बडा दशैं तथा “विजया दशमी” पर्वको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना सहित प्रस्तुत छ - बडादशै तथा बिजया दशमी पर्वको महिमा
✍️ Me Basanta Raj Adhikari with मेरी आमा |
“दशैं” शब्द दस अंकको योग संग सम्वन्ध राख्दछ । हिन्दु धर्ममा चार रात्री शिवरात्री, मोहरात्री (कृष्णजन्माष्टमी), सुखरात्री (दीपावली) र कालरात्री दशैंको सप्तमीको रात हुन् । नवरात्र र दशमीको दिनसमेत गरी दशैं नामाकरण भएको हो । विक्रमसंवतको आश्विन शुक्ल प्रतिपदा देखि दशमी तिथी सम्म मनाइने हिन्दु मात्रको महान चाड दशै वा यसलाइ सम्मानपूर्वक भन्दा “बडा दशैं” भनिन्छ । यसलाइ विजया दशमीको नामले पनि मनाइन्छ । दशैं प्रमुखतः आर्य र अनार्य २ वटा प्रमुख संस्कृति भित्र बहुसंस्कृतिको अन्तर्घुलन रहेको छ । प्रमुखरुपमा २ संस्कृतिभित्र एक अर्कोमा पारस्परिक, अन्तरसम्बन्धित, मिश्रीतरुपमा ऐक्यवद्धता रहेको छ भन्दा अत्युक्ति नहोला । देवी साधना अर्थात शक्ति उपासना र विजया दशमी अर्थात मर्यादापुरुषोत्तम श्री रामद्वारा देवीशक्तिको उपासना । यी दुवैको मूल एउटै भए पनि विधि, प्रकृया, सिद्धान्त, विशेषता, गुण, दोष र उपलब्धी पृथक पृथक छन् परन्तु अध्यात्मिक लक्ष्य वा उद्देश्यमा पृथकता मान्न मिल्दैन ।
प्रथमतः शक्ति उपासनाको चर्चा गरौं कालक्रमले पनि यो आदि कालको सम्वन्ध राख्दछ । शक्ति भनेको के हो ? सामान्य अर्थमा बल । महान बैज्ञानिक अलबर्ट आइन्स्टाईनको सूत्रमा E=MC2 शक्ति भनेको पिण्डसंगै velocity of Light वा सिधा गतिको प्रकाशको गुणाङ्क हो । शक्ति त बैज्ञानिक मतैक्यता हुन्छ अपितु मानव जीवन ज्ञानात्मक पक्ष वा भावनात्मक अभिव्यक्तिमा शक्तिको प्रतिकात्मक अर्थ हुन्छ । मानव सृष्टिमा मात्र २ जाती छन् महिला र पुरुष । यी दुई आफैमा स्वतंन्त्र र सार्वभौम जाती हुन् । जसमा महिला शक्तिको प्रतिक हुन्छ भने पुरुष पुरुषार्थ वा सामर्थ्य । शक्ति र सामर्थ्य धारण र प्रयोगसंग सम्वन्ध राख्दाराख्दै पनि यी दुई एकापसमा पृथक वा अन्तर्सम्वन्धित पनि छन् । यिनमा केही विशिष्ट मूल्यमान्यता र सीमाहरु छन् । महिलामा पुरुषत्व वा सामर्थ्य पाउन सकिन्छ वा आर्जन गर्न सकिन्छ परन्तु पुरुषमा रहेको अहंको कारणले उसमा नारीत्व पाउन मृगतृष्ण जस्तै हुन्छ । यो सतवचनमा विवाद मूलमा होइन शाखाहरुमा हुन सक्छ । त्यसैले महिलालाई पूर्ण र शक्तिस्वरुपमा आदिकाल देखिनै मान्दै र भन्दै आएको यथार्थ हो । यसमा धेरै मतमतान्तर, वाद विवाद संवाद परिसंवाद पश्चात शोध (Thesis) को एक मात्र वाक्य के हो भने महिला नै शक्तिको प्रतिक हो पुरुष होइन । यो ध्रुवसत्य तथ्य घाम जत्तिकै छर्लङ्ग दृष्टान्तको रुपमा रहेको छ ।
संसारमा तीन प्रकारको त्रयशक्ति विद्यमान रहेको तथ्य अध्यात्मवादले अन्वेषण गरेको छ । ति शक्ति हुन् : कायिक, भौतिक र वाचिक अर्थात प्रतिकात्मकरुपमा महाकाली, महालक्ष्मी र महासरस्वती अर्थात यिनलाई तन, मन र मस्तिष्क वा तामसी, राजसी र सात्विक त्रिगुणात्मक शक्तिको रुपमा दार्शनिक अर्थमा बुझ्न सकिन्छ । स्मरणरहोस शिव तत्व गुणातित वा यी तीन गुण भन्दा परको स्वरुप हो । मानव सभ्यताको उषकाल आजभन्दा हजारौ बर्ष पूर्व यस्तो युग थियो जसमा आजको समुन्नत मानव जाती पाषाण र ढुङ्गे युगमा “यायावर” जङ्गली फिरन्ता जातीको रुपमा सिङ्गो पृथ्वी परिभ्रमण गर्ने ढुङ्गे युगमा थियो । आदिम मानव पुर्खाको ज्ञान, त्याग, तपस्या, मेहनता, कर्म प्रतिको निरन्तर समर्पण भावले क्रमिकरुपमा रुपान्तरण हुँदै पाषण युगवाट ढुङ्गे शिकारी युग, पशुपालन युग, कृषि युग, यान्त्रीक युग, औद्योगिक युग हुँदै आजको यस बैज्ञानिक र सूचना प्रविधिको युगमा प्रवेश गरेको वस्तुगत तथ्य एवं प्रमाण हाम्रै स्वअनुभवले पनि आत्मसात गरेको छ ।
यहि सभ्यताको क्रममा पाषण युगवाट ढुङ्गे र शिकारी युगमा आउँदा सम्म आजको जस्तो पितृसत्तात्मक (Patrachal) समाजको स्वरुप नरही त्यतिवेला मातृसत्तात्मक (Matrachal) युग थियो । आदिम सभ्यतामा महिला जातीको स्वर्णिम काल थियो । संस्कृतमा “महिला” भन्नाले महि =पृथ्वी वा धर्ति र इला=आदिमाता को संयोजनवाट धर्तिमाताको सापेक्षतामा महिला भन्न थालिएतापनि पछि पितृसत्तात्मकताले थिच्दै जाँदा अंग्रेजीमा woman wife of man र नेपालीमा संस्कृत शब्दकै नरको अर्धस्वरुपमा नारी भनि अथाईयो । आदिम सभ्यतामा महिला जातीको स्वर्णिमकाल थियो यो अवस्था । पुरुष र महिलामा भेदभावको त के कुरा नेतृत्व महिला वर्गमा थियो ।
आज जसरी राजनीतिमा, प्रशासनमा, समाजमा, घरमा यत्रतत्र सर्वत्र पुरुषको हैकम र बोलवाला व्याप्त छ । त्यतिवेला आजको ठिक विपरीत महिलाको अवस्थामा थियो । पुरुषको हैसियत आजको महिला भन्दा पनि न्यून अवस्था अर्थात मातृसत्तात्मकतामा सन्तानमा, सम्पत्तिमा, मर्यादा प्रतिष्ठामा, अधिकारमा महिला संम्प्रभु भए पछि पुरुष महिलाको छाँया वा कठपुतली थियो । “शक्ति विना शिव शव समान” अर्थात मुर्दा समान भन्ने जस्ता आदर्श वाक्य वेदान्तकाल पश्चात पुराण, उपनिषदहरु वाटै लोकोक्ति बन्दै आएको भन्दा ठूलो प्रमाण के चाहियो र ? मानव सभ्यता ढुङ्गे युगवाट कृषि, पशुपालन र यान्त्रिक युग संग पनि अवशेषकारुपमा कायम रह्यो अर्थात एउटा लामो कालखण्डसम्म यस पृथ्वीको श्रेष्ठतम जाति मानव जातिको नेतृत्व आमाहरुको हातमा रह्यो । त्यसैले त दशै जस्ता चाडपर्व कहिले देखि कस्ले मनाउन थाल्यो भन्ने तथ्य प्रमाण प्राप्त गर्न सकिदैन, यो सनातन हिन्दु मात्रको नभै आर्य, अनार्य र गैर आर्यहरुको साझा सभ्यता वा संस्कृतिको धरोहर बन्न सक्यो । देवी भागवत, पुराण, सप्तशती, दुर्गा कवच, अर्गलास्तोत्र, सप्तशती चण्डी, देव्यापराधक्षमापनस्तोत्रम, नवरात्रसुक्तम आदि शक्ति उपासनामा किलक, विजक मन्त्रहरु, सम्पुट सिद्ध मन्त्रहरुमा यी कुराको विशद चर्चा रहेको छ ।
त्यहि कालखण्डमा देवी शक्तिका लालकिल्ला मानिएका हिमवत्खण्ड नेपाल देशका विभिन्न स्थानहरु जस्तै डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, सल्यानको खैरावाङ, दाङको अम्विकेश्वरी, काठमाण्डौको दक्षिणकाली, भद्रकाली, गुह्येश्वरी, शोभाभगवती, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बैतडीको त्रिपुरासुन्दरी आदि आदि शक्ति पिठहरु हजारौ हजार बर्ष देखि अनवरत निरन्तररुपमा अध्यात्मिक साधना आस्था र विश्वासका केन्द्रका रुपमा लाखौ लाख श्रद्धालुहरुको स्वतःस्फुर्तरुपमा एकत्रित भइरहेका थिए छन् र भविश्यमा पनि रहिरहने छन् ।
देव्यापराधम्क्षमापनस्तोत्रम् को एक श्लोक “कुपुत्रो जायते क्कचीदपीकुमातानभवती” ( पुत्र कुपुत्र हुन सक्छ तर माता कहिल्यै पनि कुमाता बन्न सक्दैनन् ।) परन्तु विजयादशमी भनेर मानिने पर्व त्रेतायूगमा “रामराज्य”को समयमा शक्तिशाली रावणसंग रामले पनि देवी शक्तिलाई साधना गरी यस पौराणिक पर्वलाई मान्यता र जीवन्तता दिएका थिए र त राम र रावणलाई आदर्श मान्ने विपरीत धुर्वका मत रहे पनि तर याथार्थमा रामको पक्षमा जनमत वा लोक मत बढी हुनु र रावण एक्लो र आफ्नै सहोदर भाइ विभिषण वाट समेत विश्वासी बन्न नसक्नुका पछाडि रामको मर्यादा पुरुषोत्तमको तत्व सार्थक छ । किनभने राम संग त्याग, दया, माया, सहिष्णुता, वीरता, शुरता, परोपकारी, समभाव, ऋषि, देवता, पितृ, नारी, पुरुष सवै जाति र वर्गलाइ समेटन सक्ने बहुआयामिक स्वभाव वा गुण छ भने रावण वीर, शास्त्रज्ञानी, विद्वान भएर पनि स्वार्थी, अहंकारी, लघुदृष्टि, कपटी, छलि, दम्भी र कसैलाई नमान्ने नगन्ने जस्ता दानवभाव रहेको कारणले राम र रावणमा तात्विक फरक छ र सभ्यता, संस्कृति रामको पक्षमा छ न कि रावणको ? “रामराज्य” भन्दा सकारात्मक र रावणराज्य भन्दा नकारात्मक अर्थ बोध सामान्य कोरा मानिसले पनि मूल्यांकन गर्न सक्छ ।
समय, परिस्थिति र संयोगले राजनीति शासनमा कहिले “राम” त कहिले “रावण” बलवान हुनु त्रेतायूग देखि कलिकालसम्म पनि सार्थकरुपमा रहेको छ । एउटा ठुलो सभ्यता र कालखण्डको राजनीति पनि हो । यथार्थमा धार्मिक, सांस्कृतिक, आर्थिक, बैज्ञानिक, शैक्षिक, नैतिक, दार्शनिक, बौद्धिक लगायतका पक्षहरु यस पर्वमा अर्थात दशैं वा वडा दशैं र विजयादशमीमा दृष्टान्त पाइन्छन् ।
“बडा” भनेको “ठूला” अर्थात शक्तियुक्त ठूलो हो ? ठूलो बन्नलाई केही विशेषता त चाहिन्छ नै मूलतःशारीरिक, बौद्धिक,मानसिक अर्थात माथि उल्लेख गरिएझै कायिक, भौतिक र वाचिक तत्वको संयोजन चाहिन्छ । नातामा ठूलो, पद प्रतिष्ठामा ठूलो, क्षमता र कर्तव्यपालनमा ठूलो, मान मर्यादा, इज्जत, नैतिकतामा ठूलो र उमेरमा जेष्ठ श्रेष्ठलाई “बडा” भन्न सकिन्छ । कवि शिरोमणी लेखनाथ पौड्यालको नीति शतकमा “बडाले जे गर्यो काम हुनछ त्यो सर्वसम्मत । छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित ।।” लाञ्छनिक, उपदेशात्मकरुपमा रहेको छ ।
मूल प्रसंङ्ग दशैं विजया दशमीको महिमा हामीले कसरी अवलम्वन गर्दै आईरहेका छौ त ? सरकारीरुपमा लामो विदा, चाडपर्व खर्च, जनसेवा सुविधा वा सार्वजनिक सेवाको प्रभावकारीता रहेको छ भने देश विदेशमा रोजगारी, अध्ययन र अन्य कारणले घर देश छोडि शहर वा मुग्लान प्रवासमा प्रवाशिएकाहरुको पुर्नमिलन हुने पर्व, राम्रो लगाउने, मिठो मसिनो खाने, मासुको परिकार, भोग बली, पुजा पाठ, ज्ञान साधना र अन्त्यमा मान्यजन ठूला बडावाट टिका प्रसाद ग्रहण गरी घट्टस्थापना विसर्जन पूर्णिमा वा कोजाग्रत पूर्णिमा सम्मको टिका प्रसादको प्रचलन, मनोरञ्जन राम रमीता रहेको छ ।
यहि अवसरमा मुस्लीम धर्मावलम्वीहरुको बकरईद, दशैं वा विजयादशमी पश्चात हिन्दुको दोस्रो ठूलो चाड दीपावली वा भाइटीका, नेवार जातिको महत्वपूर्ण चाड म्हंपुजा, लक्ष्मी पुजा, राष्ट्रिय चाड नेपाल संवत, भाईटीका र तराईवासीहरुको महत्वपूर्ण चाड छठ र बौद्ध धर्मावलम्वीहरुको ल्होसार जस्ता पर्वहरुले आश्विन र कार्तिक महिनाभर नेपालीहरुकालागि चाडपर्वको महोत्सव महिना रहेको छ । सवै जात जाति भाष भाषी, धर्म संस्कृति, लैङ्गिक, यौनिक सम्पूर्ण सवैमा हार्दिक मङ्गलमय शुभकामना सहित देवी शक्तिका सप्तश्लोकी दुर्गा सप्तशती र चण्डी याहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ :
सप्तश्लोकी : दुर्गासप्तसती
ॐ ज्ञानिनामपीचेतांसि देवी भगवती हिंसा । बलादकृष्यगेहाय महामाया प्रयच्छति ।।
दुर्गे स्मृतिभितिम शेषजन्तो
स्वस्थ्यै स्मृतिमतिव शुभांददासी ।
दारिद्र दुःख भयहारिणीकात्वदन्या सर्वोपकारणायसदार्दुचित्ता ।
सर्वमङ्गलमाङ्गल्ये शिवेसर्वार्थसाधिके ।। शरण्यंत्रम्विकेगौरीनारायणीनमोस्तुते ।। सर्वस्वरुपेसर्वेषेसर्वशक्ति समन्विते भयभ्यस्वहिनादेवीदुर्गेदेवी नमस्तुते । रोगाःनशेषा नपिहंसीतुष्टा रुष्टातुकामान सकलानभिष्टाम ।। त्वामाश्रिताह्यांश्रयातांपर्यान्ति ।। सर्वबाधाप्रसमनं त्वतकार्यमस्मद वैरीविनासनम् । याःदेवीसर्वभुतेषुमातृरुपेणसंस्थिता ।।
नमस्तयै नमतस्यै नमस्तयै नमोनमः ।।
एकश्लोकी : चण्डी
याःचण्डीमधुकैटभप्रमथिनीयाः महिषेन्मुलिनीयाः धुम्रेक्षणचण्डमुण्डमथिनीयाः रक्तविजासिनी ।। शक्तिशुमभनिशुम्भदैत्यदलिनि याःसिद्धिलक्ष्मीपराः सादुर्गानवकोटीमूर्तिसहितामांपातुविश्वेशवरी ।।
भाषानुवाद (सारांश)
ज्ञानीजनको ज्ञान र चेतनामा प्रविष्ट भएकी हे देवी ! शक्तिस्वरुपा भगवती हजुरको सामथ्र्यको वर्णन किञ्चित पनि गर्न असमर्थ छु । महाबली शक्ति हे महामाया !!! यो चराचर जगत सवै तिम्रै प्रतिच्छाया मात्र त हो । हे दुर्गा केवल हजुरको समरण मात्रले पनि हामी भक्तलाई पर्याप्त छ !!! हाम्रो मति बुद्धिलाई स्थिर, स्वस्थ्य र मेधा शक्ति प्रदान गर्ने हे जगज्जननी माता !!! हजुरको नमोच्चारण मात्रले पनि सवै शुभाशुभ छन् । रोगभय मानसिक, शारिरीक, वाचिक बौद्धिक कमजोरीहरु हजुरको ध्यान उपासनाको सामु किमार्थ टिक्न सक्दैनन् ।
विघ्न हरण गर्ने, हाम्रो पुण्य कर्म, उपासना, ध्यान सफल पार्ने, शत्रु बैरीहरुको विनास सर्वनाश गर्ने, हे माता !!! हे देवी !!! हे दुर्गे !!! सवै जराचर जगत ब्रम्हाण्डहरु नै हजुरकै स्वरुपमा समाविष्ट छ भनि ध्यान, अर्चना, बन्दना गर्दछु । बारम्वार नमस्कार गरेर विजयको कामना गर्दछु । हे सप्तशती चण्डी !!! मधुकैटभ नाम दानवहरुलाई समुल नष्ट गर्ने, महिषासुर मर्दिनी, धुम्रलोचन, चण्डमुण्ड, रक्तविजलाई नाश गरी भक्तलाई त्राण प्रदान गर्ने, शक्तिशाली शुम्भनिशुम्भ जस्ता असाध्य दानव वीरहरु लगायत दानव समूहको संहार गरी देवता, ऋषि, पृथ्वी, भक्त र सज्जनहरुलाई शरण दिने हे सिद्धिदात्री !!! हे दुर्गा !!!
नवरात्रमा हजुरको ज्जाज्वल्यमान स्वरुप मूर्तिको दर्शन मात्रले पनि विश्व ब्रम्हाण्डको दर्शन प्राप्त भै हाम्रो क्लेश, दुःख, पिडा, भय, रोग, शोक, निन्द्रा, तन्द्रा, आलस्य, व्यभिचार सवै हरण भई हामी निखिल बन्यौ । कृत्य कृत्य भयौ ।। हजुरकै शरणमा छौ र सदा सर्वदा रहिरहनेछौ ।।
जो आफ्नो आमाको हुँदैन उ अरु कसैको पनि हुँदैन ।
✍️ कुन्ती
वि.सं.२०७८ सालको सनातन हिन्दुहरुको “दशैं” विजया दशमी, दीपावली, लक्ष्मी पुजा, भाइटिका मुस्लिमहरुको “बकरईद” नेवारहरुको म्हंपुजा र राष्ट्रिय पर्व नेपाल संवत, तराईवासीहरुको छठ र बौद्ध धर्मावलम्वीहरु आदिवासी जनजातीहरुकालागि ल्होसार लगायतका राष्ट्रिय चाडपर्वहरुको पुनित; पावन शुभ-उपलक्ष्यमा सम्पूर्ण शुभचिन्तक मित्रवर्ग, अभिभावक मान्यजन, नातेदार ईष्टमित्र, सहयोगी लगायतका सम्पूर्ण स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण सवैमा बिश्वब्यापी महामारी कोरोना भाइरस (COVID -19) विरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि होस् साथै महामारी रोगलाई परास्त गर्ने सामर्थ्य दुर्गा माताको आशीर्वादले प्राप्त होस् आरोग्य, सुख, शान्ति, संम्वृद्धि तथा उत्तरोत्तर प्रगति समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
प्रस्तोता
✍️ बसन्तराज अधिकारी
अधिवक्ता (एम.ए. बी.एल. बी.ए. बी.एड.)
पुर्व उपसचिव, नेपाल सरकार
स्वनिवास : घोराही उपमहानगरपालिका १७ सरस्वतीटोल, पनौंरा, दाङ, लुम्बिनी प्रदेश, नेपाल ।
Comments
Post a Comment