प्रधानाध्यापक स्व. भिमकान्त आचार्य : बहुआयामिक व्यक्तित्व
✍️ वसन्तराज अधिकारी
पुर्व विद्यार्थी
वैयक्तिक विबरण
नाम थर : भीमकान्त शर्मा आचार्य (भिमकान्त सि)
बासस्थान : घोराही उपमहानगर पालिका वडा न १२ बेलभार, दाङ र घोराही उमनपा वडा न १० नारायणपुर, दाङ, नेपाल
जन्ममिति : बि.सं. २००१ साल अशोज १२ गते
जन्मस्थान : साबिक नारायणपुर गाविस वडा न ३ हाल घोराही उपमहानगर पालिका वडा न १० धैरेनी‚ दाङ
पिता : ठाकुरप्रसाद आचार्य
माता : पवित्रादेवी आचार्य
बाजे : पं. मोतिलाल उपाध्याय (लिबाङी पण्डित)
बज्यै : तारादेवी आचार्य
धर्मपत्नी : शीला शर्मा आचार्य (उमा)
छोराहरु तथा बुहारीहरु : श्री डिल्लीकान्त आचार्य र डा. कमलाकान्त आचार्य तथा श्रीमती सरिता देवकोटा आचार्य र श्रीमती निशा पछाँई आचार्य
छोरीहरु तथा जुवाँईहरु : श्रीमती यशोदा शर्मा गौतम र श्रीमती बिमला शर्मा पोख्रेल तथा श्री कमलप्रसाद गौतम तथा श्री टेशीराज पोख्रेल
संलग्नता :
१. सल्यान जिल्लाको ढाकाडाम स्कूलमा शिक्षण
२. दाङ जिल्लाका लालमटिया, रामपुर र धर्ना स्कूलमा शिक्षण
३. प्रधानाध्यापक बालकल्याण मावि लिबाङ‚ रोल्पा (बि.सं. २०२४ देखि २०२७ सम्म)
४. शिक्षक पद्मोदय पब्लिक मावि भरतपुर‚ दाङ (बि.सं. २०२७ देखि २०२९ सम्म)
५. प्रधानाध्यापक सिद्धरत्न नाथ नमूना मावि नारायणपुर‚ दाङ (बि.सं.२०२९ देखि २०५९ सम्म)
६. इन्द्रेणी एफ एम घोराही, दाङ
७. मधुमेह समाज सेवा समिति, दाङ
८. वात्स्यायन बोर्डिङ स्कुल नारायणपुर, दाङ
९. लेखक संघ दाङ
१०. राप्ती साहित्य परिषद, दाङ
११. आचार्य समाज सेवा समिति, दाङ
• पुरस्कार तथा सम्मान :
• प्रशंसापत्र दाङ देउखुरी गोश्वारा २०२१
• सम्मानपत्र
१. पद्मोदय पब्लिक मावि भरतपुर, दाङ २०३०
२. श्री ५ वीरेन्द्र शुभराज्यभिषेक पदक
३. श्री ५ वीरेन्द्र सेवा पदक
४. राष्ट्रिय शिक्षा समिति पदक तथा प्रमाणपत्र
५. सम्मानपत्र जि शि का दाङ
६. पदक, सम्मानपत्र र आदरपत्र सिद्धरत्न नाथ मावि नारायणपुर, दाङ
७. साहित्य प्रज्ञा पुरस्कार : दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान ८. कला साहित्य पुरस्कार : लेखक संघ दाङ
९. सम्मानपत्र : इन्द्रेणी एफ.एम. दाङ
१०. सम्मानपत्र : राप्ती साहित्य परिषद दाङ
११. सम्मानपत्र : त्रिपुर नगरपालिका दाङ
१२. सम्मानपत्र : भागवत सप्ताह ज्ञानमहायज्ञ मावि भरतपुर, दाङ
११. सम्मानपत्र : हिन्दु जागरण ज्ञानमहायज्ञ दाङ
१२. सम्मानपत्र : दीर्घ सेवापदक : मावि नारायणपुर, दाङ
प्रकाशित कृति :
१. विद्यालय र कलेजमा पढ्दा विभिन्न पत्रपत्रिकामा कविता, गीत, लेख, नाटक, निबन्ध र गजलहरु प्रकाशित
२. भावना २०५९ : गीती एल्बम
३. जीवनको गोरेटोमा २०६१ : गीत तथा कविताको संग्रह
४. भारतीय उत्तराञ्चलको तीर्थयात्रा २०६३ : यात्रा संस्मरण ५. चारधाम यात्रा २०६६ : वर्णन र विवेचना
६. मुक्तिनाथ दर्शन २०६६ :यात्रा वृतान्त
७. मेरी उमा २०७१ : खण्डकाब्य
८. सम्झनाका तरेलीहरु २०७४ : निबन्ध
९. लेखहरुको संगालो प्रकाशोन्मुख मेरो बश र म :
१०. आत्म कथा प्रकाशोन्मुख स्वर्गद्धारी महाप्रभु : लेख प्रकाशोन्मुख
देहावसान : वि सं २०७९ साल कात्तिक २ गते बुधबार दशमी तिथी
स्रोत : स्रोत भाइ डिल्लीकान्त आचार्यको मुहार पुस्तिकावाट प्राप्त जस्ताको तस्तै ।
यश लेखको सन्दर्भ शिर्षक माथी संकेत गर्दे मुल बिषय बस्तु जुन मेरो भविष्य निर्माण माध्यमिक शिक्षा उषा कालको दुई बर्ष वाहाँसँग औपचारिक रूपमा व्यतीत गरे त्यसै तर्फ केन्द्रित हुँदै जाँदा मेरो माध्यमिक शिक्षा अध्ययन बि.सं. २०३५-०३७ साल तिर तत्कालीन थारु भाषाको बोली व्यवहारको नाम जलौरा स्थित श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक विद्यालय नारायणपुर दाङमा भएको थियो । यहि समयावधिमा नारायणपुर दाङमा स्व. भिमकान्त आचार्य (भिमकान्त सि) संग मेरो बिद्यालयीय गुरु शिष्यको रुपमा माध्यमिक बिद्यालयमा शिक्षा अध्ययनरत जीवनकालमा रहनुका साथै वाहाँ बिद्यालयको प्रधानाध्यापक जस्तो गरिमामय अहम् जिम्मेवारीको भूमिकाको रूपमा हुनुहुन्थ्यो । अत: यश लेखमा वाहाँलाई मैले नजीकवाट देखे जाने बुझेसम्मको स्वअनुभव र पहिचानमा जस्ताकोतस्तै बहुआयामिक व्यक्तित्वको सारभुत स्वअनुभव सूक्ष्मरूपमा चित्रण गर्ने प्रयाश गर्दा सर्वप्रथम वाहाँका जेष्ठ सुपुत्र मेरा प्रिय भाइ शिक्षक तथा प्रशिक्षक श्री डिल्लीकान्त आचार्यवाट सामाजिक सञ्जाल मेसेन्जर मार्फत प्राप्त वैयक्तिक विवरण माथी प्रस्तुत गरे जस्ले स्व. भिमकान्त आचार्यको बहुआयामिक व्यक्तित्व सुस्पष्ट गर्दछ साथै मेरो संस्मरणमा रहेका केहि स्मृति बिम्ब प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
मेरो प्राथमिक शिक्षा, दुधरास, निम्नमाध्यमिक विद्यालय, तेघरा हुँदै माध्यमिक शिक्षा अध्ययन हेतु बि.सं. २०३५ सालमा आठ कक्षामा अध्ययन गर्न श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक विद्यालय नारायणपुर आएको थिए । त्यतिबेला नै यो माध्यमिक बिद्यालय दाङ जिल्लाभर मै चर्चित लोकप्रिय विद्यालय मात्र थिएन अपितु राजतन्त्रात्मक पञ्चायत शासन व्यवस्था विरुद्धको विद्यार्थी आन्दोलनको केन्द्र र नेतृत्वदायी विद्यालयको रूपमा नै चिरपरिचीत थियो । वास्तविक रूपमा सचेत युवा विद्यार्थी वर्ग नै राष्ट्रको दिशानिर्देश गर्ने अभियन्ता हुन् भन्दा द्विमत नहोला । तत्कालीन अवस्थामा नेपालमा राजशाही निर्दलिय शासन व्यवस्था कायम थियो भने निकटतम छिमेकी मुलुक दक्षिण भारतमा प्रजातान्त्रिक शासन व्यवस्था र उतरमा रहेको जन गणतान्त्रिक चीनमा विकसित घटनाक्रम र त्यहाँका नागरिक स्वयं परिवर्तनको संवाहक भएकाले सानो हिमाली राष्ट्र राजतन्त्रात्मक मुलुक नेपालमा पनि सचेत विद्यार्थी जमातमा क्रान्तिको दावानल प्रज्ज्वलित हुनु अस्वभाविक थिएन । श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कमरेड स्व. नेत्रलाल अभागीको शिक्षण सेवावाट बर्हिगमन अर्थात् पञ्चायत व्यवस्था विरुद्ध पुर्णकालिन राजनीतिक कार्यकर्ताको रूपमा लागेपछि वाहाँको स्थानमा प्रधानाध्यापक स्व. भिमकान्त आचार्यको आगमन एउटा गतिशील तरंग नै थियो । बिद्यालयको आन्तरिक र बाह्म वातावरण राजनीतिको दुश्चक्रमा फँसिसकेको अवस्थालाई शुद्धीकरण गर्दै शिक्षाको उज्यालो ज्योति बाल्ने कार्य आफैमा एउटा अदम्य र अथक र ऎतिहासिक साहस थियो ।
प्रधानाध्यापक स्व. भिमकान्त आचार्य पुर्ण आकर्षक शारीरिक व्यक्तित्व, हंसमुख, रवाफिलो, वाक्पटु, बौद्धिक, मनोबैज्ञानिक क्षमता भएको समस्यालाई अबिलम्ब पहिचान गरि समाधान हेतु तुरुन्तै कार्य व्यवहारमा प्रयोग गर्न सक्ने ओजस्वी व्यक्तित्व हुनुहुन्थ्यो । अहिले पनि म वाहाँको त्यो हँसिलो रसिलो र मिजासिलो स्वरुप झल्झल्ती सम्झिरहन्छु । यश अघि मैले प्राथमिक र निम्नमाध्यमिक स्तरका शिक्षक र प्रधानाध्यापक सँग साक्षात्कार भए पनि माध्यमिक स्तरका प्रधानाध्यापक सँग साक्षात्कार भएको पहिलो अनुभव सार्थक पाएँ र वाहाँको प्रधानाध्यापक कक्षको प्रवेशद्वारमा शैक्षिक योग्यता सहितको पद नाम टाँसिएको थियो । बडो आकर्षक ढंगमा भिमकान्त आचार्य, प्रधानाध्यापक एम.ए. डिप.इन.एड. (भित्र - बाहिर - व्यस्त) लेखिएको बिद्यालय परिसरमा नव आगन्तुक जो कोहिको पनि यो पद नामले ध्यान खिच्दथ्यो । त्यो जमानामा यति पुर्ण योग्यता धारी प्र.अ. को कार्यकक्ष प्रवेशद्वार जिल्लामा बडाहाकिमको स्वरुप जस्तैः थियो । अन्य बिद्यालय र शिक्षकहरू लाई पनि यो अनुकरणीय नै थियो साथै उहाँको शैली र परिपक्व व्यवहार व्यक्तित्व योग्यता मुताविक नै थियो । बुद्ध शिक्षा वा दर्शनमा डाँका अङ्गुलिमाललाई बुद्ध ले हतियार बिसाउन बाद्ध पारे जस्तैः मुर्खलाई बशिकरण गर्न सक्ने अदभूत सामर्थ्य र क्षमता उहाँमा थियो । जति सुकै आवेग वा रिसमा आएको मानिसलाई पनि बाबू, तपाईं त असल मानिस हो सज्जन राम्रो मान्छे भनेर मीठो भाषा भाव र शैलीमा प्रस्तुत हुँदा वाहाँसँग अप्रभावित रहन सक्ने कस्को सामर्थ्य थियो र ? मेरो त एउटा विद्यार्थीको नजरमा सामान्य दृष्टिगोचर मात्र हो परन्तु प्रधानाध्यापक स्व. भिमकान्त आचार्यका तत्कालीन सहपाठी र विद्यार्थीहरु समेत यि तथ्यहरुवाट अनभिज्ञ हुनुहुन्न । यसरी एउटै बिद्यालयमा तीनजना भिमकान्त भएकाले वाहाँको बारेमा भिमकान्त आचार्य सी भन्ने कथन पनि सुन्न पाईन्थ्यो ।
त्यतिबेला नारायणपुर स्थित बिद्यालय भवन अस्थाई प्रकृतिको कच्ची खरले छाएको थियो । एकपटक आगलागीमा परि सबै ध्वस्त भएको अवस्थामा पनि सुक्वार थारु गाउँवाट यथोचित काठको व्यवस्था गरि शिक्षक, विद्यार्थी, स्थानीय जनसमुदायहरु समेतको स्वतस्फूर्त श्रमदानबाट तीन महिना भित्र पहिला भन्दा राम्रो, आकर्षक र सुविधायुक्त फर्निचर सहितको टीनको छाना समेत बिद्यालय भवन व्यवस्थापन भए वाट पनि प्रधानाध्यापक स्व. भिमकान्त आचार्यको छोटो समयमै प्रसिद्धि भएको थियो । त्यतिबेलाको शिक्षकहरू विभिन्न राजनीतिक वैचारिक आस्थामा रहेपनि "सयौं थुङ्गा फुलको एउटै माला बनेर" बिद्यालय शैक्षिक व्यवस्थापन चलिरहँदा र विद्यालय नमूना माध्यमिक बिद्यालयको रूपमा सुपरिचित रहेकोे थियो । श्री सिद्ध रत्न नाथ मठ चौघेरावाट प्राप्त जग्गा जमीन बिद्यालयको पर्याप्त सम्पत्ति हुँदा बिद्यालयको नामाकरण सिद्ध रत्न नाथ बाट रहेको र जग्गा जमीनको उत्पादन वाट प्राप्त आयस्ताको कोषको सदुपयोग गरि गरिब तथा जेहेन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति समेतमा व्यवस्थापन हुन्थ्यो । हुनत त्यतिबेला मुलुकको समग्र राजनीतिक अवस्थावाट एउटा बिद्यालय अछुतो रहन सक्न्र कुरो भएन । राजनीतिक द्वन्द विद्यार्थी र शिक्षकमा अनुशासन खस्केको गणित शिक्षक समेतको अभाव लगायतका अवस्थामा माध्यमिक स्तरीय शैक्षिक गुणस्तर भने अपेक्षित रुपमा बढोत्तरी हुन नसकेको यथार्थ थियो । तथापि बिद्यालयको भौतिक प्रगति राम्रै थियो साथै उथलपुथल राजनीतिक वातावरण, प्रशासनिक सुदृढीकरण हुँदै बिद्यालय अगाडि बढदै थियो ।
प्रधानाध्यापक स्व. भिमकान्त आचार्यले बिद्यालयको प्रधानाध्यापकको जिम्मेवारीको अतिरिक्त बडो रोचक र हावभाव शैलीमा अत्यन्त रोमाञ्चक रुपमा पञ्चायत बिषयको अध्यापन गर्नुहुन्थ्यो । पञ्चायत बिषय भित्रका बिषयवस्तु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, पञ्चायतका निर्देशक सिद्धान्त तथा नीतिहरु,संवैधानिक निकायहरू आदि पढाउनुहुन्थ्यो । पञ्चायत बिषय अहिलेको राजनीति शास्त्रको रूपमा रहँदा तत्कालीन र अद्यावधिक यो बिषय सारै उपयोगी हुँदाहुँदै पनि हरेक परिच्छेदमा पञ्चायती व्यवस्था र राजतन्त्रको गुणगान र प्रशस्ती पढ्दा पढदै दलविहीनता पञ्चायती व्यवस्था र राजतन्त्रको मुल मन्त्र भने सर्वोत्कृष्ट व्यवस्थाको रुपमा मन्त्र झैं जप गर्नुपर्दथ्यो । कक्षा ८ मा पढदादेखि नै अनौपचारिक रुपमा साथीभाइहरुले कम्युनिस्ट क्रान्ति मार्क्सवादी लेनिनवाद र माओ विचारधाराको बैचारिक चिन्तनधाराको अनुशिक्षणले गर्दा राजतन्त्र र पञ्चायती शासन व्यवस्था निर्विकल्प हुन नसक्ने बिजारोपण हुँदै जाँदा हामी जस्ता सिधासादा पढन्ते "सुरुसुरु आना सुरुसुरु जाना सय बुद्धिका परे उत्ताना" भन्ने मूल मन्त्र भएका विद्यार्थीहरुमा पनि सुषुप्त राजनीतिक वैचारिक धाराको चेतनाको विजाङ्कुरण हुँदै थियो । यश बिचमा बेलाबेलामा श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक विद्यालयमा शिक्षक विद्यार्थी झडप दैनिक भिडन्त र आखा अगाडि विद्यार्थीहरू समेतले शिक्षकहरु माथी हमला र झडप हुने अवस्थामा पनि प्रधानाध्यापक स्व. भिमकान्त आचार्यको कुटनैतिक कुशल नेतृत्व, सांगठनिक एक्यवद्धताले गर्दा बिद्यालयका प्रशासनिक शैक्षिक क्रियाकलाप निर्वाधरुपमा अगाडि बढदै जाँदा बिद्यालयको सर्वाङ्गिण प्रगति आजको अवस्था सम्म आईपुगेको अवस्था घाम जत्तिकै छर्लङ्ग रहेको छ । त्यतिबेलाका शिक्षकहरूमा प्रधानाध्यापक तथा पञ्चायत बिषयका शिक्षक स्व. भिमकान्त आचार्य, इतिहास बिषयका शिक्षक स्व. चिन्ताबहादुर बुढाथोकी, नेपाली बिषयका शिक्षक स्व. जीवराज गौतम, कृषि बिषयका शिक्षक कृष्ण शाह, ग्रामीण अर्थशास्त्र बिषयका शिक्षक वासुदेव गौतम, अंग्रेजी बिषयका शिक्षक चन्द्रकान्त लम्साल हुनुहुन्थ्यो भने गणित बिषयका शिक्षक मोतिलाल भन्ने एकजना मधेसी शिक्षक बिद्यालय छोडेर हिडेपछी धेरै समय अर्थात् बि.सं. २०३७ को एसएलसी व्याचका हामी विद्यार्थीलाई निकै धक्का लागेको थियो ।
त्यतिबेला बि.सं. २०३६ साल फागुनमा नौ कक्षा उत्तीर्ण भै कक्षा दशमा पढ्दा पढ्दै असामयिक मेरो पिताश्री स्व. बलदेवप्रसाद अधिकारीको देहावसानले मेरो जीवनमा एउटा गम्भीरता विपत्ति का साथै नियमित पढाइमा अवरुद्ध हुन जाँदा केही समय मेरो भविष्य अन्योल रहन पुग्यो तथापि केहि समय पश्चात् यसको क्षतिपूर्तिका लागि भने मैले धेरै ठूलो संघर्ष र कठिन त्याग तपस्या र मेहनत गर्नुपरेको थियो । उक्त अवधिमा म रोल्पा र प्युठानमा अण्डर एसएलसी प्राथमिक शिक्षक भएर अन्ततः एसएलसी उत्तीर्ण हुँदा र निजामती सेवामा प्रवेश हुँदा पनि प्रधानाध्यापक स्व. भिमकान्त आचार्यसँग बराबर भेटवार्ता भैरहन्थ्यो । नातामा मामा पर्नुहुन्थ्यो प्रधानाध्यापक स्व. भिमकान्त आचार्य तथापि हाम्रो नाता सम्बन्ध भन्दा पनि बढी प्रधानाध्यापक र गुरु शिष्यको सम्बन्ध प्रगाढ थियो । बि.सं.२०५३ सालमा म तत्कालीन नेपाल सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत राष्ट्रिय पुस्तकालय, हरिहरभवनमा कार्यरत छँदा र तत् पश्चात् पनि शिक्षा तथा संस्कृति मन्त्रालय, केशरमहल, काठमाडौंमा कार्यरत छँदा प्रधानाध्यापक स्व. भिमकान्त आचार्य शिक्षण सेवावाट अनिवार्य अवकाशप्राप्त भैसक्दा पनि वाहाँले कीर्ति प्रकाशन गरिरहनु हुँदा नेपाल प्रज्ञा प्रतिष्ठानमा वाहाँका मुखारविन्दवाट I am retired but not tired. खोलाको अविरल बग्ने जलप्रवाह म कहिल्यै थाक्दिन । प्रत्येक बर्ष कमसेकम एक वटा कृति प्रकाशित गर्दछु भनेर भन्नु भएको वाक्यांश अहिले पनि कानमा गुन्जिरहन्छ । एकपटक नेपाल प्रज्ञा प्रतिष्ठानमा, कमलादीस्थित काठमाडौमा वाहाँको कृतित्व प्रकाशनमा सहभागी हुन पुगेको स्मरणमा ताजै रहेकोे छ । वास्तवमा आजीवन वाहाँ कहिल्यै थकित नभै सिर्जनात्मक र रचनात्मकमा समर्पित भै बहुआयामिक व्यक्तित्वको रूपमा हुनुहुन्थ्यो । प्रधानाध्यापक स्व. भिमकान्त आचार्य कविता, गीत, नाटक, व्यङ्ग्य आदि हरेक विधामा सिद्धहस्त हुनुहुन्थ्यो ।
यश नश्वर भौतिक मानव चोला फ़ेरेर सबैका प्रिय प्रधानाध्यापक स्व. भिमकान्त आचार्य देहावसान हुनुभएको बार्षिक पुण्य तिथि बि.सं.२०८० कार्तिक २ गते बुधबार दशमी तिथि रहेको छ । वाहाँसँग आजीवन सहचार्य, सहकार्य एवम् सहयोगी जनहरुलाई अवश्य मलाई भन्दा धेरै ज्ञात होला । मैले त केवल जीवनको पुर्वार्द्ध उषाकालमा एउटा विद्यार्थीको रुपमा त्यो पनि केवल औपचारिकतामा चिनापर्ची र अंग्रेजी शिक्षाको पठनपाठनमा पञ्चायत बिषयको विद्यार्थीको रूपमा अर्थात् शिक्षा ग्रहण गरे । कालान्तरमा यहि बिषयको परिवर्तित स्वरुप राजनीतिशास्त्रमा आचार्य सम्मको शिक्षा अध्ययन र वृत्ति पथ पनि मुलुकी प्रशासन रोजेर हाल नेपाल सरकारको सेवावाट निवृत्त भैसकेको छु । अन्तिम समयमा मावली सँग भेटघाट र भलाकुसारी भने हुन सकेन तथापि वाहाँका द्वय सुपुत्र जेष्ठ डिल्लीकान्त र कनिष्ठ डा. कमलाकान्त र जेष्ठ पुत्र बधु श्रीमती सरिता देवकोटा आचार्यसँग कीर्तिपुर काठमाडौ रहँदा बस्दा र दाङमा पनि बराबर भेटघाट भैरहन्छ । एक योग्य असल पिताका सुयोग्य सन्ततिमा पनि बाबुको गुण धर्म र कर्म ह्रदयमा बिद्यमान रहि बाबुको पदचाप अनुरुप चल्दैछन् । अन्त्यमा एक ज्योति पुञ्ज प्रात स्मरणीय श्रद्धेय गुरु वर स्व. भिमकान्त आचार्य सदा ह्रदयमा बिराजमान हुनुहुन्छ । उहाँ स्वर्गवास भए पनि वाहाँका हजारौं शिष्य र सहकर्मीहरु सदैव राष्ट्र सेवा र कल्याण हेतु सदैव कर्मशिल रहेको छन् ।
जीवन यात्रामा धेरै व्यक्तित्वहरु संग साक्षात्कार हुन्छन् ति मध्ये कतिपय मानसपटलमा चीर स्मृतिमा रहन्छन् भने कतिपय शिघ्र नै बिस्मृत भै जान्छन् । यो संसार स्मृति र बिस्मृतिको कालचक्र समान रहि निरन्तर सृष्टिचक्र क्रममा घुमिरहन्छ । स्वप्ना सरि नश्वर मानव जीन्दगानी अध्यात्मिक स्वरुपमा नियाल्दा जन्म, कर्मभोग, मृत्युु र पुनर्जन्म वा मोक्ष समेत मानिन्छन् भने भौतिकवादवाट नियाल्दा खेरि पञ्च महाभौतिक नाशवान शरीर प्रकृतिमा आफ्नै स्वरुपमा मिले पनि अन्ततः प्राण वायु कहाँ जान्छ यसको स्थिति गतिको बारेमा बिज्ञान पनि हालसम्म मौन नै रहेकोे छ । मानवतावादी बौद्ध धर्म पनि संस्कारको पुनर्जन्ममा विश्वास गर्दछ । भनिन्छ जस्तो कर्म उस्तै गति जस्तो बुद्धि उस्तै मति । यसै सन्दर्भमा मानव जीवनमा पुनर्जन्म सँग जोडिएर प्रारब्ध बनेर आउँछ जुन बलवान् र मानव जीवन चक्रमा अविछिन्न र स्वतन्त्र रूपमा रहि रहन्छ । आफुले चाहेको बंश, कुल र धनी मानी सुख भोग जन्म इच्छित अपेक्षित कहाँ पाईन्छ र त्यस्तै गरि मानव जीवन भोग पाएपछि एकदिन मृत्युु अवश्यम्भावी र अनपेक्षित रहन्छ तथापि लेखान्त कर्म नै भाग्यवान् र बलशाली रहन्छ । भनिन्छ भाग्य पुरुषार्थको अधिनस्त हुन्छ । मानिस स्वयं आफ्नो आफ्नो भाग्यको निर्माता हो किनकि इश्वरले मानिसलाई सर्वोत्तम मस्तिष्क ह्रदय र सबल दुई बाहु दिएका छन् यिनै भाग्य र भविष्यको निर्णायक खम्बा हुन् तथापि अकर्मण्यतामा यथास्थितिवादी हुँदा मानव भाग्यमानी बन्न खोज्दछ । संसारमा धेरै देवत्व गुण र दानव दोष भएका महारथी हस्तिहरुको उदय र विलय भयो । संसारमा कतिपय राम्रो कर्म सुनामले धन्य भए भने कति दुर्नामले चित्रित । सुनाम युग युग पर्यन्त मानव मन मस्तिष्कमा बसिरहन्छन् जसले भावी पुस्तालाई दिशानिर्देश र सदैव वैदिक वाणि जस्तै ॐ असतोमा सतगमय ! तमसोमा ज्योर्तिगमय !! मृर्त्योमा अमृतोदगमय !!! जस्तैः मानव कल्याणका लागि संसारमा जन्मिएका महापुरुष र महान नारी इतिहासमा अमर छन् उनीहरुको नाम सत्कर्मले पहिचान गराएको छ ।
समाज र राष्ट्रमा धेरै राम्रो सबैले सुख पाउने र सबैको भलो हुने कार्य गर्ने असल महान व्यक्तित्वहरुको संस्मरण युग पुरुषको रुपमा समाज राष्ट्रको स्मृतिमा लामो समयसम्म रहिरहन्छन् । ईश्वरीय गुणको अंशको रुपमा अवतरित नभै सबैलाई सुकर्म गर्ने महान अवसर कहाँ मिल्छ र ? धार्मिक दर्शनमा अवतार भनिने महापुरुष वा युगपुरुषहरु वास्तवमा भगवान्को साकार रुपमा चिनिन्छन् । हिन्दु धर्म दर्शनमा यस्ता अवतार राम, कृष्ण, बुद्ध, पैगम्बर मोहम्मद, जिसस क्राईष्ट आदि महा मानव वा साकार देवताको श्रेणीमा पर्दछन् भने रावण, कंश, दुर्योधन जस्ता दानवीय प्रवृतिहरु दुर्नामवाट परिचित रहेका छन् । सनातन हिन्दु धर्म शिक्षाले मानव जीवनको लक्ष्य धर्म, अर्थ, काम, मोक्षलाई मान्दछ जुन प्राप्त गर्न ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यास प्रमुख चार आश्रम मानिन्छन् । समयावधिको किटानी गणनामा पनि यि आश्रमलाई निर्धारण गरिएका छन् । यसैगरी ब्रह्मचर्याश्रममा बिद्याभ्यास गर्नु नै प्रमुख कार्य भूमिकाको रूपमा अगाडि आउँछ । यहि समय नै भविष्य निर्माणको प्रारम्भ विन्दु हो । यहीँ वैदिक हिन्दु सनातन धर्म दर्शनवाट अभिप्रेरित हुँदै हाम्रो समाज केहि लर्खराउँदै सम्हालिदै भए पनि अन्ततः अग्रगामी भैरहेको तथ्य स्पष्ट रहेको छ ।
प्रधानाध्यापक तथा प्रात स्मरणीय मामा स्व. भिमकान्त आचार्य (भिमकान्त सि) लाई अत्यन्तै श्रद्धाभक्ति र आस्थाका साथ श्रद्धाञ्जली अर्पण गर्दै बार्षिक तिथिको अवसरमा उहाँको आत्माले शान्ति पावस् । बैकुण्ठ धाम प्राप्त होस् । वाहाँको पुण्यको प्रभावले समस्त परिवारजनको सदा सर्वदा कल्याणको कामना गर्दै अन्त्यमा एउटा संक्षिप्त कविता संस्मरणका शब्द पुष्प सहित आलेखलाई बिसाउने अनुमति चाहान्छु ।
पैंतीस देखि सैंतीस सालको आवधिक बीचमा ।
बिद्यालय शिक्षा वातावरण थ्यो अन्योल भुमरीमा ।।
उदियमान नक्षत्र देदीप्यमान शिक्षा ज्योति गुरु ।
हजुरको पदचापमा हाम्रो पनि शिक्षा यात्रा भो सुरु ।।
सिद्ध रत्न नाथ नमूना मा.वि. नारायणपुर दाङमा ।।
हजुरसंगको सानिध्यता अविस्मरणीय ह्रदय माझ्मा ।
"गु" अर्थ अन्धकार "रु" नाश गर्ने पुर्ण तत्व ज्ञान ।
जीवन वृत्ति गौरव साथ सदा आत्म स्वाभिमान ।।
प्रात: स्मरणीय प्रमुख गुरु स्व. भिमकान्त आचार्य ।
स्वर्गवासी श्रद्धेय गुरु वर मौन रहि भाव गार्म्भिय ।
मेरो संक्षिप्त आलेख संस्मरण यसैमा छ केन्द्रित ।।
बार्षिक पुण्यतिथि अवसरमा श्रद्धाञ्जली समर्पित ।।
लेखक परिचय
वसन्तराज अधिकारी
अधिवक्ता तथा
पुर्व उपसचिव, नेपाल सरकार
प्रधानाध्यापक तथा मामाश्री स्व. भिमकान्त आचार्य |
Comments
Post a Comment