५०४. मेरा बा !!!

मेरा बा !!!

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, पनौंरा, दाङ ।                     

मेरा बा को अनुहार प्रेमिल दुरुस्त मुखाकृति ।
ऎले अन्तर ह्रदयले मनमा सम्झन खोज्छु ।।१।।

हजुरको  हामीसँगको दुर्लभ चित्र आकृति ।
संकेत  सम्म गर्ने मात्र हो यो दुनियाँलाई ।।२।।

समयक्रममा व्यतीत  भयो त्रिचालीस बर्ष पुर्व ।
अत्यन्त आदरसाथ हजुरलाई सम्झना अपुर्व ।।३।।

गम्भीरता साथ सजीव जिवन्त चित्र खोज्छु ।
मुस्किलले भेटछु आफ्नैं अन्तरह्रदय भित्र ।।४।।

मेरा प्रातस्मरणीय बा का समकालीन समवयी
अझै जीवीत दुर्लभ भेटिन्छन् कतै कहिँ कहिँ ।।५।।

अहँ ति जीवीत साक्षात् मानव मुर्तिस्वरुपमा ।
भेटिदैन कतै मेरा बा को महान दिव्य स्वरुप ।।६।।

मेरा बा अब स्थुल भौतिक शरीर होईनन् ।
सूक्ष्म अशरिरी आत्मा स्वरुप देवता सरि हुन् ।।७।।

जस्को कुल बंश सन्तती उत्तराधिकारी स्वरुप ।
यश धरा धर्तीमा यद्यपि बिद्यमान रहेकाछन् ।।८।।

मेरा बा ! मानव जस्तैः बाह्यरुपमा बोल्दैनन् ।
अभ्यन्तर अन्तरात्मा भित्र बोल्छन् मसित ।।९।।

बुबाको ह्रदय सुन्छु स्वयं म अत्यन्त भावुक भै ।
तर खोजे जस्तै पाउँदिन यश धर्तीमा कतै ।।१०।।

बालक किशोर पाँच बर्ष देखि पन्ध्र बर्ष सम्म ।
मात्र प्रारम्भिक दस बर्षको सान्निध्य सहचार्य ।।११।।

सम्झन्छु सदा गहन स्मृतिपट मन मस्तिष्कमा ।
अपरिहार्य भुक्तान संस्मरण छन् अतीत ताजै जहाँ ।।१२।।

मजगैं मजगाँउमा हाम्रो जग्गा जमीन थियो ।
आमा भाइसँग मेरो अ-आफ्नो भाग अंश छ ।।१३।।

अहिले पनि स्फटिक सरि सम्झना छन् मनमा ।
चार पाखे कच्ची घर गाउँको थियो सिरानमा ।।१४।।

बुबा खान्दानी काजी क्षेत्रबहादुर शाह कहाँ ।
मौजामा खटिई कारिन्दा नोकरी गर्नुहुन्थ्यो ।।१५।।

पहाडी क्षेत्री गाउँ र गाउँको पुछारमा थारु गाउँ ।
रमणीय थियो मेरो जन्मस्थल मजगैं मजगाउँ ।।१६।।

मेरा बा को मायालु पुरुषार्थी हात समाएर म ।
हिंडेको याद ताजै छ हेमन्तपुर फुबु कहाँ गएको ।।१७।।

भाइ टीका फुबुसँग तिहारको टीका लगाउन ।
गएको स्वप्निल सम्झना आउँछ त्यो बेलाको ।।१८।।

त्यतिबेला करिब सात आठ बर्षको बालक हुँदो हुँ ।
बिक्रम संवत् दुईहजार अटठाईस उन्तीस सालतिर ।।१९।।

अहिले जस्तो बाटो गाडी सडक थिएनन् केहि ।
सवारी साधनहरु थिए घोडा राँगा र पैदलमार्ग ।।२०।।

सम्झन्छु आज पनि मजगाउँ गाउँ अनि काजी घर ।
सानो गाउँमा ठुलो राजा जस्तैः थिए काजी साप ।।२१।।

फुलबारी पनि थियो लटरम्म फ़लेका आँप अम्बा ।
टिपेर दगुर्थौं  अल्लारे समूह सबै साथीभाइ जम्मा ।।२२।।

ध्रुवे चन्द र पप्पु थिए नजीक  छिमेकी साथी भाइ ।
गाउँ घर जाने र घुम्ने घुलमिल संस्कार भने थेन ।।२३।।

गाउँमा थिए हामी मात्र थियौं उपाध्याय बाहुनको घर ।
ऎले आँखामा झलझली नाँच्छन् गाउँको बहार  ।।२४।।

मेरा बा ले शाश्वत अमृत वचन  प्रायः भन्ने गर्नु हुन्थ्यो ।
जुन अहिलेसम्म पनि जीवन्त छन् मनमै बस्दथ्यो ।।२५।।

कठ कठ मेरी प्यारी आमा तिमी किन गर्छेउ हेला ।
आमा तिमी नटिठाए पछि मलाई अब को खान देला ।।२६।।

शायद मेरा बा को अमर अगाध मातृत्व प्रेम थियो ।
त्यही हुँदा मुखारविन्दवाट कविता मुखरित भयो ।।२७।।

मेरा बा ले मलाई बोलाउँदा ए बसन्ते बाबु भन्नुहुन्थ्यो ।
तथापि  मलाई बा सँग बोल्न निर्भय लाग्दैनथ्यो  ।।२८।।

प्युठानी लवज शैली थियो बुबाको अलि कडा मिजास ।
बुबाले डाँडो पाडो भन्नुहुन्थ्यो  हामी डारो पारो भन्थिम्  ।।२९।।

भैंसी दुहेर अँगेनामा कुँडेभरी दूध लाईराछ हेरेस् है ।
गोठमा लैनो पाडो फुकै बिठौं गर्ला लगेर बाँधेस् ।।३०।।

बाबू बसन्ते घरको तल्तिर पखेरामा घाँस काटेस् ।
मेरा बा भन्नुहुन्थ्यो धेरै कडा पड्किने काम नगरेस् ।।३१।।

घरको जेठो छोरो थिए मेरा बा बुढेसकालमा छँदा ।
प्रिय पनि थिए मेरा बा को स्नेहिल काखमा रमाउँदा ।।३२।।

बुबा काजीको मिलको सामान लिन कानपुरसम्म जाँदा ।
रमाईलो भाथ्यो मिठा मिठाई  किसमिस खुशी भै खाँदा ।।३३।।

एक दिन खुशीले मेरा बा को हात समाई समाई ।
काजी सापको घर गए म पनि खुब रमाई रमाई ।।३४।।

बुबाले खान्दानी काजीसापलाई स्वस्ती गर भन्नू भो ।
अर्थ नबुझी ट्वाल्ल परेर अक्क न बक्क भए म ।।३५।।

दोहोराएर मेरा बा ले मलाई फ़ेरि कडाइ साथ भन्दा ।
मैले साहसिक रुपमा भने के हो स्वस्ती बुझिन बा ।।३६।।

मेरा बा ले मेरै सामु स्वस्तीको पुनः अभिनय प्रदर्शन गरि ।
दुई हात अँजुली जोडि अगाडि तिर नम्र भै झुकी ।।३७।।

जब मैले पनि झुकेर गरे खान्दानी काजीसापलाई स्वस्ती ।
धेरै पढि ठूलो मान्छे बन्नु है त पाउलागी बाहुन नानी ।।३८।।

रोब रबाफिला काजीसाप एक्लै तास खेल्ने गमक्क बनी ।
फ़ेरि दोहोराएर भने धेरै पढेर हाकिम हुनु बाहुन नानी ।।३९।।

अहिले पनि बेलाबखत गाउँ घरमा घुम्फिर गर्न गैरहन्छु ।
तर अहिले म बालक छँदाको गाउँ घर कहाँ पाउँछु ? ।।४०।।

हाम्रो पुरानो घरको माया ममता मेरा बा काजीघर छैन तहाँ ।
खोजिरहेको हुन्छु आफ्नो पुरानो बिस्मृत वालापन जहाँ ।।४१।।

हिमाल सरि सेताम्म दाह्री कपाल ब्रह्माझै लाग्थे काजीसाप ।
रबाफिला थिए सामन्त ठाँटबाँठ अनि गाउँका जमिनदार ।।४२।।

एक्दिन एउटा डोकेले बाजे भनी  सम्बोधन गर्‍यो भनेर ।
बन्दुक ठोक्न झण्डै तम्सेका डोके भागेर ज्यान जोगायो ।।४३।।

ठकुरी खान्दान काजीसापको घनिष्ठ संगत थ्यो मेरा बा को ।
सुरा सुन्दरी राजसी सबै लत कहाँ होला र पनि नभाको  ।।४४।।

मेरा बा को  दैनिकी भोजन घुम्फिर आहार बिहार ।
माछा मासु सैशिकार घरमा हुन्नथ्यो कुनै अभाव ।।४५।।

मिस्त्रीजी र ठकुरी बाबुसापको बीचमा  थ्यो हाम्रो घर ।
मजगैं सानो बजार थ्यो मानपुरे काकाको किराना पसल ।।४६।।

शिवानन्द डाँगीको कपडा दुकान मद्भट्टी शाही डिस्टिलरी ।
गाउँ गाउँमा नेपाली मुस्लिम चुरौटेले बेच्थे सामान घुमिफिरी ।।४७।।

पहिला हाम्रो खेती वारि गाउँका चौधरीहरु लगाउँथे ।
पछि आमाको नेतृत्वमा हाम्ले आफै घरखेती गरिम् ।।४८।।

हामी जागीरे भएपछि फ़ेरि खेतीबारी बटैया दिईम् ।
एवम् रितले वितेका पनि थिए हाम्रा ति स्वर्णिम दिन ।।४९।।

मेरा बा रसिक र मिजासिला देश परदेशको अनुभव सारा ।
एघार बर्ष देखि घर छोडि कारिन्दा हुनुहुन्थ्यो सबका प्यारा ।।५०।।

ठुलो बर्णमालाको साक्षात् गुरु हुनुहुन्थ्यो आमा महतारी ।
मेरा बा ले मेरो पढाई स्वयं  निरिक्षण गर्नुहुन्थ्यो फ़ेरि  ।।५१।।

मेरा बा ले प्राथमिक बिद्यालय दुधरासमा भर्ना गराउनु भो ।
माध्यमिक तह दस कक्षासम्म पनि बुबाले नै पढाउनु भो ।।५२।।

मेरा बा ले  स्कुल जाँदा खेरि पकेट खर्च मनग्गे दिनुहुन्थ्यो ।
उहिले जमानाको अट्ठाईस उन्तीस सालको एक रुपैंया ।।५३।।

त्यतिबेलाको बुबाले एक रुपियाँ दिनुहुन्थ्यो पकेट खर्चमा ।
पाँच पैंसामा चिया र दस पैंसाको माने ग्लास दूध आउँथ्यो ।।५४।।

फिर्ता बाँकी पैंसा सबै बचाई दिन्थे आमालाई बाको कमाई ।
तथापि आमा रिसाउनु हुन्थ्यो दस पन्ध्र पैंसा खर्चेकोमा ।।५५।।

सानो छँदा बिस्कुट चाउचाउ मम बर्गर पिजा केहि थिएनन् ।
गाउँमा थिए त केवल मिठा गोलि र भेली मिठाईका डल्ला ।।५६।।

चियाको चलन भने थिएन केटाकेटीलाई दूध नै दिईन्थ्यो ।
घरमा लैना बकेर्ना दुहुना गाईभैंसी अटुट रुपमा नै हुन्थ्यो ।।५७।।

बिद्यालयमा सांस्कृतिक कार्यक्रम गीत कविता भनिन्थ्यो ।
शुक्रबार अनिवार्य आफ्नो कला पनि देखाउनु पर्दथ्यो ।।५८।।

आमासँग मैले धक फुकाई प्रायः  सधैं रोई कराई भन्थे ।
आमा मलाई राम्रा गीत कविता स्कुलमा भन्न सिकाईदिनुस् ।।५९।।

मेरी आमा धन्न बर्षाउँदे भाइ बहिनी कामको थियो चटारो ।
आमाले ध्यान्नै दिनु हुन्नथ्यो मेरो आफ्नै दु:खका पेटारो ।।६०।।

एक्दिन मेरो आमासँग  चिरौरी अनायास बुबाले सुन्नु भो ।
ए वसन्ते यहाँ आईज र लेख म सिकाउँछु गीत भन्नू भो ।।६१।।

ठेट पहाडी मौलिक शैलीमा "काली जुत्ता ओराली बाटालाई ।"
अर्को मार्मिक पंक्ति थप्नु भो "दु:ख गर्नु एकमाना आटालाई" ।।६२।।

कति सटिक जीवन्त कथा मार्मिक शैली मेरा बा को गीत ।
याद भयो तुरुन्तै तर बिद्यालयमा सुनाउन सकिन स्वयं लज्जित ।।६३।।

त्यतिबेलाका सुमधुर गीत गजल ऎले पनि मुखमा सलल ।
आउँछन् फ़ेरि कति मिठा मिंठा प्रस्तुत गरे है एक पंक्ति ।।६४।।

आकाशमा देखिने आहा  नौलाख तारा म गिन्न सक्तिन ।
साई माया तिम्रो मनमा के छ के छ हो म भन्न सक्तिन ।।६५।।

किशोरावस्थाको सुनौलो समयमा मेरा बा दैव दियो चुडाई ।
तथापि जिम्मेवारीको गहन बोकि भारी घर व्यवहार मिलाई ।।६६।।

अहिलेसम्म मेरा बा जहाँ पुगे पनि हाम्रो ह्रदयमा हुनुहुन्छ ।
देवत्व स्वरुपमा हाम्रो ह्रदयमा सदा बिराजमान हुनुहुन्छ ।।६७।।

बर्षमा तिथि र षोड्स् श्राद्ध महत्वपूर्ण दिन हुन् पितृ बोलाउने ।
कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ होला हामी छौ अनभिज्ञ ।।६८।।

कष्टकर दुसाध्य  सरि दु:ख र संघर्षका अतीत  भुक्तानी ।
केहि छैन तथापि जीवन एक अनन्त रामायण कहानी ।।६९।।

मेरा बा नित्य निरन्तर ह्रदय कमलमा धड्कन सुन्दै आभास ।
भोग्दैछु यो अनित्य संसार रहेछ यो मायाको सतरंज चाल ।।७०।।

एक सचेत प्राणी सीमित ज्ञान बग्दैछ सलल जीवन गंगा ।
बिस्मृत कालजयी अतीत सम्झदा हुन्छ मन निश्चल चंगा ।।७१।।

बा का संस्मरण साहित्य गाथा गुण बखान बिरलै भेटिन्छन् ।
परन्तु आमाको बारेमा यत्र तत्र सर्वत्र शास्त्र गाथा लेखिन्छन् ।।७२।।

छोटो समयको अन्तरालमा लामो राम कहानी छ मेरा बा को ।
तथापि आमासँग रहेको छ सहकार्य दु:खका दिनहरुको ।।७३।।

भन्न त पितृप्रधान समाज भनिए पनि मातृसत्तात्मक रहेको छ ।
बा मात्र त सांसारिक हुन् आदर्श मेरा बा दुर्लभ रहेका छन् ।।७४।।

कविका शाश्वत सिर्जना - पर्जन्य जो सिर्जनका पिता हुन् ।
आराध्य पितृका  सिर्जना बिजमा  सन्तान सन्तती रम्दछन् ।।७५।।

आमाको अपार स्नेह संघर्षको शिक्षा मातृत्व सुखसागर ।
यद्यपि व्यतीत भैराछ भाग्यमानी हामी झै अरु को छ र ? ।।७६।।

आफै भैयो पिता अब तीन बीस उमेरको निकटमा पुगी ।
पिताजीका सम्झना श्रद्धा ह्रदयमा ढुक्ढुकी आत्मसात रहि ।।७७।।

माहिलो बुबा लोकराज काहिलो लक्ष्मीकान्त बाल ब्रह्मचारी ।
राहिलो योगी चुडामणिा गिरी र कान्छो काका नरेश्वर ।।७८।।

ठूलो बुबा नारायणप्रसाद जवानमै बेपत्ता भएको कहानी ।
एउटी बाल बिधुवा फुबु सीताराम बैरागी श्री वैष्णव बनी ।।७९।।

मेरा सबै बुबा काकाहरु स्वर्गवास परमधाम तिर सोझिए ।
एक फुबु शिवादेवी सीताराम पनि रहिनन् अब कोहि पनि।।८०।।

माहिलो बुबाका सन्तान सन्तति तिराम प्युठान तिर बसे ।
हाम्रो बुबा दाङमा आई हामी सन्तान दाङ बासी बनिम् ।।८१।।

कलिलो किशोरावस्था चौध बर्ष छँदा मेरा बा गुमाउनु पर्दा पनि ।
भाइबहिनीहरु भन्दा धेरै छन् अविस्मरणीय बुबाका स्मृति ।।८२।।

पहिला त अधिकांश देख्थे सपनामा मेरा बा को झलक ।
तर अहिले धेरै भयो देखेको छैन मेरा बा को स्मृति पलक ।।८३।।

पिता पुत्र प्रपुत्र सब सृष्टिका सुत्रधार अनि नियामक हुन् ।
मानव सृष्टि चलिरहेकै छ यहि नित्य क्रमले दिनप्रतिदिन ।।८४।।

आमा गुमाउँदाको बालक टुहुरो परन्तु बा गुम्दा हुने रैछ सुरो ।
नबुझ्नेलाई केहि पनि छैन बुझ्नेलाई यो कुरो छ धेरै गहिरो ।।८५।।

आमा हुनुहुन्छ तसर्थ  साथमा टुहुरा पनि कहिल्यै पनि भैईएन ।
साहस र सुरो भै जीवन व्यतीत गर्दा आनन्दानुभुति हुन्छ हर्क्षण ।।८६।।

प्रारब्ध भाग्य जो बन्छ मान्छेको मेहनत र सदा संर्घषमा खारिई ।
आफ्नै बुता र बर्कतले असहज परिस्थिति सँग सदैव जुधी ।।८७।।

सन्तानकै सन्तती बन्न आउँछन् पितृहरु भन्ने शास्त्रीय वचन ।
कतै होलाकी जस्तो पनि लाग्छ आफ्नो  प्रारब्ध स्वयं भोगन ।।८८।।

मेरा बा र आमाका अहिले दुई छोरा र तीन छोरीहरु छन् ।
नाति तीनभाइ र  नातीनि आठ गरि छन् करिब एकदर्जन ।।८९।।

पनाति दुई र पनातीनी दुई र नातिनी जुवाई र बुहारी गरि ।
सन्तान र सन्ततीले ढाकेका छन् घर गाउँ शहर भरी ।।९०।।

यथासम्भव जुटदछौं हामी तिथि  श्राद्ध पवित्र पितृ कर्ममा ।
पितृको आशीर्वादले सदैव मन लागिरहोस् पितृ धर्ममा ।।९१।।

देवताले पुर्णतः  दिए पनि कदापि पितृको आशीर्वाद नभई ।
सुख शान्ति आनन्द भोग जीवन पाउँदैन धर्तीमा कोहि कतै ।।९२।।

मेरा बा को जन्म बि.सं. १९८७ प्युठान तिराम उदयपुरमा ।
बि.सं. २०३६ सालमा स्वर्गारोहण भयो मजगैं दाङमा ।।९३।।

…………………………………………
✍️ वसन्तराज अधिकारी
दाङ, घोराही ।

Comments