कुशें औंसी/ बुबाको मुख हेर्ने दिन/मोती जयन्ती, २०७८ को सन्दर्भमा बुबा स्व. बलदेव प्रसाद अधिकारी प्रति श्रद्धाञ्जलीका साथ हार्दिक श्रद्धासुमन ❣️
बुबा स्व. बलदेवप्रसाद उपाध्याय अधिकारी |
१. कुशें औंसी
सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व कुशे औँसी हो । पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णु पादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।
आधिकारिक नाम पित्री औंसी अन्य नाम(हरू) बाबुको मुख हेर्ने, गोकर्ण औंसी सम्मान पर्वहरू श्राद्ध, तर्पण, दान, कुशे औंसीको अवसरमा बागमती नदी किनारमा श्राद्ध, तर्पण, दान गरिंदै पित्री उद्दारको कामना गर्दै बागमती नदीमा बगाइएको पिण्ड दान गरिन्छ । कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।
विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ । 'पितृदेवो भव'भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
२. बुबाको मुख हेर्ने दिन
बुबा शब्द एक : महिमा अनेक
~~~~~~~~~~~~~~~~ नेपालीमा बुबा संस्कृतमा पिता अंग्रेजीमा "फादर" जे नाम भने पनि बुबा केवल स्थुल शरीर मात्र होइनन्, उनी त जन्मदाता, संरक्षक, पालनकर्ता, मार्गदर्शक र प्रेरणाका स्रोत पनि हुन् । बुबा, जसले आफ्ना सन्तानको सुरक्षा, संरक्षण सुख र कल्याण र जीवन यापनका लागि सम्भव भएसम्मका प्रयास गर्दछन् । बुबा प्रारब्ध वा सञ्चित पुण्यकर्मको परिणामत: आफुले रोजेको भन्दा ईश्वरीय प्रदत्त साक्षात् देवता हुन् भन्दा अत्युक्ति नहोला तसर्थ बुबा आफ्नो सुख, सुविधालाई त्याग गरि आफ्ना उत्तराधिकार सन्तानको खातिर जस्तोसुकै कर्तव्यको भुमिकामा सतिसाल जस्तैः सिङ्गो उभिन सक्ने महामानव हुन् ।
एउटा मानव सिङ्गो शरीरलाई दृष्टान्त लिने हो भने बुबा एक शिर हुन्, जसको हात गोडाहरु सन्तान हुन् । बुबा सन्तानको लालन पालन पोषण र संरक्षणका साक्षात देवता पनि हुन् । सन्तानका आवश्यक्ताहरु पुरा गरिदिने माध्यम हुन् । बुबा सन्तान बालबालिकाकालागि संरक्षक किशोर एवं जवानका लागि सर्वोत्तम प्रेरणादायी एवं पथप्रदर्शक हुन् । वयस्क र प्रौढहरुका लागि अनन्त आस्थाका धरोहर र आशीर्वाद हुन् । बुबाको उपस्थितीले सन्तानलाई जीवन यापन सहज बनाउनुको साथै अदृश्य संकटवाट बचाई, एक अपूर्व सुरक्षा कवच प्रदान गर्दछन् ।
जसले बुबाको असीम अनुकम्पाको अमृतपान गरे, धन्य छ उनको जीवन जसले बुबाको सेवा एवं आज्ञा पालन गरिरहेका छन्, जीवनको कठिन अवस्थामा बुबाको उपस्थिती स्वयं शीतल बगैंचामा रुपान्तरण हुनपुग्छ । बुबाको महत्व यति धेरै छ कि, सन्तानले त्यसलाई आत्मसात गर्न सक्नुपर्छ ।
हाम्रो पुर्वीया दर्शन धर्मशास्त्र–साहित्य र लोक जीवनमा सभ्यता र संस्कारका कारण सामाजिक, मुल्य~मान्यता, प्रथा परम्परा, रीतिरिवाज, कानुनको पालनले बुबा र सन्तानको सम्बन्ध सधै सुमधुर रहेको छ । रामायण कालका राजा दशरथको रुपमा पिताको आदर्श र मर्यादापालक श्रीराम, पितृभक्त श्रवणकुमार, नचिकेता, महाभारतका भीष्म आदिको रुपमा आदर्श पुत्र र वैदिक नारी गार्गी, मैत्रीय, रामायणको आदर्श सीता, भृकुटी जुन राष्ट्रिय बिभुतिको छवि समाजमा सधै अनुकरणीय रह्यो ।
खासगरी संयुक्त परिवारिक संरचनामा पिता एक संरक्षक, एक आदर्श र एक मार्गदर्शकको रुपमा पुञ्जनिय रहेका छन् । तर, अहिले आधुनिकताको नाममा एकल परिवार बढ्दैछ परिणामत: पिताको स्थान पनि संकुचित अवस्थामा रहेको स्थिति छ ।
हिजोआज बुबा आमालाई आदर्श, मार्गदर्शक मान्ने भन्दा पनि बोझ मान्ने कुसंस्कार, शहरिया आडम्बरी समाज, भोगवादी जीवनशैली भित्रभित्रै बिषालु सर्प जस्तैः मौलाउन थाल्यो । बृद्ध असहाय माता पिताको सम्पतिमा अधिकार जमाएर उनलाई वृद्धाश्रममा पठाउने क्रम बढनु समाजको दुर्गति हो ।
बुबाको आर्जन, सेवानिवृत्तको धनसम्पति, पेन्सन आदिमा त सन्तानले आफ्नो हक खोज्यो तर, बुबाप्रतिको आस्था, विश्वास, श्रद्धा भने पातलिंदै गयो । बुबालाई उचित सम्मान, सरसल्लाह, समुचित रेखदेख, उपचार, औषधि पानी दिने कुरामा सन्तानहरु टाढिदै गएको अवस्था छ । यश सम्बन्धमा राज्यले ठोस नीति अख्तियार गरि जेष्ठ नागरिकको लालनपालन, सेवा शुश्रुषा, हकहितका बिषयमा तीनै तह संघीय, प्रदेश र स्थानीय तहले समयानुकूल नीतिगत व्यवस्था लागू गर्नु अपरिहार्य रहेको बिषय टट्कारो रूपमा रहेको छ ।
नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्य धारा ४१ "जेष्ठ नागरिकलाई राज्यवाट विशेष संरक्षण र सुरक्षाको हक हुनेछ ।" भन्ने संवैधानिक व्यवस्था रहेको छ ।
३. मोतीजयन्ती
माध्यमिक कालीन नेपाली साहित्यका प्रणेता श्रृङ्गारिक युवा कवि मोतीराम भट्टको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रम सहित ज्ञानअज्ञात साहित्यकारहरूप्रति समेत श्रद्धाञ्जली समर्पण गर्न मोतीरामका साहित्यको चर्चा र कथा, निबन्ध, कविता, अझ खासगरी गजल वाचनद्वारा भव्य र रमणीय श्रद्धाञ्जली कार्यक्रमहरू साहित्यिक संघसंस्था र विद्यालय महाविद्यालयहरूमा आयोजना गरिन्छन् । ४. सन्दर्भ : बुबाको मुख हेर्ने दिन मेरो बुबा
बुबा स्व. बलदेव प्रसाद अधिकारी र आमा श्री भावना अधिकारी २०३६ साल पहिलाको तस्बिर बुबा जनक हुन्, आमा जननी, यै धर्ती भुस्वर्ग हो । राष्ट्र सेवा एउटा, महान तपमा, जीवन सार्थक भो ।।१।। |
जन्मी हुर्की बढे र पढे गाउँमा, सरकारी बिद्यालय । दु:ख र सुखको, अनुभव पनि, ह्रदयमा छ सञ्चय ।।२।।
किशोर बयमा, बुबा गुमाउँदाको, पीडा बोकी छातिमा । बिद्याभ्यास र मेहनत सत्कर्मले, पुगे याहाँ सम्ममा ।।३।।
मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, ह्रदयमा ईमानदारी ।आमाको साथ र भाइ बहिनी प्यार, बालापन स्वर्णिम जीवनी ।।४।।
श्रीमती र छोराछोरीको प्यारमा, धन्य लाग्दछ ईश्वर सृष्टि यो संसारमा ।अथाह प्रेमको व्यञ्जनमा, बिताउँ सदाखुसीमा आनन्ददायी मन ।।५।।
✍️ बसन्तराज अधिकारी
घर: घोराही उपमहानगरपालिका, दाङ, नेपाल @ कीर्तिपुर, काठमाडौंं, नेपाल मिति : २०७८\०५\२२ मंगलबार शुभम् ।
सन्दर्भ साभार सामाग्री :
१. विकिपिडिया र
२. अनलाईन खवर ।
✍️ बसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
[मिति २०७७ भाद्र ३ बुधबार शुभम्]
Comments
Post a Comment