१३४. पंन्छि र म

 पंन्छि र म 

✍️ वसन्तराज अधिकारी
                           हाल : कीर्तिपुर, काठमाण्डौं                         

पंन्छी तिम्रोझै, जोडी छ मेरो ।

टाढा परेर, म भए बिचरो ।।

सीमीत आशा, छ तिमी भित्र।

म भित्र, आशाहरु छन अनन्त ।।१।।


सक्तिन उडन, मस्त गगनमा ।

बोकेर त्यान्द्रा, आशा मनमा ।।

चारा मखोज्न, उडदैछु आज ।

टाढा टाढा, फिजाई पँख ।।२।।


म श्रेष्ठ मान्छे, तर छैन मुक्त ।

हाँसिरहन्छु, दु:खहरु लुप्त ।।

प्रतिस्पर्धा पनि, गर्छ मानव ।

अतृप्ति आशा, पाउन बैभव ।।३।।


प्राणीहरुमा म हुँ, सर्वश्रेष्ठ ।

कोही छैन याहाँ, म सरि निकृष्ठ ।।

म बाहिर एउटा, भित्र छु अर्कै ।

मालिक सरी छु, समस्त जगतकै ।।४।।


आफ्ना पखेटा, जब छैन भरमा ।

बुद्धि लडाय, निमेषै भरमा ।।

म उडन सक्छु, सात समुन्द्र पार ।

अथक बिजेता, संसार सार ।।५।।


पन्छी तिमिमा, सरल छ प्रेम ।

लोभिन्छु सारै, त्यही सरलतामा ।।

म कुट कला, बिछट्ट बाठो ।

सरल प्रेमपासमा, म परेनी लाटो ।।६।। 


तिमीले बोल्ने, चिरवीर भाषा ।

मेरो  त भाषा वाक्प्टुता ।।

जन्माई सन्तान, हुर्काई तिम्ले ।

सिर्जना सीपमा, आफ्नै कलाले ।।७।।


हे पंन्छिराज, तिमी छौं चलाख ।

तिम्रो समिपमा, म छु अवाक ।।

खुल्ला छ गगन , रमणीय धरा । 

तिमी हौ त चरा, म भए बिचरा !! ।।८।।


सञ्चय गर्नु, तिमीलाई छैन ।

औपचारिक शिक्षा नि चाहिदैन ।।

मैले पढनै पर्ने, सुगा रटाई ।

थुपार्ने धन, खाई नखाई ।।९।।


पंन्छी तिमी हौं, मानव मित्र ।

धेरै सदगुण छन, तिमी भित्र ।।

सुकोमल मायालु, तिमी हौ चरी ।

भरोसा राखी, घुम्छौं वरीपरी ।।१०।।


बन पाखा पखेरा, रमाउँने चरी  ।

हरियाली प्रकृतिमा नाच्ने घरीघरी ।।

रुख हाँङ्गा, लहरा, खोला किनार ।

तिम्रो बासस्थान, र मिल्छ आहार ।।११।।


खुला छ गगन, पंन्छी छ मगन ।

धरा छन जननी र पिता गगन ।।

नभाषा नलोकाचार, तिम्रो यो माया ।

हामी हौं आडम्बरी, तिम्रो समिपमा ।।१२।।


बिहानै धर्तीमा, जब दिन हुन्छ । 

कर्मयोगी बन्ने, चरीको सन्देश ।।

म मान्छे छु अल्छी, सधै अलमल ।

आफू क्यै नगर्ने, अरुकै छ भर ।।१३।।


सङ्गीत मीठो,  स्वर कर्णप्रिय ।

तिम्रो समिपमा, हामी अधैर्य ।।

म आफुलाई, सव जान्ने मान्ने ।

धेरै छ पाठ, तिमीवाट गुन्ने ।।१४।।


विश्वास अरुलाई, कति गर्नु पर्छ ? ।

स्वयं सतर्क,  रही हरदम सचेत ।।

स्वभाव तेज, प्रकृति प्रेमी ।

म मान्छे परन्तु, बन्छु अधर्मी ।।१५।।


स्वच्छ र स्वस्थ्य, पवनमा उडाई ।

कहिले धरती, पुनः  आकाश चढाई ।।

म एकै ठाउँ रोकिएर, स्थिर भै रहने ।

स्वस्थ्य बन्न, कसरी म दाँजिने ?।।१६।।


थोरै छ भाषा, तिमी बुद्धिमान ।

धेरै म बोल्ने, म  हुँ अभिमान ।।

थोरै छ भोजन, तिमी छौं सन्तुष्टि ।

धेरै म खाने, सधै छु  अगस्ती ।। १७ ।।


अल्प छ निद्रा, जागृत स्वभाव ।

सधै खुशी छौ, हे पंन्छी राज ।।

म कुम्भकर्ण, असचेत भाव ।

सधै दु:खी भै, बित्छ दिनरात ।।१८।। 


सन्तान तिम्रा, गुडमा हुर्किए । 

पखेटा लगाई, बिदा भै गए ।।

म मान्छे कहिल्यै, पखेटा नलाग्ने ।

सन्तानको आशा, सधै पाली राख्ने ।।१९।।


प्रकृतिमा जन्म्यौ, धर्तिमै हुर्केउ ।

 बन पाखा, नदी र चौरमा  रमायौ ।।

म जन्मे घरमा, भिजे समाजमा ।

तर एक्लो भएर, जिउँछु यो शहरमा ।।२० ।।


निस्वार्थ जीवन, सीमीत इच्छा ।

पंन्छी छौ तिमी, सदैब सच्चा ।।

स्वार्थी छु म, अतृप्ति  छ भोग  ।

कहिल्यै छुटेन, झुठो र शोक ।। २१ ।। 


जता मान्छे बस्छ, त्यता तिम्रो बाँस ।

सहचारी तिमी, मिलनसार स्वभाव ।।

म मान्छे कसैसँग, मिल्नै नसक्ने ! ।

तथापि मिलेको, आडम्बर रच्ने ।।२२।।


दशगजा, सिमाना, भूगोलको बन्धन नहुनि ।

न पासपोर्ट न भिषा न त राहदानी ।।

म खेल्ने कानुनची, राजनीति, कुटनीती ।

म बन्ने कौटिल्य, र मेकियाविली ।।२३ ।।                                         

पंन्छी अनेक, तर तिम्रो जात  एक ।

न छुवाछुत र उँच्निच, न छ भेदभाव ।।

म छु बिभेदकारी अनेक बर्ण र जातभात ।

यहि छ मानवताको, एक अभिसाप ।। २४ ।।

🙏 समाप्त 🙏


✍️ कवि तथा रचनाकार : बसन्तराज अधिकारी, दाङ घोराही     रचना मिति : बाँके, नेपालगन्ज, २०७३                                   बर्दियावाट प्रकाशित हुने हाम्रो भावना राष्ट्रिय दैनिकवाट समेत २०७७/०४/३१ मा प्रकाशित भएको ।

Comments

Post a Comment