१३१. अथ भगवती स्तोत्र प्रारम्भ:

 अथ भगवती स्तोत्र प्रारम्भ:

संकलन तथा सम्पादन ✍️ वसन्तराज अधिकारी
स्वनिवास : घोराही उपमहानगरपालिका वार्ड नं.१७, दाङ 

गुप्ती नाम धरी सखि नगरमा पस्न्या बखत्मा पनि । कस्ता रीत्सित कष्ट भोग गरि यहाँ उत्तीर्ण ह्वौंला भनी ।। चिन्ता धेर हुँदा युधिष्ठिरजीका मन्मा लहड यो गयो । सम्झी झट्ट तहाँ जगत जननिको स्तव गर्न लाग्नु भयो ।।१।। मालिक चौध भुवन्कि जो भगतका खातिर ब्रजैमा गई । लिला गर्नु भयो यशोमतिजीका कोषवाट पैदा भई ।। नन्दैका कुललाइ उज्वल गरि भक्तै उपर प्रेम धरी । कंसैको पनि गर्व नाश हुन गयो जस्का प्रभावले गरि ।।२।। कंसैले पनि मार्नको मन गरि हात्मा उठायो जसै । विद्युतका सरि रुप धरी गगनमा उडनुभयो झट तसै ।। माला दिव्य र दिव्य वस्त्र जस्का खड्गै छ हात्मा पनि । प्रख्यात छिन् तीनलोकमा भगवती बैन्ही हरिकी भनी ।।३।। दु:खित भै जगदम्बिका चरणको ध्यान गर्दछन जो यहाँ । पापले मुक्त भएर भक्तहरु ति पुग्छन्  परमपदमहा ।। गाई धापविषे गिरिन यदि भन्या सज्जन जउन रीत गरी । झिक्छन सो रितले त भक्त दु:खमा पर्दा उतार्छिन धरी ।। ४।। प्रभाव यस्तो जानी जगत-जननीका चरणमा । मनैले शिर राखी कुरुपती प-या झट शरणमा ।। स्तुति गर्न्या मन भैकन अधिक काँतर स्वर गरि । स्तवन गर्छन् शास्त्रै-बिधि शीत नयनभर जल धरी ।।५।। हे दुर्गे सबलाई वर पनि दिन्या कौमार स्वरुपकि भई । तेज तिम्रो पनि बाल सुर्यसरिको मुख पुर्णचन्द्रै झई ।। चारै बाहु चतुर्मुखै अति कठोर श्रेणी पयोधर पनि । धारण गर्नु हुन्या म पर्दछु शरण मंगल दिनुहोस भनी ।।६।। मयुर्का रङ जस्ता अति असल बाला छ करमा । अधिक खुल्न्यानुपुर मणि जडित पाउ उपरमा । प्रभाव लक्ष्मीका झै गरीकन त घुम्न्या गगनमा । दया तिम्रो पाउँ भनिकन म पर्छु शरणमा ।।७।। चार बाहु बिचमा छ पात्र र कमल घण्टा र चक्रै धनु । लम्बा हातबिषे छ पाश अति असल शोभायमान क्या भनुँ । कुण्डल कान बिषे खजित छ सुनका हीराहरु लाल जडी । शोभा गर्नु हुन्या जगत-जननीको माग्छु दया यो घरी ।।८।। कपालमा केश बन्धन मुकुट पनि धर्न्या अति असल । शशी लज्जित गर्न्या मुखकमलको सुन्दर सकल ।। अति लामु चुल्ठो सरपसरि झुल्न्या जघनमा । लगायाको सिक्री झुनुझुनुनु गर्न्या गगनमा ।।९।। अगाडि सागर्को मथन गर्दा बासुकीसरि । लपेटन्या मंदरझै जघन सुनकी सिक्री कबरी ।। बडो शोभा गर्न्या झलमल भई त्यै जघनमा । हजुर्को हे दुर्गे स्वरुप पनि ध्यान गर्छु मनमा ।।१०।। ध्वजा धर्न्या सुन्दर मजुर पनि जस्का उपरिमा । कुमारी रुपधारी रहिकन सबै स्वर्गभरिमा ।। पवित्र गर्छन जो पुजन गरदा देवगणमा । कृपा माग्छु मातर म पनि परि तिम्रा शरणमा ।।११।। त्रिलोकको रोग जस्तो असुर महिषासुर हुन गयो । दया तीनलोकमाथी धरिकन त मारिदिनुभयो । उसै माफिक मेरा उपर पनि दुर्गे धरी दया । सहज्मा दु:ख छुटलान्  यदि मकन मंगल दिनु भया ।।१२।। जया भन्छन्  सबले बिजय पनि नाम हो हजुरको । भगत्का खातिर्मा क्षय गरिदिन्या सब असुरको ।। अधिक दु:ख पर्नाले घरी घरी म पर्छु चरणमा । कृपा राखी अंम्बे मकन लिनु पर्ला शरणमा ।।१३।। बाँस गर्नु पनि हुन्छ बिन्ध्यगिरीमा काली भनी नाम धरी । जो दिन्छन बलिदान मनुश्यहरुले शास्त्रै बिधानले गरि ।। फेरि श्री जगदम्बिका-चरणका ध्यान गर्दछन जो यहाँ । सन्सार्को सुखभोग गरेर पछि फेर पुग्छन परंपदमहा ।।१४।। प्रात: कालमहाँ उठि हजुरको जो जन स्मरण गर्द्छन । फेरि दु:ख हुँदा चरण कमलमा जस्ले त मन धर्दछन । तीन माथी करुणा गरि हजुरले संसारका सुख जति । पुर्णै गर्दिनुहुन्छ पुत्र धनले खुशी रहन्छन अति ।।१५।। जंगलमा परदा समुन्द्र तरदा चोर्ले लगार्दा पनि । आपद भारी हुँदा सबै हजुरका नाम्ले त टर्छन्  भनी । दुर्गा नाम भजी चरण कमलको ध्यान गर्छ मनले जउन । फेरि दु:ख नपाई जन्म भरी खुप ऎश्वर्य भोग्ला तउन ।।१६।। शोभा कान्ति मति घृती पनि हजुर बिद्या र सिध्दी जति । सन्ध्यारात्री दया क्षमा जगतमा कान्ति हुन्या फेर अति । हे मातर जगदम्बिके यी जति छन तिम्रा बिभुती भनी । जानी ज्ञानीहरु चरण कमलमा धर्छन सदा शिर पनि ।।१७।। बंन्धनमा गिरदा र मोह परदा धन-पुत्र नाश्मा पनि । रोगको जोर हुँदा ठूलो भय हुँदा कल्याण मिलोस लौ भनी ।। जस्ले पुजन गर्छ भक्ती रसले तन्मन हजुर्मा धरी । उस्माथी करुणा गरि सुख दिन्या सब दु:ख मन्को हरि ।।१८।। राज्को नाश भएर दु:खित भई बिह्वल भयाको म छु । संकट नाश हुन्या उपाय अरु क्यै देख्तिन ऎले कछु ।। केवल श्री जगदम्विके हजुरका ऎले शरणमा परी । साष्टाङ्गै पनि गर्छु लौ घरी घरी भर सब हजुरकै गरी ।।१९।। रक्षा गर्नु हवस प-याँ बिपतमा दासहुँ हजुर्को पनि । भक्तै हुँ म त भक्तवत्सल हजुर आया शरणमा भनी । दर्शन बक्सनुहोस कमल नयनले हेर्नु हवस हामीलाई । त्राही - त्राही म भन्छु हे भगवती यो गुप्तवास जानलाई ।।२०।। युधिष्ठिर्को यस्तो स्तुति सुनी बहुत खुश हुन गई । तीनै लोककी माई भगवती तहिँ प्रकट भई । हुकुम गर्छिन फेरि सुन वचन मेरो कुरुपती । सहज संकट छुटला अब-उपर पर्ला जतिजति ।। २१।। कृपाले मेरा फेर पृथ्वीभरका दुश्मन जति । जिति राज गर्नेछौ नगर मनको शोक अब रति । सबै भाइ सङ्मा लिईकन तिमी खुशी मनले । बिराटका सङ बस्दा कछु खबर जान्दैन जनले ।। २२।। सबै मेरा तिम्ले स्तुति पनि गरेउ जौन अहिले । जउन जन पाठ गर्दा बिपद परदा खेरी कहिले । दया राखी उस्का सकल मनको ताप म हरुला । बिपदको नाश पारी धन र जनले पुर्ण गरुला ।।२३।। प्रात: काल्मा सबेरै उठिकन दिन-दिन स्तोत्र यो पाठ जसले । गर्ला सुन्ला सुनाउला खुशी शीत म-उपर भक्ती भै प्रेम रस्ले । तेस्लाई वर म दिन्छु सकल जगतको भोग ऎश्वर्य  गर्ला । फेरि मेरा कृपाले गरिकन रणमा शत्रुको शेखी हर्ला ।। २४।। राजन ! भंन्छु म ऎले तिमीहरु जति छौ मत्स्य देशमा त जाउ । जान्या छैनन कसैले सहजसंग तहाँ बर्ष दिन यो बिताउ । भन्या रक्षा सबैको गरिकन बरदान धर्मराज लाई दिई । पाल्नु भो धाममा फेर जगतकि जननी अन्तरैध्यान लिई ।।२५।। अन्तरध्यान भईन जसै भगवती राजा खुशीले गरि । पाशा रत्न समानका र थरकी काषीबीषे झट धरी । ब्राह्मण झैं मुरती लिई कुरुपती सबका अगाडि महाँ । मत्ता हात्ती सरी गमन पनि गरि पौंच्या बिराट छन जहाँ ।।२६।।


इति श्री भगवती स्तोत्र समाप्त ।।

शुभम्  !!!


✍️ संकलन तथा सम्पादन 

 वसन्त राज अधिकारी

घोराही उपमहानगरपालिका, दाङ 

मिति : २०७२ कार्तिक २७ गते यमद्वितिया भाइटीका ।

हाल : राजापुर, बर्दिया ।

स्रोत : My autobiography श्री बसन्तराज अधिकारी My fb page वाट साभार 

Comments