३२५. नेपाली समुदायको मौलिक सांस्कृतिक चाडपर्व गाईजात्रा अर्थात् सापारु : संक्षिप्त परिचय

नेपाली समुदायको मौलिक सांस्कृतिक चाडपर्व गाईजात्रा अर्थात् सापारु : संक्षिप्त परिचय

✍️ लेखन तथा सम्पादन : अधिवक्ता श्री वसन्तराज अधिकारी
                      सन्दर्भ स्रोत : गुगल विकिपिडिया 
 

१. परिचय :

गाईजात्रा अर्थात्  नेपाल भाषामा सापारु काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ सापारु पर्व मनाईन्छ । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । मुलतः  नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न स्थानहरूमा धुमधामका साथ मनाइने गरिन्छ ।

२. सापारु नामाकरण विशेष :

अन्य नाम - गाई जात्रा
समुदाय- नेवाः
प्रकार- सांस्कृतिक
पर्वहरू- मृतकको सम्झनामा झाँकी, व्यङ्ग्यात्मक कार्यक्रम
मिति- नेपाल सम्बत गुंलागाः पारु,  भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदा बि.सं. २०७८ भाद्र ०७ गते सोमबार तदनुसार सन् २०२१ अगष्ट २३ का दिन परेको छ ।
'सा' भन्नाले नेपालभाषामा 'गाई' भन्ने बुझिन्छ र 'पारु' भन्नाले 'प्रतिपदा' ।

३. ऐतिहासिक पृष्ठभूमि :

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो परिवारका मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु भनि आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यसै बेलादेखि प्रचलनमा आएको सापारु हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा यद्यपि रहेको छ ।

४. सापारु मनाउने विधि

सापारु भनेर मनाउने यस सांस्कृतिक पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको चिर शान्तिका लागि यो सापारु पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवङ्गत भएका आफन्तको सम्झनामा सापारुका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वका क्रममा प्रहसन सामाजिक, राजनीतिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोराजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ । सापारु पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ यसै गरि भक्तपुरमा पनि बिशेष प्रकारले सापारु मनाउने प्रचलन रहेको छ ।

५.  घिन्ताङघिसि र माकः प्याखङ सापारुको प्रमुख आकर्षण

हरेक ठाउँका सापारुमा केही न केही विशेषता रहेका छन् । भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण रहेका छन । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठदिनसम्म चल्दछ । गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । भक्तपुरमा सापारुका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहामचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङघिसि र माकः प्याखङ सापारुको प्रमुख आकर्षण रहेको छ ।

विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई  घिन्ताङघिसि भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ । भक्तपुरमा सापारुको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतिक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुन्छ । भक्तपुर जिल्लाकै ठिमीमा भने सापारु पर्व राँको बालेर मनाइने चलन छ ।

६. अन्य ठाउँमा सापारु

सापारुको मनाइने तरिका ठाउँ ठाउँमा फरक छन् । पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् । सापारु पर्व काठमाडौँ उपत्यकालगायत बनेपा धुलिखेल त्रिशूली दोलखा खोटाङ भोजपुर चैनपुर इलाम धरान विराटनगर वीरगन्ज हेटौँडा र पोखरामा मनाइन्छ । 

७. उपसंहार :

काठमाडौं उपत्यका एउटा धार्मिक सांस्कृतिक, मनोरञ्जनात्मक गतिविधिको आकर्षक प्रमुख केन्द्र हो । आदिवासी नेवार जातिको आफ्नै धार्मिक सांस्कृतिक प्रचलन परम्परा रीतिरिवाज विद्यमान छन् । राष्ट्रको सभ्यता, मानव बिकासको पहिचान मौलिक सांस्कृतिक धरोहरको रुपमा लिन सकिन्छ । गत बर्ष बि.सं. २०७७ सालदेखि बिश्वब्यापी महामारीको रुपमा व्याप्त "COVID - 19" कोरोना भाईरसको संक्रमण, नियन्त्रण, रोकथाम तथा उपचारमा राज्यका आम नागरिकहरुलाई अनिवार्य स्वास्थ्य सेवा राज्यको पहिलो प्राथमिकतामा सुचीमा रहेको छ । अहिले कोभिड - १९ कोरोना भाईरस विरुद्धमा खोप लगाउने (vaccination) को कार्य योजनाबद्ध तिब्र गतिमा भैरहेको सन्दर्भ र कोरोनाका नयाँ घातक भेरियन्टले दिनहुँ जसो संक्रमित, कोरोनामुक्त र मृत्युु बरणका घटनाक्रम नरोकिएको अवस्थामा स्थानीय प्रशासनले मेला, जात्रा, भिडभाड नगर्ने सूचना जारी गरि चाडपर्व सांकेतिक रूपमा मनाउने आदेश समेत गरेको छ । सदा झै नेपाल सरकारले यश बर्ष २०७८ मा पनि गाईजात्रा (काठमाडौं उपत्यका मात्र) बिदा  दिनुका अतिरिक्त सम्पूर्ण नेवार समुदायलाई सार्वजनिक  बिदा समेत दिएको छ । आफू, आफ्नो परिवार, छिमेकी, सामुदायिक स्तरमा सुरक्षीत पुर्वक सांस्कृतिक चाडपर्व गाईजात्रा अर्थात् सापारु सभ्य भव्य र सुरक्षीत साथ मनाऔं सबैमा हार्दिक शुभकामना ।

✍️ अधिवक्ता श्री वसन्तराज अधिकारी
सन्दर्भ स्रोत : गुगल विकिपिडिया
दिनाङ्क : सोमबार ७ भाद्र २०७८ शुभम् ।

Comments