५६५. सन्दर्भ : महालय पार्वण श्राद्ध परिचय र महिमा

सन्दर्भ : महालय पार्वण श्राद्ध परिचय र महिमा       

✍️ श्राद्ध कर्ता : वसन्तराज अधिकारी साथमा श्रीमती यशोदा अधिकारी र वशिष्ठ गोत्रीय पंडित गीताराम भट्टराई ।

हविष्यान्न भोजन / एकछाकी

दिवसस्याष्टमे भागे मन्दीभूते दिवाकरे ।
तत्र नक्तं विजानियान्न नक्तं निशिभोजनम् ।।
                                                  - भविष्यपुराण

सपत्नीक श्राद्ध कर्ताले अघिल्लो दिन शुद्ध र सात्त्विक हविष्यान्न भोजन गर्नुपर्दछ । प्रातः र सायम सन्ध्याका साथै रात्रिकालीन समयमा भोजन गर्नु हुँदैन ।  सूर्यको तेज मत्थर भएको समयमा दिनको आठौं भागमा सूर्य नअस्ताउँदै भोजन ग्रहण गर्नुपदर्छ ।

वस्त्रशौचादि कर्तव्यं स्वकर्तास्मिति जानता ।
स्थानोपलेपनं कृत्वा ततो विप्प्रान्निमन्त्रयेत्।।
                                                         - श्राद्धमयुख

श्राद्ध कर्ता एकछाकिका दिन मुण्डन, स्नान, नित्य कर्म, वस्त्र प्रक्षालन र हविष्यान्न ग्रहण गरी ब्रह्मचर्य पालनाका साथ नियममा बस्नुपर्दछ । गोमयद्वारा श्राद्धभूमि लेपनका साथ एक भक्त र एक चित्त रही ब्राह्मणलाई निमन्त्रणा गर्नुपर्दछ।

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाह्रतम् ।।
                                ✍️ विष्णुधर्मोत्तरपुराण

एकछाकिका दिन हविष्यान्न खाई नियमाचरणमा बस्दै देश, काल र पात्रमा श्रद्धाले बिधिपूर्वक पितृहरुको उद्देश्य गरि ब्राह्मणको उपस्थितिमा जल, सिधा र पिण्ड दिई गरिने पितृ कार्यलाई श्राद्ध भनिन्छ । "श्रद्धया द्वीयते यत् कर्म तत् श्राद्धम्" श्रद्धापूर्वक गरिने पितृकार्यलाई श्राद्ध भनिन्छ । अश्रद्धाका साथ गरिने श्राद्धकर्म सदा त्याज्य र निन्दनीय छ । आफ्ना पितृहरुको सम्मानमा शास्त्र ले बताएको समय र स्थानमा पक्वान्न, आमान्न र सुवर्णादी द्रव्यहरुद्वारा सम्पन्न गरिने कार्य श्राद्ध हो । दुध, दहि, घ्यू, मह सहित विभिन्न परिकारहरु तयार पारी श्रद्धापुर्वक अर्पण गर्नु नै श्राद्ध हो ।

एकैकस्य तिलैर्मिश्रांस्त्रींस्त्रीन् दद्याज्जलानज्जलीन् ।
यावज्जीवकृतं पापं तत्क्षणादेव नश्यति ।।

प्रत्येक पितृहरुलाई तिल मिश्रित तीन तीन अञ्जली दिनुपर्दछ । यसरी तिलोदक प्रदान गर्नाले जन्मदेखि तर्पण गर्ने समय सम्मका सबै पापहरु नष्ट हुन पुग्दछन् ।

अतपिर्ता : शरीराद्रुधिरं पिबन्ति ।
तर्पण नगर्दा ब्रह्मादी देवता र पितृगण मानिसको शरीरवाट रक्तपान गर्दै रक्त शोषण गर्दछन् ।

देवर्षिहरुलाई यव (जौं) मिश्रित एक अञ्जुली पुर्वाभिमुख । सप्त मनुश्यलाई दुई अञ्जुली उत्तराभिमुख । दिव्य र स्वपितृहरुलाई तिल मिश्रित तीन अञ्जुली दक्षिणाभिमुख । गृहस्थहरुले प्रमाद नगरी आफ्ना पितृहरुको नाममा जलदान/तर्पण गर्नुपर्दछ ।

यानि कानि च पापानि ब्रह्महत्यासमानि च ।
केशानाश्रित्य तिष्ठन्ति तस्मात केशान वपाम्यहम् ।

जे जति पापहरु रहेका छन् ती सबै केशमा आएर बसेका छन् । ती ब्रह्महत्या समान रहेका पापहरु हटाई शरीरलाई पवित्र पार्नका लागि केशमुण्डन गर्दछु ।

क्षौर कर्म बिना श्राद्धं य करोति नराधम: ।
जलं च रुधिरं प्रोक्तं अन्न बिष्टा समं विदु: ।।
                              ✍️ श्राद्ध कल्प

क्षौरकर्म नगरी श्राद्धमा दिईने जल रक्त समान र अन्न बिष्टा समान हुन्छ भनि कर्म ज्ञाताहरुले बताएका छन् । यी नियमहरु कर्ता र पात्र ब्राह्मण दुवैका लागि अनिवार्य छन् ।

🕉️ महालय पार्वण श्राद्ध, २०८०  बिधिपूर्वक गर्दै 

पितृॠण :

द्रव्य विनिमय, लेनदेन, ऐंचोपैचो, ॠण प्रवाह, धितो, जमानत, सावाँ व्याज भुक्तानीलाई मात्र ॠण भन्ने बुझाई हो भने त्यो गलत हुन जान्छ । ॠण र ॠणिका परिभाषा धेरै छन् । कृत्याकृत्यका आधारमा मानिसले धेरै प्रकारका दृश्यादृश्य विभिन्न खालका ॠणहरु बोकिरहेको हुन्छ । ती ॠणहरु मध्ये मुख्तत: मानिसले आजन्मा तीन प्रकारका ॠणको भार बहन गर्न पुग्दछ । ति
तीन प्रकारका ऋण निम्नानुसार रहेका छन्। देवऋण, पितृऋण र ऋषिऋण ।

देवऋण -

आफ्नो धनसम्पत्ति अनुसार विभिन्न सामग्री सम्पदान गरी यज्ञानुष्ठान, उपवास, तपोव्रत र देवपूजनका माध्यमबाट गरिने यज्ञले देवऋणबाट मुक्त दिलाउँदछ ।

पितृऋण -

सन्ततिले इहलोकमा जीवित पितृको सेवा सत्कारका साथ परलोक गएका पितृहरूको सम्झनामा पिण्ड पानी प्रदान गरी श्रद्धाभाव प्रकट गर्नाले पितृ ऋणबाट मुक्तहुन पुग्दछ ।
जीवितहुँदाको अवस्थामा बाबुआमा को उचित पालनपोषणका साथ रेखदेख गर्न सनातनको सहारा चाहिन्छ । वंशपरम्पराको निरन्तरता र सम्पत्तिको उपभोगका कारण मातापिता प्रति सदैव ऋणी हुनपुग्दछौं । मातापिताको शुक्र र रजका माध्यमबाट निर्मित शरीरमा पित्र्यंश व्याप्त हुनाले दिवंगत भएको अवस्थामा पनि पितृऋण बोकेकै हुन्छौं । यी दुवै थरीका ऋणबाट मुक्तहुनका लागि छोराछोरीले बाचुञ्जेल सेवा र मरेपछि जलदान र पिण्डदान गर्नुलाई अनिवार्य मानिन्छ।

" दैव दिन्छन् , पित्र हर्छन् " देउता प्रसन्न भए धनदौलत दिन्छन् भने पित्रलाई खुशी पार्न सकेनौं भने प्राप्त धनपनि गुमाउन पुग्दछौं। " पितरः वाक्यमिच्छन्ति " जीउँदो अवस्थामा बाबुआमाले राम्रो व्यवहार र नम्रबोलीको अपेक्षा गर्दछन् भने मृत्युपछि पुरोहितबाट वाचन गरिने शुद्ध पितृवचनको अपेक्षा गर्दछन् ।

ऋषिऋण-

कश्यपादि ऋषिको वंश परम्पराबाट आएका हामीले ब्रह्मचर्य नियमको पालना गर्दै गुरु, अग्नि, अतिथि सेवा, स्वाध्याय, तपोव्रत र ऋषि पूजनका माध्यमबाट वंशोक्त ऋषिहरूलाई प्रशन्न पार्नाले ऋषि ऋणबाट मुक्त हुन पुग्दछौं।
                बाबुआमा प्रतिको कर्तव्य र दिवंगत पितृको अनन्य गतिका लागि गरिने कर्मका आधारमा पितृऋणबाट मुक्त भई आनन्दित हुन पुग्दछौं ।

श्राद्धगर्दा तर्पण दिइने पितृहरूको क्रम यस प्रकार रहेको छ :-

ताताम्बात्रितयं सपत्नजननी
मातामहादित्रयम्।
सस्त्री स्त्री तनयादि तातजननी
स्वभ्रातरः सस्त्रियः।।
ताताम्बात्मभगिन्यपत्यधवयुग्
जायापिता सद्गुरुः।
शिष्याप्ताः पितरो महालयविधौ
तीर्थे तथा तर्पणे।।

तातत्रितयं = पितृ - पितामह - प्रपितामह ।
अम्बात्रितयं = आमा - हजुरआमा - जिजुआमा । सपत्नजननी = सौतेनी आमा
मातामहादित्रयं = मातामह - प्रमातामह - वृद्धप्रमातामह ।
सस्त्रियः = मातामही - प्रमातामही - वृद्धप्रमातामही
स्त्री = आफ्नी पत्नी
तनयादि = आफ्नो छोराछोरी
तातभ्राता = काकाहरू
सस्त्री = काकीहरू
जननीभ्राता  = मामा सहित माइजू
स्वभ्राता = दाजु र भाउजू- भाइ र बुहारी तातभगिनी = फुपूदिदी
अपत्यधवयुक् = पति र छोराले सहित भएका अम्बाभगिनी = ठुलीमा - सानीमा पतिले सहित आत्मभगिनी = आफ्नी बहिनी
जायापिता = ससुरा र सासु 
सद्गुरुः = गायत्री गुरु -  दीक्षागुरू - वेदगुरु आदि, शिष्याः = शिष्यहरू
आप्त = मित्रजनहरू
महालयविधौ = महालय, तीर्थे = तीर्थमा श्राद्ध गर्दा, पितरः = पितृहरूलाई, तर्पण = जलदान क्रमैले दिनुपर्दछ।
तर्पण दिंदा गोत्र, सम्बन्ध, कर्ता र स्वरुपको ज्ञान हुनु आवश्यक छ ।
वस्त्र निष्पीडन

वासो निष्पीड्य।

- पारस्करः

स्नानवासो निष्पीड्य।

येचास्माकं कुले जाता अपुत्रा गोत्रिणो मृताः ।
ते गृह्णन्तु मया दत्तं वस्त्रनिष्पीडनोदकम् ।।
   
तर्पणका क्रममा अगति परेका पितृहरूलाई तृप्त पार्न दिइने जल वस्त्र निचोरेर दिनु पर्दछ । बिहान स्नान गरेको वस्त्र निचरी दिनु पर्ने भन्ने विधान रहेको छ । स्नानाङ्ग तर्पण गर्दा स्नानवस्त्रको जल निचर्नु पर्ने हुन्छ । श्राद्धाङ्ग तर्पण गर्ने क्रममा उत्तरीय वस्त्र निचर्ने र वस्त्राभावमा जनै निचर्ने प्रचलन रहेको छ । तेसो गर्नका लागि उत्तरीय वस्त्रको सट्टा कि नौ डोरे जनै लगाउनु पदर्छ, होइन भने श्राद्ध कर्ममा उत्तरीय वस्त्रलाई तिलोदकले भिज्याई तर्पण पात्र भन्दा बाहिर वस्त्र निष्पीडन गर्नुपर्दछ । जनै भन्दा वस्त्रनिष्पीडनकै अनिवार्यता रहेको विषय पुष्टि हुनपुग्दछ ।

नीविबन्धन ।

नीवि कार्या दशा गुप्तिर्वामकुक्षौ कुशैः सदा ।
पितृकर्मणि चैवोक्ता वेदवेदाङ्गवेदिभिः ।।
                                        -श्राद्धकारिका

दशासङ्गोपनं नीवि साराग्रे मानुषी स्मृता ।
पितृणां दक्षिणे पार्श्वे विपरीता च दैविके ।।
दक्षिणे कटिदेशे तु तिलैः सह कुशत्रयम् ।
तर्जयन्तीह दैत्यानां यथा नृणामयस्तथा ।।
                                - वृद्धयाज्ञवल्क्य

दक्षिणत इव हीयं नीविरिति लिङ्गम्।
लिङ्गादेरपि विधेयम्।
                                             - श्रुतिः
अतः आभ्युदयिकश्राद्धे वामकट्यां पार्वणादिपितृश्राद्धे तु दक्षिणकट्यां नीविबन्धनम्।
                कम्मरमा कुश सहित तिल घुसार्ने प्रक्रियालाई नीविबन्धन भनिन्छ । जसरी मानिसहरू फलामका हतियारबाट त्रसित हुन्छन् । त्यसैगरी दैत्यहरू तिल सहित कुश कम्मरमा घुसार्नाले कर्तादेखि डराउन पुग्दछन् । दिग्बन्धनले श्राद्धस्थान र नीविबन्धनले कर्ता सुरक्षित हुन पुग्दछ । नाभिदेखि दशाङ्गुलको दायाँ र बायाँ भागमा नीविबन्धन गर्नु पर्दछ । दैवी श्राद्धमा वामकटिमा निविबन्धन र पितृश्राद्धमा दक्षिण कटिमा निविबन्धन गर्नुपर्दछ भन्ने श्रुति - स्मृतिको वचन रहेको वेदज्ञाता विद्वानहरूले बताएका छन् ।
अतः देव परक श्राद्धमा बायाँ कम्मर र पितृ परक श्राद्धमा दाहिना कम्मरमा नीविबन्धन गर्नुपर्दछ ।      

✍️ महालय "पार्वण श्राद्ध" गर्दै 

पिण्डदान

पत्नी हस्ताच्च संगृह्य पिण्डदानं करोति यः ।
शतसंवत्सरो तृप्ति पितृणां भवति ध्रुवम् ।।

पाकक्रिया, पिण्ड निर्माण र पिण्ड प्रदानमा धर्मपत्नीको प्राधान्यता रहन्छ । निश्चय नै हो , कर्ताले सपत्नीक भई पिण्डदान गर्दछ भने सय वर्षसम्म पितृहरू तृप्त हुन पुग्दछन् ।

विकिरदान

पार्वणे नैऋतौ ज्ञेयं क्षये चाग्नये एव च ।
नान्दौ पूर्वे तथा ज्ञेयं प्रेतश्राद्धे तु दक्षिणे ।।
                                                     - भवदेवः

विकिर दान गर्दा ॐकार रहित मन्त्र प्रयोग गर्नुपदर्छ । सोह्रश्राद्धमा नैऋत्य दिशामा, एकोद्दिष्टश्राद्धमा आग्नेय दिशामा, आभ्युदयिकश्राद्धमा पूर्व दिशा र प्रेतश्राद्धमा दक्षिण दिशातर्फ विकिर दिनु पर्दछ ।

मण्डल निर्माण / औसनी हाल्ने

चतुरस्रं त्रिकोणं च वर्तुलं चार्द्धचन्द्रकम्।
कर्तव्यमानुपूर्व्येण मण्डलं ब्राह्मणादिषु ।।

ब्राह्मणानां चतुष्कोणं क्षत्रियाणां त्रिकोणकम्।
वर्तुलं वैश्यजातीनां शूद्रस्य प्रोक्षणं स्मृतम्।।

सिधान्न वा आमान्न दान गर्दा चतुर्भुज, त्रिभुज, वर्तुलाकार  र अर्धचन्द्राकार बनाउनु पर्दछ ।

ब्राह्मणका लागि चतुर्भुज, क्षत्रियका लागि त्रिभुज, वैश्यका लागि वृत्ताकार र चतुर्थाश्रमीका लागि अर्धचन्द्राकर वा सेचन विधि अपनाई मण्डलहरू गराउनु पर्दछ। भस्म वा जलद्वारा मण्डल बनाउनु पर्दछ । विश्वेदेवका लागि दाहिने बाट जल घुमाई मण्डल गराउने र पितृ ब्राह्मणका लागि देब्रेबाट जल घुमाई मण्डल गराउनु पर्दछ । आफूले भोजन दक्षिणावर्त दाहिनेबाट घुमाई गराउनु पर्दछ ।

सिधान्न / आमान्न दान

सिधा दान गर्दा  ध्यान दिनुपर्ने -

श्राद्धीयान्नस्य सङ्कल्पो भूमामेव प्रदीयते।
हस्तेषु दीयमानं तु पितृभ्यो नोपतिष्ठते।।
                                                - धर्मप्रदीप

सिधा सङ्कल्प गरेको कुश वा मोटक भुईंमा नै दिनुपर्दछ । यदि हातमा दिइयो भने पितृ र ब्राह्मण निराश भएर आफ्नो लोकमा फर्किन्छन् । जसका कारण श्राद्ध निष्फल हुन पुग्दछ ।

श्राद्धाधिकारी

पितुः पुत्रेण कर्तव्याः पिण्डदानोदकक्रियाः ।
प्रजाभावे तु पत्नी स्यात् पत्न्यभावे तु सोदरः ।।

           पिताको पिण्डदान पुत्रले गर्नुपर्दछ । पुत्र नभए श्रीमतीले गर्नुपर्दछ ।  श्रीमती र पुत्र नभए सहोदर दाजुभाइले गर्नुपर्दछ । दाजुभाइ पनि नभए सपिण्डी भित्र रहेका दाजुभाइका छोराहरूले गर्नुपर्दछ । सो पनि नभए भाञ्जाहरूले गर्नुपर्दछ । सो पनि नभएमा ब्राह्मणद्वारा गराउनु पर्दछ ।

सपुत्राया नकर्तव्यं भर्तुः श्राद्धं कदाचन ।
अपुत्रया विधवया कार्यम्।।
                                            - धर्मसिन्धु
        पुत्रवती स्त्रीले श्रीमान् - को श्राद्ध गर्नुहुँदैन । छोरा नभएको अवस्थामा मात्र श्राद्ध गर्नुपर्दछ ।

पार्वण श्राद्धमा ब्राह्मण स्थापन प्रकार र सन्दर्भ सामग्री :-

                        पूर्व 
                                                 🔥 दीप
                    
                                                    👤
                                                पितृब्राह्मण      
                  
उत्तर                                     दक्षिण

                                                  👤
                                  🔳       पितृब्राह्मण
कर्ता  👤                  पिण्डवेदी         
                                   
                                                    👤
                                               पितृब्राह्मण

                                               
👤                                          👤
विश्वेदेव                            विश्वेदेव         
                                          
                                               🍚 नैर्ऋत्य
   पश्चिम                 विकिर घोप्ट्याउने

पार्वण श्राद्धका लागि समय अपरान्ह

दीपको नाम रक्षोघ्न।
जरा सहित र रहित कुश, कुशका टुक्रा , पवित्र र मोटक ।
पिण्ड ६ वा तर्पणका पितृ अनुसार ।
सिधा ६ वा सो भन्दा बढी ।
पितृ परक कार्यमा देब्रे घुँडा मोडाएर बस्ने । 
देवपरक कार्यमा दाहिने घुँडा मोडाएर बस्ने ।
दुवै आसनको वैकल्पिक व्यवस्था सुखासन ।
देवतालाई सव्य हुँदै पूर्वाभिमुख भएर कुशको टुप्पो सहित देवतीर्थबाट जौं मिश्रित जलले तर्पण दिने ।
सप्त मनुष्यलाई जनैलाई माला जस्तो बनाई उत्तराभिमुख हुँदै कायतीर्थमा कुशको मध्य भाग राखी त्यहीं जौं र कुशले तर्पण दिने ।
दक्षिणाभिमुख हुँदै पितृतीर्थबाट कुशको टुप्पो र मूल भागबाट मोटक बनाई तील मिश्रित जलले तर्पण गर्ने ।

विश्वेदेवलाई तीलको प्रयोग वर्जित ।
पितृब्राह्मणलाई जौंको प्रयोग वर्जित ।
विश्वेदेवका कार्य पश्चिमाभिमुख भएर ।
पितृब्राह्मणका कार्य दक्षिणाभिमुख भएर ।
पितृको अर्धपरिक्रमा देब्रेतिरबाट ।
पिण्डवेदी चतुर्भुज आकारको दक्षिण तर्फ हल्का ओरालो ।
सम्भव भए सम्म चाँदीका पूजा भाँडा र चाँदीनै दक्षिणा । खगौतो
पितृकार्यका लागि उचित द्रव्य - मध्यान्ह /अपरान्ह, गाई, भानिज, कम्बल, कुश, खड्गपात्र, चाँदी र तील ।
तुलसीपत्र ब्राह्मणलाई बाहेक अन्यत्र प्रयोग गर्न  सकिने ।
परकीय गृहमा गर्दा निष्क्रय द्रव्य दिएर मात्र गर्ने ।
ब्राह्मण यथा-लक्षण-लक्षित हुनुपर्ने ।
फलामबाट बनेका हतियार र भाँडा वर्जित ।                

पिता स्व. बलदेवप्रसाद अधिकारी 

सिधा दानका लागि बनाइने मण्डल :-

ब्राह्मण चतुष्कोण
क्षत्रिय त्रिभुज
वैश्य वृत्ताकार
चतुर्थाश्रमी चन्द्राकार वा सेचन ।

पितृब्राह्मणका सन्दर्भमा अयुग्मा ब्राह्मणाः भन्ने वचन रहेकोले तीनवटा ब्राह्मण राखिएको छ।
                  
सूत्रदान
वाससः सूत्रदानेन नरके तु विपच्यते।
                                    - भविष्यपुराण

कपडाबाट निकालेको धागो चढाउनाले नरकगामी हुनुपर्दछ ।
कपासबाट कातेको सूत्रको प्रशस्ति रहेको छ ।

पितृहरूको स्थान

सर्वेषु पितरः पूज्या देवतानां च देवता ।
शुचया निर्मलाः पुण्यादक्षिणां दिशमाश्रिताः।।
                                          - महाभारत

पितृहरू यसलोक र परलोकमा सर्ववन्द्य र सर्वपूज्य छन् । पितृहरूलाई देवताका पनि देवता मानिन्छ । पितृहरूको स्वरुप शुद्ध निर्मल र पवित्र हुन्छन् । ती पितृहरू दक्षिण दिशामा निवास गर्दछन् ।

अग्नौकरण / हवन

छन्दोगा जुहुयुः सव्येनाSपसव्येन याजुषाः।
                                     - वृद्धयाज्ञवल्क्यः

अग्नौकरणमा सामवेदीहरूले सव्य भई हवन गर्ने र यजुर्वेदीहरूले अपसव्य भई हवन गर्नुपर्दछ ।
      

न सन्ति पितरश्चेति कृत्वा मनसि यो नर: ।
श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिबन्ति ते ।।

अर्थात् पितृहरु नै छैनन्, बेकार अरुले श्राद्ध गरेको हो भन्ने विचार  मनमा लिएर जसले श्राद्ध कर्म गर्दैन, उसका पितृहरुले उसको रगत पिउँछन् ।

              

पुज्यनिय आमा भावना अधिकारीसँग जेष्ठ पुत्र म वसन्तराज अधिकारी #आमा_छोरा 


योSनेन विधिना श्राद्धं कुर्याद्वै शान्तमानस: ।
व्यपेतकल्मषी नित्यं याति नावर्तते पुन: ।।

निष्काम भावले शान्त भएर बिधिपूर्वक आफ्ना पितृहरुको जसले श्राद्ध गर्दछ, पितृहरुका आशीर्वादले सबै प्रकारका पापवाट उ छुटछ भने अन्त्यमा मोक्ष प्राप्त गर्दछ । उसले फ़ेरि जन्म मरणको चक्करमा पर्नु पर्दैन । बिधिपूर्वक श्राद्ध गर्नाले पितृहरु प्रसन्न हुन्छन् र आशीर्वाद दिएर पितृलोक फर्कन्छन् ।

आयु प्रजां धनं बिद्यां स्वर्ग मोक्ष सुखानि च ।
प्रयच्छन्ति तथा राज्यं प्रीता नृणां पितामहा: ।।

श्रद्धापूर्वक गरिएको श्राद्ध वाट पितृहरुले आफ्ना जिवित पुत्र/प्रपोत्र समेतका सन्तान सन्ततिहरुलाई इहलौकिक (सांसारिक) र पारलौकिक (परमार्थिक) सुख भोग र शान्ति प्रदान गर्दछन् ।

संकलन तथा सम्पादन :

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।

सन्दर्भ स्रोत सामग्री

✍️ वैदिक ज्ञान मञ्च  (धर्म सम्बन्धि प्रश्न तथा छलफल गर्ने ठाउँ) कृष्ण भक्त, विष्णुप्रसाद पोखरेल  र प्रा.डा. देवमणि भट्टराईको आलेखवाट उद्दृत गरिएको ।

#पितृपक्ष_2080

✍️ वसन्तराज अधिकारी
तुलसीपुर उपमहानगरपालिका वार्ड नं. १७ मजगैं, दाङ, नेपाल
 

Comments