५५२. श्री पाण्डवेश्वर महादेव मन्दिर : संक्षिप्त परिचय

श्री पाण्डवेश्वर महादेव मन्दिर : संक्षिप्त परिचय        

we at श्री पाण्डवेश्वर महादेव मन्दिर, धारापानी, दाङ, नेपाल 

१. परिचय :

श्री पाण्डवेश्वर महादेव मन्दिर नेपालको लुम्बिनी प्रदेश एशियाको ठूलो उपत्यका घोराही उपमहानगरपालिका अन्तर्गत वार्ड नं. ५ संघीय राजधानी काठमाण्डौं देखि ४२१ कि.मि. पश्चिममा रहेको सुन्दर शहर घोराही देखि ९ कि.मि. दक्षिण किनारमा पर्दछ । सरयु नदिको मुल बबई  किनार र चुरेको फ़ेदिमा ऎतिहासिक, धार्मिक, सांस्कृतिक, जैविक र पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँ पाण्डवेश्वर महादेव मन्दिर उत्तरमा बबई नदी (सरयु) दक्षिणमा दाङकै ऎतिहासिक सुनकोट, सरिकोट, पुर्वमा बबई नदीको उद्गम स्थल र पश्चिममा चुरे पहाडको विशाल जंगलको बिचमा समुन्द्र सतह देखि ६३३ मिटरको उचाइमा अवस्थित छ ।

२. पौराणिक :

महाभारतको भीषण युद्ध पछि पाँच पाण्डव उत्तरापन्थको बाटो हुँदै स्वर्ग जाने क्रममा यस स्थानमा आई शिवका विभिन्न आकृतिहरु बनाई पुजा अर्चना गरेको किम्बदन्ती छ साथै पाँच पाण्डवहरु आइ ज्योतिर्लिङ्ग स्थापना गरेकोले यस मन्दिरको नाम पाण्डवेश्वर महादेव मन्दिर रहन गएको हो भन्ने कथन छ । साथै महाभारतमा पनि एउटा द्वैत बनको चर्चा गरिएको छ र त्यसलाई व्याख्या गर्दा उत्तरतिर बिशाल तलाउ  चुरेको फ़ेदिमा पाँच पाण्डवहरुले शिवका विभिन्न आकृति बनाई पुजा गरेको उल्लेख छ । यसलाई व्याख्या गर्दा उत्तर तिर बिशाल तलाउ हालको दाङ उपत्यका र चुरे पर्वतमा अन्यत्र कतै यसप्रकारको शिवलिङ्ग नभएकाले पाँच पाण्डवहरुले बनाएको ज्योतिर्लिङ्ग यहि मन्दिर भित्र रहेको हो भन्न सकिन्छ ।

दिनभर काटदा पनि नढलेको साजको वृक्ष, २०७१ सालमा त्रिशुल राख्दा ढाल्न नसकेको अर्को साजको वृक्ष यी घटनाहरुले पनि यो स्थान धार्मिक तपोभुमि हो भन्न सकिन्छ । यस क्षेत्रमा जंगली जनावर पशुपन्छी, बाघ, राते, भालु, घोरल, वन कुखुरा, लुईचे, नाग, कालिज, लगायत अन्य जनावरहरु पनि निर्भीकताका साथ चरण गर्दछन् । यसले पनि यस क्षेत्रको थप महत्व भएको बताएको छ । यस धाममा आइ स्वच्छ मनले पुजा अर्चना गरेमा मनले सोचेको सबै कुरा पूरा हुने विश्वासले धार्मिक भक्तहरुको ठुलै घुईचो लाग्ने गर्दछ । अझ महाशिवरात्री पर्वमा लाखौंको संख्यामा भक्तजनहरुको उपस्थिति हुन्छ साथै साउनको महिनामा पर्ने बोलबममा पनि धेरै भक्तजनहरुको आगमन हुने गर्दछ ।

३. ऎतिहासिक :

आजभन्दा ३०० बर्ष अगाडि भेटिएको ज्योतिर्लिङ्ग एउटै शिलामा अवस्थित छ जहाँ बिष्णु पादुका, कुण्ड, बाघका आँखा सहजै देख्न सकिन्छ । क्रमशः आस्था बढदै जाँदा बि.सं. १८९७ सालवाट खुल्ला आकाश मुनि रहेको ज्योतिर्लिङ्गमा पुजाआजा भएको पाईन्छ । १९९७ सालदेखि सामान्य सामान्य संरचना हुँदै २०४७ सालमा मूल मन्दिर निर्माण साथै क्रमशः अन्य मन्दिर निर्माण शुरु हुँदै २०६४ सालमा जिल्ला प्रशासन कार्यालयमा संघ संस्था दर्ता ऎन अन्तर्गत विधान दर्ता गरि २०७२ सालमा धार्मिक तपोवनको कार्ययोजना बनाई विभिन्न काम भैरहेका छन् र अहिले याहाँ विश्वको अग्लो त्रिशुल पनि रहेकोे छ । जसलाई २०७१ सालमा स्थापना गर्दा नेपाली सेनाको ठूलो सहयोगमा दाङ जिल्लाको भरतपुर स्थित रिपुमर्दन गणका सेनापति श्री सुमन थापाज्युको सिफारिसमा नेपाली सेनाका सेनापति श्री पुर्णचन्द्र थापाज्युवाट विश्वको अग्लो त्रिशुललाई महाशिवरात्रीको अवसर पारी शिव सलामी दिनुका लागि इजाजत पाएपछि अहिले यहाँ हरेक बर्ष महाशिवरात्रीको दिनमा नेपाली सेनावाट त्रिशुललाई सलामी तथा शिव पुजन गर्ने कार्य निरन्तर रूपमा हुँदै आइरहेको छ । जसले गर्दा यहाँको महत्व अझै बढी भएको महसुस भक्तजन तथा पर्यटकहरू वाट पनि बुझ्न सकिन्छ ।

साथै यस पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको निर्णय र प्रयासमा यस मन्दिर मन्दिर देखि २४०० मिटर माथि टापुमा रहेकोे सुनकोट भन्ने ठाउँमा खड्गदेवी मन्दिर निर्माण हुँदै गरेको छ । जहाँ पुग्नका लागि ४९६३ वटा सिंढी निर्माण गरि भक्तजनहरुलाई सहज दर्शन गराउने र सुनकोट खड्ग देवी मन्दिरमा ३१०० के.जी. को घंट राख्ने र घंट मन्दिरसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर सहयोग गर्ने प्रस्ताव नेपाली सेनाका प्रधान सेनापति श्री पुर्णचन्द्र थापाज्यु (दर्शन अवलोकनको क्रममा २०७६/१०/१२) ले गर्नुभएकाले हाम्रो मनोबल बढेको छ जसले गर्दा हामी सोही कामलाई निरन्तर रूपमा अगाडि बढाउँदै छौं ।

४. हालका संरचनाहरु

४.१) विश्वकै ठुलो र अग्लो त्रिशुल
४.२) त्रिशुलको आकारमा रोपण गरिएको १००८ जोडि वर पिपल
४.३) स्थानीय ढुंगावाट निर्माण गरिएको १०८ शिवलिङ्ग
४.४) स्थानीय ढुंगावाट निर्माण गरिएको १०८ गौमुखी ढुंगे धारा
४.५) ॐ को आकारमा रहेको ॐ सागर
४.६) वृहत् आकारको शंख
४.७) शिव पाञ्चायन देवताको मन्दिर
४.८) गायत्री मन्दिर
४.९) राम जानकी मन्दिर
४.१०) गणेश मन्दिर
४.११) हनुमान मन्दिर
४.१२) सुर्यनारायण मन्दिर
४.१३) सुर्यस्तम्भ
४.१४) भगवती मन्दिर
४.१५) लक्ष्मीनारायण मन्दिर
४.१६) हवन कुण्ड
४.१७) यज्ञ मण्डप
४.१८) श्राद्ध घर
४.१९) पिकनिक स्थल
४.२०) धर्म शाला
४.२१) गोविन्द पार्क
४.२२) विशाल बोटिङ सहितको ताल निर्माणाधीन
४.२३) सुनकोट खड्ग देवी मन्दिर निर्माणाधीन
४.२४) सुनकोट सम्म पुग्नका लागि ४९६४ सिंढी निर्माणाधीन
४.२५) पार्किङ स्थल निर्माणाधीन
४.२६) स्तम्भ पार्क निर्माणाधीन
४.२७) शिव पार्क निर्माणाधीन ।

स्रोत सन्दर्भ : मन्दिर प्रवेशद्वारमा टाँसिएको सूचना होर्डिङ बोर्ड
संकलन : वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौरा, दाङ नेपाल
मिति : सोमबार साउन ८, २०८० शुभम् ।

Comments