४१२. निजामती सेवावाट अनिवार्य अवकाशप्राप्त पश्चात् एक बर्ष घरमै बसाईको स्वअनुभव : मनोविनोद

निजामती सेवावाट अनिवार्य अवकाशप्राप्त पश्चात् एक बर्ष घरमै बसाईको स्वअनुभव : मनोविनोद              

✍️ वसन्तराज अधिकारी 
                           पुर्व उपसचिव, नेपाल सरकार 


१. पृष्ठभूमि :

मेरो आलेखको मूल शिर्षकवाट स्पष्ट छ - मेरो सारभुत परिचय तथापि सोही बिषयमा केन्द्रित भै अन्तर्विषयक सूक्ष्म छायांकन पस्कने जमर्को गर्दछु । निजामती सेवावाट अनिवार्य अवकाशप्राप्त र तत्पश्चातका करिब एक बर्ष व्यतीत कुरा त मैले शिर्ष स्थानमा प्रस्तुत गरिसके मलाई चिन्ने जान्नेहरुलाई त थाहै छ तर मलाई नचिन्नेहरुलाई पनि संक्षिप्तमा अब जानकारी गराउँदछु । वास्तवमा मैले के जागिर गरे ? म नेपाल सरकारको प्रशासन सेवामा उपसचिवस्तरको पदवाट २०७८ साल श्रावण ५ गते देखि लागू हुने गरि उमेर हद ५८ बर्षका कारण नेपाल सरकारको सेवावाट अनिवार्य अवकाशप्राप्त गरेको हाल पुर्व उपसचिव  हुँ । मैले निजामती सेवामा ३१ बर्ष करिब १ महिना कार्यरत रहि मेरो सेवा प्रवेश गर्दा उमेर हद ६० भएको कारणले २ बर्ष कानुनतः थप भै ३३ बर्ष करिब १ महिना सेवा अवधि कायम भएको छ । स्थायीरुपमा सेवा प्रवेश बि.सं.२०४७ साल आषाड महिनामा नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत  महालेखा नियन्त्रक कार्यालय मातहत  जिल्ला कोष तथा नियन्त्रक कार्यालय सल्यान वाट प्रारम्भ गरि जिल्ला, क्षेत्र, बिभाग, केन्द्रियस्तरका कार्यालय, मन्त्रालय, आयोगका कार्यालय र भुमिसुधार, मालपोत, क्षेत्रीय निर्वाचन कार्यालय र स्थानीय तह गाउँपालिका र नगरपालिका कार्यालयमा उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज एवम् जिम्मेवारी निर्वाह गरि कुशलता पुर्वक कार्य सम्पन्न गरिसकेको व्यहोरा अनुरोध गर्दछु ।

२. अनिवार्य अवकाशप्राप्त गर्दाको अवस्था :

गत बर्ष अर्थात् २०७८ बि.सं. मा अनिवार्य अवकाशप्राप्त गर्दाको अवस्थामा  स्थानीय तह राजापुर नगरपालिका, बर्दियामा करिब दुई बर्षको बसाई पश्चात् आफ्नै स्वेच्छाले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा  पदस्थापन भै कार्यरत रहे । तत्कालीन समयमा मन्त्रालयमा उपसचिवस्तरका कर्मचारीको न्युनताले माननीय मन्त्रीज्यूको निजि सचिवालय समेत करिब तीनवटा शाखा सम्हालेको थिए । त्यतिबेला मन्त्रालयका तत्कालीन नेपाल सरकारका सचिव श्री केदार न्यौपानेज्यु (हाल अनिवार्य अवकाशप्राप्त भैसक्नुभएका) र सहसचिव (शिक्षा) डा. कमलप्रसाद पोखरेलज्यु  समेत मन्त्रालयका उपसचिव, अधिकृत साथीहरू र सम्पुर्ण कर्मचारीहरुवाट बिदाईका साथ अनिवार्य अवकाशप्राप्त भएको हो ।

३. अनिवार्य अवकाशप्राप्त पश्चात् प्राप्त सेवा सुविधा र भावी कार्ययोजना :

अनिवार्य अवकाशप्राप्त पश्चात् केहि समय अर्थात् करिब दुई महिना कीर्तिपुरस्थित काठमाडौ बसाईको क्रममा मैले निजामती सेवावाट अनिवार्य अवकाशप्राप्त पश्चात् कानुनतः प्राप्त गर्ने सेवा सुविधा प्राप्त गरिसकेपछि पहिलो योजना करिब अढाई दशक सम्मको काठमाडौको डेरा घरको बसाई लाई अन्त्य गरि आफ्नै जन्मस्थल दाङ जिल्लाको भुमिमा आउने निधो गरे । यद्यपि काठमाडौं तिर ४-६ आना जग्गा किनेर कुना काप्चा तिर बसोबास गर्न सकिन्थ्यो कतिपय आफ्ना अन्तरंग मित्र, आफन्तहरुले यो सुझाव नदिएको पनि होईनन् तर मेरो मन मस्तिष्क र पारिवारिक सल्लाह बमोजिम आफ्नै जन्मभूमि तर्फ फर्कने दृढ़ अठोटका साथ निश्चय गरे । "कुरो सबैको सुन्नु निर्णय आफ्नो लिनु" भन्छन् बुज्रुगहरु सो भनाईलाई पुर्णरुपेण परिपालन गर्दै एउटा महान ऎतिहासिक फैसला करिब पच्चीस बर्षको काठमाडौको बसाईलाई अन्त्य गरियो । यसै क्रममा आफुसँग भएको अधिवक्ता कानुन व्यवसायीको इजाजतपत्रलाई अभिलेखिकरण एवम् सक्रिय बनाई बिन्ध्यवासिनी कानुनी अनुसन्धान तथा सेवा केन्द्र नामक कानुनी संस्था दर्ता गरियो र अन्ततः सदाको लागि काठमाडौ छोडी आफ्नै जन्मभूमि दाङमा स्थायी बसोबासका लागि आईयो । यश समयमा मन्त्रालयका केही साथीहरुले राजनीतिक पद प्राप्तिका लागि सल्लाह पनि नदिएका होईनन् । "आफ्नो बुद्धिले बरु जोगि हुनु अर्काको बुद्धिले कदापि राजा नहुने" भन्ने सारगर्भित उक्तिलाई पुर्णरुपमा अनुसरण गरियो ।

४. अनिवार्य अवकाशप्राप्त पश्चात् दाङ आएदेखिका घर निर्माण कार्यसम्पादन सम्पन्न  :

जग्गा जमीन र खेतीपाती पनि हाल तुलसीपुर उपमहानगरपालिका दाङ अन्तर्गत वार्ड नं. १७ स्थित मजगैं मजगाउँमा पैत्रिक सम्पत्ति रहेको छ । जुन आफ्नैं प्रत्यक्ष रेखदेखमा अधिया बटैया दिईएको छ । तीसौं बर्ष घर छोडेर "घर छोड तर घर नबिर्स भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइलाई अक्षरश: परिपालन गरे जस्तैः गरि फर्केर आए पश्चात् निवासको स्तर वृद्धि गर्नु पहिलो अनिवार्य आवश्यकता र प्राथमिकताक्रममा पर्नु पनि स्वाभाविकै हो । सोही मुताविक एक तले घरको डेढ फ्लाईट थप गर्ने योजना बन्यो । यश योजनामा लाग्ने लागत पनि अनिवार्य अवकाशप्राप्त गर्दाको सेवा सुविधाले पुग्ने अनुमान गरि यश दिशा तर्फ अभिमुख भैयो । नयाँ अनुभव नभएको कोरा मानिसलाई त घर बनाउने अहम् सवाल हो । करिब दस बर्ष पहिला एक तला थपेको अनुभव, पारिवारिक सल्लाह र अन्तरंग साथी सहयोगीहरुको सहयोगले यो जटिल बिषयलाई सहज बनाउँदै कार्ययोजना तय भयो ।

पहिला त सवाल यो छ कि घर कत्रो बनाउने ? कस्तो बनाउने ? किन बनाउने ? कहाँ बनाउने र कस्लाई बनाउने ? सवालमा पहिलो तल्ला अद्यावधिक भएकाले अब डेड तला थप गरि ढलान भएको घर निर्माण गर्ने । अनिवार्य अवकाशप्राप्त पश्चात् जेष्ठ नागरिकको बसाईलाई सहज र आनन्दित बनाउने । साविककै घोराही उपमहानगर अन्तर्गत दस बर्ष पुरानो एकतले घरलाई स्तरीकरण गर्ने र आफैलाई बनाउने समेत सबै सवालका जवाफ् प्राप्त भैसके पछि ठेकेदारको खोजी र नगरपालिकासँगको समन्वयको कार्य पश्चात् गृह निर्माण कार्य अगाडि बढाईयो । जीवनमा छोरो मान्छे भएर जन्म लिए पछि तीनवटा अहम्  बिषयमा  स्वनिर्णय लिनु भनिन्छ ती हुन् : जागीर खाने, बिबाह गर्ने र घर निर्माण गर्ने यी तीनवटा कार्य सफ़लता पुर्वक सम्पन्न गरिसक्दा निधारमा कपाल सबै झरि तालु  "खल्बाट" भै शिरको कपाल पनि सेताम्मे हिमाल जस्तैः हुँदोरहेछ र वरिष्ठ नागरिक भैसकिदो रहेछ ।

घर निर्माण कार्य भन्न जति सजिलो छ कार्यसम्पादन गर्न धेरै गाह्रो अवस्था रहेको छ । ढुंगा, गिट्टी, ईट्टा, बालुवा, छ्ड, सिमेन्ट, टायल, मार्बल, ग्रील, रेलिङ, वायरिङ, प्लम्बिङ्ग, रंगरोगन समेतका काममा धेरै थरिका मानिसहरु  र सामग्रीहरुसँगको सामिप्यता बढाउँदा धेरै अनुभवको भण्डार नै भरिंदो रहेछ । तोकिएको समय करिब सात महिनामा कार्यसम्पन्न गर्नु पनि एउटा चुनौतीपूर्ण मात्र नभै अग्निपरीक्षा नै हुँदो रहेछ । हुन् त आफै निर्माण गर्नु भन्दा बनी बनाउ घर अप्ठेरोमा परेका मानिस, घर निर्माण व्यवसायीहरुवाट खरिद गर्दा लागत वा मुल्यमा कमी पर्ने रहेछ तर आफैं बनाउनुको मजा अर्कै छ आफ्नो र परिवारको रुचि र इच्छा अनुसार निर्माण गर्न पाईने, लागत बढाउनु पर्ने ठाउँमा बढाउन र घटाउन सक्ने ठाउँमा घटाउन सकिने अर्थात् खर्च नियन्त्रण र सन्तुलनको स्वअधिकार रहन्छ साथै थोरै ठाउँ र लागतमा पनि आवश्यकता र औचित्यपूर्ण रुपमा निर्माण गर्ने बिशेषाधिकार स्वयंमा रहन्छ । अब उप्रान्त पहिलो तला निर्माण गरि सक्दा होम सहित पुजा सम्पन्न भैसकेकोले अब अनुकूलको शुभ साईतमा भगवान् स्मरण र शुद्ध शान्ति गर्नुपर्ने कार्य मात्र बाँकी रहेको अवस्था छ ।

५. गृह निर्माण सँग संगै अन्य कार्यसम्पादन :

घरमै बसेर कामदार र कामदार  सरोकारवाला पक्षसँग खटनु पर्ने हुनाले सेवामा रहे जस्तो उल्लेख्य कार्यसम्पादन हुन सक्ने अवस्था रहेन । पारिवारिक रूपमा महत्वपूर्ण राष्ट्रिय चाडपर्व मनाउनु आफ्नै घरमा आरामले रुखा सुखा खानु, आफ्ना अन्तरंग आफन्तहरू सँग समदुरीमा भेटघाट गर्नु,  आफ्नै अत्यन्तै नजिकका तिर्थस्थल मठ मन्दिर दर्शन गर्नु, घर खेतीपाती व्यवस्थापन जस्ता नियमित कार्यहरु अलावा यश बिचमा केहि वकिल साथीहरू सँगको सामान्य भेटघाट, महिला अधिकार मञ्च सल्यानको आयोजनामा स्थानीय तह सरुमारानी गाउँपालिका, प्युठानका कर्मचारीहरू लाई पाँच दिनको प्रशिक्षण कार्यको सहजीकरणका साथै हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग सम्मका महत्वपूर्ण कार्यसम्पादन गरियो । अलिकति फुर्सदको समयमा सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर हेण्डल र मेरो आफ्नै ब्लग्स्पोट् वाट साहित्यका रचना एवम् विभिन्न आलेख, बिचार प्रस्तुत गरिरहेको छु । संगठित र संस्थागत नभै व्यक्तिगत रुपमा प्रस्तुत गर्ने हुँदा पाठक वा अनुयायी खासै छैनन् भन्दा हुन्छ तर लेख्ने बिषय कसैको लागि नभएर आफ्नो अनुभव, दृष्टिकोण, ज्ञान र सीप अनुरुप हुने र पाठक तत्काल मात्र नभई लामो समयसम्म देखिने हुँदा सन्तुष्टिको बिषय बन्छ तर पहिला पत्रपत्रिकामा दिने गरेपनि पत्रपत्रिकाको व्यापारिक मनस्थिति र विश्वसनियता नभएकै कारणले अनलाईन राजनीतिकृत, व्यापारिक वा गठबन्धन पत्रिकामार्फत भन्दा स्वतस्फूर्त आफ्नै ब्ल्ग्स्पोट्मा प्रकाशन गर्ने गरेको छु ।

६. अन्त्यमा

नेपाल सरकारको लामो सेवामा विभिन्न कार्यालय, क्षेत्रीय, बिभाग,  केन्द्रियस्तरका कार्यालय, मन्त्रालय  र स्थानीय तह समेतको अनुभव कुशलता पुर्वक हाँसिल गरि अनिवार्य अवकाशप्राप्त भैसक्दा समेत पनि नेपाल सरकारले कुनै रोष्टरमा सूचीकरण गरि नराख्नु, कमसेकम निवृत्त भरण प्रदान गर्ने राष्ट्रसेवक कर्मचारीलाई उनको योग्यता क्षमता अनुरुप परिचालन गर्न नसक्नु, चाकडी, चाप्लुसी र दलीय राजनीतिक वृतमा गणेश भक्ति गर्नेहरुको मात्र महत्व हुनु, योग्य, सक्षम राष्ट्रसेवक कर्मचारीहरुको महत्व नबुझ्नु मात्र होईन सरकारको अदुरदर्शिता एवम् विडम्बना हो । हुनत राज्य प्रशासनको स्थायी संयन्त्र परिचालन गर्ने संघीय निजामती सेवा ऎन समसामयिक परिवर्तन नभै लामो समय सम्म कार्यान्वयनमा लैजान नसक्ने सरकारसँग हामी जस्ता रस निचोरिएका छोक्रा बोक्राहरुको ज्ञान, सीप, क्षमता, अभिवृत्ती र अनुभवको प्रयोग हुन सकेन भन्नू केवल निरिह प्रलाप मात्र हुनेछ ।

🙏 धन्यवाद 🙏

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल ।

Comments