४७८. हरिबोधिनी एकादशी वा ठूली एकादशी : संक्षिप्त जानकारी

हरिबोधिनी एकादशी वा ठूली एकादशी : संक्षिप्त जानकारी   

📝 वसन्तराज अधिकारी 
                     घोराही उपमहानगरपालिका, दाङ, नेपाल 
                  

नेपाली समाजमा आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी एकादशीलाई ठूली एकादशी भन्ने चलन छ। हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा त २६ वटा एकादशी पनि हुन्छन् ।  तर ती सबै एकादशीका तुलनामा यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रतसम्पादन गर्ने परम्परा रही आएको छ । यसरी यी दुई एकादशीको विशेष महत्त्व देखिनुमा विष्णुको दैनन्दिनीको भूमिका देखिन्छ । सनातन धर्मभित्र यस चराचर जगतको संरक्षण र पालना गर्ने जगन्नियन्ता परब्रह्म परमेश्वरका रूपमा विष्णुको आराधना हुने परम्परा पाइन्छ। अनि हामी पृथ्वीमा बसोबास गर्ने मनुष्यहरूको एकवर्षको अवधि देवताहरूको केवल एकदिनको अवधि मान्ने चलन समेत छ । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ।आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । मुलतः यसैकारण पनि यस महत्वपूर्ण पवित्र दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फल प्राप्ति हुन्छ ।

सामान्यतया सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने चर्चा विभिन्न धार्मिक ग्रन्थमा प्राप्त हुन्छ । यिनै पौराणिक मान्यता र आख्यानका आधारमा आषाढ महिनामा पर्ने ठूली एकादशीका दिन विष्णु क्षीरसागरमा पुगेर शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीका दिन निद्रा त्यागी ब्युँझने कथाप्रसङ्ग बेग्लाबेग्लै धार्मिक ग्रन्थहरूमा उल्लेख भएकाले पनि यी एकादशीको महत्त्व चुलिएको पाईन्छ  ।

हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा मठ बनाएर सम्मानका साथमा संरक्षण र सम्बर्द्धन गरिने वनस्पति हो, तुलसी । यी दुईवटा एकादशीमा तुलसी पनि गाँसिएको पाइन्छ । तुलसीको विरुवामा एक प्रकारको तेल हुन्छ, जुन तेल वातावरणमा रहेको वायुमण्डलमा सजिलै सम्मिश्रण हुन्छ । जसबाट घरको वातावरणलाई प्रदूषण हुनबाट जोगाउँछ । जहाँ र जुन घरमा तुलसीको वास र पूजा हुन्छ, त्यहाँ ऋद्धिसिद्धिको बास हुन्छ भन्ने मान्यता पनि छ । यसरी धार्मिक र वैज्ञानिक आधारमा तुलसीको छुट्टै वैशिष्ट्य छ । आषाढको ठूली एकादशीमा प्रत्येक हिन्दुधर्मावलम्बीले आआफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत् विवाह सम्पन्न गरिदिने चलन पनि छ। स्कन्दपुराणमा वर्णित कथाका अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थियो । सृष्टिको कल्याण गर्ने उद्देश्यले विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नु परेको थियो । त्यसपछि मात्र जालन्धरको बध गर्न सम्भव भएको थियो। विष्णुले रूप बदलेर आफ्ना पतिको भेषमा आफ्नो सतीत्व नष्ट पारेको थाहा पाएपछि वृन्दामा क्रोधको सीमा रहेन र क्रोधको आवेगमा उनले विष्णुलाई श्राप दिईन् । त्यसपछि विष्णु पत्थरमा परिणत भई शालीग्रामका रूपमा अवतीर्ण भए । यसरी वृन्दाले दिएको श्रापबाट मुक्त हुन विष्णुले शालीग्राम स्वरूपमा रहेर तुलसीसँग विवाह गर्नु परेको थियो। जुन दम्पतीको छोरी छैन, उनीहरूले जीवनमा एकपल्ट आषाढको एकादशीमा आफ्नो घरआँगनको तुलसीको मठ बनाई तुलसी रोपी, चार महिनासम्म नित्य पूजाअर्चना गरी कार्तिक महिनाको ठूली एकादशीमा विधिवत् विवाह गरिदिएमा कन्यादानको पुण्यप्राप्त हुन्छ र सुपुत्री लाभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यी दुबै एकादशीमा नेपालका विभिन्न तीर्थस्थल, देवालय र मठमन्दिरमा मेला लाग्ने गर्दछ । त्यस्तै सानाठूला नदीनाला तालपोखरी र सरोबरमा स्नान गर्ने मानिसहरूको घुइँचो लाग्ने गर्दछ । आषाढमा पर्ने एकादशीका दिनबाट सुरु गरी चार महिनासम्म चोखोनीतो भई, एक छाकमात्र खाई, चतुर्मासा व्रत बस्ने चलन पनि छ । चतुर्मासाको अवधिभरि ठाउँठाउँमा व्रतकथा महात्म्य र पुराणहरूको कथा श्रवण गर्ने व्यवस्थापन समेत हुने गर्दछ । कतिपय धार्मिक व्यक्तित्वहरूले आआफ्ना घरैमा कथा सुन्ने सुनाउने व्यवस्था समेत गरेका हुन्छन् ।

ठूलाठूला  विद्वान्, सन्त, महन्त, योगी र सन्न्यासीहरू यस अवधिमा सम्भव भएसम्म एकै ठाउँमा बस्ने गर्दछन् र आफ्ना आध्यात्मिक उपदेश प्रदान गर्ने गर्दछन् । चतुर्मासाको अवधिमा केही तीर्थस्थलहरूमा बाहेक अन्य तीर्थस्थलको तीर्थयात्रा पनि बन्द हुन्छ । यस अवधिमा  वृन्दावन,  बाबाधाम,  बद्रीनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, दूधकुण्ड आदि तीर्थको तीर्थाटन गर्ने परम्परा पनि छ । समग्रमा आध्यात्मिक र धार्मिक दृष्टिले चतुर्मासा अवधिको ठूलो महत्त्व छ ।

वैकल्पिक नाम : देव उठाब एकादशी
लोक प्रचलित नाम: ठूली एकादशी
धार्मिक  नाम: हरिप्रबोधनी एकादशी
महत्व : तुलसी विवाह
लक्ष्यीत समूह : अनुयायी हिन्दू
प्रकार : हिन्दूपरिपालन
बिशेष : तुलसीको पूजा, तुलसीको मठ सजावट, व्रत, कन्दमुल उसिनेर खाने मिति कार्तिक शुक्ल एकादशी

विष्णु क्षीरसागरमा सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता अनुसार चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार शुभ साइत निस्कँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि शुभ साइत निकालिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ ।

चार महिना अघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा ) आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णुपि्रयाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन् । यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा मेला लाग्दछ । बुढानिलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् । वर्षमा पर्ने २४ वटा एकादशी मध्ये चतुर्मास ब्रत प्रारम्भ हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ। हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ-आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन्। हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन्। हरिशयनी एकादशी (निर्जला एकादशीका) देखि क्षीर सागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझनु हुने भन्ने धार्मिक मान्यताअनुसार यस एकादशीलाई हरिबोधनी एकादशी र यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मास अवधिमा शुभारम्भ गरिएका सम्पूर्ण यज्ञ, अनुष्ठान त्यसैदिन समापन गरिन्छ ।

तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्ट स्थान ओगटेको छ । चिकित्सकहरूका अनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडा-वान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नु अघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ ।

पुनर्लेखन सम्पादन :

📝 वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल
शुक्रवार, १८ कार्तिक २०७९ हरिबोधिनी एकादशी व्रत/ तुलसी विवाह

सन्दर्भ सामग्रीहरू
1. www.goole.com
२. गुगल विकीपिडिया
३. ↑ ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान ।
४. ↑ "आज हरिबोधिनी एकादशी : तुलसीको विवाह गर्ने दिन"
५. अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-१७

Comments