जीवन विस्मृत स्मृति - बिम्ब
✍️ वसन्तराज अधिकारी
शैशव र वाल्यावस्थाका
दु:ख मिश्रित सुखका क्षण ।
गुच्चे साथीका बदमासी
छुल्याहा र फटाहा साथी ।।१।।
गाउँ घरको रमणीय याद
बाबुआमाको स्नेह प्यार ।
सडक गल्ली र गोरेटोहरुमा
दौडा - दौड कुस्ताकुस्ती ।।२।।
जिज्ञासु चञ्चल चित्त - मन
हरेक बस्तुको स्वअनुभुति ज्ञान ।
खुल्दुली विषयवस्तुको अन्तरंग
साक्षात्कार गुरुतत्व ज्ञान ।।३।।
आमाको पढाई गुणाई
डाँटफाँट र सिकाई ।
बुबाको लाड प्यारमा
व्यतीत वालापन हाईहाई ।।४।।
प्रारम्भिक शिक्षा बोध ज्ञान
बाल सखा जीवन बिज्ञान ।
रुँदा रुँदै हास्ने फ़ेरि साथीभाइ
लडिभिडी तत्काल मिल्ने गरि ।।५।।
न ईष्र्या न त रिस राग
चञ्चल चित्त-वृत्ति ।
शब्दमा अव्यक्त ह्रदयभित्र
धड्कन्छ सुकोमल बाल प्रवृत्ति ।।६।।
किशोरावस्था शारीरिक विकास
अपरिपक्व बौद्धिक स्तर ।
सँगी साथीसँगको मित्रता
लहलहैमा लाग्ने अवस्था ।।७।।
वर्षात्को कराल मेघ जस्तैः गरि
टाढा भयो किशोरवय हेरिहेरी ।
पढाईका चाँप घरायसी परिस्थिति
आफ्नै भोगाइ कर्म - गति ।।८।।
देखिन थाले सम्पन्नता र
विपन्नताका अदभूत खाडल ।
बुझाई फराकिलो बन्दै जाँदा
मानसिकता खुम्चिन थाल्यो ।।९।।
भविष्यमा आईपर्ने बाध्यात्मकता
पुर्वाभास हुन थाल्यो जीवनमा ।
युवावस्थासँगै दु:ख - दर्पण
दुरुस्त मुहार अगाडि आए ।।१०।।
औपचारिकता योग्यता परिक्षा
सामाजिक तिव्र प्रतिस्पर्धा ।
स्वार्थी समाज र आफन्तसँगको
टक्कर र ठक्कर चल्न थाल्यो ।।११।।
जिम्मेवारीका भारी बोझ
आफ्नै प्रारब्ध कर्म - भोग ।
अन्ततः लेखान्त हुँदो रैछ
जे आईपर्छ व्यहोर्नु पर्दोरहेछ ।।१२।।
दु:खका पहाड सुखका झिल्का
आशावादी जीवनका मृगतृष्णा ।
भौंतारिंदा भौंतारिंदै टाढाटाढा
जवानी त आफैवाट भएछ लापता ।।१३।।
बैंशमै परिपक्वता प्रौढ जस्तैः
कर्तव्य कर्मका गह्रौं भारीहरु ।
सकिनसकि बोक्दा बोक्दै
थकाइ र दु:खले आकुलव्याकुल ।।१४।।
रोजीरोटीका मृग-मरिचिका
अरण्य जंगलमा भौंतारिदा ।
आफै भित्रको दानवत्वलाई
स्वयं सत्साहस साथ परास्त गरि ।
देवत्व हाँसिल गर्नका लागि
उठाई रामवाण रुपि 'अजगव' ।।१५।।
वानर सैन्य आफै भित्र समाहित
अविद्या रुपि रावणसँग लडाइँ ।
कति अदम्य साहस थियो
ऎले सम्झदा आउँछ मन रमाई ।।१६।।
कर्तव्य कर्मका जङ्घाररुपि
वृत्तिपथका महासागरसरी ।
एक्लो बृहस्पति झुठो बनी
अनवरत संघर्षका दैनिकी ।।१७।।
जवानीको प्रेम रसरंग जीवन
व्यतीत भयो मात्र वृत्ति अध्ययन ।
सारतत्वमा अहिले त्यहीँ रैछ
अन्ततः सहज जीवनयापन ।।१८।।
आफन्तको कोपभाजन वितृष्णा
एकलव्ये जस्तो स्वाध्यायन ।
स्वच्छ कर्म स्वधर्म परिणामत:
सफ़लिभुत भयो लक्ष्य चिन्तन ।।१९।।
राष्ट्रसेवाको गौरव गरिमा ।
भन्न र गर्नमा थिएन समानता ।
आफ्नै सामर्थ्य र स्वाभिमान
कठिनतामा अड्नु हो महान ।।२०।।
श्री सम्पत्ति हैसियत बिजिगिषा
स्वयंमा कठिन थियो जीजिबिषा ।
प्रतिस्पर्धात्मक स्वचालित जीवन गति
जस्तो विचार उस्तै आउँछ मति ।।२१।।
भाग्य र भोगाइ अआफ्नै हुन्छ
आफ्नो भन्दा अरुको राम्रो देखिन्छ ।
सन्तुष्ट कोहि छैन मान्छे आखिर
सबैमा छ उग्र तृष्णाको जंजीर ।।२२।।
भाग्यका रेखाचक्र बदलिने रैछन्
सत्कर्मले भाग्यरेखा बन्दछन् ।
आयु कर्म र भाग्यका रेखा
कसैलाई कहिल्यै हुन्न अन्देखा ।।२३।।
पहिला सुख पछि दु:ख भन्दा
पहिला दु:ख पछि मिल्नु सुख ।
शायद यही हुन्छ सुखान्त कथा
अन्यथा जीन्दगी दु:खान्त व्यथा ।।२४।।
जवानीमा सबै प्रिय राम्रो लाग्ने
मनराजा भए संसार बशिभुत हुने ।
स्वस्थ्य निरोगी मस्त व्यस्त भए
दु:ख पीडा पनि सुखान्त भै गए ।।२५।।
जीन्दगी एकअर्थमा तपस्या रैछ
तपको फ़ल यसै जीवनमा मिल्छ ।
प्राप्ति पश्चात् फ़ल भोग गर्न पनि
सामर्थ्यवान हुनु पनि पर्दछ ।।२६।।
प्रकृति जस्तैः रहेछ जीवन
कहिले उज्यालो घाम हुने ।
फ़ेरि अँध्यारो बादल मडारिई
क्षणमै झरी वर्षा बनी बर्षिने ।।२७।।
सुर्य कहाँ कहिले थाक्दछन् र हेर त
दिनभर एक्लै हिंडीरहेछन् गगनमा ।
रातमा सुर्य अस्ताए अब बास बसे भन्छौं
वास्तवमा स्वयं हामी नै भ्रममा छौं ।।२८।।
नश्वर संसारमा शाश्वत ज्ञान रैछ
जुन चिरस्थायी र नित्य निरन्तर छ ।
अज्ञान अन्धकार दु:खको कारण
मिथ्या भ्रममा संसार भुलिरहेछ ।।२९।।
प्रौढतासँगै जिम्मेवारी बढछन्
उत्तरदायित्व र जवाफदेहिता पनि ।
सारमा जीवन आफ्नो लागि नभैकन
अरुका लागि बाँच्नु रैछ पनि ।।३०।।
जुन देखिन्छ त्यो यथार्थ नहुन सक्छ
जुन यथार्थ हुन्छ त्यो नदेखिन सक्छ ।
यही मोहजालमा भ्रमित भै मान्छे
भुमरीमा फँसी दिग्भ्रमित हराईरहेछ ।।३१।।
पुरुषार्थको अधिनस्त रहेछ भाग्य
फ़ेरि मान्छे किन भन्छ भाग्यमानी भएस् ।
चुनौती सँग मुकाविला संघर्ष गर्नु भन्दा
सहज अवतरण खोज्दो रैछ मान्छे ।।३२।।
आफै घर बनाउनु दु:ख भन्दा
बनिबनाउ घर राम्रो लाग्छ ।
तर ! कसै न कसैले नबनाई
आफै घर कहाँ बन्छ र ! ।।३३।।
समाज बिज्ञान र भौतिक बिज्ञान बीच
द्वन्द्व नित्य निरन्तर चलिरहेकै छ ।
आफै भित्रको द्वैध स्वरुप बुझे मात्र
दुबै बिज्ञान सहज बुझिदों रहेछ ।।३४।।
धेरैलाई असहज काँढा हैन
सहज फुल मन पर्छ तर ।
स्वयं कडा काढालाई पनि
फुल मन पर्दो रहेछ ।।३५।।
आकाश पिता हुन् उच्च छन्
धर्ती जीवनदायिनी माता हुन् धैर्य ।
उनकै सन्तान सन्तति हामी पनि
बन्छौ किन निराश र अधैर्य ।।३६।।
प्रौढता सँगै सबै पोखिन्छन् उर्जा
जसरी बर्षाभरमा बर्षिन्छन् वर्षा ।
समदर्शी सुखी भवेत शाश्वत दर्शन
मान्छेले कहिल्यै बुझ्न सक्ला र ! ।।३७।।
दिन जस्तैः हो मानव जीवन पनि
उषा प्रातकाल हुन्छ बालापन ।
मध्याह्न जवानी र प्रौढ अवस्था
अन्ततः अपरान्ह रात्री बृद्धअबश्था ।।३८।।
प्रत्येक प्रहरको अ-आफ्नै खास महत्व
तथापि बिहान् सुन्दर छ राम्रो पनि ।
समयक्रम नित्य निरन्तर चल्दैछ
यहीँ स्वरुपमा हेर्नुपर्छ मानव जीवनचक्र ।।३९।।
सांसारिक नाता कुटुम्ब प्रपञ्च हुन्
जसले जीवन रोमाञ्चक बनाउँछन् ।
खेलाडी जस्तैः न हो मानिस पनि ।
खेल्नु जीवन एक खेल समान ठानी ।।४०।।
बृद्धअबश्था अपरान्ह जस्तैः पनि हो
अत्यन्त वृद्ध अवस्था रात्री समान ।
दिन ढले र रात्री जस्तैः गरि रितले
ढल्दछ मानिसको जीवन गति ।।४१।।
उज्यालो घाम जस्तैः हाँस्छ मानिस
झरी बर्षा जस्तैः दु:खमा रुन्छ पनि ।
हाँस्दा चम्किन्छ उज्यालो ज्योति बनी ।
रुँदा पखालिन्छन् दु:ख दर्द कसर बनि ।।४२।।
सदैव मुस्कुराउनुस् भन्न सजिलो छ
आफै उदाहरण बन्न केहि गाह्रो छ ।
स्वयं मुस्कुराउन सके पछि मात्र
अरु लाई उपदेश गर्नु राम्रो हुन्छ ।।४३।।
दु:खले वास्तविक सिर्जना बन्दछ ।
सुख भोग यथास्थिति कोरा कल्पना ।
जस्तो मति हुन्छ उस्तै बुद्धि पनि
कोदो रोपेर कहिल्यै धान फल्दैन नि ।।४४।।
तेरो र मेरो व्यक्तिगत स्वार्थले भन्छ ।
सदैव हाम्रो भन्दछ परमार्थले ।
बिद्या भएर मात्र गुणवान् हुँदैन
उत्तम मानिस बन्दछ बुद्धिले ।।४५।।
शास्त्र पढी खुम्चिनु भन्दा
नपढेरै फुक्नु हुन्छ राम्रो ।
जागीरे भएपछि पर्दछ गर्नु
बफादारी राष्ट्रको नुनको सोझो ।।४६।।
बग्ने पानीमा कदापि लेउ लाग्दैन
भनेर तत्व दर्शन शास्त्र भन्दछ ।
इनार कुवा वा खाल्डोमा सफा नगरे
फ़ोहोरले सदैव हुन्छ पदूषित ।।४७।।
सललल बगाउन सक्नुपर्छ हामीले
जीन्दगी 'सतलज' गंगा नदी सरि ।
जानी अन्जान गरेका पाप र पुण्य
सबै एकमुष्ट बगाएर स्वाहा गरि ।।४८।।
हाम्रा बाबू बाजे जस्तैः हामी पनि
जाँदैछौ सोही पुनरावृत्ति क्रममा ।
अझै पनि हाम्रो चञ्चल चित्त
नजाने किन होला मन धर्ममा ।।४९।।
तुलना गर्दछु म कहिले वाल्यावस्था
र कहिले फ़ेरि आजको वर्तमान अवस्था ।
पाएँ भने म निस्संदेह फर्किन्थे फ़ेरि उहि
आफ्नो स्वरुप स्वर्णिम वाल्यकालमा ।।५०।।
धर्तीका सचेत प्राणी हौं हामी
शासक छौं उत्तम मानव बनि ।
बिताउँदैछौ सांसारिक दु:खसुख
सौभाग्यले पाई अमृत जीवनी ।।५१।।
जस्तो बालक हुँदाकेहि हुन्न
तेरो मेरो स्वार्थ छुद्र-निचता ।
त्यस्तै बृद्धअबश्था हुँदा पनि
क्रमशः हटेर गैजान्छ तुच्छता ।।५२।।
जुन रूपमा सिर्जिन्छ जीवन
त्यहीँ स्वरूप बन्छ अन्ततः ।
मिथ्या फ़ल भोग हुँदोरहेछ
बीचको जीवन भोग व्यतीत ।।५३।।
माया मोह तृष्णा विकृत छन्
प्रेमका बन्धन र मोहपाशमा ।
जीवन भोग के कति हुन्छ ?
भन्ने कसको छ र बशमा ।।५४।।
नाता सम्बन्ध सांसारिक
माया मोह भव बन्धन ।
मुक्ति मार्ग सहज मिल्छ
बन्न सके मुक्तात्मा निर्बन्धन ।।५५।।
देव तुल्य हुन् पिता माता
भाइ बन्धु समान मानव ।
आफू जस्तो सन्तति त्यही
यहीँ नै रैछ सृष्टि शाश्वत ।।५६।।
विस्मृत हुँदै स्मृति - बिम्ब
आउँछन् नव सिर्जना बनि ।
मिल्दोरहेछ अंशासमा जीवन
बुझे तत्व बोध सञ्जीवनी ।।५७।।
जत्तिकै मानिस बूढो हुँदै जान्छ
हुँदोरहेछ घटनाक्रम स्वत: विस्मृत ।
सम्झन सकेमा मात्र पनि पुग्छ
जीवन विस्मृत-स्मृति - बिम्ब ।।५८।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
लेखक परिचय :
नाम : वसन्तराज अधिकारी
अधिवक्ता तथा पुर्व उपसचिव, नेपाल सरकार
स्थायी निवास : घोराही उपमहानगरपालिका, दाङ ।
Comments
Post a Comment