निवृत्त अवधारणा र अनुभव
Me वसन्तराज अधिकारी with my Dear श्रीमती यशोदा अधिकारी घोराही उपमहानगरपालिका, दाङ, नेपाल |
भनिन्छ प्रवृत्त स्वभाव देवत्व र निवृत्त ॠषित्व हुन्छ । देवताहरु पनि तपस्वी ॠषि मुनिहरुको ईष्र्याले गर्दा अन्ततः पतन हुन्छन् । यथार्थमा निवृत्त एक तप समान हो सबै सुख भोगको प्राप्ति अर्थात् अनुभव पश्चात् पुनः अप्राप्ति जस्तैः हुनु सारमा सांसारिक दु:ख सुख भन्दा माथी त्रिगुणात्मक सत्व, रज, तम भन्दा पर गुणातित स्वरुप रहेको छ । माया भन्दा पर प्रतिष्ठा पद त्यो भन्दा पर विद्या, बिद्या भन्दा पर शान्ति पद र तत्पश्चात निवृत्त पद रहेको शास्त्रीय वा पौराणिक कथनमा उल्लेख रहेको छ । शरिरिक मानसिक सम्पुर्ण उर्जा शेष रहँदा रहदै कर्म बन्धनको डोरीवाट मुक्त हुनु यथार्थमा निवृत्त पद हो किन्तु यो निरस पनि होईन र रसदार पनि होईन । सबै भोगको सारभुत अनुभव रहि वृत्ति पथको बन्धनवाट ससम्मान बाहिरिनु जीवनमा एउटा मुल प्राप्ति नै भन्नुपर्छ । निवृत्त शब्द आफैमा एउटा गहन, अज्ञात, शुन्य, तपस्या, अविद्या, परम आनन्द र अबर्णनिय पद रहे पनि यहाँ आफ्नै अध्ययन र स्वअनुभवका साथै लामो अन्तरालमा जागीरे जीवनको निवृत्तको सापेक्षमा साङ्गोपाङ्गो स्वरुपको चित्रण गर्न गइरहेको छु ।
अध्ययन गरि सके पश्चात् बिद्या हाँसील भएपछि प्रथमतः त्यस्को प्रयोग वा उपयोगको प्रश्न अगाडि आउँछ । आफ्नै गाउँ घर वा स्थानीय वा आफ्नै गाउँ ठाउँ वाट राष्ट्र वा अन्तर्राष्ट्रिय स्तर वा विदेश सम्म आफुसँग भएको ज्ञान, सीप र धारणाको सदुपयोग गर्नु एउटा सक्षम युवाको लागि गौरवान्वित अनिवार्य र स्वाभाविक पनि हुन्छ । यथार्थमा यसलाई बहु व्यापक अर्थमा जागीर, रोजगार, स्वरोजगार, उद्यमी, व्यापारी, व्यवसायी वा लगानीकर्ताका रुपमा अआफ्नो क्षमता सामर्थ्य अनुरुप प्रयोग हुन्छ । सारमा यी सबै पहिचानका मुल स्वरुप विद्या सीप वा क्षमता नै हुन् । संकीर्ण अर्थमा केवल विद्या शैक्षिक प्राज्ञिक योग्यता भन्ने बुझिन्छ भने व्यापक अर्थमा जीविकोपार्जन, अर्थोपार्जन, बाणिज्य, कला, व्यवसायीक सीप क्षमताको अत्युत्तम प्रयोगसँग अन्तरसम्बन्धित हुन्छ । तसर्थ "विद्या सफ़ल त्यस्को भो जो बन्छ राष्ट्रसेवक" भनेर भन्न सकिन्छ ।
निवृत्त शब्द सुन्ने बित्तिकै केही अस्पष्ट भाव वा चित्र अगाडि आउँछ । सिङ्गो जीवन भोग नसकिदा नसकिदै एउटा सेवक कसरी निवृत्त हुन्छ ? यसको दार्शनिक पक्ष के छ ? यसबारे सामान्य चिन्तन गर्दा जुन व्यक्ति वा वस्तुको जुन स्वरुपमा उदय हुन्छ एउटा कालखण्डको समाप्ति वा भोग पश्चात् त्यहीँ स्वरुपमा अस्त हुनु नै निवृत्त हुनु हो । वालक जन्मदा दाँत, टाउकोमा कपाल, स्मरण परिपक्वता विवेक ठोस र प्रमाणिक हुँदैन पछि बुढ्याईमा पनि पुनः यहि अवस्थामा रुपान्तरण हुन्छ । यो उदाहरण केवल मानिस मात्र होईन बोट बिरुवा, पशु पन्छि र सम्पुर्ण बस्तुहरुमा सापेक्षरुपमा लागू हुन्छ । कुनै पनि व्यक्तिलाई जुन सक्षमता अपेक्षा वा सामर्थ्यमा काम वा पेशा प्रति आमन्त्रण गरिन्छ त्यस्को त्यो अवस्था समाप्ति पश्चात् ससम्मान बिदाई गरिन्छ जुन निवृत्त पद हो । निवृत्त दर्शनमा सक्षम वा अब्बल उत्तराधिकारीलाई आमन्त्रण गर्न मार्ग प्रशस्त गर्नु पनि हो जसमा तोकिएको योग्यता, ज्ञान, सीप, सक्षमता क्रियाशिल रहनु अर्को अर्थमा सक्रियता प्रवृत्त पथ र आराम वा विश्राम निवृत्त पद भन्दा पनि अत्युक्ति नहोला ।
काम वा पेशाको स्वरुपमा सामान्यतया उमेरको हदवाट निवृत्तको समयावधि मापन वा गणना गरिन्छ । प्रशासन, प्राविधिक, रक्षा, सुरक्षा, स्वास्थ्य, शिक्षा समेतका महत्वपूर्ण राष्ट्रिय सेवाहरुमा कार्य प्रकृतिको अवस्थालाई सुक्ष्मरुपमा अध्ययन अवलोकन पश्चात् मापन र आँकलन गरि कानुनतः निवृत्त हुने उमेरगत हदम्याद निर्धारण हुन्छ । कुनै पनि राष्ट्रको नागरिकको औषत आयु, आर्थिक अवस्था, कामको योगदान, ससम्मान जीवन वृत्तिलाई आधार मानेर पनि जीवन वृत्ति कानुनतः निर्धारण गरिन्छ । कुनै एक कालखण्डमा राष्ट्रसेवाको गहन जिम्मेवारीमा रहेको राष्ट्रसेवक जीवनको उत्तरार्द्धमा कदापि कष्टकर जीवनयापन भुक्तान गर्न नपरोस् यहि जीवन वृत्ति दर्शनको आधारमा निवृत्त भरणपोषण सेवा सुविधा कानुनतः यथोचित प्रदान गरिन्छ ।
निवृत्त भरणपोषण सामाजिक सुरक्षा भन्दा पृथक विशिष्ट अर्थमा आजीवन वृत्ति नागरिक सम्मान वा प्रतिष्ठा हो । निवृत्त शब्द गहन प्रभावोत्पादक रहेको छ । परन्तु हामीले याहाँ केवल पेन्सन वा राज्यकोषबाट प्राप्त हुने आर्थिक सहयोग सम्म मात्र प्रायोगिक रूपमा बुझेका छौं । निवृत्त राष्ट्रसेवक कर्मचारी पदाधिकारीहरुको उमेरगत वर्गीकरण, अभिलेखिकरण निजहरूको योग्यता क्षमताको आधारमा उपयोग वा राष्ट्रको आवश्यकता अनुरुप प्रयोग हुन नसक्नु विशिष्ट ज्ञान, सीप र सक्षमता भएका अब्बल राष्ट्रसेवक बिदेश पलायन हुनुमा पनि गौरवान्वित हुनु विडम्बना र मुलुकको दुर्भाग्य पनि हो । निवृत्त जेष्ठहरुको सल्लाह, सुझाव वा मार्गदर्शन युवाहरूको कर्मठ कर्तव्यबोध बालबालिकाहरुको यथोचित लालनपालन र शिक्षादिक्षा साथै महिला लगायत राष्ट्र विकासको मुलधारवाट वञ्चित गरिएका गराईएकाहरुको अग्राधिकार भए मात्र राष्ट्ररुपि भवनलाई भव्य बनाउन सभ्यरुपमा कमसेकम एक एक वटा इटा थप गर्न सकिन्थ्यो ।
नेपालमा अहिले राजनीतिमा उमेरको हद छैन । स्थानीय, प्रदेश र संघीय पदाधिकारी चयन वडाध्यक्ष देखि राष्ट्रपतिसम्मको पदसोपानमा हालका दिनहरूमा एकतिर यथेष्ट सेवा सुविधा र पारिश्रमिक जागीरे वृत्ति समेत भैसकेको वर्तमान अवस्थाको विद्यमानता आवधिक हदम्याद हुँदाहुँदै पनि सक्षमताको आधार समेतलाई लिंदा न्युनतम उमेरको हद रहेको र अधिकतम हदम्याद पनि कायम गरिनुपर्दछ भन्नेमा चर्चा परिचर्चा व्यापक भएपनि बिरालोको घाँटीमा घण्टी कसले झुण्डाउने ? भन्ने अहं सवाल रहेको छ । यसलाई केहि हदसम्म व्यवस्थित गरि पुरानो पुस्ताको विश्राम र नयाँ पुस्तालाई हस्तान्तरण गर्दै उत्तराधिकारी चयन हुन सके उपयुक्त हुनेछ । यस्तै अन्य राष्ट्रसेवकहरुमा न्यायाधीश, प्राध्यापक, शिक्षक, निजामती राष्ट्रसेवक कर्मचारी, बैंक संस्थान र रक्षा सुरक्षाको निवृत्त उमेर घटदोक्रममा अर्थात् अधिकतम ६५ बर्षदेखी न्युनतम ५८ बर्ष र सुरक्षा तर्फ पदीय सोपानमा अझै घटी न्युनतम करिब ५५ बर्षसम्म रहेको छ । परम्परागत रुपमा उमेर हदको वर्गीकरण समसामयिक सूचना प्रविधिको पर्याप्त बिकास कतिपय प्रशासनिक कार्य समेत बिज्ञता र विशिष्टताको आधारमा र जनसाङ्खिक आधारमा औषत सरदर आयु बढेको सन्दर्भमा अनिवार्य अवकाशप्राप्त उमेर हदम्याद पुनरावलोकन गर्नु सान्दर्भिक हुनेछ । परिपक्वता बिज्ञ र अनुभवी राष्ट्रसेवकलाई काममा लगाउनु राष्ट्र विकासको महत्वपूर्ण आधार हुनेछ भन्ने तथ्य नेतृत्व वा राजनीति वृतले नबुझ्नु विडम्बना रहेको छ ।
अनुभव विना कुनै पनि अर्थ सार्थक हुँदैन यो एउटा सर्वमान्य सिद्धान्त हो भने यसको बिपरित निशेषात्मक अर्थमा अनुभव केश मुण्डन गरिसकेपछिको काँगीयो हो भनिन्छ । यी दुवै प्रवृत्त र निवृत्त अर्थमा सापेक्ष रुपमा प्रयुक्त हुन्छ । सेवाको अनुभव जति भएपनि सारभुत रुपमा दुईबर्ष मात्रको हुनाले त्यसैको आधारमा स्थानान्तरण गरिने गरिन्छ । तसर्थ निवृत्तको दुई बर्षको अनुभवको आधार निर्माण भैसकेको अवस्थामा यो आलेख सम्प्रेषण गरिरहेछु । निवृत्त भएपछि एक प्रकारको मुक्ति वा सन्यास नै हो । राजकाजको काममा हरबखत खटिनु पर्ने प्रशासनिक संगठनात्मक समन्वय, जिम्मेवारी, उत्तरदायी, नेतृत्व, निर्देशन, प्रगति प्रतिवेदन जस्ता बिषयहरुवाट उन्मुक्ति प्राप्त हुँदा कता कता निरस जस्तो लागे पनि अन्ततः जीवन सन्तोष र सुखद रहन्छ । पारिवारिक सुख सन्तोष, घर व्यवहार बर्षौं बर्ष सम्म ध्यान दिन नपाईएका आफ्ना वैयक्तिक अनिवार्य पारिवारिक जिम्मेवारी कार्यसम्पादन परिपुर्ण गर्नु र स्वास्थ्य प्रतिको सजगता, खानपिन, बसोबासको उचित व्यवस्थापन जस्तैः कर्तव्य कर्म सम्पादन हुने रहेछन् । सारमा निवृत्त पश्चात् नै कुशलता पुर्वक गृहस्थ धर्मको परिपालन गर्न सकिने हुँदा निवृत्त समय सुखानुभुति रहेछ ।
✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।
बिहीबार, फागुन २५, २०७९
Comments
Post a Comment