४६५. उपाय कुशलता अर्थात् प्रज्ञा पारमिता

उपाय कुशलता अर्थात् प्रज्ञा पारमिता

🕉️  भगवान् गौतम बुद्ध 

कुनै एक समयमा एउटा जंगलको छेउमा एउटा सामान्य किसान परिवार बस्दथे । अत्यन्त सरल, मेहनती खेती किसानी गरेर आजीविका चलाउने किसानको धर्मपत्नी प्रज्ञा पारमिता बुद्ध उपदेश खुब सुन्ने र अन्तर्मनमा मनन गर्ने पनि गर्थिन । वास्तवमा गृहस्थ धर्ममा रहेर पनि उनी बौद्ध भिक्षु नै थिईन । उनि बसेको स्थानको राजाको दरबारमा एक मध्य रातमा तीन  जना खुंखार डाँकाहरुले राजकोषको  द्वारपालेलाई आफ्नो कब्जामा लिएर दरबारको कोषगारवाट सुन, चाँदी,हिरा, मोती जस्तैः  बहुमुल्य जवाहरात डकैती गरे । भोलिपल्ट राजालाई यो बिषय सिपाहीहरुले जाहेर भएपछि राजाका बिशेष कमान्डो सहित सैनिक  टुकडी फौजलाई आदेश गरि डाँकालाई पक्राउ गर्न परिचालन गरियो । उनिहरु अन्धाधुन्ध जहाँकहिँ  खोज्दै जाँदा खेतमा काम गरिरहेका तीनजना सामान्य  किसानलाई पक्राउ गरे र भन्न थाले तिमीहरुले राज्यकोषको बहुमुल्य जवाहरात खजाना कहाँ लुकाएको छौं । किसानहरूले अत्यन्तै भयभीत हुँदै हामी खेतीपाती गरि जीविकोपार्जन गर्ने किसान हौं, हामी डाँका होईनौं भनेर प्रतिवाद गर्दा पनि अविवेकपुर्ण तरिकाले राजाका सेनाले उनीहरुलाई डाँका सावित गरि राजाका हजुरमा पेश गरे ।

सरकार यी तीनजना डाँका हुन् भनेर राजाका हजुरमा पेश भएपछि राजावाट आदेश भयो । यिनीहरुलाई कडा सुरक्षाको साथ एकछाक मात्र खान दिई आजीवन कारावासमा कैदमा राख्नु । यो दु:खद कुराको खबरले किसानको धर्मपत्नी सोंच मग्न भइन र उनले प्रज्ञा पारमिता अर्थात् उपाय कुशलता सोचिन र तत्काल फाटेको मैला कपडा पहिरेर जाडो भयो मलाई ओढना बर्को चाहियो भन्दै रुँदै कराउँदै सडकमा  हिँड्न थालिन । राजाका द्वारपाल सिपाहीले यो दृश्य देखिरहेका थिए । राजा पनि बार्दलीमा आउँदा यो दृश्य देखेर ति महिलाले के भनिरहेको छिन् नजिकै गएर सोधेर आउ भन्ने आदेश मुताविक सिपाही पनि सोधेर आई भने महाराज जाडो भयो एउटा ओढ्ने बर्को माग गरिरहेकी छिन् भनेर भने । राजाले मामुली चिज मागेकी रहिछन् तुरुन्तै दरबारको कोषगार वाट राम्रो ओढ्ने बर्को उनलाई दि पठाउ तब सिपाहीले पनि महिलालाई बर्को दिन गएपछि ति महिलाले भनिन - मैले खोजेको यस्तो बर्को होईन जसरी पानी बिना नदीको अस्तित्व रहँदैन, राज्य बिना राजाको अस्तित्व रहँदैन त्यस्तै श्रीमान् बिना श्रीमतीको अस्तित्व रहँदैन मलाई मेरो श्रीमान् देउ यति भनेपछि सिपाही यहि कुरा लिएर राजाकहाँ बिन्ती गरे ।

महाराज अहिले  ति महिलाको श्रीमान् डाँका मुद्दामा आजीवन कारावासमा छन् । बर्को दिंदा उनले यो बर्को मैले मागेको होईन   जसरी पानी बिना नदीको अस्तित्व रहँदैन, राज्य बिना राजाको अस्तित्व रहँदैन त्यस्तै श्रीमान् बिना श्रीमतीको अस्तित्व रहँदैन मलाई मेरो श्रीमान् देउ भनेर भनेपछि राजाले बिचारपुर्वक ठम्याइ  ठिक भनिछन्  भने । वास्तवमा राज्य बिना राजाको अस्तित्व छैन पानी बिना नदीको र श्रीमान् बिना श्रीमतीको अस्तित्व रहँदैन तसर्थ ति महिलालाई मेरो सामु उपस्थित गराउ भन्ने आदेश बमोजिम ती महिलालाई राजा सामु उपस्थित गराए र राजाले महिलालाई डाँका मुद्दामा आजीवन कारावास जेल परेका तिम्रा छोरा, श्रीमान् र भाइ रहेछन् ति सबैलाई त म मुक्त गर्न सक्दिन तसर्थ तिम्रो अत्यन्त प्रिय ति तीनजना मध्ये तिमी एकजनालाई रोज म आम माफी दिई कारावास मुक्त गरिदिन्छु । राजाले यति भनेपछि महिलाले तत्काल भनीन् मेरो भाइलाइ मुक्त गरिदिनु होस् सरकार ।

राजाले अचम्म मान्दै सोधे तिम्रो अन्तरंग अत्यन्तै नजीकका आफ्नै छोरा र श्रीमान् लाई नमागेर तिम्ले भाइ किन माग्यौ यो कुरो मैले बुझिन नि । यसको कारण के छ । महिलाले बिन्ती लाईन विवेक प्रयोग गरिबस्योस राजन ! श्रीमान् त मैंले स्वेच्छा राखेर चाहे भने अझै अरु पनि पाउन सक्छु अनि छोरा चाहिँ किन मागेनौ नि - श्रीमान् नै पाएपछि छोरा पनि पाउन सक्छु त्यो के ठूलो कुरो भयो र यी पछि जोडिएको नाता सम्बन्ध हुन् मेरो सहोदर  भाइ  जुन मेरो एक्लो भाइ पनि हो र बाबुआमा सानैमा वितेका छन् तसर्थ यो नाता अत्यन्त प्रिय छ । यति सुनेपछि राजा अचम्मित भएर कस्तो उच्च विवेक म राजा भएर पनि ममा यति पनि विवेकशीलता रहेनछ भन्ने सोंचेर ती महिलाका श्रीमान् छोरा र भाइ निर्दोष भएको बिचार गरि भाइ सहित तीनै जनालाई निर्दोष ठहराई ससम्मान आम माफी गरि रिहा पनि गरिदिई महिलाको साथ लगाई पठाई दिए  । वास्तवमा सारांशमा ति महिलाले अवलम्बन गरेको यहि हो उपाय कुशलता वा प्रज्ञा पारमिता । कथा यत्तिकैमा सकियो परन्तु कथाले केहि सन्देश दिन अवश्य खोजेको पनि छ ।

यो नीति कथा मैले आज गुरुवार  बिहान् ५ बजे पछिको रेडियो एफएममा प्रभातकालिन हिंडाईको क्रममा सुनेको डा.योगी बिकासानन्दको प्रवचनलाई भावार्थ प्रस्तुत गरेको छु किनकी यो कथा धेरैको जीवनमा उपमाको रुपमा घटित हुन सक्छ नभए पनि लाभप्रद अवश्य हुन्छ । गुरु विकासानन्द रसिकताका साथ प्रासंगिक रुपमा भन्नू हुन्छ यो कुरा नजिकैको बिहारमा बौद्ध भिक्षुहरु सम्म पनि पुग्यो र उनीहरु आपसमा कानेखुसी गर्न थाले हामीले भन्दा ती सामान्य महिलाले भगवान बुद्धको उपदेश अनुशिलन गरिन । भिक्षुहरुको खास खुस सुनेपछि भगवान बुद्धले के कुराको खासखुश हो मलाई पनि भन भन्दा भिक्षुले सोही कुरा बिन्ती गरेपछि भगवान् बुद्ध भन्नुहुन्छ - सुन ! भन्ते ति महिलाको यो जन्म जन्मको संस्कार हो । अघिल्लो जन्ममा पनि म जस्तैः बौद्ध भिक्षु वाट यो ज्ञान ग्रहण गरि आफ्ना पतिलाई सजाय मुक्त गराएकी थिईन । हाम्रो स्वरूप, वर्ण, स्थान, परिवेश र परिस्थिति बदलिन्छ परन्तु संस्कार ज्ञान चिरस्थायी हुन्छ । तसर्थ मानिस ज्ञान सुन्न चाहादैनन समस्या परिसकेपछि ज्ञान जाग्रीत हुने पनि होईन बसिरहेको मानिसलाई हिड्ने दु:ख थाहा हुँदैन । बिपत्तिमा नपरेकालाई बिपत्ति थाहा हुँदैन तर कुनै न कुनै स्वरूप र प्रकारान्तरमा समस्या सबैलाई पर्दछ । समस्यावाट भागेर मुक्ति मिल्दैन पलायन वा आत्महत्याले पुनः पुनः समस्या बल्झिरहन्छ तसर्थ ज्ञान तत्ववाट सम्यक समाधी वा समाधान निस्कन्छ अन्यथा जन्म जन्मान्तर वा पुनर्जन्मसम्ममा  दु:ख हैरानी कष्ट भोगीरहनु पर्दछ ।दु:ख छुटाउने अचुक रामवाण उपाय नै सम्यक समाधी वा समस्या समाधान गर्नु हो । यसको लागि प्रज्ञा पारमिता वा उपाय कुशलता चाहिन्छ । ति असहाय महिलाले श्रीमान् छोरा चाहियो भनेर सडकमा कराउँदै चिच्याउँदै हिंडेको भए तिनलाई पागल बहुलाई भन्थे मानिसहरु । वास्तवमा प्रज्ञा पारमिता चाकडी पनि होईन "त्वरित बुद्धि" हो जसरी ती महिलाले राजाको मस्तिष्कले सोच्न नसकेको बिषयलाई सामान्यरुपमा प्रस्तुत गरेर आफ्नो श्रीमान् छोरा र भाइलाइ कारावास मुक्त गरिन ।

अन्त्यमा आफ्ना दुई शब्द पनि राख्ने अनुमति चाहन्छु - हिजोआज पढेलेखेका मुर्धन्य बौद्धिक व्यक्तित्व पनि आफै नलेखि बनिबनाउ स्टीकरको प्रयोग गर्ने, अशुद्ध लेख्ने जुन व्युत्पत्ति सार्थक अर्थको अनर्थ नै किन न लागोस् जस्तै ॐ (🕉️) लाई अंग्रेजीमा om लेख्ने र अंग्रेजी शिक्षाको अन्धानुकरण गर्दै अर्काको आलेखलाई झिगोटाँस गरि हुबहु उतार (Copy Pest) गरि आफ्नै रचना जस्तैः आफ्नै नामवाट सामाजिक सञ्जालमा साझा गर्ने र कसैले अन्त्यमा #copypest सम्म गर्ने र  कसैले त्यति पनि नलेखी साझा गर्ने  त्यस्तै उटपट्याङ्ग भिडले वाहवाही गर्ने जस्तो कुरा मलाई मात्र होईन एउटा सचेत विवेकशील मानवलाई किमार्थ शोभनिय कुरा हो जस्तो लाग्दैन । हामी सबै सँग धेर थोर विवेक त अवश्य  छ, अझ औपचारिक शिक्षाका ढेर कागजी प्रमाणपत्रहरु पनि छन्, सम्मान पत्र पनि छन् तिनीहरुले नराम्रोसँग गिज्याईरहे छन् । सबैले सदैव नयाँ नयाँ सिर्जनात्मक सन्देश दिन नसक्ला परन्तु केहि न केहि नयाँ पन अवश्य दिन, आफ्नो अभिमत राख्न, तार्किक विवेकशील टिप्पणी राख्न सकिन्छ । यद्यपि  नयाँ सिर्जना एकैचोटि हुँदैन । सिर्जना हुनका लागि पढनु, सुन्नु, गुन्नु र भन्नू र अझ अगाडि बढेर परिमार्जित र परिस्कृत गर्दै लेख्नु पर्दछ  यो प्रक्रिया नियमित चक्रको रुपमा निरन्तरता दिन पनि सकिन्छ । यो सर्वकालिक, सर्वपक्षीय ज्ञानबर्द्धक बिषय वा शिक्षा  हरेक तहका विद्यार्थी, प्रतियोगितात्मक परिक्षाका प्रतिस्पर्धी, बिद्यालय  शिक्षक देखि प्राध्यापक सम्म, अप्राविधिक,  प्राविधिक सेवा र सेना, प्रहरी राष्ट्रसेवक कर्मचारी, राजनेता र सामान्य नागरिक सबैले परिपालन गरौं सारमा हामी सदैव सिकारु हुने विद्यार्थी, जागीरे नभएपनि आफुले जानेको बुझेको कुरा अरुलाई सिकाउने शिक्षक, बिना बर्दी वा पोशाकका राष्ट्रसेवक कर्मचारी, पदमा बहाल नरहेपनि पदमा पठाउन सक्ने हैसियत राख्ने राजनेता जन्माउन सक्ने जननी वा अर्को अर्थमा आम वालिग मतदाता पनि होईनौ र ! बिज्ञजनहरु वाट संश्लेषणात्मक आलोचना प्रतिक्रिया, टिप्पणी, सुझाव र सल्लाहको सदैव अपेक्षा गर्दछु ।              

📝 वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 

उहीँ हजुरहरुकै चिरपरिचीत
✍️📝 वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।
बिहीबार असोज ६, २०७९ तदनुसार Sep 22, 2022

Comments