१३. प्रदेश सभा बारे जानकारी

समसामयिक सवाल र जवाफ
                                    
                              📝 वसन्तराज अधिकारी                                  क्षेत्रीय निर्वाचन अधिकारी, बाँके, नेपालगन्ज 
          


१. प्रदेश सभा भनेको के हो  ?
~~~~~~~~~~~~~~~


• प्रदेश कानुनको निर्माण लगायत प्रदेश तहको व्यवस्थापकीय कार्य सम्पन्न गर्न गठन हुने प्रदेश व्यवस्थापिका नै प्रदेश सभा हो । यस्तो प्रदेश सभा एक सदनात्मक हुन्छ ।

२. प्रदेश सभाको गठन कसरी हुन्छ ?

• प्रदेश सभाको गठनको लागी पनि मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ ।

• प्रदेश सभामा रहने कुल सदस्य मध्ये ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम र बाँकी ४० प्रतिशत सदस्य राजनीतिक दललाई मतदिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनवाट निर्वाचित हुन्छन् ।

३.प्रदेश सभामा कुल कति सदस्य रहने व्यवस्था छ ?
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


प्रत्येक प्रदेश सभामा देहाय बमोजिमको संख्यामा सदस्यहरू रहन्छन :-

• सम्बन्धित प्रदेशवाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर सदस्यमा हुन आउने सदस्य,

• यसरी निर्वाचित भइ कायम हुने सदस्य संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने सदस्य ।

जस्तै - कुनै प्रदेशवाट प्रतिनिधिसभामा ३० जना सदस्य निर्वाचित हुन्छन् भने उक्त प्रदेशमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनवाट त्यसको दोब्बर संख्या अर्थात ६० जना (जुन संख्या ६० प्रतिशत मानिने व्यवस्था छ ।) र समानुपातिक निर्वाचन प्रणाली बमोजिमका निर्वाचनवाट ४० जना (अर्थात ४० प्रतिशत) गरि जम्मा १०० सदस्य रहन्छन ।

४. प्रदेश सभाको सदस्य हुन कस्तो योग्यता आवश्यक हुन्छ ?
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


• नेपाली नागरिक,

• सम्बन्धित प्रदेशको मतदाता रहेको,

• पच्चीस बर्ष उमेर पूरा भएको,

• नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको,

• कुनै संघीय कानुनले अयोग्य नभएको,

• कुनै लाभको पदमा बहाल नरहेको ।

५. सातवटा प्रदेशका प्रदेश सभामा जम्मा कति सदस्य रहन्छन् ?
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


• प्रदेश सभामा रहने सदस्यको संख्या प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनवाट निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य,

• प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यालाई प्रदेश सभाकालागी ६० प्रतिशत मानिन्छ ।

• प्रतिनिधि सभामा सातवटा प्रदेशवाट जम्मा १६५ सदस्य निर्वाचित हुने भएकाले  प्रदेश सभामा यसको दोब्बर संख्या अर्थात ३३० सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुन्छन् । यो संख्या प्रदेशहरुमा रहने कुल सदस्य संख्याको ६० प्रतिशत हो ।

• बाँकी ४० प्रतिशत अर्थात २२० सदस्य समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनवाट निर्वाचित हुन्छन् ।

• तसर्थ, सातवटा प्रदेशका प्रदेश सभामा कुल ५५० सदस्य रहन्छन् ।

• निर्वाचन क्षेत्र निर्धारण हुन बाँकी रहेकाले कुन प्रदेशमा कति सदस्य रहन्छन् भन्ने बारे भने अहिले नै किटान गर्न सकिने अवस्था छैन ।

६. प्रदेश सभाको स्वरुपलाई समाबेशी बनाउन समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनकालागी राजनीतिक दलले उम्मेदवारी दिंदा समाबेश गर्नुपर्ने  समुह र ध्यान दिनु पर्ने बिषय के छन ?
~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~~~~~

• समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि  राजनीतिक दलले उम्मेदवारी दिंदा जनसंख्याको आधारमा विभिन्न नौं वटा समुहको प्रतिनिधित्व हुने गरि बन्द सुची तयार गर्नुपर्छ ।

• यो समुहमा प्रतिनिधि सभाको लागि तोकिएका विभिन्न आठ वटा समूह (क्रम संख्या २५ मा उल्लेख गरिएको) को अलावा अल्पसंख्यक समुदाय पनि पर्छन् ।

[क्रमसंख्या २५ मा उल्लेख : प्रतिनिधि सभाको स्वरुपलाई समावेशी बनाउन समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनकालागि राजनीतिक दलले उम्मेदवारी दिँदा समावेश गर्नु पर्ने समुह र ध्यान दिनुपर्ने बिषय के के छ्न ?
• समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनकालागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा देहायका विभिन्न आठवटा समुहको प्रतिनिधित्व हुने गरी बन्दसुची तयार गर्नुपर्छ यसैगरी उम्मेदवारी दिँदा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनुपर्ने एवं अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्छ :-
-  महिला
-  दलित
-  आदिवासी जनजाति
-  खस आर्य {क्षेत्री, ब्राह्मण, ठकुरी, सन्यासी (दशनामी समुदाय)}
-   मधेसी,
-   थारु,
-    मुस्लिम, र
-    पिछडिएको क्षेत्र  ।

• उम्मेदवारी दिंदा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनुपर्ने एवं अपाङ्गता भएको व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्छ ।

७.प्रदेश सभामा महिला सहभागिताको सम्बन्धमा के व्यवस्था गरिएको छ ?
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


• संबिधानले संघीय संसदमा महिलाको प्रतिनिधित्वकालागी जे जस्ता व्यवस्था गरेको छ, त्यही व्यवस्था प्रदेश सभाकालागी पनि गरेको छ ।

• तसर्थ प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलवाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनु पर्छ ।

• यस अनुसार हिसाब गर्दा सात प्रदेशमा रहने कुल ५५० सदस्य मध्ये कम्तीमा १८४ जना महिला सदस्य निर्वाचित हुनुपर्छ ।

• कुनै राजनीतिक दलवाट प्रदेश सभा सदस्यको लागि भएको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा कम्तीमा एक तिहाई सदस्य महिला निर्वाचित हुन नसकेमा समानुपातिक निर्वाचन प्रणालीको निर्वाचनमा बन्द सुचीवाट उम्मेदवार निर्वाचित गर्दा आफ्नो दलवाट प्रदेश सभामा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाई महिला सदस्य हुनेगरि  निर्वाचित गर्नुपर्छ ।

८. प्रदेश सभाको कार्यकाल कति बर्षको हुन्छ ?
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

• प्रदेश सभाको कार्यकाल पाँच बर्षको हुन्छ ।

• सम्बन्धीत प्रदेशमा सङ्कटकालिन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामा प्रदेश ऎन बमोजिम एक बर्षमा नबढने गरि कार्यकाल थप गर्न सकिन्छ ।

• यसरी कार्यकाल थप भएकोमा सङ्कटकालिन अवस्थाको घोषणा खारेज भएका मितिले ६ महिना पुगेपछि स्वत: समाप्त हुन्छ ।

९. प्रदेश सभाको नेतृत्वदायी पदमा लैङ्गिक समाबेशीता र बहुदलीय सहभागितालाई सुनिश्चित गर्न कस्तो व्यवस्था गरिएको छ ?
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

• प्रदेश सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने,

• सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलवाट ( प्रदेश सभामा एक भन्दा बढी दलको प्रतिनिधित्व नरहेको वा  उम्मेदवारी नदिएको अवस्थामा बाहेक) हुनुपर्ने,

• यसरी संघीय संसदमा जस्तै प्रदेश सभामा पनि सदनको नेतृत्वदायी पदमा लैङ्गीक  समावेशिता र बहुदलीय सहभागितालाई सुनिश्चित गरिएको छ ।

साभार सन्दर्भ :
~~~~~~~~~~~
निर्वाचन आयोग, नेपालवाट प्रकाशित नेपालको संविधानमा निर्वाचन र अससँग सम्बन्धित जानकारी

अभिलेखिकरण  तथा जानकारी सुचना
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
Basanta Raj Adhikari
Chief, Reo Banke
Nepalganj.
तस्वीर स्थल : होटल किचनहट पार्क, नेपालगन्ज,बाँके [२०७३ असार
]

Comments