको सीप, ज्ञान र अनुभवको प्रभावकारी प्रयोग (Use) र विकास (Development) लाई इङ्गित गरेको छ । कर्मचारी प्रशासन बारे बारे अमेरिकन सोसाइटी अफ परसोनेल एडमिनिष्ट्रेशनले एक सक्षम श्रम शक्तिको प्राप्ति, बिकास तथा स्थगित गर्ने एउटा यस्तो कला हो जस्वाट संगठनका कार्यहरू एवं उद्देश्य अत्यधिक कुशल र मितव्ययी ढंगले हाँसिल गर्न सक्ने बारे स्पष्ट गरेको छ । ३.३ कर्मचारी व्यवस्थापनका उद्देश्यहरु, लक्ष्य प्राप्तिका लागि मानविय साधनको उपयोग, सेवाग्राहीलाई अधिकार, सन्तुष्टि प्रदान गर्ने, कर्मचारीको प्रभावकारी परिचालन मितव्ययी र व्यावहारिक संगठन स्वरुप निर्माण, संगठन प्रति प्रतिबद्ध कर्मचारी, कर्मचारीहरुको मौद्रिक तथा गैर मौद्रिक सुविधाहरुको व्यवस्था, वृत्ति विकासको प्रयत्न, कर्मचारीहरुको सांगठनिक मनोबल (Morale), जोश, जाँगर, हौंसला, आदिलाई उँचो राख्ने, मानव सम्पत्तिको सुदृढीकरण र मुल्यांकन, कर्मचारीहरु वीच सौहाद्र सम्बन्ध कायम राख्ने, कर्मचारीहरुलाई अनुशासित, आचरणबान र काम प्रति दत्तचित्त बनाई राख्ने, जनशक्ति बिकासलाई उच्च प्राथमिकता दिने आदि हुन् । ३.४ कर्मचारी व्यवस्थापनका प्रमुख कार्यहरूमा व्यवस्थापिका र कार्यसञ्चालन कार्य प्रमुख छन् । कर्मचारी व्यवस्थापनले व्यवस्थापिका र कार्यसञ्चालन कार्य प्रमुख छन् । कर्मचारी व्यवस्थापनले कर्मचारीको प्राप्ति, बिकास, प्रतिफल तथा पारिश्रमिक कर्मचारी कल्याण एवं सुरक्षा, कर्मचारी सम्बन्ध, कार्यसम्पादन मुल्यांकन, सरुवा, बढुवा, कर्मचारी कल्याण एवं सुरक्षा, कर्मचारी सम्बन्ध, कार्यसम्पादन मुल्यांकन, सरुवा, बढुवा, कर्मचारी अभिलेख सम्मका कार्यहरू पर्दछन् । यी कार्यहरू हाल कर्मचारी प्रशासन सम्बन्धि केन्द्रीय निकाय (Central personnel Agency of Civil Administration) ले सम्पादन गर्दछ । निजामती सेवा ऎन, २०४९ (दोस्रो संशोधन ऎन, २०६४) निजामती सेवा नियमावली (सातौं संशोधन, २०६४) मा व्यवस्था भए अनुसार CPA सम्बन्धि कार्य गर्ने जिम्मेवार निकाय सामान्य प्रशासन मन्त्रालय रहेको छ । ३.५ हिजोआज कर्मचारी व्यवस्थापनको स्थान मानवस्रोत व्यवस्थापन (Human Resouce Management) ले लिएको छ । HRM अन्तर्गत कर्मचारीको प्राप्ति, बिकास, उपयोग, सम्भार र सामाजिकीकरण प्रक्रिया सँग सम्बन्धित छ । यसमा तालिम, कर्मचारी विकास, उत्प्रेरणा महत्वपूर्ण छन् । उत्प्रेरणा अन्तर्गत प्रथमतः अब्राहम मास्लोको तहगत आवश्यकता सोपानको सिद्धान्त हो । यश अन्तर्गत शारीरिक, सुरक्षात्मक आवश्यकता, आत्मसम्मान आवश्यकता र आत्मसन्तुष्टि प्रमुख छन् । उत्प्रेरणाका दर्जनौं सिद्धान्तहरुको बिकास भए पनि मास्लोको आवश्यकता सोपानको सिद्धान्त हो । यश अन्तर्गत शारीरिक सुरक्षात्मक आवश्यकता, आत्मसम्मान आवश्यकता र आत्मसन्तुष्टि प्रमुख छन् । उत्प्रेरणाका दर्जनौं सिद्धान्तहरुको बिकास भएपनि मास्लोको आवश्यकता सोपानको सिद्धान्त सबैमा समान प्रभावकारी रुपमा स्थान लिएको छ । सबै सिद्धान्तहरुले बोलेका तथ्यहरुवाट यहाँ सकारात्मक उत्प्रेरणा बारे बुँदागतरुपमा उल्लेख गरिन्छ अर्थात् सकारात्मक उत्प्रेरणा अन्तर्गत कार्यप्रशंसा, व्यक्तिगत अभिरुचिमा ध्यान, बिश्वास, आत्मानुभुती (Empathy), सकारात्मक सल्लाह, सकारात्मक सुनाई, राम्रो सञ्चार, सहभागितात्मक कार्य, जिम्मेवारी सुम्पनु, प्राप्ति, स्वस्थ्य प्रतिस्पर्धा, तलव आदि तत्वहरु हुन् । मनोबल (Morale) भन्नाले कर्मचारीले संगठन, साथी, सहयोगी, सुपरिवेक्षक एवम् कार्यप्रति आफुले राखेको मनोभावना हो । कर्मचारीको मनोबल वृद्धि गर्न सकिन्छ । यस्को लागि प्रथमतः कर्मचारीलाई संगठनप्रति परिचित गराउनु, जिम्मेवारी प्रदान गर्नु, स्वतन्त्ररूपमा कार्य गर्न अवसर दिनु, कार्यप्रति रुचि एवम् कार्य महत्व बोध हुनु, आत्मसम्मानको भावनाको बिकास हुनु आदि हुन् । ३.६ नेपालको कर्मचारी व्यवस्थापन ठूलो सङ्कटवाट गुज्रिरहेको छ । सार्वजनिक सेवा जुन लोक सेवकहरुले सञ्चालन गर्दछन्, यो नागरिक प्रशाशक वा लोक सेवकहरु योग्यता, सक्षमता, प्रतिस्पर्धा, तालीम आदि माध्यमवाट योग्यता प्रणालीको कठोर मापदण्डवाट पद तथा सेवा बहाल भएपनि यिनीहरूको अन्तिम परीक्षा नागरिकहरूको प्रभावकारी सेवा, सुविधा वितरण सँग सम्बन्धित रहेकोे छ । मुलुकमा परम्परागत प्रशासनयन्त्रलाई बिकास मुलक बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनाउने सम्बन्धमा जन आन्दोलन भाग २, २०६२\०६३ को म्याण्डेट तथा नेपालको संविधान, २०७२ को व्यवस्था भैरहेको  कार्यान्वयन  नयाँ नेपालको सोंच तथा दृष्टिकोण (Vision or foresightness) अनुरुप कानुनहरुको तर्जुमा हुनुपर्ने तथ्य महत्वपूर्ण सवालका रुपमा अगाडि आउँदछ । ३.७ निजामती  सेवा तथा नागरिक प्रशासन राज्य संयन्त्रको स्थायी सरोकारको रूपमा रहेको हुन्छ । साथै मुलुकका सम्पुर्ण रोजगार अर्थात् कामदारहरूको अभिभावकत्वको भुमिका निजामती सेवाले नै बहन गर्नुपर्ने हुन्छ । यश अर्थमा निजामती सेवा मात्र केवल जागीर नरहेर राजनीति अर्थात् शासन व्यवस्था सञ्चालकहरूको सल्लाहकार एवं सुयोग्री राष्ट्रसेवकको हैसियतमा प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने दायित्व रहेको छ । तसर्थ ……… ४. वर्तमान रुपान्तरित निजामती सेवाका बिशेषता वा स्वरुप: ® परिवर्तनको संवाहक (Catalist or change agent) ® नागरिकमुखी (Custmer driven) ® योग्यता प्रणालीको संरक्षक (Meritocracy) ® प्रतिस्पर्धी (Competitive) ® समुदायमा आधारित (Comunity Based) ® विकेन्द्रीत (Decentralized) ® बजारमुखी (Market oriented) ® नतिजा उन्मुख (Resulted Oriented) ® लैङ्गिक समता (Gender Equality) ® समावेशीता (Inclusiveness) ® संस्थागत अभिलेख केन्द्र (Institutional Memory) आदि । वर्तमान अवस्थामा संगठनलाई उपर्युक्त अनुरुप रुपान्तरण गर्दै सक्षम, निष्पक्ष, पारदर्शी, सेवामुखी, जनउत्तरदायी, जोखिम वहन गर्न सक्ने, संगठन व्यवस्थापन र सोही मुताविक जनशक्तिको परिचालन गर्नु अत्यन्त आवश्यक तथा अनिवार्य भैसकेको छ । ५. समयानुकूल सुधारका प्रमुख क्षेत्र (बुँदागतरुपमा) ५.१ राजनीति र प्रशासनको स्पष्ट कार्यविभाजन, नीति बनाई कार्यान्वयन गरिनुपर्छ । ५.२ कर्मचारीहरु संघीय/प्रदेश र स्थानीय तीनै तहको वृत्ति बिकास योजना (Succession/Carrier Development planning) अविलम्ब लागू गरिनुपर्छ । ५.३ एकीकृत मानव संशाधन विकास नीति (Intrigated Human Resource Development Policy) लागू गरिनुपर्छ । ५.४ विभेदकारी पद्धतिको अन्त्य गरि संघ, प्रदेश र स्थानीय तीनै तहमा दर्जामुलक पद्धति (Rank in Man System) लाई रुपान्तरण गरि समयानुकूल  तीनै तहमा बैज्ञानिक तहगत संरचना (Job classification System) मा रुपान्तरण गर्नुपर्छ । ५.५ विभिन्न सरकार संघ, प्रदेश र स्थानीय तहका वीच प्रभावकारी समन्वय संयन्त्र कायम गरि बाधा अटकाउ र काममा दोहोरोपनको अन्त्य गरिनुपर्छ । ५.६ तीनै तहको सरकारको कर्मचारीहरुमा स्पष्ट तालिम नीति र अन्य संघ संस्थाहरू संग पनि समन्वयात्मक रूपमा स्वदेशी तथा वैदेशिक तालिमको समुचित वितरण गरिनुपर्दछ । ५.७ कार्यसम्पादन मुल्यांकन प्रणाली बैज्ञानिक ३६० डिग्री सेवाग्राही, सुपरिवेक्षक, सहायक र सहयोगीको मुल्यांकन पद्धतिमा आवद्ध गरि व्यवहारिक कार्यमुलकरुपमा वृति विकासमा आवद्ध गरिनुपर्दछ । ५.८ परम्परागतरूपमा रहेका ऎन, नियम, कानुनहरु अझै पनि लोकतान्त्रिक संघीय गणतन्त्रात्मक अनुकुल रुपान्तरण हुन नसकिरहेको वर्तमान अवस्थामा सम्बन्धित सरकारी निकायको नेतृत्वमा सम्बन्धित सरोकारवाला पक्षहरूसँगको समन्वयमा ऎन कानुन समयानुकूल परिमार्जन र कार्यान्वयन चरणमा अगाडि बढाउनु पर्दछ । ५.९ संघीय निजामती सेवा ऎन, प्रदेश सरकारी सेवा सञ्चालन ऎन र स्थानीय सरकारी सेवा सञ्चालन ऎन अविलम्ब जारी गरिनुपर्दछ । ५.१० कर्मचारीको सेवा सुविधा मूल्य वृद्धिको अनुपातमा स्वत: समायोजन हुने बैज्ञानिक पद्धतिमा आधारित हुनुपर्दछ । सन्दर्भ सामग्रीहरु: १. नेपालको संविधान, २०७२ २. निजामती सेवा ऎन, २०४९ (दोस्रो संशोधन) तथा नियमावली, २०६४ (सातौं संशोधन) ३. डा. भिमदेव भट्ट, सार्वजनिक प्रशासनका सिद्धान्तहरु र बिकास प्रशासनका सिद्धान्तहरु ४. राजन खनाल, सार्वजनिक नीति प्रशासन र व्यवस्थापन : संक्षिप्त टिप्पणी ५. निजामती सेवा पत्रीकाका विभिन्न अंकहरु ६. प्रशासन पत्रिकाका विभिन्न अंकहरु ७. सोपान मासिकका विभिन्न अंकहरु ८. अनलाइन खवर स्रोत सामग्रीहरु ९. प्रदेश र स्थानीय तह संगठन संरचना (O&M) प्रभावकारिता र यसको प्रयोग : एक अनुभव १०. आफ्नै जागीरे यात्रा सिर्जनात्मक सङ्गालो, २०७० ११. स्थानीय र राष्ट्रियस्तरका पत्र पत्रिकामार्फत प्रकाशित भैसकेको ++++++++++समाप्त++++++++++ ✍️ लेखक: बसन्तराज अधिकारी प्रमुख प्रशासकीय अधिकृत (नेपाल सरकारको उपसचिव) घर: दाङ, घोराही हाल: राजापुर नगरपालिका, बर्दिया मिति : २०७७-०५-२२-२ १७ औं निजामती सेवा दिवस, २०७७ 

Comments