३३२. निजामती सेवा भित्र नियाल्दा: अवकाशप्राप्त अनुभुति - १ (एक)

निजामती सेवा भित्र नियाल्दा:  अवकाशप्राप्त                                              अनुभुति - १ (एक)

✍️ वसन्तराज अधिकारी
                          घोराही उपमहानगरपालिका, दाङ
                           @ कीर्तिपुर, काठमाण्डौं, नेपाल 


सिङ्गो मानव जीवनको कालखण्ड
व्यतीत गर्नु निजामती सेवा जागीरमा ।
अरुको देख्दा राम्रो सजिलो जस्तो
मोजमस्ति, धाक रवाफ जस्तैः लाग्ने ।।

तर !

स्वयं इमानदारी र कर्तव्यबोध भै गरिखाने
साँच्चिकै देखे जस्तो  कहाँ कस्लाई ?
कहिले हुन्थ्यो र भोगाइ  ?? ।।१।।

जे होस् करिब चारदशकको एउटा
लामो यात्रावाट विश्राम लिंदा ।।
मन मस्तिष्कमा सुदुर अतित देखिका
सुन्दर र मिठा२ चित्र र चरित्रहरु
नाचिरहेका छन् मन  मस्तिष्क भरी२ ।।२।।

कहिलेकाही निजामती पोशाकमा
ठाँटिएर कार्यालय जान लागेका
युवा युवतीहरु देख्दा लाग्छ ।
ओहो ! म साच्चिकै बूढो भएछु
र त राज्यको सुविधा सहित
निवृत्त अनिवार्य अवकाशप्राप्त भए ।।३।।

हामीले अर्थात् मेरो पुस्ताले सेवा प्रवेश गर्दा
चालिसको दशकमा यो पोशाक कहाँ थियो र ?
आफुखुशी पोशाकमा गैईन्थ्यो ! आईन्थ्यो !! ।
अझ भनौं समयको पावन्दी पनि थिएन
आफुखुशी स्वेच्छिक समयसारिणि  थियो ।।
शिक्षा मन्त्रालय केशमहलमा ०५७/५८ तिर
कोही दिनको १२ बजे कार्यालय जाने र
कोही १२ बजे फर्किने वातावरण थियो  ।।
नेपाल सरकार, राष्ट्रिय सतर्कता केन्द्र र
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
सामान्य सक्रियता पछि मात्र
सामान्य सुधारको गुन्जाईस देखियो ।।४।।

कोहि दिनभर मरि२  काम गर्ने
कोहि कार्यालयवाट ठगी२  हिडने ।
फ़ेरि जो ठग उसैले सेवा सुविधा
बढी बढी अजमाउन पाउने ।।
हुनत यो विडम्बना अहिलेसम्म पनि
सबैतिर हराएको छ जस्तो लाग्दैन ।
राजनीतिक झण्डाको आशीर्वाद र
कामचोरको कार्यालयमा बोलबाला
भैरहेको यत्रतत्र  सर्वत्र देखिन्छ ।।५।।
दैनिक हाजिरीमा पद्धति बसाल्न
बिद्युतीय हाजिरी पद्धति भित्र्याईए ।

परन्तु !

कोरोना भाईरसको कहरको बहानामा
त्यही पनि सरकारी कार्यालयमा प्रयोग बिहिन ।
समयानुकूल फेसस्केच वा पामस्केच
प्रयोगमा ल्याउन अनिवार्य भैसक्यो ।।
यथार्थ लेख्दा तितो हुन सक्छ ।
आफ्नो भुग्तमान अनुभुति हो यथार्थ
अहिले पनि कतिपय कार्यालयमा
बाह्र बजे आउने र एक बजे फ़र्कनु
काम चोर कर्मचारीको नियति रहेको छ ।।६।।

सार्वजनिक संस्थान बैंकिङ र निजीक्षेत्र
अनलाइन प्रविधि मैत्री स्वरुपमा ।
अगाडी बढिरहेको देखिन्छ ।।
यसले एकातिर काममा छिटोछरितो ।
चुस्त दुरुस्त साथै गतिशीलता ।
एकातिर ल्याएको पनि छ ।।

तर,

अभिभावकत्व निजामती सेवा भित्र
प्रविधि मैत्री कानुन कार्यविधिमा
सिमित प्रयोग भएका छन् भन्दा ।
सायद अत्युक्ति पनि नहोला ।।
आफ्नै तीसौं बर्षको अनुभवको
भुक्त भोगाइ पनि हो भन्नै पर्छ ।।

जागीरलाई निवृत्त भरण "पेन्सन" जस्तैः
कामै नगरि खान पल्केका
भाग्यमानीहरु कति छन् कति !!
ढाडे बिरालाको घाँटीमा कुन मुसाले ?
घण्टी झुण्डाउने होला  भन्ने कथा जस्तैः ।।७।।

यस्तो गलत अभ्यास सुधार्न
कार्यालयमा काम गरुँ गरुँ लाग्ने
स्वस्थ्य वातावरण निर्माण गर्न ।
प्रथमतः मन्त्रालयका सचिव
विभागका विभागीय प्रमुख र
कार्यालयका कार्यालय प्रमुखवाट
निस्संदेह  शुरुआत गर्नुपर्छ ।।८।।

यस्तो कस्ले कसरी  गर्ने ?
उपाय पनि सहज र सरल छ ।
अनुगमन मुल्यांकनका लागि
अवकाशप्राप्त बिज्ञ कर्मचारीहरु
समेतलाई समेटी एउटा तटस्थ
स्वतन्त्र नागरिक संयन्त्र
कानुनतः गठन गरिनुपर्छ ।।८।।

निजामती सेवाको अवकाशप्राप्त पश्चात्
मात्र होईन स्वअनुभुति अन्तर्मनको ।
अन्तरह्रदयवाट राज्यलाई अझै केही  
योगदान गरौं गरौं लाग्दो रहेछ ।
तर के गर्ने इमानदारीता योग्यता क्षमता
भएर  मात्र अवश्य पनि केहि गर्न
कहाँ सहज र अनुकूलन छ र ? ।।९।।

मैले भन्न खोजेको नाफामुलक
व्यापार व्यवसाय त होलान् ।
गैरसरकारी संस्थाका नाममा भर्तिकेन्द्र
पनि नभएका पनि त होईनन् ।।
तर ! सेवामुलक भन्नू त साहित्य, कला र बिज्ञान
त्यतातिर राज्यका बौद्धिक सम्पत्तिको
उपयोग भएको भए !  साच्चै अरु मुलुक भन्दा
यति पछाडि कहाँ परिन्थ्यो पारिन्थ्यो र ? ।।१०।।

निजामती सेवाका कर्मठ अधिकृत वा
सो भन्दा माथिल्लो स्तरका ।
कर्मचारीहरुको रोष्टर वा सुचीपत्र
राख्नुपर्थ्यो राज्य संयन्त्रवाट ।
यो कहाँ देख्छन् र राजनीतिक दलका
हनुमानजीहरुलाई जागीर दिनुपर्छ ।
खरिदार सुब्बास्तरमा अयोग्यहरुलाई
अधिकृत वा सो भन्दा माथी राख्नुपर्ने
यही हो हाम्रो नियति र बिडम्बना ।।११।।

राजनीतिक नेतृत्व र मनोनीत पदमा
राज्यकोषबाट सेवा सुविधा पाएपनि ।
बृद्धअबश्था पितामह हुँदासम्म  झुण्डिरहने ।
अर्कोतिर स्थायी संयन्त्र कर्मचारीतन्त्र
निजामती कर्मचारी अनुभवी पाको भै
अन्ठाउन्न बर्षमै अवकाशप्राप्त हुनुपर्ने ।।
सयौं बर्ष पुरानो राणाकालीन अवशेष
बाँकी बक्यौता रहँदासम्म कसरी लिन्छ ?
राष्ट्रले बिकासमा उन्नतिशील र गतिशीलता ।।१२।।

सुत्रधार दृष्टान्त  मात्र दिएको छु याहाँ
ए ! राज्यका चौथो अंग पत्रकार महोदय ।
अनलाइन खबर युटुब आदि इत्यादि पत्रकार
यो गहन बिषयमा कलम चलाई राज्यलाई
अब झक्झकाउन ढिलाई भैसकेन र !
संघीय प्रदेश स्थानीय तह निजामती कानुन
अझै कति मृत्यु शैया "कोमा" मा राख्ने ?? ।।१३।।

✍️ वसन्तराज अधिकारी
अधिवक्ता तथा
नेपाल सरकारको अवकाशप्राप्त उपसचिव
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल
[शनिबार ३० श्रावण २०७८ शुभम्]

Comments