३४. नैनी ताल, भारत : यात्रा बर्णन ~~~~~~~~~~~~~~~~~~~~~~~

 नैनी ताल, भारत  :  यात्रा बर्णन

               
✍️ म बसन्तराज अधिकारी श्रीमती एशोदाको साथमा 
तस्बिर नैनिताल उत्तराखण्ड, भारत
१. सन्दर्भ : भारतको उत्तराखण्ड राज्य अन्तर्गत पहाडी भुभाग नैनिताल जिल्ला एउटा ऎतिहासिक, शैक्षिक केन्द्र र पर्यटकीय नगरीको रुपमा चिरपरिचित रहेको छ । गत बर्ष २०७६/११/२४ शनिबारदेखि  ऎ. २८ सम्म ४ दिने नैनीताल यात्रामा राजापुर नगरकार्यपालिका कार्यालयका म प्रमुख प्रशासकीय अधिकृत बसन्तराज अधिकारी, म्याडमजी श्रीमती एशोदा अधिकारी, पशु सेवा अधिकृत श्री पुर्णबहादुर खत्री, सिभिल इन्जिनियर श्री शंकरप्रसाद भट्टराई, नापी सर्वेक्षक श्रीकिरण महतरा र अमिन श्री हरि रिजाल समेतको टोली प्रस्थान गरेउ । यश यात्राका शिघ्र योजनाकार सिभिल इन्जिनियर श्री शंकरप्रसाद भट्टराई र अमिन श्री हरि रिजालको प्रयाशमा यो छोटो यात्रा तय गरिएको थियो । यात्रा अत्यन्त रमाईलो पुनर्ताजगीयुक्त, रोमाञ्चक,  शिक्षाप्रद र स्मरणीय रहेको छ । ढिलै भएपनि यश यात्राका केही महत्वपूर्ण अनुभव एवं यात्रा संस्मरण बाँडन अनुमती चाहान्छु किनभने यश प्रकारको नियात्रा एउटा रोचक, उत्प्रेरणात्मक तथा शिक्षाप्रदका साथै ऎतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक समेत बहुआयामिक महत्व साथै अनुभव प्राप्त हुने गर्दछ । २. नैनितालको संक्षिप्त परिचय: नैनिताल अत्यन्तै रमणीय ताल जहाँ भारतमा बेलायती उपनिवेश रहेका बखत बृटिश शाशकहरु पनि आनन्ददायी रुपमा व्यतीत गर्दथे भन्ने कुरा यहाँ स्थित शिलालेखको संलग्न अनुवाद वाट समेत छर्लङ्ग हुन्छ । हिन्दी र अंग्रेजी भाषामा कुँदिएको यी हरफहरुलाई नेपालीमा अनुवाद गरिएको छ कतै नमिल्दा भएमा मिलाएर बुझिदिनु हुन बिज्ञ पाठक समक्ष बिनम्र अनुरोध गर्दछु । नैनीताल समुन्द्रको सतहवाट १९३८ मीटरको उचाइमा अवस्थित रहेको छ । यो ताल यश प्रकारले संरचित रहेकोछ कि पंन्छी (चरा) आफ्नो गुँडमा निश्चिन्त सुखपुर्वक सुतिरहेको जस्तो प्रतीत हुन्छ ।  यो स्थान पौराणिक कालदेखि नै अत्यन्त महत्वपूर्ण रहि आएको छ । नैनीतालको बर्णन स्कन्द पुराणले मुक्त कण्ठले गरेको छ, तीन ॠषि अत्री, अगस्त र पुलह द्वारा बनाईएको यो तालको प्रसङ्ग सिद्ध ॠषिश्वरहरुले अन्जानमा गरेको पापको प्रायश्चित गर्ने उद्देश्यले याहाँ आएको सन्दर्भ उल्लेख छ  । नैनीतालको सामाजिक बहुप्रचलित नाम नयन (आँखा) वाट लिईएको हो । यो बिश्वास गरिन्छ कि भगवान शिव सतीदेवीको मृत शरीर "शव" बोकेर याहाँ आएपछि यश स्थानमा सतीदेवीको बायाँ आँखा पतन भए पश्चात् यश क्षेत्रको अधिष्ठात्री देवी नयना उत्पत्ति भै प्रकट हुनु भयो र यो नगर ६४ शक्तिपिठमा सम्मीलित हुन पुग्यो । नैनीतालमा आएका पहिलो बृटिश व्यक्ति सन् १८२३ मा जी.डब्लु. ट्रेलको रुपमा आए जो कुमाउँ राज्यमा आयुक्त नियुक्त भएका थिए । यहाँ सन् १८४१ मा तत्कालीन आयुक्त (कुमाउँ) जी.टी.लुसिङ्गटन द्वारा यश नगर निर्माणको कार्य प्रारम्भ गरिएको थियो । अक्टोबर सन् १८५५ मा आयुक्त कार्यालयलाई अल्मोडावाट नैनीतालमा स्थानान्तरण गरियो र सन् १८५७ पश्चात् बेलायती बालवालिकाको लागि एक महत्वपूर्ण शैक्षिक केन्द्रको रूपमा मान्य हुन थाल्यो । सन् १८६२ मा यो उत्तर पश्चिमी राज्यको गृष्मकालिन बासस्थानको रुपमा बहुप्रचलित भयो । साथै १८९२-०९३ मा नैनीताल जिल्ला घोषित भयो । १८ औं शताब्दीको अन्तिम चरणमा यश स्थान आफ्नै समृद्धि, जैविक विविधता एवं प्राकृतिक सौन्दर्यमा अगाडि बढदै पर्यटन केन्द्रको रुपमा प्रसिद्धि पाएको  छ । ✍️ शिलालेखवाट अनुवादक: बसन्तराज अधिकारी ३. भ्रमण गरिएको बाटोका रमणीय स्थानहरु : नैनीताल, उत्तराखण्ड भारत जाँदा बाटोमा भ्रमण गरिएको स्थानहरूमा  विशेषतः बनबासा, खटिमा, नानक मत्ता {कृत्रिम मानव सरोवर जुन महाकाली नदी शारदा व्यारेजवाट पानी ल्याई बनाईएको जलाशय जस्ले भारतका लाखौ हेक्टर जमिन सिंचित र बिद्युत उत्पादन गर्दछ ।} हल्द्वानी, काठगोदाम क्षेत्रमा पर्ने विभिन्न रमणीय ग्रामीण बस्तीहरु अवलोकन गर्दै  पुनः पारी टनकपुर वारि नेपालको सुन्दर नगरी महेन्द्रनगर ~ ब्रह्मदेवपुरी बजार, टनकपुर पुल, नेपाल भारत सीमा, गड्डा चौकी, महेन्द्रनगर आईपुगे पश्चात् महेन्द्रनगर स्थित  होटल कलश सम्मका रमाइला अविस्मरणीय पलहरु भारतीय  रोडबेज  बस यात्राका रमणीय स्थानहरुको तस्विर र भिडियोहरु समेत मोबाईल क्यामेरामा कैद गर्दै सामुहिक भ्रमणको आनन्ददायी यात्राको रसास्वादन गरेउ । दिनाङ्क: अन्तर्राष्ट्रिय महिला दिवस, २०७६ स्थान: होटल कलश, महेन्द्रनगर, कञ्चनपुर, नेपाल । ४. नैनीताल जाने इच्छुक महानुभावहरुलाई बिशेष परामर्श सल्लाह : भिमदत्त नगरपालिका कञ्चनपुर महेन्द्रनगरवाट गड्डाचौकी बनबासा जानुस् तहाँवाट सरकारी रोडवेज, भारत सरकारद्वारा संचालित बस पाईन्छ जुन खटिमा, उदमसिंह नगर हुँदै हल्द्वानी पुग्छ । यो करिव ४ घण्टा बसयात्रा र हल्द्वानीवाट काठगोदाम हुँदै एक घण्टाको बसयात्राको पहाडी रुट हुँदै नैनीताल पुगिन्छ, यहाँ बस्न खान र घुम्न ट्याक्सीको पर्याप्त र सहज व्यवस्था छ, महेन्द्रनगर भन्सार काउण्टरवाट भा.रु.साटेर आवश्यक व्यवस्था गर्दा राम्रो हुन्छ । पैसा तुरुन्तै एकरात बसि भोलि पल्ट घुमी फर्कदा २ जनासम्मलाई न्युनतम रु.१०-१२ हजार जति भारतीय मुद्राको व्यवस्था गरे पुग्छ, सामान ल्याउने हो भने थप व्यवस्था गर्नुपर्ला । ५. उपसंहार : हाम्रो यो यात्राको समयमा चिनको बुहानलाई मुहान बनाएर कोरोना भाईरस कोभिड-१९ भर्खरै प्रवेश गरेको प्रारम्भिक  अवस्थाको बाबजुद कोरोना भाईरस दक्षिण एशियाली मुलुक नेपाल भारतसम्म आईनपुगेको अवस्थामा पनि हामी पुर्वसतर्कता अपनाउँदै मुखावरण "मास्क" को प्रयोग गरेका थियौं, परन्तु, भारतीय हरुले प्रयोग गरेको पाईएन । शायद यो यात्रा पश्चात् करिबकरिब आधा बर्ष व्यतीत भैसकेको अवस्था छ, यात्रामा पुर्णबिराम लागेको छ । त्यतिबेला नेपाल भ्रमण बर्ष २०२० को धुमधाम तयारी चलिरहेको थियो बिश्वब्यापी महामारी कोरोना भाईरसले नेपाल सरकारले धुमधामले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० पनि हाल स्थगित भएको अवस्था छ । यद्यपि  कोरोनाले बिश्वब्यापी सन्त्राश र बन्दाबन्दी जीवन व्यतीत गर्नु परिरहेको बाध्यात्मक अवस्थाको सन्दर्भमा यो यात्रा झनै बिशेष स्मरणीय हुनु अस्वाभाविक पनि होईन । आधा बर्ष भन्दा बढी भयो यात्रा रोकिएको अवस्था छ । आशा गरौं शिघ्रा ती शिघ्र नै यो कोरोनाको महामारीवाट मुक्त भै पुनः स्वदेश तथा बिदेशका रमाइलो यात्राको योजना बनाई यात्रा सुचारु गर्न पाउने अपेक्षाका साथ केही प्रतिनिधि तस्वीर समेत प्रस्तुत गर्दै यो नियात्रा बर्णनको संक्षिप्त भलाकुसारीवाट हजुरहरु समक्ष पुनः अर्को रमाइलो प्रसङ्गमा भेटने गरि बिदा चाहान्छु ।  🙏 धन्यवाद 🙏 ✍️ लेखक: बसन्तराज अधिकारी घर: घोराही, दाङ हाल: राजापुर, बर्दिया मिति : २०७७-०५-१९ शुक्रबार शुभम् ।

Comments