रिटायर्ड हाकिमको डायरी १
Me वसन्तराज अधिकारी, घोराही, दाङ |
आजभन्दा सत्र बर्ष पहिला २००६ जनवरी १ का दिन संवैधानिक निकाय लोक सेवा आयोग केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौवाट शाखा अधिकृत BAT 21 (2062) खुला प्रतिस्पर्धात्मक परिक्षामा राजपत्रांकित तृतीय श्रेणी नेपाल सरकारको शाखा अधिकृत पदमा सफ़ल भै तत्कालीन सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा सिफारिसमा पर्दाको खुशी शब्दमा बर्णन गर्न नसकिने अव्यक्त थियो । अहिले केवल सुन्दर सुखद कालातितको रुपमा यथाशक्य शब्दमा पस्कने धृष्टता मात्र गर्दैछु । हुन् त सदा झै त्यस दिन पनि पुर्ववाट सुर्योदय भएर पश्चिम मै अस्त हुन्थ्यो मेरो रुप, रंग, ढंगमा खासै चमत्कारिक परिवर्तन भने केहि भएको पनि थिएन र तुरुन्तै हुनेवाला पनि थिएन । परन्तु लामो समयसम्मको राजपत्रअनंकित पद अझ त्यसमा पनि मन्त्रालयको प्रशासनिक काराबासबाट मुक्त भएको थिए म साथै विश्वविद्यालयवाट स्नातक र स्नातकोत्तर गरेका अत्यन्त मेधावी प्रतिभाहरुले कठिन मेहनतले प्राप्त गर्ने पद प्राप्त थियो ।
खासमा भनौ भने कवि शिरोमणि लेखनाथ पौड्यालको सत्य सन्देश कवितांश जस्तैः "मत्ता हात्ती हलुँगो वितत जलधीको ह्वेल माछो हलुँगो । जङ्गी बेडा हलुँगो बिकट कटकटे रेल गाडी हलुँगो ।। शैल श्रेणी हलुँगो पृथ्युत्तम पृथ्वी गोल सारा हलुँगो । यो ब्रह्माण्डै हलुँगो जब सब मनको तृष्णा लाग्छ टुङ्गो ।।" भनेझैं मनको तृष्णा टुङ्गो लागेको अवस्था थियो । तत्कालीन शिक्षा, संस्कृति, युवा तथा खेलकुद मन्त्रालय, केशरमहलवाट अफिसरको स्थायी नियुक्ति लिन सामान्य प्रशासन मन्त्रालय सम्म जाँदा आहा भैमा खुट्टै थिएनन् । रत्नपार्क स्थित सोह्र हाते गणेशजीलाई सदा भन्दा बिशिस्ट तरिकाले "बक्रतुण्ड महाकाय सुर्यकोटी समप्रभ निर्बिघ्नं कुरुमेदेव सर्वकार्यषुसर्वदा ।" मन्त्रोच्चारण गर्दै पुनः "जय गणनायक सब सुख दायक मंगलमय प्रभु बिघ्न बिनायक । शिश मुकुट पिताम्बरधारी यज्ञ पवोवित अति शोभाकारी । षोड्ष बाहु शुभ सिद्धि बिनायक पुज्य सदा सुख मंगल दायक" । भनि विशेष ढोग अभ्यर्थना प्रार्थना गरि सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारको चौरमा नियुक्तिको लागि युवा जमात साथीहरुसँग लामबद्ध भै साथीहरुका विभिन्न भेराईटीका अनुभव र प्रतिभाहरु साझा भएका थिए । कोहि बैंक, संस्थानका अधिकृतस्तरको जागीर छोडेर आएका, कोहि प्रहरी त कोहि माध्यमिक बिद्यालयका प्र.अ.समेत छोडेर अझ भनौ भने त्रिभुवन विश्वविद्यालयका स्थायी उपप्राध्यापकको सेवा समेत राजीनामा गरि निजामती सेवाको करियरमा उच्च तहसम्म पुग्ने महत्वाकांक्षी भावनाले ओतप्रोत भै आएका शैक्षिक वा प्राज्ञिक बिषय हेर्ने हो भने प्रायः सबै बिज्ञान, कानुन, बाणिज्य, कला र प्राविधिक बिषय समेतका उच्च मेधावी र प्रतिभाशाली युवा साथीहरु भेट्टाउँदा मन मस्तिष्कमा अत्यन्त हर्ष बिभोर भएको थियो । खुला चौरमा पुस मासको मलिन घाममा पनि ह्रदय अत्यन्त प्रफुल्ल भै आनन्द भावयुक्त मिठास थियो । किनकि अब अफिसर जो हरेक नेपाली प्रतिभाशाली युवाको ख्वाव हुन्छ त्यो प्राप्ती भयो । सपथ ग्रहण BAT तालिम जुन त्यतिबेला पनि नब्बे कार्यदिनको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (STAFF COLLEGE) ले गराउँथ्यो । तालिम पूरा गरिसकेपछि पदस्थापन नेपाल सरकारको कुन मन्त्रालय, बिभाग, कार्यालय हाकिम बन्न पाउने अहा ति कालातित दिन सम्झदा अहिले पनि मन पुलकित हुन्छ ।
आखिर जीवन आशावादी पन्छी रहेछ । बिगतका ति कठोर मेहनत र संघर्षरत दिन अब सुखद क्षणमा परिणत भैरहेका थिए । अब रात रातभर हिंड्दा, बस्दा, सुत्दा उठदा पढनु पर्दैनथ्यो । मित्रहरू त हितैषी नै भए शत्रुहरु पनि खुलेर प्रशंसा गर्दथे । घोक्छ भन्ने आरोप लाउनेहरु अब भने बिज्ञ मान्दथे । समयचक्र र भाग्यरेखा मेहनतले बदलिँदो रहेछ । सबै मानिसको हथेलीमा तीनवटा छ्ड्के रेखाहरु हुन्छन् ति एउटा आयु र अरु दुईवटा बिद्या र वृत्तिका रहेछन् । अब भने विद्या र वृत्तिका रेखा पुर्ण भए जस्तो लाग्न थाल्दथ्यो । साथै आदिकवि भानुभक्तको कवितांशलाई पुर्ण परिमार्जित गरि भन्न मन लाग्दथ्यो "बिद्या सफ़ल त्यस्को भो जो बन्छ राष्ट्रसेवक ।"
नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालयका त्यतिबेलाका श्रीमान् सचिव माधवप्रसाद घिमिरे हुनुहुन्थ्यो जुन नेपाल सरकारको मुख्य सचिव हुँदै खिलराज रेग्मीको अन्तरिम मन्त्रीमण्डलकालमा गृहमन्त्री समेत भै राष्ट्रलाई अर्को संविधानसभाको लागि निकास दिनुभयो परन्तु वाहाँले आफै चलाएको गाडी दुर्घटना भै त्रिशुलीमा गुमनाम बेपत्ता हुनुभो । वैयक्तिकरुपमा स्माट सचिव र एमालेका माननीय धर्मनाथ प्रसाद साह मन्त्री हुनुहुन्थ्यो । दिउँसो ३:०० बजेतिर शाखा अधिकृतको स्थायी नियुक्ति प्राप्त गरि शपथ ग्रहणका लागि सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारको सभाहलमा लामबद्ध भएर मन्त्री, सचिव, सहसचिव श्री राजन खनाल जो शिक्षा, संस्कृति, युवा तथा खेलकुद मन्त्रालयमा उपसचिव छँदा एउटै प्रशासन शाखामा कार्यरत थियौ । सम्पुर्ण साथीहरूले सामुहिक सपथ ग्रहण साथ आफ्नो संक्षिप्त परिचय, नामथर, शैक्षिक योग्यता, घर ठेगाना समेत परिचयको क्रममा भनेका थियौं । यसै सन्दर्भमा मेरो पालो आउँदा मैले पनि नाम थर : बसन्तराज अधिकारी शैक्षिक योग्यता : एम.ए.बी.एल घर: दाङ भनेको थिए । भद्र तरिकाले सचिवले भनेका थिए । हिजोसम्म तपाईहरुको परिचय केवल बाबू बाजेको नाम र तपाईको नाममा सीमित थियो भने "अब फलानो अड्डाको हाकिम फलानो भन्ने हुन्छ" तसर्थ अब भने तपाईहरुको परिचय नेपाल सरकारको शाखा अधिकृत संग जोडिन्छ तसर्थ उच्च मेहनतले प्राप्त पदलाई जुनसुकै अवस्थामा पनि सरकारको छवि उच्च राख्नु र आँच आउन नदिनु होला । सहायक राजपत्रअनंकित पद र राजपत्रांकित अधिकृत पदको नियुक्तिमा अन्तर भनेकै तपाईको पद अभिभावकत्वको गरिमामय रहेको छ भनेर भन्नुभएको थियो भने प्रमुख अतिथि माननीय मन्त्रीज्यू श्री धर्मनाथ प्रसाद साह तराई भुभागका निवासी र भारतीय प्रशासन राम्ररी बुझेकाले ईन्डियाको आइएएस अफिसरसँग तुलना गर्दै हाम्रो व्याची नयाँ संशोधित पाठ्यक्रमवाट आएका र प्रायः मास्टर डिग्री होल्डर भएकाले अझ गौरवान्वित अभिव्यक्त गर्नुभएको थियो । त्यसदिन बेलुका छ बजेसम्म नियुक्ति सपथ ग्रहण र परिचयात्मक कार्यक्रममा व्यस्त भएका थियौ ।
बेलुका राजधानीको शैक्षिक एवम् प्राज्ञिक केन्द्र कीर्तिपुर तर्फ आउँदा बाटोमा भेट हुने विद्यार्थी, कर्मचारी, शिक्षक, प्राध्यापक सबैले मुक्त कण्ठले प्रशंसा गर्दै हाकिमसाप हुनुभएकोमा बधाई प्रकट गरेका थिए । यश दिनदेखि मैले मेरो आफ्नो सान सौकत र मान मानितामा बढोत्तरी भएको पाएको थिए । कतिपय चिने जानेका वा नचिनेका पनि भेटन आउँथे बधाई दिन्थे । धेरै बधाई पाउँदा मेरो मेडमलाई पनि आश्चर्य लागेर मलाई सोध्दथिन एउटा जागीरमा किन यति धेरैले बधाई दिएका हुन् ? यसको सहज जवाफ मैले दिन्थे - कुनै जिल्ला वा कार्यालयको हाकिम भएपछि काम लाग्छ भनेर । त्यतिबेला अहिलेको जस्तो मोबाईल थिएन परन्तु घरवेटीको लेनलाईन फोन वा अरु मानिसको माध्यमवाट पनि शुभकामना आईरहन्थे । खुशीका क्षणमा दु:ख बिर्सिदो रहेछ । मानिस चङ्गा र हलुँगो बन्दो रहेछ । खुसीमा मानिस सुन्दर र शान्त पनि हुँदोरहेछ । आफुसँग संगै प्रतिस्पर्धामा होमिएका साथीहरू सल्लाह, सुझाव लिन आउँथे कसरी पढने ? कस्तो तरिकाले अध्ययन गरेपछि अफिसरमा सफ़लता प्राप्त हुन्छ ? त्यतिबेला मैले भन्ने गर्थे जो यद्यपि सान्दर्भिक रहेको छ - SHARP memory SMART writing and QUICK Decision.
रिटायर्ड हाकिमको डायरी २
त्यतिबेला कीर्तिपुरमा सपरिवार डेराको बसाई थियो । परिवार मिलेर साग सब्जी तरकारी पसल पनि सञ्चालन गरेका थियौं । बि.सं. २०५५ सालदेखि करिब बीस बर्ष नै यो पसल सञ्चालनमा आएको थियो । मेडमले लोक सेवा रात रातभर पढेर खरिदार, ना.सु. मा दुख गर्न नसक्ने बरु दैनिक आय आर्जनका लागि मेरो पसलमा सक्रियताले मेहनत गर्ने डेरामा मैले पनि छोराछोरीको देखभाल खानपिनको काम र तत्कालीन शिक्षा, संस्कृति, युवा तथा खेलकुद मन्त्रालयको सामान्य तथा कर्मचारी प्रशासन शाखाको गोप्य एकाईको काममा अत्यन्त संवेदनशीलता अपनाउनु पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट प्राप्त भ्रष्टाचार एवम् अख्तियार दुरुपयोग सम्बन्धि उजुरीहरु प्राय: शिक्षाका अधिकृत , जिशिअ देखि मन्त्रालय, बिभागका सहसचिवसम्मका कर्मचारीहरुको चितगुप्तले अन्तिम बहिखाता राखे जस्तैः राखी विधिवत् यथोचित अपराधको पुरस्कार दिने प्रारम्भ बिन्दुमा रहि जागीर धान्दै शाखा अधिकृतको प्रतिस्पर्धात्मक म्याराथन दौडमा मैले आफ्नो शक्ति सामर्थ र बुद्धि विवेक भरपुर खर्चेको थिए । बि.सं. २०५७-०५८ सालको अभिलेखिकरण हालको शिक्षा मन्त्रालय, सिंहदरबारको अभिलेखमा यद्यपि कम्प्युटराईज अवश्य भएको पनि होला त्यो के भने त्यतिबेला शिक्षाका निजामती कर्मचारीको एकातिर भ्रष्टाचार र अख्तियार दुरुपयोग सम्बन्धमा कारबाही चलिरहेको अवस्था हुने अर्कोतिर निजामती सेवा पुरस्कार, राष्ट्रिय शिक्षा पुरुस्कार र ग्रेड थप, प्रशंसापत्र समेत प्राप्त गरिरहने द्वैध चरित्रको स्थिति बहाल रहेको अवस्थामा प्रशासन महाशाखा, शैक्षिक योजना महाशाखा , बिद्यालय निरीक्षणालय, सामान्य तथा कर्मचारी प्रशासन शाखा, बिद्यालय प्रशासन शाखा, शिक्षा बिभाग र जिल्ला शिक्षा कार्यालयहरुवाट समेत आदेशानुसार मगाई हस्तलिखित अभिलेख मैले स्वयं तयार गरि सहसचिवलाई प्रमाणित गराउन लैजादा तत्कालीन प्रशासन महाशाखाका सहसचिव स्व. विश्वनाथ ढकालले कम्प्युटर गरेर ल्याएर अफिसरलाई दस्तखत गरेपछि मात्र आफुले दस्तखत गर्ने भनेपछि कर्मचारी प्रशासन शाखा अन्तर्गत कम्प्युटर ईकाईमा गै कम्प्युटर गर्ने भनेपछि कम्प्युटरले नभ्याएको भन्दै नगरिदिंदा पुनः अत्यन्त राम्रा हस्ताक्षर गरि सात पेजको लिष्ट करिव डेढ सय जना अधिकृत तथा कर्मचारीहरुको सुचीपत्र तयार गरि फोटोकपी समेत गरेर तीनप्रति तयार गरि पुनः सहसचिवलाई अनुरोध गरि अत्यन्त राम्रो हस्तलिखित सुचीपत्र देखाएर हेर्नुस् सर यसका सम्पुर्ण प्रमाण फाईलहरु मैले एकत्रित गरेको छु । यसमा प्रमाणीकरण गरेर राखेमा राष्ट्रसेवक कर्मचारीलाई दण्ड पुरस्कारको पद्धति राम्रो बस्ने र यसले हजुरहरुलाई नै सजिलो हुने प्रशासन शाखाको शाख वा इज्जत बढने भनेर सम्झाए पछि त्यसो भए ठिक छ तपाईले पनि बायाँ तिर दस्तखत गर्नुस् भनेर भनेपछि अधिकृतलाई यो बिषय थाहै छैन यो कामको अधिकृत तपाईं नै हो । मालपोत, भुमिसुधार, जिल्ला प्रशासन जस्ता अड्डामा सुब्बा सापले नै महत्वपूर्ण कागजातमा प्रमाणित गर्छन् यहाँ म गरुँला तपाईले काउण्टर सिफारिस गर्नुस् भनेपछि तीनै प्रतिमा काउण्टर दस्तखत गरेर प्रमाणित गरेर राखी एकप्रति शिक्षा सचिव कहाँ अर्को प्रति प्रशासन महाशाखा र अर्को प्रति कर्मचारी प्रशासन शाखा अन्तर्गत गोप्य एकाईमा मैले राखे त्यतिबेला प्रशासन गोप्य शाखामा शाखा अधिकृत श्री टुवराज पोखरेल भर्खरै अधिकृत सफ़ल भएर आउनुभएको थियो भने लिखित सफ़ल भै शाखा अधिकृतको अन्तर्वार्तामा बैकल्पिकमा परेको हुँदा मेरो क्षमता तत्कालीन शिक्षा, संस्कृति तथा युवा खेलकुद मन्त्रालयले बुझिसकेको अवस्था थियो । यस्ता घटना परिघटनाहरु धेरै छन् तिनलाई छुट्टै अध्याय मेरा युवावस्थाको संघर्षका आत्माकथामा प्रस्तुत गर्नेछु यो खण्ड रिटायर्ड हाकिमको डायरी हुँदा केहि संक्षेपमा मात्र राख्ने अनुमति चाहन्छु ।
त्यतिबेला आफन्त शुभेच्छुकहरुले जिल्ला तिर वा सामान्य खर्च धान्न सक्ने कमाउ अड्डामा सरुवा भै जान घनिभुत सल्लाह र सहयोग गर्न नखोजेको पनि कहाँ हुन् र परन्तु मेरो दृढ़ता र संकल्पले हरहालतमा लेखेरै खुला प्रतिस्पर्धावाट शाखा अधिकृत नभै नछाड्ने दृढ़ अठोट लियो । घरको जेठो छोरो घर व्यवहार हेर्नुपर्ने पनि हुँदा घरवाट सहयोगको कुरा पनि केहि भएन । अर्कोतिर छोराछोरी पढाउनु पर्ने र आफू एक्लै काठमाडौं बस्न नमिल्ने भै सपरिवार काठमाण्डौं गएका थियौं । डेरा भाडा छोराछोरीको बोर्डिङ स्कुलको फि अन्य दैनिकी खर्चको भार अत्यधिक थियो । महिनामा तीनहजार तलबमान हुँदा छहजार खर्च हुन्थ्यो । केहि समय बढदो खर्चलाई थेग्न सञ्चयकोष सापटी लिएर पनि खर्च धानेको थिए । एकातिर आफन्त, इष्ट मित्रहरु सपरिवार काठमाडौं बसेको छ यस्लाई मस्ती छ भन्थे अर्कोतिर "आफ्नो व्यथा कस्लाई के था ?" स्वयं हामी दुई र ईश्वरलाई नै थाहा थियो । दु:खको समयमा आफन्त पनि पराई भन्दा पनि हेपाहा व्यवहार गर्दा रहेछन् ती सबै कुरा अहिले राख्नु सान्दर्भिक छैन तथापि दुनियाँ "दम औंर दाम" हो तसर्थ बलेको आगो सबैले ताप्ने निभ्न लागेको लाई अझ पानी खनाउने परन्तु निभ्न लागेको दियो जोडले बल्छ यसको कारण आफैमा आत्मशक्ति प्रगाढ हुँदा सम्भव भएको हो । अरुवाट उत्प्रेरित भन्दा स्वउत्प्रेरित मानव मात्र अन्ततः सफ़ल हुन्छ । जीवन संघर्षले खार्दै ल्याउँदा मैले आफुलाई एउटा स्पात बनाईसकेको थिए र कम्युनिस्ट आन्दोलनका अग्रणी दंगाली नेता कमरेड नेत्रलाल पौडेल "अभागी"ले भनेझै "विपरीत दिशावाट अत्यन्तै वेगबान हावा हुरी हुण्डरी चलिरहेको बेला केवल सती साल मात्र ठिङ्ग उभिन सक्छ ।" भन्ने कथन मेरो जीवन कथामा शतप्रतिशत मेल खान्थ्यो । हुन् त बाउन्न हण्डर र त्रिपन्न ठक्करले नखारिएको भए म पनि अरु समकक्षी जस्तैः जन आन्दोलनको लाभांश लिई २४ घ१ मा पानी बढुवा भै शाखा अधिकृत हुनुपर्ने अवस्था बिद्यमनता रहेको छँदा पनि खुला प्रतिस्पर्धामा अब्बल लेखाईले शाखा अधिकृत सफ़ल भएकाले झार पातहरु ईष्र्या र डाह राख्नु स्वाभाविकै भन्ने अब पो पुर्ण ठम्याई आउँछ ।
शाखा अधिकृत पढाईको सिलसिला पनि अलिकति जोडौं । कीर्तिपुर पाँगावाट तत्कालीन शिक्षा, संस्कृति, युवा तथा खेलकुद मन्त्रालय, केशरमहल, काठमाडौं पुग्दासम्म बसको एउटा सिटमा झ्यालतिर बसेर पढिरहने, कार्यालयमा काम पश्चात् विश्राममा पनि पढ्ने अझ बेलुका डेरामा फर्कदा रत्नपार्कमा गएर खुब घोटिएर पढ्ने, बिहान् तीन बजे उठेर बेलुका एघार बजेको सुताई, सार्वजनिक विदाको दिनमा कहिले त्रिभुवन विश्वविद्यालय त कहिँले नेपाल कानुन पुस्तकालय खुब चाहार्थे । प्रशासन र व्यवस्थापनका नयाँ प्रकाशित पुस्तक काठमाडौंका पुस्तक पसलमा कुनै छुटदैनथे, आफ्नै मौलिक नोट कपि हुन्थ्यो । पहिला दुई तीन पटक पढने, अनि त्यतिनै पटक पढेको स्मरण गर्ने र अन्त्यमा लेख्ने प्रश्नोत्तर शैलीमा लेख्ने यस्ता क्रियाकलाप दोहर्याई तेहराई गर्ने मोडल प्रश्नपत्र बनाउने समय तोकेर आफै प्रश्नको उत्तर लेखी समाधान गर्ने आफ्नै शैलीको बिकास भएको थियो । त्यतिबेला आफ्ना नजिकैको अन्तरंग साथीभाइहरुले "धेरै नपढ है बहुलाईन्छ ।" भन्ने जस्तैः वाहियात कुतर्क राखी हतोत्साहित गर्न खोज्दा तपसिलमा लिखित लेख गोरखापत्रमा प्रकाशित गरि त्यस्ता ठेटना साथीभाइ, आफन्तहरूलाई विशिष्ट प्रकृतिको जवाफी हमला गरेको थिए । बि.सं.२०५९ असोज २५ गते शुक्रबार गोरखापत्र राष्ट्रिय दैनिकमा सम्पादकीय मञ्चमा प्रकाशित मेरो व्यङ्ग्य विनोद "धेरै नपढ है बहुलाईन्छ । " लेख मेरो जागीरे जीवनको सङ्गालो अप्रकाशित संग्रहवाट प्रकाशित लेख जसका तस राखेको छु ।
✍️ बसन्तराज अधिकारी
गोरखापत्र, राष्ट्रिय दैनिक
२०५९ असौंज २५ गते शुक्रवार
व्यङ्य विनोद
धेरै नपढ है, बहुलाईन्छ
मुर्खले विद्वानलाई, चोरले साधुलाई, बेईमानले ईमान्दारलाई, विधवाले सधवालाई, जड्याहाले जाँड रक्सि नखानेलाई, मांसहारीले शाकाहारीलाई, अल्छिले जाँगरिलालाई, बनमा बस्नेले घरमा बस्नेलाई, कानून मिच्नेले कानुन पालन गर्नेलाई कहाँ पो देखिसहन्छन् र ? यो प्रवृत्ति समाजमा परापूर्वकाल अर्थात् देवताहरूको समयदेखि नै चल्दै आएको छ भन्दा अत्युक्ति हुने छैन । पौराणिककालमा पनि शुक्राचार्य प्रवृत्तिले इन्द्रादी देवताहरूको दोहोलो काढन खोज्दथे भने आखिरी ईन्दादी देवता प्रवृत्ति पनि आफ्नो शान—मान, धाक–रवाफ, समय–कुसमय प्रयोग गर्न कहाँ पो चुकेका थिए र ? वास्तवमा मानिस ईश्वरको एउटा सर्वोत्कृष्ट सृजना भएर पनि मानव भित्र मानविय मूल्य–मान्यता र आचार कहाँ पो पूर्णरूपमा प्रयोग भएको पाईन्छ र ? बुद्धि विवेक र ज्ञान सम्पन्न मानव आफ्नो स्वार्थ, दम्भ र ईष्यावश अनैतिक र भ्रष्ट बन्दै गईरहेको र अहंकारको पराकाष्टामा विलिन हुन पुगिरहेको वर्तमान सन्दर्भमा आफ्नै भोगाईका कटु सत्य याहाँ प्रस्तुत छ । कार्यालयमा, कोठामा वा अन्य यस्तै स्थानहरूमा अध्ययनको कुराकानी चल्दा केही मित्र मण्डलीवाट सुन्न पाईन्छ — धेरै नपढ है बहुलाईन्छ ।
कार्यालय समयमै दैनन्दिन कामको विश्रामभित्र पत्रपत्रिका पल्टाएर त्यहाँका वैचारिक, लेख, दृष्टिकोण आदि रूचीसाथ पढिरहेको समयमा एउटा मन मिल्ने साथी भित्र पस्छ र पढिरहेको देख्दा भन्छ –‘होईन खुव पढियाछ नि, परीक्षा आएको छ र ? परीक्षा त सिद्धिएको होईन ?’ यस्तै अर्को आउँछ र भन्छ–‘धेरै नपढ है बहुलाईन्छ ।’ विरक्त लागेर आउँछ र पढाईको धारा प्रवाहको सिलसिला पनि त्यही रोकिन्छ । अन्य कुरामा त्यति चासो गर्ने व्यक्ति त म पनि होईन तर ‘धेरै नपढ है बहुलाईन्छ’ भन्ने वाक्य किन व्यक्त भयो, यस प्रति मेरो गहिरो प्रश्न जाग्छ । अनि त्यस साथीलाई सोधे–‘पढेर को बहुलायो ?’ उसको कथा शुरू हुन्छ, आकाश पाताल जोडेर ‘फलानो फलानो बहुलायो । पढेको जस्तै व्यवहारमा हुँदैन, त्यसैले बहुलाउँछ ।’ साथीलाई प्रतिउत्तर दिन्छु, ‘मित्र पहिलो कुरा बहुलाउनु मगज असन्तुलित हुनु हो, पढनुसंग यसको कुनै तात्विक सम्वन्ध छैन । दोस्रो कुरा के पढेको मानिस मात्र बहुलाउँछ ? अनपढहरू पनि त बहुलाएका छ्यापछ्याप्ती नै पाईन्छन् । तेस्रो कुरा, के तिमीले अहिलेसम्म पढेर ठूलो भएको विद्वान् बनेको र असल भएको देखेका छैनौं ? उदाहरण दिनु परे, राम्रो कुराको दिनु पर्छ, नियमको कुरा नगरेर अपवादको प्रसङ्गलाई चरितार्थ गर्नु उपयुक्त हुन्छ र ?’ अध्ययन र स्वास्थ्यका सम्वन्धमा पश्चिमा एक विद्वानले भनेका छन् –"अध्ययनले मानिसलाई सक्रियता बढाउँछ । मस्तिष्क सक्रिय भयो भने सम्पूर्ण शरिर सक्रिय हुन्छ । शरीर आलस्य र निस्क्रियतवाट माथि उठेमा स्वास्थ्यमा अनूकुल प्रभाव पर्छ । त्यसैले अध्ययन र स्वास्थ्यको घनिष्टसम्वन्ध भएका कारणले अधिकांश अध्ययनशिल मानिसहरू निरोगी हुन्छन् ।" पश्चिमी जगतमा विकसीत मानव सभ्यताको कारण यही अध्ययनप्रतिको गहन अभिरूची हो । तर हामी कहाँ पत्रपत्रिका पढ्दा पनि धेरै पढे बहुलाईन्छ भन्ने मानिसको सङ्ख्या अधिक देख्दा हाम्रो देशको अवस्था र अझ ति युवा कर्णधारको दयनिय मानसिक अवस्था देख्दा सारै टिठ लागेर आउँछ ।
हाम्रा विद्यार्थी पढ्नमा भन्दा धेरै टि.भी., फिल्म तथा अन्य यस्तै सस्ता मनोरञ्जनमा लठ्ठिएका पाईन्छन् । यसको मूलकारण हाम्रा अध्ययनशील विद्यार्थी भन्दा उपल्लो पिँडी वा वयस्क वा प्रौढहरूको पढाईप्रतिको हेलचेक्रयाई नै हो । अनावश्यक गफ गरेर बस्ने, तास खेलेर समय विताउने, होटल, रेष्टुराँ तथा बारहरूमा घण्टौंसम्म गफ गरिरहने हाम्रो बानीले कसरी हाम्रो देखासिकी गर्ने हाम्रा अनुयायी बालवालिका पढ्नप्रति उत्प्रेरित हुन्छन् रु अझ हामी आफै भन्ने गर्छौ – पढेर केही हुँदैंन । फलानोले यति पढ्यो, ढिस्कानोले आई, ए., बि.ए.पढेर केही लछारपाटो लाएन आदि ।
नजानेका कुरा जान्ने, नसिकेका विषय सिक्ने, रूची नभएकोमा अभिरूची जगाउने, सामान्य ज्ञान भएकोमा विशिष्ट ज्ञानतर्फ अभिमुख हुने हुनुपर्छ । तर विडम्वना – कार्यालय सार्वजनिक स्थान र कतै यात्रा गर्दा समेत सामान्य पत्रपत्रिका वा कुनै अध्ययन सामाग्रीमा आँखा पुरायर घोरिन थाल्यो कि मुढमतिहरूको वाक्वाण बज्रिन थालिहाल्छ, ‘पढाई त खुव गा’ छ नि, धेरै नपढ है बहुलाईन्छ । पढेर को ठूलो भएको छ र ?’ वास्तवमा पढेर कुनै पनि ठूलो हुने होईन, न त हात्ति पढेर ठूलो भएको हो न त मुसो नपढेर सानो भएको हो । वास्तवमा पढेर त असल, ईमान्दार, राष्ट्रभक्त, सेवक बन्नुपर्छ । पढेर ठूलो बन्ने सपना हाम्रा गुरूहरू बाँडछन्, अभिभावकहरू अर्ति दिन्छन्, भद्रभलादमीहरू भन्ने गर्छन् –धेरै पढ्नु, ठूलो मान्छे बन्नु । अव यस भनाईलाई परिवर्तन गरी ‘धेरै पढनु, असल मानिस बन्नु’ भन्ने ज्ञान दिनु पर्छ । अन्यथा हाम्रो समाज अझ विग्रदै, तल झर्दै जाने कुरामा कुनै शङ्का छैन ।
त्यतिबेला मैले गोरखापत्रमा भएका लेख, सम्पादकीय, सूचना तथा जानकारी खुब ध्यान दिएर पढथे । तत्कालीन शिक्षा, संस्कृति, युवा तथा खेलकुद मन्त्रालयको उच्च शिक्षा शाखामा रहेको गोरखापत्रको बाईण्डिङ संकलन ल्याई खुब पढ्ने हुँदा पछि मलाई त्यतिको त आफै लेख्न सक्ने ठानी शनिबार विदाको दिनको सदुपयोग गर्दै एक बिसौनीमा प्रयाश गरे शिर्षक पनि सान्दर्भिक नै जोडे र लेखिसकेर दुई तीनपटक आफैले पढेर श्रीमतीजीलाई पनि सुनाए पछि राम्रो छ भन्ने प्रतिक्रिया पाए । त्यसपछि गोरखापत्रमा लेखहरु मागिएको र प्रकाशन भएपछी उचित पारिश्रमिक समेत पाउने जानकारी हुँदा गोरखापत्रको सम्पादन तथा प्रकाशन शाखामा त्यतिबेला कम्प्युटरमा मुद्रित गर्ने चलन पनि नहुँदा हस्तलिखित लेख लिएर जाने बिचार गरे र मन्त्रालयवाट करिव अपरान्ह तीन बजेतिर बाहिर आई सरासर गोरखापत्र संस्थान धर्मपथ, काठमाडौंमा पुगे र सिधै सम्पादन तथा प्रकाशन शाखामा गएर त्यहाँका तत्कालीन सम्पादक श्री धातृ सुवेदी र उपसम्पादक श्री निर्मलकुमार आचार्यलाई दुवै हात जोडेर अभिवादन गरे । त्यसपछि सम्पादकले मतिर फर्केर सोध्नु भयो के काम छ ? भनेर हजुर मैले एउटा लेख लिएर आएको थिए भनेर भने त्यसपछि सम्पादक महोदयले भने कहाँ काम गर्नु हुन्छ ? मैले सिंधै शिक्षा मन्त्रालय भनेपछि पद के हो भनेर मलाई सोधे पछि मैले पनि प्रतिप्रश्न गर्दै भने पदको अर्थ बुझ्नुभाछ ! उनी अलि अन्यमनस्क भएपछि मैले फ़ेरि झटारो हिर्काए यहाँले पदको अर्थ बुझ्नुभा छैन बुझेको भए यो सम्पादक नेमप्लेट राखेर बसेको महोदयको हैसियतले एउटा लेखक लाई सोध्ने प्रश्न होईन यो । सुन्नुस् ! राम्ररी गुन्नुस् !! पदको अर्थ संस्कृत शब्द पदचाप वाट आएको "पाईतला" हो । त्यसैले पद जतिसुकै ठूलो भएपनि त्यो तल हुन्छ बरु लेखकको समग्र परिचय योग्यता, अध्ययन क्षेत्र सोध्नु राम्रो हो भनेपछि सम्पादक महोदय केहि बोल्न सकेनन् र मैले मेरो आफ्नो भनाई फ़ेरि जारी राखे पद सोध्नु भो हजुरको प्रश्नको उत्तर म अवश्य दिन्छु म निजामती सेवामा पन्ध्र बर्ष भन्दा बढी कार्यानुभव भएको शिक्षा मन्त्रालयको प्रशासकीय नायब सुब्बा र शैक्षिक योग्यता एम.ए.बी.एल. छ । शाखा अधिकृतमा नाम निकालेको पनि छु । परन्तु भाग्यले साथ दिएको छैन सारमा यहाँलाई मेरो अत्यन्तै बिनम्र अनुरोध के छ भने मेरो लेख एकपटक अवश्य पढ्नुस् । अरु पदधारी बुद्धिजीवी भन्दा कमजोर भयो भने च्यातेर झुजाझुजा पारेर फाल्दिनुस् मेरो कुनै गुनासो छैन तर एकपटक अवश्य पढनुस् । यति भनेपछि सम्पादक महोदयको शिर ठाडो हुन सकेन तर उपसम्पादकले भने - त्यहीँ कुर्सीमा बस्नुस् सर म पनि बि.एल. पास गरेर उपसम्पादक सुब्बा स्तरको जागीर हो । निजामती सेवामा प्रवेश गर्न नसकेर संस्थानमा खाएको हो । खै सर मलाई दिनुस् म अवश्य पढछु भनेपछि धन्यवाद छ सर भने र दुवैजनालाई नमस्कार गरेर फर्कन लाग्दा समसामयिक बिषयमा लेख्दै गर्नुस् है सर यो लेखनीलाई जति घोटनु हुन्छ त्यति परिस्कृत हुन्छ तपाईको तर्क र विवेक मैले बुझिसके । अब लेख प्रकाशित भएपछि पारिश्रमिक लिन आउनु होला अर्को गहन लेख ल्याउनुहोला भने र उपसम्पादक श्री निर्मलकुमार आचार्यसंग बिदाई भए नभन्दै भोलिपल्टको गोरखापत्रको अंकमा मेरो लेख शानदार रुपमा ह्रस्व दीर्घ, पुर्णविराम र कमा नछुटाई जस्ताको तस्तै छापिएको थियो जुन यहाँहरु समक्ष माथी हु बहु प्रस्तुत गरे - "धेरै नपढ है बहुलाईन्छ ।"
क्रमशः
Comments
Post a Comment