५८५. दिल्ली- बृन्दावन-मथुरा- आगरा लखनउ परिभ्रमण: एक अनुभव

दिल्ली- बृन्दावन-मथुरा- आगरा लखनउ परिभ्रमण: एक अनुभव  

आगरास्थित ताजमहल परिषरमा प्रेमिल मुद्रामा 

दिल्लीमा भ्रमण गरिएको स्थानहरु:


१. बिराला/लक्ष्मीनारायण मन्दिर
२. कुतुब मीनार
३. ईन्डिया गेट
४. लोट्स टेम्पल
५. लालकिला
६. राजघाट

 
उपरोक्त स्थानहरूको परिभ्रमण यस भन्दा पुर्व संक्षिप्तरूपमा मेरो आलेख मार्फत बर्णन गरिसकेको व्यहोरा सुचीत गर्दछु ।

 
औषधि उपचारका क्रममा दिल्लीमा करिब ३ हप्ताको बसाई पश्चात् हाम्रो यात्रा पुनः दिल्ली रोहिणि सेक्टर ५ वाट रिठाला मेट्रो ट्रेनसम्म आइपुग्यौ । यहाँवाट नेताजी सुभाषचन्द्र प्यालेस वाट पिङ्क लाईनको मेट्रो ट्रेन परिवर्तन गरि सराय काले खाँ-निजामुद्दीन सम्म दिल्ली मेट्रोमा आयौ । यहाँवाट यमुना एक्सप्रेसको (एसी) प्राईभेट बसमा यमुना नदीको किनारै किनार अत्यन्तै रमणीय स्थान हुँदै नोयडा- गाजियाबाद- ग्रेटरनोयडा भएर निमको हरियाली सडकको दायाँबायाँ मनमोहक दृश्य-गौतम बुद्ध विश्वबिद्यालय- स्पोर्ट्स सिटी-बुद्ध अन्तर्राष्ट्रिय परिपथ-क्रिकेट स्टेडियम- बुलन्दशहर-अलिगढ- पलवल -हाथरस जाने सडकै सडक एक्सप्रेस गति हुँदै अन्ततः वृन्दावनधाम आईपुग्यौं ।

 
७. बृन्दावनधाम: 

आगराजाने यमुना एक्सप्रेसको प्राईभेट सुविधायुक्त एसी बसवाट ओर्लेर अटो चढी वृन्दावनधाममा प्रवेश गरेउ । साच्चिकै हरियाली सुन्दर रमणीय छटाको प्रातकालिन सुन्दरता पान गर्दै वृन्दावन नगरीमा पुग्यौं ।
वृन्दावनधाममा प्रेम मन्दिर, स्कोन, बुद्ध मन्दिर, वृन्दावन परिपथको अटोगाडीवाट सामान्य अवलोकन गरे पनि यहाँ सबै ठाउँ पुग्ने हाम्रो उद्देश्य थिएन ।
सनातन हिन्दु धर्मावलम्बी श्रीकृष्ण भगवत्प्रेम भावले हिन्दु धर्मका पुर्णावतार भगवान् श्रीकृष्णलाई केन्द्रमा राखि घुम्ने योजनामा धर्मपत्नी यशोदाजीको पनि सहमति थियो । सोही मुताविक यहाँको अत्यन्तै महत्वपुर्ण भगवत्धाम जहाँ पुर्णिामाको शुभ अवसरमा मेला पनि लाग्ने हुँदा हजारौं भक्तजन दर्शनार्थीहरुको राम्रै घुईचो रहेको थियो । प्रथमतः हामी बाँके विहारी मन्दिरमा पुग्यौं ।


८. बाँके विहारी मन्दिर: वृन्दावनधाम

यहाँ पुग्न वृन्दावनवाट पुनः अटो चढेर पैदल लामै लस्करमा करिव डेढ घण्टा हिड्यौं । तत्पश्चात वृन्द्रावनधामको ऎतिहासिक बाँके विहारी मन्दिरमा अत्यन्तै लामो र कष्टकर पैदल मार्गको बाटो तय गर्दै मन्दिरमा प्रवेश गर्यौं । मन्दिर भित्र जुत्ता, चप्पल लैजान र मोबाईल, क्यामेरा आदिवाट तस्बिर खिच्न अनुमति रहेनछ । भित्र शिशमहल, अत्यन्त चित्ताकर्षक भगवानका सजीव मुर्तिमा पण्डित पण्डाहरुको स्तुति र भक्तजनहरुको बाँके बिहारी, राधामैयाजीका जयजयकार ध्वनी तरंगमा समाहित हुँदै हामी भित्र प्रवेश गरेउँ । अन्तरात्मा भन्छ - भगवान्को शक्ति परन्तु बाहिरी मन यस बिषयमा स्थितप्रज्ञ हुनै सक्दैन किनकी सांसारिक भोगले एकातिर सच्चा भगवत् प्रेम जाग्न सकेको छैन भने अर्कोतिर भगवान् सँग सच्चा प्रेम भन्दा पनि दुनियाँ पैसामा भगवान देख्छ हुनत लक्ष्मी पनि स्वयं विष्णुपत्नी लक्ष्मीस्वरुपा त हुन् । सामान्य संसारिक मानिस धन पैसा विना कसरी बाँच्न सक्ला र ? मन्दिरमा बाँके विहारीको दर्शन गरेर बाहिर आई हल्का नास्ता लिई वृन्दावनवाट मथुराका लागि रमाना भयौं ।

 
९. मथुरा आगमन :


साझ करीब चार बजे मथुरा श्रीकृष्ण जन्मभूमि आईपुग्यौं । एकक्षण त यहाँ होटल खोज्न निकै असहज भयो । यद्यपि यहाँ धर्मशाला र एसी ननएसी होटेल पर्याप्त पाईए पनि भारतीय आफ्नै देशीय स्थानीय प्रविधिको व्यापक प्रयोगले गर्दा पनि हामीलाई वाईफाई जुन हाम्रो नेपाली सिम वा सिम बाहेक चलोस त्यस्तो होटेल पाउन अलिकति मेहनत भने गर्नै पर्यो । तथापि अन्ततः एकजना प्रहरी कर्मचारीलाई सोधपुछ पश्चात् स्टेट बैंक चौराहामा पाईने जानकारी मुताविक हामी पुनः अटो रिक्सामा त्यहीँ पुग्यौ । नजिकै होटल हिरा कन्टिनेण्टल भेटायौ जसमा हामीले खोजे अनुरुप सुविधा त पायौं । एसीयुक्त होटल सामान्य महङ्गो त भयो नै तथापि यहाँ नबस्नुको अर्को विकल्प पनि त थिएन । कोठामा बसेर एकक्षण आराम गर्दा पाँच बज्यो । सडकमा आई यमुना नदीको किनारमा द्वारिकाधिस श्रीकृष्ण र विश्रामघाट दर्शन र यमुना नदीमा डुङ्गा विहार गर्ने मन्सुवा प्रवल भएर आयो ।

 
१०. द्वारिकाधिश दर्शन:

द्वारिकाधिशसम्म अटोरिक्सा दुईवटा बदलेर गयौं । द्वारिकाधिश भगवान् श्रीकृष्णको भव्य मन्दिर भित्र प्रवेश गर्दा जुत्ता चप्पल निषेध रहेछ । जुत्ता चप्पल बाहिरै राखी खाली खुट्टा श्रीकृष्ण राधाको नामोच्चारण गर्दै प्रवेश गर्यौं । सन्ध्याकालिन आरतीको बडो सुमधुर सन्ध्या, राधे राधे राधेकृष्णका वाणि संगीतमय  बडो मधुरम रूपमा गायन गर्दा ह्रदय प्रफुल्ल भै मेरो नेत्रवाट सजल हर्षाश्रु बहन्छ वास्तवमा यस्तो भाव प्रस्फुटन हुनु कुनै एक संयोग मात्र होईन बराबर हुन्छ जुन अध्यात्मिक उत्कर्षता वा भक्तिभावना हो जस्तो लाग्दछ । यहाँ बाहिरै तस्बिर लिएर बजारमा  पण्डितजीको चाय पसलमा मट्काका चाय पिएर हामी पवित्र  यमुना गंगा तर्फ प्रस्थान गरेउ ।

 
११. विश्राम घाट :

जुन नामैवाट स्पष्ट छ विश्राम जीवन सांसारिक भोगको अन्तिम कीर्तिशेष विश्राम नै हो । एकातिर रावण, कंश, दुर्योधन जस्ता घमण्डीहरु पनि निधन भए भने अर्कोतिर राम, कृष्ण र युधिष्ठिर जस्ता महापुरुष पुण्यात्माले पनि संसार छोडे परन्तु पुण्यात्माको सुनाम, कुल, बंश, कीर्तिशेष रह्यो भने दुष्टात्माहरुको दुर्नाम, कुल वंश विनाश र अपयश छोडेर गए । यहि धर्मको सार नै विश्राम घाटमा प्रत्यक्ष अनुभुती गर्न पाईन्छ । नेपाल काठमाडौको पशुपतिनाथ वाग्मती गंगा नजिक आर्यघाट, वाराणसी काँशीको मणिकर्णिका घाट, जस्तैः मथुराको विश्रामघाट रहेछ । पवित्र यमुना नदीको जलमा बुबा, बाजे, बुढाबाजे-घर र मावल तर्फका, गुरू गायत्री र दीक्षा समेतका स्वर्गीय पुण्यत्माहरु सबैलाई मनमनले स्मरण गरि जलाञ्जली "तर्पण" गरि याहाँवाट नौका (डुङ्गा) चढेर यमुना नदी पार गरि घुम्ने विचार आयो ।

 
१२. यमुना नदी डुङ्गा (नौका) विहार पश्चात् बजार घुमघाम:

निर्मल जल प्रवाह, शान्त स्थिर स्वभावतः लोकलाई रक्षा-शिक्षा जीवन-मरण दिंदै स्वयं ब्रह्मा, विष्णु, रुद्रस्वरूपमा यमुना नदी निरन्तर बहिरहनु भएको छ । वैदिक र लौकिक शास्त्र साहित्यमा त्यत्तिकै भनिएको होईन - "गंगे च यमुनेश्चैव गोदावरी सिन्धु सरस्वतीश्च । नर्मदे सिन्धुकावेरी जलेश्मिन सन्निधिंम कुरु: ।" डुङ्गा चालक बृद्ध निषाध राज जस्ता देखिने अत्यन्तै ज्ञानगुणका भगवत कथा गुणानुवाद अमृतपान गराउँदै यमुना गंगामा हामी दुई र स्थानीय प्रदीप कुमार शर्माजीसँग भएको सौहाद्र वार्तालाप जुन भिडियोको रुपमा मेरो वैयक्तिक च्यानल स्टोरी, रिल र युटुभ समेतमा पनि साझा गरिसकेको छु । स्थानीय शर्माजीवाट जानकारी भए अनुसार वारि मथुरा पारि पल्लीपार जहाँ दुर्वासा आश्रम, पुतना बध भएको यमुनाको तलतिर पुल "व्यारेज" देखिने ठाँममा गोकुलधाम जानकारी प्राप्त भएपछि त्यहाँ पनि जाने प्रवल इच्छा राखि दुई रात तीन दिन मथुरा मै बस्ने योजना बनायौं । फर्कदा श्रीमतीजीले सामान्य दुईचार सेट कुर्ता सुरूवाल किनिन र साझ करिब आठबजे तिर बासस्थान तिर फर्केउ ।


१३. श्रीकृष्ण जन्मभूमि, मथुरा दरबार दर्शन:

श्रीमद्भागवत श्रीकृष्ण चरीत्रमा वर्णित श्रीकृष्ण जन्मभूमि महाराज अग्रसेनको दरबार सव्य, भव्य र आकर्षक रहेको छ । श्रीकृष्ण जन्मभूमिमा प्रवेश गर्दा लकरमा सामान, मोबाईल समेत सबै राखेर लाईनवाट प्रवेश गरि दर्शन गर्नुपर्ने रहेछ । यहाँ दर्शन गरि दुई नम्बर गेटका प्राचीन मन्दिरहरुको दर्शन गरि एड्वोकेट विजय गुप्ताजीको पसलवाट पेडा किनेर जल र पेडा सेवनले पेटको भोक साम्य हुने गरि श्रीकृष्णजीको प्रसाद स्वरूप ग्रहण गरि पसलहरुको सामान्य अवलोकन पश्चात् हामी लागेउ अटो रिक्सामा श्रीकृष्णजीको चमत्कारिक लिला गोवर्द्धन पर्वत तिर ।
१४. गोवर्द्धन पर्वत दर्शन :

समतल तराईको फाँटमा कस्तो पर्वत होला ? लिलाधारी श्रीकृष्णले कसरी उठाउनु भएको होला ? कथामा धेरै पटक पढे पनि प्रत्यक्ष दर्शनको अनुभुति एवम् आनन्दको स्वानुभव विशिष्ट हुने हुँदा आत्मा र नयन तिर्खाएका थिए । भगवत प्रेमभक्तिको तिर्खाले हामीलाई पनि गोवर्द्धन सम्म पुरायो । श्रावणको पहिलो पुर्णिामाको आगमन भक्तजनको अपार भिड करिब पाँच किलोमीटर वरसम्म मात्र अटो गयो । त्यहाँवाट हिड्नुको कुनै विकल्प रहेन । महाशिवरात्री पर्वमा नेपालको पशुपतिनाथ मन्दिर दर्शनार्थ आउने भक्तजनको भिडको झल्को दिने विशाल मानव सागरमा हेलिदै गयौं । गोवर्द्धन पर्वत गिरिराज र श्रीकृष्णको चमत्कारिक तिलस्मि कथा ह्रदयमा राख्दा बाटो हिडेको पत्तो भएन । एकातिरवाट जाने र अर्कोतिर वाट फर्कने भक्तजनको लहर थियो । त्यसमा भएका केहिलाई सोद्धा उनीहरु अआफ्नो समुहमा कोही उडिसा, कोहि राजस्थान, कोहि अयोध्या, कोहि मथुरावाट आएको जानकारी भयो । हिन्दु मात्रको अत्यन्तै पावन पवित्र धाम भएकाले पनि अन्तर्राष्ट्रियस्तरवाट विदेशीहरु समेत देखिन्थे । समुहलाई व्यवस्थित, मर्यादित बनाउने भारतीय प्रहरीहरू सक्रियता साथ खटिईरहेका थिए ।

वाटामा हिड्दा हिंड्दा असाध्य  प्यास लागेर कतै पानी किन्दा सोध्दथे - "अव गोवर्द्धन पर्वत कितना दुर है जी ?" जवाफ आउँथ्यो - "एक किलोमीटर हि आगे है । यो एककिलोमीटर पाँच किलोमीटर पुगिसक्यो परन्तु स्थानीय भारतीयले एक किलोमीटर भन्न छोडेनन । कठिनाइका बाबजुद अध्यात्मिक धार्मिक यात्राको आनन्दानुभुति गर्दै अन्ततः पुगेउ गिरिराज गोवर्द्धन पर्वतधाममा । गिरीराज गोवर्द्धन पर्वत देवराज ईन्द्रको अहंमता र मदमत्त शेखिलाई तोडी भगवान श्रीकृष्णले गोकुलवासीहरुलाई गिरिराज गोवर्द्धन पर्वतको पुजा गर्न लगाई ईन्द्रले भयावह बर्षा गराई डुबाउने धृष्टता गर्दा भगवान श्रीकृष्ण ले पर्वतराज गिरिराज गोवर्द्धनलाई कान्छी औंलामा उठाएर रक्षा गर्नुभएको महाभारत श्रीकृष्ण चरित्रमा पढ्न श्रवण गर्न पाईन्छ । यहाँवाट मातादेवी मन्दिरसम्म पुगि फर्केर आउँदा भारतीय तीर्थयात्री समुह समुहमा कोहि सुतदै उठदै जानलागेको देखि हामी पनि जाउँ भन्ने मन्सुबस गरि अगाडि बढदा शनिदेव, हनुमान र शिवका मूर्तिस्वरुपमा शनिको विशालकाय र  शिवजी र हनुमानको साना देखिदा शनिको प्रभावको दृष्टान्त भन्ने बुझिन्छ ।

केहि परसम्म गएपछि भारतीय प्रहरीलाई सोद्धा त राजाधिराज गिरिराज गोवर्द्धन पर्वत पुरै परिक्रमा दुरी २१ किलोमीटर भएको जानकारी प्राप्त भएपछि मनमनै मानसिक परिक्रमा प्रणाम गरि हामी फर्कियौं । आउँदा सरकारी रोडबेजको बसमा चढेर मथुरा आउने योजना मुताविक बसमा बसेउ । बसमा उडिसा, राजस्थान र अयोध्या र मथुराका तीर्थयात्री थिए । बस र अटोको भाडा उस्तै रहेछ किन्तु बसले धेरै चक्कर लगाएर घुमाएर ल्यायो । खाना खाएर कोठामा आउँदा दुई बजिरहेको थियो । एकक्षण आराम गरि पुनः नन्दबाबा यशोदा मैया भवन गोकुलधाम पुग्ने योजना बन्यो ।

 
यद्यपि यहाँका दर्शनिय स्थान  पुनिगाँव -जमुनाहा -पर्साना कीर्तिमन्दिर नदगाँव - छटिगढा बैष्णोदेवी मन्दिर सम्म भने पुग्न सकिएन ।

 
१५. नन्द बाबा यशोदा मैया भवन गोकुलधाम : श्रीकृष्ण वाललिला

जमुना नदीको पल्लोपट्टी अवस्थित गोकुलधाम वल्लोपट्टी मथुरा यमुना नदीमा व्यारेज हामी बसेको स्टेट बैंक चौराहा मथुरावाट तीनवटा अटो परिवर्तन गरि गोकुलधाम पुगेउ । गोकुलधाममा नन्दबाबाको गौशाला, नन्दभवन, पुतना बध, सत्सँग मण्डली जताततै नन्द बाबा, यशोदा मैया, श्रीकृष्ण, दावजी र राधारानीका सम्मोहनयुक्त स्मृति र  प्रत्यक्ष समेत अवलोकन दर्शन गर्दै गोकुलका भुलभुलैया गल्लीहरुमा रमाइलो गरि हिडेउ ।

शुरुमा पथप्रदर्शक तथा पण्डित पठाईदिने स्वयं जाँदा भुलिने भन्ने त्यहाँका युवाहरूले याद गराउँदा पनि "हमको मालुम है" भन्दै श्रीमतीजीलाई बोलाएर अगाडि बढदै गर्दा चारपाँच जना भारतीय केटाहरू मेरो पछि लागे त्यसमध्ये एउटा केटालाई - "मैले आप गाईड है ?" भनेर सोधे तर उसले भन्यो - "हमको भि यहाँके लोंग तङ कर रहेथे । हमको तो ऎसा लगा कि आपको तो सबकुछ मालुम है । आप यहिके रहनेवाले है ये वात समझकर हम आपके पिछे पिछे आया ।" फ़ेरि उसलाई मैले सोधे - "आप कहाँ के रहने वाले है ? - उसले भन्यो - "हम अयोध्याका रहनेवाले है । मै बी.एड. का विद्यार्थी हुँ । ये मेरा दोस्त है ।" उससँग चारजना अरु केटाहरू थिए । त्यसपछि मैले भने - "खासतौर पर मुझे भि मालुम नहि है लेंकिन पता लगा लेङ्गे ।" गोकुलके स्थानीय आदमीसे पुछेङ्गे चलिय मेरे साथ भनेर भनेपछि उनीहरुले मलाई अगुवा बनाएर हामी अगाडि बढेउ ।

ठाउँ ठाउँमा सामान बिकाउनेहरु कर गर्दथे भने मागनेहरु पनि त्यतिकै सताउँथे कसैलाई परवाह नगरेर नन्द बाबा यशोदा मैया कि जय ! "डोला उठाओ पालकी श्रीकृष्ण बालगोपालकी" ! राधे राधे !!! भन्दै गल्लि भित्र भित्रै पसेउ । कतै कतै स्थानीयलाई मैले सोधि पनि रहे । अन्ततः नन्दबाबाको गौशालामा पुगेर तस्बिर लियौ । नन्दभवन भित्र पत्थर, शिशा र सङ्गमरमरमा सजिएका कुदिएका नन्द बाबा, यशोदा मैया, श्रीकृष्ण दाउजी "बलराम" र राधारानीका सजिव जस्ता लाग्ने जीवन्त तस्बिरको अवलोकन गरेउ । समुह समुहमा पण्डित पण्डाहरुले श्रीकृष्ण बाललिला बताईरहेका थिए । हामीले पुतना बध हेरेउ । ति नवपरीचित अयोध्याको साथी रमाईलो रहेछ । नेपालको राजनीति बुझ्दोरहेछ । अहिले सरकार परिवर्तन भएको के.पि.ओली प्रधानमन्त्री भएको कुरो गर्यो । सरकार छिटोछिटो परिवर्तन हुने राम्रो होईन पनि भन्यो तर प्रचण्ड भन्दा के.पि. ठिक छ भन्यो यस बिषयमा म केहि बोलिन ।

अयोध्याको नवचीरपरिचीत भारतीय साथीले हामी दुईजनाको जोडीको नन्दभवनमा राम्रो तस्बिर लिईदियो । पटकपटक उसले कृतज्ञता व्यक्त गर्दथ्यो हामीसँग उनिहरुलाई ल्याएर विना पथप्रदर्शक खर्च बचाई दिएकोमा । उसले अयोध्यामा यहाँको जस्तो फटाई ठगी हुँदैन हामीले वीस तीस रुपैयाँमा नदी वारपार नौका विहार गर्दछौं यहाँ त सयौं रुपैया लिन्छन् भन्यो ।

अन्तमा गोकुल नन्दबाबा महलवाट यमुनाघाटमा जाउँ भनेर मैले भने त्यहाँ पनि निकै भुलभुलैयाको बाटो रहेछ अन्ततः हामी नदीमा पुग्यौं । यहाँ यमुना नदीको सानो भङ्गालो रहेछ । यहाँवाट हामी ति भारतीय सँग छुट्टीएर माथि आयौ फ़ेरि पहिला आएको ठाउँ विर्सिएर झन माथि पुगेछौ सोधि खोजी उक्त स्थानमा पुगेर तीनवटा अटो परिवर्तन गरि साझ करिब आठ बजे हामी हाम्रो बसाईको मुकाममा आईपुगेउ । खानपिन गर्दा रातको नौ बज्यो ।

१६. आगरा आगमन र लालकिला, मीनाबजार घुमफिर पश्चात् ताजमहल प्रवेश

मथुरा बसपार्कवाट हाम्रो यात्रा आगराको बसमा अगाडि बढ्दै जाँदा मथुरावाट रोडबेजको बसभाडा प्रतिव्यक्ति भा.रु. ८० रुपैयाँ रहेछ । आगरा बसपार्कमा हामीलाई झारिदिएर बस अगाडी बढ्यो । अटो खोजेर ताजमहल तर्फ अगाडि बढेउ । यहाँ पनि तीनवटा अटो प्रयोग गर्नुपर्यो । अन्तिम अटोले मीना बजार घुमाएर ताज महल पुरायो । अटोमा बस्दा अटोवालासँग एउटा अधबैंसे शायद त्यो मुशलमान नै हो मेरो जिज्ञासा ताजमहल सम्बन्धमा बेलिविस्तार लायो - "बादशाह शाहजहाँ अपनी मुमताज बेगमको बेहद प्रेम किया करते थे । वे दोनो लैला मजनु हि थे । शाहजहाँ ने अपने मुमताजके प्रेमको प्रेमोपहार है । ये वर्ल्ड फेमस ताजमहल जो सदा अमर प्रेमका निशानी है ।"
अटोले मीनाबजार पुरायो जहाँ सरकारी र प्राइभेट ब्राण्डेड उत्पादन सामग्री पाईदो रहेछ । यहाँको प्रमुख सुप्रसिद्ध चिज बस्तु जुन विश्व प्रसिद्ध छन्
१. हरेक प्रकार र समयका रंग बदली ताजमहल ।
२. सुप्रसिद्ध छाला (Leather) उँट (Chemal) वाट बनेको जुत्ता, चप्पल, व्याग, पर्स आदि ।
३. बाँस (Bamboo) को रेसाको अत्यन्तै हलुको न्यानो सिरक ।
४. केराको छिल्लाको साडी र
५. आगराका विभिन्न भेराईटीका पेठा, दालमोठ समेत मीनाबजारका सुप्रसिद्ध सामाग्री समेत अवलोकन गरि श्रीमतीलाई उँटको छालाको चप्पल र पेठा किनेर हामी ताजमहल प्रवेशद्वारमा पुग्यौं ।

मीनाबजार घुमाउँदा अटो सहचालकले नै हामीलाई सम्झाएको थियो - "आप भारतीय है तो ताजमहलका प्रवेशशुल्क रु.५०/- लगेगा । अमेरिकन है तो रु. १२५०/- और नेपाली है तो रू.७५०/- लगेगा । दोनो एक भारतीय होने से भी आपका ताजमहल प्रवेश शुल्क कम हो जायगा ।" यहाँ भारतीय र गैह्र भारतीयलाई दर फरकफरक तोकिएको रहेछ । साथै ताजमहल भित्र शौचालयमा महिलालाई रू.१०/- र पुरूषलाई रू. ५/- रहेछ । यसको कारण जान्न खोज्दा महिलाले प्याड आदि फालेर फोहर गर्छन् भनेर आफ्नै महिलाले यथार्थ कुरा बुझाईन । यहाँ सामान राख्ने व्यवस्था एउटा व्याग वा लगेजको रू. २०/- मा लकरमा राखिदिने व्यवस्था रहेछ भने हाते व्याग, मोबाईल, पर्स भने साथमा लैजान पाउने रहेछ ।

प्रवेशका लागि टिकटको लाईनमा जाँदाजाँदै एकजना पथप्रदर्शकले "आपको टिकट चाहिए ।" भनेर सोध्यो । उसले पनि भारतीय र गैह्र भारतीयको फरकफरक दर सम्झाएर भन्यो - "आप कहाँ के रहने वाले है ?" मैले भने "हम नेपाली है ।" उसले अगाडि भन्यो - "कोहि वात नहि आपको प्रवेश करा दिया जायगा । आप दोनोको रू.१०००/- लगेगा ।" लामो झन्झटिलो लाईनमा लागेर बस्नु भन्दा मैले उसलाई भने - "कन्फर्म है, कोहि फर्क तो नहि पडेगा ।" उसले भन्यो - "कोहि फरक नहि पडेगा वादमे पैसा देना ।" फेरि उसले भन्यो - "चेकिङमे आपलोग नहि बोलना सिधे अन्दर जाना उहाँ का व्यवस्था मै करुङ्गा ।" उसले अनलाईन टिकट देखाईदियो । हामीलाई भित्र प्रवेश गरायो । पुनः भित्रको सेक्युरिटीले हाते व्याग चेक गरेर मथुरामा किनेको राधाकृष्णको तस्बिर फ्रेम लैजान दिएन । पछि फर्कदा अर्कै वाटो फर्किएकाले त्यो तस्बिर फ्रेम त्यहि पुलिसलाई दान भयो । पथप्रदशकले फाईदा गरे पनि हाम्लाई राम्रोसँग घुमायो । तस्बिर पनि खिचिदियो । शाहँजहाँले मुमताजलाई प्रेमोपहार दिएको यो भव्य संरचनाको अगाडि ११ र पछाडि ११ गरि कुल २२ वटा स्तुपा ठडिएका जुन २२ बर्ष लगाएर बनाएको र त्यतिबेला नै रू. ४ करोड खर्च भएको जानकारी गरायो ।

 
यमुना नदीको किनारमा अवस्थित ताज महलको क्षेत्रफल करिब ६० एकड रहेको मुलगेट भित्र ताजमहल, बायाँ तिर मस्जिद दायाँ तिर विशिष्ट अतिथि शाहजहाँ आउँदा ड्रमले स्वागत गर्ने परम्परा रहेछ । विशिष्ट अतिथि गृह अवलोकन गरेउ । मुल स्वरूपको ताजमहलको माथी चढदा भने बाहिरवाट बीस रुपैयाँ तीरेर किनेर लगेको जुत्ताको कभर लगाउनु पर्ने रहेछ । यहाँ प्राय: रिसर्चर र विदेशी त्यहाँ पुग्दारहेछन् । बेगम मुमताजको स्मृति कोषगार सुनै सुनको भण्डार भएकोले विशेष सुरक्षा व्यवस्था र अतिरिक्त शुल्क लाग्ने रहेछ ।

 
ताजमहलको नजिकै प्राचिन श्री सिद्धेश्वर शिव मन्दिर र केहि वर तिर लक्ष्मीनारायण मन्दिर आगराको ताज महल भन्दा प्राचीन पन्ध्रौं शताब्दीमा निर्मित रहेछ । ताजमहलले गर्दा नजीकै बहेकी यमुना नदी र प्राचीन शिव र बिष्णु मन्दिर ओझेलमा परेको देखियो ।
आगराको ताजमहल र लालकिला जुन मुगल कालिन शाहजहाँले बनाएको जुन दिल्लीको लालकिलस जस्तैः स्वरूपमा बनेको रहेछ । यहाँका राधास्वामी मन्दिर, फत्तेपुर सिक्री मेहताव बाघ - बेबीताज सुप्रसिद्ध रहेछन् ।


अन्त्यमा आगरा आई सौरभ प्रधान एसी बस जुन दिल्लीवाट आएको थियो त्यसैमा लखनउ सम्मको टिकट काटियो किनभने रूपईडियाको डाइरेक्ट बसको सुविधा थिएन । अपरान्ह तीनबजेको बसमा लखनउको लागि प्रस्थान गरि रातको ८:०० बजे लखनउ चौराहामा आईपुग्यौं ।

 
१७. लखनउ सिटीमा रातको भुलभुलैया:

दिल्लीवाट आगरा हुँदै हामी आएको सौरभ ट्राभल्सको सहचालकलाई "लखनउ बसस्टायण्ड किधर है ?" भनेर सोध्दा "आलम बाग" भनेपछि अटोरिक्सामा आलमबाग आईयो । आएपछि पो थाहा भयो यो त स्थानीय रुटमा चल्ने बसस्टण्ड रहेछ । तहाँवाट पुनः "चारबाग" हुँदै "कैशरबाग" मा मात्र रूपईडिहा तर्फ आउने हामीले खोजेको बस भेट्यौं । रातको ९:०० बजे लखनउवाट रुपहिडियाको लागि प्रस्थान गरेको बस घाघरा व्यारेज, गणेशपुर, बहराईज, नानपारा हुँदै रातको २:०० बजे रुपहिडिया बसस्टैण्डमा आईपुग्यौं । यसरी चौविसौं दिनको यात्रा पश्चात् पच्चीसौं दिनमा घरमा आईपुग्यौं ।

 
अनुभवबाट प्राप्त शिक्षा वा सुझाव :

नेपालीहरु एक्लै दुक्लै भारत स्थित औषधिपचार र हाम्रा आराध्यदेव हिन्दुहरुका तीर्थस्थल दर्शन गर्न चाहनेहरुले मेरा स्वानुभवका बिषय अन्तमा जोड्न अनुमति चाहन्छु । भारतमा जाँदा प्रथमतः भाषा कमसेकम काम चलाउसम्म हुनुपर्छ । साथै स्थान, अटो, रिक्सा आदिको भाडाको ज्ञान नहुँदा धेरै हैरानी र सास्ती हुनसक्छ तसर्थ त्यस स्थानका भद्रभलाद्मीलाई आदरका साथ सोध्ने, एक जनालाई मात्र नसोधी दुईचार जनालाई सोध्ने । अन्त्यमा अटो चालकलाई सोध्ने रिजर्भ भन्दा शेयरिङ्ग्मा सस्तो भाडादर पर्दछ सोहि अनुरुप गर्ने गर्दा राम्रो हुन्छ । नगद पैसा थोरै राखि एटीएमको प्रयोग गर्दा पैसा चोरिने वा हराउने भयवाट सुरक्षीत भैईन्छ । हुनत ससाना गल्ती कमजोरी र अनुभववाटै सिक्ने हो भने ठूलो दु:ख वा संकट आईपर्दैन । जीवन एउटा सिङ्गो पाठशाला र आफुस्वयं शिक्षार्थी भएकाले जन्म उप्रान्त मृत्युसम्म निरन्तर सिकिरहनु पर्दछ । सिक्ने कुरामा कहिल्यै बुढो  भैइन्न र मरिन्न पनि । हवस् त धन्यवाद 🙏

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
सोमबार ७ श्रावण २०८१ शुभम् ।

Comments