१५०. क्षयरोग (Tuberculosis) को अवधारणा : लक्षणहरु, पहिचान र उपचार, क्षयरोगको वर्तमान विश्वव्यापी अवस्था र स्थानीय तह राजापुर नगरपालिका, बर्दियाको वर्तमान अवस्था, आवश्यकता र विशेष सतर्कता
क्षयरोग (Tuberculosis) को अवधारणा : लक्षणहरु, पहिचान र उपचार, क्षयरोगको वर्तमान विश्वव्यापी अवस्था र स्थानीय तह राजापुर नगरपालिका, बर्दियाको वर्तमान अवस्था, आवश्यकता र विशेष सतर्कता
✍️ वसन्तराज अधिकारी |
१. क्षयरोग (Tuberculosis) को अवधारणा : क्षयरोग वा टिबी (अङ्ग्रेजीमा ट्युबरक्युलोसिस, एमटिबी, थिसिस, कन्जम्प्सन) विश्वभर फैलिएको संक्रामक रोग हो । माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भएपनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ । साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागहरूमा पनि असर पुर्याउन सक्छ। यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने गर्दछ । प्राय संक्रमणहरूमा लक्षणहरू देखापर्दैनन् त्यस्तो अवस्थालाई निष्कृय क्षयरोग (लाटन्ट ट्युबरक्युलोसिस) भनिन्छ । करीब दसमा एक निष्कृय क्षयरोग बिस्तारै बढ्दै गएर सक्रिय हुन सक्छ । यदि समयमै उपचार नभएमा यसरी संक्रमित ५०% रोगीको क्षयरोगका कारणले मृत्यु हुन्छ । २. क्षयरोगका लक्षणहरु (symptoms of Tuberculosis) : २.१ लामो अवधिको खोकी २.२ खकारमा रगत देखा पर्नु २.३ साँझपख ज्वरो आउनु २.४ राति सुतेको बेलामा पसिना आउनु र २.५ तौल घट्दै जानु आदि सक्रिय क्षयरोगका लक्षणहरू हुन् । अन्य अङ्गहरूको संक्रमण भयो भने अन्य धेरै लक्षणहरू पनि देखापर्छन् । यो रोग लागेपछि मानिसको तौल घट्दै जाने हुनाले यसलाई पहिले अङ्ग्रेजीमा कन्जम्प्सन र त्यसकै समानार्थी शब्दको रूपमा नेपालीमा क्षयरोग राखिएको हो । ३. क्षयरोगको पहिचान तथा उपचार (Tuberculosis identify and Treatment) : सक्रिय क्षयरोगको पहिचान गर्न रेडियोलोजी (साधारणतया छातिको एक्सरे), सुक्ष्म परीक्षण तथा शरीरका तरल पदार्थहरूको सुक्ष्मजैविक अनुसन्धान (माइक्रोबायोलोजिकल कल्चर) गर्ने गरिन्छ । त्यस्तै ट्युबरकुलिन स्किन टेस्ट (टिएसटी) वा रगत परीक्षण गरेर निष्क्रिय क्षयरोगको पहिचान गरिन्छ । लामो अवधिसम्म धेरै थरी एन्टिबायोटिक अौषधिको प्रयोग गरिने हुनाले यो रोगको उपचार केही झन्झटिलो छ । आवश्यकता परेको खण्डमा घर, काम गर्ने स्थान तथा सामाजिक सम्पर्कका व्यक्तिहरूमा पनि परीक्षण तथा उपचार गरिन्छ । हाल मल्टिपल ड्रग-रेजिस्ट्यान्ट ट्युबरक्युलोसिस (एमडिआर टिबी) संक्रमणमा एन्टिबायोटिक प्रतिरोधको खतरा बढ्दै गएको छ । यस रोगको रोकथाम तथा बचाउ छिटो पहिचान तथा उपचार, संकास्पद स्थानमा परीक्षण कार्यक्रमको सञ्चालन र क्षयरोगको विरुद्धमा दिइने बिसीजी खोप लगाउने जस्ता कुरामा भर पर्दछ। ४. क्षयरोगको वर्तमान बिश्वब्यापी अवस्था (Present worldwide scenario of Tuberculosis) विश्वको जनसङ्ख्याको एकतिहाइ मानिसहरू क्षयरोगबाट संक्रमित रहेको विश्वास गरिन्छ र प्रत्येक वर्ष यस जनसङ्ख्याको करिब १ प्रतिशत मानिसहरूमा नयाँ संक्रमण देखिन्छ । सन् २००७ मा विश्वभर लगभग १ करोड ३७ लाख मानिसमा सक्रिय क्षयरोग रहेको अनुमान गरिएको थियो । त्यस्तै सन् २०१३ मा मात्रै करीब ९० लाख मानिसहरू यस रोगबाट संक्रमित भएको अनुमान रहेको अवस्था छ । सन् २०१३ मा यस रोगका कारणले १ करोड ३० लाखदेखि १ करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा धेरै जसो मानिसहरू विकासोन्मुख राष्ट्रका मानिसहरू थिए । सन् २००६ देखि विश्वभरका कुल क्षयरोगीको सङ्ख्यामा भने कमी आएको छ । त्यस्तै सन् २००२ देखि यस रोगको नयाँ संक्रमण हुने दर पनि घटेको छ। विभिन्न क्षेत्रहरूमा क्षयरोग संक्रमणको दर फरक-फरक हुने गरेको पाइन्छ। एसियाली तथा अफ्रिकी देशहरूका मानिसहरूमा ट्युबरकुलिन परीक्षण गर्दा ८०% मा रोग भएको पाइन्छ तर अमेरिकामा यो प्रतिशत ५-१० मात्रै छ । ५. राजापुर नगरपालिका, बर्दियाको क्षयरोगको वर्तमान अवस्था र आवश्यकता (Present Status & Necessity of Tuberculosis at Rajapur municipality, Rajapur, Bardiya) राजापुर नगरपालिका, बर्दिया अन्तर्गत स्वास्थ्य शाखाको संयोजकत्वमा निम्नलिखित ६ वटा स्वास्थ्य केन्द्रहरू र १ वटा प्राथमिक स्वास्थ्य केन्द्र, राजापुर वाट क्षयरोग परिक्षण, निगरानी र उपचार भैरहेको अवस्था रहेको छ । राजापुर नगरपालिका, राजापुर, बर्दिया अन्तर्गतका स्वास्थ्य केन्द्रहरुमा आ.ब. २०७७/०७८ को पहिलो चौमासिक सम्मको प्रतिवेदनको अवस्था : (क) राजापुर न.पा.वार्ड नं. ९ अन्तर्गत भिम्मापुर स्वास्थ्य केन्द्रमा जम्मा - ४ जना PBC संक्रमित {१ जना औषधि खाँदाखाँदै छोडेको} (ख) राजापुर न.पा.वार्ड नं.१० खैरीचन्दनपुर, स्वास्थ्य केन्द्रमा जम्मा १ जना PBC संक्रमित (ग) राजापुर न.पा. वार्ड नं.४ प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा जम्मा ४ जना संक्रमित {२ जना PCB र २ जना र PCD -२ {लक्षण देखिएका र नदेखिएको) (घ) राजापुर न.पा. वार्ड नं.५ बदालपुर, स्वास्थ केन्द्रमा जम्मा संक्रमित २ जना मध्ये PBC र १ जना EP (ङ) राजापुर न.पा. वार्ड नं.२ नयाँगाउँ, स्वास्थ्य केन्द्रमा जम्मा संक्रमित २ जना EP (च) राजापुर न.पा. वार्ड नं.६ मानपुरटपरा, स्वास्थ्य केन्द्रमा जम्मा संक्रमित १ जना PBC (छ) राजापुर न.पा. वार्ड नं.१०, दौलतपुर, स्वास्थ्य केन्द्रमा जम्मा संक्रमित १ जना EP वास्तवमा औषधिको सेवन, उपचार तरिका, औषधि परिवर्तन भैरहेको सन्दर्भमा सबै स्वास्थ्यकर्मीहरुलाई एकपटक करिब २-३ दिनको तालिमको अपरिहार्य आवश्यकता एवम् माग रहेको राजापुर नगरपालिका स्वास्थ्य तथा सामाजिक शाखा संयोजक श्री गणेशप्रसाद अर्यालको जानकारी वाट प्राप्त हुन आएको छ । ६. उपलब्धि र विशेष सतर्कता : ६.१ उपलब्धि : ६.१.१ DOT (Direct observe Treatment) प्रविधिवाट सरल, सहज र प्रभावकारी रुपमा औषधिको सेवन गराईरहेको अवस्था रहेको छ । ६.१.२ राजापुर क्षेत्रमा कुल १६ जना मात्र पोजेटिभ केश (cases) रहेको अवस्थालाई पनि गम्भीर संक्रामक रोग भएकाले कम आकलन गर्न मिल्दैन । ६.१.२ राजापुर नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा आधुनिक मेसिन उपकरण (Gene Export Machine) Birat Nepal Medical Trust वाट स्थापना गरिनेछ । यश वाट उपचार पद्धतिमा सरल तथा सहज हुनेछ । ६.२ बिशेष सतर्कता : ६.१ सुर्तीजन्य पदार्थ चुरोट, धूम्रपान नगर्ने । ६.२ सार्वजनिक स्थानमा कडाईका साथ धूम्रपान निषेधित क्षेत्र तोक्ने । ६.३ पालिकास्तरीय रूपमा स्वास्थ्य शाखाको पहलमा प्रभावकारी अनुगमन निरीक्षणको व्यवस्था गर्ने । ६.४ भारत लगायतका मुलुकहरुवाट आउने मानिसहरूको बिशेष निगरानी गर्ने । ६.५ सहि तथ्य पुर्ण, गुणस्तरीय रिपोर्टिङ गर्ने । ६.६ स्वास्थ्यकर्मीहरु नयाँ बिधि प्रबिधिसँग अनिवार्य रुपमा अपडेट हुनुपर्ने र मन्त्रालय, बिभाग र प्रदेश स्वास्थ्य कार्यालय, बर्दियामा रिपोर्टिङ गर्नुपर्ने । हाल विश्वव्यापी महामारीरूपमा फैलिरहेको कोभिड - १९ को संक्रमण व्यापक रुपमा भैरहेको सन्दर्भमा क्षयरोग (Tuberculosis) रोग पनि कोरोना पोजिटिभ (Covid - 19) को सहायक हुने हुँदा यशले प्राणघातक रुप लिन सक्छ । श्वासप्रश्वासमा असर, मानिसवाट मानिसमा सर्ने, खोकी, ज्वरो, कमजोरीका लक्षण कोरोनासँग अवश्य मिल्दोजुल्दो हुँदा क्षयरोगका बिरामीलाई बिशेष ध्यान दिनुपर्ने हुन्छ । लेखक परिचय : ~~~~~~~~~~ ✍️ बसन्तराज अधिकारी अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा) हाल : उपसचिव, नेपाल सरकार कामकाज : प्रमुख प्रशासकीय अधिकृत राजापुर नगरकार्यपालिका कार्यालय राजापुर, बर्दिया । ✍️ रचनाकार : बसन्तराज अधिकारी घोराही, दाङ हाल: राजापुर, बर्दिया । सन्दर्भ सामग्रीहरू (References) ~~~~~~~~~~~~~~~~~~~~ 1.Kumar V, Abbas AK, Fausto N, Mitchell RN (२००७), Robbins Basic Pathology (8th संस्करण), Saunders Elsevier, पृ: 516–522, आइएसबिएन 978-1-4160-2973-1। 2. Konstantinos A (२०१०), "Testing for tuberculosis", Australian Prescriber 33 (1): 12–18। 3. "Tuberculosis Fact sheet N°104", World Health Organization, नोभेम्बर २०१०, अन्तिम पहुँच २६ जुलाई २०११। 4. "Tuberculosis", World Health Organization, २००२। 5. World Health Organization (२००९), "Epidemiology", Global tuberculosis control: epidemiology, strategy, financing, पृ: 6–33, आइएसबिएन 978-92-4-156380-2। 6. विकिमिडिया कमन्समा क्षयरोग सम्बन्धी अन्य सामग्रीहरू 7. राजापुर नगरपालिकास्तरीय क्षयरोग कार्यक्रमको समिक्षा तथा चौमासिक कोहर्ट विश्लेषण मिति २०७७-०८-०५ र ६ गते को कार्यक्रम ।
Comments
Post a Comment