२८८. प्रथम पुज्य भगवान् श्रीगणेशको जन्म प्रसङ्ग श्रीगणेशस्तुती र मङ्गल चौथी सान्दर्भिकता पुजा व्रत बिधि समेत : एक अध्ययन

प्रथम पुज्य भगवान् श्रीगणेशको जन्म प्रसङ्ग श्रीगणेशस्तुती र मङ्गल चौथी  सान्दर्भिकता पुजा व्रत बिधि समेत : एक अध्ययन  

✍️ वसन्तराज अधिकारी 
                  घोराही उपमहानगरपालिका, दाङ, नेपाल 
                        


१. गणेशस्मरण

प्रात: स्मरामि गणनाथमनाथबन्धु
सिन्दुरपुरपरिशोभितगण्डयुग्मम् ।
उद्द्ण्डविघ्नपरिखण्डनचण्डदण्ड-
माखण्डलादिसुरनायकवृन्दवन्द्यम् ।।१।।

प्रातर्नमामि चतुराननवन्द्यमान –
मिच्छानुकूलमखिलं च वरं ददानम् ।
तं तुन्दिलं द्विरसनाधिपयज्ञसूत्रं
पुत्रं विलासचतुरं शिवयो: शिवाय ।।२।।

प्रातर्भजाम्यभयदं खलु भक्तशोक
दावानलं गणविभुं वरकुण्जरास्यम् ।
अज्ञानकाननविनाशनहव्यवाह-
मुत्साहवर्धनमहं सुतमीश्वरस्य ।।३।।

श्लोकत्रयमिदं पुण्यं सदा साम्राज्यदायकम्।।
प्रातरुत्थाय सततं य: पठेत्प्रयत: पुमान् ।।

।। इति श्रीगणेश प्रात: स्मरणस्तोत्रं सम्पूर्णम् शुभम् ।

भावार्थ :

जो ईन्द्रादी देवता समेत समस्त ईश्वरका सामु बन्दनीय हुनुहुन्छ । अनाथको बन्धु हुनुहुन्छ । जसको शरीर रातो वर्ण  सिन्दूर समान शोभनीय छन् । जो उद्दण्ड (बलशाली) विघ्नबाधा लाई खण्डन गर्नका लागि प्रचण्ड दण्डस्वरुप हुनुहुन्छ । उनै श्रीगणेशजी को म प्रात:कालमा स्मरण गर्दछु । जो ब्रह्माले पनि वन्दना गर्नुहुन्छ । आफ्नो सेवक उसको इच्छा को अनुकूल पूर्ण वरदान दिनुहुन्छ । हे गणनाथ सर्प हजुरको यज्ञोपवीत ((जनै) हो । योग्य खेलाडी  श्रीशिव-पार्वती को पुत्र श्रीगणेश जी को म कल्याण प्राप्ति को लागि प्रात:कालमा नमस्कार गर्दछु । जो आफ्नालाई अभय दान गर्नुहुन्छ । भक्तहरुको  शोकरुपी बनका लागि  दावानल (वनाग्नी) हुनुहुन्छ । गण को नायक हुनुहुन्छ । जसको मुख श्रेष्ठ हात्ती को समान छ र जो अज्ञान रूपी वन को नष्ट गर्नको लागि अग्नि हुनुहुन्छ । उनिहरुलाई साहस बढाउने  वाला शिवसुत (शिव पुत्र) को म प्रात:कालमा भजन गर्दछु । जो पुरुष प्रात: समयमा उठेर संयतचित्तले यि तीन पवित्र श्लोकका नित्य पाठ गर्दछन् । यी श्लोकहरुले उनीहरुलाई सर्वदा साम्राज्य प्रदान गर्दछन् ।

२. गणेश चौथी वा मंगल चौथीको सन्दर्भ :

हाम्रो संस्कृतिमा भगवान् गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने परम्परा छ । गणेशको चर्चा वैदिक वाङ्ममय र पौराणिक साहित्यका साथै दर्शन र संस्कृतिमा यत्रतत्र भएको भेटिन्छ । भगवान् गणपति मङ्गलकारी शुभफल प्रदाता र अमोघ लाभदाता हुनुहुन्छ । श्रीगणेशजीको पूजाबाट भक्तका समस्त सङ्कट र कष्ट समाप्त हुन पुग्छन्। भगवान गणेश चतुर्थी तिथिका दिन प्रकट हुनुभएको थियो । श्रीगणेशजी प्रकट भएको दिन मङ्गलबार र चतुर्थी तिथिको संयोग थियो । त्यसैले यस्तो संयोगलाई भगवान् श्रीगणेशको पूजा आराधना र प्रसन्नताका निम्ति अत्यन्तै महत्त्वपूर्ण तिथिका रूपमा लिइएको हो । मङ्गल चौथीलाई 'मङ्गलचतुर्थी' र 'अङ्गारकी चतुर्थी' पनि भन्ने गरिन्छ ।

ज्योतिषशास्त्रमा मङ्गलबारको प्रतीकात्मक सम्बन्ध मङ्गल ग्रहसँग रहेको मान्यता छ । त्यसैले मङ्गलबारलाई भगवान् गणेशको प्रियतम दिवस मानेर हप्तै पिच्छे श्रीगणेशको उपासना गर्ने परम्परा पनि विद्यमान छ । मङ्गल ग्रहको उत्पत्ति पृथ्वीबाट भएको हो । पृथ्वीको सन्तान भएकाले मङ्गल ग्रहलाई "भौम" पनि भनिन्छ । मंगलबार र मंगलग्रहका अधिदेवता भगवान् श्रीगणेश नै हुन् । त्यसैले भगवान् श्रीगणेशको जन्मतिथि चतुर्थी मङ्गलबार पर्दा यो दिन अझ महत्त्वको हुन गएको हो । भगवान् श्रीगणेशको उत्पत्ति र मङ्गल ग्रहको उत्पत्तिसित जोडिएको चतुर्थी तिथिका बारेमा भिन्न भिन्न पुराण र ग्रन्थहरूमा बेग्लाबेग्लै कथाप्रसङ्ग र क्षेपकहरू भेटिन्छन् । कतिले मङ्गल चौथीलाई भगवान् गणेशकै जन्मदिन र कतिपयले मङ्गल ग्रहको उत्पत्ति भएको प्रसङ्गसित जोडेको पनि पाइन्छ । कथाका अन्तरविषयमा भिन्नता देखिएपनि तिनले यस दिनको महत्तालाई नै उपस्थापन गरिएको प्रसङ्गमा भने समानता पाइन्छ । यस बारेमा प्राप्त बेग्लाबेग्लै कथा वृत्तान्तको सार तत्व निम्नलिखित अनुरुप रहेको छ -

३. भगवान् गणेशको जन्मप्रसङ्ग

गणेशपुराणको उपासना खण्डमा भगवान् श्रीगणेशको जन्मवृत्तान्त छ । यस वृत्तान्तमा बताइए बमोजिम श्रीगणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको हो । प्रत्येक वर्ष यस दिनलाई 'गणेश चौथी' भनेर मान्ने गरेको पाइन्छ। सामन्यतया नेपाली परम्परामा यो पर्व तीजको भोलिपल्ट र ऋषिपञ्चमीको अघिल्लो दिन पर्ने गर्दछ । भगवान् श्रीगणेशको जन्म भएको उक्त दिन मङ्गलबार नै थियो भन्ने विश्वास गरिन्छ, त्यसैले चतुर्थी र मङ्गलबारको संयोग भएको दिनको महत्ता बढेको हो भन्ने विश्वास छ।

४. मङ्गल ग्रहको जन्मप्रसङ्ग

पौराणिक ग्रन्थमा मङ्गल ग्रहलाई पृथ्वीको छोराका रूपमा लिएको पाइन्छ । कथाबमोजिम भारद्वाज मुनि र पृथ्वीका पुत्र मङ्गलको जन्म चतुर्थी तिथिमा नै भएको थियो भने उनले सिद्धि प्राप्त गरेको दिन पनि चतुर्थी तिथि नै थियो । मङ्गल ग्रहको जन्मपछि उनले आँफुले ज्ञान, सिद्धि र प्रतिष्ठा प्राप्त गर्न कठिन तपस्या गरे । उनको उक्त प्रयासबाट भगवान् श्रीगणेश प्रसन्न भए र मङ्गल ग्रहले श्रीगणेशजीबाट वरदान पाए । यसरी मङ्गल ग्रहले श्रीगणेशजीको दर्शन पाएको र वरदान प्राप्त गरेको दिन माघ कृष्ण पक्षमा पर्ने चतुर्थी (माघ कृष्ण पक्ष चतुर्थी) तिथि थियो । त्यस दिन ग्रह एवं नक्षत्र जसका अंश हुन्, ती गजानन श्रीगणेशको वरदानबाट मुनिकुमार मंगललाई मङ्गल ग्रहका रूपमा आकाशमण्डलमा विशिष्ट स्थान प्राप्त भयो । भगवान् श्रीगणेशले मङ्गल ग्रहलाई आशीर्वाद र वर दिंदा भनेका थिए 'मंगलबार र चतुर्थीको संयोग भएको दिन जसले श्रीगणपतिको अनुष्ठान र भक्ति गरी व्रत लिन्छ उसका समस्त कष्ट एवं विघ्न समाप्त हुनेछन् र उनको महत्त्व अझ बढ्ने छ'।

५. भगवान् शिवबाट गणेशजीलाई प्राप्त वरदानको सन्दर्भ :

एउटा अर्को कथा सन्दर्भ अनुसार भगवान शङ्करले गणपतिसित प्रसन्न भई प्रत्येक मङ्गल चतुर्थीका दिन चन्द्रमा 'मेरो सिरबाट सरेर तिम्रो सिरमा सुशोभायमान हुनेछन्' भनी वर प्रदान गर्नु भएको थियो । त्यसैले मंगलचौथी वा अङ्गारकी चतुर्थी परेको विशिष्ट दिनमा श्रीगणेशको उपासना र व्रत सम्पादन गर्नाले व्यक्तिमा जानी नजानी अर्जित र सञ्चित हुन पुगेका कायिक, वाचिक र मानसिक तीनै किसिमका पापको नाश हुनुका साथै त्यस्ता तीनै खालका तापको हरण समेत हुने गर्दछ । यस तिथिका दिन जसले श्रद्धाभक्तियुक्त भई नियमनिष्ठापूर्वक श्रीगणेशको पूजा गर्दछ उसले मनोवाञ्छित फल प्राप्त गर्दछ, साथै सन्तान नहुने दम्पत्तिले सविधि गणेशजीको उपासना गर्दा सन्तति लाभ गर्दछ भन्ने आशीर्वाद भगवान् शिवबाट प्राप्त भएको कथाको सन्दर्भ पनि मङ्गलचौथीकै महात्म्य उल्लेख गर्दा बताउने गरिन्छ।

माथि उल्लेखित विभिन्न सन्दर्भले समेत मङ्गल चौथीको वैशिष्ट्यलाई उजिल्याएको देखिन्छ। त्यसैले भगवान् श्रीगणेशका भक्तहरू प्रत्येक चतुर्थीका दिन अति श्रद्धाका साथ व्रत लिने गर्दछन् । कतिपय भक्तहरूले महिनै पिच्छे शुक्लपक्षको र कतिले कृष्णपक्षको चतुर्थीका दिनलाई बढी महत्त्व दिने गरेको पाइन्छ । कृष्णपक्षको चन्द्रोदयरहित चतुर्थीलाई पापनाशक चतुर्थी र शुक्लपक्षको चन्द्रोदययुक्त चतुर्थीलाई संकष्टी चतुर्थी भनिन्छ। धर्मग्रन्थहरूमा चतुर्थीका दिन विधिवत् व्रत गर्नाले मङ्गलमूर्ति श्रीगणेश तत्काल प्रसन्न हुनुहुन्छ र यस दिन मंगलबार परेको बेला विधिवत् व्रत सम्पादन गर्नाले वर्षभरिका चतुर्थीको व्रतको सम्पूर्ण पुण्य प्राप्त हुन्छ भनेर बताइएको छ ।

मङ्गल चौथी भगवान् गणेशको आराधना गर्ने पवित्र दिन हो । यस दिन प्रात:कालमा स्नानादिबाट निवृत्त भई पवित्र वस्त्र धारण गरेर भगवान् श्री गणपति सहित भगवान् शिव र माता पार्वतीको पूजा गर्ने चलन छ । त्यस दिन भगवान् श्रीगणेशको प्रसन्नताका निम्ति यस दिन दिनभरि भजन कीर्तन गर्ने र श्रीगणेश स्तोत्र वा गणेश अथर्वशीर्षको पाठ समेत गर्ने गरिन्छ । साँझमा चन्द्रमा झुल्किएपछि मुसा वाहनमा सवार भएका, हातमा परशु (बन्चरो) र पाश (पासो) धारण गरेका श्रीगणपतिको मूर्तिलाई प्राणप्रतिष्ठा गरिन्छ । प्राणप्रतिष्ठा गर्दा ब्राह्मणद्वारा मन्त्रोच्चारण पूर्वक गराउने चलन पनि छ, तर आफैंले जौ, तिल, कुश, अक्षता, चोखो पानी आदिको मिश्रणबाट तिलानी बनाई मानसिक रूपले सङ्कल्प गरी त्यस तिलानीमा रहेको कुसको टुक्रो र अक्षता हातमा लिई भगवान् श्री गणेशको मन्त्र उच्चारण गर्दै अक्षता र कुशको टुक्रो मूर्तिमाथि राखेर गणेशको आध्यात्मिक उपस्थिति आँफुले स्थापना गरेको मूर्तिमा रहोस् भन्ने कामना गर्नुपर्छ । भगवान् श्रीगणपतिको प्राण प्रतिष्ठा गरेपछि फूल, अक्षता, चन्दन, अबिर (रोली), कुमकुम, दुबो, माला आदिद्वारा विविध सामग्री त्यस मूर्तिमा चढाएर पूजा गर्नुपर्दछ । मङ्गल चौथीका दिन श्रीगणेशको पूजासँगै चन्द्रमा र मङ्गल ग्रहको पूजा गर्दा अति शुभफल प्राप्त हुने र मङ्गलदायी हुने विश्वास गरिन्छ । त्यसैले मङ्गल चौथीको व्रत लिने व्यक्तिले त्यस दिन भगवान् गणपतिको पूजा गरेपछि चन्द्रमा र मङ्गल ग्रहको समेत पूजा गरी अर्घ्य दिनुपर्छ । श्रीगणेशलाई लड्डुको भोग लगाउनु पर्दछ, अनि सपरिवार श्रीगणेशको आरती गरी प्रसाद वितरण गर्नुपर्दछ र मङ्गल चौथीको व्रत समापन हुन्छ ।

६. श्रीगणेशको स्तुति

ॐ यं ब्रह्म वेदान्तविदो वदन्ति
परं प्रधानं पुरुषं तथाSन्ये ।
विश्वोद्गते: कारणमीश्वरं वा
तस्मै नमो विघ्नविनाशनाय ।।
खर्वं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं
प्रस्यन्दन्मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम् ।
दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरं
वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम् ।

भावार्थ :

हे आदिदेवता ॐ कार स्वरुप हजुर परब्रह्म वेद वेदान्त सम्पुर्ण शास्त्रहरु द्वारा बर्णित हुनुहुन्छ । हजुर प्रधान देवता जो ज्ञानको माध्यमवाट मात्र जान्न सकिने परम पुरुष स्वरुप  हुनुहुन्छ । विश्व जगतको सृष्टि र प्रलयको कारण हुनुहुन्छ । हजुर स्थुल शरिरमा जो होचो र मोटो शरीर भएको हुनुहुन्छ, जसको गजराजको जस्तै अनुहार र लामो भुँडी छ, जो सुन्दर देखिनुहुन्छ तथा मदको सुगन्धले लोभिएका भँमराले चाट्नाले जसको गण्डस्थल चञ्चल हुँदैछ, दाँतको चोटले विदीर्ण भएका शत्रुगणको रक्तद्वारा सिन्दूर झैं शोभा धारण गर्नुहुने, कामनाका दाता एवं सिद्धि प्रदान गर्नुहुने पार्वती पुत्र गणेशको म वन्दना गर्दछु ।

७. श्रीगणेश चतुर्थीको सान्दर्भिकता :

सनातन हिन्दु धर्मावलम्बीहरुमा श्रीगणेशजी प्रथम पुज्यकारुपमा लोकमा प्रसिद्ध हुनुहुन्छ । माता पार्वती र पिता श्री महादेवका सुपुत्र श्रीगणेशजीले बाहन मुसाको परामर्शमा आफ्ना माता पिता शिव पार्वतीलाई  ७ पटक परिक्रमा गरि कुमार लगायत अरु देवी देवताहरुलाई विस्मित तुल्याई प्रथम पुज्यको उपाधि प्राप्त गरेको कथा गणेश पुराणमा पाईन्छ । तसर्थ हिन्दु धर्मशास्त्रमा मानिसहरूले कुनै पनि सनातनी शास्त्रीय कर्मकाण्डीय बिधि पुर्वक शुभ कार्य थालनी गर्दा बिघ्न बाधा उत्पन्न नहोस्, थालिएको कार्य निर्बिघ्न सफ़ल होस् भनी कुनै पनि शुभ कर्म थालनी गर्नुभन्दा पहिले भगवान श्रीगणेशजीलाई मङ्गलका देवताका रुपमा दियो, कलश लाई साक्षी राखी पुजनादी गर्ने परम्परागत रूपमा  प्रचलन रहि आएको छ । मंगलबारलाई भगवान् श्रीगणेशजीको बारको रुपमा मान्ने प्रचलन रहेको छ । यिनै भगवान् को जन्म तिथि चतुर्थी वा चौथी पर्ने भएकाले आजको दिनलाई मंगलचौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ ।

मंगलबार भगवान् श्रीगणेशजीको व्रत उपासना गर्ने व्रतालु भक्तजनहरुले आजको शुभ पावन दिनवाट व्रत प्रारम्भ गर्ने गरेको पनि पाईन्छ । भगवान श्री गणेश शुभ फ़ल प्रदान गर्ने अग्रणी देवताको रूपमा लोकमा प्रसिद्ध हुनुहुन्छ । आजको दिन शुद्ध रहि स्नान गरि श्रद्धापुर्वक श्रीगणेशजीको व्रत लिनाले भगवान श्रीगणेश प्रसन्न भै व्रतालुहरुलाई चिताएको फ़ल प्रदान गर्ने धार्मिक मान्यता रहिआएको छ । कुनै पनि शुभकार्य गर्नुपरेमा आजको दिन उत्तम मानिन्छ । बिघ्न हर्ता तथा सिद्धी विनायकको अनुकम्पाले आजको दिन सबैको मंगलमय रहोस् भन्ने कामनाका साथ भगवान् श्रीगणेशजीका वन्दना र सङ्कटनाशनगणेशस्तोत्रम् यहाँ प्रस्तुत गरिन्छ :

८. सङ्कटनाशनगणेशस्तोत्रम्

नारद उवाच ---

प्रणम्य शिरसा देवं गौरीपुत्रं विनायकम् ।
भक्तावासं स्मरेन्नित्यमायु: कामार्थसिद्धये ।।१।।
प्रथमं वक्रतुण्डं च एकदन्तं द्वितीयकम् ।
तृतीयं कृष्णपिङ्गाक्षं गजवक्त्रं चतुर्थकम् ।।२।।
लम्बोदरं पञ्चमं च षष्टं विकटमेव च ।
सप्तमं विघ्नराजं च धुम्रवर्णं तथाष्टमम् ।।३।।
नवमं भालचन्द्रं च दशमं तु विनायकम् ।
एकादशं गणपतिं द्वादशं तु गजाननम्  ।।४।।
द्वादशैतानी नामानि त्रिसन्ध्यं य: पठेन्नर: ।
न च विघ्नभयं तस्य सर्वसिध्दिकरं प्रभो ।।५।।
विद्यार्थी लभते विद्यां धनार्थी लभते धनम् ।
पुत्रार्थी लभते पुत्रान्मोक्षार्थी लभते गतिम् ।।६।।
जपेद्गणपतिस्तोत्रं षड्भिर्मासै: फलं लभेत् ।
संवत्सरेण सिध्दिं च लभते नात्र संशय: ।।७।।
अष्टम्यो ब्राह्मणेम्यश्च लिखित्वां य: समर्पयेत् ।
तस्य विद्या भवेत्सर्वा गणेशस्य प्रसादत: ।।८।।
।। श्रीनारदपुराणे सङ्कटनाशनगणेशस्तोत्रम् सम्पुर्णम् ।।

९. मंगल चौथी पुजा गर्ने विशेष पुजा बिधि सामान्यतः यहाँ प्रस्तुत गरिन्छ :

विघ्नेश्वराय वरदाय सुर प्रियाय,
लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुति यज्ञ विभुषिताय,
गौरीसुताय गणनाथ नमोनमस्ते

भावार्थ :

विघ्नेश्वर, वरदिनेवाला, देवताहरुको पनि प्रिय लम्बोदर, कलाहरुले परिपुर्ण, जगतको हितगर्ने वाला, हात्तीको समान मुखवाला र वेद तथा यज्ञवाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे ! गणनाथ !! हजुरलाई नमस्कार छ ।

"किलौ चण्डी विनायकौं" प्रसिद्ध लोकोक्ति अनुसार कलियुगमा चण्डी, दुर्गा र विनायक श्रीगणेशजी प्रधान एवम् प्रथम पुज्य हुन् । अत: माता दुर्गा भवानी र विघ्नहर्ता गणेशजी भगवान्को महिमा हाम्रो धर्मशास्त्रहरुमा वर्णित छ । विघ्नहर्ता श्रीगणेश भगवान्लाई खुशी पार्न सके धर्म, अर्थ, काम, मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णित छ । मंगलबारको दिन चौथी तिथि पर्यो भने श्रीगणेशजीलाई प्रसन्न पार्न मंगल चौथी पर्व मनाईनुका साथै श्रीगणेशजीको पुजा आराधना व्रत प्रारम्भ सहित उद्यापन यश दिन गर्ने गरिन्छ ।

जसले यश पवित्र दिनमा ॠध्दिसिद्धी सहित श्रीगणेशजीको पुजा पाठ व्रत कथा एवम् आराधना गर्दछ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र मानसिक शान्ति पाउने र सबै कुरामा दु:ख, कष्ट, विघ्न बाधा आदि सबै प्रकारका दु:ख हराउने हुनाले यश दिन बिहानै नित्य कर्म गरेर शुद्ध चित्त भइ पुजा सामग्री तयार गर्नुपर्दछ । जसमध्ये धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिंदुर, रातो अक्षता, सौभाग्य शृंगार, नरिवल, फ़लफुल, पकवान्न, धूपवत्ती, कपुर, रातोफुल, माला, लड्डु, दुवो आदि सरजाम तयार गरेर पुर्व, उत्तर वा पश्चिम फर्किएर शुद्ध आसनमा बसि दीप  प्रज्वलन गरि दियोको आह्वान गरेर त्यसपछि दाहिने हातमा जौं, तिल, पानी, फुल, कुश वा दुबो वा द्रव्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनुपर्दछ ।

संकल्प पश्चात् अर्घ स्थापना गरि विघ्नहर्ता श्रीगणेश भगवान्को ध्यान तथा आह्वान सहित ॐ गं गणपतये नम: भन्दै सबै षोड्षोपचारले पुजा अर्चना गरिसके पछि धुप, दीप, फुल, प्रसाद, दक्षिणा गर्दै श्रीगणेशजीको पुजा गर्ने र ईशान कोणमा रहेको बरुण कलशमा सम्पुर्ण ब्रह्माण्डका देवी देवताहरुको आह्वान गरि कलश भित्र पञ्चरत्न, पञ्चपल्लव, सर्वोषधी आदि राखेर कलश माथी पुर्णपात्रो राख्ने र पुर्णपात्र माथी नरिवल, सुपारी वा सिङ्गोफल राखेर सबै उपचारले पुजा गर्दै धुप, दीप, नैवेद्य दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नुपर्दछ । पुर्णकलश बीचमा श्रीगणेशजीको प्रतिमा वा मुर्ति राखेर श्रीगणेशजीको विशेष पुजनको लागि हातमा रातो फुल रातो अक्षता लिएर ध्यान गर्दै यो मन्त्र वाचन गर्ने

बक्रतुंण्ड  महाकाय कोटीसुर्यसमप्रभ:
निर्विघ्नं कुरुमे देव सर्वकार्यषु सर्वदा ।।

यो मन्त्र सहित श्रीगणेशजीलाई रातो फुल, अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने ॐ गं गणपतये नम: भन्दै पाद्य, अर्घ, आचमनी, दूध, दहि, घिउ, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात शुद्ध जलले स्नान गराई श्रीगणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवम् भक्तिले जनै, चन्दन, टीका, रोटी, सिन्दुर, अक्षता, बस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात जौं, तिल, फुल, माला, दुबो, बेलपत्र सहित सम्पुर्ण उपलब्ध उपचारले पुजा  गर्दै श्री गणेशजीलाई ॐ गणपतये नम: भन्दै अङ्ग पुजन गरि धुप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिबल, द्रव्य दक्षिणा अर्पण गरि रातो फुल हातमा लिई प्रार्थना गरि पुष्पाञ्जली गर्नुपर्दछ ।

तत्पश्चात सम्पुर्ण उपस्थित भक्तजनहरुले श्रीगणेशजीको निराजन आरती शंख घण्ट सहित श्रद्धा एवम् भक्तिले गर्नुपर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतिलाई शितल गरि सबैजनाले आरती लिनुपर्दछ र आफ्नो मनोकामना पुर्ण होस् भनि विघ्नेश्वर श्रीगणेशजीलाई शाष्टाङ्ग प्रणाम गरि आशिर्वाद लिई प्रसाद ग्रहण गर्नुपर्दछ ।

यसरी श्रद्धा र भक्तिले गरिएको पुजावाट श्रीगणेशजी प्रसन्न भइ भक्तहरूको मनोकामना अवश्य पूरा गर्नुहुनेछ ।

१०. श्रीगणेश आरती

जय गणेश जय गणेश जय गणेश देवा ।
माता जसकी पार्वती, पिता महादेवा ।।
लड्डुको भोग लाग्छ सन्त गर्छन् सेवा ।। जय०
एकदन्त दयावन्त चार भुजाधारी ।
टाउको भरि सिन्दुर पोत्ने, मुसाको सवारी ।। जय०
दृष्टि बिहिनलाई दृष्टि दिने, कुष्ठरोगीलाई काया ।
निसन्तानलाई पुत्र दिने, निर्धनलाई माया ।। जय०
लड्डुको त भोग लगाई सन्त गर्छन् सेवा ।
हार चढ्छ फ़ल चढ्छ अनि चढ्छ मेवा ।। जय०
दु:खीलाई सुख दिने शम्भुका हौ छोरा ।
इच्छा पूरा गरिदिन्छौं जो छन् मनका गोरा ।। जय०

११. श्री गणेश बन्दना

विध्नहर्ता, शुभकर्ता, माता शक्ति लाला ।
भक्त प्रभु कै हौ हामी, विन्ति छ कृपाला ।।१।।

लामो सुँढ गजानन्, भाल चन्द्र धारी ।
शङ्ख ध्वनी घन्काउँदै, केलाश विहारी ।।२।।

बक्रतुण्ड महाकाय, कोटी सूर्य सरी ।
दुःख पर्दा सम्झीरन्छौ, तिम्लाई घरी घरी ।।३।।

शुभ कार्य सबै हाम्रा, सफल पारीदेउ ।
मानव मनको दानव भाव, सबै मारीदेउ ।।४।।

पुत्र तिमि शक्तिमाका, सत्य तिम्रा पिता ।
ऋद्धि सिद्धिका पति, कुमारजी छन् भ्राता ।।५।।

देवताका अधिपति, सर्वगुण स्वामी ।
अन्धकार मेटाईदेउ, कृपा पाउँ हामी ।।६।।

शुभलाभ पुत्र तिम्रा, शिवगण साथी ।
कृपा गर गणाघिश, हामी अनाथ माथि ।।७।।

असुर र दानवले, टाउको उठाउँदा ।
सत्यता र न्यायलाई, नष्ट गर्न थाल्दा ।।८।।

धर्मको रक्षा गरी, पाप नाश गरेउ ।
आज हामी पनि तिम्रै, शरणमा परेउँ ।।९।।

पाञ्चायन देव हौ तिमी, सज्जन हितकारी ।
सुख–सम्पति, धन–धान्यको, तिमि अधिकारी।।१०।।

कुबेरको धनको घमण्ड, पनि तोडिदियौ ।
चन्द्रमाको अभिमानलाई, निर्मुल पारी दियौ ।।११।।

फलफूल, लड्डु भोग, मेवा मिष्टान्न ।
चढाउँदा भक्त तिम्लाई, बन्दछौ प्रसन्न ।।१२।।

सरस्वती, लक्ष्मी तिम्रा दीदी र बहिनी ।
तिम्रो समिपमा रम्छन्, त्रिदेव पनि ।।१३।।

प्रथम पुज्य तिमी, भक्त देव मानव सारा ।
तिम्रो महानतालाई बुझ्न, म के सक्दछु र ? ।।१४।।

ज्योर्तिलिङ्ग लङ्कामा, स्थापित गर्न खोज्ने ।
दानवमाता कैकसीको, अहङ्कारमा बग्ने ।।१५।।

रावणजस्तो चतुरलाई, पनि छलिदियौ ।
देव, पितृ ऋषि मुनि, सवलाई शान्ति दियौ ।।१६।।

संसारमा सबै खोज्छन्, सुख शान्ति चैन ।
तिमी नै हौ गणपति, सन्तोष र धन ।।१७।।

विद्वान्लाई बुद्धि दिने, मुर्खलाई विध्न ।
कस्ले सक्छ सबै तिम्रो, गर्न नै बखान ।।१८।।

व्यासजीको गुरूत्वलाई, मुखरीत पार्ने ।
कलमले विजुलीझै, सरसरी लेख्ने ।।१९।।

सत्यलाई व्यवहारमा, प्रयोगधर्मी पार्ने ।
शक्तिलाई अनुकूल, शिरमा धारण गर्ने ।।२०।।

तिम्लाई मन पर्ने कमल, पुस्तक, कलम साथ ।
नम्रतासाथ ढोगीदिन्छौ, टेकाएर माथ ।।२१ ।।

बुद्धिबल, श्रेष्ठबल, प्रथमपुञ्ज तिमि ।
शुभकार्य तिमी विना, सफल हुँदैन नि ।।२२।।

एकदन्त लम्बोदर, मुसा तिम्रो बाहन ।
प्रकाण्ड बुद्धि तिमि, शिव पुत्र रत्न ।।२३।।

तीन त्रिलोक चौधै भुवन तिमि बिना कोही ।
सुख, शान्ति पाउने छैनन्, देव, मानव पनि ।।२४।।

जहाँ तिम्रो आराधना ध्यान हुन्छ सदा ।
शिव–शक्ति प्रकट हुन्छन्, हट्छन् सबैं बाधा ।। २५।।

मेरो राजा, मेरो प्रभु, शिव पुत्र रत्न ।
यथा शक्ति यथा भक्ति, गर्दछौ प्राथना ।।२६।।

१२. श्री पाञ्चायन देवता स्तुती

हे गौरीसुत ! हे प्रभो ! गणपते ! हे अष्टसिध्दीपते !
हे स्वामी ! गजवक्त्र ! हे गुणनिधान ! हे ॠध्दिबुध्दी पते ।। हे लम्बोदर एकदन्त ! बिजुलीझै क्या चलाक लेखन्या !
मेरा दु:ख तरफ फिरुन नजर ती संसार सब देखन्या ।।१।।

हे विष्णो ! करुणानिधे ! हरघडी लक्ष्मी संगैमा लिन्या !
हे विश्वंभर ! हे हरी नरहरी ! हेभक्तिले देखिन्या ।।
हे राधापती ! रुक्मिणीपती प्रभो ! हे जानकीका पति !
मेरा दु:ख सबै बढारिदिनुहोस बक्सिस मिलोस सुख जति ।।२।।

हे शंभो ! शिव ! हे सतिपति ! सधैं शिरमाथि गंगा लिन्या !
हे योगी हरिभक्त भक्तहरुका संताप सब नासन्या ।
हे शिर्माशशी लाउन्या मृगलिन्या तीन नेत्रले शोभिन्या ।
हे निर्वाण !अनन्यसेवकमहुँज्ञानबक्सियोस स्थिर हुन्या ।।३।।

हे राजा ग्रहका पिताजी यमका हे अन्धकार्का अरि !
हे छायापती ! हे शनिश्चर- पिता ! को छन हजुर्का सरी ।
हे श्री सुर्य जगत भरी घुमी-घुमी सबको बिचार गर्दिन्या सारा रोगहरु नाश गराईदिनुहोस् मेरो उपर दु:ख दिन्या ।।४।।

हे देवी ! दु:खनाशिनी भगवती ! हे विष्णुमाया रमा ।
हे नारायणि ! शारदे ! गिरीसुते ! दृष्टि दिनुहोस् ममा ।।
हे दुर्गे ! सब देवताकी जननी ! हे आदिशक्ति माता ।
पाउ पर्छु मलाई सिध्दी दिनुहोस् सेवक हुँ जाउँ कता ।।५।।

यो पान्चायनको स्तुति जउन जन पढ्छन घरैमा बसी । तिन्का दु:ख बिनाश गरि सुख दिनन यी देव कम्मर कसी । यी पान्चायनका चरण कमलमा शिर्लाई पैल्ये धरी ।  बिस्तार गर्छु म भक्ती श्री हरिजिकि श्लोकवद्ध भाषा गरि ।।६।।

।। श्रीगणेश अर्पणाSस्तु ।।

सन्दर्भ स्रोत सामग्री :

१. My autobiography.of श्री वसन्तराज अधिकारी fb page

२. हाम्रो पात्रो मंगल चौथी पुजा विधि ज्यो.पं. श्री नारायण प्रसाद दुलाल

३. भगवतीस्तोत्र रत्नपुस्तक भण्डार भोटाहिटी, काठमाडौं, नेपाल

४. स्थानीय र राष्ट्रियस्तरका पत्रिकामार्फत प्रकाशित आफ्नैं लेख श्री गणेश बन्दना 

५. समसामयिक अनलाइन सञ्चार माध्यमहरु

६. स्तोत्र पुष्पाञ्जली नेपाली तथा संस्कृतका अत्यन्त उपयोगी स्तोत्रहरुको संग्रह प्रकाशक : दुर्गा साहित्य भण्डार पो.ब.नं.९०९६ नेपाली खपडा, वाराणसी ।

७. गुगल विकिपिडिया ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल तथा निर्देशक, लोटस ज्योतिष तथा वास्तु परामर्श केन्द्र, इटहरी, सुनसरी, नेपाल ।

पुनश्च : माथि उल्लेख गरिएका स्रोतसामग्रीहरुको एकत्रितरुपमा संयोजन गरि अध्यात्मिक जिज्ञासा राख्ने पाठक वर्गका लागि पठनपाठन सहज तथा सरलता हेतु  अभिलेखिकरण गरिएको  व्यहोरा सहर्ष अनुरोध गर्दछु ।          📝 धन्यवाद 

✍️ सम्पादन, लेखन तथा अभिलेखिकरण :

वसन्तराज अधिकारी
अधिवक्ता                                                                              पुर्व उपसचिव, नेपाल सरकार 

Comments