४८०. मेरा युवावस्थाका संघर्षका आत्मकथा

मेरा युवावस्थाका संघर्षका आत्मकथा  

✍️ अधिवक्ता  वसन्तराज अधिकारी 
                           पुर्व उपसचिव, नेपाल सरकार 

आत्मवृतान्त : स्वर्णिम चमत्कारिक वाल्यकालको स्मृतिका शृङ्खला अघिल्ला भागहरुमा प्रस्तुत गरे । यश शृङ्खलामा मेरो युवावस्थाका संघर्षका आत्माकथा विशेषतः श्री ने. रा. प्राथमिक विद्यालय, सिमलचौर, थक्लेनी, तिराम, प्युठानमा प्राथमिक बिद्यालयको शिक्षक भएपछि मेरो संघर्षरत युवावस्थाको संस्मरण  गर्दछु । किनकि यतिबेला किशोरावस्था कै भएपनि अठार बर्ष उमेर पूरा भै वालिग भैसकेको पनि थिए । तसर्थ, अब यश अवधि पश्चात् नेपाल सरकारको शाखा अधिकृत परिक्षामा सफ़लता प्राप्त गर्दा अर्थात् चालीस - बयालीस  बर्ष सम्मको अवधिको  जीवन वृत्तचित्र प्रस्तुत  गर्दछु । यश अवधिमा मैले भोगेका डाँडा काँडा उकाली ओराली, घुम्ती र  देउराली,  बन पाखा पखेरा गाउँ घर, शहर बजार शेष खाई देश पसेसम्मका सरकारी निजामती सेवा वृत्तिपथका तिता मिठा अनुभव अनुभुति यथाशक्य  छरपस्ट राख्नेछु । यस आत्माकथाको अनिवार्य गुढतम उद्देश्य   प्रथमतः आफ्नै सन्तुष्टि हो र ऎच्छिक वा मुलभुत आफन्त, शुभेच्छुक वा पाठक मित्रको लागि हुनाले कसैले नरुचाउँदा पनि भगवान् शंकरले हलाहल बीस पिय जस्तैः हो केहि फरक पर्दैन तथापि जस्को यस्मा प्रथम दृष्टि पर्दछ एकपटक अवश्य पढिदिनुभए पुनः पढ्न इच्छा जागृति हुनेछ भन्ने अपेक्षा राखेको छु । साथै रचनात्मक सुझाव तथा टिप्पणी पाएमा जीवनका अन्तरकुन्तरहरुलाई सूक्ष्म र मुर्तरुप दिने हौसला बुलन्द हुने अभिप्रायका साथ लेखनीलाई अगाडि बढाउँदछु ।

जीवनमा अध्ययन र वृत्ति एक अर्काका अभिन्न रहेका छन् । जब अध्ययन बक्र रेखावाट भएर गुज्रन्छ तब कसैको पनि वृत्ति पथ अपेक्षित हुँदैन पनि । परन्तु बिहानीले दिनलाई देखाउँछ भनेझै जीवनको सुरुआतमै लिएको उद्देश्य दृढ़ इच्छाशक्ति र मनोबलले भविष्यमा मार्गदर्शन गर्दछ यसै सन्दर्भमा मेरो जीवनमा एउटा सिलसिला शुभारम्भ हुन्छ प्रत्यक्ष  समाज सेवाको शिक्षक सेवाको जागीरे भएर  रोल्पा धाङसीको स्वेच्छिक रुपमा बहिर्गमन पश्चात् प्युठान सिमलचौर, थक्लेनी तत्कालीन प्रधानाध्यापक श्री यमप्रसाद शर्माको असहमति मै बिद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अध्यक्ष श्री तिलबहादुर ठेडी मगर र प्रधानाध्यापक श्री यमप्रसाद शर्मावाट हस्ताक्षरित  मैले प्राप्त गरेको अस्थायी नियुक्ति श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमलचौर, थक्लेनीमा बि.सं. २०३९ साल फागुन २६ गते भएको हो जस्को सक्कल प्रति मसँग यद्यपि सुरक्षित छ । थक्लेनी साविक तिराम गाउँ पञ्चायत अन्तर्गत वार्ड नं. ४ सिमलचौर, थक्लेनी माण्डवी नदीको किनारमा अवस्थित भालुवाङ, प्युठान मोटरवाटो स्थल  रहेको प्राकृतिक सुन्दरताले परिपुर्ण रमणीय स्थान परन्तु आर्थिकसामाजिक अवस्था गरिबी र पछौटेपनको विद्यमान रहेको समाज थियो तथापि  सरल, मेहनती र इमानदार नागरिक थिए । बर्षभरी खान पुग्ने थोरै मानिस थिए भने अधिकाँश मेहनत मजदुरी गर्ने, भारत प्रवास जाने गोर्खा भर्तिमा रहेका र केही मानिसहरूले माडी खोलामा माछा मारी व्यापार व्यवसाय गरि जिविकोपार्जन गर्दथे ।

अत:  तत्कालीन तहाँको मगर समाज र अल्पसंख्यक क्षेत्रीहरुको बसोबासको यो तिराम गाउँ पन्चायत अन्तर्गत सिमल्चौर - थक्लेनी - ठाडीओढार - मुताहा र छतिवनदमार सम्मको बिद्यालयको सेवाप्रवाहको क्षेत्र थियोे । हाल यी ठाउँहरुको नाम समयानुकूल केही परिवर्तन भएका छन जस्तो "मुताहा" हाल परिमार्जित नाम मोतीपुर । अहिले यो भुभाग प्युठान जिल्ला अन्तर्गतको स्थानीय तहहरु केहि सरुमारानी गाउँपालिका र केहि माण्डवी गाउँपालिकाले समेटेको छ । त्यतिबेला  सारमा यहाँका  यो समाज बृटिस मलाया लाहुरे, भारतीय सेना र बम्बैमा काममा जाने नेपालीहरु र खेतीपाती, माछा मार्ने, मजदुरी गर्ने र होटल व्यबसाय गरि बस्दथे । त्यतिबेला भालुवाङ हुँदै देवीस्थान- प्युठान -रोल्पा सम्मको सडक सञ्जालको रेखाङ्कन मात्र थियो । पैदलमार्ग ज्यादै चलनचल्तीमा थियो । तिरामका गिरीराज मुखिया जो माननीय पनि भएका थिए उनको राजनीतिक एवम् कुटनैतिक प्रपञ्चले दाङ हर्नोक कमेरीचौर,  मुर्कुटी तिराम देवीस्थान हुँदै प्युठानदेखि रोल्पा लिवाङ सम्म जाने बाटो निर्माणाधिन थियो । यसमा दङ्गाली घोराही वासी जनता विशेषतः व्यापारीहरुको राजनीतिक षड्यन्त्र पनि थियो ।  यश सम्बन्धमा यश पुर्व आत्मवृतान्त : स्वर्णिम  चमत्कारिक वाल्यकालको स्मृतिमा पनि केहि पस्केको पनि छु । यसै सन्दर्भमा यो ठाउँ यस्तो शिर्षकमा रचित एउटा कविता पद्यांश यसको पुर्ण भाग अगाडि सान्दर्भिक रुपमा पुरै कविता प्रस्तुत हुने नै छ । अहिले याहाँ मैले बिद्यालय बाहेकको समयको सदुपयोग गरि त्यतिबेला रचना गरिएको साहित्यका कविताको एक पद्यांश प्रसङ्ग वश याहाँ प्रस्तुत गर्दछु  ।

यो ठाउँ यस्तो………

"कल र कल माण्डवी जल बगेको सुनिन्छ  ।
स्वदेश छोडी प्रवासी बन्ने दाजुभाइ भेटिन्छ ।।
जांँड रक्सी खानेको याहाँ महत्व दर्शिन्छ ।
कङ्गालदेश गरिव जनता कसरी सुध्रन्छ ?
यो देश, कसरी सुध्रन्छ ??
  ×         ×         ×           ×            × 

श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयका प्रधानाध्यापक श्री यमप्रसाद शर्मा "चौबिस घण्टे पियक्क्ड  बोत्तलप्रसाद" थिए । यिनैलाई केन्द्र बिन्दु बनाएर प्रतिकात्मकरूपमा  दाङ घोराहीवाट प्रकाशित हुने तत्कालीन  जयनेपाल निष्पक्ष साप्ताहिक पत्रिकामार्फत मेरो अतिरिक्त समयको साहित्यिक सिर्जना  "बोत्तलप्रसाद.." हास्य निबन्ध प्रकाशित गरेको थिए । यो निबन्ध निकै प्रभावोत्पादक र मेरो शैक्षिक योग्यता र स्थान भन्दा धेरै माथिल्लो स्तरको र स्तरीय थियो । मेरा प्रकाशित र अप्रकाशित लेख रचनाहरुको सिर्जनात्मक सङ्गालोवाट साभार गरि अगाडिको भागमा प्रासंगिक रूपमा उल्लेख गर्नेछु ।

बि.सं २०३९ फागुन देखि २०४५ मंसिर सम्म पूरापुर ६ बर्ष श्री ने.रा.प्राथमिक बिद्यालयको शिक्षक र सहायक प्रधानाध्यापक भएर गुरुत्तर भूमिकामा एउटा असल शिक्षक , आदर्श, गौरवपुर्ण र गरिमामयी व्यक्तित्व कायम गरि बाबुबाजेको यस पितृभुमिमा मेरो स्वच्छ इमानदार राष्ट्रिय सेवा "देशभक्तिपुर्ण राष्ट्र सेवाको आधार" प्रारम्भ भयो । प्रधानाध्यापक श्री यमप्रसाद शर्मा, शिक्षकहरू श्री प्रेमप्रसाद आचार्य स्थानीय मानिसहरुले वाहाँको चारित्रीक विशेषण नाम "सुलिफाईट मास्टर" र श्री बेदप्रसाद पण्डित जस्ता पियक्क्ड शिक्षक साथी र आदर्श शिक्षक प्युठान तिराम निवासी श्री इन्द्रमणी आचार्य, प्युठान खैरा निवासी श्री टेकराज अर्याल जस्ता मार्गदर्शक साथीहरुको संगतमा स्वपदचाप कर्कलाको पातमा रहेको पानीजस्तै निकै सजगताका साथ संघर्षपुर्णरुपमा आफुलाई तटस्थ र स्वच्छ राख्न सक्नु आफैमा एउटा  "महान तपस्या" र संघर्षपुर्ण जीवन कथा रह्यो । याहाँ मेरा धेरै अनुभवका सङ्गालोहरु छ्न, केही प्रतिनिधि  परिघटनाहरु मात्र संक्षेपमा प्रस्तुत गर्दैछु । किनकि पाठकहरुलाई सरलता र रसिकता आवस् भन्ने हरसंभव प्रयत्न गर्दछु ।

यसै अवधिमा बि.सं.२०४१ साल ताका तत्कालीन तिराम गाउँपञ्चायतका प्रधानपञ्च तथा जिल्ला शिक्षा समिति, प्युठानका सदस्य श्री धनेश्वर अधिकारीको सहयोगमा प्राथमिक शिक्षककोलागि आधारभुत शिक्षक तालिम "रेडियो शिक्षा शिक्षक तालिम"मा सहभागी भए दुर शिक्षा (Distance Education) रेडियो मार्फत तत्कालीन शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रले सञ्चालन गर्दथ्यो । ठूलो रेडियो पा.पा.नि.बि.केन्द्र, हरिहरभवन  मार्फत जि.पं.स. शिक्षा शाखा, प्युठानले उपलब्ध गराएको थियो । साझ ५:०० बजे देखि ७:०० बजेसम्म  रेडियोमा सहभागितामुलक प्रशिक्षण प्रदान गरिन्थ्यो । ४५ मिनेटको कक्षा शिक्षण  पश्चात् कार्यक्रममा शिक्षक साथीहरुका हुलाक मार्फत पठाइएका बिबिध रचनाहरु प्रशारण गर्ने गरिन्थ्यो । मैले त्यतिबेला हुलाक मार्फत रजिष्ट्री गरि पठाएको "हामी शिक्षक" नामक रचना  प्रकाशित भएको थियो जो यश प्रकार छ :

हामी शिक्षक
शिक्षक हौं, हामीहरु बिद्यालयका ।
सेवा गर्नु धेरै नै छ, बिद्यालयमा ।।
प्यारो मातृभुमी नेपाल आमाका ।
छोराछोरी सन्ततीलाई शिक्षित बनाउनु छ ।। १।।

आफ्नो ज्ञान, सीप, मेहनत गरि ।
भावी सन्ततीलाई विद्वान नै पारी ।।
देश बिकासकालागी पहल गर्नुछ ।
प्यारो हाम्रो देशलाई उज्यालो पार्नुछ ।।२।।

पहाडी डाँडा काँड भएको देश हाम्रो ।
हरियाली सुन्दर शान्त देश छ यो राम्रो ।।
मेची देखि कालीसम्म सबै शिक्षकहरू ।
पहाडी भुभागमा नै रहेका छौं बरु ।।३।।

जहाँ अझैसम्म पनि शिक्षा ज्योति छैन ।
पढेपछि के पो हुन्छ थाहा याहा छैन ।।
अझैपनी रुढीबादी छाडन सक्या छैनन ।
पढाइ लेखाइमा कोशिश पनि खासै देखिदैन ।।४।।

अशिक्षित समाजमा भिजेरै शिक्षक ।
शिक्षा दियो प्रज्वलित पार्नु है पर्दछ ।।
स्वदेशको लागि सधैं कम्मर कसेर ।
उन्नति र प्रगतिको शिखर चुम्नुछ ।।५।।
शिक्षक पेशा खेलवाड हैन ।
संघर्ष गर्नुछ ! संघर्ष गर्नुछ !!

• रेडियो शिक्षा शिक्षक तालिम पारिजात कार्यक्रम, २०४१ सालमा रेडियो नेपालवाट प्रशारित कविता

तत्कालीन बि.सं.२०४०/०४१ को समयमा प्युठान जिल्ला तिराम गाउँ पञ्चायत अन्तर्गत  वडा नं. ४ र ५ सिमलचौर, थक्लेनी, मुताहा हाल परिवर्तित नाम मोतीपुर र छत्तिवन दमार सम्मको बिद्यालयको सेवा प्रवाहको क्षेत्र रहेको समाजको सामाजिक  शैक्षिक अवस्था ज्यादै दयनीय थियो । शिक्षाको स्थिति सारै नाजुक थियो । गाउँमा एकाध सामान्य पढेलेखेका साक्षर भेटाउन पनि दुर्लभ थियो । शिक्षक/मास्टर गाउँ घरमा सबै जान्ने/सुन्ने हुन्थे । गाउँ घरमा परिआउने कानुनी लेखापढी लिखत, घरसारका तमसुक देखि झै -झगडाका मिलापत्र, लेनदेन, हिसाब किताब, खवर, सुचना सबैको ज्ञाता, अनुसन्धाता, गुरुवर्ग  शिक्षक हुन्थे । शिक्षक स्वयं पत्रकार, वकिल, स्वास्थ्यकर्मी, परामर्शदाता, सुचनादाता, सचिब, नेता, सल्लाहकार बन्नुपर्दथ्यो । वैदेशिक रोजगार भारत प्रवास गएका खसम (श्रीमान्)  छोराहरूलाई  .....स्वस्तीश्री तहाँ राजगरी बस्नु भएका सिरका स्वामी/छोरा  आगे .....वाट यस्तै प्रकृतिको भाखामा पत्र लेख्ने कार्यमा शिक्षक नै स्वयंसेवकको रुपमा  नियुक्त हुनु पर्दथ्यो । यस बिषयमा मैले दक्ष/विज्ञता हाँसिल गरेकोले मेरो लेखाईको तुलनामा अरु शिक्षकहरूको लेखाइ स्वीकार्य हुँदैनथ्यो । पढाउने सीप प्रविधि र समाजसेवी कार्यमा मेरो प्रसिद्धता बढदै थियो  । समाजमा लाहुरे संस्कृति गरिमामय रहेको बिशेषत: बृटिश र भारतीय प्रभावको व्यापकता थियो ।

यसै सन्दर्भमा थक्लेनी गाउँका ८० बर्षे मुखिया बा श्री मनिराम थापासंगको प्रसङ्ग रोचक छ । म भर्खर भर्खरै शिक्षक नियुक्ति भएको थिए । मुखिया सापले बिहानै  कटुवाल खटाई मलाई  बोलाउन स्कुलको होस्टलमा पठाए । म पनि कटुवालको साथ लागेर मुखिया बा कहाँ गए । त्यहाँ गाउँभरीका भद्र भलाद्मी जम्मा भएका थिए । मुखिया बाले मलाई शशिराम भण्डारीको पाखो खेतको गढो करवीर ठेडीलाई रु. २०,०००/- अक्षेरेपी बीस हजारमा कपाली तमसुक लेखिदिने भनेर नेपाली कागत र कालो स्याही (मसी) भएको कलम खोजेर ल्याईदिए किनभने म संग निलो मसि भएको कलम थियोे । मेरो यो पहिलो पटकको लेखाइ थियो । एउटा नक्कल पाए  लेख्न सक्छु भनेपछि  नक्कल पनि खोजेर ल्याईदिए र नक्कल हेर्नू पर्दैन माड्साप म व्यहोरा मुखाखर भन्दिन्छु, तपाईं लेख्नुस भनेर - "लिखितम धनिका नाम  फलानाको छोरो फलानाको नाति फलानो ठाउँ बस्ने बर्ष यतिको फलानो सो धन व्यहोरिने ॠणिका नाम ....;" मैले २ पटक मुखिया बा को भाषा  र दुईपटक पुरानो तमसुकको व्यहोरा पढेर नेपाली कागजको सोह्र तोडे बनाई  कपाली तमसुक लेखेर साक्षी फटकेका सदर भनि सहीछाप गराउन थाल्दा पो थाहा भो मुखिया बा मनवीर थापा त ल्याप्चे लगाउनु पर्ने निरक्षर पो हुनुहुदो रहेछ  म त छक्क परे यो परिघटनावाट त्यसैले त भन्छन् बुर्जुगहरुले "पढेको भन्दा परेकोले जान्दछ ।" भन्ने उक्ति १०० मा सवासय प्रतिशत ठिक हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री Til Bahadur Thedi र सदस्य श्री सन्तबहादुर थापा बृटिश मलाया पेन्सेनर लाहुरे थिए । Til Bahadur बृटिश र मलेशियाको ब्रुनाईको जंगलमा भएको भीषण युध्दमा पेटमा गोली खाएर घाइते भै २ बर्षमै घाइते पेन्सन पकाएका सिपाही, उनी युद्ध र शत्रुसंगका लडाईका कुरा बडो रोमाञ्चक ढंगले बर्णन  गर्दथे र  हामीहरू लाई मन्त्रमुग्ध पार्दथे पनि । हामीले देवनागरी लिपी नेपालीमा लेख्ने जस्तै उनी धाराप्रवाह सररर रोमन अंग्रेजीमा लेख्दथे । अच्चम्म लाग्दथ्यो उनको लेखन सिकाई शैली । बेलायती सैनिक तालिम कोरसमा उनीहरुलाई त्यसरी नै सिकाईएको र घर व्यवहार, पत्राचार समेत गर्ने हुँदा यसैमा गौरव गर्थे, आफ्नो सिकाई उपलब्धी प्रति तर नेपाली व्यवहारमा रोमन अंग्रेजी नचल्ने हुँदा दिक्क मान्थे र गुनासो गर्थे वास्तवमा उनीहरुको लेखाइ आजकाल नेपाली भाषामा र शुद्धसंग अंग्रेजीमा लेख्न नजान्ने शिक्षित र अर्धशिक्षित नेपालीहरुले facebook Language मा धाराप्रवाह प्रयोग गरिरहेकाले यिनका पुर्वज ति बृटिश मलाया  लाहुरे हुन भन्दा अत्युक्ति नहोला । Til Bahadur एक पटकको उनको व्यक्तिगत घटना रोमान्टिक ढंगले विवेचना गर्दथे । श्री नेराप्रावि सिमलचौरलाई थक्लेनीमा स्थानान्तरण गर्न जिल्ला पञ्चायत सचिवालय, शिक्षा शाखा प्युठानमा जाँदा त्यहाका मुखिया साप र खरिदार सापहरुसंग नेपालीमा लेख्ने बिषयमा भनाभन भएछ, अन्त्यमा जिशिनि सापकहाँ पुगेर यथार्थता स्पष्ट भएपछि Til Bahadur कै जीत भएछ ! #आहा कति रोमान्टिक सत्यकथा ! आफू अनपढ भएपनि  बिदेशीको गुलामीको भुक्तमान खाएर शिक्षाको माध्यमवाट समाजसेवीको रुपमा जुटेका यी बुज्रुगहरुले शिक्षकहरूलाई अत्यन्त सम्मान गर्ने र सरकारले तलव दिए पनि गाउँहरुले माना मुठी यथाशक्य उठाई घरदेखि टाढा अपायक शिक्षकहरूलाई उत्प्रेरित गर्न खानपिनको  समुचित खर्च व्यवस्थापन गर्ने गर्दथे । यिनीहरुको यो दायित्व बहन गरि मैले पनि  बिशेषत: ४ र ५ का उच्च प्राथमिक बिद्यालय सेन्टअप भै जाने विद्यार्थीहरु  कमजोर भएकोले उनिहरुलाई छात्रावासमै राखी बिशेष कक्षा सञ्चालन गरि शिक्षण गर्दा त्यसको ज्यादै सकारात्मक प्रभाव त्यस समाजमा पर्यो, साथै जिल्लास्तरीय परीक्षामा पनि उपलब्धि उल्लेखनीयरुपमा रह्यो र मलाई "देउता मास्टर" को संज्ञा मिल्यो र हेड मास्टर बनाउने प्रस्ताव आए पनि म अस्थायी भएकाले त्यो स्वीकार गरिन ।

यसै समय अबधि बि.सं.  २०४१/०४२ सालताका अर्थात्  सन १९८४/८५ सालमा हाईस्कुल दिन बनारस जाने सल्लाह प्युठानी साथीहरुसंग चल्यो कारण त्यो बेलाको समयको प्रभाव त्यस्तै थियोे । मैले बिद्यालयमा राम्रो सेवा गरेकोले आंशिक बेतलवी र तलवीरुपमा मलाई हाईस्कुल अध्ययनकालागी बनारस पठाउने निर्णय व्यवस्थापन समितिले गरे, "बिद्या हराय काँशी जानू, काँशिमा पनि नपाए ....के गर्नु ?? का मर्मस्पर्शी, अव्यक्त कथाहरु यसैमा लिपिवद्ध गरि समेटिएका छन् ।

सोझा साझालाई ठगी धन्दा गर्ने "माछालाई जाल र ढडियामा पारेजस्तैगरि  बरबाद गर्ने र "घरको न घाटको" बनाउने  हिजो आज यिनैका हाईबृड सन्ततिहरु मेनपावर मार्फत नेपालीहरूलाई बिदेश पठाउने गोरखधन्दामा लागेका छन । बर्ष सन १९८४ देखी बिराटनगर निवासी नेता नामधारी दलाल  रामेश्वर शर्माले पनि नक्कली प्रमाणपत्र बेच्ने यहिवाटो समाएछन  । हाम्रो दुर्भाग्य पास भएर पनि तत्कालीन श्री ५ को सरकार, शिक्षा मन्त्रालय मार्फत परराष्ट्र मन्त्रालय समेतले परिपत्र जारी गरि राजकीय कलेज बाहेक गैर राजकीय कालेजलाई मान्यता दिईएको रहेनछ केवल भारतीय विद्यार्थी बाहेक बिदेशीलाई अनुमति नदिएको कारणले WTVC लागेको र यस बिषयमा हाईकोर्टमा मुद्दा (मुकद्द्मा ) चलिरहेको र केश हारेमा ठगी जालसाजी  (फरेव) समेतमा बिषयमा रामेश्वर लगायतका गुण्डाहरु जेल पर्ने यिनीहरू र केही बोर्डकै कर्मचारी मिलेर बदनाम गराएको सत्य तथ्य जानकारी गराई बोर्डलाइ सहयोग गर्न र मेहनत गरि पुन: सफल हुन युपि बोर्डका कृते सेक्रेटरीले राम्ररी सम्झाए । शुरुमा "वही नैपालीका केश है" भनेर डाकैले हपारेका कृते सचीवले मेरो सरलता, इमान्दारी र सत्यतावाट प्रभावित भएर "बाबुले बाटो बिराएको छोरा/छोरी सम्झाए जस्तै" गरि  सम्झाए । तर पनि उपदेश र अर्तीले "हतियारले काटेर  चहराई रहेको  आलो घाउमा के मल्हम पट्टी लाउन सक्थ्यो र ?" म रुँदै भारत सरकार उत्तरप्रदेश शिक्षा बोर्ड, वाट बाहिरिए । "बिद्या हराए काशी जानु" भन्ने उखान पनि  सत्य भएन, काँशीमै बिद्या हराए कहाँ जानू .....;??

यो यथार्थ तत्व ज्ञान पाईयो, एक मन नेपाल नफर्कने त्यतै प्रवासतिर नौकरी गर्ने सोच पनि घरीघरी मनमा आउथ्यो, इलाहावाद, बनारस तिर प्रवासी साथीहरू थिए पनि काम पनि पाईन्थ्यो तर अर्को सबल मन र अन्तर आत्माले पलायन हुन मानेन, नेपाल  फर्कने, संघर्ष पढाई पुनः नेपाल बाटै "बिद्या आर्जनकालागी कहिल्यै बूढो हुँदैन र मर्दिन" भन्ने उक्ति लाई सार्थक बनाउन  उच्च मनोबलका साथ अघि बढने दृढ़ सोंचका साथ नेपाल फर्किए । त्यतिबेला पढाईका अतिरिक्त बिहान् बेलुकी र विदाको दिनमा राजनीतिक प्रशिक्षण हुन्थ्यो । त्यतिबेला सन् १९८४ मा अभानेस्ववियुको बार्षिक मुखपत्र सिमाना पारिको हुँकारमा बि.अधिकारी, दाङको नामवाट प्रकाशित कविता यश प्रकार रहेको छ :

मलिन मुख नेपाल आमा तिम्रो छ अहिले ।
उज्यालो पार्न स्वदेश निम्ति ज्यान दिन्छौं हामीले ।।१।।

प्रवासी बनी अन्योल जीवन आज छ हाम्रो यो ।
सहयोग सेवा परहितमा नै कर्तव्य हाम्रो हो ।।२।।

अधिपत्व गर्छन शोषक जहाँ नेपाल आमा ती ।
बियोगी बनी धरर आँसु खसाउँदै बस्छिन नि ।।३।।

करोडौं पैसा धनीका महल नोकर चाकर ।
भुमीहिन गरिव सुकुम्बासी भै कोही छन बेघरवार  ।।४।।

प्रवृत्ति देशमा पञ्चलाई पुजा गर्ने हो देखिन्छ ।
अन्याय गर्न पञ्चको सरकार अगाडि बढदैछ ।।५।।

शिक्षाको उचित प्रबन्ध छैन अशिक्षित बनेर ।
जीवन काटछन गाउँले सबै अन्योल सहेर ।।६।।

स्वास्थ्यको राम्रो प्रवन्ध छैन स्वदेश नेपालमा ।
यातायात छैन बिकास छैन ती जन्मभुमिमा ।।७।।

धनी र गरिब भेदभाव राख्छन् दाजु र भाइमा ।
त्यो कालो पर्दा अन्धविश्वासको हटाउन हामीले ।।८।।

उदाहरण बनी गर्नुछ काम सक्रिय बनेर ।
यहिनै मैले मन्तव्य छोटो समाप्त पार्दछु ।।
स्वदेशको निम्ति  यो ज्यान दिन अगाडि सर्दछु ।।९।।

प्रायः कसैको पनि जीवन सरल छैन  जटिलता भित्रनै सरलता आत्मबोध गर्नुपर्छ अपितु मेरो स्थिति  झन प्युठान जिल्ला भएर राप्ती दाङमा मिलन बिन्दु भएको माण्डवी (माडी नदी) को बक्रोक्ती बहाव जस्तैः कतै धसिएर, कतै सतही निशब्द, अन्तर्निनाद गर्दै उपयोगहिनरूपमा आफ्नै गतिमा बगिरहेको थियोे । यस  अवधिमा मलाई  प्रायः रुन मन लाग्ने, बीरक्त लाग्ने गर्दथ्यो । यहीँ बिरक्ततावाट उन्मुक्तताको खोजी पनि हुन सक्छ शायद  यहि बीचमा करिब ३ महिना अवधि  श्री ने.रा.प्रा.वि.सिमलचौर, थक्लेनी तिराम प्युठानमा नगएर  साहित्यका एकल असंगठित साहित्यिक रचनात्मक  गतिविधिमा भुल्न थाले । यतिबेला धेरै रचनाहरु रचिएका थिए । बुबाको स्वर्गारोहणको दु:खद परिवेशलाई औपन्यासिक रुपमा बर्णन गर्दा आमाहरू (आमा, सानीमा र ठुली आमा र गाउँले आमा दिदीहरू रुनुभएको थियो साथै मेरो रचनालाई उच्च मुल्यांकनले सराहना गर्नु हुन्थ्यो ती सम्पुर्ण  रचनाहरु सबै अभिलेखिकरण नभएर हाल म संग उपलब्ध समेत छैनन तसर्थ उपलब्ध भएसम्मका प्रतिनिधि रचना जो सुरक्षीत र साझा भएका छन यहाँ दुईवटा रचना पहिलो :-  हास्य निबन्ध बोत्तल प्रसाद ......र दोस्रो  पैंसा? पैंसा? पैसा ?? कविता जो तत्कालीन जय नेपाल निष्पक्ष साप्ताहिक,दाङ घोराहीवाट प्रकाशित हुने  पत्रिका मार्फत (हाल सञ्चालनमा नरहेको) मा प्रकाशित रचनात्मक बिधा  जस्लाई यस शृङ्खलामा  बर्णन गर्दछु ।

मुलतः  बि.सं. २०४२/०४३ समयताका आजभन्दा ३६-३७ बर्ष पहिलाको समयको मेरो साहित्यिक  सचेतनालाई याहाँ प्रस्तुत गर्दा स्वयं आफु भित्रको अन्तर्बोध र अन्तर्चेतनाको स्तर आँकलन गर्न सकिन्छ जस्वाट  बर्तमानको स्थिति वा  अवस्थाको गोरेटोको डोब रुपि पैदलमार्गलाई सुक्ष्मरूपमा आँकलन गर्न सकिन्छ तसर्थ   यहाँ प्रस्तुत छन तत्कालीन स्थानीय पत्रपत्रिकामा  प्रकाशित जस्ताको तस्तै मेरा दुईवटा  रचना :-

(१) हास्य निबन्ध - बोत्तल प्रसाद........

आजभन्दा करिब १२ बर्ष पहिलेको कुरा हो । जस्वेला म अध्ययन कार्यमा समर्पित थिए । आफू विद्यार्थी जगतमा प्रवेश गरेको हुँदा विविध क्रियाकलापहरुमा  तिखो आँखा लगाई नियाल्थे । त्यस गाउँ, टोल, समाजमा घटित विभिन्न पक्षलाई उत्तिकै महत्त्वपूर्ण रूपमा समदृष्टी दिने गरि दैनिक क्रियाकलाप हुन गयो । केही समयको अन्तरालमा मैले बोत्तलप्रसाद अधिकारीको कथा बुझ्ने मौका पाए । आफ्नो थर पनि अधिकारी भएको हुँदा मैले बोत्तल प्रसाद अधिकारीलाई मान्थे । उनी पनि मलाई अरु भन्दा बिशेष दृष्टिले हेर्ने गर्थे अर्थात प्यारो गर्थे तर जति प्यारो गर्थे आफ्नो कलिला गाला टोकिदिने हुँदा पछि पछि म अलि सतर्क हुन थाले र अलि टाढै रहेर पनि प्रायः म बोत्तल प्रसाद अधिकारीको सम्पर्कमा रहने गर्दथे ।

श्रोतागणगरु तपाईहरु नअकमकाउनु होला बोत्तल प्रसादको अर्थ के हो ? यसको बिस्तृत अर्थ त म बताउन सक्दिन संक्षिप्त अर्थ भन्दैछु - हुनत कसै कसैले बोत्तल प्रसादलाई बोत्तल सिंह पनि भन्दछन ज जस्ले जेभने पनि आखिर बोत्तल प्रसाद त खास बोत्तल हुन । चौविसै घण्टा बोत्तलको तक्मा भिरेर त्रिभुवननगर घोराही- बैङ्करोड -नयाँ बजार - बसस्ट्प -पक्रैया (हाल यसको नाम रुपान्तरण भइ मिलनचोक रहेको छ ।) चारचक्कर लगाईरहने बोत्तल सिंहलाई नचिन्ने प्रायः कम हुन्छन् यसैले मैले याहाँ बोत्तल प्रसाद ....को परिचय दिरहनु न्यायसंगत देखिन्न तापनि यदि तपाईलाई प्रष्ट नचिनी नहुने भयो भने बोत्तल प्रसादको साख्खै मामा पर्ने ढनमन सिंह बिलासीलाई सोधे पनि हुन्छ । नभए त्यो पनि सम्भव हुँदैन भने प्रत्येक आवारालाई खारेर सोध्दा त्यसले यसको शाब्दिक अर्थ बताउन सक्नेछ ।

अब परिचय पश्चात् कुरो आयो बोत्तल सिंहको स्थिति तथा चलन चाँजोको विवरणमा पनि उनी न जिमिन्दार हुन न निर्धन हुन  । मध्यम परिवारमा जन्मिएका बोत्तल प्रसादको स्थितिलाई अझै नियाल्दा उनको नामवाटै प्रष्टै थाहा हुन आउँछ उनि अधिकारी हुन । मेरो थर जस्तैः जन्मसिद्ध अधिकारी भने उनी होईनन । उनी अफिसर भएरै अधिकारी भएका हुन तर अझै सम्म त उनी गजेटेड अफिसर भएका थिए अब भुतपुर्व अधिकारी हुन वा वर्तमान अधिकारी  हुन ? त्यसको यथार्थता त अझै छर्लङ्गाउन सकेको छैन । चलन चाँजोपाँजो तथा उनको चारित्रीक क्रियाकलापमा घरमा बस्दा गजबस्त्र गणेशजी झै हुने बोत्तल सिंह बोत्तलको तक्मा भिरेर सडकमा दगुर्दा हजारौं जवानहरू संग भने नम्र र मृदु भाषी हुन्छन् तर उनी कसरी यस्तो बन्न सकेका हुन ? यो कुरा मैले अझैसम्म बुझ्न सकेको छुईन ।

उनी कति सम्म चर्चित छन तो भन्दा उनी बहुसंख्यक मानिसहरू सित परिचित छन । लाटो, गाँडो, हाकिम, ढाक्रे, डल्ले, नेप्टे, अस्सल, कमसल जस्तोलाई भेटे पनि नमस्ते गरिदिँदा फुरुङ्ग बनेर त्यसै लठ्ठ्क्कले आफ्नो धोती फुस्केको पनि चाल पाउँदिन अनि यस्सो अलि अलि अर्नि खाने चलन छ कि ? भनी दुई हात नचाईदिदा जग्गा बेचेको धन भए पनि, कृषि बिकासको ॠण/सहायता रकम भए पनि, स्वास्नीको तिलहरी गहना बेचेर भए पनि चार बोत्तल लगाएर बोत्तलेको हाँक र गफमा खिसिक खिसिक हाँसेको पत्तो पाउँदो रहेनछ ।
आजकाल यिनै बोत्तलेहरुको निकै दबदवा छ। अफिसमा गएपनी बसस्ट्पमा गए पनि, सिनेमामा गए पनि जहाँ पनि बोत्तलेहरु हाकिम पल्टिरहेका हुन्छन् । अझ एकपटक अशिक्षित दुर्गम पहाडको गाउँमा मेरो शिक्षक सेवामा यात्राको अनुभवमा अशिक्षित र रुढीबादीग्रस्त पछौटे गाउँमा बोत्तल सिंह नेता बनेर कुर्लिरहेका हुन्छन् । त्यहाँको साँगुरो गल्लीहरुमा सबलाई धम्काउँदै दादा बनेर हिडिरहेका हुन्छन् । साधारण मान्छे झन उसको पछाडि आउनै डराएर अलि परैवाट तर्सिएर हिंडिरहेका हुन्छन् ।

यो जमानाको महङ्गी र जनसंख्या वृद्धि भोक, रोग, अशिक्षाको निवारणार्थ दृष्टि नपुर्‍याई टाउकेहरु  पनि  बोत्तलमा तेल भर्ने काममा दत्तचित्त छन ।

मेरा युवावस्थाका संघर्षका आत्मकथा २.

यसै सन्दर्भमा जय नेपाल, निष्पक्ष साप्ताहिक, दाङवाट २०४३ कार्तिक ५ गते बुधबार प्रकाशित कविता यस प्रकार छ :-

(२) पैसा ? पैसा ?? पैसा ???

मानिस मानिसलाई किन्छ अनि बेच्छ ।
बिबसताको बजारमा,  क्रय- विक्रय हुन्छ ।।
मानवताको हाट लाग्छ, भाडा चल्छ ।
त्यसैले धनमा मतान्ध हुनेहरू कराउँछन ।।

पैसा !             पैसा !!               पैसा !!!

योग्यता प्राप्त योग्य मानवहरु ।
जीवन जीउन संघर्ष गरिरहेछन् ।।
प्रत्येक स्थानहरूमा निन्याउरो मुख लगाएर ।।
बेरोजगारीको कोलाहल, मच्चीईरहेछ ।
मलिनतामा झोक्राएको छन, मानवताको उपहास देखेर ।।
केवल धन लोलुपहरु मन्त्र झैं जप गर्छन् ।।

पैसा !                    पैसा !!             पैंसा !!!

व्यक्तिगत त के राष्ट्रिय सम्पत्ति नै उडिरहेछ  ।
बियर, भोड्का र थ्रीएक्समा, पप्लु र ड्ब्लुमा ।।
अनि  चिच्याउँछन स्वप्नमा ।।

पैसा !                     पैंसा !!           पैसा !!!

बाराणसीमा शैक्षिक वा प्राज्ञिक सफलता हाँसिल नभए पनि  राजनीतिक सचेतता र जुझारु बामपंथीको छाप मानसिकरुपमा अमीट भएर बसेको थियोे । यसैको परिणामत नेपाल फर्किएपछि लगत्तै चरम पञ्चायत कालमा पनि बामपंथी राजनीतिक सक्रियता बढ्यो । तात्कालिक समयमा मानपुर गाउँ पञ्चायतमा स्थानीय  पञ्चायत चुनावको माहौल सृजना भयो । अन्ततः  म पनि त्यही माहोलमा होमिए ।

त्यतिबेला पञ्चायतका प्रधान पञ्चमा हाम्रो प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (मा.ले.) वाट साविक मानपुर गाउँ पञ्चायत वडा नं.४ बनकट्टा निवासी कमरेड  छविलाल ओली उठ्नु भएको थियोे । म पनि मानपुर गाउँ  पञ्चायतको वार्ड नं.८ को वार्डाध्यक्षमा मनोनयन दर्ता गराए । मजगैका सचेत युवा तथा तात्कालिक शिक्षक  दाजु श्री चेतनाथ लम्साल (हाल वाहा राष्ट्रिय बाणिज्य बैंकवाट  सेवा निवृत्त भै मजगैं वाहाँको पुरानो बासस्थानमा बस्नु भएको छ) । यस्तै मजगाउँका युवा दाजु तत्कालीन शिक्षक श्री रामबहादुर वली (हाल वाहां दाङ जिल्लामै शिक्षक सेवावाट निवृत्त भै आफ्नै गाउँ मजगाउँमा बस्नु भएको छ ।) वाहाँहरु समेतको सहयोगमा मानपुर गाउँ पञ्चायत वार्ड नं.८ मजगाउँ र जमेरा गाउँको चौधरीहरुको समेत समर्थन बढेर मेरो स्थिति मजबुत हुँदै गएपछि गाउँका सामन्ती ठकुरी श्री अशोक शाह (हाल निजको परिवार मजगाउँवाट काठमाडौ बसेको र निज अशोक शाहको स्वर्गारोहण भैसकेको अवस्था रहेको छ ।) निज समेत् ले स्थानीय श्री दलबहादुर बस्नेत लाई उठाएर मेरो विरुद्ध क्षेत्रीवादको नारा र यि कम्युनिस्टहरु जात धर्म नमान्ने, बाहुन भएर हलो जोत्ने दिदीबहिनी चेलीबेटी पनि नभन्ने, गाई, कुकुरको मासु खाने जस्ता सुन्न नसकिने, कान थुन्नु पर्ने सम्मका झुट्ठा आरोपहरु लगाई म समेत पुरै तत्कालीन  नेकपा मालेको टिमलाई बेईजतीका साथ अभद्र व्यवहार गरि राजनीतिक छविमा हिलो छ्याप्ने काम गरे । त्यतिबेला केवल  दाङ जिल्लाभर मात्र नभएर समस्त मुलुकभर पुँजीवादी राज्यसत्ताको मतियार र अमेरिकी साम्राज्यवादीहरुले यस्तै यस्तै होहल्ला र बितण्डा मच्चाउने गर्दथे ।

स्मरणरहोस बुबाको असामयिक  स्वर्गारोहण भएपछि  पारिवारिक दायित्व र वाध्यात्मकरुपमा मैले पनि एक जना जीतबहादुर बिश्वकर्मासंग हलो कोदालो गरि आफ्नै घर खेती गरेकोलाई पनि गलत अर्थ लगाएर मेरो समेत वैयक्तिक चरित्रहत्या र मानमर्दन गरिएको थियो । यत्ति मात्र नभई पैसाको खोलो बगाई मलाई पराजित  गर्न र सिङ्गो कम्युनिस्ट पार्टीलाई मानमर्दन गर्दै बदनाम गरि मलाई  मारपिट गर्ने धम्की समेत दिईएको थियो । करिब एक हप्ता सम्म म घरमा नै नबसेर बघौंसी, जमेराका चौधरी गाउँमा कमरेडहरुसंग बसे र शारीरिक रुपमा कुटपिट हुनवाट सम्म बचे, यद्यपि घरमा मानसिक रुपमा  त्रासको वातावरण बनाईदिएका थिए । यस्बेला मलाई राजनीतिक रुपमा श्री चेतनाथ लम्साल सर श्री रामबहादुर वली सरहरु र मजगाउँका अगुवा स्व. गयाप्रसाद चौधरी समेतले ठुलो हौंसला बुलन्द गरि साथ दिएका थिए । त्यतिबेला  "हाँगामा बसेको चरा" अर्थात् थारु भाषामा "डैयामी बैठलक चिडैया" चुनाव चिन्ह लिएर म बि.सं. २०४३ को स्थानीय चुनावको चुनावी मैदानमा होमिएको पनि थिए ।

कल, छल र मुढेबलका बाबजुद यद्यपि झिनोमत् ले पञ्चाग्रेस (पञ्च+काँग्रेस) समुहको बिजय भयो । मेरो विरुद्ध जस्तै प्रधान पञ्चको समग्र चुनावमा तत्कालीन हाम्रो प्रतिबन्धित नेकपा (मा.ले.) को पराजित र काँग्रेस मण्डलले गाउँ पञ्चायत कब्जा मात्र गरेनन हामीलाई पराजित गर्न सघाउने सामन्ती बाबुसाहेव अशोक शाह समेतका  दलाल प्रबृत्तिहरुले भोज पार्टी समेत खुवाएर ठूलो युद्ध जितेझै गरि खुशी पनि मनाए तर नैतिकताको मुल्यांकनले हेर्दा  म लगायत हाम्रो संगठन पराजित भए पनि उच्च नैतिक रूपमा मेरो बिजय भएको थियोे यसको अर्थ सिङ्गो  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको बिजय भएको थियो । यसैको परिमार्जित एवम् परिवर्तित रुपमा बि.सं.२०४९ साल पछि मात्र स्व. मदन कुमार भण्डारी, क. मनमोहन अधिकारी र सहाना प्रधानहरु समेतको अगुवाईमा नेकपा (ए.मा.ले.) को विधिवत् जन्म भएको थियो ।

यस्तो बिडम्बना एकातिर मैले झेल्नुपरेको थियोे भने यसवाट  म गाउँ  समाजमा वैयक्तिक रुपमा  राम्रो छाप भएर चिनिए पनि कुरा काटने र बिग्रेको रुपमा घर परिवारमा मलाई स्वच्छ दृष्टिकोण राखेर नहेरिदा म पुनः लाहुरे बनेर भारत प्रवास जानू पर्ने अवस्थामा पुगिसकेको र यतातिर  शिक्षकमा राजीनामा स्वीकृत नगरिएको हुँदा  पुनः फर्की आँउदा उक्त तीन महिना अबधिको बेतलबी बिदा गरि पुनः शिक्षकमा बहाली हुन सक्ने खवर प्राप्त भएकोले बडो भारी मन र गह्रौ पाईलाका साथ म प्युठान तिराम सिमलचौर, थक्लेनीमा प्रस्थान गरे । त्यहा गएर पुनः पहिले झै न्यानो माया, स्नेह र ममता पाए पनि म भित्र ज्यादै ठुलो अग्निज्वाला दन्किरहेको थियो । उन्नति र प्रगतिको हुटहुटी दावानल जस्तैः बनि ह्रदय भत्भती पोलिरहेको थियो ।

शायद यहि परिकल्पनाको बेजोडताले र शिक्षक हुँदा मलाई त्यतिबेला तिरामका शिक्षक साथी श्री इन्द्रमणी, प्युठान खैराका श्री धनेश्वर पोखरेल  समेतका प्युठानी साथीहरुको  सौजन्यमा अध्ययनार्थ उपलब्ध गराईएका प्रगतिशील पुस्तकहरू  दर्शन शास्त्रको प्रारम्भिक ज्ञान, म्याक्सिम गोर्कीको 'मदर' को हिन्दी भर्सनको 'माँ', लियोटोलस्टोयको 'पुनरुत्थान' जस्ता रसियन फेडरेशनका प्रगतिशील साहित्यका दर्जनौ किताबहरु रात रात् भर पढेर दृढ आत्मबल हाँसिल गरे पनि त्यसको प्रयोगभुमि सीमित रहि बौद्धिक, मानसिक,  मनोबैज्ञानिक र संवेगात्मक रुपमा निकै प्रबुद्धता एवम् निखारता आएको थियो । यसैको परिणामत "बाउन्न हण्डर र त्रिपन्न ठक्कर" खाएर पनि केही असल प्युठानी साथीहरूको सल्लाहले पुनः नेपालवाटै एसएलसी दिने दृढतालाई गम्भीररुपमा मनन गर्दै म पनि यस दिशातिर अगाडि बढदै गए  ।

बि.सं.२०३७ सालको प्रवेशिका एसएलसी परिक्षा  दिए र असफ़ल भएपछि  बि.सं. २०४१/०४२ सालको बाराणसी, भारत गएको सन्दर्भ पश्चात् पनि पुनः नेपालवाट  दाङ घोराही स्थित भरतपुरवाट आफू भन्दा करिब  १० बर्ष जुनियर भाईहरु आफ्नै भाइ बाबुराम  अधिकारी र मजगैंका छिमेकी भाइ श्री तेजबहादुर बस्नेत भाइसंग पढाइमा सहकार्य हुन गयो ।

यहि अबधिमा दशैको बिदामा घर आएको बखत अङ्कल श्री डिल्ली अधिकारी दुधराससंग बिदाको समयको सदुपयोग गरि  जियोमेट्रीको ट्युसन पढेर सामान्य अवधारणा बसाले । बणारसवाट समेत फेल भएर आएको भनेर आफै नक्कली प्रमाणपत्र ल्याएका श्री कुलराज गौतम, (बघौंसी) लगायतका साथीहरूले  धुवाँदाररुपमा मेरो बदनाम गर्दागर्दै पनि अडिग  सगरमाथा जस्तैः आफ्नो उद्देश्यमा सतत प्रयत्नशील रहिरहे ।

बैगुनीलाई गुनले मार्नु भनेजस्तै आफू सफल भएपछि कुलराज लगायतका साथीहरूलाई पनि आफ्ना पाठ्यपुस्तक, नोट साथै  हौंसला दिएर सहयोग पनि गरे । फ़लत उनि पनि एसएलसी सफ़ल भै आइएल सम्म अध्ययन गरे । आफ्नो एकल उन्नति प्रगति वा सफलता त्यति ठूलो कुरो होईन जति अरुको जीवनमा परिवर्तन ल्याउन वा बाटो देखाउन सकिन्छ र यहीँ नै स्वयं अझ अगाडि बढदै जाने मार्गचित्र तयार हुन्छ ।

राजनीतिक चक्रव्युहवाट जिवित अभिमन्युको रूपमा पुनः शिक्षक सेवा प्रारम्भ  गरे । यो कालक्रम आजभन्दा ३६ बर्ष पुर्व बि.सं.२०४३ सालको हो  । तर शिक्षक सेवाको यो उत्तरार्धको क्रम अलि बढी गम्भीर र चिन्तनशिलरुपमा व्यतित भयो । बिद्यालयवाट बिदा लिएर करिब ३ महिना घोराही भरतपुर स्थित मानबहादुर श्रेष्ठको घरमा मेरो भाइ बाबुराम अधिकारी र गाउँले भाइ श्री तेजबहादुर बस्नेतजी संग डेरा जम्यो । यो हाम्रो मिलन र संयोग अपुर्व थियो । भाईहरु ताजा नियमित एसएलसीको बेजोड तयारी गरेका होनहार युवा जुझारु  शक्ति थिए भने  म उनिहरु भन्दा बूढो साथै "बाउन्न हण्डर: त्रिपन्न ठक्करले ईस्पात" भएको । यहाँसम्म मैले के गरेन होला ! दस कक्षामा पढदा पढदै चौध बर्षे किशोरावस्थामा अत्यन्त माया र स्नेह गर्ने ममताका खानी पुञ्जनिय पिताजीको असामयिक मृत्यु भएकोले काँधमा बोकेर  सतगत गरि, घरव्यवहार खेतीबारी सम्हाली, शिक्षक सेवामा रोल्पा- प्युठान पुगी अध्ययनको मृगतृष्णाले बाराणसी इलाहाबाद पनि पुगे । प्रवासवाट फर्किए पछि पञ्चायत राजनीतिमा यसरी होमिए कि मानौं म खुँखार पञ्च हुँ हुनत तत्कालीन नेकपा माले पार्टीको निर्देशन बमोजिम प्रतिबन्धित नेकपा मालेको समर्थन र निर्देशनमा उठेको थिए  परन्तु, यस्तै गरि  तिराम प्युठान, सिमलचौर, थक्लेनीमा बोत्तल प्रसादजीहरु संग संगत संघर्षशिल शिक्षक जागीर समेतका सयौं अनुभव जुन मैले यस भन्दा पहिला प्रस्तुत गरिसकेकोले सबै याहाँ पुनराबृती गरिएन ।

हो पुनः मुल प्रसङ्ग संग जोडे । आफ्नै भाइ बाबुराम र गाउँले भाइ श्री तेजबहादुर बस्नेतजी संग भरतपुर डेरा गरेउ । घर मजगाउँवाट घोराही, भरतपुर डेरासम्म बसपार्क वाट भाईहरुसंग हामी विद्यार्थीका झिटी~गुण्टा ओढ्ने ओछ्यान भरियालाई बोकाउ भनेर भाइहरुले जिद्दी  गर्न थाले, मैले अलि गह्रुङ्गो भारी बोकेर कुदे पछि बडो लज्जास्पदरुपमा भाईहरु बजारको भित्री वाटोवाट सडक डिभिजनको तल तिर ठुलो चौर थियो त्यहाँ भेटन आईपुगे,  र त्यहाँ वाट मेरो  भारी पनि उनीहरुले खपाएर मलाई हल्का बनाईदिए, तथापि आफै बोकेकोमा मसंग बिबाद गरे ।

त्यतिबेला दाङमा  व्यवसायिक भरिया नभएकोले भरियाले मनमौजीरुपमा मुखले मागेको पैसा दिनुपर्दथ्यो त्यो कमसेकम पन्ध्र  रुपैया पर्दथ्यो जुन अहिलेको करिब दुईसय बराबर हो, त्यो अहिलेको विद्यार्थी कालमा पैसा बचाएर शिक्षाप्रद बिषय किन्नु पर्दछ भनेर मैले बचाएको पचास  रुपियाँको  किनेर ल्याएको अन्तर्राष्ट्रिय  मञ्चको छुट सहितको बार्षिक  अङ्क देखाए, यद्यपि मेरो जुक्ति वा तरिकाले  उनिहरुलाई सन्तुष्ट बनाउन नसके पनि म स्वयं सन्तुष्ट भएर मैले अनाडी ठिटाहरुसंग हार स्वीकार गरिन बिजित भाव कायम राखे, मेरो यो स्वभाव  देखेर उनिहरु भित्रभित्रै आक्रोशित भए पनि बाहिर  अभिव्यक्त गर्न सक्ने अवस्था थिएन । म अलि, जेष्ठ, परिपक्व र व्यवहारिक हुनु स्वाभाविक थियो । गाउँले भाइ श्री तेजबहादुर बस्नेतजीका दाइ श्री डम्बरबहादुर बस्नेतजी तत्कालीन गाउँ पञ्चायतका प्रगतिशील वडाध्यक्षले पनि मेरो जिम्मामा आफ्नो भाइ पठाएका थिए तर केटाहरू म भन्दा स्मार्ट बन्न खोज्थे । मैले हस्तक्षेप गर्नै पर्थ्यो त्यो उनीहरुलाई सह्य हुँदैनथ्यो ।

हुनत भाइहरु भन्दा म करिब सात आठ बर्ष जेष्ठ  हुँदो हुँ तर यत्रो अवधी भनेको एसएलसी पश्चात् पनि आई.ए; बी.ए; र एम.ए. सकेर पनि क्याम्पसमा उपप्राध्यापक वा निजामती सेवामा शाखा अधिकृत स्तरको सेवा वा जागीरमा बहाल भैसक्नु पर्ने समय हो तर नियतिको बिडम्बनाको शिकार भएर म शैक्षिक उन्नयन प्रगतिमा यथास्थितिवादी जस्तो भएर भुधरातलमा रहेको थिए । यस अवस्थामा म प्रति  घर-परिवार र समाज शतप्रतिशत नकारात्मक र बिमुख थियो । आफ्ना भनाउँदाहरु बितृष्णा गर्दथे, बलेको आगो ताप्ने, भाग्यवादी र अकर्मण्य सोचका आफन्तहरु बाबु टोकुवा, बिना कामको पढन नसक्ने बुद्धू, हरिलठठकु जस्ता तीखो काँढारुपी वचन बाणले घोज्दथे । बाबू आमाको रबाफमा नाच्ने धनाढ्यका सन्ततिहरु संग त मलाई कुनै प्रवाह थिएन तर यदाकदा आफ्नै भाइबहिनी र आमावाट पनि यस्ता छुद्र बचनरुपी बाण प्रयोग हुँदा आँखावाट बर्षात वा साउने झरीको भेल सरी अश्रुधारा  पिडादायी आँसु बर्षा गर्नु  पर्दा र सम्झाउन स्वयं वा इश्वर वा प्रकृति मात्र साक्षी हुँदा यो अवस्थाको वास्तविक बर्णन म अहिले शब्दमा गर्न पुर्णतः असफल भएको स्वयं स्वीकार गर्दछु ।

भरतपुरमा दोश्रो दिन हामी पद्योदय पब्लिक माध्यमिक बिद्यालय, भरतपुरका मुर्धन्य अंग्रेजी बिषयका मा.बि.शिक्षक श्री भगीरथ उपाध्याय अधिकारी, (जन्द्रागाउँ दाङ हाल: भरतपुर निवासी) कहाँ ट्युसन पढाउन भनि अनुरोध गर्न गयौं । महिनाको एक बिषयको करिब अक्षरेपी तीनसय फि र  चालिस पचास जना सामुहिक  सहभागी हुन्थे । शनिबार, सार्वजनिक बिदाको दिन र शिक्षकलाई टाउको दुखे वा रुघाखोकी लागे वा गाउँघरमा कुनै मर्दा पर्दा कक्षा अवरुद्ध  हुन्थ्यो । खासमा सरदर महिनामा पन्ध्र दिन पढाई हुन्थ्यो, त्यही अवधी पनि शिक्षकका व्यक्तिगत अप्रासंगिक गफ र कमसल विद्यार्थीका भडुँवा कुतर्कले आधा समय बरवाद गरिदिदा अब मात्र बाँकी त्यो पनि आधा समय पचास जना र अगुवा जान्ने विद्यार्थीको पोल्टामा लगभग पञ्चानब्बे प्रतिशत समय जाँदा आफ्नो भागमा ज्यादै न्यून बिषयगत शिक्षकले आफुसंग बिचार बिमर्श गर्दा गौरबान्वीत हुनु पर्ने अवस्था सारमा तत्कालीन अवस्थामा अंग्रेजी, गणित र बिज्ञान बिषयका शिक्षक अत्यन्त महंगा थिए ।

यसै सन्दर्भमा मेरो ९०० पुर्णाङ्क को पुरानो एसएलसीको छुट्टै पाठ पढाउन शिक्षकहरू ईच्छुक थिएनन्, यसकोलागी मैले आफ्नै अधिकारी "बन्धु" तथा सगोत्री अंग्रेजीका बिषय शिक्षक  श्रीमान्  भगिरथ उपाध्याय अधिकारी संग कति भगिरथ प्रयत्न गरे, यस्तै गरि अर्का एकजना स्वनाम धन्य रझेना निवासी गणित बिषयका बिषय शिक्षक श्री हरि गौतमसंग पनि स्वयं भगवान हरिलाई खुशी तुल्याए जस्तै अनुनय बिनय गर्नुपर्यो । हरिसंग म शिक्षक भएको परिचय समेत दिई आँखावाट आँसु खसालेपछी महिनाको अक्षरेपी तीनसय पचासमा मा पढाउने त्यो पनि पदमोदय हाईस्कुलको बाह्र बजे दिउँसोकि खाली समय अफिस कार्यकक्षमा उपयोग गर्ने  मिल्ने सम्मका सातसय पुर्णाङ्कका भाइ बहिनीहरुसंग साझारुपमा पढने सल्लाह भयो ।  सोही मुताविक बिहान सात बजे देखि आठ बजे बजेसम्म हरि गौतमको रझेना स्थित उहाँकै आफ्नै निवासमा र दिउँसो बाह्र बजेको खाली पिरियडमा  पद्मोदयमा धाउन र बिहान नौं बजे देखी दश बजेसम्म भरतपुर स्थित श्री भगिरथ उपाध्याय अधिकारी कहाँ पढन थाले । मेरो लगनशीलता र मेहनत देखेर शिक्षकहरूले पनि बडो माया गरेर ध्यान दिएर पढाउन थाले ।

यसै सन्दर्भमा बि.एस्सी. साईन्स सरसंग जियोमेट्रीको पढाईको सन्दर्भ रोचक र शिक्षाप्रद छ  । भरतपुर डेरा बस्न थालेको एक हप्ता पछि ज्यामितिको माध्यमिकस्तरको अवधारणा बडा दशै बिदामा अङ्कल श्री डिल्ली अधिकारी, दुधरास वाट अवधारणात्मक ज्ञान प्राप्त गरेको र त्यसमा थप स्पष्टताको लागि भरतपुर पद्मोदय परिषर हाता भित्र रहेको साईन्स सरको आश्रममा रविवार बिहानै सात बजे तिर प्रस्थान गरे । एउटा सानो साधुको जस्तो कुटी, एउटा दुहुनो गाई पालेका, बारीमा लौका, फर्सी, बोडी जस्ता रहरलाग्दा हरिया तर्कारी, सागसब्जी रोपेका साच्चिकै साईन्स सर एउटा महान तपस्वी जस्ता देखिन्थे । उनका बारेमा धेरैवाट धेरै कुरा सुनेको थिए । दुई तीन पुस्तालाई अध्यापन गराई सकेका दङगालीहरुलाई बिशेषत: तीन पुस्तालाई गणित र बिज्ञानको राम्रो छाप बसालेका महान गुरुजी संग साक्षात्कार भइ  गणितको दीक्षा माग्नु थियो जब उनको सानो सिढीँवाट माथी उक्लेर उनलाई भेटन कोही महाशय भित्र गएको आभास पाए पछि बाहिरै पालो कुरेर बसे । भित्रवाट साइन्स सरको कडा झम्टाई मेरो कानमा ठोकियो । साईन्स सर भन्दै थिए "तुम्हारा ये नालायक बेटाका स्तर एसएलसीका नहि है तो फिर इसको आठौं  क्लासमे भर्णा करदो । ईसको मै नहि पढाउङ्गा । मै सही स्तरसे निचे अध्यापन कभी नहि करुङ्गा ।

ती भित्र गएका महासय बडो अनुनय बिनय भावमा भन्दै थिए - "ये मेरा बेटाके लिए, जितना पैसा लागेगा मै खर्च करुङ्गा प्लीज सर मेरे इज्जत रखदिजिए, इसको गणित  पढादिजिए ।"  ति महासयको वचन भुईमा खस्न नपाउँदै साईन्स सर एटम बम झै पडकिए । "धनी बापका बिगडा औलाद मैने पहले हि कहदिया । मेरा निर्णय अकाट्य  है । तुम मुझे नहि जानता । मुझे पैसे नहि चाहिए, इज्जत चाहिए । पैसेके लिए यहाँ बहुतसे लोग काम करते हैं, हरि गौतम, रझेना के पास  ईसको भेजदो व भि मेरा चेला है, फिर भि हममे  बहुत फरक है । व पैसेके लिए काम करता है मै नहि । मैने इसको तेरे सामने पहला इम्तहान लेकर तीन सवाल दिया इसने तीनमे एक भि नहि मिलवाहा । ये सवाल एक आठवा क्लासके, दुसरा नववाँ क्लासके और तिसरा दस क्लासके लिए है । हाइस्कुलने  मुझे मेरा योग्यता क्षमता के तलव से अतिरिक्त  सेवा सुविधा  मासिक एक हजार रुपये दिया है, बैठनेके लिए ये मकान दिया है । मेरे पास गाय है दूध खाने के लिए । सब्जी वब्जी यहि लगाता हुँ, अचार बनवाता हुँ, अपनी हातसे बहुत अच्छीसे खान्पिन करता हुँ, तु बहुत पैसेवाल है क्या ? पैसे खाता है तु । मुझे तेरे पैसे भि नहि चाहिए और तेरा बेटाको मै कभी भि नहि पढाउङ्गा । मेरा सल्लाह मान बहुत हितकारी होगा तुझको इसको आठौं  कक्षामे भर्णा करदे, वा एसएलसी देना है तो हरि गौतम, रझेना के पास ले जा । तु अभि यहाँ से निकल जा । तेरे साथ फाल्तु बेमतलके बकवास करनेके लिए मेरे पास टाईम नहि है ।" ति महासय को हुन मैले चिनिन, तत्कालै  मैरै अगाडि वाट बाबू छोरा बाहिरिए । अब भने मलाई साईन्स सर सिंह जस्तै लाग्यो र साईन्स सरका धेरै नकारात्मक टिप्पणी किन सुनिदोरहेछ भन्ने कुरा छर्लङ्ग भयो र दह्रो मन मस्तिष्क बनाएर सरासर भित्र पसेर अभिवादन ट्क्राए । मलाई शिर देखि पाउ सम्म घुरेर हेरेर चिनेको भावमा क्यो आया मेरे पास भनेर सवाल गरे । मैले पनि एकै वाक्यमा भने एसएलसी तयारीके लिए आपके पास जियोमेट्रीको ट्युसन पढनेके लिए आहा हुँ गुरु भनेर दुबै हात जोडे । तुम हाईस्कुलमे हरिके पास पढता है न उसके साथ क्या हुवा ? गुरु मैने हरिके पास अलजेब्रा पढता हुँ और आपके पास जियोमेट्री के लिए आया हुँ । एक दम अट्टहास पुर्वक साईन्स सरले फलाके "इतने बुड्डे हो गए, क्यो पढते हो हाईस्कुल, बालवच्चेको पढाओ ।" मैले हात जोडेर बिनय भावमा भने गुरुजी ! मैने अभि तक शादी भि नही किया है, कहाँ बालबच्चा होङ्गे, फिर मै भि आप समान बडा नहि बहुत छोटेमोटे प्राथमिक बिद्यालयका टिचरमे प्युठानके पहाडमे पढाता हुँ  । मुझे एसएलसी करना बहुत जरुरी है, प्लीज जियोमेट्री पढादिजिए  । यति भने पछि साईन्स सर तुम्हारे पास कपि  और पेन लाया हो, मुझे दो भनेर म संग लिएर गएको नोटबुक र पेन दिएँ । साईन्स सरले तीनवटा जियोमेट्रीका सवाल लेखेर पौने घण्टामे ये तीन सवाल अभि हलकरके मुझे पेश करो भनेर मेरो कपि कलम हस्तान्तरण गरे । ती सवालहरु एउटा सरल रेखा र बक्र रेखाको फरक अर्को सजिलो अर्थात साधारण साध्य र तेस्रो जटिल तथा मिश्रित साध्य थिए । खुब घोटिएर गरे पहिलो र दोस्रो सवाल सजिलै हल भयो । तेस्रो अन्तिममा कन्फ्युज भयो तथापि  हल गरे । तोकिएको समय चालिस मिनेट भित्रमा सरलाई बुझाए । फटाफट हेरेर म जहाँ कन्फ्युज भाको थिए सर त्यहीँ अडेर "दो मोहर और एक रुपय एक हैं" फिर इसमे क्यो कन्फ्युज हुवा ? फिर तुने किससे जियोमेट्री सिखा अवधारणा  अच्छा है । भनेर भनेपछि मैले डिल्लीराज अधिकारी, दुधराससंग दशैं बिदामा सामान्य सिकेको हो भनेर भनेपछि  व भि मेरा चेला है, उसने गलत सिखाया ईसलिए ये अन्तिम सवालके अन्तमे तुझे कन्फ्युज होना पडा । तुम मुझ्से पढ सकते कल इसि बक्त आना पैसे मासिक दो सौं है हो तो देना नहि तो कुछ वात नहि भनेपछि मैले साईन्स सरको हातमा दुई सय रूपमा थमाएर बडो गौरवान्वितरुपमा बिजयी भावमा गुरुलाई दुबै हात जोडेर बाहिरिए । त्यस पछि साईन्स सरसंग करिब डेढ महिना जियोमेट्री सिके बाँकी आधा महिना को अक्षरेपी एकसय दिन खोज्दा लिएनन् । अन्तमा उनको हातले बनाएको एकदम स्वादिलो बनारसी अचार खान दिदै भने तुम भि टिचर मै भी जो पहले दिया व बहुत है अब नहि । अपने पास रख व पैसे । तुझे बहुत काम आएगा । तुझे पढाता हुवा बहुत आनन्द आया फिर यैसा जेहेन्दार लडका एसएलसी क्यो फेल हुवा मुझे बहुत ताजुव है, नेपालके ये एसएलसी परीक्षा प्रणाली ठिक नही है । मैले बडो विनम्र भावमा भने उस बक्त मेरा पिताजीका असामयिक देहान्त हो कर मेरा बहुतसा पढाइ छुट गया, ये मेरा दुर्भाग्य है, अंग्रेजी  और गणित  मे बहुत न्यून मार्क्स अपुग होकर मेरा भबिश्य तवाह हुवा मैने बहुत हण्डर और ठक्कर खाकर यहाँ तक आया हुँ गुरु ! अब मै सम्हल गया, पहाडों से भि टकराना हिम्मत रखता हुँ । साईन्स सरले सोधे उमेर कितना साल हुवा ? मैले चौबीस बर्ष भने पछि  बहुत कुछ करेगा जीवनमे मेरा आशिष तेरा साथ है भनेर उनले गणितका चक्रवर्ती किताबहरु देखाउँदै मैने बहुत सा दङ्गालीको पढाया मेरा बिशिष्टीकरण और बहुत अभिरुचि का बिषय भि जियोमेट्री हि है । बहुत बडा बडा सरकारी इन्जिनियर भि मुझसेे सिखना आता है भनेर साईन्स सरले भने र म पनि सरसँग  बिदा भै खुशी साथ फर्के ।

यसप्रकार चौवन्न प्रतिशत अंक अर्थात् राम्रो द्वितीय श्रेणी सहित बडो गौरवान्वित रुपमा एसएलसी उत्तीर्ण गरे । यो कुरा बि.सं.२०४४ सालको हो । एक्जामटेड तर्फको एसएलसीको मार्कसिट क्याम्पसको भर्नाका समयमा आई नपुग्दा तत्कालीन शिक्षा मन्त्रालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीवाट एसएलसीको मार्कसिट आफै पुगेर निकाल्दाको शिक्षाप्रद अनुभव प्रस्तुत गर्दछु । अथक प्रयत्न, मेहनत र संघर्षले एसएलसी पास गरियो तर नियमितको लब्धाङ्क पत्र आएर क्याम्पसमा भर्नाकोलागी आवेदन गर्दा पनि मेरो इक्जामटेड तर्फको मार्कसिट प्राप्त नहुँदा म स्वयं भक्तपुर स्थित सानोठिमीमा जाने निर्णय गरे अपितु यस भन्दा पुर्व भारतका उत्तरप्रदेश अन्तर्गतका गोरखपुर, बाराणसी इलाहावाद तर्फका धेरै  ठुला शहर घुमे पनि आफ्नै देशको राजधानी जाने अवसर जुटेको थिएन त्यो यसै पल्ट जुट्ने भयो भन्ने बिषयमा एकातर्फ खुशी थियो भने अर्को तर्फ न हिजोआजको जस्तैः मोबाइल र ईन्टरनेट  थियो न अरु कुनै माध्यम नै ! सेकेन्ड डिभिजनमा पास भएको गोरखापत्रमा थियोे तर कति प्रतिशत र बिषयगत अङ्क केही थाहा थिएन ।

काठमाडौ प्रस्थान गर्ने निर्णय गरि श्री नेराप्रावि सिमलचौर थक्लेनीका तत्कालीन प्र.अ.श्री इन्द्र मणि आचार्य को सल्लाह परामर्शमा काठमाडौ बागबजार स्थित सानोठिमी भक्तपुर जाने बसपार्कवाट परिक्षा नियन्त्रण कार्यालय पुगिन्छ र बाँस बस्नु पर्दा गौशाला स्थित धर्मशालामा बाँस बस्दा सहज हुन्छ भनि दिएको परामर्श मुताविक पहिलोपटक काठमाडौ प्रस्थान गरे बि.सं. २०४४ सालमा । त्यतिबेला र धेरैपछी सम्म पनि रत्नपार्क सोह्र हाते गणेश मन्दिर सामने पार्क थिएन त्यहा होटल र पसल थिए । बसपार्क गोङ्गबुमा नभएर सिटी बसपार्क मै थियोे । यो धेरै पछि सम्म पनि थियो । रात्री बसमा काठमाडौ गएको र रत्नपार्क अगाडि नास्ता रोटी सब्जी दश रुपैयाँमा खाएर पाँच रुपैयामा सानोठिमी बसपार्क तर्फ प्रस्थान गरे । साढे नौ बजे कार्यालयमा पुगे पनि कर्मचारी दस नबजी नआउने हुँदा लाईनमै कुरेर बसे । यति बेला कर्मचारीहरु साक्षात भगवान समान थिए । कार्यालय सहयोगी ले ढोका र झ्याल खोल्दा हामी धेरैले दुबै हात जोडेर नमस्कार सर भनि अभिवादन गरेका थियौं । उनले हाम्रो नमस्कार फर्काएका पनि थिएनन् तर हामी हाम्रो काम बन्ला भनेर नमस्कार गर्न पाएकोमा खुशी थियौ । करिब एघार  बजेतिर फाँटवाला खरिदार साप गमक्क परेर झ्यालमा झुल्किए । म अगाडि नै हुनाले हप्काईको शैलीमा के काम छ भनेर सोधे, मैले एसएलसीको प्रवेश पत्र देखाउँदै रिजल्ट आएको एक महिना भैसक्यो  । नौंसय पुर्णाङ्कको मार्कसिट स्कुलमा पुगेन क्याम्पसमा भर्णा हुने म्याद नै सकिन लाग्यो, मार्कसिटको प्रतिलिपी लिन आएको भने पछि मिल्दैन मिल्दैन पछि आफै जान्छ भने । पहिलो ढोका खोल्न आएको मान्छे थाहा पाएर मैले कराएर भने पिउन भएर हाकिम पल्टिन्छस् ? तँ किन बाठो भएर किन जान्ने हुनु पर्यो ? फाँटवाला सर बोलेकै छैन ! मैले तँलाई सोधेको हो र भनेर कराएर डाकोले खाएपछि प्रहरी गार्ड पनि तर्सिएर मतिर हेर्यो र फाँटवालाले नकराउनुस लौ यी फारामहरु भरेर तपाईको प्रवेश पत्र राखेर रसीद काटेर पेस गर्नुस् भन्यो र फाराम दिए ।

मेरा युवावस्थाका संघर्षका आत्मकथा ३

आखिर जीवनको भोग आफू पनि निजामती कर्मचारी भैयो । तर कर्मचारीको व्यवहार कस्तो हुन्छ भन्ने कुरा बुबा स्वर्गवास भएपछि हाम्रो पैत्रिक सम्पत्ति जग्गा बुबाको नाम वाट हाम्रो नाममा नाम सारी गर्ने बेला २०३७ सालमा मानपुर गाउँ पञ्चायत र मालपोत कार्यालयमा खाएको हण्डरले मलाई धेरै सजग बनाईसकेको थियो । यतिबेला बुबाको नाम अस्थायी नागरिकता प्रमाणपत्रमा बलदेवप्रसाद अधिकारी, जग्गा धनी प्रमाणपत्र अर्थात्  लालपुर्जामा बलदेवप्रसाद उपाध्याय र गाउँ पञ्चायतमा बलदेवप्रसाद शर्मा हुँदा करिव एक महिना तारीख जस्तो धाए पछि मात्र गाउँ पञ्चायतवाट बलदेवप्रसाद शर्मा, उपाध्याय र अधिकारी एउटै व्यक्ति भएको सिफारिस पत्रको आधारमा मात्र हाम्रो पैत्रिक सम्पत्ति जग्गा जमीन आमा, म र भाइको नाममा  संयुक्तरूपमा  नामसारी भएको थियो । जुन आगोले पोल्छ आखिर त्यही आगोले रोटी सेक्दोरहेछ । जागीरको रोटी पनि सरकारीमै सेकियो ।

पुर्व प्रसङ्गमा जाउँ परिक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको सन्दर्भमा फ़ेरि  मैले आफै नै फाराम भरेर रसीद काटेर एक घण्टा भित्रै पेश गरे । पेश गर्दा आजै बनाई दिनु पर्छ सर भन्दा कार्यालयका जिम्मेवार फाँटवाला कर्मचारीले अत्यन्त रुखो व्यवहारमा  डाकैले हप्काउँदै सात दिन पछि मात्र आउनु भन्यो । म फेरि पहिला जस्तैः  कराउन थाले सुरक्षा गार्ड आएर मलाई खुसुक्क भन्यो भाइ यिनीहरू संग मुख नलाग्नुस, यता दाँयातिर भित्र गएर शाखा अधिकृत हाकिम साप लाई भेटनुस भनेर ति गार्ड दाइले भित्र शाखा अधिकृत फ़लानो भित्र, बाहिर, व्यस्त भएको अगाडि तर्फको कार्यालयको कार्यकक्ष च्याम्बर  देखाईदिए ।

म बडो अदबका साथ भित्र गै आदर पुर्वक नमस्कार गरि म आफू दाङ वाट आएको र बस्ने खाने आफ्नो मान्छे काठमाडौमा नभएकोले प्लिज सर जसरी भए पनि आजै गरिदिनु पर्यो । म दाङको  रात्रीबसमा आजै फर्की हाल्छु  भने । तीन दिन पछि आउनु न भनेर ती अधिकृतले भने पछि सर अब क्याम्पसमा भर्ना हुने समय तीन दिन मात्र छ । मेरो यो हौसला र यश बर्षको पढाइ बिगर्न्छ । फेरि म एक्जाम्टेड वाट पास गरे पनि बिगत ७ बर्ष देखी प्युठान तिराममा शिक्षक भएर ससाना बालबालिकाहरुलाई अध्यापन गरि रहेको छु । बिद्यालयमा हामी एकै दिनमा विद्यार्थीहरुको परिक्षाफ़ल  तयार गर्छौं,  कति धेरै विद्यार्थीलाई पढाउछौं । तपाईंको पिउन ले हुँदै हुँदैन भन्यो, फाँटवालाले ७ दिन भने तपाईले तीन दिन भन्नुहुन्छ तपाईं हाम्रो यो अड्डाको नियम कानुनमा खै समानता ? नियम कानुन सबैलाई समान हुनुपर्ने होईन र ! प्लिज सर आजै गर्दिनुन म हजुरको जय जय कार गाउँछु भनेपछि म उभिराथे उन्ले नजिकको सोफा देखाएर बस्नुस भने र खल्ती वाट एउटा आशा चुरोट लाली ओंठमा भनेझै च्यापेर  बडो सानले धुवाँ उडाउँदै क्युरी मन्योल पारेर चुरोट खाईसकेपछी मलाई घुरेर हेरेर पास त भएको हो नि ? भनेर भने । हो सर गोरखापत्रमा सेकेन्ड डिभिजनमा रोलनम्बर आएको छ भनेर भने । तब अधिकृत सरले घण्टी बजायर म संग  नगदी रसिद मागेर यस रसिदको निवेदन लिएर आउने भनेर तत्काल  खरिदार कृष्णजी लाई बोलाउन भनेर पिउनलाई आदेश गरे ।

खरिदार साप पनि मेरो निवेदन लिएर आईपुगे । ल वाहाँको मार्क सिट तयार गर्दिनुन कृष्णजी भनेपछि खरिदार सापले मलाई कटाक्ष संग हेरेर बाहिर धेरै मान्छे छन सर मलाई फुर्सद छैन भनेर मेरो निबेदन अधिकृतको टेवलमा राखेर आफु चाहि बाहिर  निस्के ! अर्को कुनामा एक जना मानिस रिसाएका झै थिए उन्लाई हाकिम साप्ले भने उनी झन टेर्पुच्छर नलाएर कसैतिर नहेरी बाहिर निस्के । यि सबै यावत् चर्तीकला देख्दा मलाई उदेक लाग्यो साथै सरकारी कामकाज प्रतिको बितृष्णा भएपनि अर्को विकल्प पनि मेरो सामु थिएन भने म भित्र भित्रै हतास निराश बनि मेरो काम हुनेमा कहिले झिनो आशा र कहिले घोर निरासाका काला बादल मडारिरहेको पाए  ।

हाकिम साप अधवैंशे अलि परिपक्व अनुभवी र पाका जस्ता पनि देखिन्थे फेरि तत्काल अर्को सिगरेट सल्काएर सोचमग्न भएर बोले खै त देखिहाल्नु भो मैले एक्लै गरेर हुँदैन । अब कस्ले गर्दिन्छ तपाईको काम ? मैले पनि तत्काल प्रतिउत्तर गर्दै भने म पनि प्युठान जिल्लाको दुर्गम पहाडी बस्तीमा   धेरै बर्ष पढाएको शिक्षक हुँ, सरको प्रत्येक्ष निर्देशनमा म आफ्नो मार्कसिट आफै तयार गर्न सक्छु  । मलाई पनि स्पष्ट  थाहा भयो कि याहाँका कर्मचारीको कार्यव्यस्तता पनि छ र अर्कोतिर  सरलाई पनि अलि टेर्दैनन भनेपछि अलिकति खिन्न र तत्काल उदारतापुर्वक रिफ्रेस भएर भने ल अब तपाई र म मिलेर तयार गरम । उ त्यो घररावाट ०३७ सालको दाङ जिल्लाको  ढडडा निकाल्नुस भनेर आदेश गरे ।  कुन बिद्यालय भनेर सोद्धा सिद्ध रत्न नाथ नमुना माध्यमिक बिद्यालय, दाङ, नारायणपुर भनेर मैले भनेपछि  पंजिका हेरी पत्ता लगाऔ । एसएलसीको मेरो सिम्बल नं.१२२३४२ N तत्काल खोजी गरि बिषयगतरूपमा अंग्रेजी, नेपाली, गणित, बिज्ञानको मार्क लेजरवाट मैले भन्दै गए, हाकिम साप फ़टाफट लेख्दै गए र फ़ेरि एक पल्ट पुनः हाकिम सापले आफै चेक गरि पाँच मिनेट भित्र तयार गरि आफै दस्तखत गरि मलाई हातमा दिदै भने राम्रो गरि पढनु भोलि म जस्तैः हाकिम हुनु है । तिम्रो  सरलता, तार्किकता, इमानदारीता, बौद्धिकता साथै काठमाडौं भ्याली भन्दा बाहिरको हुँदा  प्रभावित भएर मैले तत्कालै गरिदिएको हो, जो कोहीको काम म गर्दिन । यहाँ सिस्टमले आउनु पर्छ । अत्यन्त धेरै मानिसको काम हुन्छ, व्यस्तता पनि छ याहाँको आफ्नै नियम छ । तर व्यावहारिकता पनि हेरेर यति छिटो बिश्वासका साथ काम गरिदिएको हुँ । हाकिम भएपछि यस्तो कुरोमा बिचार गर्नु पर्छ, मैले तिमीमा साँच्चिकै  मेरो प्रतिबिम्ब पाए । के थाहा तिमी  पनि भोलि यो अड्डाको प्रमुख बन्न सक्छौ यसको लागी  दृढ़ बिश्वास, आत्मवल र मेहनत गर्नु है भनेर दरो हात्ले धाप मारेर मलाई बिदा पनि गरे अन्ततः उनका कालजयी भविष्य बाणि मेरो जीवनमा सार्थक पनि भए । समय एउटा निरन्तरताको घुमिरहने चक्र रहेछ ।  वास्तवमा हो पनि संसार बाटुलो छ, घुम्दै फिर्दै आईदो रहेछ । त्यस दिन गौशाला स्थित पशुपति धर्मशालामा बसेर  भोलिपल्टको दिवा बसमा दाङ आईपुगेर पर्सि पल्ट क्याम्पसमा मानविकी र भर्खर खुलेको व्यवस्थापन प्रवीणता प्रमाणपत्रमा फाराम पनि भरे । 

मेरो संयमित जीवन, शुद्ध शाकाहारी भोजन,  मांस, मदिरा पान, केटी भट्टी नखोजी अध्ययनशिल भैरहने, स्वयं पाक्य आफै पकाएर खानपिन गर्ने, बिद्यालयमा आदर्श शिक्षक भइ अध्यापन गर्ने जस्तो थक्लेनी गाउँका आम मानिसहरूले "देउता मास्टर" उपनाम दिएको एउटा सज्जन बुद्धिजीवी शिक्षकले बिद्यालय  छाडदा साँचै थक्लेनी गाउँ उराठ भइ मानौ रोई रहेझै प्रतीत हुन्थ्यो साथै मेरो अभावको परिपूर्ति अब कसैवाट हुनै नसक्ने स्वतसिद्ध थियो । वास्तवमा हरेक कुराको समय आउँदो रहेछ,  समयको भोग सकिएर नै हो अथवा मेरो भुमिकाको परिवर्तनको माग विधि वा बिधाताको यति नै लेखान्त थियो ।

भुतपुर्व बेलायती गोर्खा सैनिक, समाजसेवी  तथा बिद्यालय सञ्चालक समितिका अध्यक्ष श्री तिलबहादुर ठेडी, सदस्य सन्तबहादुर थापा, मुखिया वा, साहिला दाइ, प्रधानाध्यापक श्री इन्द्रमणी आचार्य, शिक्षक कृष्ण प्रसाद घिमिरे र मेरो सट्टामा नियुक्ति पाएका उपल्लो तिरामका शिक्षक श्री कमल बहादुर खत्री, कार्यालय सहयोगी प्रेमबहादुर ठेडी मगर लगायतका तहाँ सज्जन गाउँलेहरू सज्जन महिला तथा भद्र पुरुषहरूको ठूलो समूह उपस्थित थियो । बिदाईका मन्तव्य, फुल माला, अबिर, करिब एकहजार रुपैयाँ  जतिको पैसाको उपहार (स्मरणरहोस त्यतिबेला खरिदार स्तरको एसएलसी उत्तीर्ण शिक्षकको मासिक तलव ९००/- थियो) सहित बिदा भए । २०४५ साल मंसिर महिनामा  मलाई बिदाइ गर्दा त्यहाँको गाउँ समाज पुरै रुदै मेरो उज्ज्वल भविष्यको कामना गरिरहेका थिए  ।

त्यसपछि आजसम्म करिब ३५ बर्ष  व्यतीत हुँदा सम्म पनि त्यस गाउँ समाजमा जाने कुनै काम पनि परिन र गैइन पनि । तर भालुवाङ-प्युठान हुँदै रोल्पासम्मको सिमलचौर, थक्लेनी भएर पटकपटक यात्रा गर्दा आफ्नो सुदुर अतीतको सत्कर्मको थलोलाई हार्दिक नमन गरेको छु । हिजोआज  ८-१० बर्ष यता सपनामा पनि देख्दिन नत्र प्रायः सपनामा त्यतै तिर आफुलाई पाउँथे । केही बर्ष पहिला रोल्पा ससुराली र मावली जाँदा भालुवाङ- बड्डाँडा-थक्लेनी-देवीस्थान-चकचके हुँदै जाँदा थक्लेनी पुग्दा साहिल दाइ र मैले पढाएका चेलालाई बसमा भेटेर 'देउता मास्टर"को बारेमा सोध्दा उनिहरु अहिले पनि आँखा रसिलो बनाई गहिरो यादमा हराएका पनि थिए । अन्तमा छुट्टिनेबेला "देउता मास्टर" मै हो भन्दा साहिल दाइले खुट्टामा ढोगेका थिए यो कुरा म शिक्षा मन्त्रालय अन्तर्गतको  पाठ्यक्रम बिकास केन्द्रमा प्रशासकीय अधिकृत छँदा २०६४ सालको कुरा हो त्यतिबेला सम्म पुरानो पुस्ताका श्री तिलबहादुर ठेडीमगर, मुखिया बा लगायतकाको निधन भै सकेको ओली होटलका ओलीको परिवार देउखुरी तिर बसाइँसराइ गरेको, धेरै मान्छे बुढा भै सकेको तर मलाई देख्दा साहिल दाइ अचम्म परे  । यस्तै हो समय र जीवन केही कुरा नचाहेर पनि बिर्सनु पर्छ ।

यता महेन्द्र बहुमुखी क्याम्पसमा मेरो मेरिट सुुचि बमोजिम व्यवस्थापन र मानविकी दुबै तर्फ नाम निस्किएको थियो । मेजर अंङ्गेजी लिएर आर्ट्स पढ्ने कि प्रवीणता प्रमाणपत्र  व्यवस्थापन आई.कम.भन्ने छनौटमा अन्ततः मैले व्यवस्थापन रोजेकाले फेरि शिक्षकमा कहिल्यै फर्किएन । त्यतिबेला दाङ क्याम्पसमा रोल्पा, रुकुम, सल्यान, प्युठान तिरका बिद्यार्थी साथीहरुको ठुलो भेला हुन्थ्यो । उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत + 2 पनि थिएनन् । मेरिटमा नाम ननिस्किएकाहरु क्याम्पसमै कोचिङको रूपमा प्राइभेट पढाईन्थ्यो । क्याम्पसको चहलपहल थियो । नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा नव आगन्तुक व्यवस्थापनको विद्यार्थीको तर्फबाट मञ्चमा गएर जोड्दाररुपमा बोल्दा छोटो समयमा धेरै साथीहरू संग परिचीत भए पनि यसरी खुला हुँदा मेरो पढाई बिग्रने लक्षण देखि बिहान व्यवस्थापनको कक्षा र दिउँसो मानविकीको कक्षा दोहोराई लिन्थे यसमा पनि विशेषतः अङ्ग्रेजी र अर्थशास्त्र बिषयमा कक्षा मानविकीमा पनि लिन थाले । त्यतिबेला केहि बरालिने साथीहरूले मेरो पढाईको अग्रसरता देखि कोठामा आएर दिनमा मलाई खोज्दा रैछन, मैले चाहिँ घर-व्यवहारले गाउँ मजगाउँतिर जान्छु भनी बहाना गर्न थाले ।

शिक्षक सेवा स्वेच्छिकरूपमा परित्याग गरि २५ बर्षको उमेरमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन अध्ययनार्थ सरस्वतीको मन्दिर श्री महेन्द्र बहुमुखी क्याम्पस, दाङमा आईपुगे । महेन्द्र बहुमुखी क्याम्पस, दाङ मा व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तहको अध्ययनमा अग्रसरता गर्दै गर्दा थप हौंसला आएको किन्तु क्याम्पसको ठुलो हलमा करिब १०० जना बिद्यार्थीहरुको खचाखच भिड भाड हुन्थ्यो । केही अब्बल साथीहरू संग अगाडिको बेञ्चमा बसि पढाईमा सक्रियता  गरिरहेको थिए । यसै सन्दर्भमा एउटा रोचक प्रसङ्ग टट्कारो भएर अगाडि आउँछ  - 

एक दिनको प्रसङ्ग हो, सहायक क्याम्पस प्रमुख तथा व्यवस्थापन संकायका इन्चार्ज श्री अर्जुनकुमार बुढाथोकीले वित्तशास्त्र (Finance) पढाइरहनु भएको थियो । म अगाडि बडो ध्यानपु्र्वक बसेर पढाईमा तल्लीन थिए । अर्जुनकुमार सर  {केटाहरूले राखिदिएको नाम उर्फ रजनीकान्त} सरले आफ्नो कापीमा ल्याएको हस्तलिखित नोट हेरेर अटकी अटकी पढाई रहनु भएको थियो । यस्तैमा सवभन्दा अन्तिम बेञ्चवाट ४/५ जना केटाहरूले ठूलो स्वरमा चिच्याएर बोलाए । ए बाजे ! ए ! बाजे !! यहाँ आईज ! ए बाजे यहाँ आईज !! भनेर दुईपटक कराएपछी कस्लाई बोलाउँछन यिनीहरूले भनेर म पनि अचम्ममा परेको थिए । यस्तैमा पछिल्लो बेन्चवाट एक जना साथीले मलाई संकेत गर्यो । तपाईलाई हो भनेर ! के गर्ने फेरि पनि कराउने हुन भनेर म गए । ४-५ जना कुण्डली मुण्ड्ली साथीहरू बेञ्च माथी बसिरहेका थिए । म जाने बित्तिकै मलाई बिचमा राखेर "ल बाजे खैनी खा, चाक (मुजी) सुक्ने बेला पनि पढेर हुन्छ ? ? पढने लेख्ने कामत उ त्यस्ता ओठ निचोर्दा दुध आउने बच्चाको काम हो भनेर मलाई पनि जवर्जस्ती खैनी खुवाउन थाले भने मैले पनि त्यो खैनीलाई थुकेर फालिदिए  । यो चर्तीकला सवै साथीहरूले देखिरहेका थिए, ति धुन्धुकारीहरुसँग न त सरले  न साथीहरूले नै यसमा प्रतिवाद गर्न सके ! 

अन्तमा मुर्खमण्डलीहरुलाई मैले दुवै हात जोडेर भने प्लिज साथीहरू मलाई छोडिदेउ पढन देउ । एउटा गुण्डा नेता बडो अट्टहास पुर्वक हाँस्यो लौ बाजेले पढने रे ...च्वाँक केटी जिस्काउने रोमाञ्च गर्नुपर्छ बाजे । मैले अश्रु मिश्रित भावमा विनम्रताका साथ भने । साथी मलाई पढने इच्छा छ, पढन देउ । मेरो यो कुरो सुनेपछि अर्को दादाले भन्यो ! केटा हो बाजेको इच्छा पूरा गर्दिम छोडिदेउ बाजेलाई कत्तिको पढदो रेछ हेरम ! पढेन भने हाम्ले जान्याछम्  । 

लौ अब बाजे जाउ खतरासंग पढ । फस्ट हुनु पर्छ नि ! यति भनेर मलाई बन्धन मुक्त गरि छुटकारा दिएपछि म पुनः साविककै बेञ्चमा बडो लज्जित र कायल मुद्रामा गएर बसे । "मुर्खदेखि दैव डरायो" भन्ने शास्त्रीय वचन कतै सुनेको मात्र थिए, आज साक्षात्कार पाए । कौरवको भारी सभामा दौर्पतीको चीरहरण जस्तैः भोग्न विवस भए म । जुन नहुनु थियो त्यो याहाँ  आफैमा घटित भयो । हरे शिव !  खुल्लम खुल्ला भएको यो चिरहणमा शिक्षक र विद्यार्थी सवैले प्रत्येक्ष हेरिरहेका र मेरो पक्षमा प्रतिरक्षा वा महाभारतमा द्रौपतिको चिरहरणमा भगवान श्रीकृष्णको भुमिका स्वयं आफू बाहेक अरु कोही पनि  थिएनन् । महाभारतको प्रसङ्ग धृतराष्टको राजसभामा चिरहरणवाट इज्जत बाँचेको द्रौपतिको अवस्था मेरो थियो । मास्टर वित्त शास्त्र (Finance) पढायो, गयो तर त्यस दिन देखी क्याम्पस भरी मात्र हैन, गल्ली र गोरेटो र बजार सम्ममा पनि  मेरोनाम प्रख्यात भयो "बाजे" ! 

यस परिघटना बाट मलाई एक्लै धेरै रुवायो, म कोठामा बस्न नसकेर झोलामा २/४ थान पुस्तक राखेर रानीजरुवा सडक भन्दा माथी कटुवाखोला सडक माथी जहाँ त्यतिबेला अडहर वारि गुल्जार थियोे त्यहाँ  हिजोआज गोर्खा इन्टर्नेशनल स्कुल निर्माण भएको छ । त्यहाँ अडर वारि भित्र बसेर करिब ३ घण्टा रोए । सुनसान एक्लै धक फुकाएर रोए । विचबिचमा पढाई छोडेर घर जाने सोंच पनि आउँथ्यो तर आफू भित्रको अर्को सुदृढ मनले जोडदाररुपमा भन्यो, सामना गर ! तैले हार्ने हैन जित्नु पर्छ "सत्यमेव जयते" ! पलायन भएर गैइस भने भासिन्छस, साहस गर पुरुषार्थ प्रदर्शन गर । धेरै बेर सोचेे पछि मैले आफुलाई attitude change (अवधारणात्मक परिवर्तन) गर्न स्वनिर्देशन  (Auto suggestion) गरे ।

राती करिब ८ बजेतिर कोठामा आईपुगे । यो समयमा भरतपुर क्याम्पस रोड स्थित  वर्तमान सभासद राजु खनालको  सडक  साईडको पुरानो घरमा भाइ बहिनीहरु संग डेरा थियो । हिजो आज घोराही पनौरा स्थित घरमा जाँदा हेरने गर्छु, त्यहाँ पसलहरु छन, त्यहाँको एउटा कोठालाई "प्रगती कुटीर" नामाकरण गरि एउटा नमुना शिक्षार्थीको रुपमा आफुलाई प्रस्तुत गर्न थाले । राती अबेरसम्म अर्थात् करिब १२ बजे सम्म अघिल्लो दिन पहल बहादुर डाँगीले पढाएको Brighter English को The Glove महान जासुस सरलक होम्जको कथामा आधारित Novel खुव पढे । 

भोलिपल्ट कक्षामा  अंग्रेजी सर पहल बहादुर डाँगी आउनु भएन, शायद वाहाले अर्को पाठ तयारी गर्नु थियोे होला । अब्बल साथीहरू बिजुली नाथ योगी (श्रीगाउँ), चिन्तामणी शर्मा (सररा) , गोमा महरा (घोराही) समेतले अंग्रेजीको सोही पाठको छलफल गरिरहेको अवस्थामा म पनि सहभागी हुन खोज्दा तपाईं त उमेर अवस्था हेरदा प्राध्यापक सरह  लाग्छ भनेर जिस्काउँदा साच्चै हो भनेर उठेर अगाडि पढाउन गए । पुरै वाक्य  (Sentence) र त्यसको नेपालीमा  अर्थ (Meaning) भन्थे प्राध्यापकजीले मैले पनि सोही गर्दा अलि जान्ने साथीहरूले मलाई Support गर्दै ८-१० जना बसिरहेका थिए ।अरुहरु भने बाहिर निस्किए,पुरै पाठ पढाई सकेपछि  कतिपय साथीहरूको क्लासको पाठ छुटेकोले केही साथीहरूले जिस्काउन खोजे पनि राम्रा साथीहरूले उच्च-मुल्यांकन गरे ।

यस पछि अर्को पिरियड नेपाली बिषयका प्राध्यापक तथा क्याम्पस प्रमुख श्री  भैरव मजगैयाको थियो । यी यस्ता प्राध्यापक हुन कि सारै रोमान्टिक, क्लासमा केटीहरु भएनन भने क्लासमै नपस्ने, कक्षा बङ्क गर्ने ! केटीतिरै बढी आकर्षित भै ध्यान केन्द्रित गर्ने अलि धेरै ठट्टेउला भएकाले बिद्यार्थीहरु क्याम्पसमा अलि बढी आलोचित पनि थिए, यी कक्षामा आएर अघिल्लो दिनहरूमा पाठ्यक्रम {Curriculum}सम्म नोट लेखाएका थिए । पाठ्यक्रम निकै लामो गोरखापत्रको सम्पादकीय देखि बौलाहाकाजीको सपना र बिपीको दोषी चस्मा सम्मका यावत पाठ्याँश थिए, हाईस्कुलको जस्तो किताब हुँदैनथ्यो, सन्दर्भ सामाग्री र लेक्चर नोटको आधारमा आफै नोट तयार गर्नु पर्दथ्यो । 

त्यस दिन भैरव सरको नपढाउने मुड भयो र तुरुन्तै भन्नू भो आज म एउटा निवन्धको शिर्षक दिन्छु जुन  " हरियो बन नेपालको धन" स्वयं मौलिकरूपमा  निबन्ध लेखेर भोलि लिएर आओ, तिमीहरूको skilled Test गरेर मात्र अगाडि  पढाउने भनेर Home assignment दिनु भयो । मैले पनि पनि खुव मेहनत गरेर परिचय, बिशेषता, प्रत्येक्ष र परोक्ष फाईदा, महत्त्व, बन बिनाशका कारणहरु र समाधानका उपायहरू प्रस्तुत गरेर एउटा निबन्धको उत्कृष्ट कला र शिल्पमा लेखेर  लगे । हामी ८-१० जनाले लेखेका थियौ । भोलिपल्ट क्लासमा प्रस्तुतीकरण भयो । आफ्नो आफैले नभनेर सँगैको अर्को साथीलाई भन्न लगाईयो । मेरो निबन्ध सुनेपछि भैरव सरले हामी सवैको कपी आफ्नो डेरामा लैजानु भयो । भोलिपल्ट दोस्रो क्लास पिरियडमा यो बसन्त अधिकारी को हो ? भनेपछि म अलि डराएर म हो सर किन र भनेर सोधे  ! उमेर त अलि पाकेकै रहेछ, घर कहाँ हो, भनेर सोधेपछी मजगैं भने । कस्को छोरा भनेपछि बुबाको नाम बलदेव प्रसाद अधिकारी भनेपछि हाम्रो नाता पनि पर्छ होला, त्यो अहिले छोडदिम, अधिकारीजी को निबन्ध पढेर सुनाउत भनेर अर्को साथीलाई दिएपछि पढेर सुनाएपछी भैरव सरले भन्नू भो म २२ बर्षमा एम.ए.पास गरेर लेक्चररको सेवा प्रारम्भ गरेको  मैले पनि यत्तिको लेख्न सक्दैन !  भनेर मेरो उच्च-मुल्यांकन गरे जस्वाट मलाई हौसला प्रदान गर्यो ।

कहाँ के गर्थेउ भनेर सोध्दा सानातिना नानीहरू लाई प्युठान को एउटा स्कुलमा पढाउँथे भनेपछि भैरव सरले भन्नुभो ल केटाकेटी हो, म आएन भने यी अधिकारीजी लाई पढाउने भन्नू यिनले पढाए तिमीहरू लाई पुग्छ ! यति ज्ञान छ, यो मान्छेसँग कमर्श किन पढेको ? आर्ट्समा नेपाली लिएर पढनु नि ! भनेर भैरव सर कक्षा वाट बाहिरिए पछि "लौ बाजे खैनी खा" भनेर क्लासमा मलाई र्याख गर्ने कुण्ड्ली मुण्डलीहरुले बाजे हैन अब ठुल्दाई, ठुल्दाई लाई हाम्रो समर्थन छ, आमाको दूध खाँदा खाँदै आएका भुराभुरी अब ठुल्दाईसंग तिमेरुको जोड चल्ला ? ल ठुल्दाई अब सधै त्यै ठाउँमा बस्ने ! अब सबैले ठुल्दाई भन्ने भन्ने भनी उर्दी फर्मान भए पछि सबैले तालिपिटे पछि त्यस दिन देखि "बाजे" बाट मेरो {"डिमोसन वा प्रमोसन" ??}भएर ठुल्दाईमा रुपान्तरण भयो । क्याम्पसका अरु धेरै रोचक प्रसंगहरु छ्न ति कति बिस्मृत भैसके सम्झनामा आएका तरेलीहरु प्रस्तुत गरिरहेछु ।

वास्तवमा आफै रहेछ आफ्नो  अभियन्ता, गुरु, पथप्रदर्शक, मार्गनिर्देशक र अभिभावक पनि । समयले मलाई धेरै पछाडी छोडेपनी, आफन्तहरूले तिरस्कार गरेपनि परिवार र घर समाज देश र बिदेशवाट अपमान खाए पनि आफू-भित्रको दृढ़ आत्मविश्वास, दृढ़ संकल्प र कठोर इच्छाशक्तिले दाङका बामपंथी राजनीतिका पिता वा गुरु नेत्रलाल "अभागी" ले भनेझैं "बिपरित दिशावाट हावाहुरी हुण्डरी चलेको बेला केवल सतिसाल मात्र ठिङ्ग उभिन सक्छ !" भन्ने प्रगतिशील कविताको आदर्श कवितांश मेरो वास्तविक जीवनकला र यथार्थता रह्यो । यस उप्रान्त क्याम्पसमा घटित दर्जनौ घटनाक्रम र पढाई र लोक सेवा आयोगका अथक मेरा संघर्षरत  तरक्कीहरुलाई एक एक पत्र पत्र अगाडि सार्दछु ।

कक्षामा अब अलि जान्ने साथीहरू संगको छलफल परामर्श र हिमचिम बढन थाले पछि प्रतिस्पर्धा त हुने नै भयो । प्रतिस्पर्धामा अब्बल बन्न अध्ययनका नयाँ नयाँ तरिका र उपायहरु खोज्नु पर्ने नै भयो । यसै सिलसिलामा महेन्द्र बहुमुखी क्याम्पस पुस्तकालय   वाट आई.कम.पढदा पनि बि.ए.स्तरका एडभान्स पुस्तकहरु लिएर गै त्यसवाट आफ्नै मौलिक नोट तयारी गर्ने, कक्षामा सधै उपस्थित हुने, अझ ससाना पकेट डायरीमा सूत्रबद्धरुपमा बुँदा नोट गर्ने हिडदा पनि मेमोरी गरदै हिडने, प्रायः अर्थशास्त्र, वित्तशास्त्र, लेखाशास्त्र र बजारशास्त्र समेतका व्यवस्थापनका मेजर  बिषयमा धेरै बुँदाहरु हुने भएकाले बुँदाहरुलाई आफ्नो अनुकुलताले गीत, कविता, उटपट्याङ्गे टुक्का  आदि यस्तैरूपमा तयार गरि छिटोभन्दा छिटो पुर्णरुपमा याद गर्ने तरिका साथीभाइहरु वाट सिके जस्लाई उसबेलाका केटाकेटीहरुले घोक्ने होईन बुझ्नुपर्छ भन्दथे बुझाईका राज  तरिका यिनै थिए ।

आफू भन्दा अर्को अलि बढी जान्ने भयो वा आन्तरिक परीक्षामा अलि बढी नम्बर ल्यायो भने फलानो ढिस्कानो ले त रातभर घोक्छ, त्यो त कहिले बौलाहा हुन्छ, त्यो त एक नम्बरको घोकन्ते हो, मेजर अंग्रेजी  पढने फलानोले पुरै घोकेर अक्सफोर्ड डिक्सनेरी सक्न लागेर झण्डै बहुलाको भनेर कुरा काटथे, क्लासमा अलि धेरै जान्ने साथीहरू लाई सम्म यसो भन्ने आँट गर्दैनथे तथापि  व्यक्तिगत, उमेरगत वा स्वभावत जिस्काउँथे नै  तथापि  अलि जान्ने हुँदा लेक्चरर सरहको मान्यता पनि हुन्थ्यो, हुनत लेक्चररको पनि  अ-आफ्नै प्रकृतिको  मुल्यांकन त हुन्थ्यो नै पछि म क्याम्पसको आन्तरिक परीक्षामा पनि ४-५ जना भित्र पर्न थालेपछि म पनि त्यो घोकन्तेको आरोपवाट मुक्त हुन थाले । घोक्नु र बुझ्नुको भेद पेन्सिलको रेखा जस्तो कहिले आफू खुशी कोर्ने फेरि इरेजरले मेटिदिने थियोे । लेक्चरजी पनि आफू रातभर घोकेर आएर अडकी अडकी पढाउँथे फेरि घोक्न हुँदैन केटाकेटी हो भनेर खुब खोक्थे । महाकवि देवकोटा को भलादमी निबन्धमा महाकवि भन्नुहुन्छ -"आफुले एक अक्षर नलेखेर अरुको लेखमा खिसी उडाउने पाठक, मासु खाएर सहभावको कविता लेख्ने कविलाई महाकविले "बोक्रे भलाद्मी" भनेका छन।" साच्चै यो बेलाका क्याम्पसका बौद्धिक बर्ग "बोक्रे भलाद्मी" जस्ता थिए । यो कुरो को राज त मैले  स्वयं एम.ए.पास गरेर लोक सेवा आयोग वाट खुला प्रतिस्पर्धामा  सेक्सन अफिसरमा सामान्य प्रशासन मन्त्रालयवाट शिक्षा मन्त्रालय, केशरमहल र प्रशासकीय अधिकृत भएर पाठ्यक्रम बिकास केन्द्र, सानोठिमीमा पदस्थापन भैगए पछि शिक्षा शास्त्रको अध्ययन गर्दा पो बल्ल थाहा भयो, बिदेशी अनुदान र सहायतामा लादिएको नयाँ शिक्षा नीति पनि हात्तीको देखाउने दाँत रहेछ, दोषरहित त कहाँ हुन सक्थ्यो र ? यो त रेडिमेड बौद्धिक बर्गको बिदेशीलाई देखाएर अनुदान,ॠण भित्र्याउन गरिने कर्मकाण्डको उपज रहेछ । जिल्ला शिक्षा कार्यालय, नेपाल राष्ट्रिय पुस्तकालय  र  शिक्षा मन्त्रालय र पाठ्यक्रम बिकास केन्द्र, सानोठिमीको प्रशासकीय पदमा लामो डेढ दशक अवधि व्यतीत गर्दा यस्ता कुराहरू  भुक्तानीका रूपमा छर्लङ्ग हुन गए ।

यसै सिलसिलामा क्याम्पसमा साथीहरू बीच अब्बल बन्न मैले के गरिन ? हाम्रो व्यवस्थापनको बिहानि कक्षा थियो । English, economics जस्ता मानविकी संकायका साझा बिषयहरु आर्ट्सको क्लासमा गएर पढने, यसो गर्दा केही चिनेका साथीभाइहरुले अब कमर्श पढन छोडने हो ? #बसन्त दाइ ? छोडनु छोडनु आर्ट्स रामरो पनि  छ ! आउनु पनि भन्थे । हुन्छ, हुन्छ भन्यो हिड्यो । यो अवधिमा म पुस्तकालय पनि खुब धाउन थाले । त्रिभुवन नगर जेसिस द्वारा सञ्चालित घोराही बजार स्थित श्री सर्वोदय पुस्तकालय साझमा करिब ५ बजे देखी ७ बजेसम्म धाउन थाले, त्यहाँ भएका गोरखापत्र देखी अरु दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, अर्धबार्षिक, बार्षिक र विभिन्न, साहित्यका उपन्यास, कथा, सामान्य ज्ञान, निबन्ध आदि आदि ल्याएर जोड्दाररुपमा अध्ययन गर्न र बौद्धिक तर्क बितर्क र  बादबिवाद हुन थाल्यो, अर्कोतिर जो नेपालको राजनीतिको केन्द्रमा हाल सम्माननिय उपराष्टपति श्री नन्दकिशोर पुन, पुर्व अर्थ मन्त्री माननीय बर्षमान पुन र पुर्व सामान्य प्रशासन मन्त्री माननीय रेखा शर्मा विद्यार्थी राजनीति, संगठन र महेन्द्र बहुमुखी क्याम्पसको किल्ला तोडन सांगठनिक सक्रियताको राजनीतिमा रझेना मसिना तिर श्रमशिविरमा लैजान्थे । एकपटक गएको थिए, फ़ेरि दोरोराएर भने गएन मलाई अध्ययन क्याम्पसको र लोक सेवाको तयारीमा फुर्सत हुँदैनथ्यो । विद्यार्थी साथीहरू एकातिर बेजोड राजनीतिमा सक्रियता गर्दथे भने अर्कोतिर म किताबको किरो बनि यिनीहरू संग पृष्ठभुमि वा ओझेलमा परी शैक्षिक प्राज्ञिक लगायत वृत्ति पथको अध्ययन कार्य मै समर्पित थिए ।

मेरा युवावस्थाका संघर्षका आत्मकथा४

यसै सन्दर्भमा महेन्द्र बहुमुखी क्याम्पसको पुस्तकालयसंग पनि मेरो अलि बढी सानिध्यता सम्बन्ध बढन थाल्यो यसको कारण "ज्ञानको भोक र शैक्षिक/प्राज्ञिक अभिलाषा" वा बौद्धिक बिजिगिषा र जागीर वृत्ति पथको सफ़लताको लगाव नै थियो । महेन्द्र बहुमुखी क्याम्पसको आई.कम. प्रथम बर्षमा अध्ययनरत छँदा अब एकदिनको अविस्मरणीय घटना जस्ले जीवनमा अझै बढी दृढ अठोट र सत्साहस गुणात्मक रुपमा अभिवृद्धि गरि आफ्नो उद्देश्यमा केही गर्ने सामर्थ्य प्रदान गर्यो त्यो घटना प्रस्तुत गर्दछु जुन  महेन्द्र बहुमुखी क्याम्पस, दाङको पुस्तकालय भवनमा  तत्कालीन  लाईब्रेरियन श्री नित्यानन्द शर्मा र प्रशासन सहायक श्री पदम सुबेदीसंग  भएको शिक्षाप्रद रोचक संवार्ता प्रस्तुत गर्दछु :-

बि.सं.२०४५/०४६ सालको संस्मरण हो । त्यतिबेला हाम्रो बसाई डेरा रझेनामा पुर्व शिक्षक तथा नेता बासुदेव गौतम सरको घरमा थियो । वासुदेव गौतम सरले मलाई श्री सिद्ध रत्न नाथ नमूना माध्यमिक बिद्यालय, नारायणपुर, दाङमा हाईस्कुल पढदा कक्षा नौ र दशमा अर्थशास्त्र पढाउनु भएको थियो । कमर्शको कक्षा बिहान साढे छ बजेदेखि दस साढेदश सम्म हुन्थ्यो । म बिहान ११ बजेतिर कक्षा सकाएर कोठामा आएर खाना खाएर अबिलम्ब साढे बाह्र वा एक बजेतिर क्याम्पसमा मानविकी संकायको अंग्रेजी र अर्थशास्त्र बिषयको  अतिरिक्त पिरियड अध्ययनको रुपमा सहभागी गर्ने सो भएन भने पुस्तकालयमा गएर एउटा कुनामा घण्टौ सम्म सामान्य ज्ञान र समसामयिक लोक सेवा आयोगको विशेष अध्ययनमा हराईरहन्थे । क्याम्पसमा प्रायः अरु विद्यार्थी साथी भाइ बहिनीहरु बढीमा दिउँसो १-२ बजे सम्म मात्र मुस्किलले उपन्यास पत्रपत्रिका  पढने र ज्यादै थोरैले मात्र कोर्षका बिषयगत पुस्तक लाईब्रेरी कार्डमा रिन्यु गरेर लगेर  जाने गर्दथे त्यसपछि क्याम्पसमा भएको लाईब्रेरी शाखा प्रायः खाली हुन्थ्यो । एकाध घण्टा पुस्तकालयमा कोही पनि विद्यार्थीहरु पठनपाठनका लागि नआएपछि पुस्तकालयका कर्मचारीहरु पनि खाली विद्यार्थी कुरिरहेर बसिरहनु भन्दा पुस्तकालय बन्द गरेर घर तिर भाग्ने आम प्रचलन रहेछ । एक दिनको कुरा हो पुस्तकालयको एउटा कुनामा बसेर म अन्तर्राष्ट्रिय मञ्च पत्रिकामार्फत आफ्नो नोट बुकमा  लोकसेवा उपयोगी समसामयिक सामान्य ज्ञान संकलनमा व्यस्त थिए, कर्मचारीहरुले पुस्तकालयको मुलढोका बन्द गरेको थाहा पाएन तत्काल ढोकामा आएर हेर्छु त ढोका बन्द गरेर हिडिरहेका रहेछन कारिन्दाहरु । शुक्रबारको समय थियो समय दुई बजिरहेको तीन बज्नु भन्दा एक घण्टा पुर्व पुस्तकालय बन्द गरिेसकेका थिए  । जब मैले अनायास झल्याँस्स भएर यो दृश्य देखे  झ्यालमा आएर बेस्सरी कराए पदम सर ! पदम सर,भनेर  !! नित्यानन्द सरले सुनेछन र कोही विद्यार्थी थुनिएको रहेछ भनेर पिउन आएर ढोका खोलिदिए । पुस्तकालयका सहायक र लाईब्रेरियन हाकिम क्याम्पस प्रशासन भवन सरस्वतीको मुर्ति अगाडि  उभिरहेका थिए, म गएपछि  सहायक कर्मचारी  पदमले मलाई हप्काउन खोज्दै भने पुस्तकालय बन्द गर्दा सम्म पनि थाहा छैन ? ! आज र भोलि शनिबार बिदाको दिनपनि पनि यतै थुनिएर मर्ने बिचार छ कि के हो ? यति भनेपछि मैले पनि आवेश प्रेरित भावमा उच्च स्वरमा  आएर भने "जो चोर उसैको ठूलो स्वर" यो पुस्तकालय तपाईको निजी घर हो र ? जति बेला मन लायो आयो आफू खुशी गयो ? समय कति भएको छ घडी  हेर्नुस् त ?  अरुकै भर र  आशीर्वादमा जागीर खाका कारिन्दालाई के थाहा ? ए लाईब्रेरियनजी यहि हो Library science Ethics भनेर मैले पछि लाईब्रेरियन नित्यानन्द शर्मालाई नै तोकेर औंला ठड्याएपछी नित्यानन्द सरले म संग दुवै हात जोडेर माफि माग्दै पुस्तकालय खोल्छौ हिडनुस सर भने पश्चात्  मिस्टर पदमले म संग आँखा तरे पछि मैले पनि जाईलागे गल्ती तपाईंको अझ आँखा तर्ने निहुँ खोज्याहो भनेपछि  नित्यानन्दले पदमको तर्फबाट पनि माफ मागेपछि मैले भैगो सर ! तपाईले माफ माग्नु भयो यहि नै महानता हो भनेपछि लाईब्रेरियन नित्यानन्दले तपाईको अध्ययन सामाग्री लिएर घर जानुस भोलि ल्याएर मलाई बुझाउनु होला भनेर दिएपछि ४ थान अन्तर्राष्ट्रिय मञ्च लिएर  आफ्नो डेरा तर्फ आए ।

भोलिपल्ट एक बजे तिर क्याम्पसको लाईब्रेरी शाखामा आईपुगे । यतिबेला सम्म नित्यानन्दले मेरो वैयक्तिक विवरण  बारेमा सबै पत्ता लगाई सकेका रहेछन । आउने बित्तिकै मलाई हार्दिक स्वागत गर्दै लाईब्रेरीमा भएका पुस्तक तथा पत्रपत्रिकाको संग्रह देखाएर पुस्तकालय प्रशासन भित्र आफू बस्ने साईडको अगाडि तिर बसेर अध्ययन गर्न मलाई विशिष्ट स्थान को व्यवस्था समेत गरे तर म नित्यानन्द भए मात्र त्यहा बस्थे । अरु कर्मचारी मात्र भएको बेलामा आम पाठक बस्ने ठाउँमा बस्दथे किनकी पदम लगायतका कर्मचारीले मलाई त्यति सहज मान्दैनथे । सज्जन लाईव्रेरियन स्व. नित्यानन्द सर संग पुनः बि.सं.२०५५ सालमा नेपाल राष्ट्रिय पुस्तकालय, हरिहरभवनमा म प्रशासन सेवाको नायब सुब्बा छँदा नेपालको करिब २५ जना सरकारी क्याम्पसहरुका लाईब्रेरियनहरु त्रिभुवन बिश्व बिद्यालय वाट सेवाकालिन तालिममा पुस्तकालय भिजिटमा नेपाल  राष्ट्रिय पुस्तकालय, हरिहरभवनमा आउँदा मैले  पथ प्रदर्शक गर्ने अवसर पनि पाए, वाहाँले मलाई तत्कालै  चिन्नु भयो बरु मैले बिर्सिसकेको रहेछु वाहाले सम्झाउनु भयो । म नेपाल राष्ट्रिय पुस्तकालयमा भएको वाहाँलाई थाहा रहेन छ, सरले मलाई कसरी चिन्नुभयो त्यतिका बर्ष बित्यो, त्यति धेरै विद्यार्थीहरुमा भन्ने मेरो प्रश्नमा तपाईं जस्ता असली पाठक र आदर्श विद्यार्थी ४-५ बर्षको अन्तरालमा चार पाँच हजार विद्यार्थीहरुमा केवल चार पाँच जना मात्रै बिरलै  हुन्छन् हामी पनि गुरु हौं कसरी भुल्न सक्छौ र ? तपाईंले महेन्द्र बहुमुखी क्याम्पस, दाङमा त्यतिबेला मैले कलकत्ता नेशनल लाईब्रेरीमा लाईब्रेरी साईन्स पढदा पढेको लाईब्रेरी साइन्सको इथिक्सको याद गराउनु भयो त्यो घटनाक्रम म कहिल्यै बिर्सन सक्दैन गल्ती हाम्रै थियो । क्षमाप्रार्थी भएका थियौ  ।  जीवनमा बिरलै आईपर्ने कठिन अग्नि परीक्षा हो, यो मेरो लागि । म आफ्नो भुल स्विकार गरे पनि तपाईं संग ।  तपाईं जस्तो पाठकलाई यहाँ  भेट भयो भनेर हर्ष व्यक्त गर्नु भयो मेरो अध्ययनको बारेमा सोध्नुभो मैले एम.ए. बी.एल.प्राईभेट सकेर  लोक सेवा आयोगवाट नेपाल सरकारको शाखा अधिकृतको तयारीमा लागिरहेको बताउँदा वाहाँ धेरै खुशी हुँदै तपाई जस्तो मेहनती र कर्मठ व्यक्तित्वको सफलता सुनिश्चित छ र यो देशलाई पनि यस्तै नेपाल आमाका असल सन्तती चाहिएको पनि छ भनेर भन्नू भयो र मैले सादर अभिवादन गरे पश्चात् त्यस दिन  हामी बिदा पनि भयौ । त्यसपछि वाहाँ संग बि.सं. २०६७-०६९ मा  म आफ्नै गृह जिल्ला दाङमा भुमिसुधार अधिकारी  हुँदा कार्यालयमै भेट हुने अवसर मिलेको थियो , यतिबेला नित्यानन्द सर क्याम्पसको सेवा वाट अनिवार्य अवकाशप्राप्त भै साहित्यिक गतिविधि, सामाजिक अभियन्ता एवम्  दाङ जिल्लाको पर्यटन बिकासमा सक्रियता थियो । आजको छ बर्ष पहिला क्यान्सर रोगको कारणले वाहाँको असामयिक निधन भयो ।

महेन्द्र बहुमुखी क्याम्पसको छोटो समयक्रममा क्याम्पसमा  अरु धेरै घटनाक्रमहरु छन । यस्ता कैयन घटनाक्रमहरु अहिले बिस्मृत भैसकेको पनि छन् । सम्झनाका तरेलीहरुमा सपना जस्तैः सल्बलाएर आउने घटनाक्रम यहाँ बिस्मृत हुँदै गरेका सुषुप्त अवस्थावाट समेत झिकेर प्रस्तुत गरिरहेको छु । समकालीन साथीभाइलाई पुनः सम्झना र कनिष्ठहरुका लागि  उत्प्रेरणा मार्गदर्शन  हुनेछ भन्ने विश्वास लिएको छु ।

यश अवधिमा महेन्द्र बहुमुखी क्याम्पसमा मैले पढाईमा दिन रात नभनि मेहनत गर्दा त्यस्को परिणाम राम्रो भैरहेको थियो । मेरै कुरा काटन खुल्लम खुल्ला  अगाडि सर्ने मेरै बिरोधि सहपाठी आफ्नै चिनेजानेका भाइ बन्धुहरु पनि  पढाई लेखाईमा मेरो सकृयता र लगनशीलता  ईष्र्या मिश्रित भावमा भए पनि प्रशंसा यदाकदा  मेरो कानसम्म पनि ठोक्किन आईपुग्थे । तथापि गहन अध्ययनरत छँदा यि र यस्ता कुराहरूमा मलाई कुनै सरोकार पनि थिएन । बास्तवमा जस्ले अगाडि आईपर्ने बाधा अवरोधहरु लाई झेल्दै बिरोधीका तथानाम कुराहरू प्रति सरोकार नराखी सदैव अग्रगामी भएर आफ्नो उद्देश्य एवम् लक्ष्यमा अगाडि बढदछ उस्को दिनप्रतिदिन सफ़लताका सिंढीहरू पार गर्दै सहजता साथ अघि बढदै जान्छन्  । ति दिनहरू समयको प्रवाह सँगसँगै  यस्तै प्रकारले गुज्रिरहेकोे र म  पनि अथक यात्री बनिरहेको थिए ।

त्यतिबेला मेरो दैनिकी संयमित तपस्वी जस्तैः थोरै भोजन गर्ने, राती दस भित्र बजे अनिवार्य रुपमा सुत्ने, बिहान तीन बजे उठने, स्नान ध्यान गर्ने करिब दस मिनेट "कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती । करमुले स्थितो गोविन्दं प्रभाते करदर्शनम्" भनी आफ्नो हात हेर्ने मन्त्र सहित "शुक्लां ब्रह्म बिचार सार परमां आद्यां जगतव्यापिनीम् बिणा पुस्तक धारिणीम्  अभयदां जड अन्धकारं पमाम् । हस्तैस्फाटिक मालिकाम् बिदधतिम् पद्यांसनांसंस्थिताम् । बन्देतां परमिशनाम् भगवतीम् बुद्धि प्रदाम् शारदाम् ।।" यि र यस्तै वेदोक्त संस्कृत सारस्वत मन्त्रोच्चारण गर्दै आफ्नो स्वाध्याय अगाडि बढदथ्यो । कैयौंपटक हात गोडा र शरिरिक पिडा र कुँजीएर मुर्छित भएको भए परन्तु आफ्नो दृढ़ अठोट र उच्चत्तम इच्छाशक्ति झन झन दिन दुगुना र रात चौगुना बढदै गयो । क्याम्पसको अध्ययन समयमा कोर्ष र अतिरिक्त समय समसामयिक बिषय, लोकसेवा परीक्षा उपयोगी र साहित्यिक, दार्शनिक, प्राज्ञिक, धार्मिक र विविध बिषयमा मेरो अभिरुचि बढदै जान थाल्यो । जसरी प्यास लागेकालाई पिउने पानीको तिर्खा, भोक लागेकोलाई भोजन जस्तैः म भित्र पनि ज्ञानको भोकको ज्वाला दावानल जस्तैः दनदन दन्किरहेको थियो । जसरी खेतीका लागि जमीन, जल, मल, बीउ र किसान वा रेखदेख निरन्तर  आवश्यकता पर्दछ त्यस्तै अध्ययन पनि विद्यार्थीको खेती हुँदा उद्देश्य, स्रोत सामग्री, कडा मिहिनेत लगनशीलता र सुदृढ आत्मबलका साथै ज्ञानरुपी बिज छर्दै जाँदा आसन्न आन्तरिक परीक्षा प्रणाली द्वारा  यसको पनि निस्संदेह  सकारात्मक परिणाम देखिन थाल्यो । मेरो परिपक्वता उमेर  अनुरुप साहस देखेर लगनशील उत्तम विद्यार्थी साथीहरू र प्राध्यापक सरहरुले मुक्त कण्ठले प्रशंसा गर्दथे भने सहपाठीहरु पनि म सँग केही सहज र नजिकिदै थिए । मानिसको जीवनको युवावस्थामा एउटा यस्तो उर्वर समय हुँदोरहेछ यदि त्यो समयलाई सदुपयोग गर्ने हो भने जीवनमा सुनिश्चित रुपमा सफलता हुँदोरहेछ । समय एउटा गतिशील प्रभावमा बहदोरहेछ र समयसँगै मानिस चल्न सक्नुपर्दोरहेछ ।

घरमा आर्जन गर्ने बुबाको देहावसान भैसकेको, जग्गा जमीनको आयस्रोतवाट आफै दु:ख जिलो गर्दा मात्र खान लाउन पुग्ने अन्य खर्चको स्रोत केहि नभएको र एउटी आमाको भरमा हामी पाँच भाइ बहिनीहरु हुँदा मैले अर्थोपार्जनका केहि नकेही उपाय गर्नुपर्ने अवस्थाको सिर्जना साथ् साथै अब लोक सेवा आयोग तर्फ अभिमुख भएको सन्दर्भ यही क्याम्पस अध्ययनरत समयावधिमा लोक सेवा आयोगको परिक्षातिर अभिमुख हुने समय पनि आयो ।

याहाँ लोक सेवा आयोग सँग साक्षात्कार वा रमाइलो परिचयको सन्दर्भ प्रस्तुत गर्दछु जुन पहिलो पटक बि.सं. २०४२ सालमा थियो ।  जस्बेला लोक सेवा आयोगको अञ्चल  कार्यालय, घोराही स्थित हालको  निमा चलचित्र भवन देखि महेन्द्र बहुमुखी क्याम्पस तर्फ जाने हालको बुद्ध हस्पिटल अगाडि तिर थियो । म बि.सं. २०४२ सालमा श्री ने.रा.प्रा.वि.सिमलचौर, थक्लेनी, तिराम प्युठानमा अध्यापक  छँदा दाङवाट प्युठान पैदल हिडेरै जानुपर्दथ्यो । यसै क्रममा मजगैं-मजगाउँ वाट बिहानै ६:०० बजे हल्का खाना खाई खाजा रोटी तरकारी अचार बोकी हिडदै जाने तयारीमा थिए । यसै क्रममा घोराही मुख्य बजार अगाडि क्याम्पस जाने सडकमा एउटा भवनमा काउण्टर स्वरुपमा संरचना भएको लोक सेवा आयोग नामक कार्यालय अनायास सम्मुख अगाडि  देखे । यश भन्दा पुर्व जिल्ला हुलाक कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय त देखेको थिए तर यो अनौठो नाम भएको लोक सेवा आयोग देखेर अचम्म परे । टक्क रोकिएर हेरे । नाम गजब लाग्यो । यहाँका कर्मचारीलाई एकपटक सोधी हालु जस्तो लागि अलिक अगाडि गै एकजना केहि क्षणिक  फुर्सदमा जस्तो देखि सोधे सर यो लोक सेवा आयोग, अञ्चल कार्यालय भन्ने कस्तो अफिस हो ? मैले अलि नबुझेर अनौठो मानेर सोधेको हुँ । कर्मचारीहरु मध्येका सुपरिवेक्षक जस्ता देखिने अगुवा कर्मचारीले मलाई सोधे तपाईको नाम के हो ? के गर्नुहुन्छ ? कति पढनु भाछ ? मैले भने मेरो नाम बसन्तराज अधिकारी हो । घर मजगैं मजगाउँ मानपुर गाउँ पञ्चायत दाङ हो ।  प्युठान तिराममा म प्रा.वि.शिक्षक  पदमा कार्यरत छु । दशम कक्षा उत्तीर्ण गरेको छु । उनले भने त्यसो भए मुखिया साप हुने हो भने हाम्रोमा मुखियाको बिज्ञापन भएको छ । फाराम भर्ने होईनत मुखिया साप । म अचम्मित पर्दै भने कहाँ पाउनु आफ्नो मान्छे नभएर मुखिया सापको जागीर  । मैले प्युठानमा शिक्षक हुँदा त साहिंलो बुबा प्रधानपञ्च श्री धनेश्वर अधिकारीलाई भनेर उहाँको सिफारिसमा शिक्षक नियुक्ति भएको हुँ । ती सज्जन कर्मचारीले मलाई सम्झाउँदै भने हेर्नुस् बसन्तजी हाम्रो यश बिज्ञापन भएको मुखिया सापमा न्युनतम योग्यता दशम कक्षादेखि आईए, बि.ए. योग्यता भएको सम्मकाले पनि फाराम भर्छन् र लिखित अन्तर्वार्ता हुन्छ र ति परिक्षाहरुमा जो अब्बल हुन्छ अर्थात् हामीले सात जना मुखिया सापको बिज्ञापन गरेका छौ र ति सात जना भित्र परेमा हामी माग फाराम प्राप्त जिल्ला स्थित कार्यालयमा नियुक्तिका लागि सिफारिस गर्छौं । दाङ, प्युठान, सल्यान, रोल्पा र रुकुम यी पाँच जिल्लामा जिल्ला प्रशासन, मालपोत, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, हुलाक आदि जिल्ला स्थित कार्यालयमा तपाईंले मुखिया सापको जागीर पाउनु हुन्छ । दाङमै पनि हुनसक्छ नभए पनि पछि सरुवा पनि हुन सक्छ । तपाईसँग नागरिकता, सर्टिफिकेट अहिले साथमा छ भने भरेर हेर्नुस् न । आफै अनुभव गरेपछि मात्र सबै कुरा बुझिन्छ । ति कर्मचारीले यति भनेपछि त म अचम्म परे र भने यस्तो पनि हुन्छ । मुखिया साप जस्तो जागीर कसैको सोर्स फोर्स बिना खान पाईने अहा कस्तो राम्रो सरकारी अड्डा लोक सेवा आयोग । मलाई फाराम भर्न सिकाईदिनुस म भर्छु भनेर भनेपछि ति कर्मचारीले लौनुस फाराम दरखास्त दस्तुर दस रुपैंया मात्र छ यि यो फाराम पाउँछ फोटो छ कि छैन साथमा तीन प्रति फोटो दुई प्रति प्रवेश पत्र र एक प्रति फाराममा भर्नुपर्छ भनि सकेपछि यस्ता कुरा मसँग प्रायः सामा गरेर आफ्नै व्यागमा राख्ने हुँदा छ भने र दस रुपियाँको लोक सेवा आयोगको मुखिया सापको फाराम दिंदै ति कर्मचारीले भने यसमा सोधे अनुसारको विवरण भर्नुस् र तपाईसँग भएको दस कक्षा उत्तीर्ण मार्कसिट, सर्टिफिकेट नागरिकता प्रमाणपत्रको नक्कल जसका तस हस्तलिखित उतारेर त्यसको प्रतिलिपी पनि फाईल साथ पेश गर्नुस् र नेपाल बैंक लिमिटेड, घोराही शाखामा गएर दस रुपैंयाको परीक्षा दस्तुर बाहिर नमुना राखिदिएको छ त्यहीँ अनुसार पैंसा दाखिला जम्मा गरि फाराम लिएर आउनुस् भनेपछि मैले सोही बमोजिम नक्कल उतार, फाराम भरी, फोटा समेत टाँस गरि नेपाल बैंकमा गै राजस्व दाखिला गरि फाईल दुरुस्त गराई पेश गरे ।

कर्मचारीले रुजु जाँचबुझ गरि सहिछाप गरि एकप्रति प्रवेश पत्र मलाई दिए र भने अब त्यही माथी घोराही मुख्य  बजारमा गुप्ता बुक पसल छ त्यहाँ गै मुखियाको गाईड रत्न पुस्तक भण्डार भोटाहिटी काठमाडौले प्रकाशित गरेको पुस्तक पाईन्छ । लौनुस यो मुखियाको पाठ्यक्रम यसै अनुसारको त्यो मुखियाको गाइडमा पनि छ अन्त कतै कोर्षको किताबमा भेटाएपनी पढ्नु होला । एक महिना पछि यहि तोकिएको मितिमा जाँच दिन यहि आउनु होला । लिखित परीक्षा पश्चात् पास भए हामी तपाईंको फारममा भरेको पत्राचारको ठेगानामा चिठी पठाउँछौ त्यसपछि यो अफिस तुलसीपुर बजारमा सर्ने प्रक्रियामा रहेको पनि छ लिखित उत्तीर्ण गरेपछि हामी पत्राचार गर्छौ अनि मात्र  अन्तर्वार्तामा आउनु होला । अहिले तपाईंको स्कुलको समयको अतिरिक्त यहि लोकसेवा आयोगको मुखियाको परिक्षाको तयारी गर्नुहोला । यति भनेपछि प्रवेशपत्र पाठ्यक्रम लिएर मुखियाको गाईड किन्न गएर रत्न पुस्तक भण्डार, भोटाहिटी, काठमाडौ द्वारा प्रकाशित मुखियाको गाईडको मूल्य पन्ध्र रुपैयाँमा किनेर दिउँसो करिब एक बजे तिर प्युठान तिराम तिरको बाटो लागे । बाटो पैदलमार्ग जानुपर्दथ्यो त्यतिबेला यातायातका सवारी साधनहरु केहि पनि चल्दैनथे । मानिसहरू भरियाले बोकेर मालसामान ढुवानी गर्दथे । उकालो ओरालो बाटोमा थकाई मार्दै मुखियाको गाईड वल्टाई पल्टाई हेर्दै पढ्दै बाटोमा हिडे । केहि नयाँ अनुभव र अनुभुति मेरो मानसपटलमा तरंग आइरहेको र मनमनै कल्पनामा डुबिरहेको थिए । मुखिया सापको जागीर खाएर ठाँट बाट सँग हिड्ने । अहा ति दिनका सम्झना हिजोआज सम्झदा अचम्म लाग्छ साथै विश्वास गर्नै नसकिने जस्तो । सबै सरकारी कर्मचारीहरूले यस्तै गरि सरकारी जागीर खाएका हुन् भनि ती लोक सेवा आयोगको कार्यालयका कर्मचारीले स्पष्ट साथ भनेको एकातिर मनमा गुनिरहे भने अर्कोतिर तपाईं सबभन्दा अब्बल हुनुपर्छ तपाईको सिफारिस हामी गर्छौ । हामीले पनि त्यसै गरि जागीर खाएका हौं । तपाईं पनि भोलि यहि अड्डामा आएर हामी जस्तैः कर्मचारी भै काम गर्न सक्नुहुन्छ भनेको कानमा गुन्जिरहे । यसले एकातिर आत्मगौरव जागृत भयो भने अर्कोतिर जिसका कोही नहोता है उसका खुदा होता है भन्ने कथन सार्थक लाग्यो । त्यसपछि सिमलचौर, थक्लेनी गएपछि विद्यार्थीलाई पढाउँदै र मुखियाको गाईड पनि पढ्दै गर्न थाले । दर्ता, चलानी, फाईलिङ, पत्रव्यवहार, टिप्पणी र जनसम्पर्क, समसामयिक संविधान  ऎन, नियम कानुन निजामती सेवा ऎन, नियम, कर्मचारीको आचरण,  भ्रष्टाचार निवारण ऎन नियम सार्वजनिक प्रशासन, कर्मचारी प्रशासन, गणित जोड, घटाउ, गुणा, भाग, साधारण तथा लङ्घुर वाला भिन्न र समसामयिक सामान्य ज्ञान, निबन्ध, सारांश, स्रेस्ता आदि बिषयहरु मसिनो गरि पढ्दै लेख्दै अवधारणा बसाल्दै गए । यसै क्रममा पन्ध्र दिनमा एकपटक दाङ घर आएको बेला समसामयिक  निबन्ध संग्रहको पुस्तक किनेर पढ्न थाले । निबन्धमा अभिरुचि बढन थाल्यो किनकी व्यङ्ग्य लेख,  कथा, कविता आदि लेखिरहने हुँदा एकलब्बे तरिकाले स्वाध्याय गर्दै जाँदा निबन्धको धारा पनि बग्न थाल्यो र प्रवाह बन्दै गयो । बुबा स्वर्गवास भएपछि अध्ययनमा अबरुद्ध भै ससाना कलिला नानीहरुको कलिलै उमेरमा गुरु बा बन्नु परे पनि लोक सेवा अध्ययनको क्रममा आफ्नो गुरु आफै बने । त्यसपछि तोकिएको समयमा परीक्षा दिन आए । परीक्षा दिन आउँदा लोक सेवा आयोग, अञ्चल कार्यालय, तुलसीपुर सरिसकेको थियो । मुखियाको परीक्षा तुलसीपुर गएर दिए । परीक्षा पनि राम्रै भयो । परिक्षाफ़ल प्रकाशित भएपछि लिखितमा उत्तीर्ण भएपछि श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनीमा हुलाकीले पत्र स्कुलकै ठेगानामा पुरायो । म कक्षामा गएको बेला एकजना शिक्षक साथी श्री टेकराज अर्यालले पत्र बुझेछन् । म कक्षावाट आएपछि खोलेर हेर्दा अन्तर्वार्तामा उपस्थिति हुन सक्कल प्रमाणपत्र सहित अनिवार्य आउन बोलाईएको रहेछ यो पढेपछि शिक्षक साथी टेकराज अर्याल र बुद्धिराम आचार्य "सुलिफाईट मास्टर" छक्क परेर दंगाली मारसापको ठूलो सोर्स रहेछ भनेर मेरो उच्च प्रशंसा गरे । त्यतिबेला जिल्ला शिक्षा निरीक्षकको कार्यालयवाट जिल्ला शिक्षा निरीक्षकको आदेशले मुखिया सापहरु बिद्यालय निरीक्षण गर्न आउँथे । औंसी पुर्णिामा जसरी स्कुलमा झुल्किने हेड मास्टर प्रा.वि.नि. र मुखिया साप निरीक्षणमा आउने भनेपछि बिहानै देखि भात भान्साको राम्रो खातीर दारी हुन्थ्यो । लेखापढी गरि स्कुलको रिकर्ड राम्रो नराम्रो गराउन सक्ने शिक्षा दुत मुखिया साप लाई अत्यन्तै उच्च आदरका साथ हेरिन्थ्यो । मैले उनीहरुलाई मेरो सोर्स फोर्स केहि होईन मैले आफ्नै क्षमताले लोक सेवा आयोगको मुखियाको परीक्षा पास गरेको हुँ भन्दा उनीहरुलाई बुझाउनै सकिन कति गर्दा पनि उनिहरुले बुझ्दै बुझेनन् । किनकि त्यो बेलाको समय र प्रवाह अझ शिक्षक जागीरको हरकत त्यस्तै थियो । त्यसपछि म अन्तर्वार्ता दिन आए । त्यतिबेला पनि करिब चारसय जनामा एघार जना लिखितमा पास गराएको सात जनाको सिटमा म बैकल्पिक एक नम्बर अर्थात् आठौं नम्बरको योग्यताक्रममा परे । त्यसपछि धेरै मानिस जो यश कुरासँग जानकार थिए सोर्स फोर्स पुगेन, पैसा ख्वाउनु पर्दथ्यो, भनसुन गर्नुपर्दथ्यो भने तर मेरो धारणा भने सोर्स फोर्स लाग्ने भए म कसरी लिखितमा सफ़ल भए र अन्तर्वार्तामा म भन्दा अब्बल र जान्ने अरु पनि थिए भन्ने कुरामा म निश्चिन्त थिए । यहि सकारात्मक धारणाले जीवनमा कठिन अवस्था झेल्दै अगाडि बढन साहस सिनर्जिकल शक्तिको रूपमा मेरो पहिलो लोक सेवा आयोगसँगको साक्षात्कार चिनारी यहि धरातलवाट सरकारी जागीर र लोक सेवा आयोगको आकर्षण  बढोत्तरी गरिरह्यो । पछिल्लो क्रमहरु संस्मरण गर्नु पुर्व अब म पुर्व प्रसङ्ग तर्फ लाग्दछु ।

अब प्युठान तिराम सिमलचौरवाट शिक्षक सेवावाट स्वेच्छिक रुपमा राजिनामा गरि उच्च  शिक्षा अध्ययनार्थ दाङ घोराही महेन्द्र बहुमुखी क्याम्पस आए । भरिसक केहि न केही काम दु:ख मिहिनेत गरेर भएपनि बि.ए. पास गरेपछि मात्र जागीर खोज्ने त्यो पनि मा.वि. शिक्षक भएर मात्र बिद्यालय सेवामा फर्कने भन्ने दृढ उद्देश्य साथ आए । अन्तन्त क्याम्पसमा महेन्द्र बहुमुखी क्याम्पस, दाङमा भर्खर दोस्रो व्याचको पढाई सञ्चालन भएको कमर्श बिषयको आईकमको अध्ययनमा लागे । शायद यतिबेला अंग्रेजी, गणित बिषय पढेको भए म शिक्षकमा  जाने अवस्था पनि आउँथ्यो तर कमर्श पढाईले पनि निजामती कर्मचारी तिर अभिप्रेरित भए हुँला ।

प्रथम बर्षका साथीहरू अल नेपाल औद्योगिक क्षेत्रको र भारतका दार्जीलिङ, सिक्किम सम्मको शैक्षिक भ्रमणकालागि अर्थ संकलन गर्न व्यापारी र धनाढ्यहरुसंग भ्रमणको टोलिमा म पनि गए तर भ्रमणमा जाँदा यता लोक सेवा आयोगको जाँच छुटने यो करिव २०-२२ दिनको महत्वपूर्ण शैक्षिक भ्रमणको अवसर पनि मैले रद्द गरे, साथीहरू भन्ने गर्थे लोक सेवा पासै हुने ग्यारेन्टी छैन तर भ्रमणमा गए धेरै शैक्षिक उपलब्धि हाँसिल हुन्छ, हामी भए यस्तो स्वर्णिम अवसर कदापि गुमाउने थिएनौं, ती साथीहरूलाई मैले ठाडै  मुख जवाफ दिई भन्दथे - तिमीहरू सुनको पछि लागेका छौ म त हिरा म लोक सेवा आयोग पास गरेर हिरा प्राप्त गरेरै छोडछु ! लौ भन साथीहरू मेरो नजरमा सिधा हेर्न नसकेर नजर झुकाउँथे, यसरी नैतिकरूपमा बिजय पाउँदा  मेरो आत्मबल दुई गुणा बढेर आउँथ्यो ।  यसै सन्दर्भमा लोक सेवा आयोगको परीक्षा अध्ययनको करिव ४ बर्षको क्रमभंग पश्चात्  म फेरि सहलेखापाल एकसिट मात्र माग गरिएकोमा करिव सातसय जनाको प्रतिस्पर्धामा होमिए । दिनभरी क्याम्पसको पुस्तकालय, सार्वजनिक विदाको दिन घोराही बजार स्थित सर्वोदय पुस्तकालय तथा वाचनालय र कहिलेकाही कटुवाखोलाको नजीक अड्डहर वारि जुन स्थानमा हाल गोरखा बोर्डिङ स्कुल रहेको छ । मेरो अध्ययन यति सम्म बेजोड थियो कि बाटोमा हिड्दा पनि ससाना पकेट नोट डायरी लिएर पढदै हिडथे । दुब्लो पातलो शारीरिक अवस्था, कालो दाह्री जुङ्गा झपक्क पालेको मेरो साँच्चिकै एउटा दार्शनिकको जस्तो हुलिया थियो । त्यतिबेला केटाकेटी चिटिक्क परेका हुन्थे भने मेरो हुलिया देखेर केटीहरु तर्सिन्थे भने केटाहरुले हेपाहा पाराले अलि बिल्ला गर्दै दाह्री पाल्दैमा दिमाक आउने हो र ! भन्न पनि भ्याउँथे । बिहान साढे छ बजेदेखि क्याम्पसमा क्लास भएपनि कहिलेकाही बिहानै ५:३० बजे पुग्दथे र सामान्य ज्ञानका लोक सेवा उपयोगी  सामाग्रीहरु क्याम्पसमा भएको ब्ल्याक बोर्ड भरी लेख्थे र सर आएपछि पुछी मेटाई दिन्थे । यसै क्रममा लोक सेवा आयोगको सहलेखापालको परीक्षा पनि आयो तुलसीपुर कपरादेवी स्थित महेन्द्रास्कुलवाट परीक्षा दिए । यहि क्रममा दाङ र सल्यान प्रा.वि.शिक्षकमा पनि दिएको थिए । जिल्ला शिक्षक छनौट समितिवाट दुवैतर्फ लिखित्मा नाम निस्किएको थियो तर अन्तर्वार्ता परिक्षा तोकिएको थिएन । समय सारिणिको तोकिएको समयमै लोक सेवा आयोगको लिखित परीक्षा भयो । करिब सात सय जना उम्मेदवारको प्रतिस्पर्धामा एकसिटका लागि तीनजना लिखितमा उत्तीर्ण भएका थियौ ।

त्यतिबेला संवैधानिक निकाय अन्तर्गत लोक सेवा आयोग अञ्चल कार्यालय, दाङ तुलसीपुरको कार्यालय प्रमुखमा सहायक सचिव श्री प्रतापकुमार पाठक र शाखा अधिकृत श्री योग्यराज लेखक र एकजना अर्का बिज्ञ सहितको अन्तर्वार्ताकारको टीमले हाम्रो अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ताका पुर्ण तयारीमा उपस्थित भए । दोस्रो नम्बरमा मेरो पालो आयो । बोलाहट भएपछि भित्र गएर सबैलाई सामुहिक नमस्कार गरेर उभिरहे ।

मेरा युवावस्थाका संघर्षका आत्माकथा५

अन्तर्वार्ताकारका अध्यक्ष महोदयले अगाडि राखिएको कुर्सीमा बस्ने आदेश पछि अदबका साथ बसेर ध्यानाकर्षण अन्तर्वार्तामा दिए । प्रथमतः  तपाईको परिचय दिनुस् भनेर परिचय मागेपछि मेरो नाम वसन्तराज अधिकारी घर अर्थात्  स्थायी ठेगाना :  मानपुर गा.वि.स.वार्ड नं. ८ मजगाउँ, दाङ अध्ययन : आई.कम. अध्ययनरत पुर्व सेवा: शिक्षक, श्री ने.रा.प्राथमिक बिद्यालय, सिमलचौर, तिराम, प्युठान भनेर चुप लागेर सिधा नजर अन्तर्वार्ताकार तर्फ आईटुआई कन्ट्याक्ट् गरेर बसे । त्यसपछि अन्तर्वार्ताकार मध्येका एकजना बिज्ञले सोधे तपाईको रुचि के छ ?  मैले तत्काल उत्तर दिए - समसामयिक साहित्य अध्ययन र कविता लेखन । यति भनेपछि साहित्यमा रस कतिवटा हुन्छन् भनेर सोधे मैले तुरुन्तै भने नौं वटा ती हुन् करुण रस, वीररस, रौद्र रस, हास्य रस, अदभूत रस, भयानक रस भन्दा भन्दै ल भयो भयो तपाईलाई आउँदो रहेछ भनेर अर्को प्रश्न तत्काल सोधी हाले तपाईं कविता पनि लेख्नुहुन्छ । कहिलेकाही लेख्छु मेरा डायरीका पानाहरु कविताले भरिएका छन् भनेर भनेपछि तपाईले आफै रचना गरेका कविताहरु मध्येवाट एउटा कविता अहिले तत्कालै भन्न सक्नुहुन्छ भनेपछि सक्छु किन नसक्नु बरु समय पावन्दी हजुरहरुले तोकि मलाई बीचैमा  रोक्नु होला भनेर मैले प्युठान जिल्ला स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनी माण्डवी नदी किनारमा त्यस स्थानको सामाजिक चित्रण गरेर रचना गरिएको एउटा कविता "कल र कल माण्डवी जल बगेको सुनिन्छ । स्वदेश छोडी बिदेश जाने दाजुभाइ भेटिन्छ । जाँड र रक्सी खानेको मात्र महत्व दर्शिन्छ । कंगाल देश गरिब जनता कसरी सुध्रन्छ यो देश कसरी सुध्रिन्छ !२ ।।" यो कविता सुनाएपछी वाह ! वाह !! भनेर यो कविता कुन रसमा लेख्नुभएको छ भनेर सोधेपछी मैले पनि तत्कालै करुणरसमा लेखेको छु देशभक्ति करुणा भाव छ भनेर भनेपछि अन्तर्वार्ताकारहरुले सकारात्मक भावमा टाउको हल्लाए र अर्का बिज्ञले नेपाल अधिराज्यको संविधान, २०४७ मा लोक सेवा आयोगको व्यवस्था कति भाग र धारामा छ भनेपछि भाग १४ धारा १०० लोक सेवा आयोग धारा १०१ लोक सेवा आयोगको काम, कर्तव्य अधिकार र धारा १०२ प्रतिवेदन पेश गर्ने भनेपछि अन्त्यमा अध्यक्ष स्वयंले तपाईं आई.कम. पढ्दा पढदै किन जागीर खानु आउनु पर्यो ? भनेर सोध्दा मेरो बुबा स्वर्ग भैसक्नुभएको छ म र भाइबहिनी सबैले क्याम्पस पढछौ एक्लि आमाले खर्च व्यहोर्न सक्ने अवस्था कठिन छ तसर्थ सरकारी जागीर खाँदै पढदै गर्ने मेरो दृढ़  इच्छा छ भनेपछि ल ठिक छ भनी अन्तर्वार्ता टिमका अध्यक्षले अब म तपाईले पढेलेखेका व्यवस्थापन कमर्श बिषयवाट प्रश्न सोध्दछु भन्न सकिन्छ भनेपछि सक्ने प्रयास गर्दछु भने ।

पहिलो प्रश्न तपाईलाई लेखा (Account) मा खाता कति प्रकारका हुन्छन् ? भनेर सोधे मैले तत्कालै लेखामा खाता तीन प्रकारका हुन्छन् । व्यक्तिगत खाता (Personal Account), वास्तविक खाता (Real Account)  र सांकेतिक खाता (Nominal Account) भनेर भनि सक्दा नसक्दै तपाईले भन्नू भएको खाताहरुमा डेविट, क्रेडिटको सुत्र थाहा छ भनेर हुन्छ अंग्रेजीमा नै भन्छु है त भनेर हुन्छ भन्नुहोस् भनेपछि
In Personal Account : Debit the receiver Credit the giver, than
In Real Account : What comes in Debit, What goes out in Credit. and
In Nominal Account : All expenses or losses Debit, all gains or income Credit.
त्यसपछि अन्तर्वार्तामा अध्यक्ष महोदय स्वयंले आहा ! बसन्तजी कति राम्रो भनि मलाई फटाफट प्रश्नको वर्षा गर्न थाल्नु भो खाता (Ledger) भनेको के हो ? वासलात (Balance Sheet) भनेको के हो ? सानो नगदी कोष (Petty Cash Book), गोश्वारा भौचर, बैंक नगदी किताब यि र यस्ता प्रश्नहरुको उत्तर पनि सरल रूपमा दिदै गए । अन्तमा बसन्तजी तपाईं सहलेखापाल नियुक्ति हुनुभएको कार्यालयले मोटरसाइकल खरिद गर्दा लेखामा एक जना एकाउन्टेन्टको हैसियतले हिसाबकिताब कसरी राख्नुहुन्छ । मैले पनि तत्कालै भने डेविट ब.ख. मोटरसाइकल क्रेडिट बैंक गोश्वारा भाउचरमा प्रविष्ट गरि संक्षिप्त कथन (Narration) जस्तो बजेट खर्च पुँजीगत शीर्षक वाट कार्यालयले मोटरसाइकल ब्राण्ड नं. उल्लेख गरि रकम समेत अंक अक्षरमा लेखी खर्च गरेको छ लेख्ने अनि यही विवरण लाई बैंक नगदी किताब र खाताहरुमा प्रविष्ट (Entry) गर्ने । यति भनेपछि तपाईले कतै लेखाको काम गर्नुभएको थियो ? भनि अन्तर्वार्ताको अध्यक्षले सोधे पछि अहँ गरेको छैन । बिद्यालयमा शिक्षक हुनुभएको बेला गर्नुभएको थियो कि भनी सोधेको प्रश्नमा अहँ त्यतिबेला पनि मैले नेपाली बिषय पढाउँथे । त्यसो भए कसरी यस तरिकाले  प्रयोगात्मक भन्न सक्नुभयो । लेखामै काम गरेका लेखापाललाई यसरी भन्न आउँदैन भनेर सोध्दा मैले मेरो परिचय क्रममै  भनिसकेको छु । मैले आइ.कम. अध्ययन गर्दा यो धारणा बनाएको हुँ भनेपछि लौ सफ़लताको अग्रिम बधाई छ तपाईलाई भने र अन्तर्वार्तावाट बिदा गरेपछि  अन्तर्वार्ताकारको अनुमति पाई बाहिर निस्केर अन्तिम साथीलाई समेत पर्खेर लेखाजोखा गर्दा तीनैजनालाई सोधिएको प्रश्न करिव२ समान रहेछन् तर लेखाको प्रयोगात्मक प्रश्नको उत्तर अरु साथीहरु भन्दा मैले अब्बल तरिकाले प्रस्तुत गरेको रहेछु ।

यहाँ स्मरणीय कुरा के छ भने यो सहलेखापाल भन्दा पुर्व सहायक लेखापाल मुखियास्तरको परिक्षामा दुईवटा सिटमा लिखित पास गरेर अन्तर्वार्ता एक नम्बर बैकल्पिकमा परिसकेको हुँदा लोक सेवा आयोगका बिज्ञ अन्तर्वार्ताकारको मनोविज्ञान बुझेर उत्तर दिने कुरामा म सिद्ध हस्त भैसकेको पनि थिए । मलाई जहाँ सम्म लाग्दथ्यो यो अन्तर्वार्तामा सफ़ल हुन्छु भन्ने पुर्ण विश्वास थियो तर पनि ठोकुवा साथ भन्न सकिने अवस्था भने सायद कसैलाई कहिल्यै हुँदैन ।

त्यतिबेला म सहोदर भाइबहिनीहरुसँग रझेना वासुदेव गौतम सरको घरमा डेरा गरि बस्थे । त्यही घरमा रोल्पा लिवाङ निवासी मेरो मावल साहिला बाजेका छोरा दिवाकर मामा पनि डेरामा त्यही घरमा अर्को कोठामा डेरामा बस्नुहुन्थ्यो । मैले अन्तर्वार्ता दिएर आएकै दिन शनिबार परेको थियो । मामाले जिल्ला भुमिसुधार कार्यालय, दाङमा ब.स.नि. अर्थात् बचत सहायक निरीक्षक अर्थात् श्री ५ को सरकार भुमिसुधारको खरिदारको रुपमा कार्यरत हुनुहुन्थ्यो । मामाले मलाई आफ्नै कोठामा बोलाएर सोध्नुभो भाञ्ज देउता तपाईं लेखापाल खरिदारमा पास गर्नुभएको  अन्तर्वार्ता भयो । भयो मामा अन्तर्वार्ता दिएर आए भनेर मैले भनेपछि मामाले भन्नुभयो भाञ्ज भनसुन गरि पैंसा नखुवायर कहाँ पास हुनु तपाईको दुई दुई पटक अन्तर्वार्ता बिग्रेकाले होशियार हुनु होस् है भाञ्ज बरु म सहयोग गर्छु । मैले यी लिवाङी मावली पनि अलि ठट्टा मजाक गर्दारैछन् भनेर त्यसो होईन मामा लोक सेवामा त्यस्तो केही चल्दैन । मभन्दा राम्रो जान्ने मान्छेहरू पास भए होलान् मैले अझै धेरै मेहनत गर्नुपर्छ भनेर भन्दा मामाले फ़ेरि हेर्नुस् है भाञ्ज भन्या मान्नुस् नत्र पछुतो मान्नु पर्ला त्यहा पनि पैंसा खान्छन् सोर्स लाग्छ भनेर भन्न थालेपछि मैले उल्टै मामालाई तपाईं पनि खरिदार साप हुनुहुन्छ के तपाईले पनि पैसा ख्वाएर जागीर खानुभएको हो त भनेर सोध्दा आफ्नो दिदीको छोरा भाञ्जलाई किन झुठ बोल्नु मैले पैसा ख्वाएर नै यो जागीर खाएको हुँ भनेर भन्छन् मामा त त्यसो भए कस्लाई कति कहिले ख्वाउनु भयो भनेर सोध्दा बि.सं.२०४१ सालमा लोक सेवा आयोगले ३५-४० जना ब.स.नि.मागेको थियो । मैले पनि फाराम भरेर यहि रझेनाका मिनराज गौतम जो अहिले पनि लोक सेवामा सुब्बा छन् पाँचहजार नगद दिएर त्यो बिज्ञापनमा म पास भएन अर्को पल्ट झन धेरै माग्यो र पास भए । पास नभए पैसा फिर्ता गर्छन् बेमान गर्दैनन् भनेर मावलीले भनेपछि म त छानावाट खसे जस्तो झसङ्ग भए । हे भगवान् के सुन्नु पर्यो यस्तो । एकैक्षणमा सम्हालिएर धैर्य साथ भने मामा त्यसो भए जाउँ हिड्नुस् मिनराज सरसँग कुरा गर्न भनेर मामालाई प्रस्ताव गरे । मामाले मेरो प्रस्ताव स्वीकार गरेर दुवै मामा भाञ्ज मिनराज गौतमको घरतर्फ लाग्यौ ।

मिनराज घरैमा आरामले बसिरहेका थिए । नमस्कार गरि भित्र कोठामा गएर बस्यौं । मिनराजले मलाई क्याम्पस आउँदा जाँदा पढदै हिड्ने अलि दार्शनिक स्वभावको मान्छे चिनेका रैछन् । तपाईं त यहीँ बासुदेव दाइको घरमा बस्नुहुन्छ नाम के रे भनेर सोधे मैले मेरो नाम बसन्तराज अधिकारी हो घर मजगैं हो । हजुरले याहाँ लाई चिन्नुभाछ भनेर मामालाई सिकाएर भने । अहँ चिन्दिन भनेपछि रोल्पा लिवाङ घर भएका दिवाकर आचार्य तपाईं जस्तैः कर्मचारी भुमिसुधारको खरिदार साप हो । तपाईसँग विशेष कुरा गर्नु छ एकक्षण समय दिनुस् भनेर अनुरोध गरेपछि मिनराजले हुन्छ भन्ने स्वीकृति जनाएपछि मैले कुरा सुरु गरे । मिनराज सर लोक सेवामा सोर्स फोर्स चल्छ ? लोक सेवा पास गरि जागीर खान पैसा ख्वाउनु पर्छ ?? मीनराजले अहँ त्यस्तो केहि पनि पर्दैन । आफ्नो योग्यता, क्षमताले प्रतिस्पर्धामा जो सफ़ल हुन्छ उसैले जागीर खान पाउँछ भनेपछि मैले तत्कालै मामालाई देखाएर वाहाँ मेरा मामाले तपाईलाई नै ०४१ सालमा पाँचहजार दिएर ब.स.नि. पास भएको भन्नुहुन्छ यो कुरा झुठो हो ? भनेर भनेपछि दिवाकर मामा पेट दुख्यो ट्वाईलेट जान्छु भनेर तत्काल भाग्नुभयो । त्यसपछि मैले मीनराज सरलाई निकै कडासँग प्रहार गरे । यदि यि मामाले भनेको कुरो साँचो हो भने तपाईका चिफ्ला कुरामा मैले किन विश्वास गर्ने ? तपाईं त मतियार मात्र रैछ तपाईंको हाकिमलाई भोलि नै गै कार्यकक्षमा कुर्सीवाट खसालेर गोद्न सकिन भने म पनि अधिकारी हैन । बरु आजीवन लोक सेवा दिंदैन किन्तु तपाईहरुको यो कालो कर्तुतलाई आँख चिम्लेर बस्दिन बुझ्नुभो भनेपछि बडो गम्भीरता साथ शान्त भावमा सर कृपया  एकक्षण धैर्य गरेर मेरा कुरा सुन्नुस भनेपछि भन्नुस् म सुन्न तयार छु भनेर शान्त भए । मिनराज गम्भीर भावमा भन्दै गए । हेर्नुस् हामी पनि अरु कार्यालय जस्तैः सरकारी कार्यालयका कर्मचारी न हौं । एकजमाना यस्तो पनि थियो । एकातिर सरकारी अड्डामा कर्मचारीरुपमा जागीर खाने योग्यता पुगेको मानिस पाईदैन थ्यो । तपाईं पनि शिक्षक भएकोले यो कुरो थाहै छ । यस्तै अर्कोतिर तपाईका मामा जस्ता पहाड तिरका मानिसहरू मलाई खरिदार बनाउनु पर्यो योग्यता पुगेको छ भनि घरैमा आउँथे र हामीले नाई नास्ती गर्दागर्दै पनि पैसा छोडी जान्थे । हामीले कुनै पनि प्रकारको कर कापले मागेको होईन ल कुकुर खुट्टि खा भनेर दिएपछि खाएको खुश हो घुस होईन अब आफै भन्नुस् हामी खराब कि तपाईको मामा जस्ता खराब त्यसैले मेरो भनाई हामी शतप्रतिशत दुधले मुख धोएको चोखो पनि नहौला तर हामीलाई खुश, नजराना, बक्सिस को रूपमा नखाएर चोखो छौ भन्न पनि म सक्दिन । मीनराजले त्यति भनेपछि मैले भने त्यसो भए म दुई दुई पटक लिखितमा सफ़ल भै मौखिक अर्थात् अन्तर्वार्तामा असफ़ल भएकाले मैले पनि तपाईहरुलाई खुश, नजराना, बक्सिस, इनाम कति टकारनु पर्यो त । मैले यति भनेपछि मिनराज बडो गम्भीरता पुर्वक भन्न थाले ।

वसन्त सर म तपाईलाई राम्रोसँग चिन्दछु । तपाईं असाध्यै मिहिनेती, कर्मठ युवा हुनुहुन्छ । बिडम्बना मात्र हैन दु:खद कुरा हो तपाईं दुई दुई पटक लोक सेवा आयोगको परिक्षामा मौखिक अर्थात् अन्तर्वार्तामा असफ़ल हुनुभो । तपाईको पढाइ पुगिसकेको छ अब तपाईं असफ़ल हुनुहुन्न । लोक सेवा आयोगको नियम नै छ तीनपटक असफ़ल भइदैन । अहिलेका हाकीम साप सहायक सचिव श्री प्रतापकुमार पाठक सर हुनुहुन्छ । सायद तपाईको अन्तर्वार्तामा चिन्नु भएको छ । लोक सेवामा पद्धति छ, नियम कानुन छ जो योग्य, सक्षम छ उसैले पास गर्ने हो । कपि चेकिङ बैज्ञानिक पद्धति कोडिङ, डिकोडिङ हुन्छ हामी त्यहिका कर्मचारीहरुलाई पनि थाहा नहुने र पुर्ण बफादार इमानदारी पुर्वक कार्यसम्पादन भएका छन् । यसका उदाहरण तपाईं दुई दुई पटक लोक सेवा आयोगमा सफ़ल हुनु पनि हो । म पनि लोक सेवा आयोगमा प्रशासन शाखामा काम गर्छु । मेरो विश्वास गर्नुस् तपाईं आफ्नै योग्यता, क्षमताले प्रतिस्पर्धामा यसपटक अवश्य सफल हुनुहुनेछ धैर्य राख्नुस् । तपाईं सफ़ल भएपछि सबैभन्दा खुशी मै हुनेछ भनेपछि ल ठिक छ म पनि हेर्छु यो पनि मेरो लोक सेवा आयोगको अन्तिम परीक्षा हुनेछ सफलता भए अगाडि बढने अन्यथा बाटो बदल्नु पर्छ यति भनेर मीनराजसँग बिदा भै कोठामा आउँदा मामा रिसले फायर भैरहेको मैले भने मामा तपाईं किन रिसाउनु हुन्छ ? मैले मीनराजलाई ठिक पारेर चेतावनी दिएर आएको छु । हेर्दै जानुस् अब यश पल्ट मेरो फरक पर्दै पर्दैन म सफल हुन्छु । मामाले कडा रुपमा प्रस्तुत हुँदै भन्नुभो । भाञ्ज तपाईं ज्यादै मूर्ख हुनुहुँदोरहेछ अब कहिल्यै पनि लोक सेवा पास हुँदै हुनुहुन्न । आफ्नो भाञ्ज भाञ्जीलाई केहि गुण गरम भनेर सहयोग गर्न खोज्दा पनि उल्टै मामालाई बेकुफ बनाउनु भो । अर्कालाई गुणगर्ने जमानै छैन भनी मामा फतफताईरहेको बेला मैले पनि मामा तपाईले एउटा कुरा हर्दम याद राख्नुस् । अंग्रेजीमा भनाई छ - God Help those who help themselves हुन् त ईन्डिया देवरियावाट आई.ए. पास गरेको चोरता फस्ट डिभिजन पास भएको सर्टिफिकेट ल्याई याहाँ बि.ए. मा पढेको नाटक गर्ने र जागीर बढुवा हुन्छु भनी धक्कु लगाउनेलाई यो तपस्या गर्ने कश्यप ॠषिको सन्तान भाञ्जको ज्ञान र क्षमतालाई बुझ्न सक्नुहुन्न । मैले माथी भनेको अंग्रेजी भनाईको भावार्थ "ईश्वरले त्यही मानिसलाई सहायता गर्छन् जस्ले आफ्नो सहायता आफै गर्न सक्छ भनेको हो । शिवोSम्  शिवोSम् तपाईजस्ताको सहयोग चाहिएको पनि छैन मामा । एउटा कुरा हर्दम याद राख्नुस् अब तीन दिन भित्रमा परिक्षाफल निस्कन्छ त्यो हेर्नुस् अनि मसँग बिबाद गर्नुहोला अहिले चुप लाग्नुस् । बच्चा जस्तो बोलिरहनु ठिक छैन । यति भनेपछि मामा पनि चुपचाप आफ्नो कोठातिर लागे । नभन्दै भोलिपल्ट लोक सेवा आयोग, अञ्चल कार्यालय, तुलसीपुर, दाङले परिक्षाफल (Result) निकाल्यो । म सहलेखापालको अन्तर्वार्तामा सफ़ल भएको कुरा स्वयं मीनराजले मलाई  भेटेरै भन्नू भयो । वसन्त सर अब सिफारिस पत्र लिएर कोष तथा लेखा नियन्त्रण कार्यालय, सल्यानमा स्थायी नियुक्ति लिन जाँदा हुन्छ भनेर भनेपछि मैले तत्काल मामाजीलाई मामाजी म सहलेखापाल मा पास भएछु कोलेनिका, सल्यान अब स्थायी नियुक्ति लिन जाने भनेपछि मामाले कस्ले भन्यो भने मिनराजले भनेर मैले भनेपछि ढाँटेका त हैनन् भनेपछि मैले भने मलाई १०० मा १००% प्रतिशत विश्वास छ हेर्दै जानुस् शंका गर्दै जानुस् जल्दै जानुस् भनेपछि म पनि यसै पटक सुब्बा भएर जुम्लातिर गएर भुमिसुधारको हाकिम हुन्छु भनेर मामाले भने त्यस्ता नक्कली फस्ट डिभिजन छ्या भनेर मुन्टो बटारेर हिडे । तत्काल लोक सेवा आयोग, सिफारिस पत्र बुझी नियुक्तिका लागि महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यान खलंगा जाने योजना बनाए ।

यो कुरा बि.सं. २०४७ साल असोज ११ गते शुक्रबार को हो । सोही दिन बिहान् ११:०० बजेतिर लोक सेवा आयोग अञ्चल कार्यालय, तुलसीपुर पुगि सिफारिस पत्र बुझे । मिनराज गौतमले बधाई छ सर तपाईं सफ़ल हुँदा म आफू स्वयं सफ़ल भएभन्दा खुशी लाग्यो भनेर हात मिलाएपछी धन्यवाद दिई बाहिर लोक सेवा आयोगको मुल गेट सम्म आएको थिए । एकपटक झल्याँस्स सम्झे कमसेकम आफुलाई स्थायी जागीर प्रदान गर्ने लोक सेवा आयोगको हाकिमलाई त एकपटक भेटेर जाउँ । यति बिचार मनमा आएपछि तत्काल कार्यालय तिरै फर्के । मिनराजले ढोकावाट देखि किन फर्कनुभएको के बिर्स्यो भनेर सोधेपछी केही बिर्सेको छैन । एकपटक हाकिम सापलाई भेटेर नमस्कार सम्म गरेर जाउँ भन्ने बिचार आयो र फर्के भनेपछि धेरै राम्रो भनेर माथिल्लो तलामा हाकिमसाप बस्नुभाछ भेटनुस् भनेपछि सरसर भर्र्याङ् वाट माथिल्लो तलामा उक्लिएर नमस्कार सर भनेर दुवै हात जोडेर अभिवादन गरे । हाकिम साप सहायक सचिव श्री प्रतापकुमार पाठक झ्याल नीर ढोका तर्फ फर्केर कुर्सीमा बसि एउटा मोटो Public Administration को किताब पढिरहेको हुनुहुन्थ्यो । मेरो अभिवादन पश्चात् यहाँको के काम थियो भनेर सोध्नु भो । मैले पनि तत्काल हजुरलाई नमस्कार गरेर भेट्न मात्र हो भनेपछि बस्नुस् भन्नू भो । सोफामा वाहाँको मुखेन्जी बसेर मेरो नाम बसन्तराज अधिकारी घर मजगैं, दाङ अहिले बिज्ञापन भएको अन्तिम रिजल्ट प्रकाशित  भएपछिको सहलेखापालमा सफ़ल भै कोलेनिका, सल्यानका लागि जाँदा जाँदै एकपटक हजुरलाई नभेटी गोडा अगाडि बढेनन् र भेटन आएको हुँ सर भनेर भनेपछि पाठक सरले प्रफुल्ल मुद्रामा कार्यालय सहयोगीलाई दुई कप अफि अर्डर गरि मतिर हेरेर भन्नू भो । एकसिटमा करिब सातसय जनाको प्रतिस्पर्धामा को आउँदो रहेछ भनेर हामी पनि बिचार गरिरहेका थिईम तपाईको लिखित पनि सबैभन्दा उत्कृष्ट र अन्तर्वार्ता पनि सबैभन्दा राम्रो भएर त्यो एक सिटका लागि तपाईं छनौट हुनुभो । अब भन्नुहोस् लोक सेवालाई तपाईं के भन्नू हुन्छ ? लोक सेवा मेरो कर्म जननी वा आमा हुन् भनेर मैले भनेपछि आहा क्या बात तपाईको बिश्लेषण सटिक, मार्मिक र सर्वोत्तम छ । त्यति गर्दा दुई कप कफि पनि आईपुग्यो । अनि हाकिम साबले भन्नू भो आरामले बस्नुस् बसन्तजी कफि पिउनुस् । सल्यान जाने बस एकबजे सम्म जान्छ भरे बेलुका पुगिहाल्नु हुन्छ भनेपछि हुन्छ सर भनी आरामले स्वादिलो कफि पिउन थाल्यौं ।

तपाईलाई एउटा निर्देशन गर्दछु र एउटा प्रश्न गर्छु भन्नू भो हुन्छ सर भने । पहिलो निर्देशन अहिले जिल्ला स्थित कार्यालयमा मुखिया, सहायक लेखापाल, खरिदार, सहलेखापाल, नासु, लेखापालका दरबन्दी रिक्त हुँदा हुँदै पनि कार्यालयले स्थायी माग नगरी अआफ्ना मान्छे भोज पाटी खाँदै अस्थायी नियुक्ति गरि बर्षौ सम्म राख्ने गरेका छन् तपाईले त्यहाँको माग फाराम पठाउने काममा हामीलाई सहयोग गर्नुभयो भने एकातिर तपाई जस्ता प्रतिभावान, योग्यता, क्षमता भएका सर्वसाधारण नागरिकले राज्यको सेवामा प्रवेश गर्ने र राष्ट्र सेवाको अवसर प्राप्त गर्दछन् भने अर्कोतिर संवैधानिक निकाय हाम्रो यो कार्यालयले काम पाउँछ यश कुरामा तपाईं सक्दो प्रयास गरि हामीलाई सूचना दिनुभयो भने हामी छापा मारेर भएपनि रिक्त सिटहरु ल्याएर आएर बिज्ञापन गर्दछौ । भनेर भनेपछि हुन्छ सर म सक्दो प्रयास गर्दछु भनेर भने । अब तपाईलाई एउटा प्रश्न सोध्दछु जुन आम खुला  प्रश्न हो जुन तपाईले ऎन नियम, कानुन, कार्यविधि र किताबमा पढेका कतैबाट पनि उत्तर नदिएर आफ्नो अभ्यन्तर ह्रदयवाट जवाफ दिनुहोला भनेर निजामती सेवा भनेको के हो भनेर सोध्नुभयो । उत्तर सोंचे मैले त अहिलेसम्म संविधान, ऎन नियम कानुन पढेर निजामती सेवाका परिभाषा कण्ठ पारेको छु यो भन्न प्रतिबन्धित छ । अब के भनौ खुब सोचे मैले अनि भने प्रश्न सजिलो छ सर तर उत्तर कठिन । सोच्नुस् सोंचेर भन्नुस् भनेर प्रताप सरले सोच्न पनि समय दिनुभो । करिब पाँच मिनेट सम्म सोंच्दा पनि ठ्वाक्कै उत्तर न आएर कार्यालयमा काम गर्ने भने त्यसो भए तपाईले पहिला स्कुलमा पढाउनु हुन्थ्यो । त्यहाँको प्रधानाध्यापकले कार्यालयमा काम गर्थे के त्यो पनि निजामती सेवा हो त भनेपछि अहँ शिक्षक सेवा निजामती सेवा होईन भनेर सर मलाई आउँदैन अब हजुरले नै भन्दिनु पर्यो भनेर भने । त्यसपछि मलाई पाठक सरले फ़ेरि सोध्नुभयो निजामती सेवाको पद कहाँदेखि कहाँसम्म हुन्छ ? मैले तत्काल भने पिउन देखि सचिव सम्म । स्मरण रहोस् कार्यालय सहयोगीलाई त्यतिबेला कानुनतः  पिउन  भनिन्थ्यो । सचिव भन्दा माथी उहाँले सोध्नु भो म अकमकिए । उहाँले पुनः भन्नुभयो मुख्यसचिव हुन्छ बसन्तजी जुन मन्त्रीपरिषद्को अनिर्वाचित सचिव अर्थात् क्याविनेट सेक्रेटरी  भनेर भन्नू भो र ल अब सुन्नुस् निजामती सेवाको अर्थ अब म तपाईंलाई भन्छु भनेर निजामती सेवा सम्पुर्ण रोजगारहरुको अभिभावक सेवा हो जुन योग्यता, क्षमता, प्रतिस्पर्धावाट स्वतन्त्र संवैधानिक निकाय लोक सेवा आयोगवाट कानुनतः सिफारिस भै श्री ५ को सरकारका सरकारी निकायमा स्थायी नियुक्तिका लागि योग्य ठहरिन्छन् । कानुनतः सेवा सुविधा प्राप्त गर्दछन् । अहाँ कति स्पष्ट र गहन अर्थ । मैले अचम्म मान्दै सोधे हजुरले कसरी भन्नू भो यति विशिष्ट अर्थमा । प्रताप सरले शान्त गम्भीरता पुर्वक भन्नू भो म पनि निजामती सेवाको सहायक सचिव राजपत्रांकित द्वितीय श्रेणीको अफिसर हुँ । एउटा कुरा सदैव स्मरण गरि व्यवहारमा कार्यान्वयन गर्नुस् योग्यता, क्षमता र प्रतिस्पर्धामा निजामती सेवा जागीर खाएपछि स्वअध्ययनलाई जस्तो सुकै परिस्थितिमा पनि कहिल्यै नछाड्नुस् । हेर्नुस् त मैले एम.बि.ए. गरेर सहायक सचिव भएर पनि जनप्रशासनमा एम.पि.ए. पढदैछु । मलाई सहसचिव हुनुछ । तपाईं पनि नायब सुब्बा, शाखा अधिकृत हुँदै मुख्यसचिव सम्म पुग्नुपर्छ भनेर ठूलो हौंसला बुलन्द गर्नुभो र मैले दुबै हात जोडि शिर निहुराई हवस्  सर अब म पनि जान्छु बस छुटला ढिला होला बेलुकासम्म सल्यान पुग्नु छ भनेर बडो गौरवका साथ फटाफट अगाडि बढे ।

यसपछि सल्यान रवाना हुने लोकल बसमा प्रताप सरका गहन प्रभावोत्पादक महावाणि स्मरण गर्दै आगामी दिनमा निजामती  जागीरका साथसाथै क्याम्पसको अध्ययनलाई निरन्तरता दिने बिषयमा गहन सोच्दै कहिले कपुरकोट अगाडि मुलपानी, शारदाको किनार माथितिर फलाबाङ तर्फको बन हेर्दै छेउमा एकैसिटमा बसेको साथीलाई सोध्दै कहिले क्याम्पसका दिन र पढाईका कुरा गुन्दै कहिले घरका कुरा त फ़ेरि नियुक्ति पश्चात् गाँस बासका कुरा सोच्दै अगाडि बढदै गए । कच्ची बाटो झल्ट्याङ झुल्टुङ बसको यात्रा गर्दै सल्यान शितलपाटी पुगियो । खलंगा सम्म बस बिहानको मात्र जाँदो रैछ दिउँसो को तलै शीतलपाटीमा बस्दोरैछ अरु विकल्प केही थिएन । दुईटा झोला किताबै किताबले भरिएको र बाकस सानो सानो आफ्नो लत्ताकपडा बोकी सल्लेरी चिप्लो बाटो र बन हुँदै मानिसलाई सोध्दै ठाडै उकालो हानिए सल्यान खलंगा तिर । साझ करिब सवा पाँच बजेतिर कार्यालय छुट्टी हुन लागेको समयमा अफिस पुगे । खलंगा बजार काईयोको बुटादेखि तलतिरको बाटोमा लुहापिङ हाईस्कुल र क्याम्पस जाने सडक छेउमै भाडामा नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय अन्तर्गत जिल्ला  कोष तथा लेखा नियन्त्रण कार्यालय थियो । कार्यालय प्रमुख लेखा अधिकृत रामेछाप घर भएका बाबुराम श्रेष्ठ हुनुहुन्थ्यो । लेखापाल श्री गणेशप्रसाद शर्मा, हरिशरण आचार्य, बद्रीप्रसाद अर्याल, सहलेखापाल बिष्णुप्रसाद गौतम, कुलबहादुर के.सी., डम्बरबहादुर सुनुवार र टाईपिष्ट मुखिया श्री चम्फा बि.सी. र तीनजना कार्यालय सहयोगीमा एकजना मानबहादुर र अर्का थलबहादुरको सम्म नाम याद छ । साझ साढे बजे तिर कोष नियन्त्रक बाबुराम श्रेष्ठ सरको कार्यकक्षमा एकक्षण  सबै बस्यौ । वरिष्ठ लेखापाल द्वय गणेशप्रसाद शर्मा र हरिशरण आचार्यले एकाउन्टेन्ट भएर पनि आफै झोला गुण्टा बोकेर ल्याउने कोहि मानिसलाई मौखिक खबर पठाको भए हामी पिउन पठाईदिन्थेम भनेर निजामती सरकारी कर्मचारीको सान रवाफ देखाए । मैले मेरा कपडा लत्ता यतै किन्ने हो केहि समय होटलमै खानपिन गर्छु । यी मेरा पढने पुस्तक हुन् । विद्यार्थीको स्वभाव छदैछ आफै बोक्न सकिहाल्छु भनेपछि उनीहरुले ओंठ लेप्र्याए । नियुक्तिको लागि टिप्पणी आदेश ठिक्क पारे । आइतबारदेखि हाजिर हुने गरि नियुक्ति गर्ने यहि कार्यालयमै सहलेखापाल कुलबहादुर सँगै बस्ने छुट्टाछुट्टै कोठाको समस्या छ भनेपछि मैले क्याम्पसमा आईकम पढदाका सहपाठी एकबर्ष अगाडि सहलेखापाल पास भएर गएका डम्बरबहादुर सुनुवारलाई कुलबहादुरजी कस्ता स्वभावका मानिस हुन् भनी सोध्दा प्रायः दैनिक ड्रीङ्क्स गर्छन् क्यासेट बजाउँदै नाच गान गरि रमाइलो गर्छन् भनेपछि अहँ हुँदैन मलाई आईकमको फाइनल परीक्षा पास गर्नुछ अहँ म भाडा तिर्छु छुट्टै बस्छु मलाई कोठा खोजिदेउ भनेपछि बुढा लेखापालहरुले भने अफिसको गोप्यता हुन्छ अफिसमै बस्नुपर्छ त्यसो भए मलाई छुट्टै कोठा चाहिन्छ नत्र बाहिर बस्छु तपाईहरुको गोप्यता आफैसँग राख्नुस् म बाहिरै बस्छु भनेपछि बल्ल तल्ल ठिकै छ त्यसो भए बाहिर खोज्दिम चौतारी होटल, डाँडागाउँमा खानपिनको व्यवस्था गर्ने त्यतै डाँडा गाउँ तिर डेरा खोजिदिने ओढने ओछ्यानको व्यवस्था पसलवाट किने हुन्छ आज काम चलाउ गरेर भोलि शनिबार सबै व्यवस्था गर्ने प्रसिदेखि अफिस शुरु हुन्छ भन्ने सल्लाह तय भयो ।

मलाई डेराको व्यवस्थापन गर्न एकजना पिउन र सहलेखापाल डम्बरबहादुर सुनुवार र लेखापाल बद्रीप्रसाद अर्याल खटिए । ओढने ओछ्यान तन्ना सिरानी त्यही नजिकको पसलवाट किनेर सल्यान डाँडागाउँ राजेन्द्रबहादुर शाहको दाइको छोरा शिक्षक थिए उनको घरको तल्लो तलाको अगाडिको कोठामा महिनाको तीनसयमा कोठा तय भयो । खानपिनका लागि चौतारी होटल, सल्यान डाँडागाउँमा व्यवस्था भयो ।

मेरा युवावस्थाका संघर्षका आत्माकथा६

भोलिपल्ट शनिबार कोठाको व्यवस्थापन गर्दैमा पूरा दिन वित्यो अपरान्हतिर कार्यालय तिर आईयो । केही कर्मचारी सहकर्मी साथीहरु शनिबारको सार्वजनिक विदाका दिनमा पनि कार्यालयमा कार्यव्यस्त थिए किनकी असारको महिना समाप्त हुँदै बार्षिक सालतमामी चल्दै थियो । सम्पुर्ण जिल्लाभर साधारण र विकासको निकासा र खर्चको लेखापरीक्षणको हिसाबकिताब चुस्त दुरुस्त राखी आन्तरिक लेखापरीक्षण वाट निस्किएको बेरुजु विवरण र सम्परिक्षणका सम्पुर्ण हिसाबकिताब चुस्त दुरुस्त रुपमा लगत कसि एकप्रति कार्यालयमा अभिलेख राखी केन्द्रिय  कार्यालय  महालेखा नियन्त्रक कार्यालय र सम्बन्धित तालुक बिभाग र मन्त्रालयमा बार्षिक आर्थिक विवरण  पठाउनु पर्दथ्यो । नयाँ जागीर नयाँ साथीहरू कता कता रमाइलो गौरवान्वित लाग्दथ्यो भने लेखा समुहका साथीहरु खुलस्त नबोल्ने, हाकिम र माथिकालाई अलि बढी चाप्लुसी र चाकरी जस्तो भाषा प्रयोग गर्ने समानस्तरमा ठट्टा रमाईलो गर्ने आफुभन्दा जुनियर लाई अलि हेपाहा व्यवहार प्रष्ट देखिने गरि गर्ने हुँदा मैले यस्तो रकमी मिजास अर्थात् प्रशासनिक भाषामा Bicycling Policy लाई त्यति राम्रो र रुचिकर रुपमा लिन सकिन र चित्तै नबुझ्ने कुरामा एकपटक बोल्ने नत्र चुप लाग्ने अन्तर्मुखी स्वभाव गर्न थाले त्यसो गरे आफ्नो भेउ अरु सबैले पाउँदैन कसैसँग नजीक र कसैसँग टाढा पनि हुनु पनि पर्दैन । अपितु "कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि" को आत्म बोध भएपछि "सुरु सुरु आना सुरु सुरु जाना सय बुद्धिका परे उत्ताना" भनेझै गरि मानिसको अआफ्नो स्वभाव र पहिचान  पृथक पृथक हुन्छ सम्झौतामा जीवन गति स्वतस्फूर्त चल्दोरहेछ  ।

कोष तथा लेखा नियन्त्रण कार्यालयमै कार्यरत छँदै त्रिभुवन विश्व बिद्यालय अन्तर्गत  महेन्द्र बहुमुखी क्याम्पस, दाङवाट  आई.कम. दोस्रो बर्षको अन्तिम परीक्षा नजिकिदै गर्दा मेरो अध्ययनमा तिब्रता बढदै गयो । तथापि अर्कोतिर  कार्यालयको कार्यचाँप पनि थियो । बि.सं. २०४७ सालको श्रावण महिनामा कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यानवाट आन्तरिक लेखा परिक्षणको केन्द्रिय स्रेस्ता तयार गर्ने, बेरुजु प्रगति विवरण पठाउने, राजस्वको हर हिसाबकिताब र चलानीका यावत् कार्यमा  कार्य व्यस्तता नै थियो । नयाँ आर्थिक बर्ष प्रारम्भ भएपछी लेखापाल साथीहरू रेडबुक अर्थात् अर्थ मन्त्रालयवाट प्रकाशित रातो किताबमा ध्यान दृष्टि पुराई मनको लड्डु घ्यूशीत खाने झै गर्दथे । सुरु सुरुको जागीर भएर र यस्तो रकमी व्यवहार नबुझ्दा लाख करोडका बजेटमा गिद्धे दृष्टि गर्दा म अक्क न बक्क हुन्थे । बास्तवमा जति धेरै बजेट कार्यक्रम भयो त्यतिनै / "मौरी काँढनेले हात चाटने पाउँदो" रहेछ । अरु बड्डा लेखापाल साथीहरुलाई बुझेर दु:ख म सिकारु लेखापाललाई नबुझेरै दु:ख । तसर्थ लोकोक्ती भनाई पनि रहेको छ - पैले बुझ्न कठिन बुझ्यो अझ कठिन झन झन बुझ्यो झन कठिन" ।

नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालय अन्तर्गत म कोष तथा नियन्त्रण कार्यालय, सल्यानमा  नेपाल प्रशासन सेवा, लेखा समूह, राजपत्रअनंकित द्वितीय श्रेणी सहलेखापाल पदमा मिति २०४७ असार १३ गते आइतबारदेखि  हाजिरी भए । हाजिरी भएकै दिन एकजना दाङ तिरै घर भएका कुनै सरकारी कर्मचारीका निकटतम व्यक्तिलाई  लेखापाल पदमा अस्थायी नियुक्ति गरि कार्यालयमै भव्य भोजपाटी आयोजना गरिएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयमा रिक्त लेखापालको दरबन्दीमा करारमा अस्थायी नियुक्ति गरिने प्रपञ्च चल्दै रैछ । म त निजामती सेवा कानुन बमोजिम  नियुक्ति पाए र हाजिर भए कार्यालयको चलानी शाखा र राजस्व शाखामा मेरो प्रारम्भिक कार्य जिम्मेवारी तोकियो । एकाध कसै कसैले एकसिटमा लोक सेवा आयोगको प्रतिस्पर्धामा उत्तीर्ण हुनु चानचुने कुरा होईन भनी गाईगुई गर्दथे तर ध्यान एकजना लेखापाल साथीको अस्थायी नियुक्तिको तामझाममै सबै केन्द्रित थिए किनभने त्यहाँ भव्यरुपमा भोजपाटी, ड्रीङ्क समेतको आयोजना तिरै लोभिपापीको भिड थियो । मैले सहकर्मी साथी डम्बरबहादुर सुनुवारसँग बसेका अस्थायी लेखापाल पदका उम्मेदवार साथीलाई सोधे तपाईले लोक सेवा आयोगको बिज्ञापनमा सहलेखापाल पदमा फाराम भर्नु भयो कि भएन ? उनको जवाफ थियो किन नभर्नु बि.कम.पास गरेको छु । कहाँ सकिन्छ र त्यत्रो बिधि प्रतिस्पर्धामा लोक सेवा पास गर्न । मैले ए त्यसो पो हो भने तर उनलाई तदुपरान्त नमस्ते गर्न र आफ्नो सुपरिवेक्षक मान्न सकिन । एकातिर अस्थायी नियुक्तिको अविरजात्रा र तामझाम अर्कोतिर भोजपाटी मैले सिफारिस पत्र बुझेर आउँदा लोक सेवा आयोगका हाकिम साप प्रताप सरले कार्यालयमा दरबन्दी लुकाउँछन् र अ-आफ्ना निकटतम मतियारलाई शुभ लाभमा भर्ना गर्छन् र बर्षौ सम्म सरकारी जागीर खुवाउँछन् भन्ने सम्झे र अन्तिम घडीमा मैले केही गर्न सक्ने अवस्था पनि थिएन । एउटा अबला साक्षी जस्तैः मुर्तिवत रहि  त्यो नाटकीय प्रपञ्च दृश्य मुकदर्शक बनि हेरिरहें   ।

कार्यालयको दैनिक काम काजसँगै आफ्नो अध्ययन पनि द्रुतगतिमा व्यतीत हुँदै गयो । त्यतिबेला मेरो हुलियाको चित्रण गर्दा दाह्री पालेको दुब्लो पातलो एउटा दार्शनिक जस्तो मेरो तपस्वी जीवन व्यतीत हुन थाल्यो । तत्कालीन समयमा सल्यानमा एकजना औतारी साथीसँग चिनापर्ची भयो ती थिए श्री ॠषिराम रिजाल अर्थात् वाहाँको संक्षिप्त बोलाईने नाम आर3 र त्यतिबेला कृषि बिकास बैंक सल्यान शाखामा खरिदारस्तरको लेखपाल पदमा कार्यरत दाङ हाम्रै गाविस अन्तर्गत बघौसी घर भएका अर्जुनकुमार बुढाथोकी थिए । रसिक, लट्टा रमाईलो गर्ने बुढाथोकीजी र ॠषिराम रिजाल अर्थात् आर3 सँग साथीत्व बढ्यो । आर3 सुब्बा भएर लाहाघाट सिंचाई आयोजनामा कार्यरत थिए । एकदिन मसँग संकलन भएका समसामयिक सामान्य ज्ञान, अन्तर्राष्ट्रिय मञ्चका बाईण्डिङ प्रति अधिकृतको लागि चाहिने भन्दै मेरा महत्त्वपूर्ण सबै अध्ययन सामग्रीहरु उठाएर साथीले लिएर गए । मैले पनि तपाईले यी मलाई फिर्ता गर्नुपर्छ । मलाई पनि सुब्बा र अधिकृतको लागि आवश्यक पर्छ भने । भोलिपल्ट साथी R3 को कोठामा अर्जुनजीसँग संगै एउटा सानो२ कोठा सल्यान खलंगाको तल्लो बजारमा तहाँ एउटा पुस्तकालय जस्तैः रहेछ । साथी खुब अध्ययनशील रहेछ । उसले राजीखुशी आफ्ना किताब पत्रपत्रिका हेर्न इच्छुक नदेखिएपनि मैले करकापसँग ओल्टाई पल्टाई हेर्दै गए । उसले तँलाई यी केही चाहिन्नन भन्दै थियो । मैले भने मेरा भरी त्यतिका अन्तर्राष्ट्रिय मञ्च पत्रपत्रिका चिलले कुखुरा टिपेझै टिपेर ल्याउने मैले भरी हेर्न पनि नपाउने मैले हेर्दैमा तपाईका खजाना नाशिने र मासिने केहि पनि होईनन् नि त भनेर हेर्दै जाँदा एउटा मुलकपीमा आर3 को हस्तलिखित नोटमा मेरो नजर पुग्यो । नायब सुब्बाको तयारी गर्दा  ॠषिराज रिजाल स्वयंले तयार गरेको आफ्नै हस्तलिखित सेवा सम्बन्धि र ऎन नियम कानुनको उत्कृष्ट नोट टिपोट रहेछ । मैले धेरै बेर हेरेर ॠषि सर कृपया मलाई यो नोट दिनुस् भने अहँ मैले दिन्न कसैलाई पनि आफ्नो नोट त दिंदै दिन्न । यो त शाखा अधिकृत र एम.ए. राजनीतिशास्त्र अध्ययनमा मैलाई काम लाग्छ भने पछि मैले फ़ेरि अनुरोध गर्दै भने आजको मितिले पाँच दिन भित्रमा सबै सारेर यो नोट अनिवार्य रुपमा म तपाईलाई सकुशल फिर्ता ल्याईदिन्छु अझै नदिए मसँग उठाएर ल्याएका सबै मेरा सामग्री अहिल्यै  फिर्ता लैजान्छु भनेर भनेपछि यो अधिकारी त कडा रहेछ मैले अहिलेसम्म कसैलाई पनि आफ्नो नोट कपी दिएको छैन अत्तो थापिहालिस पाँच दिन भित्रमा अनिवार्य फिर्ता गर्नुनि भनेर दुईवटा नोटकपी हात पारेर दिनरात लेखेर सारी उतार गरि चौथो दिन बेलुका फिर्ता गरिदिए । ॠषिजीले पनि मेरा केही  पत्रपत्रिका राखी बाँकी केही फिर्ता गरिदिए । चार दिनमा नोट सारिसकेको भनी फिर्ता दिन जाँदा मेरो लगनशील मेहनत  उर्जा देख्दा उनि पनि अचम्म  परे र भने २०४८ सालको लोक सेवा आयोगको नायव सुब्बाको बिज्ञापनमा ३ सिटमा एक नम्बरमा पास गरेको र मा.वि.रझेनामा रात्री बिद्यालय अध्यापन गर्दागर्दै महेन्द्र बहुमुखी क्याम्पस, दाङमा बि.ए.मा राजनीतिशास्त्र बिषयको नेपाल टपर हुँ । भाग्यमानी रहेछस् दाइ यो नोटले सुब्बा पास सुनिश्चित छ भनेपछि मैले पनि कृतज्ञता सहित सहर्ष हार्दिक धन्यवाद प्रकट गरे । अन्तमा उनले मलाई लेखा सम्बन्धि बिषयमा आइडिया शेयर गर्नुपर्छ मलाई यी बिषयमा ज्ञान छैन भनेपछि यदाकदा हामी भेट हुँदा लेखाको बिषयमा चर्चा परिचर्चा पनि गर्दथ्यौ  यिनी साथी ॠषिराम रिजालले शाखा अधिकृत पास गरेर रोल्पामा निमित्त एलडियो पनि भए । ससुरालीको सहयोगमा तुलसीपुर बजारमा घरबास गरेका छन् । जिल्ला निर्वाचन दाङ, डडेल्धुरा नगरपालिकामा कार्यकारी अधिकृत भएर जिल्ला निर्वाचन, बाँकेमा जिल्ला निर्वाचन अधिकारी पनि भए मैले शाखा अधिकृत सफ़ल भै BAT 21 2062 को तालिम अवधिमा सामान्य प्रशासन मन्त्रालय, हरिहरभवनमा आर3 सँग अन्तिम पटक भेटवार्ता र भलाकुसारी समेत भएको थियो । उनी भन्दै थिए तपस्वी होस् दाइ खुल्ला प्रतिस्पर्धामा शाखा अधिकृत सफ़ल भैईस भनेर मुक्त कण्ठले प्रशंसा पनि गर्दथे परन्तु पछिल्लो समयमा उनि अत्यधिक मादक पदार्थ सेवन, वेश्यावृत्ति जस्ता दुर्व्यसनको सिकार भएका थिए भन्ने अन्तरंग साथीभाइ वाट सुनियो । पछि  ब्रेनहेमरेजको कारणले काठमाडौंको यात्रा गर्दागर्दै स्वर्गवास भएको दु:खद खबर सुनियो । एउटा होनहार साथी अन्तरंग मित्र असमयमै अस्तायो । आफ्नै बेहोसी र लापरबाहीले गर्दा अन्ततः  यस्ता प्रतिभावान व्यक्ति असामयिक  यो संसारवाट बिदा पनि भए ।

कोष तथा लेखा नियन्त्रण कार्यालय, सल्यानमा एकजना भर्खरै जिल्ला प्रशासन कार्यालय दाङवाट फाइल बढुवा भएर आएका लेखापाल श्री ॠषिराज अधिकारी थिए । केही समय यी अधिकारी बन्धुसँग पनि साक्षात्कार भयो । सहलेखापालको जागीरमा रमाएर कमाएका र आर्थिक अवस्था पनि सबल बनाएका यि बन्धुले मेरो पढाईको लगन देख्दा बिल्ला गर्दथे । हाम्रो व्याचका कस्ता कस्ता  फस्ट डिभिजन एसएलसी, आई.ए., बी.ए. पास गरेकाले त सुब्बा पास गर्न सकेनन तँ बल्लतल्ल सहलेखापाल पास गरेर आएकोले कहाँ सक्छस् ? हामीले ९-१० बर्ष लागेर कुरेर बढुवा खाईम । हेर भाइ अब यै जागीरमा मोज गर्ने हो । पढाई लेखाइ छोडदेल भनेर मलाई भड्काउन खोज्दथे । मैले ॠषिलाई ठाडठाडै जवाफ दिन्थे आफुले नसके अरुलाई पनि त्यही घानमा हालेर सोंच्ने "हरूवा गोरुको छेरुवा दाउ" भनेको यहि हो हेर्दै  जानू तपाईंको नजर अगाडि म गरेर देखाउँछु भनेर मैले पनि ठाडठाडै जवाफ दिन्थे । मसँग आँखामा आँखा जुधाएर हेर्नू भने मैले आँखा तरेर जुधाउँदा ॠषिका आँखाका परेला तल झरे । तदुपरान्त  उनले मलाई निगरानी गरेका रहेछन् उनि दाङ गुरुवागाउँ घर आउँदा धारपानी स्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा मेरो आफ्नैं काहिलो बुबा गुरु  बनेर बसेका आबाल ब्रह्मचारी श्री लक्ष्मीकान्त उपाध्याय अधिकारीसँग नियमित जस्तै भेटघाट भएछ र ब्रह्मचारी बाले भन्नुभएछ साहिला दाइको छोरा वसन्त अधिकारी सल्यानमा लेखापाल भएर गएका छन् खै भेटघाट पनि छैन भन्ने गुनासो समेतको कुरा सुने पछि काहिला बा हाम्रो घरमा आउनु हुन्न म पनि जोगी ब्रम्हचारीलाई भेटन मन्दिरमा गाछैन भन्ने जस्ता वाद विवाद प्रतिवाद  केहि आन्तरिक वार्तालाप भएपछि पुनः काका ॠषिराज अधिकारीले मसँग धेरै नरम शैलीमा प्रस्तुत भै साहिला दाइको छोरा रहेछ पहिला त चिन्नै सकिएन । उदयपुरे अधिकारी राजा खान्दानको अठोट पनि चानचुने हुँदैन तथापि सुब्बा पास गर्नु सहज छैन भन्दै गर्दा हेर्दै जानुस् म जे भन्छु जुनसुकै शर्तमा म त्यो सपनालाई पूरा गर्छु यो मेरो "भीष्म प्रतिज्ञा" ठान्नुस भने समय व्यतीत हुँदै गयो । २०४९ सालको लोक सेवा आयोगको  बिज्ञापन काठमाडौंवाट ३५-४० जना  धेरै सिट मागेकाले भर्ने मनसुबा राखे पनि कोष तथा लेखा नियन्त्रण कार्यालय, सल्यानका अन्तरंग स्टाफ सहकर्मी साथीहरु र लोक सेवा आयोग, दाङ तुलसीपुर स्थित कार्यालयका नायब सुब्बा दाङ रझेना निवासी स्व. मीनराज गौतमको सल्लाह मुताविक लोक सेवा आयोग, क्षेत्रीय निर्देशनालय,  सुर्खेतवाट प्रशासन नायब सुब्बा मात्र बिज्ञापन मांग भएकोले र सुदुर पश्चिमवाट नायब सुब्बा र  लेखापाल समेतको बिज्ञापन भएकोले मलाई  सुदुर पश्चिमवाट  भर्ने सल्लाह मुताविक लोक सेवा आयोग, अञ्चल कार्यालय, दाङवाट दिपायल केन्द्र राखी प्रशासन नायब सुब्बा र लेखापाल दुवैमा मेरो शैक्षिक योग्यता  आइ.कम.भएकाले  एउटै प्रवेश पत्रमा दुवैमा फर्म भरेको थिए । सल्यान बसाई पहिला डाँडागाउँ तिर एक्लै बसे पनि पछिल्लो क्रममा केहि समय कृषि बिकास बैंकका लेखपाल साथी एउटै तत्कालीन मानपुर गाविस निवासी श्री अर्जुनबहादुर बुढाथोकीजीको करकापमा उनलाई अध्ययनमा सहयोग गर्ने हेतुले साथीसँग बसाई भयो । साथी बाह्र एक बजेसम्म मस्तले बसेर पढ्ने भन्दा पनि आई.ए. अंग्रेजी व्याक लागेकोले अन्धाधुन्ध घोक्ने नबुझेर घोक्दा सम्झन नसक्ने र दिक्दारी मान्ने हुँदा अंग्रेजीमा आफै वाक्य संरचना गठन गरि सामान्य लेखाइ कला सिकाईदिन्थे परन्तु साथीको बुझाईमा भन्दा अन्धाधुन्ध घोकाई पढाई निर्भर हुँदा दिक्क पनि लाग्थ्यो । यसरी दुवै रुमलिनु भन्दा म साझ नौं बजे नै सुति सक्ने र बिहान तीन बजे उठने र साथी तीन बजे सुत्ने र आठ नौं बजे उठने । करिबकरिब एक महिना जति त साथीले मेरो कुटनैतिक  पढाईको अत्तोपत्तो भेउ पनि पाएनन् ।  जब सुदुर पश्चिमवाट बि.सं.२०४९ सालमा प्रशासन नायब सुब्बाको लिखित परीक्षा खुला प्रतिस्पर्धामा सफल भए तब बल्ल साथीले कतिबेला पढ्छ भनेर एकदिन चार बजे साथी उठदा म पढेको पढेई थिए त्यसदिन देखि साथीले यो असाध्यै पढैया छ रातभर पढ्छ सुब्बा पास भैसक्यो भनेर मेरो निशुल्क खुब प्रचारप्रसार गरेपछी ॠषि अङ्कलले अधिकारीको छोरा हो कम्ता हुन्नन् । मैले पत्याको थेन अब भने माने भनेर मसँग सहर्ष खुशी आदानप्रदान गरे  ।

सल्यान स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत छँदा तहाँ लोहापिङ स्थित सल्यान क्याम्पसमा स्नातक तह बि.ए. बिहानी सत्रमा अध्ययनरत थिए । क्याम्पसको अध्ययन भन्दा लोक सेवा आयोगको नायब सुब्बा र लेखापालको तयारीमा जुटेको थिए । एकलब्बे जस्तो अहोरात्र वृत्ति विकासको महायज्ञमा होमिएको थिए । शारीरिक अवस्था दुब्लो पातलो कालो दाह्री जुँगा  हरबखत गहन  अध्ययनमा अनवरत ध्यान थियो । शुरुमा चलानी शाखा र राजस्व शाखाको जिम्मेवारी पाए । आर्थिक बर्षको अन्त्यमा चलानीमा धेरै कार्यचाँप हुन्थ्यो । आन्तरिक लेखा परिक्षण प्रगति विवरण महालेखा नियन्त्रक कार्यालय, सम्बन्धित मन्त्रालय, बिभाग र कार्यालयहरु र व्यक्ति समेतको वित्तीय प्रतिवेदन तथा बेरुजु विवरण पठाउने र कार्यालयका दैनिक चिट्ठी पत्र हुलाक चलान आदि कार्यहरू हुन्थे । दर्तामा कुलबहादुरजी थिए । पहिला कार्यालयको हालीमुहाली गरेका कुलबहादुरजी पछि भने उनकै वैयक्तिक कमजोरी लापरबाही, मादक पदार्थ सेवन समेतको कारणले पेलानमा थिए । पहिला सल्यान डाँडागाउँ र पछि दाङ तुलसीपुर घरभएका बड्डा लेखापाल स्व. गणेशप्रसाद शर्मा र सल्यान खलंगामै घरबास भएका श्री हरिशरण आचार्यको अडिटरमा खुबै बयानिएका नामुद र अधिक प्रभाव पनि थियो । रामेछाप जिल्लामा घर भएका नयाँ हाकिम लेखा अधिकृत श्री बाबुराम श्रेष्ठलाई बड्डा लेखापालहरु खुब पढाउँथे । बड्डा लेखापालहरुको सहायकमा लेखापाल श्री बद्रीप्रसाद अर्याल, सहलेखापाल बिष्णुप्रसाद गौतम थिए । सहलेखापाल श्री डम्बरबहादुर सुनुवार म भन्दा एकबर्ष पहिलादेखिका अनुभवी थिए भने म भर्खरै जागीर खाएको एकदम सिकारु नै थिए तथापि सैद्धान्तिक बिषयमा बुढाहरु भन्दा ज्ञानात्मक क्षेत्र मेरो अद्यावधिक थियो भन्दा अत्युक्ति नहोला । परन्तु सुरुआतमै लेखाको रकमी जागीरमा म रम्न र जम्न जानिन सकिन जे होस् बहुरंगी कर्मचारीहरुको जमघटमा कार्यालय वातावरण रमाइलो थियो । मेरो क्याम्पसको अर्थात् आईकम दोस्रो बर्षकोअन्तिम परिक्षाको तयारी बेजोड थियो । बिहान् बेलुकी समयको अतिरिक्त कार्यालयमा काम नभएको बेला एकहातमा लोक सेवा आयोग सम्बन्धित पुस्तक तथा नोट मेरो साथवाट कहिल्यै छुटदैनथ्यो । वास्तवमा भगवानका भक्त अर्थात् हरिभक्तलाई हरिको नाम जप जस्तैः म बिहानै उठदा र साझ सुत्दा मात्र नभई निन्द्रामा समेत सपनामा म पढाईमै लिन हुन्थे । बास्तवमा त्यतिबेलाको मेरो स्वभाव अत्यन्तै कम बोल्ने सदैव अध्ययन चिन्तनमा तल्लीन स्वभाव एउटा प्रबुद्ध दार्शनिक चिन्तक जस्तो थियो ।

यसै क्रममा केन्द्रिय बार्षिक तथा आर्थिक प्रतिवेदन तयार गर्नुपर्ने भयो । बिहान देखि बेलुकी सम्म मेरो  ज्यादै खटाई थियो । बुढा लेखापालहरु मालदार अड्डामा अडिट गर्न हिंड्ने गर्थे । सालतमामेको समय थियो । असारको अन्त्यतिर कोलेनिकामा ठूलो भोजपाटीको आयोजना गरियो । शुक्रबार कार्यालय विदा पश्चात् सालतमामी भोजपार्टी जम्यो । म कोठामा जान तयार थिए । साथीहरूले भने आज यहीँ अफिसमै खानपिन हुन्छ । एकक्षण बाहिर गएपनि बेलुकी खाना खान यहि आउनुपर्ने हाकिम सापको आदेश छ । खसी ढालिएको छ मासुभात खाने मनलागे ड्रीङ्क्स गर्ने भनेर भनेपछि मैले न मासु खाने नड्रीङ्कस गर्ने मलाई त यो भोज पार्टी मिल्दैन भैगो म डेरामै खान्छु म जान्छु भन्दा पनि डम्बरजीले अहँ हाकिमसापको सबैलाई कडा  आदेश छ जाने होईन आज यही खानुपर्छ भनेपछि करकापले अरुचि साथ बसियो ।  जिल्लाका ठुल्ठुला मालदार अड्डाका हाकिमहरु र लेखापालहरुको बाक्लो जमघट थियो । कुन अड्डामा कति बजेट र कति बेरुजु हुने बेरुजुका बिज्ञ बड्डा लेखापालहरु धेरै जानकार थिए भने तरुनाहरु उनका फ़लोअर्स हुन्थे । रात जति बढदै गयो । हाकिमको कोठामा भोज जम्दै गयो । सफ्ट ड्रीङ्क खानेले कोकाकोला, फेन्टा, पेप्सी, स्प्राईट, बियर खानेले बियर, वाईन र हार्डड्रीङ्क्स खानेले सोही बमोजिम मासु पोलेको, फ्राई र पकाएको हरेक परिकार थियो । दर्जा, हैसियत हेरेर खानपिन थियो । पार्टी महफिल जमेको थियो । म बिचरा सरकारी कार्यालयमै यस्तो पार्टी कहिल्यै नदेखेको अनौठो पनि लाग्यो । अझ हाकिमहरुका लाख करोडका कुरा सुन्दा म अचम्मित पनि भए । एउटा कुनामा बसेर दुनामा अचार काउली तरकारी र चिहुरा खाईरहेको थिय । लेखापाल र हाकिमका टिमहरु झुमिरहेका थिए । उनीहरुले मलाई नराम्रोसँग गिज्याए । मैले यस्को केही प्रवाह नगरी खाएर बसिरहेको थिए । मलाई अन्टसन्ट बिल्ला गर्न थाले मेरो भित्र भित्रै मन अमिलो भएपनि बाहिर भने शान्त थिए । यो भन्दा मेरो अरु केही बिकल्प पनि त थिएन ।

कर्कलाको पातको पानीको अर्थात् शीतको थोपा ओभानो जस्तैः यो रकमी दुनियाँसँग  बेखबर थिए म । जबर्जस्त हाईस्कुलवाट सेन्टअप भएपछि रोल्पा र प्युठानका दुर्गम  गाउँ बस्तीमा मास्टरी जागीरी गरियो । "सुरु सुरु आना सुरुसुरु जाना सय बुद्धिका परे उत्ताना" भनेझै झण्डै एकदशक पश्चात् क्याम्पसको अधुरो अध्ययनमै जिजिबिषाको मृगतृष्णाले जागीरको जन्जीरमा अल्झिएको एउटा अबोध र बेखबर बालक थिए म । बि.सं. २०४७ सालमा महिनाको साढे बाह्रसय तलव र करिब छसय दुर्गम भत्ता गर्दा कोठा भाडा खानपिन गरि आधा पैसा बच्दथ्यो । आफ्नै स्वअध्ययन र डेढ दुई महिनामा घर आउँदा दुई चार हजारको कारोबारमा हात बटाउन सकिन्थ्यो । यहि नै मेरो सौभाग्य र पौरख र गौरवान्वित पनि यसैमा थियो ।

यसै क्रममा सुब्बाको जाँच पनि आईपुग्यो दिपायल प्रस्थान गर्नुपर्ने भयो । दाङवाटै फाराम भरेकोले एकपटक पनि दिपायल गएको थिएन । वास्तवमा दाङ तुलसीपुरवाट लोक सेवा आयोगको परिक्षा फाराम भरे पश्चात् दिपायल केन्द्र राखे । राख्नुपर्ने महेन्द्रनगर रहेछ तर नेपालको नक्शामा सुदुर पश्चिम प्रदेशको पहाडी भुभाग डोटी जिल्लामा पर्ने दिपायल महेन्द्रनगर भन्दा नजिकै देखियो । त्यहा,जाँदा मात्र थाहा भयो महेन्द्रनगर भन्दा दिपायल टाढा रहेछ यो कुरो पछि परीक्षा दिन गएपछि मात्र यथार्थ थाहा भो । सुदुर पश्चिम दिपायल जान धेरै मानिससँग सोध्दा पनि सहि बाटो कसैले भन्न सकेनन् स्थानीय भाषामा "बुढान" भनिने बर्दिया र कैलाली जिल्लाको धनगढी सम्मको बाटो कसै कसैले बताउन सक्दथे । यहि अन्दाजको भरमा नेपालगन्ज जाने बसमा कोहलपुर सम्मको यात्राको प्रस्थान  मजगैं स्थित घरवाट बिहानै उठि बसको यात्रामा हिंडे । दुईवटा झोला भरी नोटकपी, पुस्तक, पत्रपत्रिका भरी थिए मानौ एक बर्ष बिदेश बसी घर फर्कन लाहुरवाट फिर्ता भएर आएको लाहुरे हुँ म । शारीरिक सक्कल हुलिया दाह्री पालेको दुब्लो पातलो शारीरिक अवस्था परन्तु  तेजीलो मुहार गम्भीरता सोच मग्न चिन्तनशिल व्यक्तित्व  थियो ।    करिबकरिब दस बजे बिहान तिर बाँके कोहलपुर पुगियो । कोहलपुर वाट अत्तरिया धनगढी सम्मको बसको यात्रा पश्चात् धनगढी अत्तरियावाट डडेल्धुरा हुँदै डोटी दिपायल पुगिंदो रहेछ । त्यतिबेला नेपालगन्जवाट दिपायल सम्म आरएनएसी बायुसेवा निगमको प्लेन जाँदोरहेछ परन्तु मौसमको खराबीले गर्दा प्लेनवाट जान पनि नसकिने अवस्था थियो । जनकपुर बारा पर्सा लगायतका केही मधेसी मुलका साथीहरू नेपालगन्जवाट रुपैइडिया हुँदै गौरिफान्टा धनगढी वाट गए ।

त्यतिबेला कर्णाली नदीमा हालको विश्व प्रसिद्ध अत्याधुनिक जापानी प्रविधिको केबुल स्टेड बृज निर्माण भएको थिएन । डुङ्गाहरु र फ़ेरि चल्दथ्यो । बिहानै अर्थात् करिव ८:३० बजेतिर कर्णाली नदीमा पुगेका थियौ । शायद  पुस माघको महिना अत्यन्तै चिसो थियो । आलोपालो गरि फेरि "ठूलो डुङ्गा जुन मोटर बोट जस्तोमा चढनु पर्दथ्यो । बल्लतल्ल पालो आयो अलिकति डर पनि लाग्यो त्यसपछि फ़ेरि पार गरियो त्यतिबेला मसँग क्यामेरा पनि केहि तस्बिरहरु सुट गरेको थिए जुन मेरा पुराना एल्बममा यद्यपि सुरक्षित छन् र मुहार पुस्तिका "मेटा फ़ेस बुक"मा पनि साझा भैसकेको छन् । कर्णाली चिसापानीवाट पुनः अत्तरियाको लागि अर्को बसमा बसियो पानी सारै बेजोडले बर्षियो निर्माणाधीन सडक हिलाम्मे भयो बडो मुस्किलले बलिया, घोडाघोडीताल र पहलबानपुर सम्म त पुगियो तहाँवाट गाडीको डेग चलेन यता न उता घर न घाटको अवस्था सिर्जना भयो । बसमै पर्वत कारागार शाखामा मुखिया पदमा कार्यरत श्री कुलबहादुर के.सी.जी भेटिएको र राम्रोसँग चिनारी भएको थियो । बसमा उनिसंग एउटै सिटमा हुँदा लोक सेवाका पाठ्यक्रममा आधारित सामान्य ज्ञान र बिषयगत बिषयमा हाम्रो शास्त्रस्त्र हुन्थ्यो । बसमा भएका अरु सामान्य नागरिकहरुले हामीहरु तिर दृष्टि दिएपनि हामीले त्यसको केही प्रवाह नगरी आएका थियौ । अन्तमा यि अन्तरंग मित्रसँग सल्लाह मस्यौरा भयो । कसैलाई सोधौं यहाँवाट अत्तरिया हिंडदा कति टाढा छ ? पैदलमार्ग कस्सीएर हिडे पछि तीनघण्टामा पुगिन्छ त्यसपछि हामी राती आठ बजेको थियो खाना वरि अब भोलि धनगढीवाट दिपायल जाने बिहानको बस पक्डन सकेनौ भने भोलि साझ पुग्दैनौं पर्सि त एकबजे हाम्रो लोक सेवा आयोगको परिक्षा छ जुनसुकै हालतमा पनि परिक्षामा उपस्थित हुनै पर्छ भन्ने दृढ़ सल्लाह मुताबिक कुलबहादुरजी र म अगाडि बढेउ ।

दुबैको मस्त जवानी त्यस्तै अट्ठाईस उन्तीस बर्षका मेरा दुईटा व्याग हुँदा एउटा ती साथीले बोकेर सहयोग गरे । जागीरे सपना, घर व्यवहार यावत् कुरा गर्दै दुवै जना मुसाफिर जस्तैः अहोरात्र जंगलको बाटो निर्भीक र निडर बनी अगाडि बढीरहेउ । त्यतिबेला महेन्द्र राजमार्ग अन्तिम खण्ड  चिसापानी बनबासा सडक बिस्तार र स्तरोन्नतिको काम सुचारु थियो । ठाउँठाउँमा कामदारहरु पाल टाँगेर बसिरहेका पनि थिए कतै जंगलमा बाघ कराएको आवाज सुनेपछि काठ झ्यास झुसमा सलाई र लाईटरले हगुल्टो बनाई फन्नाउँदै हिंडथ्यौं । एवम् रितले हिंडदै गै राती करिव एक बजे अत्तरीया पुगि एउटा पाटीमा करिब ४ घण्टा केहि मानिसहरू सँग आगो तापेर झप्का लगाई बिहानै पाँच बजे धनगढीवाट दिपायल जाने बसमा अत्तरिया चोकवाट बस भेटायौं अब भने दिपायल पुगिनेमा हाम्रो आशा धेरै पलाई हौसला बुलन्द भयो र जुनसुकै अवस्थामा पनि सफलता प्राप्त गर्ने बिषयमा म स्वयं दृढ़ संकल्पित भए । बिहान झिसमिसे मै अत्तरीयावाट दिपायलको बस यात्रामा खानीडाँडावाट बुडर आई  खाना खाई अगाडि बढेउ भात्काँडा आइ पुग्दा नपुग्दै फ़ेरि पहाडी भेगमा हिउँ पानी बर्षियो सडक भरी हिउँ जाम भयो गाडी जंगलवाट अगाडि बढन असमर्थ भएपछि भात्काँडामा आई त्यहीँ खानपिन गरि रातमा बास बस्ने निधो हुन थाल्दा हामी दिपायल राजपुर पुग्नेमा सन्देह भै लोक सेवा आयोगको परीक्षा वाटैमा छुटने सम्भावना बढेर गयो फ़लत: हाम्रो सपनामा पनि सडकमा हिउँ जमे जस्तैः तुषाराभात हुन थाल्यौ । रात भात्काँडाको चिसो भात खाएर काटेउ । बिहान छ बजेदेखि नै सडकमा आगो बाल्दै हिउँ पगाल्दै केही व्यस्त थिए ।  गाडी धेरै थियो जेनतेन आठ बजे घण्टेश्वरको हिउँको पहाड र जंगलको भुभाग पारगरि अगाडि वढदा मात्र आशा र सम्भावना बढदै गयो ।

मेरा युवावस्थाका संघर्षका आत्माकथा ७                       
बिहानै डडेल्धुरा स्याउले स्थित बाजेको होटलमा खिर र चिया  खाइयो । त्यतिबेला खिरको लागि बाजेको होटल नामुद थियो । त्यो यात्राको क्रममा साथी कुलबहादुरजी र म एउटै सिटमा भने थिएनौं । म प्रायः झ्याल तिरको सिटमा बस्दथे र यहाँवाट बाहिरका दृश्य देखिने र भित्रको निस्सासिंदो वातावरणवाट थोरै भएपनि उन्मुक्ति मिल्दथ्यो । परन्तु मेरो उद्देश्य जसरी भएपनि सुब्बा साप हुनु थियो । सल्यान कोषमा खरिदार साप हुँदा शाखा प्रमुख सुब्बा सापहरुको चम्चागिरी र दादागिरी देखेको र स्वयं भोगेको पनि थिए चम्चागिरीमा त दिलचस्पी थिएन तर दादागिरीमा भने रुचि थियो । यथार्थमा ठूलो बन्ने ईच्छा अर्थात् एकै शब्दमा व्यक्त गर्दा यो मेरो बिजीगिषा नै थियो । मानिस जीवनमा बाच्नको लागि संघर्षरत इच्छा अर्थात् "जीजिविषा" र माथी उल्लेख गरेझै बिजिगिषाले जीवन चल्दो रहेछ । जीवन एक गतिशील र संघर्ष रहेछ । सानैदेखि दु:ख, अभाव र संघर्ष संगै जिम्मेवारी, कर्तव्य र मेहनत, लगनशील स्वभावले सादा जीवन उच्च विचार तर्फ डोराएको थियो । यसमा पनि शिक्षक र वाराणसी तिरको चालिसको दशकको अध्ययन  यात्रा क्रममा र क्याम्पस अध्ययनरत समयमा पनि प्रगतिशील साहित्यका गहन  अध्ययनले  सोंच र चिन्तनमा निखारता भविष्य द्रष्टा बनाईरहेको फ़ेरि लोक सेवा आयोगको स्वाध्ययनले गम्भीरता, चिन्तनशिल, विश्लेषण गर्न सक्ने, आफ्नो वैयक्तिक दृष्टिकोण राख्ने, मौलिकता र स्वच्छन्द शैलिको बिकास साथै साहित्यिक आत्मकेन्द्रीत सुदृढ मन मनस्थिति भैरहेको अवस्था थियो ।

भात्काँडावाट बिहानै छ बजे गाडी गुडाए करिब एक दर्जन गाडीहरूको लस्कर थियो । बाटोमा हिउँ परेकाले जीप, बस, ट्रक आदि गाडी जब जाम हुन्थे गाडीको  स्टाफ यात्रीहरु सबै मिलेर काठका दाउरा पातपतिङ्गर संकलन गरि कतै काठका मुढामा मट्टीतेल खनाई आगो बाल्दै गाडी अगाडि गुडाईरहेका थियौ किनकी सबैलाई हतार थियो । कतिपय व्यापारी, कोही कर्मचारीहरु र स्थानीय मानिसहरूको बिचमा हामी जस्ता लोक सेवा आयोगका परिक्षार्थी पनि थियौं । बाटामा हिडदै आगो बाल्दै गाडी मोटर अगाडि ठेल्दै जाँदा लोक सेवा आयोगको प्रश्नपत्र बोकेका कर्मचारी समेत गाडी मोटरमै हामीसँग यात्रामा थिए भन्ने गाईगुई सुनिन्थ्यो । तब अब भने परीक्षा दिन पाईन्छ भन्ने आशाको सञ्चार हुन्थो । जब सुदुर पश्चिम पहाडको नाका रमणीय स्थल डडेलधुराको स्याउली बजार पुग्यौ त्यहाँ चियापान पनि गरेउ । बाटोमा यात्रा भरी म गम्भीरता र चिन्तनशिल रहे । यश अवधिमा मैले सामान्य ज्ञान रात रातभर पढेका पाँच बिकास क्षेत्र, चौध अञ्चल, पचहत्तर जिल्ला, तिनका सदरमुकाम, नगरपालिका र तिनको क्षेत्रफल, ठूलो र सानो, हिमशृङ्खला, ताल, तलैया, बन बनस्पति, माटो, खानी, खनिज, जलवायु आदि नेपाल र विश्वको भुगोल सम्बन्धि र नेपाल र विश्वको इतिहास बेलायतको गौरवमय क्रान्ति, नेपालमा राणाशासन, राजाहरूको नालीबेली, धर्म संस्कृति, जाती भाषा, जनसंख्या यस्तै गरि कानुन स्थानीय प्रशासन ऎन, भ्रष्टाचार निवारण ऎन, निजामती सेवा ऎन नियम, संविधान आदि समग्र र निबन्ध, सारांश, स्रेस्ता, पत्रव्यवहार समेतको सरर मस्तिष्कमा तस्बिर खिच्दथे घण्टौसम्म त्यही बिषयमा गहनताका साथ मस्तिष्क मन्थन (Brain Storming) गरिरहन्थे । यस्तो प्रकारको चिन्तनरुपी अध्ययन शैलीको विकास उत्पन्न जटिलताको परिस्थितिमा विकास भएको थियो । कतिपय सूत्रबद्ध, गीत कविता, श्लोक, उटपट्याङ्ग चुटका अर्थात् Jargan text समेतमा स्वतस्फूर्त रचिन्थे जुन दिगो पनि हुन्थ्यो यद्यपि ती संस्मरणमा यद्यपि  छन् र आजीवन रहि रहन्छन् । सप्तकोशी नदीलाई याद गर्दा "सुन तामा दुध ईन्द्रा अरुण तमोर लिखु" भनेर गायत्री मन्त्रझै जपिन्थ्यो भने । काली बुढी गण्डकी त्रिशुली दरौदी मस्याङ्गदी मादी सेती सप्त गण्डकी भनेर सप्तगण्डकीका नाम याद हुन्थ्यो भने एवम् रितले हुम्ला मुगु कर्णाली ठुली सानी भेरी तिला बुढीगंगा र सेती नदी भनेर कर्णाली नदी जुन भारतमा मिल्दा घाघरा कहलाउँछ भनेर याद गरिन्थ्यो । मैले त्यतिबेला सम्झेका रचेका सबै यो लेखोटमा टिपोट गर्न थाले भने एउटा सिङ्गो महाकाव्य बन्न बेर लाग्दैन र बजारमा निस्किएको लोक सेवा आयोगका प्रतिस्पर्धात्मक परिक्षाका गाइड बुकहरु सबै फ्लप खान बेर छैन पाँच बिकास क्षेत्र, मेचीदेखि महाकाली चौध अञ्चल  र ७५ जिल्लाको नाम अहिले पनि उल्टो सुल्टो, दायाँबायाँ तल माथी सर्सरी आउँछ । यति गहन चिन्तनमा लाग्दा मलाई दिनरात केही थाहा थिएन तर बसले झट्याङ्ग लगाउँदा भने क्रमभङ्ग हुन्थ्यो परन्तु तक्षण नै सम्हालेर आफ्नो सोचाईको बिन्दुमा केन्द्रित भैहाल्थे ।

बसको कन्डक्टरले जब विभिन्न ठाउँको नाम काढथ्यो जस्तैः घण्टेश्वर, बुडर, वानडुङ्रासेन अनि अचम्म लाग्दथ्यो । सीटमा बसेका मानिसहरू बोलेको डोटेली भाषा सुन्थे मैले मनले जे सोचे त्यहीँ बोले जस्तो लाग्दथ्यो । भाषा नबुझिने, लय शैलीमा नेपाली पन झल्किने नजिकै बसेको एउटाले सोधे तम्रो घर कहाँ हो ? दाङ भने उनले पुर्व भने पछि मैले हो भने किनकि उनीहरुको ठम्याईमा कर्णाली पारी सबै पुर्व रैछ । कहाँ झान्या हौ ? भन्दा म अकमकिएर पनि अन्दाजको भरमा भने लोक सेवा आयोगको सुब्बाको परीक्षा दिन भनेपछि उनले विरक्तिएर भने "पुर्ववाट हाम्रोमा आउँदाछन् जागीर खाँदा छन् तब आफ्ना ठौर जाँदा छन् हम्र जस्ताका तस्तै" ति अधवैंशे डोटेली दाजुको यो भनाई नै आज म सोच्दछु संघीयता अर्थात् स्थानीयताको माग वा विद्रोह थियो । उनि धेरै बोल्न चाहेका थिए तर उनका कुरा मैले नबुझ्दा र फर्काउन नसक्दा म आफै चुप लागे । वास्तवमा पर्वत, पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, तराई मधेस, काठमाडौ र पुर्व ताप्लेजुङ, इलाम, झापा समेतवाट आएकाहरु मध्येका  करिब पाँच सात जना हामी चढेको बसमा पनि थिए । मुस्किलले करिबकरिब एघार बजे बिहान दिपायल पिपल्ला बजारमा बसले ओराल्यो, अरु साथीहरू खाना खान लागे । मैले दूध र पाउरोटी खाए र हाम्रो करिव सात जनाको टोलीले एउटा होटलमा झोला थनकाएर डोटी पिपल्लाबजारवाट दिपायल राजपुर तर्फ उकालो लाग्यौं । मैले भात नखाएकोमा साथीहरूले पुछताछ गरे मैले मेरो पेट सञ्चो छैन पेट दुखेकाले दुध पाउरोटी खाएको भने औषधि किनेर लैजा भनेर भने अहँ औषधि खाँदिन भात नखाएकाले पेट हल्का छ भने वास्तवमा मलाई पेट दुखेको भने थिएन परिक्षामा सहजता होस् भन्ने मेरो भित्री मकसद थियो साथै रातमा पनि पूरा निन्द्रा नपरेकाले आलस्य बढेर परीक्षा संतोषजनक नहोला भन्ने सुर्ता पनि थियो मेरो यो चातुर्यता साथीहरूले बुझेनन् कोहि डिग्री पास गरेका कोहि बि.एल, संविधानका मौलिक हकका धारा सबै कण्ठाग्र गरेका धुरन्धर साथीहरू थिए । मलाई ताकेर प्रश्न गर्दा उनिहरुलाई अटकाउने प्रश्न गर्थे अन्यथा उनीहरुको गफ सुन्दै पिपल्ला बजारवाट राजपुर स्थित लोक सेवा आयोग, सुदुर पश्चिम क्षेत्रीय निर्देशनालय दिपायल पुग्यौ । त्यहाँ पुगि प्रवेश पत्र प्राप्त गरियो त्यस प्रवेश पत्रमा शाखा अधिकृत श्री योग्यराज लेखकको दस्तखत भेटियो । यी सर बि.सं.२०४७ सालमा मैले सहलेखापाल पास गर्दा लोक सेवा आयोग, राप्ती अञ्चल कार्यालय, दाङ तुलसीपुरमा मेरो अन्तर्वार्तामा पनि बसेका सर थिए । समयमै परीक्षा सञ्चालन भयो पहिलो दिन सामान्य ज्ञान ५० वटा २-२ नम्बरका थिए । जब प्रश्नपत्र हातमा पर्यो श्री गणेश जी र बिद्याकी अधिष्ठात्री देवी माता सरस्वतीलाई स्मरण गरि उत्तरपुस्तिकामा आफ्नो नाम सहित बाबू बाजेको तीनपुस्ते नाम रोलनम्बर सहित अन्त्यमा दस्तखत गरि उत्तर लेख्न थालियो ।

लोक सेवा पढने सबैलाई थाहा छ संसार पढनुपर्छ तर कस्ले कसरी पढछ र जुक्ति बुद्धिले कसरी उत्तर मिलाउँछ भन्ने कुरा पनि हुन्छ कसैले थोरै पढेर धेरै जान्दछ भने कसैले धेरै पढेर थोरै पनि जान्दैन । वास्तवमा तरल मस्तिष्क बनाई स्मरण ठोस बनाउनु पर्छ । स्मरणशक्ति मेधावी वा सर्वोत्कृष्ट स्मरण भएन भने जस्तो सुकै विद्वान भएपनि लोक सेवा परीक्षा उत्तीर्ण गर्न सक्दैन । धेरै मानिसको बुझाईमा लोक सेवा कठोर प्रतिस्पर्धा मात्र हो भन्ने भ्रमले कुण्ठित छन् तर लोक सेवा आयोगका सफलता हाँसिल गर्ने प्रतिभाशाली बिजेताहरु फरक त केहि गर्दैनन् परन्तु तिनीहरु अरुभन्दा फरक तरिकाले गर्छन् भनेझै यस्मा मुलभुत तरिका संयम, धैर्य, चिन्तनशिल तत्व पनि प्रधान बनेर आउँछ ।  प्रश्नपत्र हातपरेपछी पाँच मिनेटमा सबै प्रश्न हेर्दा एकाध बाहेक नआउने कुनै प्रश्न देखिएन ।अब प्रथमतः जुन आफू कन्फाम छ त्यो पहिला टिक लगाउँछु किनभने यो बस्तुगत प्रश्नमा गल्ती गरे बीस प्रतिशत "माईनस" हुन्छ । यसरी गर्दै जाँदा अन्त्यमा दुईटा प्रश्न शंकास्पद निस्कियो त्यसमा एउटा अल्टरनेट अरु विकल्प  मध्ये सुनिश्चितलाई टिक लगाए भने अर्को एउटा किन छोडनु भनेर अन्दाजमा लगाए । यसपछी निबन्ध, सारांश र स्रेस्ता बिषय थियो । आई.कम बिषयको अध्ययन हुँदा दिईएको "बिज्ञापन" शीर्षक छनौट गरि निबन्ध रटकाए । यस्तै स्रेस्तामा पत्रव्यवहार र सारांश पनि आफुले अभ्यास गरेकोवाट उत्कृष्ट भयो । समग्रमा पहिलो दिनको परीक्षा स्वयं अनुमान गर्दा नब्बे प्रतिशत भन्दा बढी मिलेको पाए । सामान्य ज्ञान त पचासमा पचासै मिलाएछु । आफै भित्र अत्यन्त हर्षित भए ।

परीक्षा सकि पिपल्ला बजारमा आयौं । अघि बसमा आउँदा प्युठान तिरका एकजना प्रहरी भाइ पनि स्याउले बाट चढेका र उनी मेरो सिट अगाडि उभिएका थिए । उनले मलाई घर कहाँ हो दाजु कहाँ जानू हुन्छ भनेर सोधेका थिए । मैले घर दाङ मजगैं मानपुर गाविस हो । दिपायल सुब्बाको लोक सेवा आयोगको परीक्षा दिन जाने हो भन्दा उनले आफ्नो संक्षिप्त परिचय पनि दिएका थिए । नाम त अहिले मैले विर्से घर प्युठान घर गएको एक बर्षदेखी यहि दिपायल तालीम केन्द्रमा दरबन्दी हो । यहि स्याउले तलतिरवाट आएको भनेका थिए र दिपायल कहाँ बस्नुहुन्छ भन्दा एकजना मेरो सानबा अर्थात् सानिमाका श्रीमान् सपरिवार यहि छन् भने को हुनुहुन्छ भनेर सोधे घरेलु समितिमा सुब्बा हाकिम छन् नाम पुर्ण अधिकारी हो किराना तथा बिसाता पसल पनि गरेका छन् रे भनेर मैले भनेपछि उनले ए मैले चिनेको छु वाहाँलाई म पुराईदिहाल्छु नि भनेर भने मैले हैन हैन अहिले त म परिक्षा दिन जान्छु बरु कहाँ नीर हो वाहाँहरुको बसाई भन्नुस् भरे परीक्षा दिईसकेर म आफै जाउला भनेपछी दिपायल एयरपोर्ट जाने बाटोमा राष्ट्रिय बाणिज्य बैंक देखि अगाडि बगरमा छ त्यस्को अलिकता अगाडि क्षेत्रीय प्रहरी तालिम केन्द्र छ त्यही मेरो ड्युटी छ "अधिकारी किराना पसल" बोर्ड लेखेको छ वाहाँको परिवार प्रायः पसलमा बस्नुहुन्छ सारै मिलनसार सहयोगी हुनुहुन्छ हाम्रो उतैको मान्छे भने र मैले हुन्छ तपाईलाई धन्यवाद भनेको थिए । परीक्षा सकेर फर्केपछि साथीहरू सँग यहि होटेलमा मिलेर बसौकी भन्ने एक मनमा लाग्यो भने मेरो नित्य निरन्तरताको गहन अध्ययनमा केहि न केही अवरोध हुने महसुस गरि घरमा आमाहरुको भनाईमा आमाको हजुरबुबाका क्षेत्रीनी पट्टिका लख्वारका च्याङ्गे काहिला बा कि छोरी सानीमा र सानबा पुर्ण अधिकारी दिपायलमा बस्छन् भन्ने सुनेको थिए । साथीहरू सँग मेरो त दाङकै सानीमा सानवा यतै बस्छन् भनेर दुईवटा पछाडि बोक्ने रुपस्याक झोला एउटा बोकि एउटा उचाली लागे बगर बजार तिर । हेर्दै हेर्दै आए त्यहीँ प्रहरी भाइले दिएको लोकेशनमा ठ्याक्कै भेटाए अधिकारी किराना पसल । परन्तु न त सानवालाई चिनेको थिए न त सानिमालाई संयोगले सानिमा पनि घर दाङतिर आउनु भएको रहेछ सानबा एक्लै हुनुहुँदो रहेछ । यो पसलको साहुजी को हो भनेर सोंधे सानबाले म पनि हो भन्नू भो त्यसपछि मैले घर दाङ भएको हजुर पुर्ण अधिकारी हो भनेर सोधे हो कसरी चिन्नु भो तपाईं को हो भन्दा म दाङ मजगै घर भएको बसन्तराज अधिकारी हुँ । तपाईको जहान मेरो सानिमा लिवाङी जिम्वालको भाञ्ज हुँ । हजुरको ससुरा लख्वार मेरो काहिंलो हजुरबुबा हो हाम्रो चिनजान थिएन । आफ्नो मान्छे भनेर आएको हुँ म याहाँ आज भोलि र पर्सि सम्म बस्छु । हजुरकहाँ बस्ने व्यवस्था कस्तो छ भनेपछि सब ठिक छ सानिमा दाङ गएकी छन् बस्नुस् भनेर पुर्ण अधिकारीले भन्दा भन्दै त्यहा अर्का व्यक्तिलाई हाम्रो संवादले तानेछ वाहाँ हुनुहुन्थ्यो दाङ हापुर घर भएका पुनरावेदन अदालत, दिपायलका तत्कालीन  कानुन अधिकृत श्री कृष्ण कमल अधिकारी वाहाँले मजगैं कस्को छोरा भनेर सोध्नुभयो मैले प्युठान उदयपुर तिरामवाट आएका बलदेवप्रसाद अधिकारीको जेठो छोरा बसन्तराज अधिकारी भने वाहाँले आफ्ना बाबू पनि उदयपुर  तिराम वाटै आएका हापुर घर हो म कृष्ण कमल अधिकारी हामी दाजुभाइ पर्छौं भन्नुभो । मेरा दुई झोला किताब नोट आदि देखेर दुई दिनको बसाईमा पनि यतिका बोकेर पढदै हिंडने यति विधि अध्ययन त मैले अफिसर हुँदा पनि गरेको थिएन । यहाँ त त्यस्तो प्रतिस्पर्धा केहि छैन त्यही सहलेखापालको पढाईले पर्याप्त पुग्छ । म लेखेर दिन्छु सेवर पास । अब हाम्रो एउटा बन्धु थपिने भो भनेर खुशी मान्नु भो । मैले भने मेरो रुचि लेखातिर हो । फ़ेरि याहाँ दुर्गम रहेछ यो भन्दा सल्यान नै राम्रो भने कृष्ण कमल अधिकारी बन्धुले हामी सबै यहाँ बाहिरका क्षेत्रीय सदर मुकाम हो बस्न राम्रो छ । प्रशासन राजस्व र सुब्बा भए हाकिम हुन पनि पाईन्छ ठिक छ भन्नू भो । त्यतिबेला राजस्व समूह अलग थिएन । वाहाँको खानपिन पनि त्यही रहेछ शुक्रबार परेको स्पेसल वियर मासु खानपिन रहेछ । मैले माछा मासु र पेय पदार्थ केही लिएन । बन्धु कृष्ण कमलले हुन त लेखापालको जागीर रहेछ यद्यपि विद्यार्थी हो केही नखानु राम्रो हो भन्नू भो । मेरो लागि अलग्गै पाहुना कोठा थियो ।  खानपिन पश्चात् म अध्ययनमा लागे र राति दस बजे सुते । बिहानै उठेर हात मुख धोई चिया पिउन लाग्दा कृष्ण कमल बन्धु र पुर्ण अधिकारीसँग पुनः भेट भयो । बेस्ट अफ लक म बिहानै अफिस जान्छु खाना यहि तयार हुन्छ खाना खाएर लोक सेवाको परीक्षा दिन जानू बेलुका भेट होला भन्नू भो मैले पनि त्यही गरे । त्यसदिन प्रशासनको सेवा सम्बन्धि परीक्षा थियो ।

सेवा सम्बन्धि प्रश्नपत्र स्थानीय प्रशासन ऎन बमोजिम प्रमुख जिल्ला अधिकारीको काम कर्तव्य र अधिकार, भ्रष्टाचार निवारण ऎनको भ्रष्टाचारको परिभाषा र  राष्ट्र सेवकले गर्ने भ्रष्टाचार र त्यसको कसुर, निजामती सेवा ऎन नियम वाट कर्मचारीको आचरण, संविधानवाट लोक सेवा आयोग र यसको काम, कर्तव्य अधिकार छोटो लेखनमा मौलिक हक र संकटकालिन अधिकार समेतका धेरै प्रश्न ॠषिराज रिजाल R3 का नोटमा समेटिएका बिषयबस्तु थिए । यति राम्रोसँग लेखियो कि यसमा म पुर्ण सन्तुष्टि पनि भए । बेलुका चियापान सँगै तत्कालीन  कानुन अधिकृत बन्धु कृष्णकमल अधिकारीले प्रत्येक प्रश्न सोध्दा मेरो उत्तर सुनेर म लेखेरै दिन्छु यत्तिको मान्छे पास नभए को हुन्छ ? एक नम्बर मै पास हुन्छ भन्नू भो । भोलिपल्ट लेखा बिषयको सेवा सम्बन्धि परीक्षा थियो । पुनः लेखा सम्बन्धि तयारीमा जुटे । लेखापालको बिषयगत प्रश्न प्रशासन जत्तिको राम्रो भएन आर्थिक प्रशासन सम्बन्धि नियमको समस्या समाधानमा म केहि कन्फ्युज पनि भएको थिए । परीक्षा एक बजेदेखी थियो । आज म खान खाँदिन डोटी सिलगढीमा सल्यान बन कार्यालयका लेखापाल गम्भीर बहादुर श्रेष्ठका छोरा बुहारी छन् तिनको पार्सल पुर्याउनु पर्छ भनेर चिया पियर सिलगढी डोटी तिर प्रस्थान गरे र करिब डेढ घण्टाका आठ बजे बिहान सिलगढी डोटी पुगेर सोध्दै पत्ता लगाए र पार्सल पनि दिए । फर्कदा भाडा अपुग हुने ठानी पन्ध्र सय सापट पनि मागे । सल्यान बुबालाई दिने भए पनि दिन्छु बैंक मार्फत पठाईदिने भए खाता नम्बर दिएपछि हुन्छ सल्यान गएपछि तलब बुझेर तुरुन्तै पठाईदिन्छु भनेर पुनः दिपायल फर्केर आइ लेखापालको परीक्षा दिएर साझ सानबा पुर्ण अधिकारी कहाँ बसि भोलिपल्ट बिहानै धनगढीको बसमा दिपायलवाट प्रस्थान गरि पुनः अत्तरियावाट कोहलपुर र कोहलपुरवाट दाङ घोराही हुँदै मजगैं साझ सात बजेतिर आईपुगी भोलिपल्टै बिहान जागीरमा सल्यानका लागि प्रस्थान गरे ।

सल्यान आएपछि सल्यान क्याम्पसमा अध्ययनका सिलसिला निरन्तरता दिए । लोहापिङ स्थित सल्यान क्याम्पसमा त्यतिबेला बीरबहादुर रोका सर क्याम्पस प्रमुख हुनुहुन्थ्यो भने बादल श्रेष्ठले अंग्रेजी पढाउनु हुन्थ्यो । नेपाली पढाउने एकजना आत्रेय गुरु हुनुहुन्थ्यो । जागीरेहरु बिहान  पढने गर्दथे । क्याम्पसवाट आएर अफिस भ्याईनभ्याई हुन्थ्यो । यतिबेला आफुलाई भने जागीर गरे जस्तो पनि लाग्दैनथ्यो । म अझै क्याम्पसको अध्ययन मै छु जस्तो लाग्ने । सल्यान क्याम्पसमा सल्यानका नेवार केटीहरु, बाहुन, क्षेत्री, ठकुरी, जागीर खाएका नखाएका धेरै थिए । मेरो हुलिया झ्याप्प दाह्री जुङ्गा दुब्लो पातलो शरीर सधैं अध्ययन चिन्तनशिल ठट्टा मजाक पनि नगर्ने स्वभाव भएकाले सहकर्मी साथीहरुले बिल्ला गर्दथे गेट अप राम्रो गराउनु पर्यो । केटीतिर ध्यान दिनु पर्छ । दाह्री काटनु पर्छ भन्दथे म कतिपटक दाह्री काटने भनेर नाउ कहाँ गएको आफ्नो दाह्री औधी राम्रो देखेर फर्केको पनि छु । यसै समयमा २०४८ सालमा कर्मचारी संघ संगठन विभक्त भए । बि.सं. २०४७ सालमा स्थापित कर्मचारी संगठनलाई टुक्राएर प्रजातान्त्रिक समुहले संघ खडा गरे । कर्मचारी संगठनको निर्वाचनमा मैले प्रगतिशील प्यानेलवाट टिकट नपाउँदा स्वतन्त्रको हैसियतमा उम्मेदवारी दिए अन्ततः प्रगतिशीलले मलाई आफ्नो प्यानलमा मिलाए पनि । झिनो मतले निर्वाचनमा पराजित भए पनि कर्मचारी हक अधिकार समेतका मुद्दामा कर्मचारी संघ संगठनको चर्केको आन्दोलनमा एक्यवद्धता जाहेर गरे । टुक्रिएर गएको संघले हात छोडेपनि विभिन्न संस्थानका कर्मचारी समेतको समर्थनमा आन्दोलन चर्किदै जाँदै गर्दा म पनि संगठन मै आवद्ध थिए । त्यतिबेला जननेता कमरेड मदन भण्डारी, कमरेड खड्गप्रसाद शर्मा ओली र कमरेड शंकर पोखरेल समेत गएर कर्मचारीहरुमा फ्य्राक्सन कमिटी गठन गरि जिल्ला स्थित कार्यालयमा हातमा कालोपट्टी, पेनडाउन र अन्ततः सिडियो कार्यालय धर्ना समेतका कार्यक्रमले उग्ररूप लिन थालेपछी तत्कालीन सिडियो श्री दुर्गाप्रसाद पोखरेलले केहि कर्मचारीलाई निलम्बन र मेरो समेत बल्लतल्ल पकाएको दुई तलव वृद्धि घटुवा गरेका थिए । संस्थानका कर्मचारी, फुटेर गएको संघका प्रजातान्त्रिक कर्मचारी   र अधिकृत  समेत अन्ततः आन्दोलनवाट बाहिरीय । स्थानीय प्रशासन ऎनको हठात अधिकार प्रयोग गरि तत्कालीन प्र.म. स्व. गिरीजाप्रसाद कोईरालाको ठाडो निर्देशनमा निरीह कर्मचारीहरुलाई बलिको बोका बनाईयो । करिब तीनबर्ष पछि यस्ता कर्मचारीलाई सर्वोच्च अदालतको रिटबाट तत्कालीन प्रधानमन्त्री  कमरेड मनमोहन अधिकारीको कार्यकालमा न्याय दिलाईयो । केहि कर्मचारी सेवामा बहाल रहे भने केही जागीरमा राजीनामा गरि राजनीतिमा सक्रिय रहे । मेरो भने सु.प. वाट सुब्बा लिखितमा पास भएको र अन्तर्वार्तामा उपस्थित हुने खबर प्राप्त भयो ।

यसै अवधिमा राष्ट्रव्यापी रुपमा प्रतिनिधिसभाको निर्वाचन, २०४८ को घोषणा भयो । दलविहीन पञ्चायती राजतन्त्रात्मक व्यवस्थाको अवसान र जनआन्दोलन २०४६ को सफ़लता पश्चात् पहिलो संसदीय निर्वाचन  नेपाल अधिराज्यको संविधान, २०४७ को कार्यान्वयनको अवस्था थियो । मुलुकमा बामपंथी र काँग्रेस पार्टीको निर्वाचनको माहौल बन्दै थियो । तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय, सल्यानका लेखापाल श्री खेमप्रताप सेनजीको नेतृत्वमा श्री माध्यमिक बिद्यालय  लेखडाँग्री, सल्यान मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा निर्वाचनमा खटिए । लेखापाल सेनजी चौविसे घण्टे पियक्कड थिए । निर्वाचनको भत्ता बुझ्न  गएको समयमा यि मतदान अधिकृतले प्राप्त गरेको तालिम तथा अभिमुखिकरणका पुस्तिका ऎन, नियम सामाग्रीहरु अध्ययनका लागि लिएर राति र बिहान लायेर महत्वपूर्ण सामाग्रीहरु अध्ययन गरे । भोलिपल्ट बिहानै सल्यान खलंगा वाट ओरालो लागि शारदा नदीको पुल पार गरि लेखडाँग्री तर्फ प्रस्थान गर्दै गर्दा बाटैमा २-४ गिलास बजाउँदै पुरै झुले तालमा लागे सेनजी । सेनजी म र सुरक्षाकर्मी र कार्यालय सहयोगी साथै गयौं । खानपिन र बसोबासको  राम्रो प्रवन्ध गर्ने भएपनि  राजनीतिक नेतृत्वको व्यक्तिगत घरमा नबस्ने बरु ३-४ दिनलाई आफै सामा बन्दोबस्ती गरि बस्ने निर्णय मुताविक हामी बिद्यालय परिषरमै बस्ने निधो गरेउ । सुरक्षाको टोली पनि असईको कमाण्डमा गएको थियो, म्यादीहरु समेतले हाम्रो नजिकैमा सेल्टर बनाए । पर्सिपल्ट निर्वाचन थियो । अघिल्लो दिन बाँसको घेरबार निर्वाचन सामग्रीहरुको रुजु गरि, मुचुल्का समेतको तयारी गरियो । खेमप्रताप सेनजीले क्वाटरको सामा गरेकै थिए । फ़ेरि एकक्वाटर लगाएर झुलिरहे । भोलिपल्टको व्यवस्थापनको सम्पुर्ण जिम्मा मेरो थियो । सुरक्षाको जिम्मेवारी असई सापको थियो । पञ्चायत कालमा पुर्व प्रधानमन्त्री तथा पञ्चायत व्यवस्थाका अन्तिम हस्ती स्व. मरिचमान सिंह श्रेष्ठको निर्णायक किल्ला थियो यो ठाउँ त्यसैले निर्वाचनको संवेदनशील केन्द्र पनि थियो । हाम्रो टोलीमा तत्कालीन प्रतिनिधिसभा सदस्य पदका भेटरान काँग्रेसका हस्ती श्री राजेन्द्रबहादुर शाहको दाइका छोरा तथा बिद्यालयका प्राथमिक शिक्षक पनि सहायक कर्मचारी कै रुपमा थिए । उनी निर्वाचनकै दिन घरैवाट आउने खवर प्राप्त भयो । खसी खानेलाई खसीको मासु, मदिरा र भालेको सरजाम थियो । माछा मासु र दारु पानी केही नखाने भएकाले मैले काउलीसँग काचो कचिलो भुजा थोरै ज्युनार गरे । राती अबेर सम्म पनि पर्चा, पम्प्लेट, ब्रोसर ऎन, नियम, कानुन, निर्देशन अध्ययन गरिरहे । मतदान अधिकृत सेनजीले झुले तालमा खुब पढ्नुस है सर भोलि केही द्विविधा र असहज भए हाम्रो कानुनी प्रतिरक्षा हजुरकै माछा मासु, दारु पानी केहि लिनुहुन्न के स्वागत गरौं र भन्दै मलाई फुर्काई पनि रहन्थे । सुरक्षाका प्रमुख असई सापले पनि मेरै निर्देशन फ़लो गर्दथे । भोलिपल्ट बिहानै तीन बजे नै आँखा खुलेपछि चार किल्ला (पुर्व पश्चिम उत्तर दक्षिण) तोकि मतदान केन्द्र घेराबन्दी मुचुल्का, मादक पदार्थ तथा हातहतियार निषेधित  लगायतका  मुचुल्का पहिलेनै तयारी भएका रुजु गरि अब उम्मेदवारका प्रतिनिधि, मतपत्र, मतपेटिका खोल्ने, स्वयंसेवक भर्ना समेतका मुचुल्का तयारी साथ छाप र छापदानी र आवश्यक सियो, धागो, सलाई स्वस्तीक चिन्ह अंकित छाप, मतपेटिका चुस्त दुरुस्त रुपमा रुजु गरि तयारी गरियो । सुरक्षाको प्रमुखले बेला बेलामा ठिक ठाक छ सर । तपाईकै भर हो मतदान अधिकृत सर मस्त हुनुहुन्छ भनेर झक्झकाई रहन्थे । मैले पनि ठिक छ सर केहि चिन्ता गर्नुपर्दैन भनी सान्त्वना दिन्थे । बिहान सात बज्दा नबज्दै उम्मेदवार अर्थात् जनप्रतिनिधि उनीहरुको एजेन्ट प्रतिनिधिहरु जम्मा भए । बिहान सुर्योदय सँगै मतदान केन्द्रको चहलपहल बढन थाल्यो ।

सुरक्षा घेरा बाहिर म्यादी प्रहरीहरु, त्यसभित्र नेपाल प्रहरी र भित्र घेरामा मतपेटिका मतदान केन्द्र र मतदान अधिकृत र कर्मचारीको व्यवस्थापन गरिएको थियो । मुस्किलले सात बजेतिर थकित मुद्रामा शाहजी आईपुगे । उनले मेन्युवल मतदाता नामावलीमा नाम रुजु गर्ने जिम्मेवार सम्हालेका थिए । यो कार्य बढी संवेदनशील र सतर्कता होशियारपूर्वक निभाउनु पर्ने थियो । परन्तु मतदान प्रारम्भ भएकै एकघण्टामै उनले जानी जानी वा अन्जान बश गम्भीर गल्ती गर्न पुगे । नक्कली मतदातालाई चिट दिएपछि उसले मतपत्र खसालेको करिब आधा घण्टा भित्रै वास्तविक मतदाता जो गैह्र काग्रेसी थिए तत्पश्चात त्यहाँ उत्पात मच्चियो । हुलले मतदान केन्द्र क्षत बिक्षत गरे । हाम्रो सुरक्षामा खटिएका लाठो बोकेका म्यादी प्रहरीहरु भागेर धेरै टाढा भए । नेपाल प्रहरीका सुरक्षाकर्मीहरु पनि टाढावाट रमिते बनी हेरिरहेका थिए । मतदान अधिकृत जो आफैले मतपत्रमा दस्तखत र निरीक्षण गर्ने कार्य मतदान अधिकृतको जिम्मेवारी थियो उनी घेराउमा परे । करिब डेढ घण्टा तनावग्रस्त भयो । मतदान स्थगित हुने अवस्था सम्म पुग्ने अवस्था सम्म मैले एउटा आँखाले त्यो गाईजात्रा हेरि अर्को आँखा प्रतिनिधिसभा निर्वाचन निर्देशिकामा गहन दृष्टि केन्द्रित गरि एकपटक राम्ररी पढेर घोत्लीएको निविदा यानी प्रोक्सी मतदान खोजिरहेको थिए । अन्ततः भेटाए पनि । अग्लो कुर्सीमा उभिएर सबै आम मतदाता, राजनीतिक दल र वाहाँका प्रतिनिधिहरुलाई मेरो सहर्ष हार्दिक नमस्कार मेरो नाम बसन्तराज अधिकारी म यो मतदान केन्द्रको एक जिम्मेवार कर्मचारी हुँ । जुन समस्या याहाँ उत्पन्न भएको छ अर्थात् वास्तविक मतदाताको मत अर्को फर्जी मतदाताले हालेको छ । यसमा नाम रुजु गर्ने कर्मचारी, राजनीतिक दलका एजेन्ट, मतदान अधिकृत र हामी सबैको धेर थोर दोषभागी छौं । यसको उपाय पनि यो प्रतिनिधिसभा निर्वाचन निर्देशिकामा गरेको छ ।

मेरा युवावस्थाका संघर्षका आत्माकथा८

यहाँहरु धैर्यता र संयम भै मेरो कुरा सुन्न सक्नुहुन्छ भने म मेरो कुरा कानुनी रुपमा यहाँहरु समक्ष राख्दछु भनेर आम मासमा ऎलान गरेपछी भिड संयम पुर्वक अगाडि बढ्यो र लौ भन्नुस् बसन्त सर कानुनी व्यवस्था के छ ? मैले प्रतिनिधिसभा निर्वाचन निर्देशिकामा व्यवस्था भएको निविदा मतदानको प्रावधान देखाउँदै स्पष्ट पारे कानुनतः वास्तविक मतदाताले छुट्टै खामबन्दी गरि बिचाराधिन निर्णायकमा गणना हुने मत हाल्न पाउने प्रावधान छ । तपाईहरु पुनः लामवद्ध भै अवरुद्ध मतदान लाई पुनः सुचारु गरौं । यति भनेपछि भिड संयम भयो र पुनः मतदान सुचारु भयो । अन्यथा मतदान स्थगित हुने अवस्थामा पुगिसकेको थियो । तत्पश्चात नाम रुजु गर्ने शाहजी वाट मैले लिए र बडो होशियारपूर्वक कार्यसम्पन्न भयो । मतदान अधिकृत  खेमप्रताप सेनजीले मुक्त कण्ठले मेरो प्रशंसा गरि अनुग्रहित बने । यश घटनावाट एउटा राष्ट्रसेवक कर्मचारीले बुद्धि विवेक, अध्ययनशिलता र इमानदारीताले कतिसम्म दुर्घटनावाट बचाउन र राज्यको साधन स्रोत, लागतलाई मितव्ययी र प्रभावकारी रूपमा प्रयोगसिद्ध गर्न सक्दोरहेछ भन्ने यो एउटा अनुपम उदाहरण थियो । यसरी त्यतिबेला प्रतिनिधिसभाको निर्वाचन सफ़लता पुर्वक सम्पन्न गरियो ।

सल्यान जिल्लामा कोष तथा लेखा नियन्त्रण कार्यालयको अन्तिम बसाईको क्रममा तीन महिनाको लागि स्थापित केन्द्रिय तथ्यांक बिभाग अन्तर्गत  जिल्ला कृषि गणना सम्पर्क  कार्यालय स्थापना भयो । एकजना तथ्यांक अधिकृत श्री शान्तिराम बिमली सर खटिएर आउनुभयो । त्यतिबेला मैले कोष तथा लेखा नियन्त्रण कार्यालय, सल्यानमा बिनियोजन र आ.ले.प.शाखामा काम सिक्दै थिए । जिल्ला कृषि गणना सम्पर्क कार्यालयका लागि लेखापालको माग प्रमुख जिल्ला अधिकारी मार्फत  कोष तथा लेखा नियन्त्रण कार्यालयवाट  गरिएको थियो । त्यतिबेला निमित्त कार्यालय प्रमुख स्व. गणेशप्रसाद शर्माले मलाई माग बमोजिम कृषि गणना सम्पर्क कार्यालय, सल्यानका लागि लेखापाल भै काम काज गर्ने भनी निर्णयानुसार पत्र लेखी दिनु भयो जस्को बोधार्थ महालेखा नियन्त्रक कार्यालय, जिल्ला प्रशासन कार्यालय, सल्यान र सम्बन्धित जिल्ला कृषि गणना सम्पर्क कार्यालयलाई दिईएको थियो । त्यतिबेला करिब तीन लाख जतिको बजेट बिनियोजन गरिएको अस्थायी गणक भर्ना, पारिश्रमिक, भत्ता, मसलन्द, कार्यालय सामान, घरभाडा समेत निकासा खर्च भुक्तानी रितपुर्वक गरि लेखापालको जिम्मेवारी पनि सफ़लता पुर्वक निर्वाह गरियो ।

सल्यान बसाईको अन्तिम क्रममा  रोल्पा जिल्ला साविक खुङ्ग्री गा.वि.स. वडा नं. ६ महेन्द्री निवासी स्व. प्रेमनारायण सुवेदीको नातीनी श्री दामोदर सुवेदीको जेष्ठ सुपुत्री श्री यशोदा सुवेदी सँग बि.सं. २०४९ बैशाख २३ गतेको शुभ दिनमा दाङ जिल्ला स्थित प्रसिद्ध आराध्य देवी भगवती श्री अम्बिकेश्र्वरी मन्दिर, अम्बापुरवाट  परम्परागत रुपमा मागी शुभ बिबाह सुसम्पन्न भयो ।  जस्बेला नायव सुब्बाको सुदुर पश्चिम लोक सेवा आयोग क्षेत्रीय निर्देशनालय, दिपायलवाट लिखित परिक्षामा सफ़ल भै अन्तर्वार्ता समेत दिएर आएको थिए । एक दिन घोराही स्थित तत्कालीन महेन्द्र अस्पताल अगाडि म एक्लै हिंड्ने क्रममा रोल्पा जिल्ला घर भै दाङ भुमिसुधार कार्यालयमा कार्यरत उहीँ पुर्व चिरपरिचीत मावली श्री दिवाकर आचार्यसँग आकस्मिक भेट भयो । एक्कासि मामाले सुब्बामा सफ़ल हुनुभएछ बधाई छ भाञ्ज भनेर भन्नुभयो । मैले पनि मामा तपाईं सुब्बा हुनुभयो भनेर सोध्दा अहँ भाञ्ज नि.से.नि.परिवर्तन भयो । बढुवा हुनै सकिएन अझै खरदारै छु भनेर मामाले बडो थकित भावमा भनी चिया खाउँ भाञ्ज भनी नजिकैको  एउटा चिया पसलमा मामा भाञ्ज पस्यौं र लामो समयको अन्तरालमा भेटघाट भएकाले  भलाकुसारी गरेउ । मामाले मलाई लाख लाख बधाई दिंदै भाञ्ज हजुरसँग सरस्वती बाँस छन् अब छिट्टै नै अफिसर हुनुहुन्छ बरु काठमाडौं सरुवा गर्नुहोला । हजुरलाई मैले माने भनेर मुक्त कण्ठले प्रशंसा गर्नुभयो । यिनै मामा हुन् जो मैले सहलेखापाल नाम निकाल्दा घोराही रझेना बसाईको क्रममा  लोक सेवामा सोर्स लाग्छ, पैसा खुवाउनु पर्छ भन्दा मैले लोक सेवाका तत्कालीन सुब्बा साप स्व. मिनराजसँग  हुर्मत लिएको थिए र तपाईं भन्दा पहिला सुब्बा साप म हुन्छु भनेको थिए । यो प्रसङ्ग यश पुर्व मार्मिक ढंगले बर्णन गरिसकेको हुँदा पुनः पुनरावृत्ति पनि गरिन । तर जे होस् अब भने मामाको मेरो सम्मुखमा "गरुडको अगाडि सर्पको जस्तो" अवस्था भएको थियो । तसर्थ जीवनमा दृढ़ संकल्प कठोर इच्छाशक्ति र अनवरत मेहनत र लगनशीलताले गर्दा चौध बर्षमा बुबा स्वर्गवास भै अनाथ भएको म आज मै हुँ भन्ने समर्थवानलाई पनि चक्मा दिने हैसियत राख्न सफ़ल भएको थिए । त्यसैले युवावस्थामा मैले कतै पढेको विश्व बिजेता फ्रान्सेली नेता नेपोलियन बोनापार्टको भनाईलाई सापटी लिंदा "संसारमा असम्भव भन्ने कुरा कहिँ केहि छैन । छ त केवल मुर्खको डायरीमा मात्र ।" भन्ने रोचक विश्व प्रसिद्ध कथनलाई संस्मरण गरिरहेको थिए । संसारमा प्रगति हाँसिल गर्ने मान्छे दु:ख पाउनु, बाउन्न  हण्डर र त्रिपन्न ठक्कर खानु स्वभाविकै हो यो भन्दा अत्यन्तै टिपोट गर्नुपर्ने कुरा के पनि हो भने "लडेर उठन मात्र होईन दौडन र आफुभन्दा पहिला दौडेर अगाडि गएका होनहारहरुलाई पछाडि छोडन सक्नुपर्छ ।" त्यसैले त रसियन प्रगतिशील लेखक तथा साहित्यकार म्याक्सिक गोर्कीले अत्यन्तै मुक्त कण्ठले आफ्नै जीवन भोगाइ लाई मार्मिक रुपमा अभिव्यक्त गरेका पनि छन् - "संसारमा संघर्षको सुख नै अत्युत्तम सुख हो ।" यसै भनाईलाई प्रगतिशील गीत - "संघर्ष हो जीवन जीवन संघर्ष  हो । जीवन देखि हारेर मर्छु नभन । जीवन देखि थाकेर बस्छु नभन । रातपछी दिन हुन्छ हेर बिहान् ।।" भन्ने किशोरावस्थामा सहर्ष गायन गरिएको पनि थियो ।

श्रीमती यशोदासँग वैवाहिक जीवनमा बाँधिएपछी सल्यान गए । श्रीमतीजी राप्ती बबई क्याम्पस, तुलसीपुर, दाङमा बि.सं.२०४९ सालमा आई.ए. पढदै गरेकाले श्रीमतीजीलाई अब भने सल्यान क्याम्पसमा  आई.ए. पढाउने र मैले जागीर गर्दै त्यही क्याम्पसमा बि.ए. पढने इच्छा मुताविक नव विवाहित श्रीमतीलाई लिएर सल्यान गए र सल्यानको बसाई करिब दुई महीना पनि बित्दा नबित्दै लोक सेवा आयोग, सुदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलवाट  नायब सुब्बामा सफ़ल भएको खबर  आ.बा. तत्कालीन पुनरावेदन अदालत, दिपायलमा कानुन अधिकृत पदमा कार्यरत बन्धु श्री कृष्ण कमल अधिकारीले पठाउँदा अत्यन्त हर्षित भएर सल्यान क्याम्पसमा मैले बि.ए. अध्ययनरत छँदा र श्रीमती लाई आई.ए. पढाउने सोंचलाई पनि स्थगित गरि लागियो सुदुर पश्चिम तिर । जीवन गतिशील रहेछ साथै कर्तव्यले खाली पनि कहिल्यै छैन । दैव वा ईश्वरले हे मनुवा तँ सोंच मात्र म पुराउँछु भन्छन् रे ! मेरो जीवनमा पनि पुराईरहेछन् । लेखाका केहि साथीभाइ र आफन्तहरु भन्थे त्यति टाढा सुदुर पश्चिम नजा । यहि कोषमा दुई बर्ष भैसक्यो । अब कार्यसञ्चालन अड्डामा लेखापाल भएर गएर आफ्नो घर व्यवहार र परिस्थिति सम्हाल । यसमा अग्रपंक्तिमा थिए काका बन्धु स्व. ॠषिराज अधिकारी उनको बारेमा पुर्व प्रसङ्गमा पनि केहि लेखिसकेको छु । उनको आफ्नो मान्छे तत्कालीन दाङका जल्दाबल्दा काँग्रेस  नेता तथा मन्त्री  खुमबहादुर खड्कालाई भनेर राम्रो कमाउ अड्डामा सरुवा गरिदिने त्यस्को लागि खर्च गरिदिनु परे आफै गर्दिने प्रस्तावलाई मैले ठाडै अस्वीकार गर्दै भने हेर्नुस् अंकलजी दुई महिना पहिलाको कुरा सम्झिदा तपाईले म उपर "सबै कुकुर काँसी गए……" जस्ता अनर्गल दुर्वाच्य  प्रयोग गर्न समेत कत्ति पनि संकोच मान्नु भएन तपाईको तुच्छ विवेक प्रति दया लाग्छ । हेर्दै जानुस् यो भतिज अब केहि समय पश्चात् तपाईंको हाकिम भएर आउँछ भनेर यसरी खरो र स्पष्ट जवाफ दिंदा बिचरा अंकल कालो निलो भै रुझेको मुसो जस्तो भुईमा उँधो शिर भएको थियो र मैले आफुलाई निकै बिजेता र साहसिक भावमा यथार्थ रुपमा प्रस्तुत गरेको थिए । मलाई थाहा थियो अपेक्षित  उपलब्धि हाँसिल गर्न ससाना प्रलोभन त्याग्न सक्नुपर्छ । छोरो निडर, निर्भीक दृढ़ अठोट भएको हुनुपर्छ भनेर ममतामयी आमाले भट्याउने नीति बचन मलाई मुखाग्र थियो परन्तु यसलाई परिपालन गर्नु निकै चुनौतीपूर्ण थियो ।
"हे ! भाइ हरु हो म भन्छु सुन हे ! गर्नु सदा उन्नति ।
लेख्नु पढ्नु सधैं असल उमेरमा खेल्दै नखेल्नु रति ।।
जो जो काम जसले असल उमेरमा चुनेर लिन्छन् याहाँ ।
लठ्ठक्क भैकन बस्नुपर्छ नहिता हेप्छन् सबैले याहाँ ।।"

कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यानवाट दिपायलका लागि विदाई भैजाँदा सल्यान कोषमा मलाई नियुक्ति गर्ने कोष नियन्त्रक श्री बाबुराम श्रेष्ठको सरुवा भै वाहाँको स्थानमा श्री मती प्रसाद भुषाल सर हुनुहुन्थ्यो । सल्यान कोषवाट बिदाई भै दिपायल जाँदै गर्दा एकपटक ममतामयी आमाले पनि घुम्ने इच्छा व्यक्त गर्नुभएको हुँदा आमा र श्रीमतीलाई लिएर नेपालगन्ज ईन्डियाको बाटो गौरिफान्टावाट धनगढी हुँदै दिपायल पुगेका थियौं । तहाँ पुगे पछि ज्यादै टाढा मानी आमा रुँदा आमाकै मुखारविन्दवाट भएको श्रुतिस्मृति "कोSति भार समर्थानां कि दुरं व्यवसायिनाम् । को विदेश सुविद्यानां क: पर प्रियवादिनाम् ।" अर्थात् समर्थबानलाई गाह्रो केही पनि छैन । व्यवसाय पेशा गर्नेलाई टाढा कहिँ पनि छैन । असल बिद्या भएकालाई विदेश कहिं छैन र प्यारो बोल्ने मान्छेको पराया कोहि छैन । यति भन्दै गर्दा आमा मौन हुनुहुन्थ्यो । दिपायल पुगेर नायब सुब्बाको स्थायी नियुक्ति लिए पश्चात् करिब बीस पच्चीस दिन आमा पनि साथै बस्नुभो । यश अबधिमा दिपायल सिलगढी स्थित शैलेश्वरी मन्दिर घुम्नुभयो र एकजना शम्शेरगंज आउने महिला साथीका साथ आरएनएसीको प्लेनवाट दिपायल राझा नेपालगन्ज हुँदै दाङ घर आउनु भयो । पछि बाबू विशेष जान्मने भएपछि श्रीमती लाई पनि घरमै सहज हुने हुँदा घरमै आमाको साथ छोडे । यश अवधिमा क्षेत्रीय तथ्यांक कार्यालयवाट चौमासिक आर्थिक इण्डेक्स सूचना संकलन, बि.सं.२०४९ को पाँच बर्षे उद्योग गणना सम्पन्न गरि अन्ततः पाँचै बिकास क्षेत्रमा रहेका क्षेत्रीय तथ्यांक कार्यालयहरु पुनर्संरचना भै शाखा तथ्यांक कार्यालय दिपायल साविकमै डोटी र अछाम स्थापना गरियो ।

पाँच बर्षे औद्योगिक गणना, २०४९ हुँदा सुदुर पश्चिमका प्रायः सबै जिल्ला र क्षेत्रहरूमा भ्रमणमा गैयो । डोटीका बोगटान क्षेत्र लगायत सम्पुर्ण भुभाग, अछामका रहप, पस्ती, सिउँडी सोकट, बुढीगंगा, बयलपाटा, बिनायक, कालेकाँढा, पुल्लेतोला, धमेना, मेलबिसौना आदि । बझाङका दंगाजी, छान्नाखोला, पाटादेवल, चैनपुर, सुर्मा, सरोबर, दौलिचौर, कोटदेवल आदि यस्तै गरि दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली कञ्चनपुरका अधिकांश भुभाग पैदलमार्ग घुमेको हिजोआज सम्झदा अत्यन्तै ह्रदय प्रफुल्ल हुन्छ । त्यतिबेला दु:ख लाग्दथ्यो तर अहिले सुखानुभुती हुन्छ यस्तै हो जीवन आँसु पछिको हाँसो, बिछोड पछिको मिलन, छायां पछिको घाम, संघर्ष वा दु:ख पछिको सुख नै वास्तविक सुख रहेछ । बझाङको पाटादेवल पुग्दा स्थानीय समुदायका कलाकारहरूले ठुला हाकिमसाबहरु भनी देखाएको नृत्य त कसरी बर्णन गरु र सुदुर पश्चिमको मीठो साहित्य परिकार देउडा "छान्नाकी जानकी देवी सुर्मा कि सरुली । साई प्रदेश जाँदा भया मै कसो हरुली ।" गीत होस् कि अछाम सिउँडी सोकट वाट बुढीगंगा आईपुग्ने ओरालो सल्लेरी बन झर्दै गर्दा घँसेरीले बनमा गाएका गीत "अछाम् का छोरेटीका माथमी फुल हुँदो नैबोलाउँतो कुत्कुती लाग्दो बोलाउँतो हुल हुँदो । अत्यन्त मार्मिक र सटिक छन् । यस्तै दार्चुला बैतडी डडेल्धुरा तिर "बैतडीका च्याँखुरा निका दार्चुलाकी ठिटी । डडेल्धुरा घण्टेश्वरमा फुल चढाउँकी भेटी ।" यस्तै डोटी तिरको सुप्रसिद्ध देउडा "दुल्लु है धेखिन लाग्या दल्लेखकी गढी । ऎले म झलक्कै सम्झ्या काँ छैइ रानी चढी ।" यस्तै डोटी राम्रो डडेल्धुरा अछाम राम्रो साफे । मैलाई पनि उडाई लैझा हिउँ चुलीका डाँफे । ईन्डिया  भारततिर प्रवासिंदै गर्दा लाहुरेले गाउने गीत " काँ जान्छेई बगन्या पानी कैका लत्ता धुन्छेई । रात बिस्तारामि उठी कै सम्झेर रुन्छेई ।" सुतन्या डसना मुनि हातकी घडी रैइ । काँ मेरो लालहिरा छुट्यो काँ मैना चडी रैइ ।।" कसैसँग बिदाई उत्सब मनाउँदा "काफल खाउँला काला काला हिरुलाला जिरो नुन लाएका । समझिरह्या बिसर्या जन हिरुलाल हमरा गुन लाएका ।" यस्ता कति हो कति यो लेख्न थाले यसैको महाकाव्य होला र मेरो युवावस्थामा संघर्षका कथा अकथा बन्लान परन्तु यी जीवन्त भोगाई अब साठीको ढिकढाक पुग्दा समेत अझै ताजा स्मृतिमा छन् । एकपटक एकजना लेखापाल भट्टराईजीसँग दिपायलवाट तथ्यांक संकलन कार्यमा जिल्ला कृषि विकास कार्यालय, अछाम सम्म जाँदाको रोचक संस्मरण प्रस्तुत गर्दछु ।

दिपायलवाट सिलगढी हुँदै बिनायक वाट मंगलसेन अछाम प्रायः मानिसहरू जान्थे अहिले पनि शायद मोटरबाटो त्यतै बाट छ । केही स्थानीय बासीहरुको भनाइ अनुसार दिपायलवाट सेतीको किनारै किनार सिउँडी सोकट, बुढीगंगा पार गरी मंगलसेन पुग्न सकिन्छ छोटो पनि छ भन्ने सुनेर ए नाम याद आयो तत्कालीन लेखापाल चितवन घर भएका श्री शिवलाल भट्टराईजी र तत्कालीन तथ्यांक कार्यालयको निमित्त प्रमुख म वसन्त अधिकारी दुवै बिहानै छ बजे चिया पानी पनि नपिई झोला बोकी लाग्यौ सेती नदीको किनारै किनार दक्षिण तिर । सुन्सान बन थियो सेती नदीको निशब्द सुसाहट केही डरलाग्दो भएपनि साथमा दुईजना र बाटोमा मानिसहरू फाट्टफुट्ट भेटिने र टाढा टाढा गाउँबस्ती देखिने हुँदा हामी ढुक्क साथ हिडिरहेका थियौं । करिबकरिब दुई ढाई घण्टा सेती नदीको किनारै किनार दक्षिण तिर हिडेपछी नदीको पल्लो पट्टि एउटा सानो समतल गाउँ देखियो । वारिवाट झोलुङ्गे पुलले बाटोसम्म जोडेको सुन्दर पहाडको बेसीमा अवस्थित गाउँ । भट्टराईजीलाई सोधे यो गाउँको नाम के हो ? मलाई पनि के थाहा सर जेसुकै होस् भनेर उनले बेवास्ता गरे पनि मलाई जान्ने कौतुहलता बढ्यो । एकजना भारी बोकेर आउँदै गरेको डोटेललाई सोधे - दाजु त्यो पारिको गाउँको नाउँ के हो ? ती दाजुले प्रतिप्रश्न गर्दै तम्रो घर कहाँ हो भण भने । मैले पनि सिधै दाङ हो भने तब उनले त्यसो भा क्यान सोध्दछौं भनेर मलाई हकारे म अवाक भए । कस्तो बेसोमती डोटेल रैछ त्यति मीठो मुखले सोद्धा पनि झपार्छ भनेपछि शिवलालजीले यी डोटेलहरु हामीलाई पुर्वीया भन्छन् राम्रो मान्दैनन् त्यसैले कसैलाई नसोध्नुस् भनेको मान्नुहुन्न भने मैले पनि भट्टराईजी लाई अहँ मान्दिन सोधछु भने । उनले तपाईं ज्यादै जिद्दी हुनुहुन्छ भन्ने आरोप लाए । मैले उनको कुरालाई वेवास्ता गरि पुलको नजीक पुग्दा फ़ेरि अर्को डोटेललाई प्रश्न राखे । उसले मलाई पहिलो डोटेलले झै तम्रो घर कहाँ हो भनेन सिंधै दाङ हो भन्यो । म खुब खुशीले नाचे अनि भट्टराईजीले बाटबाटै नाच्नुहुन्छ भन्दा ल हेर्नुस् त मेरो घर दाङ आईपुगेछ उ त्यो परको घर छ नि त्यै घरमा शायद मेरो आमा, श्रीमती र भाइबहिनीहरुसँग भेट हुन्छ । त्यसपछि एकक्षण झोलुङ्गे पुलमा विश्राम गर्दै गर्दा पहिलो डोटेलको कुरो सुनेर हामी निकै हास्यौं त्यसपछि केहि समयसम्म मेरो मुखको थेगो रह्यो । त्यसोभए किन सोद्धा छौ त !

बिहान करिबकरिब नौं बजे सुन्दर रमणीय प्रभाती किरण पहाडवाट समतल फाँटमा फिँजीदै थिए । परिश्रमी मानिसहरू आफ्ना पौरखी कर्ममा जुटिरहेका थिए । मीठो घमाईलो वातावरण थियो । झोलुङ्गे पुल पार गर्दा एउटा चिया पसल भेटियो । अधबैंसे दाजु कराईभरी दूध तताईरहेका र भाडा माझिरहेका थिए । त्यहाँ पुगेर बेञ्चमा टुक्कुक्क बस्यौं । प्रायः पहिला हामीले बोलाएपछी मात्र मुस्किलले बोल्न चाहने सुदुरपश्चिमेली अझ डोटेली र अछामीको स्वभाव  भएकाले होटलवाला साहुलाई मैले भने दाजु हामीलाई एक एक गिलास दूध खान दिनुहोस् न । उनले ठाडै भने नाई नाई दूध दिने हैन चाय खा । अहँ हाम्लाई दूध चाहिन्छ मैले जिद्दी गरे । तम्लाई दूध दिने हैन भनेर होटल साहुजी निकै हट गरे भट्टराईजी चिया भएपनि खाउ न त भन्दै थिए मैले निकै हठ गरे । अहँ हाम्लाई दूध नै चाहिन्छ । तम किन दूध नदिन्या । हम्र पैसा दिन्छ । होटल वाला अछामीले भने तम्लाई दूध दिए हाम्रा डिंगा मद्दा छन् तम कसमा हौं कसमा । भट्टराई र म मुखामुख गरिम र तत्कालै भने हम्र बामन हौं । तम पुर्वीया हम नै पछान्या । मैले काँधको जनै देखाएर भने गाड (हेर) जनेउ । अब तम्लाई क्या प्रमाण चाहियो । अहँ हम्र नै मान्या । हाम्रो सवाल जवाफ निकै चल्यो । लेखापाल शिवलालजीले हाम्रो दोहरी खुब रोचक मानेर हेरिरहेका थिए र भने अहँ सर तपाईको जिद्दी अब यो अछामीसँग केही लाग्दैन । बरु चिया खाएर उकालो लागौं । मैले भट्टराईजीलाई सान्त्वना दिंदै भने म हदभन्दा माथिको जिद्दी मनुवा हुँ । तपाईं हेर्दै जानुस् तपाईले र मैले यो दूध खान पाउँछौं । हाम्रो यो वाद विवाद हुँदै गर्दा ती अछामी दाजु भाडा माझी सकेर नजिकै धारामा पानी भर्दै थिए । तब म उनको नजिकै गएर "कर्पुर गौरं करुणावतारं संसार सारं भुजहेहेन्द्र हारं । सदा वसन्त ह्रदया रविन्दे भवं भवानी सहितं नवामी । सहितका शिवस्तोत्र, देवी स्तोत्र, बिष्णु स्तोत्र, गणेशस्तोत्र, सरस्वती स्तोत्र मलाई मुखाखर भएका जति सबै भट्याउन थाले । तब ती अछामी दाजुले किन वेद पद्धा छौं भनेपछि मैले तत्कालै भने तम्लाई बामन हो भन्ने प्रमाण दिन म काँशीमा पढेर आएको बामन म तम्लाई दिनभर अब वेद पढाउँछु  भनेर फ़ेरि निरन्तर भट्याउन थालेपछि एकातिर भट्टराईजी मुसुमुसु हाँसीरहेका थिए भने अर्कोतिर अछामी दाजु गम्भीर सोंच मग्न भए । संस्कृतका कठिनतम श्लोक धाराप्रवाह मेरो मुखारविन्दवाट साउने झरी भन्दा प्रवाहका साथ बर्षिरहँदा अछामी दाजुले भने गुरु पाउलागी तम पक्का बामन पण्डित रैछौं तम्लाई दूध दिए । मैले फ़ेरि भने मलाई मात्र हैन यिन्लाई पनि दिनुपर्छ यी भट्टजी मेरा सहायक बामन हुन् यिन्को पनि जनै छ हेर कथम कदाचित म झुठ बोलेको मेरो यहि बिद्याले मलाई नाश गर्छ अब भने बिश्वास माण यिन्लाई पनि दूध दिए । त्यसपछि माने गिलासको बाक्लो तर परेको दूध ति अछामी दाजुले दुवैलाई दिए । पैसा पनि दस रुपैंया गिलास मात्र डम्म पेट भरियो । तम्ले वामन र अरु को कस्लाई दूध दिन्छौं ? पुरोहित , बामन, राजासाप लाई मात्र अरुजातिलाई हामी दूध दिन्नौ चाय बेच्छौं ती अछामी दाजुले भने । अब उकालो उक्लेपछि माथी आउने गाउँको नाउँ के हो ? मैले सोधेपछि उनले बिस्तार पुर्वक भने सेती नदी र यो नजिकैको खोल्सा वारि अछाम यो पुलबजार मथी डाँडोमा सिउँडी गाउँ हो हाप्रा हाप्रै झा भने । बाटोमा शिवलाल भट्टराईजीले भने मैले तपाईलाई माने सर त्यस्तो कठोर अछामीलाई पनि गलाउनु भो । धन्य हजुरको ज्ञान यति मीठो र पौष्टिक दूध खान पाईयो अब भने उकालो सजिलोसँग काटिन्छ । हामी दुवै रमाइलो गर्दै उकालो चढेउ ।

बनपाखामा घसेरीहरु गीत गाईरहेका थिए । सुर्य शिरमाथी बढदै थिए । हामी उकालो चढदै थियौं । टाढा टाढा बाघ कराएको गर्जन सुनेर अलि झस्कन्थ्यौं । बाटोमा फाट्टफुट्ट मानिसहरू हिंडीरहेका थिए । नयाँ ठाउँ नयाँ परिवेश उकालाका दु:खहरु पनि क्षणमा बिस्मृत हुन्थे । रात साझ सम्म जसरी पनि अछाम पुग्नुपर्छ भन्ने दृढ़ता थियो । जब सिउँडीको उकालो काटेपछि नाके डाँडा अर्थात् नाकको टुप्पो जस्तो डाँडामा पुग्यौं त्यहाँ भन्दा माथी सोकट अनि पायलको बस्ती हुँदै बुढीगंगा नदी तर्फ ओरालो झर्दै जानुपर्छ र बुढीगंगा नदी जुन कर्णालीको सहायक नदी हो त्यसको माथितिर बयलपाटा र ठाडो उकालो उक्लिएपछी अछाम जिल्लाको सदरमुकाम मंगलसेन गढी पुगिदोरहेछ । बाटोमा हिंडने मानिसहरूलाई सोद्धै बाटो नाप्दै अगाडि बढिरहेका थियौं । सिउडी पुगेपछी बामन भएर पिएको माने गिलासको दुधको शक्ति सकाएछ अब त शिवलालजी र म दुवै लखतरान पर्यौं । मैले एकजना अछामीलाई सोधे याहाँ भात खाने खाने होटल कहाँ पडन्छ ति स्थानीयले भने हाप्रा हाप्रै मथी झा एउटा नानो झुपडी आउँछ त्यहीँ पाउँछ । भनेपछि हामी कुददै पुग्यौ । तहाँको एकजना बुढा बुढा साहुजी थिए - भट्टराईजी लाई सोध्नुस् न भने भने उनी हम्मेसी अगाडि सर्दैनथे हुनत  पहिला डोल्पामै शिक्षक घर चितवन कर्णाली बाटै लोक सेवा आयोग पास गरि दुई बर्ष डोल्पा जिल्ला प्रशासन कार्यालय, डोल्पामै लेखापाल  भै नजीक घर पायक माग गर्दा दिपायल पुराईदिएछ उनी पनि सिधा प्रकृतिका हुँदा अगाडि बढेर सोध्दैनथे । एउटा त अगाडि सर्नै पर्यो । म अगाडि सरेर सोधे साहुजी खाना पाईन्छ दाल भात पकाउन पडन्छ साहुजीले भने कति समय लाग्ला भनेर सोध्दा लाग्दैन एकाध घण्टा भनेर ल हुन्छ जति सक्यो चाँडै दुईजनालाई पकाउनुस् हामी आज मंगलसेन पुग्नुपर्छ भनेर भनेर खाना खाएर सुतेर गएपनी पुगिन्छ भने पनि हाम्रो उनीहरुको हिंडाई मिल्दैन । पारी पारिका डाँडा काँडा बस्ती हेर्दै तोकिएको समय गुजार्यौं । साहुजीले भने खाना तयार भयो सर । सिलबटको पकाउने खाने भाडा जररो जररो दाल भात दाल पनि कालो नपाकेको नाक खुम्चाएर भट्टराईजी खान बसे मैले त आँखा चिम गरेर खाना बजाउन थाले भोकको धातु तीनमाना सातु भनेझै शिवलालजी खानमा मिठ मुखे थिय । डोल्पा छँदा पनि बुढीसँग संगै बसेर मीठो चोखो खाएका मान्छे खै तरकारी छैन सर भन्न थाले मैले साहुजीलाई सोध्नुस् न भने मलाई पहिलेदेनै नभएको जस्तो लागेर मैले जवाफ नदिई साहुजी तिरै तेर्साईदिए । अन्ततः भट्टराईजीले अछामी साहुजीलाई सोधे साहुजी तरकारी छैन यति भनेपछि साहुजीले बडो रुखो कर्कस स्वरमा प्रतिउत्तर फर्काए - दालभात पाए के खोज्दा छौं । भट्टराईजी अमिलो मुख लगाए त्यसपछि केही समयका लागि मेरो नयाँ थेगो प्रयोग भयो - दालभात पाए के खोज्दा छौं ।

खाना खाईसकेपछी दस मिनेट बसेपछि हामी तेर्सै पायलको ठूलो बस्ती पार गर्दै अगाडि बढेउ ।  पायल बस्ती सुन्दर रहेछ ठुलै बस्ती तेस्रो पार गरेपछि अब फ़ेरि ओरालो झरनु पर्यो । ओरालै ओरालो बुढीगंगाको किनारमा एउटा होटल भेटाई त्यहाँ चिया पनि पाईएन एक एक वटा बिस्कुट र पानी खाई बुढीगंगा झोलुङ्गे  पुलवाट तरि पल्लोपट्टी बाट ठाडै उकालो कतै कतै मानिसहरूलाई सोध्दै मंगलसेन साझ छ बजेतिर पुगि साझ नै त्यहाँका कर्मचारीसँग भेटी हाम्रो कामको समन्वय गरि भोलिपल्ट बिहानै फर्कने योजना मुताविक कार्य गरेउ । बिहान एकक्षण मंगलसेन राजाको दरवार जहाँ जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको  कार्यालय थिए भने अरु जिल्ला स्थित कार्यालयहरू त्यहीँ वरपर छरिएका थिए । भोलिपल्ट फर्कदा जाँदा जस्तो असहज भएन सामान्य तरिकाले फर्कियौं । एकपटक तिहारको समय थिए । मेरो श्रीमतीजी घरमै थिईन । मेरो साथमा लेखापाल भट्टराईजी  एकदिन शुक्रवार सेती नदिमा  नुहाउन जाने प्रस्ताव मैले राखे र नुहाउन गयौं । पल्लोपट्टी भागेतडा कृषि अनुसन्धान केन्द्र थियो । माथितिर दिल्पेश्वर महादेव मन्दिरको तल्तीर नदीको ठूलो रहमा पौडी खेल्ने र नुहाउने रहर लाग्यो । यत्तिकैमा माझीका ससाना केटाकेटी पनि थिए । धेरै जसो नाग्गै पनि थिए । उनीहरु बडो सजिलोसँग पौडदै पल्लो पल्टी पुगे सङ्लो निलो कलकल बगेको पानी यो देखेपछि मलाई पनि पौडेर पल्लो पट्टी जाने इच्छा जागृत भयो ।  मैले भट्टराईजीलाई भने हेर्नुस् त लेखा सर नाङ्गै तुरी देखाएर हिंड्ने केटाकेटी पनि कसरी सेती नदीमा पौडेर पल्लो पट्टी गएर बयर खाई रमाईरहेछन् हामी पनि पौडेर पल्लो पट्टि जाउँ न है ! भट्टराईजीले भने यी नदी किनारमा बस्ने माझीका छोराछोरी हुन् यिनलाई नदीको भेउ थाहा हुन्छ हामीलाई त्यस्को ज्ञान छैन नजाउ सर । तर मेरो जिद्दी स्वभाव फ़ेरि प्रकट भै जाउँ त जाउँ भनेर कर गर्न थाले । तेघरा स्कुलमा पढदा शुक्रबार भागी भागी बबई नदीमा साथीहरुसँग गएर अलि२ भ्यागुते पौडाई सिकेको थिए । त्यो ज्ञान यथाशक्य प्रयोग गरे र पल्लो पट्टि जेनतेन पुगे पनि बयर घारी एक्लै नगै  करिव दस मिनेट जति त्यहीँ बसे भट्टराईजी बिचैवाट फर्किसकेका थिए । यिनी डराएर आएनन् म पो सुरो भए जस्तो भान भयो एकैक्षणमा बोरीङ भएर म भने जतावाट आएको थिए उतैबाट  फर्के सेती नदीको बीचमा के आईपुगेको थिए । श्री स्वस्थानी व्रत कथामा गोमा ब्राह्मणी शाली नदीमा बहे जस्तैः म नदीमा हेलिन पुगे । अत्यन्तै चिसो मेरा हात खुट्टा फृज हुन थाले पौडी खेल्ने सामर्थ्य सबै सकियो । असहाय जस्तो बनी नदीको मुलधारमा बग्दै करिव २०० मीटर तलतिर बगिरहे । बीचमा ठुल्ठुला पहाड जत्रा पत्थरमा पानीले हेलदै गुटमुट्याएर बटार्दै तलतिर झार्दा सुरुमा त मैले राम राम, शिव शिव, नारायण नारायण आदि देवताको नाम स्मरण गर्दै रहे अब भने बाँच्ने आशा तृण बराबर पनि रहेन । अन्त्यमा आमा, जवान श्रीमती र भर्खरै करिव छ  महिना अगाडि जन्मेको छोरा श्री विशेष अधिकारीलाई सम्झे ।
क्रमशः

Comments

Post a Comment