३८७. खाद्य सुरक्षा

                     

✍️ वसन्तराज अधिकारी 

                                                                                    खाद्य सुरक्षा

सबै मानिसको पर्याप्त मात्रामा पोषणयुक्त खाद्य पदार्थ माथिको आर्थिक, सामाजिक र भौतिक पहुँच, उपलब्धता र उपयोगको सुनिश्चितताको अवस्था खाद्य सुरक्षा हो ।सबैले खान पाउनु पर्छ, खाद्य अभावमा कसैको पनि ज्यान जोखिममा पर्नु हुँदैन र उपलब्ध खाद्यवस्तु स्वास्थ्यका दृष्टिले स्वस्थ्य अनि पोसिलो हुनु पर्छ भन्ने मान्यता खाद्य सुरक्षाको हो ।

खाद्य सुरक्षाको अवधारणा सन १९७० को दशकमा विकसित भएको हो । सन १९७४ मा भएको विश्व खाद्य सम्मेलनले खाद्य सुरक्षालाई उत्पादन मूल्यमा हुने घटबढ र खाद्य उपभोगमा हुने वृद्धिलाई धान्न सक्ने आधारभूत खाद्य वस्तुको सबै समयमा हुने विश्वव्यापी आपूर्ति भनी परिभाषित गरेको छ ।

सन १९८३ मा विश्व खाद्य तथा कृषि सङ्गठनले प्रत्येक व्यक्तिलाई आवश्यक परेको हरेक समयमा आधारभूत खाद्यान्नमा भौतिक आर्थिक पहुँच हुनुपर्नेमा जोड दिएको छ ।
नेपालको सन्दर्भमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ ले सक्रिय र स्वस्थ्य मानव जीवन यापन गर्न आवश्यक हुने खाद्यमा प्रत्येक व्यक्तिको भौतिक तथा आर्थिक पहुँच सम्झनुपर्छ भनी परिभाषित गरेको छ ।

खाद्य सुरक्षाका चार आधारस्तम्भहरु
• आन्तरिक वा बाह्य जसरी भए पनि खाद्य आपूर्ति भएको हुनु पर्दछ
• उपलब्ध खाद्यान्न सबै व्यक्तिहरूको पहुँचमा हुनुपर्छ
• खाद्य पदार्थमा भएको पोषक तत्त्वहरूको सही उपयोग हुनु पर्दछ
• खाद्यको उपलब्धता, पहुँच र उपयोगमा स्थिरता हुनु पर्दछ ।
तसर्थ खाद्य सुरक्षाले खाद्यान्नको उपलब्धता, सो माथिको सबै व्यक्तिहरूको पहुँच, खाद्य वस्तुको सही उपयोग र यी सबै पक्षहरूको स्थिरता वा निरन्तरतामा जोड दिएको हुन्छ ।
नेपालमा खाद्य सुरक्षाको अवस्था
नेपाल कृषि प्रधान देश हो । यहाँका करिब ७४ प्रतिशत मानिस कृषि पेसामा आबद्ध छन् । कृषि मुलश्च जीवन भने झैँ कृषि नै यहाँको जीवन निर्वाहको मूल आधार हो र खाद्य सुरक्षाको मुख्य जग । तसर्थ कृषि व्यवसायमा आधारित यहाँको खाद्य सुरक्षाको अवस्था देहाय अनुसार उल्लेख गरिएको छः
• नेपालको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा कृषि क्षेत्रको योगदान रहेको छ
• सन् २०१९ मा विश्वका ११७ देशको सूचिमा भोकमरी सूचकांकमा ७३ औँ स्थानमा रहेको छ
• आर्थिक सर्वेक्षण अनुसार कृषि क्षेत्रको वार्षिक वृद्धिदर औसत ३.२ प्रतिशत रहेको छ
• धान, मकै, गहुँ, कोदो यहाँको प्रमुख खाद्यबालीहरु रहेका
• विगतमा निर्यात हुने गरेको कृषि वस्तुहरू पछिल्लो चरणमा आयात हुने अवस्थामा छ
• विश्व खाद्य कार्यक्रमको प्रतिवेदन अनुसार नेपालमा ३७ लाख मानिस खाद्य असुरक्षाको स्थितिमा रहेको देखिन्छ
• करिब ४० जिल्लाहरूमा खाद्य न्यूनता रहेको देखिन्छ
• हिमाली र पहाडी भागमा खाद्यान्न उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था छ
• खाद्यान्न उत्पादनको हिसवाले सबैभन्दा असुरक्षित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेको देखिन्छ ।

Comments