५१६. नयाँ बर्ष २०८० को संक्षिप्त स्वागत मन्तव्य सहित एउटा कविता नयाँ बर्ष (८० थुँगा)

नयाँ बर्ष २०८० को संक्षिप्त  स्वागत मन्तव्य सहित एउटा कविता नयाँ बर्ष (८० थुँगा)             

📝 वसन्तराज अधिकारी, घोराही, दाङ 

१. नयाँ बर्ष २०८० को संक्षिप्त स्वागत मन्तव्य

विक्रम संवत् को नयाँ बर्ष २०८० को शुभारम्भ पहिलो दिन सुर्य उत्तरायण वसन्त ॠतु शुक्रबार बैशाख १ गते तदनुसार ई.सं. १४ अप्रिल २०२३ रहेको  छ । ज्योतिषीय पञ्चाङ्ग बमोजिम पिङ्गल नाम संवत्सर राजा - बुध, मन्त्री - शुक्र नवमी तिथि उत्तरखाडा नक्षत्र काल योग परेको  छ । विश्वमा बहुप्रचलित ईश्वी संवत् भन्दा विक्रम संवत् जेष्ठ छ । यो भारतीय प्रतापी महाराज विक्रमादित्यको नामवाट चलेको हुँदा केवल भारतीय मुल मात्र नभै निकटतम सामाजिक सांस्कृतिक सहसम्बन्ध रहेको नेपालमा पनि विक्रम संवत् को आधिकारिक  प्रमाणित महत्व रहेको छ । हुनत विश्वमा चाईनिज तिब्बती, मंगोल अनार्य लगायत आर्य शाखा अन्तर्गत पनि बहुबिध संवत् हरु प्रचलनमा रहे पनि विश्वमा आधिकारिक ईश्वीसंवत् र नेपालमा विक्रम संवत् का साथै ईश्वी संवत् दुवै प्रचलनमा छन् । विक्रम संवत् ई.सं.भन्दा ५६ बर्ष ८ महिना १६ दिन अर्थात् करिब ५७ बर्ष जेष्ठ रहेको अवस्था छ । आर्थिक बर्ष श्रावण देखि ई.सं. जनवरी १ अर्थात् पुस देखि  भने विक्रम संवत् बैशाख देखि प्रारम्भ हुन्छ । हाम्रो ऎतिहासिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक रुपमा बर्षमा मुलतः छ वटा ॠतुहरु रहेको छन् ति हुन् - वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त, शिशिर । चैत - बैशाख महिना वसन्त ॠतु हो जस्लाई ॠतुराज वसन्त पनि भनिन्छ एवम् रितले छ वटै ॠतु चक्र चलिरहन्छन् । यहि समय बैशाख उप्रान्त विक्रम संवत् को नयाँ बर्ष प्रारम्भ हुन्छ ।

नयाँ बर्ष अआफ्नो सामाजिक सांस्कृतिक रूपमा मनाउने प्रचलन रहेको छ । महिना समाप्त हुने दिनलाई मसान्त भनिन्छ भने बर्ष समाप्त हुने आजको दिन बर्षान्त हो । संक्रान्ति महिना पिच्छे पर्दछ भने महासक्रान्ति वा नयाँ बर्ष बैशाख १ गते मनाईन्छ । यो एउटा खुशीको दिन र सारमा एउटा  महत्वपूर्ण पर्व पनि हो । आज राती उनासीसालमा सुतेर भोलि असीसालमा उठने भन्ने कहावत रहेको छ । यश दिन सुर्योदय ५:४३ मा रहेको छ भने सुर्यास्त १८:२७ अर्थात् ६:२७ रहेको छ । यसदिन सुर्योदय भन्दा पहिला उठि "कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती करमुले स्थितो बिष्णु प्रभाते करदर्शनम् ।" यसै गरि आफ्नो इष्टदेव जस्तैः "कर्पुर गौरं करुणाSवतारं संसारसारं भुजगेहेन्द्रहारं सदा वसन्त ह्रदयारविन्दे भवं भवानी सहितं नमामी" मन्त्र सहित "ब्रह्मा मुरारी त्रिपुरान्त्रकारी भानु शशि भुमिसुतौ बुधश्च गुरुश्च शुक्र शनि राहु केतव कुर्वन्तु सर्वे मम सुप्रभातम् । यसै गरि "बक्रतुण्ड महाकाय सुर्यकोटी समप्रभ निर्विघ्नं कुरुमेदेव सर्वकार्यषु सर्वदा ।" श्रीगणेशजीको मन्त्रोच्चारण सहित कार्यारम्भ गर्नु अत्यन्तै उपयोगी सिद्ध हुन्छ । नयाँ बर्षमा नयाँ नयाँ भ्रमणको योजना बनाउने, अन्तरंग साथी संगति र मित्रमण्डलीसँग आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन हुने गरि घुमफिर गर्न जाने रमाउने खानपिन, मनोरञ्जन, बुद्धिरञ्जन गर्ने रमाउने प्रचलन परम्परागतरुपमा समेत रहि आएको छ । यसैगरी साथीभाइ आफन्त इष्टमित्र, सज्जन वृन्दहरुमा शुभकामना मौखिक टेलीफोन अनलाईन र सामाजिक सञ्जाल जस्ता विभिन्न माध्यमहरुवाट व्यक्त गर्ने प्रचलनको निरन्तरतामा नयाँ नयाँ प्रविधि र प्रयोगसाथ बढोत्तरी भएको अवस्था छ । दुईहजार उनासीसाल चैत ३० गते बिहीबार रातभर जाग्राम बसि New Year Eve मनाउने प्रचलन पनि हिजोआजको युवाहरूमा अत्यधिकरुपमा बढेको पाईन्छ ।

अहिले नेपालको संघीय राजधानी शहर काठमाण्डौ स्थित ठमेलमा पर्यटन महोत्सव धुमधामका साथ भैरहेको अवस्था साथै देश विदेशवाट लाखौ पर्यटक भित्र्याउने उद्देश्य पर्यटन व्यवसायीहरूले लिएका छन् । अहिले एकातिर कोरोना महामारी पश्चात् अधिक संख्यामा चीनिया पर्यटकहरु पनि नेपाल भित्रीएको अवस्था सुन्न पाईन्छ भने अर्कोतिर भारतको महाराष्ट्र, दिल्ली आदि शहरहरुमा पुनः सयौंको संख्यामा कोरोना संक्रमण बढिरहेको भन्ने तात्तातो खबरले पुनः सतर्कता र होशियारी अपनाउनु पर्ने र अझै ढुक्कसँग निर्वाधरुपमा घुमफिर आवतजावत गर्ने गर्दा विशेष अवस्था अपनाउनु पर्ने अवस्था रहेको छ । विश्वव्यापी महामारी "कोभिड १९" को कोभिसिल्ड खोपहरु पुनः उत्पादन हुन थालेको र बुस्टर डोज खोप लगाउनु पर्ने अवस्थाको विद्यमानता रहेको जानकारी पाईएको छ ।

नयाँ बर्ष सहज, सरल, मितव्ययीताका साथ पारिवारिक रुपमा आनन्द साथ खुसीमा  मनाऔ । अनुत्पादक एवम् फजुल खर्चमा प्रतिस्पर्धा नगरी आम्दानी अनुरुप आफ्नो वचत क्षमतालाई ख्याल गरि खर्च गर्नुपर्छ । मुलुकनै वैदेशिक ॠण र अनुदानको दलदलमा फँसेको बखत नागरिक सचेतता बढनु र बढाउनु पर्दछ । वास्तवमा मुलुकको अर्थतन्त्र कोरोना कालका बिगत करिब तीन बर्षको चक्रमा पिसिंदा अमुल्य धन जनको क्षतीका साथै रुस र युक्रेनको बिनाशकारी अहम्ताको युद्ध पश्चात् विश्वको अर्थतन्त्र संगै नेपालको अर्थव्यवस्था राजस्व आम्दानीको प्रगति गत बिगत बर्ष भन्दा ह्रासोन्मुख रहेको छ । युरोप, अमेरिका जस्ता विश्वका सम्पन्न हस्ती मुलुकहरूमा पनि धेरै संख्यामा रोजगारी कटौती भै बेरोजगार दर बढिरहेको अवस्थाको बिद्यमानता र हाम्रो आफ्नै अर्थतन्त्रका सूचकांक ह्रासोन्मुख भएको अवस्थामा संयमता व्यक्ति व्यक्ती देखि टोल, समाज र राष्ट्र हुँदै राजनीतिक नेतृत्व र अन्तर्राष्ट्रिय स्तरसम्म योजनाबद्धरुपमा कार्यान्वयन गरिनुपर्छ । व्यक्तिगतरुपमा भन्नुपर्दा अध्यात्मिक जीवनशैली, सकारात्मक सोंच, कर्तव्यपरायणता, इमान्दारीता जस्ता विशिष्ट गुणहरु हुनुपर्दछ । वर्तमान मुलुकको राजनीतिक वृत समेत दिग्भ्रमित बन्दै गइरहेको परिप्रेक्ष्यमा सचेतता र अनावश्यक खर्चहरुलाई नियन्त्रण गरि आवश्यक खर्चको सीमाङ्कन र प्राथमिकिकरण र प्रतिफल वा उत्पादनमुखि खर्च तर्फ विशेष ध्यान केन्द्रित गर्नुपर्दछ ।

आग्रह पुर्वाग्रह वा नियत परिस्थिति जो जेसुकैवाट सम्पादन हुन नसकेका राष्ट्रका प्राथमिकता प्राप्त योजनाहरु स्पष्ट प्राथमिकिकरण गरि ठोस कार्यक्रम रणनीति निर्माणका साथ सम्पन्न गर्न सरकार र राष्ट्रसेवक कर्मचारी वर्ग राष्ट्रिय हित भलोमा सदैव क्रियाशिल बन्नुपर्दछ । प्राज्ञ, बुद्धिजीवी बर्गहरु कुशलता र इमानदारीताका साथ सत्ता राजनीतिक कित्ता भन्दा माथी उठि राजनीतिक चित्र र चरित्रमा अध्ययन, अनुसन्धान गरि ठोस कार्यान्वयन योग्य सुझावमा केन्द्रित हुन् सकुन यसैगरी प्रशासन, सुरक्षा र रक्षासंयन्त्र, न्याय तथा कानुन राजनीति अन्धभक्त र छायामा नपरी पद्धति र थिति कानुन बमोजिम कार्यकुशलता प्रदान गर्न सकुन । किसान, मजदुर लगायत सबै संगठित समूह कर्मठरुपमा आफ्नो कर्तव्य परायणतामा जिम्मेवार बन्न सकुन । नयाँ बर्षले नयाँ सोंच, नवीन योजना, सुखद अनुकुल वातावरण, उपलब्धिमुलक प्रतिफल प्राप्त गर्न सकियोस् । प्राकृतिक विपत्ति, उपद्रव, महामारी रोग, दुर्भिक्ष, कष्ट निराकरण हुन् । विक्रम संवत् २०८० सालले पुरै असिको दशकलाई समेत प्रतिनिधित्व गर्ने हुँदा यो दशक विश्वव्यापीरुपमा आर्थिक वृद्धिदर अर्थतन्त्र सबलिकरणको नयाँ परिदृश्य नेपालमा पनि देखियोस् मुलुक केवल वैदेशिक रोजगारवाट प्राप्त रेमिटेन्समा मात्र निर्भर नरहि स्वदेशमै उत्पादनमुलक, प्रतिफलदायी, उपलब्धिमुखी कार्ययोजनाको दिशामा अगाडि बढुन्  स्वदेश र विश्वभरि छरिएका आमा बुबा, दाजुभाइ, दिदीबहिनी समेत सम्पुर्ण सबैमा नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ✍️ धन्यवाद

नयाँ  बर्ष २०८०

विक्रम संवत् नयाँ बर्ष, २०८० सालको पावन अवसरमा सम्पूर्ण आफन्तजन, इष्टमित्र र सज्जन साथी भाइहरूमा सुख, शान्ति, संम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना सहित बि.सं.२०७१ सालदेखि क्रमशः नयाँ बर्ष स्वागत कविता संलग्न                          
Happy New Year 2080 B.S. To all relatives & Best friends also.

नयाँ बर्ष
(८० थुँगा)
                                                                                                                                                     
बसन्त पालुवा बनमा, मनमा उमङ्ग छरी ।
डाँडा–काँडा र बन पाखामा, रमाउन चरी वरी ।।१।।

हरियाली छावस सर्वत्र, सुन्दर शोभा बढी
सुखी हुन् जनता सारा, बर्षै भरी हर घडी ।।२।।

प्रकृतिको छटा शान्ति, सुखद् वातावरण ।
कसैलाई नहोस् कैल्ये, अकाल हरण–मरण ।।३।।

नूतन साल एकहत्तर प्रवेश भो, नेपाली घर–घरमा ।
फेरिए बर्ष, महिना दिन–वार, र तिथी याहाँ ।।४।।

बैशाख एक गते भयो, नवबर्ष, नयाँ रमाईलो भरी ।
सबका ह्रदयमा नवज्योति, छावस बर्षै भरी ।।५।।

नयाँ योजना बनुन, पुराना सव पूर्ण हुन् ।
सुखको वर्षा बर्षिएर, सव आनन्दमा रमुन् ।।६।।

शान्तिले पाईला राखोस्, कलह कलत्र नभै ।
समृद्धि छावस् मनहोस्, प्रफुल्ल जताततै ।।७।।

राष्ट्रले संविधान पावस्, नेतृत्व सबल बनोस् ।
शासन–प्रशासन सदैभ, जनसेवामा समर्पित होस् ।।८।।

अन्तर्राष्ट्रिय सम्वन्ध, इज्जत प्रतिष्ठा बढोस् ।
राष्ट्रिय सरकार सक्षम र जनउत्तरदायी होस् ।।९।।

नहोस् दुर्भिक्ष विकराल, कष्टकारी दुःखी क्षण ।
फैलियोस् सुमङ्गल ध्वनी, विषे सवै जनमन ।।१०।।

अग्नीको त्राशले विघ्न, गर्मीको धुपले पनि ।
आगलागी नफैलियोस्, जीवन कष्टकर बनी ।।११।।

रोग–व्याधी, दुःखदायी, सन्ताप जन–जनमा ।
नहोस् कतै विघ्न बाधा, सुख, शान्ति सर्वत्रमा ।।१२।।

बन क्षेत्र बढोस् यस साल, चालिस प्रतिशत पुगोस् ।
आँधी, बेहरी र प्राकृतिक कष्टको समन रहोस् ।।१३।।

बर्षियोस् सुखको बर्षा, धनको धनसार बनी ।
मिठो मसिनो खान लाउन, मिलोस सवमा पनि ।।१४।।

बर्षा होस् प्रचुर मात्राको, खेती बारी हरा भरा ।
रमुन कृषक पसिना र मिहिनतमा सुरा पुरा ।।१५।।

फसल सप्रियोस् राम्रो, खाद्यान्न परिपूर्ण होस् ।
आयात न्यून रहि देशको, निर्यात बृद्धि दर रहोस् ।।१६।।

धान, मकै, बर्षे बाली प्रचुरताले बढी ।
घर, गाउँ सवै ठाउँ, होस् सुखै स्वर्गै सरी ।।१७।।

खुशी होस् सवका मनमा, फैलियोस् उमङ्ग भरी ।
रमाईलो गरि वितोस, दुईहजार एकहत्तर साल भरी ।।१८।।

हिमाल, पहाड र तराई, मधेसका फाँटमा ।
मेची देखि महाकाली, उत्तर र दक्षिणका सीमा ।।१९।।

सीमामा झगडा बढी, सीमा वासी त्रसित ।
बन्नु नपरोस् कहिल्यै, बनिरहुन् हर्षित ।।२०।।

एउटा नयाँ सर्वसम्मत, शासकीय थीति ।
सवैलाई मान्य हुने, एउटा कानूनी रीति ।।२१।।

दशैं, तिहार नयाँ बर्ष, छठ, ल्होसार घर–घर ।
क्रिसमस माघी  इद लगायतका, समावेशी चाड पर्व ।।२२।।

सवै एकापसमा मिलि, भातृत्व  भगिनित्वमा ।
बसोस एउटा नयाँ, संस्कृति सम्वन्ध बन्धन ।।२३।।

नारी जाति सम्मानित रहुन, सरस्वती लक्ष्मी दुर्गा सरी ।
नारीत्व नबुझ्ने शठ्को, दमन होस् बर्षे भरी ।।२४।।

सकारात्मक भावनाले, नेपाली जनमनमा ।
वास गरोस सदैभ नै, उन्नतिशिल चाहना ।।२५।।

शिक्षाको ज्योतिले सवलाई, उज्यालो छरी ।
प्रकाशित प्रज्वलित, सव नेपालीमा भरी ।।२६।।

विदेशीएका सुखी हुन्, कमाउन परिपूर्ण भै ।
काम दाम स्वदेशमा, रोजगारी बढुन् सधै ।।२७।।

नेपाली चेलीको इज्जत, विदेशी भूमिमा पुगी ।
नच्यातिवस् ननासिओस्, बसुन सम्मानले गरी ।।२८।।

निजामती प्रशासन, स्वच्छ जनसेवी सुदृढ ।
बढावस् यसको शाख, दिन–प्रतिदिन समुन्नत ।।२९।।

नेपाली सेनाले राखोस्, राष्ट्रको गरिमा गति ।
वीरताको उच्च शिर इज्जत, प्रतिष्ठा संसारै भरी ।।३०।।

नेपाल प्रहरी सेवा, शान्ति सुरक्षा सुदृढ ।
अपराध नियन्त्रण गरी, सत्य सेवा सुरक्षण ।।३१।।

शिक्षक प्राध्यापकको शिक्षा, चेतनाको झलमल ।।
शान्ति क्षेत्र बनोस् संस्था, बनोस् सुदृढ सबल ।।३२।।

सरकारी र निजी क्षेत्र, हातेमालो संगै गरी ।
नङ र मासुको सम्वन्ध, बढोस् घनिष्टता भरी ।।३३।।

वित्तिय संस्था र जनविश्वास, सेवा गुणस्तर ।
बैङ्कहरू समुन्नत हुन्, बैंङ्क सारा आत्म निर्भर ।।३४।।

सहकारी आफ्नो थिती, रिती भित्र चलिरहुन् ।
सरकारी हस्तक्षेपरहित, स्वस्फुर्त गति दिउन ।।३५।।

सार्वजनिक संस्थान, सञ्चार र विद्युत ।
जनतालाई कम भारमा प्रदान गरून सेवा भर ।।३६।।

आयल निगम बनोस् स्थीर, स्वच्छ सुशासन ।
जनक शिक्षा साझा लगायत, सवै सरकारी संस्थान ।।३७।।

नीजि क्षेत्र र उद्योग, बाणिज्यको भर ।
जनसेवी जनप्रिय, गुणस्तरीय सेवा गर ।।३८।।

यातायातमा स्वच्छ सेवा, स्वस्थ्य रहोस् प्रतिस्पर्धा ।
आपसमा लडाई झगडा नबनोस्, वैरभाव, इष्या ।।३९।।

सामाजिक समन्याय जाति, भाषा धर्म सव ।।
एकापसमा मिलि समाज, बनोस् एक ढिक्का अव ।।४०।।

राजनीति दलहरूमा, मित्रताको सुबन्धन ।
कर्तव्य पथमा सारा, दूर दृष्टि गरिकन ।। ४१।।

कार्यकारिणी वा सरकार, जनताको नयन होस् ।
व्यवस्थापिकाको विधि, ह्रदय बनिरहोस् ।।४२।।

न्यायालयको न्याय, विवेक  मस्तिष्क बनि ।
सवै अङ्ग समन्वयमा, बनोस्  स्थीर सरकार पनि ।।४३।।

संबैधानिक अंगहरू, आ–आफ्ना कार्य क्षेत्रमा ।
सबल र सुदृढ बनुन, सदैभ गरिमा महा ।।४४।।

लोक सेवा नाम सरी, निष्पक्ष र गरिमामयी ।
योग्य व्यक्ति छान्न सकोस्, राष्ट्र सेवकमा पनि ।।४५।।

अधिकारको दुरूपयोग, कर्तव्य च्यूत भै दिए ।
अख्तियारको भूमिकाले, सहि अनुसन्धान दिए ।।४६।।

निर्वाचनले योग्य सक्षम, जनप्रतिनिधि छनौंट ।
गरि शासन सञ्चालनमा, देवस दृढ अठोट ।।४७।।

राष्ट्रको आम्दानी  खर्च, ऋण र अनुदान सवै ।
परिक्षण सहिरूपमा, महालेखा परिक्षक ।।४८।।

सरकारवादी मुद्दामा, सरकारी वकिल बनी ।
जनजनमा न्याय दिने, महान्यायाधिवक्ता पनि ।।४९।।

राजनीति आर्थिक, सामाजिक सवै याहाँ ।
नागरिक हकको गर्ने, मानव अधिकार संरक्षण ।।५०।।

मन्त्रीहरू मन्त्रालयको, नीति नियम संम्वद्र्धन ।
सचिव र मुख्यसचिवको, सल्लाहको दिग्दर्शन ।।५१।।

सरकारको दैनिक शासन–प्रशासन, विदेश नीति निर्माण ।
प्रधानमन्त्रीले दिउन सर्वत्र, निर्णय र समन्वय ।।५२।।

न्याय दिने जनतालाई, सवको भलाई गर्दे ।
न्यायाधिशहरूको सुकर्म, सदैभ गरिमामयी ।।५३।।

राष्ट्रपति राष्ट्रको शिर, राष्ट्र गौरव गायन ।
गर्ने सदैभ संविधान र जनताको संरक्षण ।।५४।।

इतिहास गौरवपूर्ण, वीरका सन्तान हामी ।
संस्कृति सभ्यता हाम्रो, समुन्नत नेपाली धनी ।।५५।।

बुद्धको शान्तिको देश, लुम्बिनी विश्वको शिर ।
सबै धर्म  संस्कृतिको, सहिष्णुता र मित्रता ।।५६।।

सगरमाथाको देश, सीता र जनक भूमि ।
वीर शासक र सीपाहीले, रक्षित नेपाली भूमि ।।५७।।

मेची र कालीको सीमा, तीनै तिर छ भारत ।
उत्तरमा तीब्बत चीन, छिमेकी छन् महान ।।५८।।

हिमालको अपूर्व हिउँ, पहाडको सुरम्य भूमि ।
तराईको समतल फाँट, नेपाली भाग्यमानी ।।५९।।

बहुजाति बहुभाषा, बहुधर्म र संस्कृति ।
मिलेर एकापसमा, बनेको छ सुकृति ।।६०।।

हिन्दुको सिर्जना भित्र, बुद्धको शान्ति सन्देश ।
धर्म निरपेक्ष राष्ट्रमा, सवैको छ समभाव ।।६१।।

सगरमाथा शिर जस्तै, स्वाभिमानी र गौरव ।
आफ्नै स्वाभिमानमा रम्ने, नेपाली वीर सपुत ।।६२।।

सुखमा धीरता राख्ने, दुःखमा नआत्तिकन ।
जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी ।।६३।।

आर्य मङ्गोल सभ्यता, नदी नाला हिमाच्छादित ।
कोशी, गण्डकी कर्णाली, सभ्यता अकण्टक ।।६४।।

बगाऊ पसिना धार, फलाऊ सुन धर्तिमा ।
बोलाई रहन्छिन् आमा, फर्क प्रवाशी मातृभूमिमा ।।६५।। 

कठोर श्रमले हामी, अगाडि बढन् सक्दछौं ।                                                  आलस्य र व्यभिचारले, सदैभ पछि पर्दछौं ।।६६।।

सुखको लालसा तुच्छ, संघर्ष सुख जीवन ।
यहि धर्ति र माटोमा गरौं विकास नविन सिर्जना ।।६७।।

सुतेका व्यूझ हे भाइ, उठेका दगुर अब ।
हामी आफै नजुटेमा, कस्ले गर्दिन्छ पौरख ।।६८।।

साल यो नयाँ बर्षलाई, निमेष पलपलमा ।
सदुपयोग गर्नुछ हामी, बढौ अगाडि ल अब ।।६९।।

नेतृत्व अनुभवी निपुण, सक्षम भए पछि ।                                    
हाम्रो भाग्य खुल्छ अव, हामी स्वयं उठे पछि ।।७०।।

एउटा मूल मन्त्र हो, यो बर्ष नयाँ फेरियो ।
हाम्रो मन मस्तिष्क र चिन्तनमा, के परिवर्तन भयो ?? ।।७१।।
                                                                                                                                                                                   
संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन ।
संविधान  निर्माण, २०७२ सालको महान देन ।।७२।।

नयाँ स्थिति परिपाटी अग्रगामी, चिन्तन र सोच ।
हे ! नेतृत्व गण अव जनहित र कल्याण सधै रोज ।।७३।।

स्थानीय तह प्रदेश सरकार र संघीय निर्वाचन ।
संघीयता कार्यान्वयन गर्न अव लगाउ ध्यान ।।७४।।

लोकतान्त्रिक गणतन्त्रात्मक संघीयता अग्रगामी कदम ।
स्थानीय, प्रदेश, संघीय समेतको ऎतिहासिक निर्वाचन ।।   
नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी हाम्रो काँधमा आयो ।
राजनीतिक बिकासको नयाँ चरणको प्रादुर्भाव भयो ।।७५।।

संघीयता  सुदृढ स्थानीय तह र प्रदेश लाई अधिकार दिई ।
सिंहदरबार गाउँमा कर्मचारी समायोजन सर्कार निर्माण गरि ।।
नयाँ नीति, रणनीति योजना र कार्यक्रम नयाँ नेपाल निर्माण  ।
आफ्नो बिकास निर्माण आफै गर्नुपर्ने राखौं  दृृृढ  प्रण ।।७६।।

कोरोना भाईरस कोभिड-१९ को महामारी विश्व सन्त्रास पारी ।
चिनको हुवाई बुहानवाट यो असाध्य रोग शुरु भयो कसो गरि ।।
बन्दाबन्दी न उपचार न उपाय कठिन अग्नि परिक्षाको घडी ।
२०७७ नयाँ बर्ष ले कोभिड १९ लाई सहज  परास्त गरि ।।७७।।                                                                                        कोभिड को सन्त्राश ज्युंँकात्युंँ, वातावरण प्रदुषणको भयावह ।राजनीतिक  प्रशासनिक  गतिहीन अन्योल नीति  कानुनमा ।।   नविन योजना जन्ताका  दैनन्दिन  दुु:ख पिडा पूरा होउन् ।      साथीभाइ  चिरपरीचित सबैमा हार्दिक  शुभकामना ।।७८।।   

एक अर्थमा ॠतु परिवर्तन हो साल फ़ेरिने ।
बहु अर्थमा धेरै चिज बदलिन्छन् नयाँ बर्षमा ।।७९।।

नेपालीहरुमा सदा सुख शान्ति समुन्नति
छाईरहोस् सुखद दिनचर्या  बर्षैभरि ।
हाम्रो नयाँ बर्ष २०८० विक्रम संवत्
स्वागतम् गर्दै  हरपल  हरघडी ।।८०।।                                             

प्रस्तुति: "थुँङ्गे कवि"                                                            🌹🌹🌹🌹🌹🌹🌹                                                                                                                                       
✍️ रचना तथा लेखन
                                                                                    अधिवक्ता बसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार
स्वनिवास : घोराही उपमहानगरपालिका, पनौंरा, दाङ
जोड तथा परिमार्जन मिति : बि.सं. २०७९ साल चैत ३० गते बिहीबार शुभम ।


Comments