४२३. राज्य सरकार : गैह्र जिम्मेवारीवाट सिर्जित धर्तीपुत्र किसानको दु:ख गुनासाका कथा

राज्य सरकार : गैह्र जिम्मेवारीवाट सिर्जित धर्तीपुत्र  किसानको दु:ख गुनासाका कथा               

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 

प्रथमत : राज्यको सार्थकता खोज्दा नागरिकहरुको सार्वभौम अधिकारको प्रयोग गर्ने संस्था वा अधिकारी समक्ष ठोक्किन पुग्दछ । राज्य केवल अमुर्त शब्दावली किमार्थ होईन न त भूगोल, जनसंख्या, सरकार, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय मान्यता मात्र । राज्य प्रत्येक नागरिकको रक्षा, सुरक्षा देखि जीवनयापनमा गरिने यावत् कर्म हो । राज्यको आधिकारिक निकायको स्वरुप जुन जनताकै नागरिक प्रतिनिधित्व रहन्छन् सरकार हुन्छ । समय कालक्रममा सरकारका परिभाषा व्यापक र बिस्तृत बन्दै गइरहेको छन् । परम्परागतरुपमा सरकार भन्नाले राजा, महाराजा हुन्थे भने अब उप्रान्त शासकीय स्वरुपको कार्यकारी प्रमुखको भुमिकामा आसिन कानुनी व्यक्ति सरकारको स्वरुप हो । यसैरुपमा अहिले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार वडा तह वडाध्यक्षदेखि संघीय सरकारका मन्त्री, प्रधानमन्त्री सम्मको सोपानमा तदनुरुप अधिकार प्राप्त अधिकारीहरू पर्दछन् । जनचाहना, आकांक्षा, आवश्यकता र समय सन्दर्भमा सरकारको परिभाषा व्यापक र बिस्तृत छ । यसको सार्थकता जनसेवाको सहजीकरण, सुलभ, छिटोछरितो, गुणस्तरीयता पुर्वक सेवा प्रवाह पुर्याउनु हो नकि राजा महाराज जस्तैः खोपोवाट शासन गर्ने र आफ्नै सेवा सुविधाको ध्याउन्नमा मात्र लम्पसार पर्ने जस्तो निकृष्ट कार्यको लागि हो ।

सरकारले बुँदागत रुपमा तत्काल ध्यानाकर्षण गर्नुपर्ने, अध्ययन अनुसन्धान सँगै योजनाबद्ध रुपमा  मध्यम कालमा ध्यानाकर्षण गर्नुपर्ने र बृहत् अध्ययन र दीगो बिकासका रुपमा  दीर्घकालमा ध्यानाकर्षण गर्नुपर्ने बिषयहरुको सारांश वा नीतिगत प्रस्तुति तत् तत् सरकार सञ्चालकहरुको मुख्य जिम्मेवारी हो । लोकतान्त्रिक सरकार जनकल्याणकारी कार्यमा सदैव सक्रियता पुर्वक लागिरहनु पर्दछ । खेतीपातीको बेलामा किसानले मल नपाउने, अध्ययन गर्ने बेलामा विद्यार्थीहरुले पुस्तक नपाउने, रोग लागेको बेलामा आम नागरिकले उपचार नपाउने अवस्था उत्पन्न हुनु सरकारको अकर्मण्यता एवम् सरकार बिहिनताको अवस्था हो ।

सरकारको प्रमुख कार्यहरु नियाल्दा परम्परागत कार्यमा दैनिक प्रशासन, राजस्व संकलन, न्याय निस्पादन र वैदेशिक वा परराष्ट्र सम्बन्ध कायम राख्ने जस्ता नियमित कार्यहरू प्रमुख हुन भने बर्तमान सन्दर्भमा आधुनिक राज्यमा नियमित कार्यका अतिरिक्त  नियमनकारी (regulating), प्रवर्द्धनकारी (promoting), सहजीकरण (Facilitating) र अनुगमन तथा मुल्यांकनकारी (monitoring & Evaluation) कार्यहरू साथै लोककल्याणकारी (Welfare state) को भुमिका प्रमुख रहेका छन् ।

बुँदागतरुपमा:
१. मुलुक र जनताको सुरक्षा गर्ने, हित अभिवृद्धि गर्ने
२. विकासको गतिलाई तिव्रतर पार्ने
३. राज्य सञ्चालन व्यवस्थालाई सरल, सबल, सक्षम, पारदर्शि, मीतव्ययी एवम् प्रभावकारी बनाउने
४. राज्य सञ्चालनका संयन्त्र विच उचित तादात्म्यता कायम राख्ने
५. सामाजिक न्याय सम्पूर्ण वर्ग, क्षेत्र, सम्प्रदायका जनता विच सामाजिक तथा आर्थिक उपलब्धीको न्यायोचित वितरणको व्यवस्था मिलाउने,
६. लोक कल्याणकारी राज्य व्यवस्थाको अभिवृद्धि गर्ने गराउने,
७. सरकार राज्य सञ्चालन व्यवस्था वा प्रणालीको केन्द्र विन्दु हो ।
८. स्थानीय जनताको घरदैलोमा पहुँचमा रहेको प्रदेश र स्थानीय सरकार जनताको प्रत्यक्ष सम्पर्कमा स्थानीय स्रोत, साधन, जनशक्तिको समुचित उपयोग, बिकास निर्माण कार्यमा सहजीकरण, न्यायिक कार्यसम्पादन, अनुगमन तथा मुल्यांकन, फ़ोहोरमैला व्यवस्थापन, स्थानीयस्तरमा स्वरोजगारी तथा रोजगार सिर्जना समेतका कार्यहरू रहेका छन् ।

सरकारको कार्यप्रकृति औल्याउँदै गर्दा व्यापक र बिस्तृत रहेको छ :
१. अपरिहार्यता
२. सवैले मान्नु पर्ने
३. कार्यप्राथमिकता
४. सवै भन्दा ठूलो बहुउद्देश्यिय संगठन
५. राजनैतिक निर्देश,
६. नाप्न नसकिने उद्देश्य,
७. उन्नत्तर आशा,
८. उत्तरदायि शासन आदि ।
९. वास्तवमा, राष्ट्र विशेष पनि सरकारको सम्बोधन गरिने गरिन्छ । जस्तो अमेरिकी सरकार, बेलायती सरकार, भारत सरकार, नेपाल सरकार आदि ।
सारभूतरूपमा— ‘सरकार त्यस्तो बैधानिक संस्था हो, जसले सार्वभौमसत्ता प्रयोग गर्न सक्ने, राज्यका इच्छा निर्माण गर्ने र अभिव्यक्त गर्न सक्ने बैधानिक निकाय सरकार हो’ ।

अन्त्यमा अहिले देशमा जनकल्याणकारी जनताको आस्था भरोसाको केन्द्र  महसुस भएको न्युनता हुनु किमार्थ सुखद होइन । संगठित एवम् गोलबन्धरुपमा सडक तताउने आन्दोलनमा उत्रने, नेपाल बन्द गर्ने गरि जनमानसमा डर त्रास उत्पन्न गरि तडपाउने जस्ता निन्दनीय घृणित हर्कत वाट मात्र कान सुन्ने र ह्रदयको भाषा बुझ्ने अभ्यास भएका नेतृत्वको सरकारमा व्यापक उपस्थितिको बाहुल्यताले जनकल्याणकारी सरकारको अकर्मण्यता एवम्  गैह्र जिम्मेवारीपन देखापर्नु विडम्बनापूर्ण अवस्था हो । एकातिर राज्यको संसदीय समितिहरुमा प्रस्तुत  अत्यावश्यक  दर्जनौं बिधेयकहरु संसदको राज्य व्यवस्था समिति मै थन्किएको अवस्था "म्याद नाघेको ओषतिको के काम भन्नुपर्ने हुनु" र अर्कोतिर दैनिक हत्या, हिंसा, बलात्कार, व्यभिचार जस्ता घृणित घटनाक्रम शृङ्खलाबद्ध रुपमा घटित भैरहनु अझ वर्षा याम सुरु भै खेतीपाती गर्ने समयमा पनि अति आवश्यकता रहेको रासायनिक मलको अविलम्ब उपलब्धता हुन नसक्नु विडम्बना मात्र हैन सरकारको गैह्र जिम्मेवारीबाट सिर्जित धर्तीपुत्र किसानका मार्मिक दु:खका कथा बनेका छन् । यश बर्ष २०७९ असार १५  गते १९ औं राष्ट्रिय धान दिवस " धान बालीमा जैविक विविधताको उपयोग : आयात प्रतिस्थापनमा सहयोग" मुल नाराका साथ मनाईने धान दिवसलाई सार्थक बनाउन बर्षभरी नै अत्यधिक मेहनत तथा परिश्रम गर्नुपर्ने हुन्छ । मध्य असारसम्म आईपुग्दा अधिकांश भित्रीमधेस एवम्  तराईका भुभागहरुमा एकातिर धनहर खेतमा धानको व्याड रहेकोे अर्कोतिर  किसानले विभिन्न संस्था, सहकारी मार्फत पैसा बुझाएको पनि छन् । रासायनिक मलको सहजता छैन । किसान मारा नाफाखोर व्यापारीले दुईगुणा मुल्यमा खादको  खादको मल बिक्रि गरिरहेका छन् । यश दिशातर्फ सरकारको ध्यान केन्द्रित भएको देखिदैन । असार १५ देखि सम्पुर्ण प्रदेशभर यश बर्षको मनसुनको सक्रियता प्रारम्भ भैसकेको छ । यसबाट उत्पन्न हुने बाढी पहिरो प्राकृतिक प्रकोप अर्थात् विपद व्यवस्थापनमा आईपर्ने जन धनको क्षति एवम्  समस्या समाधानका लागी सतर्कता पुर्वक कार्यसम्पादन गर्नुपर्ने हुन्छ । अझ किसानका लागि अत्यावश्यक रासायनिक मलको अति आवश्यकता पनि सहज उपलब्धता छैन । मरिसकेको व्यक्ति लाई औषधिको के काम आउला भने जस्तै  सबै कार्य छोडेर जुन कामकुरा लाई उच्च प्राथमिकता दिनुपर्नेमा त्यो दिएको खै ? यसै सन्दर्भमा किसानको दु:ख मेरो आफ्नै कवितांश उधृत गर्दछु -

दलाल पुँजीपति राजनीतिक चाल
किसान मारा जाल र झेलले ।
अन्नदाता किसानलाई रुवाई सधैं
राष्ट्रको मुहार फ़ेरिन्न कहिले ।।

किसानले खेतीपाती व्यवस्थापन गर्दा खेत, वारि, मल, बीउ, रोग किरावाट बचावट, सिचाइ, स्याहारसुसार, भित्र्याउने, भण्डार गर्ने र बजारीकरण गर्दा समेतको लागत लाभ मुल्यांकन गर्दा वास्तविक कृषकलाई नोक्सान पर्न जान्छ । हुन त गंगा जमुना बहने बिशालरुपमा तराईका समथल मैदान भएको भारत भुमि वाट आयात गरेर दास बनाउने ध्याउन्नमा सरकारको मिलेमतो भएको भए त्यो भन्दा दु:खद अवस्था अरु केही हुँदैन । आफ्ना जमीन पाखा पखेरा बाझै राखी नोकरी "लाहुरे" को खोजी गर्न जाने पहिलो नजिकको उर्वर भुमि भारत, नुन, तेल, लत्ता कपडा, रोटी बेटीको सम्बन्ध राखी बडेभाइ बन्ने भारत, अत्यधिक धार्मिक सांस्कृतिक तिर्थस्थल राखी तिर्थाटन गराई मोक्ष प्रदान गर्ने भारत, रासायनिक मल समयमा उपलब्धता नगराई नेपाललाई पराधिन बनाउन उध्दत ईन्डियाको यो दुश्चक्रलाई नेपाली राजनेताहरुले बुझ्न नसकी बैकल्पिक योजनाको कार्यान्वयनमा लैजान नसक्नु खेदजनक रहेको छ । यसै सन्दर्भमा हामी नेपाली सामु राज्य सरकार : गैह्र जिम्मेवारीवाट सिर्जित धर्तीपुत्र  किसानको दु:ख गुनासोका कथा उत्पन्न भएका छन् ।

लेखक
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, नेपाल
बुधबार १५ असार २०७९ शुभम्  ।

Comments