सुकुम्बासीको चुल्होमा आगो कसरी बल्ने ??
✍️ लेखक वसन्तराज अधिकारी |
जीविकाको कुनै ठोस, बिकल्प नै छैन ।
बाबु–बाजे स्वयं आफनो, भूस्वामित्व छैन ।।
न त कुनै उपाय नै छ, न छ कुनै अंश ।
कृषक, मजदुर भूमीहिन, अ:सहाय बन्छ ।।१।।
कमैया र बँधुवा सव, हलि गोठाला ति ।
सुकुम्वासी कहलिन्छन्, यिनै जनजाती ।।
निरपेक्ष गरिव भन्दा, तल्लो श्रेणी का छन् ।
यिनै गरिव दुःखी बर्ग, खास सुकुम्वासी हुन् ।।२।।
तराईका बिपन्न जनजाती, ज्यादै गरिबीमा ।
असहाय जस्तै यिनीहरू, छन् दीन हिनता ।।
थारू चेपाङ राउटे र कुसुण्डाका जात ।
भाँड बादी देउकी र निम्न गरिव बर्ग ।।३।।
अधिकांश भूमिहिन, उत्पिडित जाती ।
बाढी पहिरो पिडित र शरणार्थी जति ।।
गास छैन बास छैन, घर छैन बारी ।
जीन्दगी यो कसोगरी, विताउँछन् हरी ।।४।।
साहुकै काम गर्दा गर्दै, दिन रात वित्यो ।
मिठो खान निको लाउन, सपना सरि भो ।।
शोषक सामन्त र जमिन्दारको, दुश्चक्रमा परी ।
विताउदै मानव जीवन सदा, असहाय सरी ।।५।।
जनताको संघर्षले, देशमा प्रजातन्त्र आयो ।
एकपल्ट सारा जनता, खुसीले रमायो ।।
जनतान्त्रिक जनजीविका, जनताका दुःख ।
नौलो विहानीको निम्ति, सबै जनता उठ ।।६।।
भोगेका छौँ अतितका, दुःखदायी दिन ।
लडनुपर्छ हामी स्वयं, सुख खुसी ल्याउन ।।
धनीलाई धनकै चिन्ता, गरिव छ खाली ।
यिनै ठूला ठालु हुन्छन्, समाजका जाली ।।७।।
कम्मर कसौँ सबै जुटौँ, देशभक्त भाइ ।
देशभक्त जनताको, विश्वास जित्न लाई ।।
जसले हाम्रो यथार्थता, ह्रदयाङ्गम गरी ।
समस्याको समाधान गर्छ, अघि सरी ।।८।।
मन वचन कर्मले नै, सहयोग गर्छौ ।
संघर्ष मै हाम्रो विजय, सुनिश्चित देख्छौं ।।
शताद्वियौँ सम्म हामी, दुःख कष्ट सहेउ ।
चेतनाको ज्योति बाली, अव व्यूझदैछौ ।।९।।
राजनीति इतिहासमा, हामी अगाडि छौ ।
के हो दास युग भन्ने, इतिहास हेरौँ।।
मानिसलाई मानिसले, पशु जस्तै बाँधी ।
आफ्नै बन्धु स्वजातिलाई, गघा सरी लाधी ।।१०।।
स्पार्टाकश विद्रोह भो, मजदुरको क्रान्ति ।
तव देखि पूँजीवाद लाई, भाको छैन शान्ति ।।
शिकागोको मजदुर क्रान्ति, विद्रोहको ज्वाला ।
पूँजीवादी तानासाहलाई, भयो हलचल ।।११
कार्लमाक्स जन्मे बीर, मजदुरका तारा ।
लाखौं करोड जनताका, प्राण भन्दा प्यारा ।।
पूँजीवादी एक छत्र शासन, ढल्न थाल्यो ।
प्रजातन्त्र दुहाई दिँदै, पुनःअलपी हाल्यो ।।१२।।
जुन राष्ट्रमा जनता शिक्षित, प्रजातंन्त्र टिक्छ ।
आर्थिक विकास रहित भइ, ढ्वाङ्ग मात्र बन्छ ।।
इतिहास मात्र लेखिएछन्, राजा महाराजाका ।
कसले चासो लिन्छ कठै, गरिबका व्यथा ।।१३।।
झुपडीमा आगो पनि, बल्छ वा बल्दैन ?
तानाशाही शासनतन्त्र, यो देशमा चल्दैन ।।
हुनुपर्छ एउटा ठूलो भिषण, क्रान्ति याँहा ।
आमुल परिवर्तन विना, केही हुने वाला छैन ।।१४।।
नोकर शाही तन्त्र पनि, जर्जर बनेको छ ।
जनमतको सम्मान साथ, कदर हुनुपर्छ ।।
परराष्ट्र नीति पनि यस, रीतले चल्दैन ।
उद्यम विना कङ्गाल बनि, विकास हुने छैन ।।१५।।
कृषि क्रान्ति हुनु पर्छ, कृषक उठनु पर्छ ।
पूर्णरूपमा व्यावसायिक, शिक्षा हुनु पर्छ ।।
अनिवार्य आठ घण्टा, सबले काम गर्नु पर्छ ।
तव मात्र देशको बिकास, शुरुआत हुन्छ ।।१६।।
भ्रष्ट्राचारी, व्यविचारी, विकास विरोधीलाई ।
चारै तिर पहरा दिई, थुन्नु पाता फर्काई ।।
वाल बच्चा भोक भोकै छन्, गरिबको घरमा ।
न त अन्न जीवन धान्ने, कठै तिम्रो कर्म ।।१७।।
दिन भरी खोज्दा पनि, काम पाएको छैन ।
दया माया सहानुभूति, कसै संग छैन ।।
पूँजीवादी जडभौतिक, धर्म इमान छैन ।
बेसहारा गरिबलाई, छैन शान्ति चैन ।।१८।।
श्रमलाई अवमूल्यन गरी, जव घटाउँछन् ।
तव मात्र पूँजीवादी, गरिब लाई सताउँछन् ।।
यिनै श्रमिक मजदुरहरू, राष्ट्र निर्माण गर्छन् ।
विकास, निर्माण यावत् कार्य यिनै पुरा गर्छन् ।।१९।।
कोरोनाको कहरले, उद्योग धन्दा भयो बन्द ।
मुलुकको व्यापार अर्थतन्त्र, पनि भयो मन्द ।।
राजनीति जालझेल दाउपेच, षड्यन्त्रमा चल्ने ।
सुकुम्बासीको चुल्होमा आगो कसरी बल्ने ?? ।।२०।।
✍️ कवि, लेखक तथा रचनाकार : बसन्तराज अधिकारी
तत्कालीन सचिव श्री सुकुम्वासी समस्या समाधान आयोग, दार्चुला
रचना मिति : २०५२।१।१५
हाल परिमार्जन सहित मिति २०७७\०९\२३ बिहीबार
राजापुर नगरपालिका, बर्दिया ।
स्रोत : "जागीरे - यात्रा" सिर्जनात्मक सङ्गालो, २०७० आफ्नै अप्रकाशित कृतिवाट परिमार्ज
Comments
Post a Comment