तनाव व्यवस्थापन अवधारणा : बिशेषता र तरिका
✍️ वसन्तराज अधिकारी |
१. सार (Abstract) :
तनावलाई अंग्रेजीमा Stress शब्दवाट स्पष्टरुपमा बुझ्न सकिन्छ । तनावलाई सम्झिन प्रथमतः अवधारणा जान्नु जरुरी छ । तनाव सम्बन्धमा निम्नलिखित बुँदाहरु मननीय छन् :
© तनाव उत्तेजना हो ।
© तनाव मांग हो ।
© तनाव जीवनका लागी जीवनजल समान छ ।
© तनावले अन्ततः मृत्युलाई आत्मसात गर्दछ ।
© तनाव उपचारात्मक विषय मात्र नहरी व्यवस्थापको क्षेत्र हो ।
अत: अति संक्षिप्त र एकै वाक्यमा भन्नू पर्दा आजको अत्याधुनिक र बैज्ञानिक युगमा तनाव अवश्यम्भावी छ । तर, त्यसलाई सकारात्मक वा नकारात्मक तिर कता पुर्याउने हो, सो व्यवस्थापक अर्थात् मेनेजरको हातमा छ । कुशल र सक्षम व्यवस्थापकले तनावलाई चुनौतीको रूपमा स्वीकार गरि अवसरको रुपमा उपयोग गर्न सक्छ । तनावलाई उचित तरिकाले व्यवस्थापन गरेमा व्यक्ति तथा संस्था दुवै पक्ष लाभान्वित हुन सक्छन् ।
२. तनावको परिचय :
२.१ Oxford Advance Learners Dictiinary का अनुसार शारीरिक दबाब, थिचाई, जोड र बिरामी, बुढ्यौली आदि अवस्थालाई तनावको अर्थमा अर्थाइएको छ ।
२.२ Merraim Webster Collegiate Dictionary का अनुसार तनाव भन्नाले शारीरिक, रासायनिक र आवेशात्मक वा उत्तेजनात्मक तत्व हो जस्को परिणामत: शारीरिक र मानसिक तनाव हुन्छ र तनावको कारण रोगहरु ल्याउने सम्भावना रहन्छ ।
२.३ तनाव (Stress) शब्दको व्युत्पत्ती भौतिक शास्त्र (Physics) तथा वास्तु शास्त्र (Engineering) वाट प्रयोग वा प्रचलनमा आएको मानिन्छ । शब्दस: अर्थाउँदा वातावरणमा आएको परिवर्तनको कारण व्यक्तिमा आएको शारीरिक तथा मानसिक परिवर्तनको स्थिति नै तनाव हो ।
२.४ नेपाली अनुसन्धानविद् निरञ्जन प्रसाद उपाध्याय, अफुल के.कार्की र देउवा आरजुका अनुसार नेपाली संगठनहरुमा कामदार वा कर्मचारीहरुलाई विभिन्न कारणवाट Stress वा Conflict हुन्छ । जस्तो : पुरस्कार र दण्डको असन्तुलन, तलव सुविधामा कमी, अपर्याप्त तालिम सुविधा, व्यवस्थित कार्यविवरण नहुनु, असल अभ्यास, गृहकार्यको प्रचलन नहुनु, अपर्याप्त मान्यताको कार्यसम्पादन, अतिरिक्त राजनीतिक दबाब, पदस्थापनको अभाव, अनपेक्षित वा अनावश्यक लाभको बाँडफाँडको प्रवृत्ति आदि हुन् ।
२.५ Reader Ruchira, Koirala, Department of Psychology, Tribhuvan University, Kirtipur प्रकाशक लोक सेवा आयोगको निजामती सेवा पत्रिकामा निम्नलिखित तालिकीकरण गरि तनावलाई अवधारणात्मक रुपमा स्पष्ट पारिएको छ । साथै निम्नलिखित तथ्यहरुका आधारमा तनावलाई यसको पहिचान देखि समाधान तह सम्म स्पष्टरुपमा बुझ्न सहयोग पुराएको छ :
२.५.१ तनावका किसिम
२.५.१.१ मानसिक र
२.५.१.२ आवेशात्मक ।
२.५.२ वातावरणीय तत्वहरु
२.५.२.१ कार्यचाँप
२.५.२.२ असन्तुष्टि
२.५.२.३ वित्तीय/आर्थिक समस्या
२.५.२.४ कर्तव्यविमुढता
२.५.२.५ दिक्दारीपना
२.५.२.६ एक्लोपन
२.५.२.६ सम्बन्ध
२.५.३ तनावका तहहरु
२.५.३.१ निम्न
२.५.३.२ स्वस्थ्य
२.५.३.३ बढी
२.५.४ तनावका प्रभाव/लक्षणहरु
२.५.४.१ टाउको दुखाइ
२.५.४.२ अनिद्रा
२.५.४.३ तनाव
२.५.४.४ डिप्रेसन
२.५.५ तनाव उत्पादन
२.५.५.१ रिस/आक्रोश
२.५.५.२ न्यून आत्मसम्मान
२.५.५.३ आत्महत्या {अन्त्य}
२.५.६ समाधान
२.५.६.१ ध्यान
२.५.६.२ मनोवेत्तासँग सल्लाह
२.५.६.३ अभ्यास
२.५.६.४ आशावादी
२.५.६.५ भावनात्मक वा
२.५.६.६ धारणात्मक
पुनश्च : उपरोक्त तालिकाअनुसार उपरोक्त बुँदा एकाअर्कामा अन्तरसम्बन्ध रहेका छन् ।
३. तनावको विशेषता :
३.१ मानिसको ग्रहणशिल क्षमतालाई असर पार्ने एवम् चुनौती दिन्छ ।
३.२ वातावरणले पारेको असरवाट मानिसमा आएको परिवर्तन हो ।
३.३ पर्यावरणसँगको मानवीय अन्तरक्रिया हो ।
३.४ सामान्य अवस्थामा कार्यसञ्चालन भैरहेको अवस्थामा परिवर्तन भै पर्न आउने दबाबवाट सिर्जित भौतिक तथा मानसिक असामान्य स्थिती हो ।
३.५ यो कुनै पनि मांगको सम्बन्धमा शरिरले देखाउने असामान्य प्रतिक्रिया हो ।
३.६ तनावको लत उन्माद लागिरहन्छ ।
३.७ तनाव एउटा रोग अर्थात् सरुवा रोगको रूपमा रहन्छ ।
३.८ तनाव असंभावित हुन्छ ।
३.९ एकै प्रकारको तनावले कसैलाई ज्यादा चोट पुर्याउँछ भने कसैलाई सामान्य हुन्छ ।
३.१० तनाव लाई व्यवस्थापन गर्न सकिन्छ उपचार गर्न सकिदैन ।
३.११ मानिसको जीवनमा दुईवटा विकल्प छन् -"समर्पण र संघर्ष" समर्पण गर्ने हो भने कुनै पनि दबाबको सिर्जना र सामना गर्नु पर्दैन, यसमा उन्नति र प्रगति पनि छैनन् र संघर्ष गर्ने हो भने अनेक उतारचढावको सामना गर्नुपर्छ त्यसबाट तनाव हुन्छ ।
३.१२ मनोबैज्ञानिक लजारियस र लौनियारले तनावलाई - "त्यस्तो मांग तथा धम्कि हो जस्ले मानिसको ग्रहणशिलतालाई चुनौती दिन्छ ।" भनेका छन् ।
३.१३ तनाव त्यस्तो सक्रिय गतिको अवस्था हो जसमा अवसर हुन्छ र अवरोध उत्पन्न भै त्यस्को मांगसँगको अन्तर्द्वन्दको अवस्था चलिरहन्छ ।
३.१४ सकारात्मक तनावलाई EU Stress र नकारात्मक तनावलाई Dstress भनिन्छ । तनावलाई रेखाचित्रवाट पनि स्पष्ट गर्न सकिन्छ
३.१५ रेखाचित्रमा "कख" ठाडो रेखा र "खग" तेस्रो रेखा र बीचमा "घङ" सिधा रेखा कोरिएका छन् अब बायाँ तिर "ङच" रेखा र दायाँ तिर "ङछ" रेखाचित्र कोरिएका छन् जसमा "ङचछ" Stress रेखामा "ङच" EU Stress र "ङछ" Dstress हो ।
३.१६ विकसित मुलुकहरूमा तनावलाई सहन गर्न सकिने क्षमता निर्धारण गरिएको पाईन्छ । संयुक्त राज्य अमेरिकामा यसलाई LCU Cycle {Life Change Unit) भनिन्छ । अमेरिकीहरुमा LCU सहन क्षमता १५० तोकिएको छ । उनीहरुले विभिन्न प्रकारले अङ्कभार निर्धारण गरेका छन् । श्रीमान् /श्रीमती मध्ये कुनै एकको मृत्यु भएमा १०० अंक निर्धारण गरिएको छ । यस्तै विभिन्न शिर्षकहरु जीवन र तनावको बारेमा निर्धारित छन् ।
३.१७ तनावलाई मापन गर्ने विभिन्न प्रविधि एवम् उपकरणहरु बिकास भैसकेका छन् । तिनीहरु प्रमुखत: रक्तचाप नियमन, इलेक्ट्रोकार्डियोग्राम (ई.के.जी.) ह्रदयगति नियमन अनुगमन, रक्तचाप, व्यक्ति -वातावरण (पि.ई.) चक्र आदि पर्दछन् ।
४. तनाव व्यवस्थापन (Stress Management)
माथी उल्लिखित तनावको परिचय र बिशेषताहरुवाट तनावको बारेमा स्पष्टत: के धारणा बनाउन सकिन्छ भने तनाव भन्नाले कुनै पनि अवस्थामा शारीरिक, मानसिक, मनोबैज्ञानिक, बौद्धिक रुपमा उत्पन्न हुने असहज अवस्था वाट सिर्जना भै गम्भीर प्रकृतिको विरामी वा जटिल अवस्था सम्म पुग्न सक्ने स्वरुप हो । जसरी कुनै पनि प्रकारका बिरामीका लागि डाक्टर, नर्स, स्वास्थ्य सहयोगी आदिको सहयोगले औषधिको प्रयोगद्वारा बिरामीको रोगको Diagonosis गरे पश्चात् निको पार्न सकिन्छ । परन्तु तनाव कुनै पनि प्रकारको रोग नभई शारीरिक, मानसिक, मनोबैज्ञानिक रूपमा उत्पन्न हुने असहज स्थिति भएकाले यसको उपचार नभई व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले भनाई पनि छ - Stress is manageable but not cure कुनै उमेर, अवस्था वा पेशा वर्गको व्यक्तिलाई कुनै पनि समयमा Stress उत्पन्न हुने र यसको उपचार मनोबिज्ञानका सल्लाहकारहरु अझ हिजोआज परामर्शदाताहरुको (Councillors) सहयोगमा तनाव व्यवस्थापन गर्न सकिन्छ । ठिक समयमा सही ढंगले यसको व्यवस्थापन गरिएन भने कहिलेकाही सामान्य (General) भनिए पनि गम्भीर परिणाम आउँदैन भनेर भन्न सकिदैन । खोजेको बेलामा तत्काल Expert Councillor पाउन पनि सकिने अवस्था छैन । हाम्रो जस्तो अल्पविकसित मुलुकमा सबैलाई यश बारे तथ्य सत्य जानकारी पनि हुँदैन ।
तनाव बारे सामान्य उपचार स्वयं पनि गर्न नसकिने होईन, यश बारे तनाव व्यवस्थापनको कार्ययोजना (Action Plan) बनाई अनिवार्य रुपमा पालना गर्नुपर्दछ । कार्ययोजना वैयक्तिक र संस्थागत दुवै हुन सक्दछ । साथै अल्पकालीन, दीर्घकालीन र आकस्मिक हुन सक्दछ । तनाव हटाउन वा निवारण गर्न सकिने बिषय भए पनि दक्ष-विशेषज्ञ, मनोबिज्ञानवेत्ता, परामर्शदाताको सहयोगमा वा आत्म-अनुशासन द्वारा स्वयं यशलाई न्यूनीकरण गर्न सकिन्छ । तनाव व्यवस्थापन सम्बन्धमा ठोस र शिघ्र नियम (Hard and Fast Rule) पाईदैन । तनावलाई निम्न कार्ययोजनाको आधारमा केही न केही उपलब्धिमुलक रूपमा व्यवस्थापन गर्न सकिने तथ्य व्यबहारिक रहेकोे छ । यो कार्ययोजना आफ्नै स्व अनुभवको आधारमा सकभर प्रभावोत्पादक रूपमा मापनियस्तरको प्रस्तुत गर्न खोजिएको छ ।
५. तनाव व्यवस्थापन (Stress Management) का उपायहरू
५.१ तनाव व्यवस्थापनका व्यक्तिगत उपायहरू
५.१.१ अल्पकालीन उपाय
५.१.१.१ उत्तम विचार सकारात्मक सोंच लिनुपर्दछ ।
५.१.१.२ शान्त स्वभाव हंसमुख बन्नुपर्दछ ।
५.१.१.३ सादा जीवनशैली अपनाउनु पर्दछ ।
५.१.१.४ खानपानमा सादा सरलता अपनाउनु पर्दछ ।
५.१.१.५ मन फुकाएर हाँस्नुपर्दछ ।
५.१.१.६ ध्यान, योगा, नृत्य र गीत संगीतमा रम्नुपर्दछ ।
५.१.१.७ अध्यात्मिक जीवनशैली अपनाउनु पर्दछ ।
५.१.१ दीर्घकालीन उपाय
५.१.१.१ वैयक्तिक योजना बनाई कार्यान्वयन गर्नुपर्दछ ।
५.१.१.२ बस्ने, काम गर्ने वातावरण अनुकुल बनाउनुपर्दछ ।
५.१.१.३ समयको महत्व बुझेर काम गर्नु पर्दछ ।
५.१.१.४ सिर्जनात्मक कार्य जस्तो अध्ययन, डायरी लेखन नियमित गर्नुपर्दछ ।
५.१.१.५ ध्यान गर्ने, विचार गरेर कार्य गर्न अनुसन्धानात्मक कार्यमा मन लगाउनु पर्दछ ।
५.१.१ आकस्मिक उपाय
५.१.१.१ शिष्ट, अनुशासित र मृदुवचन बोल्नुपर्दछ ।
५.१.१.२ व्यवस्थित र सक्रिय जीवनशैली र तम्तयार बनिरहनु पर्दछ ।
५.२.१.३ आकर्षक व्यक्तित्व सादा जीवनशैलीमा रम्नुपर्दछ ।
५.२.१.४ धुमपान, मध्यपान, धेरै घुमफिर, भोजभतेर, स्वनियंत्रित बन्नुपर्दछ ।
५.२.१.५ निर्णय निर्माण एवम् कार्यान्वयनमा शिघ्रता अपनाउनु र स्वपरिक्षण गर्न अभ्यास गर्नुपर्दछ ।
५.१ तनाव व्यवस्थापनका संस्थागत उपायहरू
५.१.१ अल्पकालीन उपाय
५.१.१ कर्मचारी/कामदारहरू लाई महंगीको अनुपातमा पर्याप्त पारिश्रमिक दिनुपर्दछ ।
५.१.२ कर्मचारीहरूमा समन्वय, सहभागिता, अधिकार व्यवस्थित एवं समुचित प्रयोग हुनुपर्दछ ।
५.१.१.३ कार्यवातावरण समायोजन हुनुपर्दछ ।
५.१.१.४ कार्यपरिवर्तन हुनुपर्दछ ।
५.१.१.५ कर्मचारीलाई पुरस्कृत गरिनुपर्दछ ।
५.१.१.६ व्यक्तित्वको सम्मान गर्ने संस्कृतिको बिकास गरिनु पर्दछ ।
५.१.२ दीर्घकालीन उपाय
५.१.२.१ ठीक मानिसलाई ठीक ठाउँमा ठीक तरिकाले ठिक निर्णयले कामको जिम्मेवारी प्रदान गर्नुपर्दछ ।
५.१.२.२ योग्यता प्रणाली र प्रतिस्पर्धालाई बढावा दिनुपर्दछ ।
५.१.२.३ स्वस्थ्य प्रतिस्पर्धालाई प्रोत्साहन बढोत्तरी गरिनुपर्दछ ।
५.१.२.४ प्रभावकारी समन्वय सहभागिता हुनुपर्दछ ।
५.१.२.५ पिरमर्का आदिको समस्या समाधान गर्ने संयन्त्रको स्थायीरुपमा निर्माण र विकास गरिनु पर्दछ ।
५.१.३ आकस्मिक उपाय
५.१.३.१ सामान्य एवं प्रक्रियागत कमी कमजोरीमा सुधार गर्ने मौका प्रदान गर्नु पर्दछ ।
५.१.३.२ व्यक्तिको महत्व र गरिमा बुझ्ने र कदर गर्ने गर्नुपर्दछ ।
५.१.३.३ संस्थागत-मैत्रीपुर्ण कर्मचारी सम्बन्ध कायम हुनुपर्दछ ।
५.१.३.४ नतिजामुखी कार्यसम्पादनमा जोड दिईनु पर्दछ ।
५.१.३.५ आफै गर्न सिक्ने र आत्म मुल्यांकन गर्ने सामर्थ्यको बिकास गर्ने वातावरणको निर्माण हुनुपर्दछ ।
उपर्युक्त कार्ययोजना अल्पकालीन, दीर्घकालीन र आकस्मिकरूपमा उल्लेख गरिएपनि यी एक आपसमा परिपुरक र समपुरक पनि रहेका छन् । व्यक्तित्व, कार्यशैली, संस्कृति, शैक्षिक अवस्था आदिवाट स्वयं निर्धारण गरिने भएकाले कार्ययोजना परिवर्तित एवं आवश्यकतानुसार तयार गर्न सकिन्छ । सारांशमा - तनाव व्यवस्थापनका व्यक्तिगत उपायहरू प्रभावकारी समय व्यवस्थापन, शारीरिक अभ्यासमा वृद्धि, आराम लिने, तालिमको विस्तार गर्ने, सामाजिक समर्थन सञ्जाल (Social Support Network) स्थापना गर्ने आदि पर्दछन् भने संस्थागत उपायहरुमा Right Man in Right time in Place in Right way in Right Decision. सञ्चार प्रणालीमा सुधार, कामको पुनः डिजाइन आदि हुन् ।
६. उपसंहार :
आजको कार्य व्यस्तताको समयमा मानव कर्मचारी दिनानुदिन यान्त्रिकवाट मेकानिकल हुँदै गैरहेको अवस्था छ । कार्य विशिष्टिकरणले गर्दा हरेक व्यक्ति ससाना इकाईहरुमा अत्यन्त व्यस्त रहेको छ । पहिला पहिला अर्थात् आजभन्दा ४५-५० बर्ष पहिले बुढ्यौंली अर्थात् प्रौढतावाट मात्र देखा पर्ने तनाव हिजोआज १० बर्षिय बालकमा पनि कस्तो टेन्सन भैरहेको छ भनि भनेको हामी प्रायः सुन्छौं । मुलतः प्रदुषित वातावरण, बनावटी कृत्रीमता अर्थात् नक्कली कृत्रिम उपभोग्य सामग्रीहरुको सर्वाधिक प्रयोग, जनसंख्या वृद्धि, हावापानी परिवर्तन, अप्राकृतिक उत्पादन वा बायोटेक्नोलोजीको अत्यधिक प्रयोग, प्राकृतिक शान्त आनन्द अवस्थाको अभाव आदि तनाव उत्पत्तिको प्रमुख वा आधारभुत कारक तत्व बन्दछन् । तनावलाई सकारात्मक वा नकारात्मकताको परम्परागत विवाद गर्नु भन्दा तनाव मानवीय आवेशात्मक र वाञ्छनीयरुपमा उत्पन्न हुने अवस्था हो र यो मानसिक क्रिया प्रतिक्रियाको अवस्था हो भनि ठोकुवा साथ भन्न सकिन्छ ।
तसर्थ तनावसँग डराएर होईन, तनावलाई उचित व्यवस्थापन गरेर जीवनलाई उत्पादक, उपयोगी र सार्थक बनाउन सकिन्छ । वर्तमान समयमा तनाव मानिसहरूको साझा समस्याको रूपमा देखापरिसकेको तथ्य स्पष्ट छ । त्यसैले उत्पादक एवं उत्तम जीवनशैली बनाउन तनाव नियन्त्रण आवश्यक छ । व्यक्ति स्वयंले पनि तनाव नियन्त्रणका उपाय छनौट गर्न सक्छ । उसले यथार्थमा आधारित आकांक्षा पाल्ने, आफ्नो क्षमताको विकास तथा योजना गर्ने, अनावश्यक प्रतिस्पर्धा नगर्ने, व्यक्तिगत सीमालाई बुझ्ने र मान्यता प्रदान गरेमा पनि व्यक्तिगत तनावलाई घटाउन सकिन्छ ।
मानव भएर जन्मेपछि सुख शान्तिपुर्वक जीवनयापन गर्ने समाजमा आफ्नो विशिष्ट पहिचान राख्ने, सभ्य र सुसंस्कृत बन्ने इच्छा र जीवन जीउने कलाको कल्पना सबैले जानीनजानी गरिरहेकै हुन्छन् । परन्तु, शिक्षा, साथी~संगति, सामाजिक व्यवहार, बुद्धिको सदुपयोग, जीवनदृष्टी अर्थात् जीवनप्रतिको सोंच आदि भिन्नताले कोहि सुख र शान्तिमा पौडिरहेका र कोहि तनाबै तनावमा पिल्सिरहेका पाईन्छन् । तनाव केवल गरिबलाई मात्र हुने र धनीलाई नहुने पनि होईन, सबै बर्ग, जाती, धर्म, भाषा आदिमा यो पाईन्छ । कार्य प्रकृति र ग्रहण गर्ने क्षमताको मात्राको अन्तर मात्र हो । अझ ग्रामीणहरु भन्दा शहरीयाहरु, रोजगारहरु भन्दा बेरोजगारहरु, जोखिमरहित भन्दा जोखिमयुक्त पेशा व्यवसायहरु अपनाउनेहरुमा तुलनात्मकरुपमा बढी देखिनु अस्वाभाविक होईन । अझ स्पष्ट भन्दा अनपढहरु भन्दा पढेलेखेका मानिसहरुमा तनावको मात्रा बढी हुन सक्छ ।
वर्तमान सन्दर्भमा विश्वव्यापी महामारी कोरोना भाईरस (COVID -19) को नेपालमा पनि पिडादायी संक्रमित (Pendamic transmission) लाख भन्दा बढी संख्यामा बढिरहेको र मृत्यु दर बढिरहेको सन्दर्भमा हाम्रा महान चाड पर्व, बडादशैं, दीपावली, छठ समेतका चाडपर्व मनाउँदा बिशेष सतर्कताका जो जहाँ अवस्थित छ सोही स्थानवाट मनाउने सरकारको आह्वान सबैले ह्रदयाङ्गम अनिवार्यत: गर्नुपर्ने अवश्यम्भावी रहेको छ । आफू, आफ्नो परिवार, आफू बसेको समाज र राष्ट्रको एक जिम्मेवार सदस्य वा नागरिकको नाताले कर्तव्यबोध हुनैपर्दछ । यो अरुलाई होईन, आफ्नै लागि हो भन्ने आत्मसात गर्नुपर्दछ ।
यश लेखमा तनाव भनेको के हो ? र यो कसरी व्यवस्थापन गर्ने ? बारे आफ्नो स्वाध्यायन र प्रशासकीय कार्य प्रकृतिको करीब दुई दशकको अनुभव समेतका आधारमा बिज्ञ/विद्वान पाठक बर्गहरुमा सादर प्रस्तुत गरेको छु ।
सन्दर्भ सामग्रीहरु
~~~~~~~~~~~~
1. Oxford Advance Learner's Dictionary of current English Sixth edition.
2. निजामती सेवा पत्रिका (Civil Service Journal) प्रकाशक : लोक सेवा आयोग Article of Reader Ruchira Koirala, Department of Psychology, Tribhuvan, University (ktm.)
3. Handouts of Kedar Bahadur Rayamajhi, Director General, Training Department, NASC, Jawalakhel, Lalitpur, Nepal.
4. Assignment of Basic Administrative Training (BAT-21th Batch) Nepal Administrative Staff College, presented by Basanta Raj Adhikari, Group-A
5. Note & Diary of Section officer, Prepared by Basanta Raj Adhikari
6. जनक शिक्षा सामग्री केन्द्र, लिमिटेड स्मारिका बर्ष २६ ३० औं बर्ष प्रवेशाङ्क ८ असोज, २०६४ मा प्रकाशित आफ्नै लेखवाट परिमार्जन सहित पुर्नलेखन ।
7. "जागीरे-यात्रा" सिर्जनाहरुको सङ्गालो, २०७० लेखकको आफ्नै रचनात्मक संग्रहवाट साभार । 8. वर्दियावाट प्रकाशित हुने हाम्रो भावना राष्ट्रिय दैनिकवाट, २०७७ मा प्रकाशित ।
Comments
Post a Comment