४३२. असार साउन बर्षन्न अब मन झन२ हुँदैछ बेचैन ।।

असार साउन बर्षन्न अब मन झन२ हुँदैछ बेचैन ।।           

✍️ वसन्तराज अधिकारी
                                     घोराही, दाङ 

हामी गाउँमा सानो सानो बालक छँदा खेरि ।
आजभन्दा करिब  करिब पाँच दशक पहिला ।।
असार साउन झरी अथाह रूपमा  बर्षिन्थ्यो ।
खेतीपाती मकै धान खाद्यान्न पनि राम्रै हुन्थ्यो ।।१।।

त्यतिबेला न त रासायनिक मलको प्रयोग  थियो ।
न त खेतीपातीमा पर्याप्त रूपमा सिंचाइ सुविधा ।।
आकाशे बर्षातको भरमा पनि बालीनाली हुन्थ्यो ।
खहरे खोला र झरण पानीमा किसानले उत्पादन गर्थे ।।२।।

न अहिलेको जस्तो विस्तृत सिमेन्टेट  शहरीकरण ।
यातायातको पर्याप्त सुविधा पनि केही थिएन ।।
राँगा घोडाहरु सवारी ढुवानीका साधन थिए ।
दाङवाट कोईलावास हाटबजारमा नुन तेल गर्थे ।।३।।

भित्री मधेस दाङ उपत्यका घोराही तुलसीपुर ।
ससाना सुक्ष्म बजार जस्ता स्वरुपका मात्र थिए ।।
मध्य दाङको मानपुरबजार  ठूलो व्यापारिक केन्द्र थियो ।
भारतीय मुलका हामी "देशी" भन्थेउ व्यापार गर्थे ।।४।।

ठुल्ठुला बिशाल थारु गाउँहरु रहेका थिए ।
मजगाउँ बघौंसी र जल्हौंरा र अरु यस्तै यस्तै ।।
सुदुर अतीतका यादहरु मस्तिष्कमा घुमिरहेका छन् ।
सम्झनाका तरेलीहरु मानसपटलमा मस्तै मस्तै ।।५।।

एक अर्थमा सिमेन्टको सडक र पक्की घरहरू ।
पहाडी क्षेत्रवाट दाङ तर्फ वैरिएका मानिसहरु ।।
सुख सुविधाको खोजीमा आन्तरिक बसाइँसराइ ।
खेतीयोग्य जमीन दाङ कंक्रीटको शहर बसाई ।।७।।

कहिलेकाही झल्लाँस्स सपना जस्तो पनि लाग्छ ।
सपना होईन यो त आफ्नै भोगाई बिपना हो ।।
बूढो जिर्ण रुखका पातहरु ह्वारह्वारति झरे जस्तैः ।
कति मरिसकेको छन् उतिबेलाका अग्रज दौंतरिहरु ।।८।।

गाउँ घर फ़ेरिएका छन् बस्ती फेरिएका छन् ।
जताततै तिब्र गतिशील शहरीकरणले घेरिएको छन् ।।
सवारीसाधन मोटरसाइकल कार चारपाङ्ग्रे गाडीहरू ।
घरैपिच्छे सुविधायुक्त रूपमा गोदाममा भरिएका छन् ।।९।।

कहिलेकाही लेख्न मन लाग्छन् आफ्ना अतीत ।
परन्तु खुल्दैनन् सबै कथा मनमा भएजति ।।
गाउँवाट अध्ययन र वृत्तिमा राजधानी शहर पनि पसियो ।
अन्ततः आफ्नै गाउँ शहर बनेपछि गाउँमै फर्कियो ।।१०।।

तर एउटा भयानक  डर पनि लाग्छ भित्रभित्रै ।
खोलाहरु, सिमखेत गदारहरु मासिएका छन् ।।
पानीका मुलहरु यत्रतत्र भासिएका पनि छन् ।
अब अतीतका गौरव त खै कहाँ हराए कहाँ ?? ।।११।।

पहाडी भुभागमा जथाभावी सडक बनाईएका छन् ।
दाङ उपत्यकामा सिमेन्टका फ्याक्ट्री उभ्याईएका छन् ।।
यहाँका उर्वर जनशक्ति वैदेशिक रोजगारीमा पठाईएका छन् ।
बुढाबुढी र बालबालिकाहरु मात्र गाउँ घरमा रहेको छन् ।।१२।।

राजनीति उत्तम व्यापार  र कमाई हुने पेशा बनेको छ ।
विद्वान र प्राध्यापक देखि कर्मचारी सम्म यसैमा छन् ।।
राजनीतिक आशीर्वादमा मदिराको नशा सरि सब छन् ।
मुर्ख र विद्वानलाई छुट्याउनु कदापि सहज पनि छैन ।।१३।।

हिजोका सामन्ती राजा महाराज काजी बाबू साहवहरु ।
आज गरिब जेनतेन हातमुख जोर्ने सम्म भएका छन् ।।
राजनीतिक व्यापार जग्गा कारोबार वैदेशिक रोजगारवाट ।
उदियमान नव सामन्तहरु गाउँ घर शहरमा भरिएका छन् ।।१४।।

त्यतिबेलाको प्राकृतिक  सुन्दरता अब कहाँ पाउनु फ़ेरि ।
प्रकृतिको काखमा रमाएर मन्त्र मुग्ध भै गीत गाउनु कसरी ।।
आफ्नै जन्मस्थल बिरानु छ अब स्वरुप आमुल फ़ेरिएको छ ।
तर एउटा अनौठो  पक्ष गाउँमा जमिनदार र शोषकहरु फेरिएका छन् ।।१५।।

प्राकृतिक सुन्दर उत्तर तर्फको घना बनजंगल ।
दक्षिण तिरको हरियाली सानो चारकोसे झाडी ।।
कहाँ पाउनु अब जंगल सखाप भैसक्यो बुट्यान छन् ।
असार साउन बर्षन्न अब मन झन२ हुँदैछ बेचैन ।।१६।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ दाङ, नेपाल
शुक्रबार, असार ३१, २०७९ शुभम् ।

Comments