३०४. सन्दर्भ दार्चुला तुईन घटना : एउटा सुदुर अतितको पुनः स्मरण (कृपया ! पुर्णविराम रहित लेखिएको संस्मरण)
सन्दर्भ दार्चुला तुईन घटना : एउटा सुदुर अतितको पुनः स्मरण (कृपया ! पुर्णविराम रहित लेखिएको संस्मरण)
📝 दार्चुला जिल्लाको एउटा गाउँ |
बि.सं. २०५० देखि २०५३ सम्म तत्कालीन सुदुर पश्चिमाञ्चल महाकाली अञ्चल अन्तर्गत जिल्ला शिक्षा कार्यालय, दार्चुलामा नायब सुब्बा अर्थात् कर्मचारी प्रशासन शाखा प्रमुखको रुपमा कार्यरत रहँदाको मेरो स्वअनुभव समय सान्दर्भिकतामा रहेको वर्तमानमा घटित दार्चुलाको "तुईन घटना र महाकाली नदीमा व्यास नगरपालिका वडा नं. २ मालघाट भन्ने स्थानमा वैदेशिक रोजगारमा भारतको बाटो गरि काठमाडौं आउन लागेका जयसिंह धामी भारतीय अर्ध सैनिक बल एसएसबीका जवानले तुईन काटिदिएर निज युवा महाकाली नदीमा बेपत्ता भएको" निजका परिवारजन समेतका प्रत्यक्षदर्शीको घटना बारे यथार्थ जानकारी भैसकेको र नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकाय अनुसन्धानमा लागिरहेको उता भारतीय अर्धसैनिक बल एसएसबीले उक्त घटना अस्वीकार गरेको सम्बन्धि समाचारमा आइरहेको बिषयमा मेरो केही अनुभव प्रस्तुत गर्न मनासिब ठानी रोचक स्मरणमा रहेको तथ्य के हो भने "महाकाली नदीको वारिपट्टी दस किलोमीटर क्षेत्रसम्म पनि भारतीय सीमा सशस्त्र बलको नियन्त्रणमा नोटिफाईड एरियाको रुपमा रहेको" जहाँ प्रवेश गर्दा आन्तरिक पास लिनुपर्ने यता तिरवाट जिल्ला प्रशासन कार्यालय र भारत तिरवाट तहसिलवाट प्रमाणीकरण गरि उपलब्ध पास अनुरुप मात्र प्रवेश पाउने जस्को अवधी हप्ता दिन, महिना दिन वा छ महिना हुने समय समयमा यो प्रवेशाज्ञा "पास" को नविकरण हुने र उक्त प्रवेशाज्ञा अंग्रेजी र हिन्दी दुवै भाषामा लेखिएको सारमा महाकाली नदी वा महाकाली सिमाको दस किलोमीटर क्षेत्र बिशेष क्षेत्र "नोटिफाईड एरिया" भएको र उक्त स्थानमा बसोबास गर्ने बासिन्दाहरुलाई जुनसुकै बखत पनि खाली गर्न सक्ने उल्लेख गरिएको उक्त प्रवेशाज्ञाको स्वअनुभवको साथै अर्को रोचक प्रसङ्ग एकपटक म टनकपुरवाट भारतीय सरकारी बस सेवा "रोडबेज" को बसमा धारचुला हुँदै दार्चुला जाँदा स्मरणरहोस् त्यतिबेला नेपालको सदरमुकाम सम्म जान पनि कञ्चनपुर वाट बनबासा टनकपुर पिथौरागढ घाट हुँदै कुमाउँ क्षेत्रवाट नेपाली भुमिमा प्रवेश बाध्यात्मक अनिवार्यता रहेको पिथौरागढ भन्दा अगाडि भुभाग क्षेत्रमा एकजना नेपालीसँग भारतीय बसको सहचालक "कण्डक्टर" ले बसभाडा मागे जहाँवाट धारचुला सम्म पुग्न भारतीय रुपैयाँ पचास रुपैया रहेको र ती नेपाली युवाले एकसय नेपाली रुपया दिएकोमा उक्त भारतीय बस सहचालकले ये क्या है ? कागजके टुकडे भनेर फालिदिएर जङ्गल क्षेत्रमा नै उक्त नेपालीलाई बसवाट उतार्न थाल्दा समेत कोहि पनि चाँ चुँ नगरेको र आँखाभरी आँसु झारेर झर्न थाल्दा मैले कण्डक्टरलाई बोलाएर भाडा कितना है ? मै दे दुङ्गा भनेर भन्दा पचास भारु है भारुमे देना भनेपछि मैले दिएपछि ति दार्चुले भाइले नेपाली एकसय मलाई दिए मैले बीस रुपैंया फिर्ता गर्दा उनको मुहार अत्यन्त कारुणिक देखिँदा बस कण्डक्टर बिजयी भावमा देखिरहँदा मैले ती दुवैको मुहार पढे एउटै बाबुआमाका सन्तान दुईभाइ नेपाली दाइ र भाइजस्ता लवज र कुमाउनी भाषा पनि मिल्ने र फ़ेरि सिमा क्षेत्रको बजारमा नेपाली रुपैयाँ पनि बराबर चल्ने अवस्थामा "भारतीय सिंहले नेपाली गाईलाई हेपेको घटना" अहिले पनि मस्तिष्क भित्र सल्वलाई रहँदा अझ एउटा कुरा ताजा याद रहेको कुरा के हो भने टनकपुर पिथौरागढ हुँदै धारचुलावाट दार्चुला जाँदा आउँदा नेपालका जिल्ला न्यायाधीश, सिडियो सापहरु भारतीय भुमिमा प्रवेश गरेपछि शिरको ढाका वा भादगाउँले टोपी झिकेर झोलामा राखी भारतीय पहिरनमा यात्रा गर्ने गरेको अन्यथा भारतीय रिक्सा, टाँगावालाले समेत वो "गोर्खे", "बहादुर", "कान्छा" भनी हेप्ने गरेको पाईने हुँदा आजभन्दा तीनदशक पहिलाको तर यद्यपि समय सान्दर्भिक प्रस्तुति यहाँलाई कस्तो लाग्यो ? राय सुझाव टिप्पणी प्रदान गर्नुहुन सादर अनुरोध गर्दछु ।
✍️ वसन्तराज अधिकारी
अधिवक्ता
घोराही उपमहानगरपालिका, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।
Comments
Post a Comment