९८. शास्वत—वचन विद्याको महिमा

 शास्वत—वचन

विद्याको महिमा

संकलन सम्पादन ✍️ बसन्तराज अधिकारी

                   @ बाँके, रामलिलामैदान, नेपालगन्ज                                                   
एउटै आमाको पेट वाट यस संसारमा जन्मिएका तथा एकै नक्षत्रवाट जन्म लिएका भए पनि तिनिहरूको स्वभाव एकै नासको हुँदैन । जस्तो एउटै रूखका वयर काँढाको स्वभाव एकैनासको हुँदैन । सहोदर तथा एकै नक्षत्रवाट जन्मेका मनुश्यको स्वभाव आचरण पनि अलग अलग हुन्छन् ।


जो लोभी छैन, उ कुनै पदमा जाने वा ठूलो अधिकारी बन्ने इच्छा राख्दैन । साथै जो कामी छैन त्यस्तो अधिकारी बन्ने सामर्थ्य पनि राख्दैन । जो शरिरको शोभा बढाउने वस्तुमा रूची राख्दैन । जो चलाख छैन वा विद्वान छैन, उसले मिठो बोल्दैन । जो स्पष्ट बोल्दछ त्यो कहिल्यै ठग वा बेईमान हुँदैन “स्पष्ट वक्ता न बञ्चक” । अर्थात जुन व्यक्तिलाई संसार देखि विरक्ति वा बैराग्य उत्पन्न हुन्छ त्यो व्यक्ति कुनै जिम्मेवारी लिन चाहँदैन । तडक भडक गरेर हिड्ने व्यक्ति ज्यादा स्त्री लम्पट वा कामातुर हुन्छ किनकी अर्कालाई आकर्षित गर्नकालागि श्रृङ्गार—पटार गर्छ । अर्थात जो कामी छैन त्यसलाई श्रृङ्गारमा प्रेम हुँदैन । धेरै विद्वान व्यक्तिले सदैभ मधुर बोल्दछन् । “विद्या ददाती विनयम्”, साँचो बोल्ने व्यक्ति कहिल्यै पनि कपटी हुँदैन ।


मुर्ख व्यक्ति विद्वान संग जल्दछ अनि द्वेष राख्दछ । गरिब धनी संग जल्दछ किनकी धनीको धनको उसलाई ईष्या हुन्छ । वेश्याहरू कुलीन स्त्रीसंग जल्दछन् किनकी वेश्यालाई कुलीन नववधुहरूको जस्तो भावनात्मक स्नेह प्राप्त हुँदेन । खाली उनिहरूको शरिरको शोषण मात्र हुन्छ । त्यसैले विधवा स्त्रीहरू सधवा स्त्रीहरू लाई देख्दा मनमनै आफ्नो भाग्य सम्झेर रून्छन् किनकी असमयमै बैधव्य पाएका हुन्छन् र पति विहिन हुनु तिनकालागि अभिशाप नै बन्दछ । कुरूप व्यक्तिहरू सुन्दर व्यक्ति प्रति द्वेष गर्छन् र नराम्रो भएकोमा भित्र भित्रै जल्दछन् ।


विद्या आलस्यताले गर्दा नष्ट हुन्छ । “आलस्यम् विद्या नास्ती” अल्छी मानिसले विद्या आर्जन गर्न सक्दैन । “अनभ्यासे विषं शास्त्रम्” दिनहुँ अभ्यास नगर्नाले विद्या नष्ट हुन्छ । अभ्यासले मात्र आफूले पढेको विद्या धारण गर्न सकिन्छ । जसरी घरको मित्र आमा वा श्रीमती हुन्छ, रोगी मानिसकालागि औषधी मित्र हुन्छ, मरिसकेको मृत–आत्माकोलागि धर्म मित्र हुन्छ त्यस्तै घर देखि बाहिर प्रवासकालागि विद्या मित्र हुन्छ ।


रूप र यौवनले भरिपूर्ण विशाल कुलमा जन्मिएको भए पनि विद्या हिन मानिसले शोभा पाउँदैन जस्तो सुगन्धरहित काँशको फूल समान हुन्छ । ति माता पिता शत्रु वा बैरी हुन् जस्ले आफ्नो सन्तानलाई समयानुकूल स्तरीय बैज्ञानिक शिक्षा दिंदैनन् वा पढाउँदैनन् त्यस्ता अपठित सन्तानहरू हाँसको समूहको विचमा बकुला जस्तो शोभाहिन हुन्छन् । विद्वानहरूको समय वा काल काव्य शास्त्रको आनन्दले वित्दछ भने मुर्खहरूको समय दुव्यर्सन झगडा र लफडाले व्यतित हुन्छ ।


न चोरले हरण गर्न सक्ने न त राज्यले नै हरण गर्न सक्ने न भाइवण्डा वा दाजु भाइ संग अंशमा विभाजन गर्न सकिने, न त बोक्दा भारी वा गहुङ्गो हुने, जति खर्च ग-यो त्यति नै बढ्ने हुँदा विद्या धन सवै धनहरूमा प्रधान धन हो । विद्याले विनयता प्रदान गर्दछ । असल विद्या सत्पात्रलाई प्राप्त हुन्छ । विद्यावाट धनार्जन हुन्छ तसर्थ विद्या वा ज्ञान सुखको मूल हो भने अविद्या वा अज्ञान दुःखको कारण । तसर्थ विद्या स्वर्ग हो भने अविद्या नर्क । विद्याले मानिसलाई अमृतत्व प्रदान गर्दछ । “विद्यया अमृतमश्नुते” आमा समान सुख दिने कुन चिज हो भनेर प्रश्न गर्दा त्यो चिज विद्या नै हो अरू कुन छ ?  त्यस्तो विद्या कहिल्यै अन्तनहुने Learning is the never ending process भनेर भनिन्छ । १ बर्षको बच्चा देखि १०० बर्षको बृद्ध सम्मले सिकाई चलिरहन्छ । यसको बहुआयामिक पक्ष वा विकास हुन्छ । विद्या भनेको ज्ञान, सीप र धारणा वा अभिवृत्ति हो । विद्या कहिल्यै नाश नहुने अविनासी तत्व हो । यथार्थमा विद्याले नै संसार मानिस बस्न लायक भएको हो विद्यालाई संसारवाट हटाईदिने हो भने मानिस बस्न लायक रहँदैन । विद्याको महिमा

विद्या नै हो बहुत रसिलो जिन्दगीको कमाई,

राम्रो मिठो सुख सयलको मुल नै यो छ भाइ ।।

हामी हुन्छौं रवि विदु सरी झल्मलाएर बाँच्ने,

धोई आजै तिमीर मनका जीवनीलाई साँच्ने ।

आफू को हो कसरी चिनीने ज्ञान विज्ञान के हो,

मर्ने कुन हो अमर कुन हो गर्नु पर्ने त के हो ?

सारा शङ्का सहज सित नै कत्ति बाँकी नराख्ने ?

विद्या नै हो लोकभरमा नाम सम्मान राख्ने ।।


चाणक्य नीति र अन्य नीतिशतकवाट भावानुवाद बसन्तराज अधिकारी, कीर्तिपुर,काठमाडौं ।

Comments