५४०. "घर" शब्दचित्र ✍️ वसन्तराज अधिकारी

घर" शब्दचित्र

✍️ वसन्तराज अधिकारी 

"घर" जहाँ घामपानी र दैवी  विपत्तिवाट
सुरक्षीत बाँस आवास  पाईन्छ ।
प्राकृतिक-मानवीय संकटवाट बची
पारिवारिक सद्भाव साथ पाईन्छ ।।
आधारभूत आवश्यकताका सोपान क्रम
गाँस बाँस र कपास छन् प्रमुख तीन ।।
यस्तै गरि फ़ेरि गौण पनि त हुन्छन्
जीवन सुरक्षा, स्वास्थ्य र शिक्षा ।।
                                    ।।१।।
कच्ची पक्की साना घर र ठुल्ठुला बंगला
हाउजिङ, कोलोनि र अपार्टमेन्ट भाडाका घर ।।
गाउँ - शहरउन्मुख बजार र विकसित  शहर
घर बनाउने प्रतिस्पर्धा र बढदैछ रहर ।।
प्रथमतः गाँस पश्चात् बाँस घरको महत्व छ
त्यसैले घरमा नै मानिसको ध्यान हुन्छ केन्द्रित ।।
मानव जीवनकै एक विशिष्ट प्रमुख उद्देश्यमा
घर निर्माणकार्य एक हुन आउँछ ।।
                                 ।।२।।
स्वदेशी आय आर्जन वा वैदेशिक कमाई कजाई
पैत्रिक सम्पत्ति जायजेथा वेच बिक्रि गरि ।।
व्यापार व्यवसाय, दलाली सट्टा पट्टि जसरी पनि
आधुनिक सुविधायुक्त घर नै चाहिन्छ ।।
बस्न सजिलो र आफन्तलाई  देखाउनका लागि
घरको अपरिहार्यता आवश्यकता हुन्छ ।।
परिवार मिलेर घर घर घर मिलेर टोल समाज र
टोल समाज मिलेर गाउँ नगर निर्माण हुन्छ ।।
तसर्थ ! राष्ट्रको जगको आधारस्तम्भ हो घर
परिवार धनी भए त राष्ट्र सम्पन्न हुन्छ ।।
                                            ।।३।।
परम्परागत घर प्रायः कच्ची निर्माण हुन्थे
काठ ढुङ्गा, माटो र काचो ईटाको ।।
खर, पराल र छ्वाली आदिले छाईन्थ्यो
यस्ता प्रकृतिका घर स्वस्थ्यकर र आरामदायी हुन्थे ।।
आजभोलि कंकृट, सिमेन्ट वालुवा आरसीसी गरेका
खानेपानी, शौचालय सबै सुविधासम्पन्न घरभित्रै
सुखान्त दर्शन "स्वान्त सुखाय"मा रम्ने मानिस ।।
                                            ।।४।।
दाङमा तीसको दशकमा ठुल्ठुला थारुगाउँ थिए ।
बाँसले बेरिएर माटोले टालेका घर हुन्थे ।।
पानी पिउन खोला, कुवा वा इनार बनाईन्थ्यो ।
शौचालय बाहिर खेतमा जहाँकहिँ गरिन्थ्यो ।।
विस्तारै पाका ईँटाको प्रचलन बढदै आयो ।
फ़ेरि खर पराल र टायल टिनको छाना हुन्थ्यो ।।
बिदेशी मोडलका नयाँ प्रविधि भित्रिए सँगै ।
घर भव्य महल र आधुनिक दरबार बन्न थाले ।।
उप्रान्त मानिसको हैसियत खानदान घरले नाप्ने भयो ।
जसरी भएपनि ठूलो घर बनाउने तिब्र प्रतिस्पर्धा ।।
ठुला घरका मापनले मानिसको स्तरीयता लेखाजोखा ।
धनीमानी र प्रतिष्ठित कहलाउने हुन थाले ।।
                                               ।।५।।
बा आमाको पालामा हाम्रो प्यारो घर गाउँमा थ्यो ।
चारपाखे र खरले छाएको दुई तले घर ।।
अहिले पनि बेलाबखत सपनामा स्मृतिमा आईरहन्छ ।
उहीँ सुन्दर घर संसार पारिवारिक सद्भाव ।।
सुदुर अतीतका मनोरम जीवन्त विस्मृत कालखण्ड ।
बा आमा भाइ बहिनीहरु घर बस्तुभाउ खेतीबारी ।।
                                             ।।६।।
वास्तवमा घर दरबार महल मात्र भएर हुँदैन ।
पारिवारिक सद्भाव र मेलमिलाप चाहिन्छ ।।
अध्यात्मिक भावना असल व्यवहार र सुसंस्कार ।
भए पछि मात्र फ़ेरि  घर घर जस्तो हुन्छ ।।
घर लाई संस्कृतमा "गृह" "आलय" अंग्रेजीमा हाउस, होम
गृहको मुल गृहिणी हुन्छन् होम आफ्नै घर हुन् ।।
असल गृहिणीले मात्र घर व्यबहार सम्हाल्छिन् ।
गृहिणी विनाको घर केवल भग्नावशेष मात्र ।।
घर इहलौकिक धर्म र पुण्यको प्रतिफल हुन्छ ।
अन्ततः परलोक गन्तव्य सबैको छ सुनिश्चित ।।
आफुले घरको रेखदेख र संरक्षण गरेपछि मात्र ।
घरले आफ्नो र परिवारको रेखदेख र संरक्षण गर्छ ।।
                                            ।।७।।
भोक लाग्दा भरपेट खान पाउने स्थान हो घर ।
निन्द्रा लाग्दा आनन्द साथ सुत्ने स्थान हो घर ।।
पारिवारिक सद्भावना र मेलमिलापको केन्द्र हो घर ।
इष्ट मित्र र आफन्तजनको आतिथ्यता गर्ने ठाउँ हो घर ।।
मातृपितृ धर्मकर्म देव पितृगुरु पुजन गर्ने स्थान घर ।
दु:ख लुप्त गरि "स्वान्त सुखाय" गर्ने केन्द्र विन्दु घर ।।
विदेश परदेश जहाँ गए पनि फर्की आउने ठाउँ हो घर ।
मानिसलाई नभई नहुने आधारभूत सेवाटेवा हो घर ।।
                                            ।।८।।
व्यवसाय अध्ययन वृत्ति मजदुरी र अन्य उद्देश्य बोकेर ।
घर बाहिर अन्यत्र भाडा वा किरायाको घरमा बसिन्छ ।।
भाडाका घर अस्थायी र करारीय सम्झौतामा हुन्छन् ।
निश्चित अवधी पश्चात् किराया घर छोडिन्छन् ।।
जीवनको करिब चार दशक अवधी भाडाको घरमा बसि ।
ऎले आफ्नै घरमा बस्न पाउँदा भैयो अत्यन्त हर्षित खुशी ।।
सरकारी जागीरमा हाकिमको क्वाटरमा पनि बसियो ।
घर छोडेर एउटा लामो कालखण्ड बाहिरै भइयो ।।
संघीय राजधानी काठमाडौमा भाडाको घरमा बसि ।
पारिवारिक शिक्षा दीक्षा र वृत्ति पश्चात् भएर निवृत्ति ।।
                                                 ।।९।।
आफ्नै घरमा स्वच्छतापूर्वक आरामदायी रुपमा बसेको ।
अब त सहजता साथ शिघ्र दुई बर्ष व्यतीत पनि हुँदैछ ।।
घरमा रमाउनुको मजा बेग्लै र विशिष्ट तहको हुँदोरहेछ ।
जीउनुको वास्तविक मजा यहीँ आएर मात्र भेटिदो रहेछ ।।
पशु जनावरलाई गोठ र पंन्छिलाई बस्न गुँड चाहिन्छ ।
सभ्यता संस्कृति पहिचान आनन्द निवृत्त घर रहेछ ।।
आफ्नो घरलाई प्रेम माया ममता मित्रता र सद्भावले भरौ ।
आफ्नो सामर्थ्यले आवश्यकतामा घर निर्माण गरौं ।।
पारिवारिक रुपमा स्वस्थ्य सन्तुष्ट सुखी र खुशी बनौ ।
सुखी र खुशी जीवन मानव जीवनको सारतत्व हुन्छ ।।
                                                   ।।१०।।
राजापुर नगरपालिका कार्यरत छँदा स्मार्ट सिटी ।
वैदेशिक स्थानीय तह अध्ययन भ्रमणमा ।।
नवोदित औद्योगिक शहर  सिचुवान प्रान्त छेन्दुङ र ।
राजधानी शहर  बेईजिङ चीन भ्रमण गर्दा ।।
तहाँ ठुल्ठुला पैसट्ठी तला भन्दा अग्ला हाउजिङ र ।
अपार्टमेन्ट विशालकाय भवन दरबार  देखियो ।।
विकसित नव उदियमान सुविधा सम्पन्न प्रविधियुक्त ।
अत्याधुनिक चमत्कारिक चीन शहरमा ।।
ग्रामीण क्षेत्रको बसोबास त हाम्रो जस्तैः लाग्दथ्यो ।
शहरी क्षेत्रमा हाम्रो नेपालमा जस्तैः सबैको अआफ्नो ।।
व्यक्तिगत निजी घर बाँस भने हुँदो  रहेनछन् ।
सरकारी वा बहुराष्ट्रिय कम्पनीका फ्लाट हाउजिङ ।।
बिशाल दरबार घरमा धेरै परिवार बस्दा रैछन् ।
हाम्रोमा अआफ्नै नीजि स्वामित्वको घर छन् र ।।
हामी नेपाली यसर्थमा भाग्यमानी भएका छौँ ।
चिनियाँ प्रशिक्षक बहिनी लिसुङसँग कुराकानी गर्दा ।।
मैले आफ्नो घर परिवार र खेतीबारी तस्बिर  देखाए ।
उनले प्रतिउत्तर गरिन "युआर लक्की एण्ड रिच"।।
जवाफमा मैले भने "ओ सरि आइएम नट रिच ।"
उन्ले स्पष्ट भनिन् "वि हैभ नो वन होम एण्ड ।।
वि हैभ नो वन लैण्ड एण्ड टेरिटोरी ।"
"अल प्रोपर्टी अफ गबर्मेन्ट रिपब्लिक अफ चाईना ।।"
उन्ले थपिन चाईनिज कम्युनिस्ट पार्टी इज मोर पावरफुल ।।
                  ।।११।।
हामी त पुँजीवादी व्यवस्थाका पक्षधर अनुयायी ।
मिश्रित अर्थव्यवस्था अपनाएका छौ हामीले ।।
वैयक्तिक सम्पत्ति र वैयक्तिक स्वतन्त्रताका धनी ।
आहा ! हामी भएका छौ कति भाग्यमानी ।।
सक्ने हुनेखानेले ठुल्ठुला दरबार बनाका छन् याहाँ ।
जति ठुला बनाएपनि नेपाली गरिब नैछन् ।।
भनिन्छ ! आवश्यकता आविष्कारकि जननी हुन् ।
जहाँ आविष्कार हुन्छन् त्यहीँ हुन्छ चमत्कारिक विकास ।।
                   ।।१२।।
हिजोआज युरोप अमेरिका तिर पलायन भएर जाने ।
बाबुआमा नेपालमा छोराछोरी विदेशमा रम्छन् ।।
फ़ेरि पनि बाबुआमा गौरवान्वित हुन कहिल्यै थाक्दैनन् ।
छोराछोरी विदेश पलायन हुन्छन् कहिल्यै नफर्कने गरि ।।
युवा जनशक्ति र बौद्धिक पलायन दुवै हुन् महाविकृति ।
हाम्रो लागि कदापि कहिल्यै हुन सक्दैन संस्कार र सुकृति ।।
परन्तु ! अबुझ गर्छ मान्छे धाक जमाउँदै गर्छ गौरव ।
पशुपतिनाथले यिन्लाई सदा सद्बुद्धी दिउन देशभक्ति जागोस् ।।
                     ।।१३।।
भारत र खाडी मुलुक जानेहरूको रेमिट्यान्स देशमै भित्रिन्छ ।
यि धेरै हदसम्म असल र देशभक्त बफादार नागरिक छन् ।।
यिनैको आय रेमिटेन्सले देश विकासमा योगदान गर्ने गर्छन् ।
विदेशमा दु:ख गरि कमाएर स्वदेश भित्रै भित्र्याउछन् ।
यसरी कुलग्राहस्थ उत्पादनमा प्रत्यक्ष सहयोग गर्छन् ।।
परिवार छोराछोरीको भरण पोषण गर्ने गर्छन् र फ़ेरि
सुविधायुक्त सुहाउँदो राम्रो घरबाँस गरि आरामले बस्छन् ।।
                                  ।।१४।।
घरको बारेमा धेरै शोध खोज र  अर्थ हुन् सक्छन् ।
पारिवारिक सुसंस्कार र सदाचार  कर्तव्य हुन्छ घर बन्न ।।
याहाँ मैले केवल सामान्य ज्ञान र आफ्नो अनुभुति व्यक्त गरे ।।
घरमा सानो बगैचा मनोरम शान्त फुलबारी साथै
एउटा पुस्तकालय भए हुनेछ धेरैधेरै फाईदा ।।
अन्त्यमा घर के हो ? सामान्य अर्थमा आवास हो ।
घर किन चाहिन्छ ? पारिवारिक सद्भावमा बाँच्न ।।
सृष्टिको सभ्य र विकसीत प्राणी मानव जाति ।।
📝 धन्यवाद

                                         ।।१५।।
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
शुक्रबार, २६ जेष्ठ २०८० शुभम् ।

Comments