४५१. "बा" महिमा

"बा" महिमा

बा स्व. बलदेवप्रसाद अधिकारी 

मानव सृष्टिको आदिकाल देखि अनवरत रुपमा "बा" बाटै सृष्टि नियमन भएकाले "बा" को स्थान सर्वाधिक शिर्षस्थान रहेको तथ्य स्वयं सिद्ध  छ । मानव लगायत हरेक प्राणी अर्थात् जीव र बनस्पतिवाट निर्मित हुन्छन् जुन "बिज" तत्व नै "बा" हुन् । "बा" र आमा एकै रथका दुई पहिया हुन् । एउटा बिना अर्कोको अस्तित्व किमार्थ सम्भव छैन । मानवीय कर्तव्यबोध, जिम्मेवारी, समन्वय, सद्भाव र प्रेमको अद्वितीय प्रतीकात्मक स्वरूप  हुन् "बा" । समाज चाहे पितृप्रधान होस् वा अरु कुनै पनि समाजमा "बा" को भुमिका अग्रणी रहेको तथ्य स्वयं सिद्ध छ ।  गर्भधारण, जन्म, लालनपालन, माया ममता र संस्कार आमा वाटै आउने हुँदा तुलनात्मकरुपमा "बा" भन्दा आमाको महिमा अधिक पाईन्छ तथापि "बा" र आमाको भुमिका अतुलनीय र व्यापकता रहेको छ । "बा" को महिमा बुझ्न अर्थात् ह्रदयाङ्गम गर्न सन्तान सन्ततिहरु  स्वयं "बा" नभएर पुर्ण हुन सक्दैन ।

पिता देह मात्र होइनन्, उनी प्रेरणा हुन् । भाव हुन् । पिता, जसले सन्तानको सुख र कल्याणका लागि हर–संभव प्रयास गर्छन् । आफ्नो प्राणलाई बाजीमा राखेर सन्तानको खातिर जस्तोसुकै खतरासँग खेल्छन् । "बा", जसलाई नेपालीमा  बुबा भने भो । हिन्दीमा पापा भने भो । अंग्रेजीमा ड्याडी भने भो । आखिर जे नामले पुकारे पनि सन्तानको सुरक्षा कवच हुन्, उनी । "बा" एक बिशाल छत हुन्  जसको आश्रयमा सन्तान हुर्कन्छन् बढछन् र प्रगति पथमा अग्रगामी पाईला चाल्दछन्  । "बा" सन्तानको पालन पोषण र संरक्षणका पर्याय पनि हुन् । सन्तानका आवश्यक्ताहरु पुरा गरिदिने माध्यम हुन् । "बा"  शिशुका लागि उल्लास हुन् । किशोर एवं जवानका लागि सर्वोत्तम प्रेरक एवं पथप्रदर्शक हुन् । वयस्क र प्रौढका लागि अनन्त आशीर्वाद हुन् ।

“भनिन्छ पहिलो प्रेम कहिल्यै भुल्न सकिन्न……… फ़ेरि पनि थाहा छैन किन मान्छेले जब आफू सक्षम वा समर्थ हुन्छन् तब आफ्ना बाबु आमालाई किन भुल्दछन् …”

एउटा बालकको जीवनमा बाबुको ठूलो महत्व हुन्छ । बाबुवाट हामीलाई जीवनमा सबै चिज प्राप्त हुन्छ जुन चिज प्राप्ति पश्चात् जिन्दगीलाई झनै राम्रो बनाउन पर्याप्त सहयोग हुन्छ ।  बुबाको संस्कार र आदर्शले नै जीवनमा धेरै अगाडि बढाउन मद्दत गर्दछ । तसर्थ बुबाको मुख हेर्ने दिनमा आफ्नो बाबु प्रतिको सम्मान, आदर गरि सम्झना गर्नु र बाबू आमा प्रति कृतज्ञता व्यक्त गर्नु अवश्य पर्दछ ।
बाबु सम्बन्धि मननीय केहि मननीय भनाइ
१. भगवानको दोस्रो रुप हुन् बाबु ।
२. बालककालमा हामीलाई हँसाउनका लागि बच्चा बन्नु हुन्थ्यो बाबा ।
३. हिजोआज बजारमा धेरै चिजबिज पाईन्छ तर आमा बाबुको  सच्चा प्रेम कदापि पाउन सकिदैन ।
४. जसको माया जीवनमा कहिल्यै परिवर्तन हुँदैन ती हुन् आमा बाबु ।
५. जब म बिहान् उठदा कोहि ज्यादै सक्रियताका साथ काममा गइरहेका थिए ति जीवित देवता हुन्  बाबु ।
६. बाबु तिनै हुन् जसले जमीनमा लडनु भन्दा पहिला उठाउँछन् तर तपाईलाई माथी उठाउनुको साटो कपडा सफा गरि धुलो झारी  दिन्छन् र तपाईं लाई फ़ेरि पनि साहस र सफलताको लागि कोशिश गर्नका लागि भन्छन् ।
७. खल्ती खाली भए पनि बाबुले नाई कहिल्यै भन्दैनन् त्यसैले मैले बाबु भन्दा धनी व्यक्तित्व संसारमा कहिल्यै कोहि पनि देखिन ।
८. सारा संसारमा एउटा बाबुले नै चाहान्छन् कि उनको सन्तान उनि भन्दा अगाडि बढुन्  सक्षम होउन् ।
९. बाबु निमको पात जस्तैः हुन्छन् जसको पात भला तितो र कडा हुन्छ त्यसले छाया हमेशा औषधिय गुणका साथ शितलता प्रदान गर्दछ ।
१०. एक बुलन्द  हौंसला दुइटा ज्यान छन् मेरा मेरो बाबु जुन पहिचान हुन् मेरा ।
११. दुनियाँको भिडमा सबैभन्दा नजीक जो छन् मेरा ति बाबु मेरा ईश्वर र मेरा भाग्य विधाता  हुन् ।
१२. जिन्दगीमा दुईवटा महान मानिसको हर्दम ख्याल राख्नु जरुरी छ । बाबु जस्ले तिम्रो जीतको लागि सबथोक हारेका छन् । आमा जस्लाई दु:खमा तिमी पुकारा गर्दछौ ।
१३. ति बाबु  संसारमा सबैभन्दा बढी बुद्धिमान हुन् जस्ले आफ्नो सन्तानलाई बुझ्छन् ।
१४. मैले जीवनमा जे जति गरे त्यसको लागि म आफ्नो बाबु प्रति सदैव ॠणि छु ।
१५. प्रत्येक बाबु आफ्ना सन्तानका खातिर आशीर्वाद हुन्छन् ।
१६. बाबु ति हुन् जो आफ्नो सन्तानमा आफ्नो प्रतिविम्बित रुपमा आफ्नै बिजय देख्न चाहन्छन् ।
१७. ति सन्तान सबैभन्दा धेरै सौभाग्यशाली हुन्छन् जस्ले आफ्नो बाबुको सपना पूरा गरिदिन्छन् ।
१८. बाबुलाई जीवनमा आफ्नो सन्तान प्रति तब गौरव महशुस हुन्छ जब मानिस उनका सन्तान उनको आफ्नै नाम, काम वाट   समाज, राष्ट्र वा अन्तर्राष्ट्रियस्तरमा चिनिन्छन् ।
१९. बाबु सन्तानको अमुल्य रत्न वा निधि हुन् जस्लाई कसैले पनि उनवाट छिन्न सक्दैन ।
२०. बाबु प्रति समर्पित  एक कविता
मेरो साहस मेरो इज्जत मेरो सम्मान हुन् बाबु ।
मेरो ताकत मेरो पुँजी मेरो स्वाभिमान हुन् बाबु ।।
बाबु सम्बन्धमा पुराणका मननीय सारगर्भित भनाई

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः। 
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥ 
पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च। 
तस्य भागीरथीस्नानमहन्यहनि वर्तते॥ 

सर्वतीर्थमयी माता सर्वदेवमयः पिता। 
मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत्॥ 
मातरं पितरंश्चैव यस्तु कुर्यात् प्रदक्षिणम्। 
प्रदक्षिणीकृता तेन सप्तदीपा वसुन्धरा॥
✍️ पद्मपुराण 

भावार्थ : पद्मपुराण अनुसार - पिता धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जस्को सेवा र सदगुण बाट पिता-माता संतुष्ट रहन्छन्, त्यस पुत्र पुत्रीको प्रतिदिन गंगा-स्नान को पुण्य प्राप्त हुन्छ । माता सर्वतीर्थ स्वरुप हुन्छिन् भने पिता सम्पूर्ण देवताका स्वरूप हुन । यसैले हरेक प्रकारले माता-पिता आदर सम्मान गर्नु पर्दछ । माता-पिताको परिक्रमा गरेमा पृथ्वीको परिक्रमा गरे बराबरको फल पाईन्छ ।

उपाध्यान्दशाचार्य आचार्याणां शतं पिता।
सहस्त्रं तु पितृन माता गौरवेणातिरिच्यते।।
✍️ मनुस्मृति 

भावार्थ : मनुस्मृति अनुसार -  दस उपाध्याय भन्दा ठूला ‘आचार्य’, सय आचार्य भन्दा ठूला ‘पिता’ र एक हजार पिता भन्दा ठूलो ‘माता’ हुन्छिन् । अतः माता सर्वश्रेष्ठ हुन ।

हिजोआज पिता माता अर्थात् बा आमा सन्तानका आराध्य नभएर अपहेलित भएका छन् । बा आमा अर्थात् जेष्ठ नागरिक प्रतिको सम्मानमा ह्रास आएको छ । बाबु आमाको सम्पत्ति र आर्जनमा अधिकार खोज्ने सन्तान सन्ततिहरु कर्तव्यबोध नगर्ने निकृष्ट व्यवहारको जन्म भै हुर्कदै बढदै दिनप्रतिदिन  समाज पतन उन्मुख अधोगति हुँदै गएको छ । हाम्रो आफ्नो मौलिक पुर्वीय धर्म दर्शन आदर्श र अध्यात्मिक मुल्य मान्यता लुप्त प्रायः रहेको छ । भौतिक र भोगवादी संस्कारले न त बाबु आमाले आफ्ना सन्तानलाई असल नागरिक बन्न प्रेरणा र सहयोग भन्दा पनि जसरी भए पनि धनी बन्नु र ठूलो मान्छे बन्नु समाजमा धाक रवाफ बढाउनु जस्ता कुशिक्षाको परिणामत: दिनानुदिन  जेष्ठ नागरिकहरु वृध्दाश्रममा रोयर  बस्नु पर्ने बाध्यता र सन्तान बिदेश पलायन हुनुपर्ने जस्तो दुर्भाग्यपूर्ण अवस्थाको सिर्जना भएको छ । यस्तो चरम विसङ्गतिपुर्ण अवस्थालाई विस्थापित गरि सभ्य भव्य पारिवारिक वातावरण सिर्जना गर्न घर, परिवार, समाज, स्थानीय, प्रदेश र संघ सरकार र समानान्तर संघ संस्था र मातहतका निकायहरूको प्रमुख दायित्व रहेकोे छ ।

स्रोत सन्दर्भ :

© विकिपिडिया
© गुगल समेत  ।                                                             तस्बिर संलग्न : मुल तस्बिर  #बुबा #बलदेवप्रसाद_अधिकारी 

लेखन/सम्पादन :

अधिवक्ता वसन्तराज अधिकारी
                         एम.ए.बी.एल.बी.ए.बी.एड.
                       पुर्व उपसचिव, नेपाल सरकार
घोराही उपमहानगरपालिका वार्ड नं. १७ पनौंरा, दाङ
बुबाको मुख हेर्ने दिन "कुशे औंसी" मोती जयन्ती शनिबार, भदौ ११, २०७९

Comments