४४२. नेपाल कृषि प्रधान मुलुकवाट विश्वमा अदक्ष वैदेशिक श्रम निर्यात गर्ने देशमा रुपान्तरण भैरहेको अवस्था रहेको छ ।

नेपाल कृषि प्रधान मुलुकवाट विश्वमा अदक्ष वैदेशिक श्रम निर्यात गर्ने देशमा रुपान्तरण भैरहेको अवस्था रहेको छ । 

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 
    

मुलतः हाम्रो पुस्ताको शिक्षा प्रणाली एक्काईशौं शताब्दीको उत्तरार्ध र बाईसौं शताब्दीको प्रारम्भिक अवस्थामा  बिद्यालयीय र उच्च शिक्षा हाँसील गर्दा सम्म पनि  सामाजिकआर्थिक राजनीतिक र नेपाल परिचय पाठ्यपुस्तकमा नेपाल कृषि प्रधान मुलुक हो, यहाँका करिव पचासी प्रतिशत मानिसहरू कृषि पेशामा निर्भर छन् भन्ने शिक्षा  पढिएको यथार्थ हो । हाम्रा निकटतम छिमेकी देश द्वय बिशाल देश चीन र भारतको "दुई ढुङ्गाको बिचको तरुल" नेपाल एकीकरणका अभियन्ता राजा पृथ्वीनारायण शाहको दृष्टान्तमा रहेको थियोे ।

आधुनिक नेपालमा बिकासका धेरै सम्भावना रहेकोे विशाल दुई मुलुकहरु उत्तरमा चीन र दक्षिणमा भारतको को सेतु वा पुलको रूपमा एउटा सानो देश नेपाल हिमाल, पहाड, भित्री मधेस र तराई भुभागमा समेटिएको, कोशी गण्डकी र कर्णाली नदीतटमा यहाँको भुभौगोलिक बनावट, खेती योग्य उर्वर जमीन नदी, नाला, ताल, तलैया, बनजंगल, सिमसार क्षेत्र, प्राकृतिक भण्डार बिश्वकै सर्वोच्च अग्लो शिखर सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल, जनक र जानकीको पवित्र भुमि भनेर माध्यमिक र उत्तर माध्यमिक  शिक्षा सम्म मुखाग्र हुने गरि पढिएकै पनि हो । तत् पश्चात् उच्च शिक्षामा व्यावसायिक बिषयहरु मेरो सन्दर्भमा व्यवस्थापन, कला, कानुन र शिक्षा बिषय अध्ययन भयो । यसै समय सन्दर्भमा लोक सेवा आयोगका प्रतिस्पर्धात्मक परिक्षाका पाठ्यक्रममा पनि बेजोड अध्ययन गर्दा अत्यन्त रमाइलो लाग्दथ्यो र गौरवान्वित पनि । हामी गरिब भए पनि प्राकृतिक सम्पदा जल, जमीन, जंगल, जलचर, जनावरहरुमा हामी सम्पन्न र धनी छौं भन्ने लाग्दथ्यो । जलश्रोतमा त विश्वमा ब्राजिल पछिको दोस्रो नेपाल भनेर पनि पढियो ।

सन् १९५० अर्थात् बि.सं.२००७ सालको समयताका हामीसँगै विकासको गोरेटोमा बामे सर्न थालेका हाम्रा निकटतम छिमेकी  अहिले आर्थिक बिकासमा विश्वका महाशक्तिका रुपमा आफ्नो पहिचान बनाई सिंहनाद गरिरहेका पनि छन् । हामी भने दिनप्रतिदिन खिईदै "दुला भित्रको सानो डुकुरे मुसा" जस्तो कुर कुर"को आवाजमा पहिचान बिहिन बनिरहेका र आफै भित्र हराईरहेका पनि छौं । यस्तो विडम्बनापुर्ण स्थिति किन आयो त भन्दा हाम्रो राजनीतिक नेतृत्व कहिल्यै नागरिक प्रति उत्तरदायी  र बफादार भएन । राणाशासन कालमा स्वदेशी राणा शाहीले राजालाई दरवारको खोपोमा "गुमराह"मा राखी विस्तारवादी विदेशी अंग्रेज शक्तिको तलुवा चटाईमा शताब्दी व्यतीत गरे । जब एकतन्त्रीय जहाँनिया राणातन्त्र ढालेर निर्दलीय पञ्चायत व्यवस्था बहालीपछि राजा महेन्द्रको भाषामा मौलिक आफ्नै हावापानी, माटो सुहाउँदो भने पनि छिमेकी मुलुक भारतको स्थानीय निकायको नक्कल थियो "पञ्चायती व्यवस्था" तथापि "सबै पञ्च नेपाली सबै नेपाली पञ्च" भने पनि पञ्चायत शासन व्यवस्था पनि राणा शासन भन्दा माथी उठन नसकी यसको पनि असामयिक अवसान भयो । यद्यपि प्रजातान्त्रिक शासनको पुर्वावस्था बि.सं.२०४६ को जन आन्दोलनको परिणामस्वरूप बि.सं.२०४७ को नेपाल अधिराज्यको संविधान राजा, प्रजातान्त्रिक र बामपंथी दलहरूको सहमति र सम्झौताको दस्तावेज अन्ततः दरवार हत्याकाण्ड र राजा वीरेन्द्रको बंश नाश पश्चात् यो संविधान पनि आधारहीन भै समाप्त भयो ।

देशमा बढदो असमानता, विभेद र कुशासनको परिणामत: १० बर्षे माओवादी सशस्त्र विद्रोह, बि.सं. २०६२/०६३ को १९ दिने संयुक्त जन आन्दोलन समेतको जन बिद्रोह एवम्  कठोर संघर्षको  परिणामस्वरूप अन्ततः राजशाहीको अवशेष कठपुतली ज्ञानेन्द्रको तथाकथित राजतन्त्रको अन्त्य गर्दै राजनीतिक शक्ति बाम र काङ अन्य राष्ट्रिय शक्ति अर्थात् प्रजातान्त्रिक र जनवादी गणतान्त्रिक शक्तिहरूको संयुक्त प्रयासमा दोस्रो  संविधानसभाको प्रसव पिडावाट  जनताको संविधान जन्माउन सफ़ल भै बि.सं.२०७२ मा नेपालको संविधान जारी गरियो जुन संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक, समावेशी बहुदलीय शासन व्यवस्थाको अन्तर्निहित चरित्रमा आधारित रहेकोे छ । यसरी विगतमा द्रुतगतिमा  राजनीतिक रुपमा धेरै संघर्ष र परिवर्तनहरु भए पनि सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा परिवर्तन नहुँदा सम्म मुलुकमा दुरावस्था रहेकोे तथ्य छर्लङ्ग रहेकोे छ ।

नेपालमा न त अहिलेसम्म दीर्घकालीन नीति, योजना रणनीति बनेका छन् न त कुनै उद्योग धन्दा कलकारखानामा वैदेशिक लगानी वा स्वदेशी श्रम शक्तिको समुचित प्रयोग भएको छ । नेपाल कृषि प्रधान देश कृषक प्रधान हुँदै हालका बर्षहरुमा खेतीयोग्य जमिनमा प्लटिङ गरि कतिपय भुभाग बाझै राखी  हाल विदेशमा अदक्ष श्रम शक्ति रोजगारीका लागि निर्यात गर्ने मुलुकका रूपमा रहेकोे अवस्था छ ।

वर्तमान अवस्थामा स्वदेशी उत्पादन नगन्य "शुन्य प्रायः"  छ । दैनिक खाद्य तथा अखाद्य वस्तु तथा सेवाको आयात भुपरिवेष्टित भौगोलिक बनावटले पनि भारत मै परनिर्भरता रहनुपर्ने अवस्था दिनानुदिन बढोत्तरी भैरहेको छ । सामाजिक, सांस्कृतिक रूपमा पहिलेदेखि नै भारतसँग घनिष्ठतम रहेकोमा हालका बर्षहरुमा झन आर्थिक र राजनीतिक रूपमा पनि परनिर्भर रहनुपर्ने अवस्थाको विद्यमान छ । यसैको परिणति विश्वका महाशक्ति देशहरू पनि नेपाललाई "बिरालोले मुसा खेलाएझै" गर्दछन् । त्यसैको परिणामस्वरूप एकातिर  राजनीतिक उच्च  नेतृत्वमा सैद्धान्तिक विचलन रहेको छ भने अर्कोतिर सत्ता स्वार्थान्धता गुटबन्दी फुटपरस्त उच्च राजनीतिक नेतृत्वमा भारतीय लम्पसार रहि नतमस्तक भुमिका रहेकोे छ ।

राज्य पुनर्संरचना पश्चात् नेपाल अहिले संघ, प्रदेश र स्थानीय तीन तहको सरकार रहेकोे जुन आफैमा धानिन कठिनाइ हुने अवस्था पनि हो र यो व्यवस्था  धेरै नै खर्चिलो समेत रहेकोे बिज्ञ समुहको आवाज बराबर आई पनि रहेको छ । स्रोत साधनको न्यूनता, दक्ष जनशक्तिको अभाव र अझ त्यसमा भएको सीमित दक्ष जनशक्ति पनि विदेश पलायन, थोरै राष्ट्रिय स्रोत र साधनमा पनि पहुँचवालाको पकड भ्रष्टाचार, नातावाद, कृपावादको प्रधान्यता रहेको अवस्था छ । देशको अर्थतन्त्रलाई टेवा दिईररहेको वैदेशिक रोजगारीको श्रम बजारमा नेपाली अदक्ष जनशक्तिको निर्वाध आपूर्तिमा मात्र मुलुकको अर्थतन्त्र धानिनुपर्ने विडम्बना साँच्चिकै भन्ने हो भने दु:खद कुरा हो ।

देशमा भर्खरै दोस्रो अवधिको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न भैसकेर अब यहीँ २०७९ मंसिर ४ गते आइतबार प्रदेश र संघीय सांसदहरूको निर्वाचन घोषणा समेत भैसकेको छ । राष्ट्रिय राजनीतिक दलहरू सँग स्पष्ट नीतिगत राजनीतिक  घोषणापत्र सहितको मार्गचित्र पनि जनता समक्ष प्रस्तुत भएका पनि छैनन् । छ भने केवल सैद्धान्तिक पलायन, गठबन्धन, अग्रिम सिट बाँडफाँडको नाटक मञ्चन गरि सार्वभौम नागरिकहरुलाई निरीह बनाई उनीहरुको आँखामा छारो हाली हिजो र आजसम्म राज्यसत्तामा हालीमुहाली गरेका वृद्ध भत्ता खानेहरुको जमात रहेको छ । एकातिर मुलुकमा कृषिका लागि समयमै रासायनिक मलको अभाव, सिंचाइ सुविधाको अभाव रही आकासे खेतीको भर पर्नुपर्ने वर्षा समयानुकूल पर्याप्त नहुँदा बर्षे खेतीपाती राम्रोसँग नहुनु, जलवायु परिवर्तनको दुश्प्रभावले खण्ड वृष्टि र न्यून वृष्टि कतै छ भने कतै अति वृष्टि रहेको छ । योजनाबद्ध विकास नभएर पहाडका डाँडा काँडा उजाड बनाई बिकासको नाममा बिनाश गरि मरुभूमिकरणको पुर्वाभास गराईदैछ । यसरी मेरो सुन्दर शान्त देश नेपाल अब उप्रान्त हाम्रो पालाको कृषि प्रधान देशवाट अदक्ष वैदेशिक श्रम निर्यात गर्ने मुलुकमा रुपान्तरण भैरहेको अवस्था रहेकोे छ ।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ दाङ, नेपाल
आइतबार साउन २२, २०७९ शुभम् ।

Comments