१२४. श्री गुरु-स्मरणम्

 श्री गुरु-स्मरणम्              

✍️ वसन्तराज अधिकारी & परिवार 

गुरुर्ब्रह्या गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ।

गुरु: साक्षात् परब्रह्य तस्मै श्रीगुरवे नम: ।।१।।

अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।

तत्पदं दर्शितं येन तस्मै श्रीगुरुवे नम: ।।२।।

अज्ञानातिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।

चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरुवे नम: ।।३।।

गुरुरादिरनादिश्च गुरु: परमदैवतम् ।

गुरो परतरं नास्ति तस्मै श्रीगुरवे नम: ।।४।।

ध्यानमूलं गुरो: मुर्ति: पुजामुलं गुरो: पदम् ।

मन्त्रमूलं गुरिर्वाक्यं मोक्ष मूलं गुरो: कृपा ।।५।।

यस्य स्मरणमात्रेण ज्ञानमुत्पद्यते स्वयम् ।

स एव सर्व संपत्तिस्तस्मै श्रीगुरवे नम: ।।६।।

आनन्द-मानन्द-करं प्रसन्नम् ज्ञान स्वरुपं निज भावयुक्तम् ।

योगिन्द्रमीड्यं भवरोगवैद्यं श्रीमद्द्गुरुं नित्यमहं स्मरामि ।।७।।

ब्रह्यानन्दं परमसुखदं केवलं ज्ञानमुर्तिं

द्वन्द्वातीतं गगनसदृशं तत्वमस्यादिलक्ष्यम् ।

एकं नित्यंविमलमचलं सर्वधीसाक्षीभूतं 

भावातीतं त्रिगुणरहितं सद्गुरं तं नमामि ।।८।।

गुरूको महिमा  

 गुरू अत्यन्त सम्मानित र आदरार्थी शब्द हो । मातृदेव, पितृदेव, आचार्यदेव भनेर सम्बोधन गर्ने गरिन्छ । गुरू ब्रम्हा, गुरू विष्णु, गुरूदेव महेश्वर भनेर गुरूलाई ब्रम्हा, विष्णु, महेश्वरसंग समानरूपमा तुलना गरेको पाईन्छ । हिन्दु धर्ममा प्राचीन ऋषि, मुनि, महर्षिहरूलाई गुरूकोरूपमा लिईन्छ । शिख धर्मको ‘गुरू ग्रन्थ साहिव‘ मा गुरूको महिमा अपार छ । गुरू शब्द हिजो आज व्यापकरूपमा प्रयोग भएको पाईन्छ । जस्तो शिक्षक, प्राध्यापक, मास्टर..........आदि लगायत सवारी चालकलाई पनि ‘गुरू’ भनि सम्वोधन गर्दछ । यस्तै प्रहरी वा सेनामा प्रशिक्षण दिने प्रशिक्षकलाई पनि उनिहरूका प्रशिक्षार्थीहरूले गुरू भनि सम्वोधन गरेको पाईन्छ । वास्तवमा सच्चा गुरू ति महापुरूष हुन् जसले कुनै आकांक्षा वा मोलतोल विना जीवनयापनकालागि आवश्यक पर्ने, ईश्वर प्राप्त गर्न सहज हुने, सामाजिक कुल, धर्म, रित परम्परा, सदाचार पालन गर्न उत्प्रेरित गर्ने सैद्धान्तिक शिक्षाको साथै व्यावहारिक प्रयोगात्मक कसीमा घोटी शिक्षा वा ज्ञान प्रदान गर्दछन् । यस्ता दिक्षितहरू नै राष्ट्र सेवाको महान गरिमामय दायित्व ईमान्दारी र सजगतापूर्वक सम्हाल्न सक्षम हुन्छन् । त्यसैले भनिएको छ –“विद्या निष्फल त्यस्को भो जो छैन देश सेवक” वास्तवमा देशको सेवा नै महान धर्म हो । 

 सामान्य अर्थमा विद्यारूपी शास्त्र वा ज्ञान प्रदान गर्ने व्यक्तित्वलाई गुरू भन्ने गरिन्छ । विद्या वा शास्त्र भन्नाले ज्ञान, अभिरूची, सीप, नयाँ नयाँ खोज, अनुसन्धान विश्व परिवेश समेटिएको अभौतिक सम्पत्तिलाई बुझाउँछ । “विद्या मै छ महाशक्ति कर्म मै छ सुपुजन” भन्ने वाक्यांश ज्ञान बद्र्धक र मानव जातीलाई विद्वान र कर्मयोगी बनाउने शिक्षा प्रदान गरेको छ । गुरूको शब्दिक अर्थ यस प्रकार छ –‘गु’को अर्थ अन्धकार र ‘रू’को अर्थ नाश गर्ने अर्थात समष्टि अर्थ अन्धकार नाश गर्ने भन्ने रहेको पाईन्छ । गुरू शब्द संस्कृत शब्द भए तापनि नेपालीमा आगन्तुक शब्दकोरूपमा यसको बरावर प्रयोग पाईन्छ । 

 गुरूको महिमा अपरम्पार छ – ‘अखण्डमण्डलाकारं व्याप्तयेनं चराचरम्, तदपदं दर्शितम् येन तस्मै श्रीगुरूवे नमः’ भनि गुरूस्तुती गरिएको छ भने सन्त कविरदास ‘गुरू र गोविन्द भगवान साथ साथै उभिएका छन् भने कसको पाउमा पहिला ढोग गर्ने भन्ने द्विविधा उत्पन्न हुँदा पहिला गुरूको पाउ परेर मात्र ईश्वरलाई ढोग्ने सल्लाह दिन्छन् । यसको कारण गुरूको ज्ञान वा शिक्षा विना ईश्वरलाई चिन्न सकिदैंन । ईश्वरलाई चिनाउने पहिला गुरू नै हुन् त्यसैले गुरू महान् छन् । प्रत्येक वर्ष एकपटक गुरू पूर्णिमा भनेर आषाढ शुक्लपूर्णिमाका दिन सामान्य औपचारिकतामा मात्र गुरूपूर्णिमा वा व्यास पूजा भनेर मनाउने गरिन्छ । वास्तवमा गुरूलाई त प्रत्येक दिन विहान उठे देखि बेलुका निन्द्रा देवीको शरण नपर्दासम्म स्मरण गरिरख्नु पर्छ । निन्द्रा देवीको शरण परेपछि स्वयं जगदिश्वरले रक्षा गर्नु हुन्छ । 

हिजो आज न गुरूमा ज्ञान गरिमा र गुरूत्व पाईन्छ न शिष्यमा गुरू प्रतिको आदर सम्मान र स्वयंमा ज्ञानको भोक वा तिर्खा । भोगवादी सामाजिक संस्कार, मूल्य–मान्यता र सभ्यताको अभाव, आधुनिक सहज र सुलभ बैज्ञानिक साधन, सूचना सञ्चारको अत्यधिक विकास, मेसिनको अधिकाधिक प्रयोग, कार्यव्यस्त मानव व्यवहार, धार्मिक र भौतिक शिक्षाको अभाव, अल्पदृष्टि, पश्चिमा सस्ता नौटङ्की संस्कृतिको प्रभाव, परसंस्कृति ग्रहण र आर्थिक, भौतिक आदि सुविधाको कारणले धर्म पलायन आदि कारणले गर्दा गुरु ज्ञानमा सच्चाभक्ति भाव पाइदैन । 

 गुरु स्तुति गर्दै शास्त्रमा लेखिएको छ –‘अज्ञानतिमिरान्धस्य ज्ञानञ्जन्यसलाकया, चक्षुरून्मिलितम्येन तस्मै श्रीगुरूवे नमः’ । अर्थात् अज्ञानरूपी अन्धकार ज्ञानरूपी ज्योति पुञ्जले नाश गर्ने ज्ञानको नेत्र (चक्षु) खोलिदिने गुरूलाई मेरो नमस्कार छ । 

 अन्त्यमा, ज्ञानरूपी महासागर गुरूको महिमा जतिसुकै वर्णन गरेपनि लघुता हुन्छ । हिन्दु धर्म, बौद्ध धर्म, जैन धर्म, शिख धर्म आदि धर्महरू र अन्य सम्प्रदायहरूमा गुरूको महिमा अपार छ । वेद, पुराण, रामायण, उपनिषद, महाभारत, गीता आदि पूर्वीय धर्मग्रन्थ र बाईबल, कन्फ्युसियस धर्म, ईस्लाममा समेत गुरूको महिमा मुक्त कण्ठले गाईएको पाईन्छ ।

लेखक : बसन्त राज अधिकारी, गोरखापत्र, राष्ट्रिय दैनिक पत्रिकामार्फत सम्पादकीय स्तम्भ, २०५८ मा प्रकाशित भएको ।

Comments