गुज्रदैछन् नि दिनचर्या सन्तोषम् परमसुखम् ।
प्रत्येकको अ-आफ्नै कथा कविता उपन्यास हुन्छन् ।
कथा भित्र पृथक२ अनुभव गाथा व्यथा हुन्छन् ।।
मानव भै जन्मेपछि दुःखसुख केहि पनि नभाको ।
को हुँदो हो र एकोहोरो सधैं सुखै सुख मात्र पाको ।।१।।
आफ्ना दु:ख पहाड झै लाग्ने अरुको तील बराबर ।
यहीँ गल्ती गर्दैछ मान्छेहरु पनि नलजाई सरासर ।।
अर्काको मुद्दा फिरादमा भने कसरी वकिल बन्छ ।
आफ्नो पक्षमा पर्दा भने उहि मुख्य न्यायाधीश ।।२।।
व्यतीत वालापन अत्यन्तै रमाइलो भा थ्यो भन्दैमा ।
ति दिनहरु कहाँ बहुमत चीरस्थायी सत्ता थिए र ! ।।
युवा जीवन जवानी रोब रोमाञ्चक थियो तर त्यो ।
कर्कलाको पानीझै पोखिदै सललल झरेर बग्यो ।।३।।
साठी काटेसि त भाको स्थायी जागीर नि गयो ।
काखका छोराछोरी पखेटा लाएर भुरुरु उडे ।।
रित्तो२ गुँड ठुल्ठुला चाडपर्वमा भरिने आशामा ।
जेनतेन कट्दैछन् दुईथान विरसिला जिन्दगी ।।४।।
शरीर बुढिदै गएपनि मोहिनी बलवति छे तृष्णा ।
सदैव तरुणी रुपौली नवयौवना जस्तैः भैदिन्छे ।।
जवानीको बहारमा रम्न मन काउकुती लाउँदो रछ।
आफू भन्दा बुढा होउन् युवा साथी चाहिदो रैछ ।।५।।
उन्मत्त जवानीका दमित वासना र चाहनाहरु ।
अतृप्ति लिप्सा काम भोगका मनोभावनाहरु ।।
छताछुल्ल भै पोखिन खोज्छन् कहिलेकाही ।
जाति धर्म संस्कार र शिक्षाले टक्क रोकिदिन्छ ।।६।।
नारी भन्दा पुरुष अलिक बढी नै कामुक हुन्छ ।
किनकि पुरुषलाई प्रसव पीडा भोग्नु नै पर्दैन ।।
साठी काटे पनि स्वस्थ्य पुरुष तरुणी चाहन्छन् ।
परन्तु आम नारी भने वेत बसि सकेका हुन्छन् ।।७।।
तसर्थ आम पुरुष जुवा, मद परस्त्रीगामी देखिन्छन् ।
नारीहरु भने कुलवती ब्रह्मचारिणी समान बन्छन् ।।
यसैले त पुरुष भन्दा नारीहरु दीर्घजीवि हुन्छन् ।
गृहस्थ धर्म पारिवारिक सम्बन्धका रखवार हुन्छीन् ।।८।।
बुढा बुढी मानिसलाई युवा युवती प्रायः बिचारछन् ।
शायद यिनिहरु घामले पाकि सुकेका बुढाबुढी हुन् ।।
हामीले घाममा सुकाएको कपडा बिस्कुन जस्तैः ।
हरक्क हर्के सुके खक्रकै बुढिए थोत्रिए सकिए ।।९।।
युवा युवतिहरु विचारदैनन् यिन्ले हामी भन्दा धेरै ।
दु:खका बुलन्द पोका र संघर्षका आँधी झेल्याथे ।।
चक्र न हो जीवन उन्को नि अवश्य आउनेछन् दिन ।
यो क्रम निरन्तरता चक्रमार्ग भै अटुट चलिरहन्छ ।।१०।।
सक्रिय कर्तव्यबोध सेवामय भुक्तानी सादा अतित ।
निवृत्त आनन्दित रंगीन उन्मुक्त वर्तमान व्यतीत ।।
काम, दाम, नाम र सम्मान वाट तटस्थ जप्दै राम ।
गुज्रदैछन् नि दिनचर्या सन्तोषम् परमसुखम् ।।११।।
✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।
सोमबार, १९ कार्तिक २०८१
Comments
Post a Comment