आज असार १५ का दिन अहिले झल्याँस्सै सम्झे म किसान् छँदाका मेरा जीवन्त अतीत कथा : मनोविनोद
✍️ वसन्तराज अधिकारी घोराही, दाङ |
म किसान बाबुको पुर्व कृषक जागीरे छोरो
बुबा बलदेव उपाध्याय गाउँका साना किसान ।
दाङ मजगाउँका धनीमानी जिमिनदार शाहजी
काजिसापका निजी सहायक पीए
कर्मचारी अर्थात् "प्रशासक" ।।१।।
नेपाल सरकारको सरकारी निजामती सेवामा
राष्ट्रसेवी जागीरे हुनु पुर्व विद्यार्थी काल र
स्थानीय तहमा शिक्षक हुँदासम्म पनि त म
थिए गाउँको एक सक्रिय कर्मठ जुझारु किसान ।।२।।
आजभन्दा करिबकरिब चारदशक
अगाडिको मात्र यथार्थ सादा चित्र कोर्दैछु ।
हजुरहरु किमार्थ न झुक्किनुहोला ।
सत्य कुरा अहिले म जग्गा धनी हुँ
तर खेत बारीमा पसिना बगाउने किसान होईन ।।३।।
उपाध्याय ब्राह्मणको उत्तम कुलमा
मेरो जाय जन्म भएतापनि ।
चौध बर्ष उमेर छँदा बुबाको असामयिक देहान्त पश्चात्
आफ्नै खेतमा हलियासँग जोतेको छु ।
खेती गरि बारिमा मकै र खेतमा धान छरेको छु ।।४।।
पेरनी गाउँको जिते बिश्वकर्मा उर्फ जिते दाइ
सायद उनी अहिले बुढा पनि भए होलान् ।
उनले गुरुतर रूपमा सिकाउँथे मलाई
खेत जोत्न र खेतका छेउकुना खन्न ।।
बाहुन बाजे स्वास्नी पाल्न अलि "पाएन" झिक्नुपर्छ भन्दै
बेला बेलामा व्यङ्ग्यरुपमा दिन्थे मलाई "दनक" ।।५।।
यी कुनै मनगढन्ते काल्पनिक कथा अथवा
तिलस्मी शास्त्रीय दन्त्यकथा पनि होईनन् ।
स्मृतिमा सुषुप्त भैबसेका मेरा आफ्नैं
बक्रोक्तिका सूक्ष्म छायांकन जीवन्त अतित हुन् ।
त्यसैले सदैव म गौरव साथ भन्ने गर्छु
निवृत्त राष्ट्रसेवक म किसानको छोरा पुर्व किसान पनि हुँ ।।६।।
महाबिद्यालय र विश्व बिद्यालयको
अध्ययन समाप्ति पश्चात् पनि
लोक सेवा आयोगको कठोर अध्ययन र
राष्ट्रसेवकको वृत्ति पथले ।
मलाई किसानीवाट मुक्ति दिलायो अन्ततः
तीनदशक भन्दा लामो राष्ट्रसेवा वाट पनि निवृत्त भैसके ।।७।।
मेरो जन्मदिने पुज्यनिय आमा भावना अधिकारी
सतहत्तर बर्षमा हुनुहुन्छ हाम्रो जीवन्त इतिहास ।
मजगाउँमा हाम्रा दु:ख, मेहनत र संघर्षका कथा ।
तर हाम्रा सन्तान छोराछोरी शहरमा बढे पढे हुर्किए
यि सब हाम्रा कथा थाहा छैन तिनीहरूलाई ।।८।।
किसान वृत्ति पनि त कालक्रममा अन्ततः
स्थानान्तरण भै रुपान्तरण हुँदो रहेछ ।
समय क्रममा कर्म अनुसारको पेशा अपनाईने रहेछ ।
हस्तम् लिखितम् भाग्यम् देवो नजानाती कुतो मनुष्य ?
कृषक भैसकेको हुँदा किसानका सबै दु:ख थाहा छ ।।९।।
त्यतिबेला अहिले जस्तो धान व्याड राखी रोपिदैनथ्यो
चौधरीहरु धान छर्दथे मजगाउँका डाबर खेतहरुमा
कालो धान र रातो भात हुने सिम्ठारो हुन्थ्यो ।
गदार खेत र सिम सोताहरुमा जढन तिलकी र बासमती रोपिन्थ्यो ।।१०।।
ढिलो खेती गरे पनि छिटो फल्ने "असन"
छिटो खेती गरि ढिलै पाक्ने जढन
आजभोलि त स्थानीय रैथाने जातका धान
अब याहाँ पाईन छोडिसकेका छन् ।।
दिन प्रतिदिन हामी आफ्नो अपनत्व गुमाउनुपरेको र
परनिर्भरतामा जीवनयापन पनि त गर्दैछौं ।।११।।
आहा ! लोभलाग्दो आँखाको सिमासम्म धनहर खेत थिए ।
सिचाई र झरन पानी कति थियो कति
सात सात दिनसम्म आकाश बर्षी झरी पनि पर्दथ्यो ।।
अहिले जस्तैः यतिका धेरै सिमेन्टका पक्की घरहरु
बसेर मरुभूमि जस्तो शहरीकरण पनि त थिएन ।।१२।।
दशैं तिहार ताका प्युठान र रोल्पा तिरवाट डोको बोकी
बेसाह धान खोज्न आउँथे डोकेहरु ।
पहाड तिर अनिकाल हुँदा दाङमा सहकाल थियो पालिन्थे सन्तति जस्तैः ।।
त्यसैले त सानैदेखि मलाई पहाड भन्दा तराई मनपर्थ्यो
अहिले त सबै पहाडियाले भित्रीमधेस भरियो ।।१३।।
दाङको कुल आवादी भुभागको करिबकरिब आधा जति
बस्ती बसेर दुई उपमहानगर जोडिई शहरीकरण भैसक्यो ।
बाँकी आधा जमिनमा पनि सिंचाइको असुविधा उस्तै छ
आकाशे खेतीमा निर्भर रहनुको पीडा जस्ताको तस्तै छ ।।
पहिला औंलोको डर थियो दाङवाट कोट लाग्थे मानिसहरु
कपुरकोट, छिल्लीकोट, सवारीकोट अग्लो किल्लामा
सुरक्षीत र राम्रो ठानिथ्यो आवासीय रुपमा बस्नलाई ।।१४।।
स्वर्गीय तिलकराम चौधरी हुलाक बोक्ने हुँदा हुलाकी काका ।
मेरो कृषि कर्म देखेर नाम राखिदिएका थिए "किसान बाजे" ।
अनगिन्ती छन् सुदुर अतितका स्मृतिमा विस्मृत भैसकेका ।।
आज असार १५ का दिन अहिले झल्याँस्सै सम्झे म किसान् छँदाका मेरा जीवन्त अतीत कथा ।।१५।।
मनोविनोदकार :
✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ
बुधबार १५ असार २०७९ शुभम् ।
Comments
Post a Comment