४४०. ससुराली

ससुराली

तस्बिर : ससुरा बुबा श्री दामोदर सुवेदीसँग म 

मानव जीवनमा कतिपय शब्द अर्थमा भन्दा भावमा अझ बोधमा गहिराई हुन्छन् अव्यक्त हुँदाहुँदै पनि सार्थक हुन्छन् र सांसारिक हुँदाहुँदै पनि परमार्थिक हुन्छन् । समाज लोक व्यवहारमा गहनतम अर्थ बोध हुने लौकिक एउटा नाम हो "ससुराली" जसको नामवाटै स्पष्ट सार्थक शब्द ससुराली अर्थात् ससुरा + आली = ससुराली यानी सासू ससुराज्युको घर । यद्यपि जेठान, जेठानी दिदी, साला, साली भएपनि ससुरालीको नाम सम्बोधन वाट बहुप्रचलित स्वीकार गरिन्छ । विशेषतः पुरुष जातीको बिबाह पश्चात् आफ्नो घरको दोस्रो घरको रुपमा पहिचान कायम  हुन्छ "ससुराली" । हरेक विवाहित पुरुषका लागि अत्यन्त प्रिय र सम्मानित स्थान हो "ससुराली" । महिलाहरूको विवाह पश्चात् आफ्नो जन्म घर माइती घरमा रुपान्तरण हुन्छ । महिलाको लागि पनि यो घर दोस्रो घरको रूपमा कायम रहन्छ । बाबू आमाको परम स्नेह रहँदा सम्म "माइती घर" हरेक महिलाको लागि पनि अत्यन्त प्रिय घरको रूपमा रहन्छ ।

हिन्दु धर्म शास्त्रमा पञ्चपिता र पञ्चमाताको महत्व र सार्थक अर्थ रहेको छ । आफ्नो आमा बाबू पश्चात् द्वितीय आमा बाबू सासू ससुरा हुन्छन् । ससुराली परिवार जेठान, साला, सालीहरु द्वितीय रुपका दाजुभाइ दिदीबहिनीको रूपमा रहन्छन् । बिबाहका प्रारम्भिक दिनहरूमा ससुराली जाँदा केहि सरम अर्थात् लज्जा, कौतुहलता, खुलापन हुन नसकिएको अवस्था आउँछन् भने बिबाह उत्तरकालमा आफ्नो घर जस्तैः सरल, सहजता हुन्छन् । खासमा सासू ससुरा जिवित हुँदासम्म ससुरालीमा जुवाईको विशेष सम्मानित हुने हुँदा, ससुराको हातवाट आफ्नो सुकोमल कन्या सुम्पेको र जस्वाट गृहस्थ धर्म र व्यवहार कर्ममा लाग्ने सुमार्ग प्राप्ति भएको  हुँदा आत्मीयरुपमा  घनिष्ठ रहनु स्वभाविकै हो ।

बिबाह भैसकेको पुरुषका लागि त ससुरालीको अनुभव हुने हुँदा केही  भनिरहनु  पनि पर्दैन परन्तु अविवाहित र विवाह बन्धनमा नबाँधिएका वा  बाँधिन योग्य बर  बधु वा युवा युवतीहरुलाई "ससुराली" शब्दले कता कता ह्रदयमा काउकुती र मनमा मीठो आभास स्पन्दन पनि गराउँदछ । दैवीय सृष्टिमा नारी र पुरुष एक रथका दुई पहिया हुन् । यी दुवैको सहजीवन, मिलन र सहकार्य विना सृष्टि र सभ्यता किमार्थ चल्न सक्दैन तसर्थ बिबाह जीवनयापनको मार्गमा अनिवार्य दाम्पत्य सुत्र बन्धन हो र ससुराली बिबाह पश्चात् जोडिएको नयाँ अत्यन्तै  प्रिय नाता सम्बन्ध रहेको छ । ससुराली शब्द असीम प्रिय आरामदायी र सुखानुभुति दिने शब्द पनि हो ।

ससुरालीमा सासू ससुराज्युका दाजुभाइ दिदीबहिनीहरु र उनीहरुको निकटतम आफन्तजन सबै ससुराली परिवार मिलेर  बन्दछन् । धेरै  दाजुभाइ दिदीबहिनीहुनेहरूमा यो लहरो लामै पनि हुन्छ । टाढा२ ससुराली हुनेहरूको हकमा विशेषतः दशैंमा टीका थाप्न जाने सन्दर्भमा  भेटघाट हुने गर्छ तथापि टाढा टाढा छरिएको परिवार भए खासै भेटघाट हुँदैन पनि । विगत बर्षहरुवाट विश्वव्यापी महामारी कोभिड - १९  कोरोना भाइरसको हरेक भेरिएन्टको संक्रमणले चाड पर्वहरुमा पनि भेटघाट नहुने र भैहाले पनि केहि पातलै हुने अवस्था रह्यो । हिजोआज शहरीकरणको जीवनशैली संक्षिप्त परिवार प्रणाली हुँदा ससुराली परिवार पनि एकल र साँघुरो हुँदै गएको अवस्था छ । एक वा दुई मात्र सन्तान बनाउने परिवार नियोजनले गर्दा हाम्रो बाबू बाजे भन्दा हाम्रो पालामा परिवारको स्वरुप सूक्ष्म रहेको अवस्था छ ।

हिजोआज  बिश्वब्यापी सञ्जालको रूपमा  भारत र युरोप, अमेरिका, अष्ट्रेलिया लगायत खाडी मुलुकहरू सम्म पनि वैदेशिक रोजगारी, अध्ययन र वृत्तिका सिलसिलामा  देश बाहिर रहने नेपालीको संख्या सघन रहेकाले बिबाह पश्चात् पनि वैदेशिक रोजगारीमा जाने क्रम तिव्रतर  बढिरहेको अवस्थाको विद्यमान रहेको पनि छ । कतिपय आवासीय भिसाका रुपमा युरोप अमेरिका तिर बसाइँसराइ गर्ने क्रम पनि तिव्रतर रहेको छ भने नेपाल आएर विवाह गर्ने र बिबाह पश्चात् विदेश प्रवासिने क्रम पनि बढदो छ । यसरी विदेशिएका दाजुभाइहरुका सन्तान कतिपय मुलुकहरूमा दोहोरो नागरिकताको सुविधाले विदेश तिरै पलायन भएको अवस्था पनि पाईन्छ ।

आफ्नो जन्म घर जस्तैः विवाहित धर्मपत्नीको जन्म घर ससुराली हो । आफ्ना आमा, बाबू र सहोदर दाजुभाइ दिदीबहिनी जस्तैः श्रीमती तर्फका ससुराली परिवार पनि आफ्नै परिवार सरह हुन् । तसर्थ यी दुई विचको पारस्परिक हित सम्बन्धमा पनि एकापसमा घनिष्ठता बढदछ् । परम्परागत मागी विवाह जस्लाई "अरेन्ज म्यारिज" पनि भनिन्छ आजकाल यसको प्रचलन यद्यपि रहेतापनि वर्तमान समयमा प्रेम बिबाह वा "भागी विवाह" गर्ने परिपाटी बढदैछ भने उच्च शिक्षा र वृत्ति पथ "करियर" ले गर्दा पढाइमा ध्यान केन्द्रित हुने र वैदेशिक रोजगारीमा महिला र पुरुष समान रुपमा बाह्य आप्रवासन भै जाने हुँदा ढिलो बिबाह गर्ने प्रचलन बढदो रहेको छ । यस्वाट सन्तान प्राप्ती र ससुराली सम्बन्धमा पनि परम्परागत तुलनामा दिनानुदिन केहि फरक पन देखा पर्न थालेको पनि पाईन्छ । आजकाल सजातीय मात्र नभै अन्तरजातीय वैवाहिक परम्परा बढन थालेकाले पनि समाज बहुध्रुवीय स्वरुपमा रुपान्तरण भैरहेको अवस्था छ ।

विश्वव्यापीकरणको  बढदो प्रभाव र द्रुतगतिमा बिकास भएको शहरीकरण सँगै केटाकेटी साथ साथै बसि व्यवहार गर्ने र विवाह नगर्ने "लिविङ टुगेदर" को अवस्था पनि केहि छिट्पुट रूपमा देखिन्छ । हिजोआज सूचना प्रविधि ईन्टरनेटको सहज एवम् व्यापकताले दर्जनौं सामाजिक सञ्जालहरुको बढदो प्रयोगले गर्दा उमेर पुगेका केटाहरूले "केटिसाथी" र केटीहरुले "केटासाथी" बनाउने प्रचलन पनि बढदै गइरहेको अवस्था छ । यसले गर्दा एकातिर अभिभावकहरुको अधिकार बिहिनता र  भुमिकामा न्यूनता आईरहेको अवस्था देखापरेको छ । सूचना प्रविधिको अधिकाधिक प्रयोग यसको उच्चतम  सदुपयोग गरि ज्ञान, शिक्षा, सीप, अभिवृत्ती र विश्वव्यापीकरणको दौडमा  निकटतम हुनु सार्थक एवम् अत्यन्त उपयोगी समय सान्दर्भिक रहेको छ ।

अन्त्यमा ससुराली एउटा आदर्श घर र यथार्थ नाता सम्बन्धको कसिलो गाँठोको रुपमा रहेको तथ्य स्वयंसिध्द  छ । वास्तवमा  ससुरालीमा मुल मियो वा आधारस्तम्भ  सासू ससुरा नै हुन् । मुलतः सारभुत रुपमा ससुराली अत्यन्त गौरव र गरिमामय स्थानको रूपमा रहेकोे हुन्छ । पुरुषका लागि ससुराली समान प्रिय स्थान विरलै होला । सासू ससुरा आमा बाबुकै दोस्रो स्वरुप हुन् भन्दा अत्युक्ति नहोला । आपसी श्रद्धा, विश्वास, अन्तरसम्बन्ध, आत्मीयता, सरसहयोग, सामिप्यता जति घनिष्ठ  र पर्याप्त रुपमा  रहन्छ त्यतिनै गृहस्थ जीवन सञ्चालन  सफलीभुत हुन्छ । हिन्दु धर्म दर्शन मानव जीवनमा सार धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका लागि अपनाउने साधना  ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, बानप्रस्थाश्रम र सन्यासश्रम रहेकोमा गृहस्थाश्रमको प्रवेशद्वार बिबाह र ससुराली रहेको छ भन्दा अत्युक्ति नहोला । विशेषतः ससुरालीमा हिन्दु धर्मका  महत्वपूर्ण  चाड पर्व बडादशै र आजापुजा आदि पवित्र शुभ कर्ममा आमन्त्रित गरिदा जानू अत्यन्तै मर्यादित एवम् शोभनीय मानिन्छ । ससुराली शब्द जति संक्षिप्त छ त्यतिनै सार्थक मुल्यवान गहन र गरिमामय रहेको छ । ससुराली आलेख पढनु हुने सम्पुर्ण सह्रदयी सज्जन मित्रहरू प्रति साधुभाव व्यक्त गर्दै अन्त्यमा ससुराली सम्बन्धि आलेख पनि ससुराली मै बसेर तयार गरेको बिषयमा श्रध्देय पाठक वर्ग समक्ष सबिनय निवेदन गर्दछु ।

✍️ वसन्तराज अधिकारी
तुलसीपुर उपमहानगरपालिका वार्ड नं. ५ तुलसीपुर बजार, दाङ, नेपाल
बिहिवार , साउन १९, २०७९ शुभम् ।

Comments