४९६. मेरो गन्थन - मन्थन कविता - गान

मेरो गन्थन - मन्थन कविता - गान

✍️ वसन्तराज अधिकारी      

✍️ वसन्तराज अधिकारी
     घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, नेपाल 


सर्कारी निजामती सेवामा अनिवार्य अवकाशप्राप्त ।
अधिकतम् अन्ठाउन्न बर्षे उमेर हदबन्दी भित्र ।।
बुबाले नै दुई बर्ष उमेर साविक बढाई दिए पछि ।
छपन्न बर्ष मात्र पुग्दा अन्ततः भए सेवा -  निवृत्त ।।१।।

घर व्यवहार जिम्मेवारी कर्तव्य अनिवार्य पूरा गरि ।
आमा महतारी भन्नुहुन्थ्यो छोरा तेरो व्यवहार कठैवरी ।।
संगैका साथीभाइ सदाबहार मनसुन र भनसुनले ।
गर्थे रमेर जमेर सरकारी जागीर रवाफले घर्पाई गरि ।।२।।

सल्यान सुदुर पश्चिम डोटी  दिपायल घुमिफिरी ।
काठमाडौं प्राज्ञिक केन्द्र कीर्तिपुरमा डेरा गरि ।।
मजैले बसे उपत्यकाका तीनै जिल्लाभर घुमिफिरी ।
फ़ेरि आफ्नै क्षेत्र दाङ, डडेल्धुरा बाँके  र बर्दिया सरि ।।३।।

सँगैका साथीभाइ काठमाडौं शहरमै मजैले बसे ।
कोहि त सातसमुन्द्र पारी बिदेश पनि त पसे ।।
म पनि त जिल्ला, क्षेत्र, केन्द्र सबै ठाउँ स्वेच्छिक घुमे ।
संघीयता सुदृढीकरण खातिर स्थानीय तहमा पुगे ।।४।।

गाउँको घर भत्कियो शहरमा बनाउन आँट भैन ।
जागीरे छँदा थिएन मनमा कहिल्यै शान्ति चैन ।।
छोराछोरीको शिक्षा दीक्षा जेनतेन शहरमै भयो ।
श्रीमतीजीको तरकारी पसलले भर्पुर भर्थेग दियो ।।५।।

अनिवार्य अवकाशप्राप्त हुँदाअवधिको अघिपछि ।
जिम्मेवारी पुर्ण भो छोराछोरीको विवाह बन्धन सकेपछि ।।
गृह निर्माण गरियो आफ्नै सुविधा जिल्लामा स्वसामर्थले ।
अन्ठाउन्न बर्ष पुग्दा सकियो अब जिम्मेवारी कर्तव्यले ।।६।।

निकटस्थ आफन्त भन्छन् अढाई दशक काठमाडौं बसि ।
सर्कारी हाकिम साब भएर पनि किन जिल्ला फर्कीस् ।।
हरे ! कस्तो हाम्रो मानसिकता छैन किञ्चित आफ्नो पन ।
अब त हाम्रा भावी पुस्ता युरोप अमेरिका बसाई सर्छन् ।।७।।

उग्र महत्वाकांक्षा नभएरै पनि सामान्य हिसाबकिताबले ।
गजबले चल्छ नि त घर व्यवहार सरल सरस जिन्दगानी ।।
निजामती सेवाभन्दा पुर्व सरकारी बिद्यालयमा शिक्षक थिए ।
रोल्पा प्युठानका ससाना बालबालिकालाई पनि पढाएँ ।।८।।

चौध पन्ध्र बर्षको उमेर किशोरावस्था कलिलो छँदा ।
अभिभावक बुबा गुमाए संघर्षरत जीवन विताएँ ।।
आमाको साथ बलिस्ठ काँध स्वाध्यायनको अभ्यास ।
सार्थक रितले व्यतीत भए करिब तीन बीस खास ।।९।।

हिजो राजधानी शहरमै डेरा गरेर जागीर खाई बसि ।
आज पनि अफ्नै प्रादेशिक राजधानी मै घरबाँस गरि ।।
सानोतिनो गुजर बसर सर्कारी पेन्सनकै भरथेग छ ।
यहि त हो जवानीको गौरव कमाई आजिविका टर्छ ।।१०।।

अहँ सपनामा केहि पनि कहिल्यै देख्दिन नि जागीरे धाक ।
भए पो देख्नु त खासमा सान मान धाक रोब रबाफ ।।
उपसचिव भै गाउँपालिका र नगरपालिका तिर पनि त गए ।
गजबले थिति बसाल्दिए अनि पुरस्कार  फ़ेरि लखेटिए ।।११।।

सिंहदरबार अब त भयो आफ्नै स्वगृह सुन्दर निवास ।
आफू प्रधानमन्त्री श्रीमतीजी गृहमन्त्री मनोनीत खास ।।
सरुवा बढुवा सुगम दुर्गमरुपी चक्रव्युहका नि:स्वास ।
हाई सञ्चो आफू त भैयो अब अनिवार्य अवकाश ।।१२।।

धेरै कमाउन नसकेर आखिर के भयो थोरैमा रमाएकै छु ।
दुई छाक दु:खम् सुखम् दुई हातमुख जोरि जमेकै छु ।।
सदैव याद राख्नुस् मीठो मसिनो खाँदा रोगी भैईन्छ ।
सुगर प्रेसर नानाथरी रोग व्याधीले फ़ेरि सताईरहन्छ ।।१३।।

सानोतिनो आफ्नै खेतीबारी गाउँमा पनि रहेकै पनि छ ।
अलिकति पैत्रिक जमीन जायजेथा हुँदा जमीनदार ठान्छु ।।
खेतबारीमा उत्पादन म सानो बालक छँदा खेरि जस्तैः ।
चौधरी भाषामा "एक ढेरी क दो ढेरी" अहिले नि उस्तै ।।१४।।

सानोतिनो खेतीपाती कृषिको आयस्रोतमा घाटै घाटा छ ।
समयमा नमल नबिउ नत सिंचाइ सुविधा छन् उपयुुक्त ।।
हरे ! मेरो देश !! धन्न वैदेशिक रोजगारीले धान्दियाछ ।
तथापि रेमिट्यान्सकै भरले कछुवागतिमा बामे सर्दैछ ।।१५।।

प्युठानको पहाडवाट मेरा आदरणीय बुबा दाङ झर्नुभो ।
त्यसैले त मैले आफ्नो जन्मस्थल मजगैं दाङ भन्न पाए ।।
के गौरव गर्नु स्वदेश नेपालमा बसेर अब त मैले पनि ।
छोराछोरी सन्ततिले बसाइँसराइ सर्ने छन् जैले नि ।।१६।।

म सानो छँदा कति प्राकृतिक थियो मेरो सुन्दर दाङ ।
अहिले जताततै प्लटिङ र सिमेन्टको खण्डहर भरिएको छ ।।
दाङ प्रादेशिक राजधानी शहर गजबको बस्ती भैराछ ।
तर किन हो किन कता कता मेरो भित्री मन भने रोईराछ ।।१७।।

मेरा प्रात स्मरणीय बुबा जमिन्दार काजीको कारिन्दा हुनुहुन्थ्यो ।
मैले पनि लामो समय राज्यको नोकरी कारिन्दा गिरी गरे ।।
ऎले मेरो छोरा पनि राज्यकै नोकरी कारिन्दामै भर्ती भाछ ।
यहीँ त हाम्रो खानदानी पेशा भइ मलाई आत्मगौरव छ ।।१८।।

नोकर भएर पनि अहिले  फ़ेरि के ठुलो कुरा गर्नु र खै ।
ठुला ठालु त आफ्नै देश बेच्ने लूटने नेताजी हुन् हाम्रा ।
कृपया ! सबलाई म फ़ेरि फ़ेरि ठुलो स्वरले दोहराएर भन्छु ।
बेइमानी नेताभन्दा ईमान्दार राष्ट्रसेवक नोकर राम्रो मान्छु ।।१९।।

अचेल विदेश जाने लाहुरेहरुले खुब गौरव गान गर्छन् ।
अमेरिका युरोप अष्ट्रेलिया अर्काकै शान मानमा रम्छन् ।।
खाडी र भारत प्रवासिएकाहरु जेनतेन गुर्ज्रान गर्छन् ।
कमसेकम तिनीहरूका परिवार नेपालमै बसेका त छन् ।।२०।।

घर व्यवहार मिलाउँन पाउँदा पनि गौरव लाग्छन् हाम्लाई ।
यहि धर्तीमा जन्मलिएर यहि माटोमा मर्ने हो रमाई रमाई ।।
भन्न त बिदेशमा खुबै सुखै सुख छ भनेर पनि भन्छन् ।
कामै नगरि बसि बसि म्लेछ खैरेले सुख सयल दिन्छन् ?।।२१।।

घर व्यवहार सब ट्याम टुम मिलाउने दमडी पैसो नै रैछ ।
हिसाब गर्दा हजारौं रुपियाँ भोग बिलास मै त सकिदों रैछ ।
"सादा जीवन महान बिचार" आदर्श कसरी भनौ वारवार ।
अनुशाशनमा रहि मितव्ययी भए बन्छ राम्रो घर व्यवहार ।।२२।।

घुमिसकेको छु स्वदेश भूगोल इलामदेखि दार्चुला सम्म ।
दक्षिण भारत देखि उत्तर भुमि छिमेकी चाईना सम्म ।।
यहीँ आर्यावर्त  र हिमालय सुन्दर प्रिय छ मलाई अब ।
इच्छा पनि छैन अमेरिका युरोप स्वर्ग ठानी  चाहार्न ।।२३।।

हुन् त हिजोआज नानाथरी सस्ता नौटङ्की जात्रै जात्रा ।
सूचना प्रविधि पहुँच सामाजिक सञ्जाल भाछन् गाईजात्रा ।।
राजनीति बकबास बाट फ़ेरि वाक्क दिक्क लागे मित्र-गण ।
अवश्य पढ्नुस् है चौविस श्लोकी मेरो गन्थन मन्थन कविता - गान ।।२४।।  

~~~ समाप्त ~~~                                      शुक्रबार, २० माघ २०७९ शुभम् 

Comments