४४३. मातृत्व शक्ति आमाको महिमा

मातृत्व शक्ति आमाको महिमा
                

                     ✍️ वसन्तराज अधिकारी

जस्ले आफ्नो मांस पिण्डको रुपमा सन्तानलाई नौं महिनासम्म गर्भाशयमा यथेष्ट रूपमा  पालनपोषण समेत गरि जन्मदिई अमृत समान दस धारा दूध पिलाई नवजात शिशुलाई पुर्ण मानव बनाउने साकार ईश्वरीय भुमिका निर्वाह गर्छिन तिनै साक्षात देवी हुन् आमा । आमा सन्तानको अभिन्न स्वरुप हुन् जुन जन्म पुर्व र जन्मपश्चात पनि व्यवहारमा प्रकट भैरहन्छ । लोक व्यवहारमा बाबू आमाको सामाजिक सांस्कृतिक  सहजीवन पश्चात् आमाको गर्भधारण प्रक्रियामा बाबुको बीर्य र आमाको रजवाट जैविक रुपमा अति सुक्ष्म  जीवाणुको रुपमा बास गरि नौ महिनासम्म आमाको गर्भाशयमा बास  बस्दा बालकले धेरै कुराको अन्तस्थ अनुभुति गर्दछ । जुन प्रक्रिया जन्म पश्चात् दिनानुदिन शुक्ल पक्षको चन्द्रमा जस्तैः बढी पुर्णतः हुर्की बढी मानव बन्दछ । तसर्थ आमाको महिमा बर्णन गर्न र पार पाई नसकिने अपार रहेको छ । सम्पुर्ण वेद, उपनिषद्  र धर्मशास्त्रहरुको सार मातृदेवो भव: पितृदेवो भव: आचार्य देवो भव: भनेर मुक्त कण्ठले गायन गरिएको पनि छ ।

भगवती देवीस्तुतिमा "कुपुत्रो जायते क्वच्चिदपी कुमाता नभवती" अर्थात् कुपुत्र हुन सक्छन् परन्तु कदापि कुमाता हुन सक्दैनन् भनेर भनिएको पाईन्छ । यसै गरि "जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी" अर्थात् जन्मदिने आमा र लालनपालन गर्ने जन्मभूमि स्वर्गभन्दा पनि महान गरिमामय हुन्छन् भनेर मुक्त कण्ठले गायन गरिएको र यसलाई राष्ट्रिय मान्यता समेत प्राप्त रहेको छ । स्थुल दृष्टिकोणवाट सामान्य दृष्टिगोचर गर्दा आमा सामान्य सांसारिक नारी पात्र जस्तो देखिएता पनि आमा भित्रका महानता, स्नेह, प्रेम, सद्भावका सामु पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिस मात्रको त के कुरा देवताहरु स्वयं ब्रह्मा, बिष्णु, महेश्वर समेत बालक बन्नुपरेको धार्मिक कथा पाईन्छ । मानव मात्रको लागि आमा महान छिन् । तसर्थ आमाको महिमा र गुणगान धेरै सन्त, ज्ञानी, महात्मा र विद्वानहरुले मुक्त कण्ठ्ले गायन गरेका पनि छन् । कुनै पनि मानव सभ्यता युग पर्यन्त मुलतः  सत्य युग वैदिक युग देखि वर्तमान कलिकालसम्म कुनै समयमा पनि आमाको महिमा र गरिमामा कमी आएको पनि छैन र यो सृष्टि चक्र चलिरहँदा सम्म आउने पनि छैन ।

गहन रुपमा खोज वा गवेषण गर्ने हो भने कुनै पनि मानिस जब आफू स्वयं आमा बाबू बन्दछन् तब मात्र  उनलाई बाबू आमाको भुमिका र गरिमा याद हुँदै जान्छ । अनुभवजन्य बोध तब हुन्छ जब आफुलाई बाबू आमाले कस्तो कठिनतम परिस्थितिमा कसरी हुर्काए, बढाए र सबल सक्षम बनाए । यो बिषय शास्त्रीय अध्ययन भन्दा पनि अनुभव वा ज्ञानको गुढतत्व युक्त मार्मिक  बिषय पनि हो । हरेक भाषामा आमा बाबुलाई सम्बोधन गरिने भाषिक शब्दको व्युत्पत्तीको क्रममा समानता रहेको छ । आमा बारे संस्कृत, नेपाली, हिन्दी, अंग्रेजी समेतका भाषाहरुमा समानार्थी पाईन्छ । संस्कृतमा माता, नेपालीमा आमा, हिन्दीमा मा र अंग्रेजीमा मदर भनेर करिब समानार्थी शब्द प्रयोग भएका छन् । मानव मात्र नभै अधिकांश स्तनधारी जीवहरुको आमाप्रतिको स्नेह अपार छन् । यसर्थ आमा बिना यो संसारको परिकल्पना किमार्थ गर्न सकिदैन । आमा र धर्ती माता परिपुरक हुन् । आमाले जन्म दिनुहुन्छ । धर्ती माताले लालनपालन गर्नुहुन्छ । त्यसैले कविले कवितामा व्यक्त गरिएको पाईन्छ -
म पुत्र तिम्रो तिमी धर्ती माता ।
अटुट माटो मुटुको छ नाता ।।
सारांशमा आमा आफ्नै स्थुल शरीरको अंश स्वरुपको पुर्णता हो । आमाकै स्थुल शरिरवाट सूक्ष्म अंशको रुपमा मानव जीवन सिर्जित रहेको छ । जसरी दिनमा सुर्य रातमा चन्द्रमा र ताराहरु सृष्टिमा हिमाल, पहाड र तराई छन् त्यस्तै आमा पनि साक्षात देवी भगवती हुन् । आमाको स्थान सम्पुर्ण देवताहरु भन्दा पनि सर्वोच्च स्थान रहेको छ । आमा सांसारिक भौतिक स्वरुप मात्र होईनन् ज्ञानात्मक चक्षुले नियाल्दा आमा आध्यात्मिक स्वरुप पनि हुन् । सन्तानका लागि महान प्रथम साक्षात जननी हुन् ।

हरेक सनातन हिन्दुहरु पाञ्चायन देवताको पुजा अर्चना गर्दछ्न जसमा गणेश, बिष्णु, सुर्य, शिव र देवी हुन् । देवी आमाकै स्वरुप मानिन्छन् । हरेक बर्ष मातृऔंसी "माता तिर्थ औंसी" अर्थात् आमाको मुख हेर्ने दिन आउँछ । जीवित आमालाई सन्तानले मिष्टान्न फलफूल चढाई श्रद्धा भक्ति पुर्वक अपार स्नेहका साथ पुजन गर्ने र मृत्यु भएकाहरुलाई श्राध्द तर्पणादी कार्य गर्ने प्रचलन समेत लोक व्यवहारमा  रहेकोे पनि छ । आमाको महत्व इहलौकिक र पारलौकिक अर्थात् आर्थिक  परमार्थिक रहेको छ । साकार र निराकार देवताको स्वरुप जस्तैः आमाको पनि साकार र निराकार स्वरुप रहेका छन् । यश पृथ्वीमा आमा बिना मानव लगायतका जीवको सृष्टि किमार्थ सम्भव छैन । बिज्ञानले जति सुकै चमत्कारिक बिकास गरे पनि आमाको विकल्पमा हुने सन्तानोत्पान क्रिया केवल अपवाद मात्र हो ।

सनातन हिन्दु धर्ममा आमालाई देवी भगवती स्वरुपमा बर्णन गरिएको पनि छ - "या देवी सर्वभुतेषु मातृरुपेण संस्थिता" भनेर सम्पुर्ण चराचर जगतमा आमाको स्वरुपको परिकल्पना रहेको छ । आमा केवल भौतिक शरीर मात्र नभएर अध्यात्मिक वा मातृशक्ति अथवा मातृत्वको रूपमा पनि लिईन्छ । कोमलता, स्नेह, दया, करुणा, ममता, प्रेम, आदर, सम्मान, कृतज्ञता, सहिष्णुता जस्ता अत्यन्त ओजपुर्ण गरिमामय शब्द केवल मातृत्वसँग सम्बन्धित छन् । यसरी गहन रुपमा नियाल्दा   बिशेष अवस्था र परिस्थितिजन्य भुमिकामा पुरुषमा मातृत्व र महिलाहरूमा पनि पुरुषत्व पाईन्छ । मातृत्व केवल शारीरिक आवरण मात्र नभएर अन्तरभौतिक उद्बोध एवम् साक्षात्कार पनि हो । आदिकवि भानुभक्त आचार्य भन्नुहुन्छ - "माता सरि सुख दिन्र कुन चिज ठान्नु । बिद्या नै हो त्यो चिज अरु कुन मान्नु ? ।। यसर्थ मानव सभ्यताको विकास र उन्नतिशील जीवन अर्थात् समाजका लागि शिक्षा, ज्ञान, सीप, कला, बिज्ञान, प्रविधि जस्ता समग्र शैक्षिक प्रक्रियामा मातृत्वको गुणवत्ता अन्तर्निहित रहन्छ ।

नारी शब्द नरवाट व्युत्पन्न भएको हुँदा यो अर्धाङ्गीनीको रुपमा प्रयुक्त हुन्छ भने महिला शब्द परिपुर्ण छ । शाब्दिक अर्थमा महिलाको अर्थ महि = पृथ्वी इला= आदिमाता भन्ने शास्त्रीय मत छ । महिला र पुरुष एक अर्काको परिपुरक भएर नै सृष्टि चक्र नियामक भएको पनि हो । मातृत्व र पुरुषत्व पृथक रुपमा रहे पनि एकापसमा अभिन्न र अन्तर्सम्वन्धित र सहकारी रहेकोे छन् । मानवीय गुणहरु साहस, कठोरता, प्रतिज्ञा, अटल, निर्भीक जस्ता पुरुषत्व गुणहरुको परिपुरक दया, माया, कोमलता, सहयोग, सद्भाव जस्ता मातृत्वका गुणहरु "आकाश र धर्ती" जस्तैः परिपुरक पनि छन् तसर्थ कवि लेख्छन् -
पर्जन्य जो सिर्जनाका पिता हुन् ।
यै मृतिकामा रस बर्षी आउन ।।
अर्थात् आकाश पिता र पृथ्वी धर्ती आमा हुन् । सम्पुर्ण धर्महरु सनातन हिन्दु, बौद्ध, क्रिश्चियन, इश्लाम लगायतले यश शाश्वत सत्यलाई अआफ्नै तवरले  स्वीकार र परिपालना गरेका पनि छन् र अआफ्नो धर्ममा समाहित पनि गरेका छन् । वास्तवमा मातृत्व शक्ति आमाको महिमा अपार छ । जीवनको सार मातृत्वको स्नेह अपार मेरो अल्प ज्ञानले यसलाई  पुर्णता दिन किमार्थ भ्याउँदैन । मातृत्व शक्तिको रहस्यलाई उदघाटित गर्ने वा कोतर्ने धृष्टता मात्र गर्दै यश गहन बिषयलाई अझ गुढ अर्थमा आत्मसात गर्ने जिम्मा श्रध्देय ज्ञानी पाठक बर्गमा हस्तान्तरण गर्दै मेरो यो लेखनीलाई पनि यही विश्राम दिने अनुमती चाहन्छु । ❤️🚾🙏 धन्यवाद 

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, लुम्बिनी प्रदेश, नेपाल
मंगलबार, साउन २४, २०७९ शुभम् ।


Comments