२५१. ग्रामीण तथा शहरी बिकासको क्रममा आयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्यांकन, समस्या, चुनौती र समाधानका उपायहरू : अवधारणात्मक विश्लेषण
ग्रामीण तथा शहरी बिकासको क्रममा आयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्यांकन, समस्या, चुनौती र समाधानका उपायहरू : अवधारणात्मक विश्लेषण
![]() |
✍️ वसन्तराज अधिकारी |
१. योजना तर्जुमा (Project Formulations)
नेपालमा पनि आयोजना प्रतिपादन गर्ने सैद्धान्तिक आधार अन्तर्राष्ट्रिय प्रचलन भन्दा फरक छैन । वस्तुतः राष्ट्रिय योजनावाट जे जस्ता कार्यक्रमहरु निर्धारण गरिन्छन् तिनै कार्यक्रमको व्यापक पृष्ठभूमिमा आयोजना सम्बन्धि अवधारणा (Concept) बनाईन्छ । र आयोजनाको आवश्यकता पहिचान गरिन्छ । तर, आयोजना पहिचान मात्र पर्याप्त हुँदैन र यसको औचित्य एवम् उपादेयता निश्चित गर्न विभिन्न दृष्टिवाट अध्ययन गरिन्छ । अर्थात् सम्भाव्यता अध्ययन गरिन्छ ।
सम्भाव्यता अध्ययनमा प्राविधिक विशेषज्ञ, अर्थशास्त्री, भुगोलशास्त्री, समाजशास्त्री र प्रशासकहरु रहन्छन् । आयोजना प्रतिपादन समुहमा रहेका यी विशेषज्ञहरु मध्ये प्राविधिक पक्षले आयोजनाको उपयुक्तता र औचित्यको पुष्टि प्रविधि एवम् इन्जिनियरिङ्गको सम्पुर्णताको दृष्टिले गर्दछ ।
आयोजना स्थलको प्राविधिक पक्ष, आयोजनाको आयु, आयोजनाको लागि आवश्यक जनशक्तिको उपलब्धता, निर्माण सामग्री, मेसिन, उपकरण आदिको उपलब्धी, यि सामानहरुको बजार व्यवस्था, आयोजनाको लागि सडक, विद्युत, पानी जस्ता उपयोगिता (Utility) को स्थिति र सम्भाव्यता यि सबै पक्षवाट प्राविधिक सम्भाव्यताको पुष्टि प्राविधिक पक्षले गर्दछ ।
आर्थिक पक्षवाट अर्थशास्त्री द्वारा गरिने अध्ययनमा आयोजनाको लागि लाग्ने खर्च, खर्च जुटाउने स्रोत उदाहरणका लागि स्वदेशी विदेशी दुवै, लगानी लागत (Investiment cost) त्यसबाट हुने आर्थिक उपलब्धि, सामाजिक प्रत्यक्ष र अप्रत्यक्ष लागत, सामाजिक प्रत्यक्ष एवम् अप्रत्यक्ष उपलब्धि, जनता वा सेवाग्राहीको साधारण माग र आयोजनाको आपूर्ति स्थितिवाट आयोजनाले हाँसिल गर्ने बजारको पुष्टि गर्ने कार्य गर्दछ । त्यसैगरी अर्थशास्त्रीले वित्तीय पक्षवाट अध्ययन गर्दा लगानी फिर्ता हुने अवधि, राष्ट्रिय विकासमा यसले पुराउने योगदान आदि पनि अध्ययन गर्दछ ।
त्यसैगरी आर्थिक - सामाजिक अध्ययनको सिलसिलामा अर्थशास्त्रीले स्थानीय वासिन्दा, आयोजना प्रभावित क्षेत्रको आय (Income), उपभोग (Consumption) र बचत (Saving) को अध्ययन गरि क्रयशक्ति (Purchasing capacity) आदि पनि विश्लेषण गरि पुष्टि गर्ने र बजारको सम्बन्धमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजार समेतको अध्ययन गर्दछ ।
त्यसैगरी आयोजना पूरा भै हस्तान्तरण भएपछि लाग्ने सालवसाली खर्च, कच्चापदार्थको उपलब्धि, बजारको दुरी, ढुवानी आदिको सुविधा यि सबै पक्षवाट सम्भाव्यता अध्ययन गरि पुष्टि गरिन्छ । त्यसैगरी भूगोलशास्त्री, वातावरणविद्ले भौगोलिक दृष्टिवाट गरिने अध्ययनमा स्थानको भौगोलिक उपलब्धता, वातावरणीय अनुकुलत तथा प्रतिकुलता स्थिति स्थानको उपयुक्तता आदि पर्दछन् ।
व्यवस्थापकीय पक्षवाट गरिने सम्भाव्यता अध्ययनमा कार्यान्वयनको निम्ति संगठनको पहिचान, जनशक्ति आपूर्ति, आवश्यक पर्ने सीप र क्षमता, जनशक्ति विकासको आवश्यकता, लगानी प्रतिफल आदि दृष्टिवाट अध्ययन गरिन्छ । साथै
सामाजिक पक्षवाट गरिने सम्भाव्यता अध्ययनमा आयोजनावाट प्रभावित हुने क्षेत्रको सामाजिक संरचना, समाजको सोचाइ, मान्यता र धारणा, आयोजना सम्बन्धमा समाजको दृष्टिकोण, जनसंख्या बनौटमा आउने परिवर्तन, रोजगारीको स्थिति र समाजमा आउने सुधारको पक्षवाट सम्भाव्यता विश्लेषण गरिन्छ ।
यसरी सम्भाव्यता विश्लेषण वाट पहिचान गरिएको आयोजनाको समष्टिगत रुपमा प्राविधिक, आर्थिक, भौगोलिक, सामाजिक दृष्टिवाट पुष्टि भै सम्भाव्यता एकिन भएपछि नै आयोजना प्रतिपादन हुन्छ र आयोजना प्रस्ताव (Project Proposal) तयार गरिन्छ ।
वस्तुतः आयोजनाको ढाँचा र प्रकार अनुसार अर्थात् वृहत्, मझौला र साना आयोजनाहरु प्रतिपादन गर्ने तौरतरिका सामान्यतः नेपालमा पनि यिनै हुन् । वृहत् र मझौला किसिमको आयोजनाको प्रतिपादन गर्दा अध्ययन विस्तृत हुने र यस्तो अध्ययनमा दातृसंस्था भए उनीहरुको समेत प्रतिनिधित्व भै त्यसरी प्रतिपादित आयोजनामा राष्ट्रिय एवम् दातृ संस्था दुवैको सहमति स्वीकृति आवश्यक पर्ने हुन्छ भने स-साना आयोजनाहरुको अध्ययन संक्षिप्त तर सबै पक्ष समेटेर नै गरिन्छ ।
१.१ परिचय तथा परिभाषा
योजना तर्जुमा तथा कार्यान्वयन गरि जानकारी हाँसिल गर्नु पुर्व योजना भनेको के हो - उदाहरणका लागि स्वास्थ्य संस्था निर्माण योजना, खानेपानी तथा सरसफाइ योजना, सडक विस्तार योजना आदि हुन् । कुनै पनि योजनामा कुनै एउटा उद्देश्य (Mission) को उपलब्धि हाँसिल गर्न तर्जुमा हुन्छ । उद्देश्य पूरा भएपछि योजना समाप्त हुन्छ । उद्देश्यको शुरु अवस्था र उद्देश्य प्राप्तिको अन्तिम क्षण विचको समय दुरीलाई योजना जीवन - चक्र (Project Life Cycle) भनिन्छ । योजना निश्चित उद्देश्य (Mission) का साथ शुरुआत हुन्छ । मानव तथा सामग्री स्रोतहरु परिचालन एवम् उपयोग गरि लक्ष्य प्राप्तिको लागि विभिन्न क्रियाकलापहरुको माध्यमवाट निर्देशित हुन्छ ।
Project Management Institutes USA ले परियोजना लाई यसप्रकारले परिभाषित गरेको छ ---
"A project is a one shoot, time limited, goal directed, major undertaking requiring the commitment of varied skills and resources. It is a combination of human and non human resources pulled together in a temporary organizations to achive a specific purpose."
१.२ योजनाका विशेषताहरु (Characterstics of Plan and Project)
° उद्देश्यहरु (objectives)
° समयावधि (Time Span)
° एकल अस्तित्व (Single Intity)
° समुहगत कार्य (Team Work)
° जीवन चक्र (Life Cycle)
° अद्वितीय (Uniquiness)
° परिवर्तन (Change)
° उत्तराधिकारी सिद्धान्त (Successive Principle)
° एकता अनेकता (Unity in diversity)
° जोखिम र अनिश्चितता (Risk and Uncertainty)
१.३ योजनाका प्रकार (Types of Plan and projects)
(क) अन्तर्राष्ट्रियस्तरका योजनाहरु
(ख) राष्ट्रियस्तरका योजनाहरु
(ग) स्थानीय योजनाहरु [जिलास्तर/पालिकास्तर]
१.३.१ सामान्य योजनाहरु : योजना कार्यान्वयनको यथेष्ट समय दिईएको हुन्छ ।
१.३.२ क्र्यास परियोजना (Crash Projects) : अतिरिक्त रकमको व्यवस्था गरि परियोजना समय घटाउने प्रयास गरिन्छ ।
१.३.३ विपद् सम्बन्धि आयोजना (Disaster Project) : दैवीप्रकोपको अवस्थामा आवश्यक राहत दिन र छिटोभन्दा छिटो समयमा योजना पूरा गर्न कुनै पनि प्रक्रिया तथा आवश्यकताको पुर्ति गरि योजना सम्पन्न गर्न अनुमति दिईन्छ ।
१.४ योजनाका जीवन - चक्रका चरणहरु (Projects Life Cycle Phases)
प्रत्येक योजनाले निम्नलिखित पाँच चरणहरु पूरा गर्नुपर्ने हुन्छ :
(क) अवधारणागत चरण (Conception Phase)
(ख) परिभाषित चरण (Difination Phase)
(ग) योजना र संगठनात्मक चरण (Planning and organising phases)
(घ) कार्यान्वयन चरण (Implementation Phases)
(ङ) योजना पुर्णतः चरण (Project completion phase) or {Clean up}
योजनाको सफ़ल कार्यान्वयन तथा सफलता योजनाको उपयुुक्तता तथा राम्रो तर्जमामा भर पर्दछ । योजना तर्जुमा गर्दा योजनाको उपयुुक्तता, उपयोगिता तथा योजना कार्यान्वयन गर्दा आवश्यक पर्ने साधन, स्रोत तथा प्रविधिको विस्तृत अध्ययन हुनुपर्ने हुन्छ । योजना तर्जुमा राम्रोसँग परिभाषित नभएमा परियोजना कार्यान्वयन व्यवस्थापनमा अस्पष्टता आउनुको साथै योजनाको सफ़ल कार्यान्वयनमा बाधा पर्न जान्छ ।
योजनाको Conception Phase मा कुनै समस्याको पहिचान गरिन्छ । समस्याको पहिचान भैसकेपछी उक्त समस्या समाधान गर्नका लागि उपायहरूको खोजी गरिन्छ । प्राप्त साधन, स्रोत, प्रविधिको समुचित उपयोग गरि उपयुक्त समस्या समाधान गर्ने उपायहरूको खोजीको क्रममा सम्बन्धित क्षेत्र तथा स्थानको निरीक्षण, अवलोकन गरि संभावनाहरु तथा अवरोधहरुको पहिचान गरिन्छ ।
योजनाको अवधारणाको विकास भएपछि योजनाको सम्भाव्यता अध्ययन गरिन्छ । सम्भाव्यता अध्ययन गर्दा निम्नलिखित बिषयहरुको विस्तृत अध्ययन गरि प्रतिवेदन तयार गरिन्छ :
१.४.१ आवश्यकता (माग) पहिचान
° माग र आपूर्ति
° वितरण मुल्य
° योजना पुस्तिका
° आर्थिक सर्वेक्षण
° तथ्यांक सर्वेक्षण
° प्रतिवेदनहरु
° कच्चापदार्थ तथा स्थानीय स्रोतहरुको पहिचान
° प्राविधिक अध्ययन - उत्पादन, प्रक्रिया (knowhow human resources)
° योजना स्थलको अध्ययन :
- Land, approach to site source of raw material source an avalibility of water, electricity, availability of skilled man power, social animitives, availability of maintenance facility acceptance of the project by the local bodies.)
° योजना वाट हुन सक्ने आर्थिक तथा सामाजिक उपलब्धिहरु
° योजनाका लागि आवश्यक स्थिर र अस्थिर पुँजी तथा आर्थिक स्रोतको पहिचान
° profitability and cash flow analysis
° खर्च तथा उपलब्धिको विश्लेषण
° योजनामा आईपर्ने बाधा अडचन (project risks/constraints)
° योजनाको उपयुुक्तता बारे सुझाव ।
१.४.२ परिभाषित वा प्रारुप चरण (Defination Phase - ptoject Design Phase - project apprisal phase)
सम्भाव्यता अध्ययनको आधारमा योजनाको पृष्ठभूमि, क्षेत्र, विस्तृत विवरण, संगठन, कार्यान्वयन व्यवस्था, आर्थिक व्यवस्था, लागत अनुमान, परियोजना कार्यान्वयनको कार्यतालिका, योजनावाट हुने उपलब्धिहरु, कार्यान्वयनमा आइपर्ने सम्भावित अप्ठेराहरु र कमजोरी पक्ष आदि सम्पुर्ण विवरण समेटिने गरि योजनाको प्रस्ताव बन्दछ । उपर्युक्त आधारहरूलाई स्पष्टताका साथ प्रस्तुत गरिएको योजना प्रस्ताव, सम्बन्धित निकायवाट स्वीकृति भएपछि योजना कार्यान्वयनका लागि तयारी कार्यहरू प्रारम्भ हुन्छ ।
योजनाहरु केवल बिकासका प्रयासहरु मात्र हैनन् तर योजनाको आयाम (approach) एउटा आधारभुत वाटो हो जसले निर्दिष्ट विकास सम्बन्धि समस्याहरुलाई प्रहार (attack) गर्दछ । वास्तवमा परियोजनाका संरचना कार्यले उक्त निर्दिष्ट समस्यालाई राम्रोसँग परिभाषित गरेको हुनुपर्छ । निर्दिष्ट लक्ष्यहरु, निवेश (Inputs), संगठन, बिधि र खर्चलाई केन्द्रित गरि योजना तर्जुमा हुन्छ । योजनाका विभिन्न ईकाईहरुको तुलना, विश्लेषण, नियन्त्रण, संयोजन तथा अन्तर सम्बन्धलाई पनि योजनाको तर्जुमा गर्दा ध्यान दिईन्छ । योजनालाई जोखिम (Risk) वाट बचाउन र असफल परिणाम हुन सक्ने संभावनालाई कम गर्ने प्रयासहरु र नियन्त्रणका आवश्यक संरचना समेत योजना तर्जुमा गर्दा बिशेष ख्याल गरिन्छ ।
१.५ योजना तर्जुमाका क्षेत्रहरू (पक्षहरू)
१.५.१ प्राविधिक पक्ष
१.५.२ आर्थिक पक्ष
१.५.३ व्यावसायिक पक्ष
१.५.४ लेखा सम्बन्धि पक्ष
१.५.५ व्यवस्थापन पक्ष
१.५.६ संगठनात्मक पक्ष ।
"A well designed project is one which works and works to serve intent given the goals of the organization and purpose of the project."
📝 Russel Stout, Jr.
२. आयोजना कार्यान्वयन (Project Implementation)
२.१ योजना कार्यान्वयन गर्दा विचारणीय कुराहरु
(क) सरकारी आयोजना आफ्नै कार्यालय खडा भएर आयोजना स्वीकृत भएपछि ।
(ख) विदेशी लगानी भएका आयोजनाहरु विदेशी आयोजना कार्यालय मार्फत पनि कार्यान्वयन हुने ।
(ग) आयोजना सञ्चालन गर्दा दुई किसिमले हुने अमानत वाट र ठेक्कापट्टावाट ।
(घ) अमानतवाट संचालन हुनेमा नेपाल सरकारको आयोजना कार्यालय स्वयं नै कार्यान्वयनमा संलग्न भै कार्य गरिन्छ भने ठेक्कापट्टावाट हुनेमा आयोजना कार्यालयले आफ्नो सुपरिवेक्षण, नियन्त्रण र समन्वयनमा विभिन्न कार्यहरु ठेक्का (Contract) मा दिई काम गराउँछ ।
(ङ) विशेषतः राष्ट्रिय महत्वका र वृहत् स्तरका आयोजनाहरु जसमा वैदेशिक सहायताको संलग्नता रहन्छ तिनलाई समिति पद्धति (Committee Method) को सिद्धान्त अनुसार विकास समिति गठन गरि सो अन्तर्गत आयोजना कार्यालयको व्यवस्था गरेर नै आयोजना संचालन गर्ने व्यवस्था छ ।
(च) सामान्यतः यश किसिमको समिति आयोजनाको कार्यगत (Functional) निकाय हो । यसैको अन्तर्गत नै आयोजना व्यवस्थापन हुने र आयोजनाका कार्यहरू संचालन हुने व्यवस्था छ ।
(छ) यश किसिमको समितिमा सम्बन्धित मन्त्रालयको सचिव अध्यक्ष हुने, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, कार्यकारी बिभागका महानिर्देशक र अन्य तोकिए अनुसारका व्यक्तिहरू समितिको सदस्य र आयोजना व्यवस्थापक वा आयोजना प्रमुख सदस्य सचिव हुने व्यवस्था भएको पाईन्छ ।
(ज) स्थानीय तह जिल्ला समन्वय समिति र पालिकाहरुको बिकास सम्बन्धि आयोजना कार्यान्वयन तर्फ आयोजना वाट प्रत्यक्ष लाभ पाउने उपभोक्ता समिति (Users Committee) गठन गरि सञ्चालन गर्ने व्यवस्था छ । त्यसैगरी गैरसरकारी संघ संस्था मार्फत पनि आयोजना कार्यान्वयन र सञ्चालन गर्न सक्ने व्यवस्था रहेकोे छ ।
२.२ योजना कार्यान्वयनका लागि योजना तर्जुमा :
योजना चक्र (project cycle) को शुरु तिर कार्यान्वयनको लागि योजना बनाउने (planning) कार्यको प्रारम्भ हुन्छ । विस्तृत योजना नै परियोजनाको सफल कार्यान्वयनको प्रमुख कार्य हो । योजनाको लक्ष्य र उद्देश्यको आधारमा विस्तृत योजना (Detailed Planning) मा निम्नलिखित बिषयहरु समावेश गरिएको हुन्छन् :
(क) योजनाका पुर्वाधारहरु र कार्ययोजना
(ख) योजनाको संगठनात्मक स्वरुप तथा कर्मचारीहरु
(ग) कार्यतालिका तथा बजेट
(घ) व्यवस्थापन नियन्त्रण प्रणाली
(ङ) आर्थिक योजना (Financial Plan)
(च) कार्य आदेशका प्रक्रियाहरु
(छ) कार्यहरूको समन्वय ।
२.२.१ योजना तथा योजनाको वातावरण
मुलतः योजनाको वातावरण आर्थिक सामाजिक, सांस्कृतिक, राजनीतिक पक्षहरूसँग विशेष अन्र्तसम्बन्ध रहन्छ ।
योजना प्रवन्धकले योजना कार्यान्वयन अगाडि निम्नलिखित बिषयमा जानकारी हाँसिल गरेको हुनुपर्छ :
(क) योजना सम्बन्धि प्रतिवेदनहरु तथा अन्य योजना सम्बन्धि सामग्रीहरुको राम्रो अध्ययन गरेको हुनुपर्छ ।
(ख) योजनासँग सम्बन्धित व्यक्ती तथा संस्था सँग परिचीत हुनुपर्छ ।
(ग) आर्थिक सहयोग प्रदान गर्ने संस्थाहरु र स्रोतवारे तथा उक्त आर्थिक स्रोतको परिचालन सम्बन्धि नीति निर्देशन तथा प्रक्रिया बारे पुर्ण परिचीत हुनुपर्छ ।
२.३ योजना कार्यान्वयनमा उत्पन्न हुन सक्ने समस्याहरु
योजना कार्यान्वयन सम्बन्धि विगतका समस्याहरु बारे जानकारी हाँसिल गरि आगामी योजना कार्यान्वयनमा आउन सक्ने सम्भावित समस्याहरुको पहिचान गर्ने ।
२.४ योजनाको कार्ययोजना लाई अन्तिम चरण दिने
योजना कार्यान्वयनका लागि योजनाका विभिन्न कार्यहरू तथा क्रियाकलापलाई बिस्तृत रुपमा पहिचान गरि कुन कार्य कहिले सम्पन्न गर्नुपर्ने ? कति आर्थिक स्रोतको आवश्यक पर्छ ? र उक्त कार्य सम्पन्न गर्न को जिम्मेवार हुन्छ ? आदि विवरण स्पष्ट देखिनेगरी कार्ययोजना तयार गरिन्छ । प्रत्येक कार्यका खण्डहरु कुन मितिमा शुरु गर्ने हो स्पष्ट उल्लेख हुनुपर्छ । कार्य प्रगतिको अद्यावधिक समीक्षा गर्न आवश्यक नियन्त्रणको लागि सकभर योजना कार्यहरू लाई ससाना इकाईमा विभाजन गरि कार्यतालिकामा समावेश गर्नुपर्छ ।
कार्ययोजना बनाउँदा प्रत्येक कार्यसम्पन्न गर्न कुन व्यक्ति वा कार्यालय संलग्न हुनुपर्ने हो स्पष्ट उल्लेख हुनुका साथै उक्त कार्यको प्रगति समिक्षा एवम् सो सम्बन्धि आवश्यक जानकारी योजना प्रवन्धकलाई दिने प्रणालीको पनि तय हुनुपर्छ । जस्ले गर्दा समस्या उत्पन्न भएको अवस्थामा आवश्यक परिवर्तन सम्बन्धि निर्णय लिन सकिन्छ ।
ठुला तथा जटिल योजनाहरुको हकमा सिङ्गो योजनालाई कार्यप्रकृतिको आधारमा धेरै भागमा विभाजन गरिन्छ । प्रत्येक भागको कार्यतालिका तयार पारिन्छ । सबै भागका कार्यतालिकालाई संयोजन गरि योजनाको एउटा प्रमुख सुचीपत्र (Master Schedule) तयार गरिन्छ ।
प्रायः सबैजसो योजनामा मिल्ने क्षेत्रहरू जस्को लागि कार्यतालिका (कार्ययोजना) आवश्यकता पर्दछ जुन निम्नप्रकार छन् :
(क) सामग्री तथा साधन सुची (Longistic Schedule) : आवश्यक सामाग्री, उपकरण, यातायात, स्टोरको व्यवस्था, जमिनको व्यवस्था आदि ।
(ख) खरिद सुची (Procurument Schedule) : सामान तथा सेवा खरिद सम्बन्धि व्यवस्था, बोलपत्र तथा ठेक्का बन्दोबस्त सामान तथा सेवा उपलब्ध गर्ने ।
(ग) जनशक्ति सुची (Manpower Schedule) : कर्मचारी तथा जनशक्तिको नियुक्ति, तालीम, स्थानान्तरण, मुल्यांकन आदि ।
(घ) वित्तीय सुची (Financial Schedule) : रकमको चरणबद्ध विवरण, योजना अवधिको खर्चको प्रक्षेपण आदि ।
(ङ) निर्माण सुची (Construction Schedule) : निर्माण सम्बन्धि प्रत्येक क्रियाकलाप तथा कार्यको क्रमबद्ध प्रस्तुति ।
(च) मुल्यांकन योजना (Evaluation Plan) : योजना सम्बन्धि तथा संकलन पुनरावलोकन तथा मुल्यांकन योजना ।
कार्यतालिकाहरु विभिन्न प्रकारका हुन्छन् । योजनाको प्रकृति तथा आवश्यकता अनुसार उपर्युक्त कार्यतालिका (कार्ययोजना) सबैले बुझ्न सक्ने तथा आवश्यक जानकारी सबैले देख्न सकिने हुनुपर्छ ।
२.४.१ कार्यतालिका निम्नलिखित प्रकारले बनाउन सकिन्छ :
(A) कार्य विभाजन संरचना {Work Breakdown Structure (WBS)}
WBS भनेको सम्पूर्ण योजनाको कार्यप्रगति अनुसार विभिन्न भाग (Component) मा बिभाजन गरि प्रत्येक भागलाई सम्पुर्ण योजना सँग कार्यसम्पादन जिम्मेवारी, बजेट र कार्ययोजना सम्बद्ध गरि देखाईन्छ ।
(B) क्रियाकलाप सुची (Activity List)
साधारणतया क्रियाकलाप सुचीपत्र कार्य विभक्त संरचना (Activity List work breakdown structure) को एक अंश मानिन्छ । तर साना योजनाहरुका लागि यसलाई छुट्टै कार्ययोजना पनि मान्न सकिन्छ । क्रियाकलाप सुचीपत्र (Activity List) मा योजनाको विस्तृत कार्य इकाईहरु जिम्मेवार व्यक्ति वा संस्था शुरु गरिने मिति र सम्पन्न गर्ने मिति उल्लेख भएको हुन्छ ।
(C) चित्रपट (Gantt Chart)
योजनाको कार्य इकाईहरुलाई समयको आधारमा देखिन सकिने गरि प्रस्तुत गरिएको सरल तथा प्रभावकारी कार्ययोजना (work scheme) लाई चित्रपट (Gantt Chart) भनिन्छ । Gantt Chart धेरै जसो योजना कार्यान्वयनमा प्रयोग गरिन्छ र यसबाट परियोजना कार्यान्वयनमा रेखदेख तथा प्रगति मुल्यांकन गर्न सजिलो हुन्छ ।
(D) कोशेढुङ्गा (Mile stone chart)
योजनाका कार्य इकाईहरु सम्पन्न गर्नुपर्ने अन्तिम समय देखाउने चित्रपट (Chart) लाई कोशेढुङ्गा (Mile Stone Chart) भनिन्छ । यसले योजनाको क्रमिक प्रगतिको अन्तिम बिन्दु (Dead Line) देखाउँछ ।
(E) प्रवाह तालिका (Flow Chart)
योजनाका विभिन्न कार्य एकाइहरुका प्रक्रियालाई चरणबद्ध रुपमा देखाउने Chart लाई प्रवाह तालिका (Flow Chart) भनिन्छ । यसले कुनै कार्य कहाँ वाट शुरु गर्ने र कहाँ पुगेर टुङ्गिन्छ कुन कुन प्रक्रिया पार गर्नुपर्छ भन्ने विस्तृत जानकारी दिन्छ ।
(F) सञ्जाल (Networks)
सञ्जाल (networks) चित्रहरू सन् १९५० तिर संयुक्त राज्य अमेरिकाको Defence Industry मा विकास गरिएको थियो । सञ्जाल (Networks) मा योजनाको विभिन्न क्रियाकलापहरुको क्रमिक प्रस्तुति र एक क्रियाकलापको अर्को क्रियाकलाप सम्मको अन्र्तसम्बन्धको रेखांकन गरिन्छ । सञ्जाल (Networks) ले योजनाको संवेदनशील गोरेटो (Critical Path) को पनि पहिचान गर्छ । Network बनाउने कार्य ज्यादै जटिल हुन्छ ।
२.५ योजना कार्यान्वयनको लागि संगठन (Organization for project implementation)
(क) योजना सञ्चालन गर्ने संस्थाको पहिचान
(ख) योजना कार्यान्वयन गर्ने एकाईको संगठन तालिका
(ग) योजना कार्यान्वयनका लागि संगठनात्मक तालिका अनुरुप विभिन्न क्षेत्रमा दक्षता हाँसिल गरेका कर्मचारीहरुको व्यवस्था ।
२.६ आर्थिक व्यवस्थापन तथा Accounting को लागि योजना :
आर्थिक व्यवस्थापन तथा Accounting योजना सम्बन्धि निम्नलिखित कार्यहरू गरिन्छ :
(क) योजनाको लागि बजेटको तर्जुमा :
° आवश्यक रकमको अनुमान
° रकमको स्रोतको पहिचान
° अनुमानित रकमको आधारमा योजनाको बजेट तर्जुमा
° कार्यान्वयन (Schedule) को आधारमा खर्चको पुर्वानुमान गर्ने ।
(ख) लागत लेखांकन (Cost Accounting)
° आर्थिक विवरण तयार गर्ने र सम्बन्धित ठाउँमा पठाउने
° लेखापरीक्षण (Audit) गर्ने प्रक्रिया र लेखापरीक्षण भएका वित्तीय विवरण (Financial Statements) तयार पार्ने ।
(ग) रकम निकासा तथा शोधभर्णा दिने प्रक्रियाहरु
२.७ योजना नियन्त्रण योजनाको तयारी
(क) बजेट लागत (Budget Cost) र तालिका नियन्त्रण (Schedule control)
° खर्च बनाम कार्यप्रगति (Expenditure vs. Work accomplishment)
(ख) प्राविधिक कार्यसम्पादन नियन्त्रण
° सम्पन्न योजनाको प्राविधिक गुणस्तरीयता (Technical quality of completed project)
(ग) योजना सम्बन्धि प्रतिवेदन (Reporting) आवश्यकता र प्रक्रिया
(घ) परिवर्तनको नियन्त्रण
(ङ) आवश्यक अभिलेख (Record) राख्ने
(च) परामर्शदाता र वितरक Suppliers र निर्माण कार्यको व्यवस्थापन ।
२.८ योजना सञ्चालन प्रक्रिया पुस्तिका
योजनाका कर्मचारीहरू लाई योजनाको सञ्चालन प्रक्रिया र योजना सम्बन्धि जानकारी दिन योजना प्रक्रिया र योजना सम्बन्धि जानकारी दिन आयोजना कार्यविधि सुचीपत्र (Project Procedure Mannual) तयार गरिन्छ ।
२.९ योजनाको कार्यान्वयन व्यवस्था (Project Implementation Management)
२.९.१ योजना कार्यान्वयनको लागि तयारी
(क) परियोजना व्यवस्थापन कार्यालयको व्यवस्था
(ख) आवश्यक कर्मचारीहरुको नियुक्ति तथा तालीम
(ग) कर्मचारीहरुको कार्यविवरण तथा जिम्मेवारी तयार पार्ने
(घ) योजनाको अभिलेख प्रणाली (Record System) को शुरुआत
(ङ) शुरु कार्य सञ्चालनको लागि रकमको व्यवस्था ।
२.९.२ परामर्शदाताको नियुक्ति तथा सुपरिवेक्षण
यश चरणमा आयोजना परियोजनाको परामर्शदाताको नियुक्ति तथा सुपरिवेक्षण सम्बन्धि कार्य सम्पन्न गरिन्छ ।
२.९.३ सामान खरिद तथा निर्माण कार्यको ठेक्का पट्टा सामान खरिदका केही विधिहरु निम्नलिखित छन् :
° अन्तर्राष्ट्रिय बोलपत्र (Bidding)
° अन्तर्राष्ट्रिय खरिद व्यवस्था (Shopping)
° स्थानीय प्रतिस्पर्धात्मक बोलपत्र (Bidding)
° सिधै खरिद (Direct Procurement) ।
२.९.४ निर्माण कार्य वा उपकरण जडान (installation) को सुपरिवेक्षण
निर्माण कार्य तथा उपकरण जडान (Equipment installation) कार्यको सुपरिवेक्षण गर्ने जिम्मेवारी योजना प्रवन्धकको हुन्छ । ठेकेदारले गरेको कामको निरीक्षण तथा सुपरिवेक्षणका लागि प्राविधिक कर्मचारीहरुको व्यवस्था गरिन्छ । साथै परियोजना प्रवन्धक स्वयंले पनि समय समयमा योजना स्थलको निरीक्षण, योजना कार्यको गुणात्मक (Qualitative) र परिमाणात्मक (Quantitative) सम्पादनमा गतिशीलता दिने तथा नियन्त्रण गर्नुपर्छ ।
२.९.५ खर्चको नियन्त्रण (Expenditure Control)
खर्चको नियन्त्रणको प्रमुख उद्देश्य बजेटको परिधिभित्र रहि योजना कार्यान्वयन गर्नु र समय भित्रै काम गर्ने कार्यको सुधारात्मक उपायहरू खोज्नु हो । उपर्युक्त उद्देश्य योजनाको लागत इष्टिमेट र खर्चको अद्यावधिक निरीक्षण तथा मुल्यांकन वाट पूरा गर्न सकिन्छ ।
प्रत्येक महिना योजना प्रवन्धकले योजना समाप्तिमा लाग्ने खर्चको अनुमान तयार पार्नुपर्छ र सम्बन्धित सरोकारवाला सबैलाई जानकारी दिनुपर्छ ।
२.९.६ रकमको निकाशा व्यवस्था (Payments Systems)
यश अन्तर्गत प्राविधिक बिल MB (Maintained Book) बमोजिम वा नियमानुसार जारी बील बिजक बमोजिम रकम निकाशा गरिन्छ ।
२.९.७ योजनाका परिवर्तनको नियन्त्रण
योजना प्रवन्धकले निर्दिष्ट प्रशासनिक प्रक्रियाहरुको तय गरि योजना अन्तर्गत परिवर्तन हुन सक्ने कार्यको नियन्त्रण गरिन्छ । यसको लागि Change order form को व्यवस्था गरि लागू गरिन्छ ।
२.९.८ अन्य सहयोगी तथा कार्यान्वयन संस्थासँग समन्वय
योजना, आयोजना वा परियोजना सञ्चालन गर्दा अन्य सहयोगी तथा कार्यान्वयन संस्थासँग संस्थागत संयन्त्र निर्माण गरि बराबर सम्पर्क समन्वयात्मक वातावरण निर्माण गर्नुपर्ने महत्वपूर्ण हुन्छ । ३. नेपालमा आयोजना अनुगमन तथा मुल्यांकनको व्यवस्था (Project Monitoring and Evaluation System in Nepal)
आयोजना अनुगमन आयोजना सफ़लताको मुल आधार हो । यसको उद्देश्य आयोजना व्यवस्थापनको सबै तहमा पुनर्निवेश (feedback) गराएर दक्ष तथा प्रभावकारी आयोजनाको कार्यसम्पादन हाँसिल गर्नु हो ।
° यसले व्यवस्थापनलाई योजनाको कार्यसंचालनमा सुधार ल्याउने र कुनै कमी कमजोरी बाधा व्यवधान उत्पन्न भएमा समयमै सुधारात्मक कदम उठाउन सक्षम तुल्याउँछ । यसरी अनुगमन प्रक्रिया व्यवस्थापन सूचना प्रणालीको एक महत्वपूर्ण भाग र एउटा आन्तरिक क्रियाकलाप हुन आउँछ । वस्तुतः आयोजना वा कार्यक्रम कार्यान्वयन गर्ने उत्तरदायित्व लिएका पदाधिकारीहरुले व्यवस्थापनको शृङ्खलाको प्रत्येक तहमा अनुगमन गर्नुपर्दछ । (राष्ट्रिय योजना आयोगको सचिवालय, अनुगमन तथा मुल्यांकन निर्देशक सिद्धान्तहरु) तर अनुगमनको यश किसिमको महत्व हुँदाहुँदै पनि कतिपय विकासोन्मुख मुलुकहरूले यसलाई त्यति चाख देखाएनन् र नेपाल पनि अपवादको रुपमा रहने प्रश्न भएन ।
३.१ परियोजनाको अनुगमन तथा नियन्त्रण व्यवस्था (Project Monitoring and Control Systems)
° वस्तुतः नेपालमा अनुगमन तथा मुल्यांकनको प्रयाशनै नभएको भन्न मिल्दैन । विश्व बैंकको ॠण सहयोगवाट संचालित आयोजनाहरुमा यसको शुरुआत प्रारम्भिक स्तरमै भएपनि २०४५/०४६ तिर भएको पाईन्छ । वि.सं.२०४९ सालमा यसको लागि संस्थागत बिकास गर्ने प्रयास भै केन्द्रियस्तरमा राष्ट्रिय योजना आयोगवाट क्षेत्रीयस्तरमा बिषयगतस्तर (Sectrol Level) मन्त्रालयवाट र कार्यसंचालनस्तरमा योजना कार्यालय वाट अनुगमन गर्ने गरि संस्थागत व्यवस्था गरिएको पाईन्छ ।
निम्नलिखित क्षेत्रमा व्यवस्थापनले निर्देशन तथा नियन्त्रण गर्नुपर्छ :
(क) योजनाको कार्यतालिका
(ख) योजनाको संगठन तथा कर्मचारी
(ग) प्राविधिक नियन्त्रण
(घ) परामर्शदाताको सुपरिवेक्षण
(ङ) सामाग्री खरिद तथा निर्माण कार्य
(च) भुक्तानी प्रक्रिया
(छ) स्वीकृत स्तर अनुसारको निर्माण कार्य
(ज) हस्तान्तरण प्रक्रिया ।
३.२ योजनाको प्रगति प्रतिवेदन तयार पार्ने र सम्बन्धित ठाउँमा पठाउने ।
योजनाको प्रगति विवरण मन्त्रालय, बिभाग, महालेखा नियन्त्रक कार्यालय समेत सम्बन्धित निकाय तथा पदाधिकारीहरु समक्ष प्रस्तुत गर्नुपर्दछ ।
३.३ नेपालमा आयोजना मुल्यांकन व्यवस्था (Project evaluation systems in Nepal)
° मुल्यांकन भन्नाले आयोजनाको उद्देश्यको आधारमा यसका क्रियाकलापहरुको सान्दर्भिकता, दक्षता, प्रभावकारिता र प्रभावको सुव्यवस्थित र उद्देश्यपुर्ण तरिकाले निर्धारण गर्ने प्रक्रिया हो ।
° यो चालू कार्यक्रमहरुलाई सुधार गर्ने र भावी योजना वा कार्यक्रम र निर्णय विधिमा व्यवस्थापनलाई सहयोग पुर्याउने एउटा संगठनात्मक पद्धति हो ।
° नेपालमा मुल्यांकनको व्यवस्था प्रारम्भिक रुपमै भएपनि बि.सं. २०१३ सालमा पहिलो योजना कार्यान्वयन लगत्तै नै भएको पाईन्छ ।
° मुल्यांकन लाई खासगरी २०२९ सालको योजना सुदृढीकरण योजना कार्यान्वयन पश्चात् तीन किसिमले व्यवहारमा ल्याईएको पाईन्छ :
(क) आयोजनाको चालू अवधिमा निरन्तर रूपमा गरिने मुल्यांकन साविकमा ३/३ महिनामा र हालका बर्षहरुमा ४/४ महिनामा मन्त्रालयस्तरमा सम्बन्धित मन्त्रीको अध्यक्षतामा आयोजनाको कार्यसम्पादन मुल्यांकन गर्ने व्यवस्था पहिलो मुल्यांकन व्यवस्था हो र यसलाई निरन्तर मुल्यांकन भन्न सकिन्छ । यो मुल्यांकनमा राष्ट्रिय योजनाका प्रतिनिधि पनि सम्मीलित हुन्छन् ।
(ख) त्यसैगरी आयोजनाको प्रगति समिक्षा ६/६ महिनामा राष्ट्रिय योजना आयोगवाट गरिन्छ र बार्षिक समिक्षा पनि गरिन्छ ।
(ग) खास गरि यो समिक्षामा आयोजनाको उपलब्धिको समिक्षा गरिन्छ । यसलाई पनि निरन्तर मुल्यांकन (On going Evaluation) भन्न सकिन्छ ।
(घ) दोस्रो किसिमको मुल्यांकन आयोजनाको समाप्तिमा मध्यावधिक वा आवधिक रूपमा गरिन्छ ।
(ङ) तेस्रो किसिमको मुल्यांकन केही महत्वपूर्ण आयोजना सम्बन्धमा गरिन्छ । वस्तुतः आयोजनाको समाप्तिको केही बर्ष पछि प्रभाव मुल्यांकन (Impact Evaluation) को रूपमा गरिन्छ ।
४. योजना हस्तान्तरण (Plan Hanover)
योजनाको हस्तान्तरण चरणमा हस्तान्तरणको पुर्व तयारी हुनु आवश्यक छ । योजना हस्तान्तरण भएपछि उपभोक्ताले दैनिक कार्यसञ्चालन सुगमता साथ गर्न सक्छन् भन्ने पक्षलाई विशेष ध्यान दिनुपर्छ । योजना अवधिको एउटा निश्चित विन्दुमा योजना प्रवन्धकको कार्य समाप्त समाप्त हुन्छ र संचालनको जिम्मेवारी संचालकलाई हस्तान्तरण गरिन्छ ।
५. नेपालको आयोजना व्यवस्थापनमा विद्यमान समस्या (Problems of Project Management in Nepal)
नेपालमा आयोजना व्यवस्थापनमा धेरै नै समस्या बिद्यमान छन् । समस्याहरू लाई चुनौतिका रुपमा लिई समाधानका उपायहरू पहिल्याउनु पर्दछ । हिजोआजको जल्दाबल्दा मुलभुत समस्या पुँजीगत खर्चमा न्युनता हो । अन्य समस्याहरु निम्नलिखित रहेका छन् :
(क) आधारभुत समस्या (Basic Problems)
५.१ गलत योजना पद्धति
५.२ आधारभुत क्षेत्रको बिकासको अभाव
५.३ पुँजी र सामग्रीको अभाव
५.४ समन्वयमा न्यून
५.५ परम्परागत प्रशासन एवम् व्यवस्थापन ।
(ख) आयोजनाजनित समस्या
५.६ अबैज्ञानिक एवम् गलत आयोजनाको छनौट ।
५.७ अबैज्ञानिक एवम् गलत प्रविधिको छनौट ।
५.८ आयोजनामा आयोजनागत अनुशासनको अभाव
५.९ धेरै आयोजनाहरु अधुरा रहनु ।
५.१० पूरा भएका आयोजनाहरु सम्भार, मर्मत र सञ्चालन हुन नसक्नु ।
५.११ वास्तविक उपभोक्ता वर्गलाई संलग्न नगराईनु ।
५.१२ आयोजना अन्धाधुन्ध रुपमा स्वीकार गर्ने प्रवृत्ति ।
५.१३ आयोजना व्यवस्थापन त्रुटिपूर्ण हुनु ।
५.१४ बिकास समिति मार्फत सञ्चालन हुने । आयोजनाहरुमा पनि सरकारी बिभागहरुको अनावश्यक हस्तक्षेप ।
५.१५ आयोजना सम्बन्धि निर्णय निर्माण प्रक्रियामा ढिलासुस्ती ।
५.१६ गतिशील नेतृत्वको अभाव ।
५.१७ सक्रियता पुर्वक समन्वय हुन नसक्नु ।
५.१८ मुल्यांकन व्यवस्था त्रुटिपूर्ण ।
५.१९ साधन स्रोतको दुरुपयोग र चुहावट ।
५.२० आयोजनामा अदक्ष जनशक्तिको अनावश्यक रोजगारीको स्रोत सिर्जना ।
५.२१ राजनीतिक दुरदर्शिता नेतृत्वको अभाव ।
६. नेपालको आयोजना व्यवस्थापनमा विद्यमान चुनौती र समाधानका उपायहरू (Exisiting challenge and how it's solve Plan or Project Management of Nepal.)
६.१ राजनीतिक नेतृत्वको क्षमता वा सीपको बिकास गर्ने ।
६.२ आधारभुत क्षेत्रको महत्तम प्रयोग गर्ने ।
६.३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधनको अत्युत्तम परिचालन एवम् नियोजन (Planning) को व्यवस्था गर्ने ।
६.४ व्यवस्थापनको आधुनिकरण एवम् बैज्ञानिक व्यवस्थापन गर्ने ।
६.५ सहि र उपयुक्त आयोजना छनौट गर्ने ।
६.६ सहि र उपयुक्त प्रविधि छनौट गर्ने ।
६.७ आयोजनागत अनुशासनको कडाईसाथ पालन गर्ने ।
६.८ आयोजनाको छनौट देखि कार्यसम्पन्न गरि हस्तान्तरण सम्म उपभोक्ता वा सेवाग्राहीको सक्रिय सहभागिता जुटाउने ।
६.९ राष्ट्रिय आवश्यकतानुसार मात्र आयोजना स्वीकार्ने ।
६.१० आयोजना व्यवस्थापनको संगठनात्मक संरचनामा सुधार गर्ने ।
६.११ योजना तथा आयोजना सम्बन्धि निर्णय प्रक्रियामा स्वायत्तता कायम गर्ने ।
६.१२ योजना तथा आयोजना बुझेको सहि कार्यकारी नेतृत्वको चयन गर्ने ।
६.१३ योजना तथा आयोजनाको मुल्यांकन प्रणालीमा सुधार गर्ने र अनुगमन प्रणाली सुदृढ गर्ने ।
६.१४ अन्य सुधारात्मक उपायहरुमा
° नियोजन बजेट प्रणालीको व्यवस्था
° निकासा र भुक्तानी सम्बन्धि सरलिकृत व्यवस्था
° जनशक्ति आपूर्तिमा बिशेष ध्यानाकर्षण
° दण्ड तथा पुरस्कारको व्यवस्था
° अधिकार र कर्तव्यको स्पष्ट व्यवस्था
° छिटोछरितो कार्यशैली
° निर्माण एवम् अन्य सामग्रीको नियमित आपूर्ति
° परामर्श सेवामा समयानुकूल सुधार
° निर्माण संहिता लागू गर्नुपर्ने र
° प्रभावकारी कानुनी अनुगमन संयन्त्र वा इकाईको व्यवस्था आदि ।
७. उपसंहार (Conclusion)
ग्रामीण तथा शहरी बिकासको क्रममा आयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्यांकन, समस्या, चुनौती र समाधानका उपायहरू बिषय एउटा गम्भीर र अधिकारमा आधारित विकास (Development Right Approach) हो । पुँजीगत खर्चको न्यूनतालाई हटाउँदै वर्तमान नेपालको संविधानले संघीय, प्रदेश र स्थानीय तहको कानुनी अधिकार, साधन स्रोत तथा जनशक्ति समेतको यथोचित व्यवस्था गरेको छ । यद्यपि प्रवृत्तिमा अपेक्षित सुधार हुन सकेको छैन । धेरै आशा एवम् संभावना रहे पनि नेतृत्वको सक्षमता, दिगो बिकास, पुँजी, प्रविधि एवम् सक्षम प्राविधिक जनशक्तिको परिचालन, स्थानीय स्रोत साधनको खोजी जस्ता कार्यहरु हुन सकिरहेको अवस्था छैन भने अर्कोतिर राजनीतिक मतैक्यता, नेतृत्वमा परिपक्वता, सन्तुलित विकासको दृष्टिकोण हुन नसकिरहेको अवस्थाको विद्यमान रहेको हुँदा यी बिषयहरुमा सम्बन्धित निकाय तथा पदाधिकारी एवम् राजनीतिक नेतृत्वको दुरदर्शिता सम्बन्धमा बिशेष कार्ययोजना निर्माण गरि ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।
🙏 धन्यवाद 🙏
सन्दर्भ स्रोत सामग्री :
१. लोक सेवा आयोगद्वारा लिईने नेपाल सरकारका शाखा अधिकृतदेखि सहसचिवसम्मका सन्दर्भ सामग्रीहरु
२. My autobiography श्री वसन्तराज अधिकारी fb page
३. जागीरे जीवनका सिर्जनात्मक सङ्गालो आफ्नै अप्रकाशित रचना सङ्गालोवाट साभार ।
लेखन तथा सम्पादन :
📝 वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौं, नेपाल ।
[शुक्रबार १८ आषाढ २०७८ शुभम्]
पठनिय एवम् संग्रहणिय लेख ❣️📘🌻🙏
ReplyDeleteपठनिय एवम् संग्रहणिय लेख ❣️📘🌻🙏
ReplyDelete