बंगलाचुली पारिवारिक भ्रमण : संक्षिप्त संस्मरण
✍️ वसन्तराज अधिकारी साथमा श्रीमती छोरा र बुहारी |
नयाँ अनुभव अनुभुति फरक स्थान र परिवेशमा ऎतिहासिक, धार्मिक, सांस्कृतिक वा पर्या पर्यटकीय यात्रा हुन्छन् । हिजोआज पर्यटकीय यात्रा मै आम मानिसहरू रम्ने गर्दछन् । शहर बजारको पट्यारलाग्दो कोलाहलमय दैनिक जीवनयापनवाट केहि समयको लागी अवकाश प्राप्त गर्न यात्रा रोमान्चित र सुखद संस्मरण योग्य रहन्छ । हाम्रै आफ्नै गाउँठाउँहरुमा अझै कति यस्ता स्थानहरु छन् जहाँ हामी अझैसम्म गएका छैनौ र एकपटक गएका भएपनि समयको अन्तरालमा विस्मृत प्रायः भैसकेको छन् । त्यस्ता स्थानहरुमा अत्यन्तै छोटो कार्यक्रम यात्रा तय गरि घुम्न जानू पुनर्ताजगी हुनु र अझै भनौ भने आन्तरिक पर्यटनको प्रवर्द्धन हुने कुरामा द्विमत नहोला । नयाँ नयाँ स्थानको भ्रमणले नयाँ अनुभव, ज्ञान र पुरानो संस्मरणमा यद्यावधिक ल्याउँछ । जीवन एउटा संस्मरणले भरिपुर्ण खजाना हो । जन्मदेखि मृत्यु पर्यन्त सम्म सांसारिक यात्रा हुन्छन् । सपनाका तरेली जस्तै पुर्वस्मृति आउँछन् पुनः बिस्मृत बन्दै जान्छन् । आजभन्दा करिब चारदशक पुर्व पैदलमार्ग हिंडेको यो भुभाग लामो समयको अन्तरालमा पुनः पुर्व अनुभवको परिस्कृतरूपमा पुनर्ताजगी हुने अवसर जुर्यो जब बंगलाचुली गाउँपालिका अन्तर्गत उद्यान, भ्युटावर प्राकृतिक दृश्यावलोकनको आनन्दानुभुतिको अनुभव रह्यो । दाङ देउखुरी उपत्यकामा स्थानीय तह १० वटा पालिकाहरु रहेकोमा २ वटा उपमहानगरपालिका १ वटा नगरपालिका र ७ वटा गाउँपालिका मध्ये पुरै पहाडी भुभागमा अवस्थित गाउँपालिका बंगलचुली गाउँपालिका हो । यसको छिमेकी गाउँपालिका प्युठान जिल्लाको माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका उत्तर र पश्चिम तर्फ रहेको छ भने दक्षिण र पुर्व तर्फ दाङ जिल्लाको राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिका रहेको छ ।
हाम्रो आजको यात्रा बारे संक्षिप्त बर्णन गर्दा शुरुआत दाङ घोराही बजारदेखि दैनिकी अम्बापुरवाट मुर्कुटी हुँदै शाकिनीसम्मको स्थानीय बस यात्रा लाग्दोरहेछ । बिहान पौने आठ बजे बसमा करिब आधाजति स्थानीय मानिसहरु चढेपछी प्रतिव्यक्ति मुरकुटीसम्म दुईसय सत्तरीको बसभाडाको टिकट काउण्टरवाट टिकट काटी सिस्नेखोलाको उकालो पहिला सालको रुखहरु भएको बन जति उकालो चढदै गयो सवारीकोटको नजीक उकालोमा पुगेपछि सल्लेरी बन देखिन थाल्यो । पल्लोपट्टी घोरदौराको वारि पर्वेज माथी डाँडामा सवारीकोट धेरै घुम्टीभएको यो बाटो आज भन्दा पैंतीस चालीस बर्ष पुर्व अर्थात् बि.सं. २०३९ - ४० सालदेखि प्युठान जिल्ला स्थित श्री ने.रा.प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनीमा शिक्षक छँदा यो बाटो पैदलमार्ग हिडेको संस्मरण स्मृति पटमा जीवन्त रहेको छ । त्यतिबेला निर्विकल्प रुपमा पैदलमार्ग (Hiking) हिंड्नु पर्ने अवस्था थियो किन्तु अधिकांश स्थानहरुमा छोटा छोटा (Shortcut) वाटो हुन्थ्यो । पछि पैंतालीस साल पश्चात् मोटरबाटो बनेपछि ट्रेक्टरको यात्रा पनि गरियो । कतिपय अवस्थामा गाडीको बाटो भन्दा पैदलमार्ग छोटो पनि हुन्थ्यो । उकालो ओरालो पहाड हिडने अभ्यास सानैदेखि दाङ मजगैवाट रोल्पा जिल्लाको सदरमुकाम मामा घर लिवाङ जाँदादेखि नै थियो । छिट्नेटा (छिरनेटा) घोराही उपमहानगरपालिका वार्ड नं.४ हुँदै हर्नोक झेलनेटा बंगलाचुली गाउँपालिका वार्ड नं. ४ जुम्म्लिपानी, कमिरेचौर बंगलाचुली गाउँपालिकाको केंद्र गाउँपालिका भवन वाटोदेखि देखियो । बंगलाचुली अस्पताल, इलाका प्रहरी कार्यालय र सुधा माध्यमिक बिद्यालय, झेलनेटा अवस्थित छन् ।अगाडि बढदै जाँदा झेलनेटा सानो बजार पनि आयो । बसका स्थानीय मानिसहरू झर्ने र चढने क्रम रहिरह्यो । कतै बिद्यालयका नानी बाबुहरु पनि झर्ने चर्ने गर्दथे । त्यहाँवाट हामी मुर्कुटीबजार पुग्यौं । अलिक वर मुर्कुटी पाँच नम्बर वडा कार्यालय देखियो । तहाँवाट अलिक पर मुरकुटी बजारमा हामी ओर्लियौं ।
अब हाम्रो गन्तव्यको नजीक पुग्दै गर्दा मुरकुटीवाट तेर्सै उकालो लाग्यौ अलिक अगाडि गएपछि त्यहाँ वाट तेर्सो हुँदै हल्का उकालो माथिको गाउँ दमदमे, केवरपानी आउँदोरहेछ । स्थानीय जानुका वली खत्रीसँग उकालोमा भेट भयो । वाहाँले बनमा बाख्रा चराउन जाँदै हुनुहुँदोरहेछ । जानुकाजी राप्ती शिक्षा क्याम्पस, दाङ घोराहीमा बि.एड. अध्ययन गर्नु हुँदो रहेछ । तहाँ नजिकै भुमिहिन तथा सुकुम्बासीहरुलाई बंगलाचुली गाउँपालिकाले निर्माण गरिदिएको सातवटा एकतल्ले पक्की घर रहेछन् । त्यही नेर साविक मर्कवाङ गाविस हाल माण्डवी गाउँपालिका र बंगलाचुली गाउँपालिकाको सीमाना रहेछ । तहाँवाट मोटरबाटो तेर्सै अलिकति उकालो लाग्दै गयौ । सुस्त हिडाईमा करिब पौने घण्टामा बंगलाचुली भ्युटावर गेट, टिकट घर, पानी ट्याङ्की वरिपरि स्टीलको बार भुईतला सहित तीन तले भ्युटावर, भ्युटावरवाट प्युठान उपल्लो तिराम, चेर्नेटा, क्वाडी, बिजुवारको समतल फाँट र सदरमुकाम खलंगा देखिदो रहेछ । यहि नै भ्युटावर निर्माणको सार्थकता जस्तो लाग्यो ।
बायेखोलावाट पानी ल्याई ट्याङ्कीमा जोडिई पाईपवाट मुर्कुटी बजार तिर ल्याईएको रहेछ । सहिद स्मारक, पिङ झुला पनि रहेछन् । कतै पिङ झुला भाँचिएको पनि पाईयो । रेखदेख गर्ने कोहि कतै देखिएन । यहाँवाट गनाहखोला र सरुमारानी गाउँपालिका र प्युठानको फाँट पनि देखिदो रहेछ । दाङ उपत्यका भने अग्लो पहाडले छेकिदिदा सहजै देखिएन । साविक लुहारपानी गाविस लुहार पानी अलिक तल्तीर पर्ने कुरा गाईबाख्रा ग्वाला आएका स्थानीय श्री प्रेमलाल ओलीले बताउनु भयो । वाहाँ गाउँपालिकाका पुर्व अध्यक्ष श्री भक्तबहादुर वलीका नातेदार पनि पर्नु हुँदोरहेछ । भ्युटावरको नजीकै सीमामा माण्डवी गाउँपालिका, प्युठानले पनि भ्युटावर बनाउने योजना गरेको जानकारी भयो । त्यति वल्तिर पल्तिर नजिकै के कसरी सम्भाव्यता अध्ययन गरि भ्युटावर बनाउन योजना गरिएको होला ? बुझ्न सकिएन अचम्म लाग्यो प्रतिस्पर्धा जस्तो पनि देखियो । अपनत्व, संरक्षण, रेखदेख, दीर्घकालीन सोंच, परिपक्वता, मर्मतसम्भार, गहन अध्ययन विना करोडौं खर्चिई बनाईएका भ्युटावरले के कस्तो प्रतिफल र उपलब्धि दिने हुन् सोचनिय रहेको छ । करिव आधा घण्टा भ्युटावर वरपर सेल्फी, टिक्टक, फोटो भिडियो खिचेउ । एकक्षण बसेर दालमोठ, बिस्कुट, स्याउ, पानी हल्का नास्ता खायौं । एकक्ष्ण आराम गरि अब फ़ेरि ओरालो लाग्ने सोंच बनायौं । हुनत यहाँ सम्म अटो पनि बिरलै चल्दो रहेछ तर पारिवारिक रूपमा पैदलमार्ग हिडने इच्छा बमोजिम यात्रा अगाडि बढ्यो ।
फर्कदा उकालो भन्दा ओरालो अलि सहज भएपनि खुट्टामा कैंडा लाग्ने हुँदा पहाडको हिडाईमा त उकालै ठिक हो । दिउँसो दुई बजे मुर्कुटी आइपुग्यौ । अढाई बजे शाकिनेवाट बस आईपुग्यो । स्थानीय बस प्रायः जाँदा आउँदा आधा नै हुँदोरहेछ । तथापि स्थानीय नजिक नजीक चढदै र झर्दै गर्दा रहेछन् । अरु घुमेको तस्बिर राखेको देख्दा सहज देखिए पनि आफै घुम्दा सामान्य कठिनाइ त हुन्छ नै तथापि लामो समयको अन्तरालमा पारिवारिक भ्रमण संतोषजनक रह्यो । छोरा विशेष र बुहारी सुप्रियाले तस्बिर, भिडियो टिक्टक बनाइदिएको हुँदा सधन्यवाद दिदै जीवन साथी श्रीमती यशोदाजीले सुन्तला, दालमोठ, बिस्कुट, पानी लगायतका तैयारी नास्ता खुवाउने व्यवस्थापन गरेकोमा सहस्र हार्दिक धन्यवाद सहित जुन बस बुढा ट्राबल्समा गयौं सोही बसमा आईपुगेउ बसचालक सहचालक सबैलाई सहर्ष हार्दिक धन्यवाद सहित बंगलाचुली पारिवारिक भ्रमणलाई यहि बीट मार्दछु । यसै साथ तस्बिर, ब्लग, भिडियो र टिक्टक पनि समावेश गरेको व्यहोरा सादर अनुरोध गर्दछु ।
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, नेपाल
मिति: शुक्रबार २६ फागुन २०७९ शुभम् ।
Comments
Post a Comment